सधैँ हिँडिरहेको बाटोमा नयाँ अपेक्षा कमै हुन्छन् । कुनै चमत्कारको आसा हुँदैन दृश्य र भोगाइमा । तर अवान्छित घटना नहोस् भन्ने चाहना भइरहन्छ ।
यो अनुभूति सबैलाई हुन्छ होला । भुइँमान्छेले उडानलाई कि अवसर कि बाध्यता सम्झिनु पर्छ । आर्थिक महङ्गी एउटा पाटो जिउ हजुरको अर्को चटारो । यी दुबै कुरालाई तिलाञ्जली दिँदै सडकयात्रा तय गरियो । उसो त विगत बाइस वर्षदेखि हिँडिरहेको बाटो हो । बाटो र यात्रु उही भए पनि भोगाइ यात्रापिच्छे फरक हुन्छन् । कोहलपुर बसघाटमा झोला बोकेर प्रवेश गर्दाबित्तिकै लिलाम बोलिएको खसी झैँ तानातान सुरु भयो ।
त्यसै पनि थाहा हुन्छ, कर्णाली प्रदेश प्रवेश गर्ने बसको स्थिति । रङ खुइलिएका, सिट च्यातिएका, चस्मा लाएर हेर्नुपर्ने नम्बर प्लेट, पछाडिको भाग कुच्चिएको देख्दा नै जुम्ला, दैलेख, रुकुम र जाजरकोट जाने बस हो भनेर पत्ता लागिहाल्छ । तर गाडी नेपालगन्जबाट नै भरिएर आइपुग्ने हुनाले यहाँ तानातान, मोलमोलाई र हानाहान हुने गर्छ ।
जसोतसो टिकट लिइयो । टिकटमा तोकिएको समय नाघेको एक घण्टामा बस आइपुग्यो । बसको भित्री गल्ली आलुका बोराले भरिएको थियो । सिटहरुमा मान्छे कोचिएका थिए । भित्र बाहिर गर्न उभिन सकिने स्थिति थिएन । हातपाउ टेकेर भए पनि अन्तिम सिटसम्म पुगियो । बसको माथिलो खोपामा बोराका झोलाहरु थिए । पुराना कम्मलहरु थिए । यात्रुहरुको पसिनाले बसभित्र उकुसमुकुस थियो । बस नचल्दासम्म हावा फैलिने सम्भावना थिएन । बोरामाथि अटेजति यात्रु भरेर बस चल्यो । यात्रा सुरु भएकोमा भन्दा बसभित्र हावा छिरेकोमा आनन्द आयो । रात्रिकालीन यात्रा हुनाले आँखाहरु बाहिरी वातावरणमा भुल्ने कुरा भएन ।
एउटा गीत एक मिनेट बज्न नपाउँदै अर्को गीत बजाउ भन्ने फर्माइस हुन्थ्यो । केही डेउडा र गडवाली गीत टिक्न पाउँथे । हिन्दी गीतले पनि थोरै मौका पाउँथे बज्ने । मलाई भने फर्माइस सुनेर एउटा विगतमा पुर्यायो यो परिवेशले ।
विष्णु पादुका
