साँच्चै नै जीवन एक नटुङ्गिने यात्रा हो, हामी अनवरत हिडिरहेछौँ । बाल्यकालकाट युवाअवास्था, त्यसपछि वृद्धावस्था, ईहलोक—परलोक सब यात्राको नै रूप हो । हाम्रो चञ्चल मन वायुपङ्खी घोडाजस्तै कति यात्रा गर्न सक्छ एक ठाउँबाट अर्को ठाउँ……..

तर मैले अहिले वर्णन गर्न लागेको यस्तो यात्राको कुरा हैन, तन, मन, धन, सब एक साथ हिँडेको, शरीर, मन, आत्मा, मस्तिष्क सबले एक साथ अनुभव गरेको यत्रा हो …कुरा हो, भर्खरै (२३ डिसेम्बर २००३—१४ जनवरी २००४)हामीले गरेको मित्रराष्ट्र भारतको भ्रमणको ।

भगवान्ले “तँ चिता म पुर्‍याऊँछु ” भन्छन् रे, त्यस्तै नै भयो कताकताबाट साथीहरू १६ भाई ज्ुटियोसबै आर्थिक, सामाजिक, पारिवारिक परिस्थिति मिल्न गयो र हामीले सुरु पनि गर्‍यौ २२ दिन जतिको भ्रमण …..

टिकट मिलाउने चार जनाको टोलीमा मलाई पनि पारे साथीहरूले र हामी चारजना अरू भन्दा १० घण्टा चाँडो २३ डिसेम्बर बिहान ५ बजे गोरखपुरतिर लाग्यौँ… टिकट  पक्का भयो, साथीहरू बेलुकी ५ बजेतिर आएपछि बसोबासको व्यवस्था गर्न तिर लाग्यौँ । एउटा नेपाली टोपी लगाएको नेपालीजस्तै मान्छेको भनाइलाई मानेर खाना खान लागेको हामीलाई त्यही नेपालीले नै ठगिदियो भनेको भन्दा कम खाना दिने, बढी पैसा माग्ने गर्न थाल्यो । यसरी पहिलो दिनमा विदेशी भूमिमा स्वदेशी बन्धुले नै ठग्ने गर्दा मुटुमा नमीठो चिसो पस्यो तर मनलाई दबाइयो……..

पहिलो दिनमा नै होटलमा बसेर पैसा किन बढी खर्च गर्ने भन्ने मनमा लागेर प्लेटफर्ममा नै बसी भोलि बिहान ५ बजेको रेलको प्रतीक्षा गर्न थाल्यौँ । चीसा भुईँमा एउटा ओढनीलाई ओछ्याएर तन्ना ओढेर सुत्नु पर्दा घरका ताता डसना र तकिया, मोटा सिरकका सम्झना आउन थाल्यो । तर ती दुःख भन्दा भ्रमणप्रतिको उत्साह, कौतुहलता नै ठूलो थियो । जहाँ पनि जोश, जाँगर ,उत्साह र उमङ्गले आलस्य, अकर्मण्यता, दुःख दर्द सबलाई जित्न सक्छ …. यही व्रmममा मनमा कुरा खेलाऊँदा खेलाउँदै कुन बेला निद्रा देवीलाई अँगालो हाल्न पुगेँ पत्तै भएन

बिहान ३ बजेतिर ब्युँझियो, शौचादि कर्म सकाएर झिटी गुन्टा कसेर ५ रु. को पुरी तरकारी बजाएर रेलको आफ्नो सिटमा बस्न पुगियो ।  रेल यात्रामा आफ्नो  दोस्रो अनुभव, कोही साथीहरूको भने पहिलो रेल यात्रा थियो । तिनलाई सब वृतान्त लाइयो ।  ट्वाइलेट, आफ्नो सिट, सुत्ने व्यवस्था सब बताऊँदा बताउँदैमा समय गयो ।

त्यसपछि रेलले सिट्टी बजायो र आफ्नो गति लिन थाल्यो । छुकछुकको तालमा मुटुको ढुकढुकी बढाउँदै हामी अनवरत गुडिरह्यौँ ।

रेलगाडी–देशविकासको कडी

जतिजति रेलले आफ्नो गति लिँदै गयो, बाहिरी दृश्यावलोकन जति जति हामी गर्दै गयौँ उतिउति आफ्नो मातृभूमिप्रतिको अगाध प्रेमको भाव आउन थाल्यो ।

रेलको लिकमा गुड्ने मालगाडी देख्दा,

एउटा डिब्बाले ५० टन बराबरको भार  खेप्न सक्छ, त्यस्ता डिब्बा एउटा गाडीमा पचासौँ छन्, अनि एउटा डिब्बा बराबर कम्तीमा ५ ट्रक हुन्छन्, भनेपछि एउटा मालगाडीले २५० ट्रक बराबरको भार खेप्न सक्छन् भनेपछि ढुवानी कति सहज र सरल हुन्छ रेलबाट ! सिम्लाको स्याउ सुपथ मूल्यमा चेन्नाइँका बासिन्दाले अनि चेन्नाइँको नरिवल सिम्लाबासीले नपाउने त कुरै भएन…….

