२००२ को मार्च महिनाको एक शुक्रबार, साँझको खाना खाइसकेपछि केही पत्रिका हेर्दै थिएँ । मोबाइलमा टेक्स्ट आयो, “हाई ! देयर इज एन इण्डियन मुवी इन द सिटी, उड यु लाइक टु गो टु द सिनेमा टुमरो ?”

मेरी नर्वेजियन साथी अन्नाको मेसेज आएको थियो । अन्नासँग एक वर्षअघि नेपालमा चिनजान भएको थियो । उनी आफ्नो अध्ययन-अनुसन्धानको लागि नेपाल आएकी थिइन् र मैले उनको फिल्ड वर्कमा सहयोग गर्न दश बाह्र दिन धादिङ जिल्लामा उनीसँग बिताएकी थिएँ । त्यहाँ सुरु भएको हाम्रो मित्रता नर्वे गएपछि झन् गाढा भएको थियो ।

म सन् २००० को अगस्टमा नर्वेको राजधानी ओस्लोनजिकै अस भन्ने सानो सहरमा रहेको युनिभर्सिटी अफ लाइफ साइन्समा प्राकृतिक श्रोत साधन व्यवस्थापन विषयमा स्नातकोत्तर तहको अध्ययन गर्दै थिएँ । साथमा मेरो श्रीमान् मुक्ति गौतम पनि हुनुहुन्थ्यो । नेपालमा छँदा कहिलेकाहीँ फिल्म हेर्न सिनेमा हलमा जाने गरे पनि विदेश पढ्न गएपछि भने त्यो मौका जुरेको थिएन । हामी बस्ने सहरमा सिनेमा हल पनि थिएन । त्यस्तै नर्वेजियन वा अङ्ग्रेजी फिल्महरुले त्यति मन तान्न सकेको पनि थिएन । ओस्लो नगएको पनि केही समय भएको थियो र त्यहाँको सिनेमा हल कस्तो हुन्छ भन्ने उत्सुकताले भोलिपल्ट शनिवार साथीले गरेको आग्रह अनुसार फिल्म हेर्न जाने निधो गरियो ।

साँझ छ बजेतिर फिल्म सुरु हुने भए पनि हामी दुई बूढाबूढी दिउँसै ओस्लोतिर लाग्यौं । अन्नासँग अर्की साथी इदा पनि आएकी थिइन् । फिल्म हलनजिकैको एउटा आइरिस क्याफेमा गफ गर्दै कफी खान थाल्यौं । केहीक्षणपछि एक जना वेटरले एउटा सर्भे गर्ने भनी पाँच सातवटा प्रश्नहरू भएको एक पत्र हाम्रो टेवलमा ल्याएर राखे । दस पन्ध्र मिनेट छलफल गर्दै सबै प्रश्नहरू भरेर हामीले त्यो सर्भेपत्र फिर्ता गर्यौं । कफी सकेपछि हामी सिनेमा हलतर्फ लाग्यौं । “मनसुन वेडिङ” लागेको रहेछ । नर्वेजियन भाषामा सबटाइटल भए पनि, कतै हिन्दी, कतै अङ्ग्रेजी भाषामा भएको अझ हिन्दू र भारतीय संस्कृति अनुसारको कथावस्तु भएकोले बुझ्न गाह्रो पनि भएन र रमाइलोमै बित्यो । फिल्म हेरिसकेपछि साथीहरू आफ्नो घरतर्फ लागे । हामी दुई भने ओस्लो सहरको साँझको रमाइलो हेर्दै राति अबेर आफ्नो वासस्थान फर्कियौं ।

कमला रुपाखेती (क्यानडा)