दशैँको छुट्टी थियो । हामी एक एक वर्ष बिराएर दशैँको टीका थाप्न घरमा आउँथ्यौँ । स्कुलबाट घरमा आउन सात दिन फर्कन सात दिन लाग्थ्यो । पन्ध्र दिनको बिदा बाटोमा नै ठिक्क हुन्थ्यो । एक दुई दिन जसरी पनि ढिलो हुन्थ्यो । अध्यक्ष र हेडसरको खप्की खाइन्थ्यो । त्यही पीरले पनि दशैँ न आए हुन्थ्यो भन्ने लाग्थ्यो । यो कुराको मर्म बुबाले थाहा पाउनु भएछ कि, दशैँको टीकाकै दिन स्वर्गे हुनुभयो । अनि निधार खालि हुन गयो सबै दशैँमा ।
हामी दशैँ घरमा आउँदै थियौँ । त्यसबेला सुर्खेतको पोख्रेसम्म बस पुग्थ्यो । हामी अरु विद्यालयका शिक्षकसहित दश बाह्र जना थियौँ । रुकुम जाजरकोट र डोल्पाको सिमामा पर्ने त्रिवेणी बजारमा भेटिएका थियौं । विद्यालय छोडेको दिनदेखि बाटोमा पैदल हिँड्ने मान्छेको भिड देखिन्थ्यो । शिक्षक कर्मचारी तल्लो क्षेत्रतिर र स्थानीय मानिसहरू माथितिर सबै आफ्नो घरमा पुग्न हतारमा थिए । अन्यत्र तीस रुपैयाँ छाक थियो दालभात । रुकुम र जाजरकोटको सिमामा पर्ने चिहानबगरमा एउटा होटल थियो जम्मा बाह्र रुपैयाँमा भरपेट दालभात पाइने । त्यो पनि छुट्दैनथ्यो । दिनभर पाक्थ्यो त्यहाँ खाना । त्यसको पनि भिन्न कथा थियो, छ । स्यानीपिप्लीको बिहानको खानापछि कैनकाँडाको लेक उकालो छ । विस्तारै चड्दा साँझ पर्थ्यो । हामी त्यही गति र लयमा थियौँ ।
बजारमा आएका सबै गीत बजेको हुनुपर्छ । अहिलेको झैँ तस्बिर लिने मोबाइल भएको भए उहाँहरुलाई स्मृतिमा राख्न कति सजिलो हुन्थ्यो होला ?
डाँडामा रहेका होटलहरुमा बाडिएर बास बसियो । बिहान झिसमिसैमा उठेर ओरालो लाग्यौं । सालघारीको वनमा एकेक जना हिँड्न मिल्ने गोरेटो बाटो थियो । माटो पुरै रातो थियो । बिहान गर्चेबाट उठेर उकालिएकाहरू सधैं भेटिन्थे त्यो हाम्रो ओरालोमा । तर यसपटक हामी ओर्लन सकिरहेका थिएनौं । तलबाट आउनेको लर्को लामो थियो । सबैले बोराको झोलामा सिलाएर बोरैका फिता लाएर बोकेका थिए । प्रायः सबैको पोसाक उस्तै उस्तै थियो । सबैका काँधमा नेसनल चाइनिज टेपरेकर्डर थिए । सबैले बजाएकै थिए । तर अचम्म, सबैको क्यासेटमा बज्ने गीत भिन्न भिन्न थियो । टाढाबाट सुन्दा मौरी भन्किए जस्तो आवाज आउँथ्यो सालघारीमा । नजिक आउँदा पनि कुन गीत बजेको छ छुट्याउन गाह्रो थियो । बजारमा आएका सबै गीत बजेको हुनुपर्छ । अहिलेको झैँ तस्बिर लिने मोबाइल भएको भए उहाँहरुलाई स्मृतिमा राख्न कति सजिलो हुन्थ्यो होला ?