सायद हाम्रो देशमा पनि यस्तो भैदिएको भए, उकाली ओरालीमा एउटा ट्रकले बल्लतल्ल दिनभर लागाएर गुड्नुपर्ने थिएन । जुम्लाबासीले चामल देख्न नपाउने, हेलम्बुमा स्याउ कुहिएर जाने र काठमाडौँबासीले ढाड सेकिने भाउमा भारतको स्याउ खानुपर्ने थिएन । सिराहामा आँप बिगे्रर सड्ने अनि हामीलाई भने औषधि हालेर पकाएको भारतीय आँप खानु पर्ने बिडम्बना त हुने थिएन ।

एउटा बसले जम्मा चालिस जना यात्रु बोक्न सक्छ, अनि हाम्रो घुम्ती बाटोमा वर्षमा ५० देखि ६० दुर्घटना हुन्छन् । फेरि ठाउँ ठाउँको सुरक्षा जाँच, जामले गर्दा ४८ देखि ७२ घण्टा लाग्छ बस यात्रा, सायद हाम्रो देशमा पनि रेलगाडी भइदिएको भए छोटो समयमा थुप्रै यात्रुले आफ्नो गन्तव्य स्थल सजिलैसँग पुग्न पाउने थिए…….खोइ! त्यो दिन कहिले आउला??

यस्तै यस्तै भावनामा मन पौडी खेलिरहेको थियो, पेटको मुसोलाई शान्त पार्न बेलाबेलामा चिउरा दालमोठ, चाउचाउ बेच्न ल्याइएका चिया –समोसा खाने क्रम चली नै रहेको थियो । कहिलेकाही तासको खाल जम्थ्यो आफ्नो सिटमा …रात पर्‍यो निद्रादेवीको काखमा लुटुक्क निदाइयो, भोलि बिहान कोलकाता पुग्ने सपनामा रमाइयो ।

कोलकाता भ्रमण

बिहान कोलकाता स्टेशनमा झरियो, लकरमा आफ्नो सामान राखेर Tourist अफिस गइयो…. Indian Embassy को चिठीको सहयोगले मोलमोलाई गरेर city tour को दिनभरिको कार्यव्रmम बनाइयो….

फेरि देशकै सम्झना आयो, यहाँको पर्यटन विकास निगम (ITDC) अफिस कति व्यवस्थित, कति systematic रूपमा पैसा कमाऊँछन् यी मानिसहरू खोइ ! हाम्रो देशमा प्रत्येक स्टेशनका पर्यटन विकासको कार्यालय? त्यसै भारतले UNO को स्थायी सदस्य बन्ने हैसियत बनाएको होइन रहेछ……..

कलकत्ता भ्रमण सुरु गरियो काली मन्दिरबाट, त्यस पछि Queen Victoria Park पुगियो । पार्कको व्यवस्थापन, भव्यता र सुन्दरतालाई देखेर आफ्नो रत्नपार्कलाई यसको कुन कुनामा स्थान दिऊँ जस्तो भईरहेको थियो, साथीहरूको फोटो खिच्ने आग्रहले गर्दा बीचमै सोचाइ तुहिन पुग्यो ।

त्यसपछि Planetorium मा पुगियो, ग्रहमण्डल, सौर्य परिवारको बारेमा सकिनसकी आधा घण्टा अध्ययन गरेर ६० रुपैँया स्वाहा पारियो । तर पैसा गएकोमा पनि अलग्गै आन्नद आयो……………

त्यसपछि Metro Train मा चढ्न पुगियो ।

आफ्नो काठमाडौँमा एउटा मात्र subway छ । यसरी Metro Train र Tram को चरण आइपुग्न कति वर्षे योजना बन्नु पर्ने होला?

अनि दक्षिणेश्वर कालीको भव्य मन्दिरमा मन्त्रमुग्ध हुन पुगियो । काली मातासँग “आफ्नो भ्रमण सफल होस्” भन्ने कामनाका साथ हतार-हतार आफ्नो कारमा आइपुगियो ।

दुर्भाग्यवश आज 25 Dec Christmas Day विदाको दिन परेको र बाटोमा धेरै घुइँचो भएकोले हाम्रो कार जाममा पर्न गयो । रामकृष्ण परमहंसको बेलोर मठ जाने आफ्नो प्रोग्राम रद्द गर्नुपयो । के गर्नु ? रेल छुटाएर आफ्नो भ्रमणको Schedule नै रद्द गर्नुभन्दा यो नै राम्रो उपाय थियो । स्वामी परमहंसको इतिहास मनमनै गुन्दै हामी स्टेशनतिरै लाग्यौँ ।

कलकत्ता को प्रसिद्ध स्थान Howrah Bridge को झिलिमिलिप्रति नतमस्तक भएर बाटामा रु.१५ को सस्तो भात खाएर बैङ्ग्लोर जाने रेल समात्न पुग्यौँ ।

दुई दिनको General seat मा कठिन रेल यात्रा

कलकत्ताबाट चेन्नइँ पुग्ने हाम्रो reservation wating list मा थियो । त्यसैले sleeper class पाइएला–नपाइएला भन्ने धुकचुक थियो मनमा तर भगवान्को खेल हामी general मान्छेलाई general seat को यात्रा कस्तो हुन्छ भन्ने अनुभव गराउनुपर्ने रहेछ, आखिर त्यही नै भयो ।

हतार हतार General Boggy मा गएर दुईवटा कोठमा हामी १६ जनालाई अटाउने गरी ओगट्यौँ । अरू आएर सिट लिइदेलान् कि, थर्काउने धम्काउने गर्लान् कि भन्ने डर एकातिर थियो तर अर्कोतिर भने दुई दिन कसरी कटाउने भन्ने चिन्ता थियो । तर पनि जसोतसो समय कटाइयो । कहिले तास खेलेर, कहिले गीत गएर, कहिले चिउरा चपाएर, scene हेरेर समय मार्न थालियो ।