दुई दिनपछि फेरि अन्नाको फोन आयो । उनले भनिन्, “त्यो क्याफेमा गरेको सर्भेमा सबै जवाफ मिलाउने सहभागीहरुमध्ये चिट्ठा गर्दा हाम्रो सर्भे छानिएछ । हामीलाई दुईवटा ओस्लो-ग्लास्गो-ओस्लो दोहोरो प्लेन टिकट फ्रीमा मिल्यो ।” त्यो खबर सुनाउँदा खुसी हुँदै उनले “दुईवटा मात्र टिकट छ, तिमीहरू दुई जना घुम्न जाऊ” भनी सुझाइन् ।

तर मैले भने “हामी सबै मिली गरेको सर्भे भएकोले सबै जना मिलेरै जाऊँ, रमाइलो हुन्छ ।”

एकछिनको छलफलपछि दुईवटा अरू टिकट किन्ने र चारै जना जाने निधो गरियो । हामी चारै जना स्कटल्याण्ड घुम्न जाने भयौँ । आश्चर्यको कुरा, प्लेनको टिकटभन्दा हामी बस्ने ठाउँदेखि एयरपोर्टसम्म जाने बसको भाडा दोब्बर थियो । तर पनि निकै उत्साहका साथ २००२ को अप्रिल बीस गते हामी एयरपोर्ट पुग्यौँ । प्लेन टिकेटहरु कुनै हवाईसेवाले आफ्नो सिजन नभएको बेला सस्तोमा राख्ने रहेछन्, जून हामी जस्ता अलि सस्तोमा घुम्न चाहनेहरुका लागि गज्जबको अवसर लाग्यो मलाई ।

२००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतङ्ककारी घटनापछि विश्वभरि नै एयरपोर्ट, व्यापारिक केन्द्रजस्ता स्थानहरूमा सुरक्षा कडाइ निकै नै बढेको थियो । हामी एयरपोर्टमा पुगेर अन्ना र इदासहित बोर्डिङको लागि लाइनमा लाग्यौँ । जब हामी काउन्टरनजिक पुग्यौँ, एउटा सेक्युरिटी अफिसर आएर “तिमीहरूको पासपोर्ट खै ?” भन्दै मेरो र मुक्तिको पासपोर्ट लिएर गए । हाम्रो अगाडि भएका अन्ना, इदालगायत दस पन्ध्र जना र हामीपछिका सबै यात्रुहरू एक एक गर्दै बोर्डिङ पास लिँदै गए । हामी दुई भने के गर्नु र कसो गर्नु हुँदै यताउति हेर्दै काउन्टरको छेउमा उभिइरह्यौँ । त्यहाँ करिब सयभन्दा बढी यात्रु तथा एयर पोर्टमा रहेका कर्मचारी, सबैलाई हेर्दा हामी दुईबाहेक कालो कपाल भएको कोही थिएनन् । त्यसरी उभिइरहँदा, सबैले हामीलाई नै हेरिरहेका छन् कि भन्ने लाग्थ्यो ।

त्यो ९-११ को घटना, त्यस्तै खालका अन्य घटनाहरू संसारको जुनसुकै ठाउँमा घटे पनि त्यसको हामी पनि विरोध नै गर्थ्यौं । त्यसै समयतिर नेपालमा पनि माओवादी युद्धको आतङ्क चरम सीमामा पुग्दै थियो । त्यो आतङ्कको शिकार हाम्रो परिवार पनि भएको थियो । ती आतङ्ककारीहरूले मेरो जेठाजुलाई खुकुरीले रेटेर हत्या गरेका थिए । तर त्यस दिन त्यहाँ एयरपोर्टमा हामीलाई नै, हाम्रो रूप, रङ्ग, भाषा, आएको देश तथा पासपोर्टको आधारमा शंका गरेर पासपोर्ट जाँच गर्न भनी लगिएको थियो । अन्ना र इदा हामीलाई कुरेर एक्जिटमा असहाय भावमा कुरेर बसिरहेका थिए । यत्तिकैमा एउटा कर्मचारी आयो र “प्लेन तिमीहरूलाई नलिई जाँदैन, हामी एकैछिनमा तिमीहरूको पासपोर्ट भेरिफाई गरेर ल्याउँछौं” भन्यो । तर पनि हामीलाई त्यहाँ लामो समय त्यस अवस्थामा, रंग फरक भएकै कारणले एउटा अपराधीजस्तो गरी बस्नुपर्दा निकै असजिलो भयो । डर र रिस पनि उठिरहेको थियो ।