सङ्गीतको रुचि त्योबेलादेखि अहिले पनि उस्तै छ । दिनचर्या र जीवनस्तर उस्तै छ । यत्ति हो, बीस बाइस वर्षमा बस अलिक माथि पुगेका छन् । पुराना होटल सुके नयाँ खुले । बाटो फेरियो । यात्रु उनै छन् । बाटोमा भेटिने होटलमा खाजा नास्ता खाउँ भन्यो कि रक्सी र माछा मासु मात्र भेटिन्छ । बोइलर कुखुराको मासु र भेरीको माछा । मध्ये रात हुँदा एउटा होटल अघि बस रोकियो । सबै जना खाना खान झर्ने फरमानी आदेश आयो । झरेकामध्ये धेरैले खाना अघि नास्ता मगाए । गडवाली टोपी मोजाबिनाका प्लास्टिकका जुत्ता त्यस्तै काँधमा कलेटी परेका कमिज र इस्टकोटको सजिएकाहरुले टेवल भरिए । कसैले उठेर नै छिटो छिटो सिनित्त पारे । बाहिर उभिएर हेर्ने दुई चार जना थियौं ।
अबको यात्रा झन् कस्तो होला ? धन्न चालकले रक्सी पिएको देखिएन र मन ढुक्क भयो । करिब एक घण्टा लाग्यो बस छुट्न । “सब आको हो ?” सहचालकको चेतावनीपछि बस गुड्यो ।
बसभित्र अब दुर्गन्धको युद्ध सुरु भयो । कतिले उल्टी गर्न थाले । म अन्तिम सिटमा छु । झ्यालबाट हावा आएर थोरै राहत मिलेको थियो अघिसम्म । अब उल्टीका छिटा पनि आउन सक्ने सम्भावना भएकोले झ्याल बन्द गर्नु बाध्यता बन्यो ।
कसैकसैले कालापहाडदेखि लगाएका जुत्ता खोलिदिए । मोजाको दुर्गन्धले रक्सीको गन्धलाई जित्दो रहेछ । असैह्य भयो । बोरामाथि हात खुट्टा टेक्दै ढोकानेर आएँ । सहचालक सिटको सिँढीमा बसेका थिए । सोधे, ” के भओ सर ?”
म गन्धले आत्तिएँ, बरु यहीँ उभिन्छु है । थाके यतै बस्छु बरु सिँढीमा ।
“यस्तै हो सर, तपाईं पहिलोचोटि हो र ?” सोधे ।
“होइन बाइस बर्षदेखि हिँड्दैछु ।”
“अनि त बानी लाग्नु पर्ने सर । “
अरु कुराभन्दा अन्तिमको सर शब्दले मलाई घोचिरह्यो । बोल्न मन लागेन । पछाडिभन्दा ढोकामा राहत भयो । उभिनुको दुःख त छँदैछ । जसोतसो जाजरकोट खलङ्गा दुई बजे पुगियो । आलु प्याज यहीँ झार्नुपर्ने रहेछ । सहचालकले पचासौंपटक बिलमा भएको नम्बरमा फोन गरे । फोन उठेन । सबै यात्रु बाहिर निस्किए एकेक गर्दै । प्रायः सबैले चुरोट सल्काए । केहीबेरमा सहचालकको मोबाइलमा फोन आयो । आलुको साहुको । बस थोरै अघि बढ्यो । आलु साउको पसल अघि । डिग्गीमा पनि आलुको बोरा भरिएको रहेछ । एक घण्टामा आलुप्याज उतारेपछि बल्ल ओरालो लाग्यो बस ।
“अब झ्याल ढोका पुरै बन्द है !” गुरुजीले आदेश दिए । अबको पालो धुलोको थियो । गन्तव्यसम्म अबको यात्रा धुलोसँगै हो ।
कलाकारले बनाएको अमुर्त चित्र जस्तो देखिन्थ्यो रातमा । सायद यस्ता यात्राहरु पनि जीवनका लागि आगो नै हुन् ।