चेन्नइँ स्टेशनमा ३ घण्टाको बसाइ

दुई दिन, दुई रातको अनवरत यात्रापछि 27th Dec मा चेन्नइँ आइपुगियो । दुई वर्ष पहिले चेन्नइँको भ्रमण गर्ने मौका पाइएको थियो … Marina Beach ,Snake Garden, Kapileshwor Temple आदि ठाउँहरू पुगिएको थियो ।

तर यसपालि schedule मिल्न सकेन त्यसैले मात्र ३ घण्टा चेन्नइँ स्टेशनमा बसियो र बैग्लोरतिर ५ घण्टा chair car मा बसेर पुगियो ।

बैङ्ग्लोर आगमन –पुट्टपर्तीतिर प्रस्थान

बैङ्ग्लोर २ बजेतिर आइयो । ITDC मा कुरा मिल्न सकेन, आफ्नो इच्छा पुट्टपर्तीतिर पुगेर साईँबाबाको दर्शन गर्ने थियो।

त्यसैले साथीहरू बीचको असमझदारी र विवादको सामना गर्दै र त्यसलाई मत्थर पार्ने प्रयास गर्दै अन्ततोगत्वा पुट्टपर्ती जानलाई चार बजेतिर बस चढियो ।

पुट्टपर्ती बसाइ–साईँबाबाको दर्शन

बेलुकी १० बजेतिर पुट्टपर्ती आइपुगियो । सुरु दिनदेखि नुहाउन पाइएको थिएन न त लुगा नै फेर्न भ्याइएको थियो, त्यसैले एउटा lodge मा बसेर नुहाई धुवाई गरी ५ दिन देखिको थकाई मारियो । अनि मस्तसित सुतियो ।

बिहान चार बजे नै उठेर नित्यकर्म भ्याएर साईँ आश्रम प्रशान्तिनिलयममा लाम लाग्न बसियो । कति शान्त ठाउँ, हजारौँ मानिसहरू छन् तर pin drop silence छ, स्वयंसेवकहरूले कसरी व्यवस्थित पार्न सकेका? हाम्रा धार्मिक स्थलहरूको भीड, ठेलमठेल, दुर्गन्ध र साँढे र गाईको मोजमस्ती सब सम्झँदा दिक्क लागेर आउँछ ।

हाम्रो देवघाट धामलाई पनि प्रशान्तिनिलयमको जस्तो व्यवस्थित पार्न सके कति रमाइलो हुन्थ्यो होला? भजनहरू, संस्कृतका श्लोकहरू, वेदका ऋचाहरू गगनमण्डलमा गुन्जिरहेका छन्, ब्रम्हमुहुर्तमा त्यस्तो श्रव्य आन्नद श्रवण गर्न पाउँदा कसको मनलाई पो नछोला र? अहो ! स्वर्ग भनेको यस्तै ठाउँ त होला नि!

मानिसहरू उही हुन्, भिडभाड उही हो तर पनि कति फरक? नेपालका धार्मिकस्थल तीर्थयात्रु र यहाँकामा के फरक छ र बल्ल एउटा भनाइ याद आयो, “योजकस्तत्रः दुर्लभः” , हो योजनाकारको नै अभाव छ । योजनाकारले राम्रो योजना बनाउन सके दाममा भन्दा काममा विश्वास गर्न र गराउन सके नेपालमा अर्को पुट्टपर्ती बन्न नसक्ने होइन………………..

प्रतिक्षाको घडी समाप्त भयो, साईँबाबा आफ्नो रातो कारमा आइपुगे, हात उठाएर आशीर्वादको भाव प्रदर्शन गरे । कसैले चिठ्ठी दिए, आ–आफ्नो श्रद्धाभाव अनुसार हामीले पनि साईँबाबालाई नजिकबाट दर्शन गर्ने मौका पायौँ, यो भ्रमणको एउटा प्रमुख उपलब्धि हो भन्ने मान्नुपर्छ ।

जे जस्तो होस् उनले गरेका जादुमयी कामहरूसुनको लकेट–विभूति आदि त हामीले देखेनौँ तर पनि उनले प्रदर्शन गरेका सेवाभाव, उनले साईँस्कूलका विद्यार्थीमाथि देखाएका प्रेमभाव हामीले आफ्नै आँखाले देखेका थियौँ । मरुभूमितुल्य स्थान स्वर्गजस्तो प्रशान्तिनिलयम बन्न पुगेको त्यहाँकै स्थानीयबासीबाट सुन्न पाएका थियौँ ।

निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउन उनैले खुलाएको, उनलाई प्राप्त दान दातव्यको निःस्वार्थ समर्पणमा बन्न पुगेको भव्य Cardiology Hospital हामीले अनुभव गर्‍यौँ । सायद यस्तै सेवा र समर्पण भावले गर्दा, सम्पूर्ण धर्मप्रति Hindu, Muslim, Christian, सम्पूर्ण देवताप्रति ( Jesus Christ ,Mohammed), समान व्यवहार धार्मिक सहिष्णुता, सोऽहंको भावनाले गर्दा उनलाई ईश्वरको कोटीमा पुर्‍याएको हुनसक्छ । त्यसैले साईँराम प्रति नतमस्तक हुन पुग्यौँ । धेरै समय पाउन नसकेकोमा, त्यहाँबाट सम्पूर्ण स्थलको भ्रमण गर्ने सौभाग्य नपाएकोमा मनलाई गह्रुङ्गो पार्न पुग्यौँ तर पनि साईँबाबाको दर्शन त पाइयो भनेर आफैँलाई धन्यधन्य मान्न पनि करै लाग्यो ।