सेप्टेम्बर ११ को घटनापछि एक दिन बसमा गइरहेको बेला ओस्लोमा एक जना वृद्धाले मुक्तिलाई हेयको भावले गरेको व्यवहार उसै त त्यतिन्जेलसम्म हामीले बिर्सन सकेका थिएनौँ । त्यसैमा यस घटनाले झन् घाउमा नुनचुक छर्कने काम गरेजस्तै भयो ।

प्लेनको इन्जिन स्टार्ट भएको करिब बीस मिनेटपछि त्यो सेक्युरिटी अफिसरले हाम्रो पासपोर्ट ल्यायो । हामी दौडिदै प्लेनतर्फ लाग्यौं । धन्न कुनै कारणले रोकिनु परेन । त्यो घटनाले मनमा खिन्न भए पनि स्कटल्याण्ड घुम्न पुग्ने चाहनाले गर्दा हामी आफ्नो पीडा मनभित्र लुकाई आकाशमा उड्न थाल्यौं । नीलो सफा आकाश, बेला बेला बादलका थुप्राहरू एकपछि अर्को गर्दै आउँदै, छोड्दै जाँदै थिए । करिब तीन घण्टाको उडानपछि ग्लास्गो एयरपोर्ट पुगियो । नर्वेभन्दा अलि न्यानो भइसकेको रमाइलो ठाउँ रहेछ । हामीले युथ होस्टेलमा कोठा बुक गरेका थियौँ । त्यतिबेला पनि पचास पाउन्ड प्रतिव्यक्ति तिर्नु परेको थियो, जुन हामीजस्ता विद्यार्थीहरूका लागी महँगो थियो ।

युथ होस्टेलबाट बाहिर निस्किनेबित्तिकै देखिएको रंगशालावरिपरिको भीडबाट ग्लास्गोमा फुटबल खेलप्रतिको क्रेज र भर्खरका युवायुवतीहरू पबमा जाने लामो लाइन हाम्रो लागि नौलो थियो । धेरै जसो रेस्टुरेण्टहरूमा फुटबल खेलको क्लबको पक्ष विपक्षका खेल प्रेमीहरूलाई निषेध छ भनेर लेखिएको कुराले हामीलाई आश्चर्यचकित बनायो । पछि कुरा बुझ्दा खेल प्रेमीहरू पक्ष विपक्षमा लागेर हुने होहल्ला र कहिले त ठूलै झगडा हुने कारणले त्यसो गरिएको रहेछ । ८० को दशकको सुरुवातमा फुटबल गुण्डागर्दी (फुटबल होलिगनिज्म) इङ्गलैण्डमा धेरै थियो रे, त्यस्तो झगडामा युवाहरू एकआपसमा लड्ने र मार्नेसम्म हुने गरेको बुझियो ।

कतै घमाइलो त कतै कुहिरोले ढाकेका, कतै बादल, कतै पानी परेको, मानौँ वर्षभरिको सबै ऋतुहरू एकै दिनमा अनुभव गरिँदै थियो ।

भोलिपल्ट हामी बस चढेर एडेनबरा सहरतर्फ लाग्यौं । यो सहरको नाम एक दुईपटक सुनेबाहेक त्यसको बारेमा धेरै जानकारी थिएन । अध्ययनको क्रममा घाँसे मैदान, रेञ्जल्याण्ड आदिको बारेमा पढे तापनि साँच्चीकै घाँसेमैदान भने देखेकी थिइनँ । जब बस ग्लास्गोबाट एडेनबरातर्फ लाग्यो, बाटोवरिपरि रहेका आँखाले भ्याउन्जेल पर परसम्म देखिने हरिया घाँसेफाँटहरू, ठाउँ ठाउँमा चरिरहेका भेडा, गाई र घोडाहरू, बीच बीचमा कतै कतै रुखका झुण्डहरू, जंगली फूलका झाडीहरू, कताकतै देखिने ससाना घरहरू, ती सब देख्दा लाग्थ्यो त्यो यात्रा अनन्त चलिरहोस् । कतै घमाइलो त कतै कुहिरोले ढाकेका, कतै बादल, कतै पानी परेको, मानौँ वर्षभरिको सबै ऋतुहरू एकै दिनमा अनुभव गरिँदै थियो ।