मुखमा रुमाल मास्क लगाएर म ढोकामै उभिएँ । घरिघरि ढाड र खुट्टा दुख्दा सिँढीमै बसिदिन्थेँ । दुखाइको निर्ममता आफ्नै प्रकारको हुन्छ । रातको यात्रा थियो । परेली जोडिने सम्भावना रहेन । रिम्न बजारमा पुगेपछि अगाडिको सिट खालि भयो । म क्याविनमा छिरेँ । अगाडि साँघुरो बाटो देखिन्थ्यो । ढुङ्गा र खाल्डा देखिन्थे । मन झसङ्ग हुन्थ्यो । एकतिर ताछेको भित्तो अर्कोतिर नदी लिएर बाटो अघि बढेको थियो । पैदल धेरैपटक हिँडेको बाटो हुनाले कहाँ पुगियो भनेर अड्कल हुन्थ्यो । माथि वनमा आगो लागेको रहेछ । कलाकारले बनाएको अमुर्त चित्र जस्तो देखिन्थ्यो रातमा । सायद यस्ता यात्राहरु पनि जीवनका लागि आगो नै हुन् ।
दश वर्षे जनयुद्धको उर्वर भूमिको मुटुबाट हिँडेको यो बाटोमा कुनैबेला प्रहरीको चेकिङ्गमा झोलाको चेन बिग्रेर बोरामा लुगा बोकेर हिँडेको पल याद आउँथ्यो बेला बेला प्रहरी चेक पोस्ट आउँदा । आजभोलि सिङ्गै बस पनि चेक जाँच हुँदैन । नम्बर टिपायो पुग्यो । जसोतसो बस रुकुमको आठबिसकोट नगरपालिका पुग्यो र हामीलाई बिदा दियो । राडीज्युला बजारमा ८/२० कोट भनेर लेखिएका बोर्डहरु देख्दा नाम लामो पनि अरुचि हुने रहेछ कि झैँ लाग्यो । त्यसपछि झोलुङ्गे पुल तर्ने र जीप चढ्ने यात्रा सुरु हुन्छ । अपरिचित यात्रु परिचित मार्ग अनि नौलो अनुभूतिसँग दगुर्नु थियो । जीपमा पनि उही ठेलमठेल । उही दुर्गन्ध । उही धुलो । उही आदेश फरमान । जोल्टिङ्ग खाँदै जीप काए हुँदै मैदे पुग्यो । प्रहरी चौकी रहेछ । चौकी भएको घर देखेर पुरानो कुरा फेरि याद बनेर आयो ।
त्यो दिन चिसामा खाना खाएर गोकर्ण राज पौडेल र म हिँड्दै थियौं डोल्पातिर । हामी आफ्नै गतिमा थियौं बिस्तारै गफ गर्दै हिँड्दै । हामीलाई भेटाउन एक जना भाइ आए । हामीले नै बोल्न सुरु गर्यौं । घर गोतामकोट हो भने । नाम अहिले याद आएन । नेपालगञ्ज होटलमा काम गर्थेँ घरमा आमा बिरामी छिन् भन्ने खबर पाएर आएको भनेर हामीसँग बोल्दै आए । हामी पनि स्थानीय भाइसँग थप कुराकानी गर्दै आयौं । राडीज्युलामा खाजा खाउँ भनेको पैसा छैन म त खान्नँ भने । हामीलाई खल्लो लाग्यो । खाउ खाउ पैसा पर्दैन भनेर खाजा बाँडेर खायौं उमालेको रारा चाउचाउ । उनले हामीलाई छोडेनन् ।दिनभर रमाइला गफ गर्दै मैदे पुगेर बास बस्यौं । असारको महिना थियो । यही प्रहरी चौकी भएको घरमा होटल थियो बास बसियो । दुईतिर दुइटा मुदुसमाथि हामीलाई सुत्न भनियो ।