दिनहरू त आउँछन्–जान्छन् तर २०७५ साल मङ्सिर मसान्त मेरो लागि विशेष थियो । वनारस टेकेकै दिन साथीहरूसँग भएको सल्लाहानुसार सारनाथ पुग्ने तीव्र उत्कण्ठाले उत्फुल्लित थिएँ म त्यो दिन ।

वनारसबाट दश किलोमिटर जति पूर्वोत्तर हानिएपछि पुगियो गङ्गा र वरुणा नदी किनारको सारनाथ । बुद्ध धर्म एवं दर्शनसँग सम्बन्धित ऐतिहासिक तीर्थस्थल हो सारनाथ जहाँ सयौँ वर्ष पहिले गौतम बुद्धले प्रथम देशना गर्नुभएको थियो ।

ट्याम्पोबाट ओर्लेपछि एकछिन त अलमल भइयो । कता जाने ? के हेर्ने ? विशाल फाँटमा देखिँदै थिए बुद्ध धर्म एवं दर्शनसम्बन्धी अनेक संरचना र बौद्ध भिक्षुलगायत असङ्ख्य मान्छेहरूको लस्कर ।

कसैलाई नसोधी हामी लाग्यौँ एउटा थुम्कोतिर । ठूलो पोखरीको किनारसँग जोडिएको ढुङ्गेभर्याङ उक्लेर पुगियो डाँडामा । डाँडाको थुम्कोमा शिव मन्दिर सारङ्गनाथ पो भेटियो । सारनाथ खोज्दा सारङ्गनाथ पुगिएछ ! घुमी घुमी नियाल्यौँ सेरोफेरो र रमायौँ धेरैबेर । त्यसपछि बुद्धका मानसचिन्ह खोज्दै बढ्यौँ अगाडि ।

मूल गन्धकुटी नजिकै श्रीलङ्काली भिक्षु धर्मपालले सन् १९३६ ताका बनाएको नयाँ मूल गन्धकुटी बिहार रहेछ । त्यसको कलात्मक सुन्दरताले तानिएर बौद्ध भिक्षुहरूको लर्कोमा मिसिँदै त्यतै लाग्यौँ हामी पनि ।

भेषराज रिजाल

बिहार वरिपरि पथप्रदर्शन गरिदिन्छु भन्दै अगाडि तेर्सियो एकजना भारतीय केटो । पथप्रदर्शन गरिरहन पर्दैन भन्दा पनि केहीगरी छोडेन उसले ।

त्यो बिहारलाई सम्झनामा साँच्न तल्लीन हुनुभयो साथीहरू । बिहार सामुन्ने उभियौँ सातै जना । केही दिनदेखि एउटै ज्यानझैँ मसँगै हुनुहुन्छ उत्तमदेव विष्ट, धर्मबहादुर थापा र चुडामणि खनाल । भारतीय भूमिमा साथै हुनुहुन्छ हुमकान्त पाण्डे, यादव रेग्मी र शेरबहादुर बयक पनि ।

डराइ डराइ अपरिचित केटोको हातमा दुईवटा मोबाइल दिनुभएको धर्मबहादुर थापाको भावभङ्गीमाले सबैलाई हँसायो एकछिन । थापाको मनको कुरा बुझेझैँ केटोले समेत हाँसो थाम्न सकिरहेको थिएन ।
बुद्धको अस्तिधातु राखिएको बिहारभित्र छिरियो । बुद्धको जन्मदेखि महापरिनिर्वाण पर्यन्तका घटनाक्रम समेटिएका कलात्मक पेन्टिङहरू छन् भित्ताभरी । पेन्टिङ हेर्दै अघि बढ्दा अनेक भावहरू उम्रन्छन् मनमा । बालक सिद्धार्थको प्रतिरूप कल्पन्छु । नेपालका राष्ट्रिय विभूति गौतम बुद्धको गौरवशाली प्रतिमूर्ति पनि उभिन्छ मनमा सगर्व ।

शाक्य गणराज्य र कोलिय गणराज्यबीच रोहिणी नदीको पानी बाँडफाँडबारे झगडा मच्चिन्छ । शाक्य संघका समस्त सदस्यहरू कोलिय गणराज्यविरुद्ध युद्ध गर्ने पक्षमा देखिन्छन् । सिद्धार्थ भने शान्तिपूर्ण वार्ता र सम्वादको पक्षमा उभिनुहुन्छ । झै–झगडा, युद्धलगायत समस्त दुनियाको दुःख निवारणका उपाय खोज्न सिद्धार्थले गृह त्याग गर्नुहुन्छ र गुरु भारद्वाजबाट सन्यास लिएर भिक्षु बन्नुहुन्छ । शुरुमा साङ्ख्यदर्शनका आचार्य आलारकालम र उद्दकरामपुत्रबाट ज्ञान सिक्नुहुन्छ । पछि उरुवेल वनमा पुगी शरीरको समेत वास्ता नगरी कठोर तपस्या गर्नुहुन्छ । कठोर तपस्याबाट ज्ञान प्राप्त नभएपछि स्वास्थ्यको समेत ख्याल राख्दै ध्यान गर्न थाल्नुहुन्छ । वैशाख पूर्णिमाका दिन बोधगयाको पिपल वृक्षमुनि सिद्धार्थलाई बुद्धत्व प्राप्त हुन्छ । बुद्धले सारनाथ पुगेर असार पूर्णिमाका दिन प्रथम धर्मचक्र प्रवर्तन गर्नुहुन्छ । बुद्धले समस्त प्राणीप्रति प्रेम गर्न सिकाउँदै संसारमा शान्तिको उज्यालो छर्नुहुन्छ र मानवबीच सद्भाव र सहकार्यको अटुट सम्बन्ध गाँसिदिनुहुन्छ ।