ऐडेनबरा जीवनमा एकपटक जानैपर्ने ऐतिहासिक सहर रहेछ । प्रकृति र कलाको अनुपम समिश्रण र पुराना कलात्मक भवनहरूको राम्रोसँग संरक्षण गरिएको एक अत्यन्त सुन्दर सहर । हेर्नु र घुम्नु पर्ने ठाउँहरू जति धेरै थिए हामीसँग समय त्यति नै थोरै । दिनभरिमा घुमेर त्यसै दिन ग्लास्गो फर्किने योजना थियो हाम्रो ।

त्यहाँको प्रख्यात आर्ट ग्यालरी स्कटिस राष्ट्रिय ग्यालरी हेर्न गयौँ । काठमाडौँमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा बेलाबेलामा जाने गर्थेंँ म । मलाई सानैदेखि चित्रकलामा रुची थियो । एडेनबराको आर्ट ग्यालरीको बारेमा सुनेकोले त्यहाँ जानु पहिलो प्राथमिकतामा रह्यो मेरो लागि । जति सुनेकी थिएँ, त्योभन्दा धेरै नै त्यहाँका अद्भुत कला सङग्रह, भवन, साना केटाकेटीदेखि युवा, वृद्ध, सबै जात र रङ्गका सबैखाले मानिसहरूको भीड, कलाप्रति लगाव देख्दा लाग्थ्यो, हाम्रो जीवन एक बहुमूल्य कला हो । कोही यसलाई रङ्गीचङ्गी बुट्टा भर्न चाहन्छन् भने कोही सादा क्यानभासमा अर्थ खोज्छन् ।

एडेनबरा सहरको मध्यभागमा रहेको यो ग्यालरीको मुख्य भवन विलियम हेनरी प्लेपेयरले नवशास्त्रीय (नियोक्लासिकल) विधि अपनाएर सन् १८२६ मा निर्माण गरेका रहेछन् र सन् १८५९ देखि आम जनताका लागि पनि भ्रमण गर्न खोलिएको थियो । यस ग्यालरीमा स्कटल्याण्डसहित विश्वभरिका विशेषगरी पुनर्जागरण कालदेखिका तीस हजारभन्दा बढी फाइन आर्टहरु र कला क्षेत्रमा गरिएका अध्ययन अनुसन्धानका पचास हजारभन्दा बढी पुस्तक, जर्नल, अभिलेखहरू सङ्ग्रह गरिएको रहेछ ।

दिउँसो त्यहाँको प्रख्यात एडेनबरा क्यासल हेर्न गयौँ । पहिलो स्कटिस राजा माल्कोल्म तृतीय क्यनमोरले आफ्नो वासस्थानको रूपमा बनाएका यो किल्ला समुद्री सतहबाट करिब १३५ मिटरको उचाइमा ज्वालामुखीबाट निस्केको विशाल आग्नेय चट्टानमा अवस्थित छ । राजा माल्कोल्मकी महारानी सेन्ट मार्गरेटको पनि यही किल्लामा मृत्यु भएको थियो । किल्लाको अग्लो भागमा रहेको सेन्ट मार्गरेट चापेलमा ती महारानीको बारेमा निकै रोचक जानकारीहरू राखिएको छ । सन् १२९६ र १३४१ मा दुईपटक यो किल्लालाई ब्रिटिशहरुले कब्जा गरेका थिए तर पछि फेरि स्कटिसहरुले नै फिर्ता लिएछन् ।