भुइँमा त्यो भाइलाई सुत्न दिइयो । ढोकामा चुक्कुल छेस्किनी केही थिएन । भित्रबाट एउटा ढुङ्गोले बन्द ढोका अड्याउने प्रबन्ध रहेछ । उपलब्ध खाना खाएपछि हामी निदायौं । बिहान उज्यालो नहुँदै म ब्युँझिएँ । सानो लाइट सिरानमा थियो, बालेर घडी हेरेँ । पाँच बज्न लागेको थियो । लाइट घुमाएर कोठामा हेरेँ । त्यो हिजो सँगै कोठामा सुतेको भाइ थिएन । गोकर्ण सरको झोला र झोलामाथि राखेको पाइन्ट सर्ट पनि थिएन । सरलाई उठाएर सोधेँ । दुबै झस्कियौं । ओहो, त्यही केटोले पो चोर्यो । उठेर खोजखबर गरियो । पत्ता लागेन । पैसा झोला कपडा झोलामा भएका कागज पत्र सबै चोरी भयो । हिजो दिउँसोदेखि चोर पालेर राखिएको रहेछ ।
त्यो घरसँगको तितोस्मृति कहिल्यै बिर्सन सकिनँ मैले आजपर्यन्त । जहाँ अहिले प्रहरी चौकी रहेछ । जीपको नम्बर टिपियो । अघि बढ्यो बाटो अनि हामी डोरियौँ । साना साना खोलामा जीप पानीमै हेलिन्छ । चौखा पुगियो । जहाँ अर्को पुलिस चौकी छ । कुनैबेला चौखाका होटलमा बास पाइन मुस्किल हुन्थ्यो । त्योबेलाका उपियाँले आजभोलि कसको रगत प्युँदा हुन् ? जहाँ हामी उपियाँको आतङ्कले मध्यरातमै बिस्तारा छोडेर हिँडेका थियौं कुनैबेला । बाटो छेउका घट्ट देख्दा अर्को कुरा याद आउँछ । सडक बन्नुअघि घट्टछेउमा केरा, दूध, दही र मकैका रोटी बेच्न राखिएका हुन्थे । दुई रुपैयाँ कोसा केरा र दश रुपैयाँ मानोको दूध या दही खाएपछि पेट टन्न हुन्थ्यो ।
जीप रोक्यो । गर्मी नै थियो । चालकले सहचालकलाई भने , “जा जा फुच्चे एउटा कोक र मेघाश्री ल्या ।”
जीप बिस्तारै हिँड्यो । मुखमा भएको गुट्खाको अघिल्लो खेप कोकले कुल्ला गरेर थुके । अनि नयाँ गुट्खा फेरि भरे मुखमा । मानौँ गुट्खा अनिवार्य छ जीपलाई डिजल झैँ । यात्राभरि कुनै चालक भेटिएन गुट्खा नखाने । तल्लुबगर पुगेपछि जाजरकोट छोडेर रुकुम पस्नु पर्यो झलुङ्गे पुल तर्दै । ट्याक्टरमा आएको सामान पल्टी गर्ने काममा गाउँलेहरू जुटेका रहेछन् । पुलमा भिड थियो । केहीबेर छेउमा रोकियौं । हामीमध्ये सबैलाई हतार थियो जीपमा पुगेर सजिलो सिट छोप्न । सिमेन्ट सरिया बिस्कुट चाउचाउ चामलका बोरा पारी तार्ने भिडले हामीलाई रोक्यो । मैले यसै मेसोमा एक दुई तस्बिर लिएँ मोबाइलमा । मनमा भने पुरै परिवेश बस्यो ।
छाक टार्न धौधौ हुने स्थितिमा तात्विक फरक आएको छैन भाषणमा जति फलाके पनि ।
जनयुद्ध झेलेर सुस्ताएको यो भूगोलको रुपरङ फेरिन नसकेकोमा, दिनचर्या हिजोभन्दा अझ जटिल देख्दा मन त्यसै अमिलियो । भद्दा गरिबी बेचेर राजधानीमा सेमिनार गर्दै लाखौं सकिन्छ । दूरदराजका यी बस्ती उस्तै छन् । मान्छेहरूका चिरिएका पैताला उस्तै छन् जोडिएका छैनन् । छाक टार्न धौधौ हुने स्थितिमा तात्विक फरक आएको छैन भाषणमा जति फलाके पनि ।
जति अगाडि बढ्यो त्यति कठिन जीवन छ यो यात्रामा । रुख बिरुवाको हरियोबाहेक घर छेउछाउ हरिया तरकारी देख्न पाइन्न । एकतिर भेरी अर्कोतिर ताछेर बनेको सडकमा उकालोमा फोर ह्विलर जीप चढ्न पनि गाह्रो हुने रहेछ । माथिबाट झर्ने ढुङ्गाले पाइलैपिच्छे खतराको घण्टी बजाइरहन्छ ।