मैले भित्ताका पेन्टिङ हेरेको थिएँ वा मनको चित्र घुमिरहेथ्यो आँखाको डिलमा ! छुट्याउन सकेको थिइनँ राम्ररी ।

देवदत्त र अङ्गुलिमालको भयानक रूप एवं लक्षित प्रहारबाट पनि विचलित हुनुभएको थिएन बुद्ध । ब्रह्माण्डका समस्त प्राणीहरूका जन्म, मृत्यु, रोगव्याध, दुःखकष्ट अनुभूत गरी मानवताको पाठ सिकाइरहनुभएको थियो संसारलाई । बुद्धलाई प्रिय शिष्यहरूका साथ देख्दा भने मनमा अद्भूत आनन्द छायो । एउटा अपार खुसी बोकेर बिहारबाट बाहिरिएँ म ।

कुटी बाहिर पिपलको रूखमुनि फेरि भेटिनुभयो उपदेशरत बुद्ध । बुद्धसँगै भिक्षु बनेका कौडण्य, वप्प, भद्दिय, महानाम र अस्सजिले बुद्धसँग लिइरहनुभएको थियो प्रथम धर्मचक्र देशना ।

बुद्धले चार आर्यसत्यबारे भनिरहनुभएको थियो– “संसारमा दुःख छ । दुःखको कारण छ । दुःख अन्त्य हुनसक्छ । दुःख निवारणका उपायहरू पनि छन् ।”

निरन्तर उपदेश दिइरहनुभएको थियो बुद्ध– “जन्म, रोग, मृत्यु, संयोग, वियोग आदिमा छ दुःख । अनेक तृष्णाहरूले नै जन्माउँछन् क्रोध, लोभलालच, व्यभिचार, दुराचार, अन्याय, अत्याचार र अशान्ति । तृष्णा त्याग गरे मात्र दुःख निवारण हुन्छ मान्छेको । ज्ञान, शील र समाधि हुन् दुःख निवारणका उपायहरू ।”

“ज्ञान, शील र समाधिबाट कसरी हुन्छ त मान्छेहरूको असिमित दुःख निवारण ?”

“ज्ञानबाट प्राप्त हुन्छ सम्यक दृष्टि र सम्यक सङ्कल्प । ज्ञानयुक्त शीलबाट हासिल हुन्छ– सम्यक वचन, सम्यक कर्म र सम्यक जीविका । ज्ञान र शीलयुक्त समाधिबाट मिल्दछ– सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि । संसारलाई दुःखको अन्धकारबाट उज्यालोतिर डोर्याउने यिनै हुन् अष्ठाङ्कि मार्ग अर्थात् आठ उपाय ।”

“पञ्चशीलको परिपालनाले सुध्रिन्छ मानव आचरण– चोरी नगर्नु, झुठो नबोल्नु, व्यभिचार नगर्नु, मद्यपान नगर्नु र मन, वचन, कर्मले कसैको हिंसा नगर्नु ।”

बुद्धबाट ध्वनित उपदेशले मेरो अन्तरहृदयलाई स्पर्श गरिरहेको थियो वा मनका बुद्ध बोलिरहनुभएको थियो मसँग ! फेरि पनि राम्ररी ठम्याउँन सकेको थिइनँ मैले ।

बुद्धको उपदेशना सुनिरहेझैँ तृप्त भयो मन । र, मनले दोहो¥याइरह्यो– “सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, … ।”

“राम्रो देखियो सर ।” उपदेश दिइरहेका बुद्ध र पाँच शिष्यहरूसँगै मेरो फोटो खिचेर देखाउँदै हुनुहुन्थ्यो चुडामणि ।

“सारनाथको उपदेश पाएर हृदयसँगै मुुहार पनि उज्यालिए होला नि त ।” म पनि हाँसिदिएँ बेस्सरी ।

ऋषिपतन, धम्मेकस्तुप, चौखण्डीस्तुप, अशोकस्तम्भ सबैतिर फैलिनेगरी छेवैको ठुलो घण्टाजत्तिकै गुञ्जियो होला मेरो हाँसो ।

सबैका अनुहारमा पनि प्रतिबिम्बित देखिन्थ्यो त्यो हाँसो ।