अन्य प्रमुख आकर्षणहरूमा राजा डेभिड द्वितीयको नाममा बनेको एक भग्नावशेष टावर, ग्रेट हल, हाफ मून ब्याट्री, पोर्टकुलिस गेट र एक मोन्स मेग भन्ने विशाल तोप पनि हुन् । यस तोपको स्थापना सन् १४५७ मा गरिएको थियो । स्कटिस संगीत र स्कटिस सेनाहरुको पहिरन पनि हाम्रो लागि नौलो थिए । यस किल्लामा बस्ने अन्तिम राजा भने चार्ल्स प्रथम थिए । सन् १७५७ देखि १८१४ सम्म यो किल्लामा सात वर्षे युद्ध, अमेरिकन क्रान्ति र नेपोलियनको पालाको युद्धबाट ल्याइएका युद्ध बन्दीहरूलाई राख्ने गरिन्थ्यो । अझै यस किल्लामा स्कटिस सेनाको सम्मान गर्ने प्रचलन रहेछ। यो ऐतिहासिक दरबार अहिले एक म्युजियमको रूपमा संरक्षण गरिएको छ । युनेस्को विश्व सम्पदामा रहेको यस एडेनबरा क्यासलमा वार्षिक दश लाखभन्दा बढी पर्यटकहरू घुम्न आउँछन् । हामी किल्लाको सबैभन्दा अग्लो स्थानबाट एडेनबरा सहरको पूरा दृश्य आँखाभरि र क्यामेरामा कैद गर्दै पुनः किल्लाबाट सहरतर्फ लाग्यौं ।

अन्त्यमा प्रख्यात स्कच रक्सी बनाउने स्कच ह्विस्की हेरिटेज सेन्टरमा गयौँ । आगन्तुकहरूको लामो लाइन र समय अभावको कारण रक्सी बनाउने मुख्य स्थानमा जान भ्याइएन र बाहिरतिर मात्र हेरेर फर्कियौं । मुक्ति स्कच रक्सीको फ्यान, उसलाई भित्र नै गएर अनुभव गर्ने मन भएको बुझिन्थ्यो । तर महङ्गो टिकटको कारण र हामी तीन जनाको अरुचिले ऊ जान नपाएको गुनासो अझै सुनिरहनु पर्छ मैले बेला बेला । पछि चिनोको रूपमा महङ्गो स्कच ह्विस्की किन्दा मेरो भने मन नै कुटुक्क भयो ।

साँझ ग्लास्गोमा इदा र अन्नाले नेपाली खाना खाने भनेपछि यताउति खोज्यौँ तर चाँडै भेटिएन । भोकले पनि सताएको हुँदा नजिकैको एउटा इण्डियन रेस्टुरेन्टमा पस्यौँ । त्यतिबेलासम्म मोबाइलमै सर्च गर्ने सुविधा भइसकेको थिएन । रेस्टुरेण्टका एक जना वेटर महाराजगन्ज घर भएका एक नेपाली विद्यार्थी भेटिंदा त्यस बिरानो ठाउँमा आफ्नै दाजुभाइ भेटे झैँ लाग्यो । केही दिनदेखि तरकारी भात खान नपाएको इण्डियन करी, भात र भेडाको मासु खान पाउँदा दिनभरिको थकाई सब मेटियो ।