मैसुर (Skill city sandalwood city) भ्रमण

दुई वर्ष पहिले भ्रमण गरेको समयलाई सम्झँदै मैसुरको भ्रमण गर्न हामी थाल्यौँ। एउटा ठूलो बसमा १६ जनालाई र Bag हरूलाई स्थान दिँदा त बस नै सानो भए जस्तो पो लाग्यो । जे होस् बाटामा अङ्गुर खान, चिया नास्ता गर्न पनि हामी पछि परेनौँ ।

महिषासुरको अन्त्य भएको ठाउँ भएर महिषासुरको अपभ्रंस “मैसुर” नामाकरण गरिएको यो सहरलाई slik saree हरूको उत्पादन हुने भएकाले slik city पनि भन्छन् अनि श्रीखण्डको रुखहरू हुने हुनाले sandalwood city पनि भन्छन् ।

मैसुरमा राति ६ बजेतिर पुगियो र सिधै ६:३० बजेदेखि खुल्ला हुने Brindaban garden तिर लाग्यौँ । रातको समयमा Musical Fountain हेरियो । सङ्गीतको तालमा नाँच्ने रङ्गिचङ्गी पानीका फोहराहरू हेर्दा मन फुरुङ्ग हुनपुग्यो । त्यो रोमान्चक समय २–३ घण्टा बितेको पत्तै नपाई बन्द हुने समय भइसकेछ र हतार हतार श्रीरत्न सागर Dam लाई पार गरेर एउटा सस्तो होटल खोजेर रात बितायौँ ।

भोलिपल्ट बिहानै ४ बजेतिर उठियो र साथीहरूलाई पनि उठाइयो । साथीहरू कोही रिसाउँदै, झर्कँर्दै र फर्कँदै उठे । स्नानादि कर्म सकाएर हामी बसमा चामुण्डेश्वरी मन्दिरतर्फ प्रस्थान गर्‍यौँ ।अग्लो डाँडाको टुप्पामा अवस्थित चामुण्डेश्वरी मन्दिरलार्ई हामी फर्पिङको डाँडोमा रहेको दक्षिणकाली मन्दिरसँग तुलना गर्न सक्छौँ ।

देवीको आशीर्वाद  लिएर अनि Mysore City र सूर्योदयको फोटो खिचाएर हामी तल झर्न थाल्यौँ । Mysore Zoo को छोटो भ्रमण गरियो । दुर्लभ giraffe सँग थुप्रै फोटो खिचियो । अग्लो शरीर र लामो घाँटी भएको अजीव शरीरवाला giraffe रमाइलो लाग्यो, डायमण्ड शमशेरको उपन्यासमा मात्र भेटिने सेतो बाघलाई प्रत्यक्ष देख्न पाउँदा आँखा ज्यादै नै रमायो ।

आतङ्ककारीका लागि प्रयोग गरिने शब्द गुरिल्लालाई पनि केही बेर जिस्काइयो । चिडियाघरबाट हामी लाग्यौँ बजारतिर । साथीले मोलमोलाइ गरी Slik Saree र कुर्ता सरुवाल हेरेर आनन्द मनाइयो केही बेर ।

Maharaja Palace मा केही बेर घुमेर फोटो खिचाएपछि श्री रंगपत्तनमा टीपू सूल्तानको गुम्बाहरूको भ्रमण गर्‍यौँ ।

यसरी बसको सहायतामा पूरै सहर भ्रमण गर्ने क्रममा पनि फेरि देशकै दुरावस्थाको सम्झना आउन थाल्यो । खोइ ! हामीले पुराना भवनहरूको उचित सम्भार गरेर Museum को रूपमा व्यवस्थित गरी अर्थोपार्जनको स्रोत बनाउन सकेको ? यसरी पनि त भारतीयहरूले आफ्नो आय श्रोत बढाएका छन् । यत्रो अरबौँको जनसङ्ख्या भएको देश, नेपाल भन्दा २२ गुना ठूलो हो तर पनि GNR हाम्रो भन्दा चौबर बढी । यी कुराहरू त हुन् नि हामीले भारतबाट सिक्नुपर्ने …….

बैङ्ग्लोरको छोटो भ्रमण

बैङ्ग्लोर पूरा भ्रमण गर्न समयले हामीलाई त्यति साथ दिएन ।

हिउँदको समय भाएकाले Lal Bagh बगैचा अलि उजाड भएझैँ लाग्यो । २ वर्ष पहिलेको हराभरा सुन्दर रङ्गिचङ्गी फूलैफूलले ढाकेको बगैँचा अहिले कस्तो कस्तो फुङ्ग उडेझैँ लाग्यो तर पनि हाम्रो ] camera थाकेन र खिचिक्क खिचिक्क लगातार फोटो खिची नै रहयो ।

Mahatma Gandhi Road  New Year आउन लागेकाले होला दुलहीझैँ सिङ्गरिएको थियो । बसैबाट भए पनि साथीहरूले त्यहाँको फोटो खिच्न भ्याए । यसरी छोटो भ्रमण गरेर हामी station तिर लाग्यौँ अनि Londa पुग्नका लागि त्चबष्ल समात्यौ ।

Londa बाट Goa  

Londa station मा दिउँसो १ बजे आइपुगेपछि Goa पुग्नलाई travel arrangement गर्न धेरै गाह्रो भयो । Jeep मा १६ जना कोही कोच्चिएर, कोही काखमा, अनि कोही भुईँमाकोही झुन्डिएर रामनगर पुग्यौँ ।रामनगरबाट Panjii पुग्न बस कुरेरै २ घण्टा बित्यो । गर्मीको समयमा पसिना तपतप चुहाँउदै उभिएरै पाँच घण्टा बस यात्रा गरियो ।

