सुडान नर्थ सेक्टरको कोर्मा टिम साइटमा एक दिन, अफिसको काम सकेर बल्ल आफ्नो रुम जाने बेला भएको थियो । बाहिर प्रचण्ड गर्मी र टन्टलापुर घाम लागिरहेको थियो । आकाशतिर कतै गड्याङ–गुड्युङको ध्वनि सुनिन थाल्यो । एकैछिनमा आकाशभरि अन्धकार मडारियो । आकाशमा काला बादलहरू छिटो–छिटो कुद्दै थिए, एक आपसमा जोडिँदै । हुरी, बतास र आँधीबेरीको भयावह स्वरूप देखियो ।

सुडानको आँधीबेरी र हुरी, बतासलाई हबुब भनिँदो रहेछ। हबुब मुख्य रूपमा सुडानको उत्तरी भागमा आउने धुलो वा बालुवाको आँधीको नाम हो, जुन प्रायः मे र सेप्टेम्बरको दिउँसो र साँझमा देखिन्थ्यो । यो ‘हबुब’ नाम अरबी शब्द ‘हब’ बाट आएको हो, जसको अर्थ ‘फुक्नु’ हो । बेला–बखत सोझा, निमुखा सुडानी जनतालाई यो हबुबले फुकिरहन्छ । सेकिरहन्छ । अनि पिरोलिरहन्छ ।

सुडान लगायत अन्यत्र गर्मीमा चल्ने यस्तो हिंस्रक, त्रासयुक्त, भययुक्त र दमनकारी हावाको झोकाले मरुभूमिबाट बलौटे बालुवाका कण र धुलो प्रशस्तै ल्याउँदछ  । यसले जन–जीवन अस्तव्यस्त र कष्टकर बनाउँछ । मैले नेपालमा देखेको सामान्य हुरी–बतास जस्तो थिएन त्यो हावाको झोका अर्थात् हबुब । जुन धुलाका पहाडले ढाकिएको आकाश, अनि हावाको गर्जन थियो । सुडानको बलौटे बालुवा र धुलो सोरिएर ठूलो पहाड सरह टाढाबाट म भएको दिशातर्फ आउँदै थियो । कालो धुलोको बाक्लो पर्खाल बनेर आँधीबेरीले पुरै गाउँ, बस्ती पुरिँदै आएको देखेँ मैले । म अफिसबाट युएनको गाडीभित्र चढेर रुमतर्फ जाने तरखरमा थिएँ । अफिस र म बस्ने रुमको दूरी केही टाढा थियो ।

बेस क्याम्प बाहिर र भित्र कम्पाउण्डमा देखिएका केही मानिसहरू पनि भागदौड गर्दै सुरक्षित स्थानतर्फ हतार–हतार भाग्दै थिए । मनभरि अनेक प्रकारका डर उत्पन्न हुन थाल्यो । मनमा शङ्का–उपशङ्का उठ्न थाल्यो — अब यही आँधीमा पो घाइते भैइन्छ कि या  मरिन्छ कि ? म र यो गाडी पुरै हबुबले पुरिन्छ कि ? या मानवनिर्मित भवन र भौतिक संरचना नै ध्वस्त हुने हो कि ? यस्तै यस्तै विचलनहरू मनमा उत्पन्न भए । देखिएका केही मानिसहरू ‘हबुब–हबुब’ भन्दै चिच्याउँदै, कराउँदै आश्रय खोज्दै सुरक्षित स्थानतर्फ भागिरहेका थिए । मानिसहरूभित्र त्रास मात्र देखिन्थ्यो । रुखबिरुवाका हाँगाहरू भुइँतर्फ लच्किएका थिए, धेरै वनस्पतिहरू भाँचिएका थिए । विद्युतका खम्बाहरू ढलेका थिए । पूरै जनजीवन अस्तव्यस्त देखिन्थ्यो । सम्पूर्ण क्षेत्र त्रासपूर्ण थियो । सुडानको मरुभूमिमा चारैतिर सन्नाटा छाएको थियो ।

हामी बस्ने ठाउँ धुलोको समुद्र र हबुबको साम्राज्यमा हराएको थियो । डर र भयले काँप्दै–काँप्दै मोबाइल झिकेर त्यो डरलाग्दो क्षणलाई कैद गरेँ । ठूलै जोखिम उठाएँ । अनि अदम्य साहस पनि गरेँ त्यो पल, त्यो क्षण । केही थान फोटो पनि लिन भ्याएँ । मैले प्रत्यक्ष देखेको, भोगेको र महसूस गरेको त्यो हबुब जसले आकाशको उचाइसम्म धकेलेको धुलो र बालुवाको थुप्रो पर्खालसरि भएर अघि–अघि बढ्दै थियो ।