सबै ठाउँहरू उत्तिकै राम्रा, रमाइला र हाम्रा लागि नौला, अनौठा । भोलिपल्ट बिहानीपख फार्मर्स मार्केटमा घुम्न गयौँ जसले हाम्रो तराइतिरको हाटबजारको झल्को दिन्थ्यो । ससाना छाप्रोहरू बनाएका, तरकारी, फलफूलका थुप्राहरु, चिया कफीदेखि लिएर बेकरीका परिकार, माछा, मासु, फलफूल, दूधका परिकार, स्थानीयहरूले बनाएका लुगा, कपडा, खेतीपाती, बगैँचा आदिमा प्रयोग हुने बीउबिजन, औजारहरू सबैखाले सरसामान किनबेच गर्ने ठाउँ । त्यहाँका किसान र नेपालका किसानमा तात्विक भिन्नता देखिनँ मैले । अन्न उब्जाएदेखि हाम्रा भान्छासम्म आई पुग्दाको श्रम, लगाव, मेहनत उस्तै थिए, भावना उही थियो । प्रविधिको प्रयोगमा मात्र उनीहरू सम्पन्न थिए ।

अर्को दिन ग्लास्गोकोका मुख्य आकर्षक स्थानहरूमध्ये करिब बीस माइल टाढा रहेको बाल्लोच क्यासल कन्ट्री पार्क घुम्न गयौँ । त्यहाँ पनि एउटा पुरानो, तेह्राैँ शताब्दीमा बनेको किल्ला रहेछ । करिब दुई सय एकड् क्षेत्रमा रहेको रमाइलो पार्क रहेछ । सिमसिम पानी परिरहेकोले त्यहाँको घुमाइ भने त्यति आनन्दको भएन । ग्लास्गो नगरपालिकाको स्वामित्वमा भए पनि सन् १९८० देखि स्थानीय वेस्ट डनबार्टोनसायर काउन्सिलले लिजमा लिएर त्यसको व्यवस्थापन गरेको थाहा पाउँदा हाम्रो देशमा भएका यस्ता साना पार्कहरु स्थानीय तहलाई नै व्यवस्थापन गर्ने जिम्मेवारी दिए राम्रो हुन्थ्यो कि भन्ने लाग्यो।

साँझ ग्लास्गो सहरको मध्यमा रहेको एउटा पबमा गयौं, जुन मेरो लागि नौलो अनुभव थियो । पवमा अन्ना र इदा खुब नाचे, मलाई भने नाच्न उति नआउने र अलि संकोच पनि लागिरह्यो । इदाले मुक्तिलाई आइरिश डान्स गर्न सिकाइन् । दुबै जनाले खुब मज्जाले डान्स गरे । त्यहाँ नै थाहा भयो, कसैले सँगै नाच्न अफर गरेर नाइँ भन्दा त्यस व्यक्तिको अपमान गरेसरह हुन्छ । अझ, नाच्दानाच्दै बीचैमा छोडे झन् धेरै अपमान गरेको ठानिन्छ ।

यस्ता थुप्रै नौला अनुभवहरू सङ्गाल्दै चौथो दिन हामी ओस्लो फर्कियौं । जाँदाखेरि जस्तो फेरि एयरपोर्टमा केही हुने हो कि भन्ने डर कताकता लागेको थियो तर यसपटक भने केही भएन । कतै रोकिनु परेन । चिठ्ठा जितेर स्कटल्याण्ड घुम्न जाँदा आँखामा बसेको ग्लास्गो र एडेनबरा सहरको प्रकृति, कला र दृश्यले जहाँ पुगे पनि घरिघरि झक्झक्याई रहन्छ ।

यात्रामा खट्केको कुरा भने भन्नै बिर्सिएछ । ४ दिनको त्यो यात्रामा हामी बूढाबूढी पनि साथीकै रूपमा बसियो । कुराकानी पनि इदा र अन्नालाई नराम्रो लाग्ला भनेर अंग्रेजीमै बोलियो । बङ्क बेडमा तलमाथि सुत्दा पनि खुसखुस गरेर कुराकानी पनि गरिएन छ । घुम्दा देखेका, लागेका कुराहरू नर्वेमै आफ्नो कोठामा आएर सुनाउँदै हाँस्दै गरियो । मनसुन वेडिङको कथा त बिर्सियो अहिले तर त्यसले जुराएको स्कटल्याण्ड यात्रा भने कहिल्यै नबिर्सने गरी मन मस्तिष्कमा बसिराखेको छ ।