Panjiiमा दुई दिनको बास

Dec30 को दिन Panjii आइपुगेपछि बास र गाँसको व्यवस्था गर्नतिर हाम्रो ग्रुप लाग्यो । बल्ल तल्ल २२ रु. मा south Indian Dish खाइयो र १६ जना अटाउने एउटा हल २ दिन को लागि भाडामा लिइयो ।

साँझतिर Miramar Beach मा सूर्यास्त अवलोकन गरेर Dona Paula पुगियो र त्यहाँ पनि थुप्रै फोटो खिचाएर Goa Beach अङ्कित टिसर्टहरू किनेर गरेर फर्कियौँ ।

राति १० बजेतिर Paradise नामक पानीजहाजमा Disco Dance को कार्यक्रममा सरिक भइयो । पानीजहाज सयरको पहिलो अनुभव थियो त्यो । १–२ घण्टामा साह्रै नै रमाइलो अनुभव भयो ।

बेलुकी थकाइले चुर भएर ओछ्यानमा लडेको त भुसुक्कै निदाइएछ ।

भारतको गोवा–नेपालको पोखरा

विदेशी भूमिमा रहेको हरेक ठाउँमा स्वदेशी भूमिका समानान्तर ठाउँझैँ गरी तुलना गर्ने मेरो बानी पनि अचम्मकै छ Arabian Sea का अनेकौँ Beach हरू, त्यहाँ गरिएका नाउका बिहारहरूलाई सम्झेर होला सकिनसकी आफ्नो देशको फेवा, रूपा, बेगनास आदि तालै ताल भएको Lake city पोखरासँग तुलना गर्दछु ।

तर मनमा चसक्क बिझ्छ, Tourist बसमा North र South Goa भनी दुई दिन बिताउने रोमान्चक योजना र व्यवस्था छ त्यहाँ तर पोखरामा त्यसरी मिल्न नसकेको अवस्था । उफ् ! पर्यटकको आधारमा मात्र अर्थतन्त्र अडेको हाम्रो देशलाई उँभो लगाउन भारतीयहरूको नक्कल त गर्नेपर्छ । राम्रो कुराको अनुकरण गर्न के को लाज ?

South Goa भ्रमण सुरु भयो tourist Bus माGuide को निर्देशनलाई अक्षरशः पालना गर्दै २ रु. को टिकट काटेर एउटा ताल मा पुग्यौँ । उफ ! एउटा ताल हेर्नलाई मात्र २ रु ??? कसरी देश धनी नबनोस् ??

अनि Anjana,Vagot र Mgport Beach मा पुग्यौँ र अरेबियन सागरको अनेक कोणबाट फोटो खिच्यौँ, स्नान गर्‍यौँ ।

हाम्रो देवघाटको त्रिवेणी धामलाई पनि यसरी Beach को रूपमा विकास गरेर पर्यटक प्रवर्धन गर्न सकिन्छ कि भन्ने मनमा बिचार आइहाल्यो अनि सुईय्य सुस्केरा हालेर बसतिर पुगेँ ।

Dec31को साँझ, २००३ लाई बिदाइ गर्ने अन्तिम साँझ । सहर, यसै त सुन्दर गोवा, झिलिमिलिले गर्दा अझ सुन्दर भएको थियो । राति करिब १२ बजेसम्म त्यस सुन्दर गोवाको सडक र पुलहरूतिर डुलेर पटाका पड्काई २००४ को स्वगत गर्ने भिडमा सामेल भएर कोठामा आई सुत्यौँ । कति राम्रो सुरक्षा व्यवस्था ? मध्यरातमा पनि निर्धक्क डुल्न पाइने ।

भोलिपल्ट North Goa को Church, Museum आदि स्थानमा डुलेर Vasco भन्ने स्टेशनबाट pune का लागि प्रस्थान गर्‍यौँ ।

Pune भ्रमण

Vasco बाट Pune जाने रेलमार्गमा थुप्रै थुप्रै सुरुङ्ग मार्गहरू पर्दारहेछन् । खोई हाम्रो काठमाडौँ–हेटौँडा जोड्ने सुरुङ्ग मार्ग कहिले बन्ने हो ? यस्तै यस्तै प्रश्न गर्दै जाँदा रात परेछ अनि भोलिपल्ट बिहान भइसकेछ ।

Goa सम्म पुग्दा गर्मीले गर्दा हामी half shirt लगाउने स्थितिमा पुगिसकेका थियौ तर pune मा बिहानी चीसोले समातेपछि बाक्लो टिसर्ट र स्वेटर लागाउन करै लाग्यो ।

Pune मा हाम्रो ARMED FORCE MEDICAL COLLEGE घुम्ने थियो तर त्यो आर्मी हस्पिटल, त्यहाँको रक्षा मन्त्रालय अन्तर्गत रहने भएकोले घुमघामको अनुमति पाउन साह्रै नै गाह्रो थियो तर पनि जसोतसो मिलाइयो । त्यो कलेजको Community Medicine Department को HOD Col Dr. Jile Singh हाम्रो  Principal Dr. V.K Pahwa को साथी भएकाले राम्रो Response पाइयो र तिनले सम्पूर्ण Dept. घुमाए र हामीले फोटो खिच्ने मौका पनि चुकाएनौँ । उनीबाट हामीलाई र Principal sir का लागि प्राप्त उपहार लिएर हामी ओशो आश्रमतिर लाग्यौँ । तर अफशोच ! Lunch Break को टाइममा पुगिएछ र भित्र छिर्न भ्याइएन ।