लामा ढुङ्गाको सुख्खा खोलोले बर्खापखको यात्रामा गुल्ट्याएर पनि ज्यान जोगाएको घटना पनि जहिलेसुकै हिँड्दा सम्झिन्छु । ज्यामिरेको भीर काट्दा अर्को डरलाग्दो पल आँखैअघि आउँछ । त्रिवेणीको भीरमा धेरैपटक चिप्लेर लोटेको याद आउँछ । टोपी खस्ने छिमिको उकालो धेरैपटक हिँडियो । त्यो सम्झिदा यो यात्रा सहज हो । स्मृति सँगाल्न बाँच्ने हो कि बाँचेर स्मृति सँगालिएका हुन् ? दुबै उस्तै उस्तै हुन् कि ।
हिजोका कठिन यात्रा सम्झिँदै खदाङ्ग पुगियो । भेरी तरियो झोलुङ्गे पुलबाटै । अर्को प्रहरी चौकी जहाँ जीप चढ्नुअघि नाम ठेगाना फोन नम्बर र बाको नाम टिपाइयो । स्वर्गमा रहनुभएका बा ! हजुरको नाम लिँदा अनुहार सम्झुन्छु अनि गम्भीर हुन्छु आफैँमा । फेरि जीप चढियो । कान्छी बजारसम्मको बीचमा आउने सिरबिन्डेको भीरले मलाई बचाएको र प्रहरीलाई एम्बुस थापेर मारेको द्वन्द्वताकाको घटना अर्को तितो याद पनि बिर्सनै सक्दिनँ । एउटा सल्लोको रुख उस्तै छ जहाँ त्यो दिन पुलिसका लुगा हाँगाभरि फुलाएको थियो । म जोगिएको र सँगै हिँडेका यात्रु (पुलिस नै भए पनि ) को ज्यान गुमेकोमा मन त्यही दिनमा पुग्यो ।
“कान्छी बजारको नाम कसरी जुरेको ?” जिज्ञासा भयो । जीपमा छलफल चल्यो । तीन जना महिलाले होटल खोले रे सँगै त्यो पुलको मुखमा । बुझ्दै जाँदा तीनै जना सौतामाथि गएका कान्छी श्रीमती हुन् रे । तीनै जनालाई लोग्नेले छोडे रे । कति सत्य हो, निरुपणतिर लागिएन ।
दुई किलो मिटरजति हिँडेर फेरि झोलुङ्गे पुल तरेर त्रिपूराकोट हुँदै सुँपानी पुग्नु थियो दुनै पुग्ने जीप चढ्न । हतार हतार असिनपसिन हुँदै पुगियो । साँझ पर्नै लाग्यो । एकपटक पर्स खसेर थाहा नपाई बेखर्ची भएर भोकै दुनै हिँडेर पुग्नु परेको भित्तीको स्मृति पनि सम्झेँ । उचाईमा बाटो निक्कै तल सङ्ग्लो भेरी भिन्न आनन्द आउँछ मोतिपुरवरपर । कालागौंडामा जीपको नम्बर टिपाएपछि आउने मोडले सात जनाको ज्यान गएको दुर्घटना स्थल नाघियो । सुलिगाड आउनुअघि काठको पुलमा गाडी तर्दा आङ्ग सिरिङ्ग हुन्छ । आर्मी क्याम्पमा फेरि नम्बर टिपाउँदै गर्दा एघार ओटा मोटरसाइकलमा नेपालको राष्ट्रिय झण्डा सजिएको देख्दा टाढाबाट आएका आन्तरिक पर्यटक फोक्सुण्डोतिर लागेको सङ्केत पाएँ । धुपीचौर हुँदै दुनै पुग्दा तिनै झण्डा र मोटरसाइकल आँखामा नाचे ।
साँच्चीकै डोल्पा सुन्दर छ । चौबीस घण्टामा भुइँमान्छे पनि त आइपुग्यो यहाँसम्म । जमिन नछोडी आइपुगेको यो समय अवधि सम्भवत: यो पहिलोपटक भएकोले स्मृतिमा समेटेँ ।