त्यो मौसमी मोर्चा हबुबले अगाडि धकेलिएको धुलो र बालुवा ठूलो उचाइको पर्खाल बनेको थियो, जुन द्रुत गतिमा अगाडि आइरहेको देखेँ । त्यो पर्खाल बनेर आएको हबुब आकाशमा कहिले सुन्तला रङ, त कहिले खैरो रङमा देखिन्थ्यो । जीवन र मृत्युको सीमामा पुगेको जस्तो लाग्दा पनि स्मृतिको एउटा फ्रेम सुरक्षित गर्न मन लाग्ने रहेछ ।

सुडानको कोर्मा टिम साइटनजिक हबुबको साम्राज्य

सुडानको कोर्मा टिम साइटनजिक हबुबको साम्राज्य

मैले हतार–हतार गाडी हाँकेँ र सुरक्षित दिशातर्फ लागेँ । तुरुन्तै रुम पुगेँ । सम्पूर्ण ढोका र झ्याल बन्द गरेर भगवान र अल्लाहलाई सम्झेँ । प्रि–फाइभ ब्लकको सिसाको झ्यालबाट हबुबको सम्पूर्ण गतिविधिको सूक्ष्म निरीक्षण गरेँ । म बसेको ब्लकलाई पनि हबुबले स्पर्श गर्दै, पूरै भवनलाई बलौटे बालुवा र धुलोले ढाँक्दै अर्को दिशातर्फ गयो ।

मैले बल्ल आनन्दको सास फेरेँ। हबुब गएपछि वातावरण खुला भयो । मौसम सफा भयो । केहीबेरपछि हल्का वर्षा हुन थाल्यो । त्यसपछि मानिसहरू बाहिर निस्किन थाले । वर्षातपछिको मौसम र सफा वातावरणमा रमाउन थाले । बालबच्चाहरू खेल्न थाले । अनि हबुबको सन्दर्भमा एक–अर्काबीच भलाकुसारी हुन थाल्यो ।

आकाशबाट भएको जलवृष्टिका कारण प्रचण्ड गर्मी केही क्षणमै शीतलतामा परिवर्तन भयो । एकैछिनमा जताततै उत्साह र उमङ्ग छायो । हबुबका कारण कोठाभित्र पसेका धुलो र बालुवाका कणले फोहोर भएको मेरो सुन्दर सुडानको कोठा र आसपास सफा गरेँ । आफूलाई पनि नुहाएर ताजगी दिलाएँ ।

सुडानको मरुभूमिमा यस्ता प्राकृतिक विपद् र मानवीय बर्बरता साथै प्रकृतिको जालझेल पनि झेल्नु पर्यो समय–समयमा । त्यसैले, जिन्दगीमा कहिले हावा, पानी, हुरी, बतास, हबुब जस्ता प्राकृतिक विपत्ति आउँछ, पत्तो नै नहुँदो रहेछ । अनि मानिसको जीवनमा पनि सुख र दुःखको भेल–बाढी कहिले आउँछ भन्ने अनुमान गर्न गाह्रो हुँदो रहेछ ।

साँच्चीकै, ईश्वर, अल्लाह वा परमेश्वर भन्नु नै हाम्रो आस्थाको केन्द्र हो । यस्तो आस्था सम्पूर्ण मानवजातिमा हुन्छ । मानव चेतनशील प्राणी भएकै कारणले उसले आफ्नो विवेक प्रयोग गरेर असल र खराबबीचको भिन्नता सजिलै छुट्याउन सक्छ । पहिलाउन सक्छ । ईश्वरको रूप नै चेतना हो, चेतना नै विवेक हो । हामीले आफ्नो विवेकी हृदयलाई कहिल्यै विचलित हुन दिनु हुँदैन । आत्मसंयम हुनुपर्दछ । धीरता हुनुपर्दछ ।

त्यसैले, प्रकृतिका विभिन्न रूप र रङ हुन्छन् । मैले देखेको त्यो प्रकृतिको रूप — हबुब, र हबुब हटेपछिको वातावरण र मौसम — मेरो स्मृतिमा आज पनि ताजा छ । त्यो प्रकृतिको अवतार र दृश्यलाई सुरक्षित रूपमा, सम्झनायोग्य ढङ्गले मन मस्तिष्कमा फोटोसहित कैद गरेँ मैले ।

साँच्चै नै हो — प्रकृतिले सधैँ हृदय वा आत्माको रङ लगाउँछ जिन्दगीमा । अनि प्रकृतिको अध्ययन, माया–मोह र सामीप्यताले जो–कोहीलाई सफल बनाउँछ । मैले अनुभव गरेँ — अनि आफैँमा महसूस गरेँ — जिन्दगी केवल सुखको सागर मात्र होइन, दुःख, कष्ट र अभावको मरुभूमि पनि हो ।