Bombay जाने Train का लागि भनेर हतार हतार स्टेशन पुगेको त पुल भत्किएकाले Train cancel भएको खबर पायौँ ।अरू Train पाइन्छ कि भनेर प्रतीक्षा गर्दागर्दै रातको समय हुन गयो । अन्ततोगत्वा Night Taxi लिएर Bombay पुग्यौँ । रातको समयमा १२ बजेतिर बल्ल कोठा खोजेर बस्यौँ ।

बम्बई भ्रमण

अब सुरु भयो हाम्रो बम्बई भ्रमण ।

एकदमै मीठो बोल्ने र आफनो कुरा स्पष्ट राख्ने र हँसाउँदै हँसाउँदै हामीलाई पूरा सहर डुलाउने Guide को नाम सतीश रहेछ ।

पहिले उसले हामीलाई Gateway of India पुर्‍यायो । छत्रपति शिवाजीको नाममा स्थापित Museum  र Art Gallery मा पुर्‍याएपछि उसले Marine point मा फोटो खिच्न लगायो । त्यहाँ cheating हुने कुरामा साबधानी गराउँदै उसले बाटामा भएको  High Court ,Governor’s Officeभारतीय सिने अभिनेताहरूको flat देखाउँदै लग्यो । रमाइला रमाइला कुरा गर्दै ऊ अघि बढ्दै गयो र हामी पनि बम्बइको भव्य भवन, फराकिला सडक, बागबगैँचा, सजावटमा दङ्ग पर्दै गयौँ ।

पार्कहरू पनि थुप्रै बम्बईमाChildren ‘s Park, दादा–दादी पार्क, hanging garden ,Boot’s Garden आदि । सिनेमामा देखाइएको Jogger’s park पनि हेर्न मन थियो तर समयले साथ दिएन ।

पछि उसले Nehru Science Center मा पुर्‍याएको थियो । भव्यता, बच्चा, युवा, वृद्ध सबैलाई हुने किसिमको नेहरू विज्ञान केन्द्र । सामान्य Lever देखि लिएर computer, 3dimension picture सब देखाइएको । १ घण्टाको समय कम भयो भनेर हामी कोठा–तल्ला चहार्न थाल्यौँ र पछि अवश्य आउनेछौँ भन्दै गाडीतिर लाग्यौँ ।

Mahalaxmi Temple मा माताको आशिष् लिएर हामी ISKCON TEMPLE (International Society for Krishna Consciouness) मा चैतन्य महाप्रभुको हरे राम हरे कृष्ण मन्दिरमा पनि पुग्यौँ ।

बाटामा सुपरस्टार अभिताभ बच्चन र सदावहार नायक देवानन्दको बङ्ग्ला पनि हेर्ने मौका पाइयो ।

Assel world र water Kingdom

भोलिपल्ट जिन्दगीको एक रोमाञ्चक अनुभवसँग साक्षात्कार गर्न पाइयो ।

Assel World छिरियो ।अहिलेसम्म रोटीपिङ पनि नखेलेको मैले Thunderमा माथि आकाशमा उल्टो परेर टक्क अडिनुपर्ने घुमाउरो मा उल्टो\सुल्टो घुम्नुपर्ने, रोलगाडीमा उकाली र ओराली गराउने आदि अनेकौँ खेलहरू खेलेँसाह्रै नै रमाइलो भयो ।

पछि धबतभच water Kingdom मा पनि पानीसँग रमाइलो गरियो ।

बम्बईप्रतिको पहिलेको नकारात्मक भाव र बम्बईसँग हाम्रो नगरपालिकाहरूले सिक्नैपर्ने कुराहरू-

बम्बई भन्ने बित्तिकै चेलीबेटी बेचबिखन गरिने, red light area भएको ठाउँ, ठग, लुच्चा, लफङ्गा ,चोरहरूको बस्ती, हिरो हिरोइनले दुर्गन्धित पार्ने र दुर्व्यवहार फैलाउने ठाउँ, Underworld का  मयलहरू भएको ठाउँ भन्ने लाग्थ्यो, त्यहाँ टयाक्सी चढी राति १२–१ बजे हिँड्दा पनि मुटु ढुकढुक गरिरहेको थियो । कस्तो कस्तो लागेको थियो कोठा भाडामा लिँदा, सानो कुचु्रक्क परेको झ्यालै नभएको कोठा……………..

तर बम्बई ! वास्तवमा बम्बई रहेछ । त्यहाँको यतायातको व्यवस्था ! २–३ करोडको जनसङ्ख्या हुँदा पनि सब बसमा महिला सिट, विकलाङ्गका लागि आरक्षण, वृद्ध—वृद्धालाई छुट्टै सिट, सीमित मान्छे मात्र बसमा उभिन पाइने, बस चढ्दा पछाडिको ढोका, उक्लँदा अगाडिबाट………………यस्ता यस्ता व्यवस्थित नियम……………..

खोई हाम्रा नगरबस, Micro, tempo हरूले कहिले गर्न सक्लान् यस्तो व्यवस्था ? तेलको भाउ बढ्नासाथ भाडा बढाउन मात्र जान्ने हाम्रा यतायात व्यवसायी सङ्घले के गर्न सक्लान् र यस्तो ??

कहिले बन्छ हाम्रो नगरमा Science Centre, हाम्रा काष्ठमण्डप, रानीपोखरी र धरहराहरूले कहिले झार्न सक्लान् पर्यटकबाट पैसा ???

Assel World र Water Kingdom को जमाना त हाम्रो सहरमा कहिले हो कहिले ?? जे होस् बम्बई भ्रमण रमाइलो भयो…….

आगरामा रमाइलो समय

आगराको स्टेशनमा ओर्लनासाथ शीतलहरको कब्जामा परियो । हतार हतार कोठा खोजेर, खाना खाएर सुतियो ।

भोलिपल्ट टेम्पो लिएर Agra fort पुगियो, मुगल बादशाह अकबरले बनाएको किल्ला गजबको थियो । रमाइलो लाग्यो । हाम्रो देशमा पनि यस्तै पुरातात्त्विक ठाउँहरूको मर्मतसम्भार गरेर पर्यटकलाई आकर्सित गराउने कहिले हो??

 Shopping Centre मा सस्तो छालाको सामान पाइन्छ रे भनेर त्यहाँ गइयो । तर भाउ नमिलेको हो कि आफ्नो purse कमजोर भएर हो, केही पनि चित्त बुझेन ।

घर सजाउने चाहनाका साथ एउटा सानो ताजमहलको piece भने लिएँ ।

अनि गइयो बहुप्रतीक्षित ताजमहलको दर्शन गर्न । शीतलहर र हुस्सुले गर्दा आकाश डम्म ढाकेकाले होला, राम्रो फोटो लिन सकिएन । केही खिन्नता भने अवश्य लाग्यो । Train छुट्ला भनेर हतार हतार स्टेशनतिर लागियो ।

दिल्ली  र जयपुर भ्रमण

दिल्लीमा बेलुकी आइयो र AIMS नजिकै कोठा खोजेर बसियो । त्यहाँको मीठो ४ रु.को चिया म कहिल्यै भुल्न सक्दिनँ ।

जयपुर – pink city मा ५–६ घण्टा बस यात्रा गरेर पुगियो । त्यहाँका चौडा सडक, बीचमा हरिया रुखहरू, कति सुन्दर राजमार्ग ?? Pink city का pink रङ्गका पर्खाल र घरका भित्ताहरू………………

सुरुमा सिसमहल र अनि जलमहल, हावामहल सबतिर गइयो ।  Museum जाने समय भने मिलेन ।

Birla Temple र Garden मा घुमेपछि त्यहाँको प्रसिद्ध 100gm को रजाइ किनियो……………..

यसरी राजस्थान राज्यलाई पनि छोइयो ….

 राजधानी दिल्ली

सुरुमा अखिल भारतीय आयुर्विज्ञान संस्थानको होस्टेलमा एउटा साथीलाई भेटियो । उसले विश्वप्रसिद्ध Medical College अर्थात\ AIMS HOSPITAL का Cardiology, paediatics, Nephrology  आदि विभागहरू, अनि भव्य   Emergency Dept. सबतिर डुलायो ।

दिल्लीको city tour  पनि साह्रै नै रमाइलो भयो । India Gate मा 2nd world war मा शहीद हुने भारतीय सैन्य जवानप्रति श्रद्धाञ्जलि अपर्ण गरियो । राजघाटमा राष्ट्रपिता गान्धीको सम्झना गरियो ।

अनि इन्दिरा गान्धी स्मृति भवन पुगियो । सञ्जय गान्धी, इन्दिरा गान्धी, राजीव गान्धी सबको हत्या भएको समाचार पढ्दा पढ्दा साह्रै नै नरमाइलो लाग्यो । उफ् ! politics is a bad game त्यसै भनेको होइन …………..

कुतुम्मिनार हेर्न १० रु तिर्नुपर्ने, धरहरालाई पनि त्यसरी व्यवस्थित राखेको भए …………….त्यहाँको सम्राट् अशोकको Iron Pillar पनि देखियो । लालकिल्ला भने सोचेजस्तो पाइएन । पछि Lotus Temple पुगियो । बहाइ प्रार्थना घर भन्ने त्यो ठाउँमा कुनै देवताको मूर्ति थिएन, कुनै धर्मको सङ्केत थिएन, शान्त वातावरण………… वास्तवमा शन्ति नै त धर्मको उद्देश्य हो नि । साह्रै राम्रो लाग्यो त्यहाँको वातावरण……..

राजधानी सहरको मुटु ………….संसद भवन, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास नजिक पुगेर फोटो खिच्नसम्म भ्याइयो ।

त्यसपछि फेरि त्यहाँको ISKCON Temple मा हरे राम हेरे कृष्ण मन्दिर पुगेर भावविभोर भइयो  ।

यसरी भारतको राजधानी दिल्लीमा रमाइलो दिन बिताइयो ।

त्यहाँबाट रेलगाडी समातेर Kalka हुँदै सिमला आइयो ।

सिमलामा छोटी लेनमा रेलयात्रा

सिमला जाने रेलगाडी देख्दा हाम्रो पहाडी देशमा रेलवेसेवा सम्भव छैन भन्ने मान्छेलाई, त्यस्तो झुठो कुरा सुनाउने योजना आयोगलाई एक झापड हानौँ जस्तो लाग्यो । त्यस्तो डाँडामा २०००–३००० मि उचाइँमा कसरी रेल यात्रा सम्भव भयो सिमलामा ? सुरुङ्गहरू कति कति ? समय बढी लाग्ला तर सामान ढुवानी गर्न कति सजिलो ? सिमलाको स्याउ दिल्ली  कति सजिलै आउँछ ?? AIMS र इन्दिरागान्धी मेडिकल कलेज सिमलाबिच कसरी सम्बन्ध स्थापित हुन नसकोस् ?? जे होस् हाम्रो देशविकासका लागि हरेक अञ्चलमा रेलवे सेवा पुग्नैपर्छ ।

सिमला भ्रमण

सिमलामा गएर हिउँ छुने हाम्रो सपना केहीहदसम्म पूरा भयो भन्नुपर्छ ।

गाडी लिएर कुफ्री भन्ने ठाउँमा पुगियो । महङ्गो खच्चड नचढ्ने भनेर हामी हिँडेरै माथि पुग्यौँ । त्यहाँको नाग मन्दिर दर्शन गरेर हिउँ छ्यापाछ्याप गर्न थाल्यौँ । “प्रकृतिसँग जुध्नु नै जीवनको रमाइलो हो” भन्ने आफूले १० कक्षामा पढेको कुरा सम्झँदै हामी फोटो खिच्ने, हिउँ फुटाउने, एक-अर्कालाई हान्ने गर्न थाल्यौँ यसरी समय कटाइयो ….सिमलामा सोचेजस्तो चिसो थिएन…. तर सोचेभन्दा बढी किनमेल भने सिमलामा नै गरियो चार पाँच पटक बजार ओहोरदोहोर गरेर……

 चन्डिगढ भ्रमण

सिमलामा दुई दिन बिताएर हामी आफ्नो ] Tour को अन्तिम spot……चन्डिगढ आइपुग्यौँ । त्यहाँ चाहिँ भव्य होटेलमा रमाइलो समय बिताउने हाम्रो योजना थियो तर ठगियौँ । TV समेत राम्रो नआउने होटेलमा पर्‍यौँ ।

चन्दिगढमा Rock Garden, Rose Garden, शान्तिकुञ्ज सबको आ–आफ्नै विशेषता थिए । यस्ता Gardenहरू कुनै दिन हाम्रो देशमा पनि बन्लान् भन्ने विश्वास भनौँ कि आशा मनमा राखेर PGI College पुगियो त्यहाँ दुई नेपाली दाइहरू भेटिए । त्यहाँबाट MD गर्ने व्यवस्था बुझियो । नेपालीका लागि धेरै नै कोटा रहेछ । हेरौँ भगवान्को कृपा भएमा ……

समयले देखाएमा म हुँ जडी म हुँ बुटी” भनेर एउटा कविले भन्थे रे……

अन्तिम रेल गात्रा 

अन्ततोगत्वा, जे कुराको पनि सीमा हुन्छ ,

जो आएगा वह जाएगा राजा रङ्क फकिर” सधैँ भारत बसेर नहुने, स्वदेश त चाहियो नै जे भए पनि, “अपि स्वर्णमयि लङ्का न मे लक्ष्मण रोचते, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” आफ्नो देश त फर्कनै पर्‍यो ।

…………..

अन्तिम रेलयात्रा साह्रै नै रोचक भयो । ५ बजेको ] Train राति १२ बजेमात्र आइपुग्यो, सात घण्टा स्टेशनमा नै छट्पटिनु पर्‍यो ।

Train मा पनि अच्चमै भयो, S1 sleeper class मा Reserve गरेको हाम्रो हाम्रो १६ सिट, S1 डिब्बा त बिग्रेछ, त्यसैले Late भएको रहेछ आखिर general डिब्बालाई S1 गराइएको रहेछ, sleeper को पैसा तिरेर general मा बस्नुपर्ने, के गर्नु आफ्नो नियति भनौँ कि ? अन्तिम रेल यात्रा, गीत गाउने, नाच्ने, रमाइलो गर्ने सब गरियो, समालोचना कार्यक्रम गरियो । आफ्ना सुझाव, अनुभव, गुनासा साटासाट गरियो, भविष्यको योजना बनाइयो । राति २ बजे गोरखपुर आइपुगियो अनि गाडी रिजर्भ गरी भैरहवा, भैरहवाबाट काठमाडौँ । यसरी २२ दिनको लामो भारत भ्रमण कार्यक्रम सकियो……

उपसंहार

भारत भ्रमणमा थुप्रै कुरा अनुभव भए, तीता मीठा सब यी पानाहरूमा अट्दैनन् न त कलमले सब कुरा अक्षरमा अभिव्यक्त गर्न नै सक्छ, जे होस् जीवनका केही क्षण यात्रामा नै बिते ।

भारतसँग सिक्नुपर्ने धेरै कुरा छन् । खोई हाम्रा नेता, प्रशासक, परराष्ट्रविद्, कुटनीतिज्ञ योजनाकारको घैँटोमा कहिले घाम लाग्ने हो ??………….भारत भ्रमणका लागि तँछाड-मछाड गर्ने अनि त्यसैको नाममा मोटा-मोटा रकम कुम्ल्याउन सक्ने तिनले केही पाठ सिके त नेपालको केही विकास होला ?? भगवान्को कृपाले, भ्रमणमा कुनै अप्रिय घटना घटेनन् कोही साथी कहीँ पनि छुटेनन्, बिरामी भएनन्, यो सबै उनै प्रभुको देन हो………..

(प्रस्तुत लेख मैले कोरेको २० जनवरी २००४ को डायरीका पानाबाट साभार गरिएको हो । यू.सी.यम.यस.मा बिताएका स्मरणीय क्षणहरूको परिवेशमा उपयुक्त हुनसक्ने भएर यहाँ प्रकाशन गर्न खोजेको हुँ । यसमा अभिव्यक्त भावना तात्कालिन परिवेशमा सान्दर्भिक रहेका मेरा नितान्त निजी भावना मानी पढिदिनुहुन सादर अनुरोध गर्दछु ।)