जदौ !

सिन्जा ले गोधूलि साँझमा हामीलाई स्वागत बर्सायो ।

जदौ !

हामीले पनि नमस्कार फर्कायौँ जुम्ल्याहा हात जोडेर । फिसिक्क हाँस्यो सिन्जा !

झमक्क साँझ ओर्लिसकेकाले झिटीगुन्टा बिसाउन हतारो भैसकेको थियो हामीलाई । जुम्ला तातोपानीमा सम्पन्न लोकवार्ता सङ्गोष्ठीको धङ्धङी छँदैथियो । ड्यौँडा र ढोल ढोलकको रन्को कानमा गुन्जिरहेकै थियो रमरम । यतिखेर हामी आइपुगेका थियौँ जुम्लाको तातोपानीबाट सिन्जा उपत्यका !

‘हामी त्यसै आएका होइनौँ, बलि राजाले पठाएका’ भने झैँ लोकवार्ताले बोलाएरै आइपुगेका हौँ सिन्जा । मेरो त पहिलो हो सिन्जा भेट्ने उपक्रम ! सांस्कृतिक सम्पदा भैलीमा बाँचेका बलि राजाको राजधानी ! प्रफुल्लित बनिरहेको छ मन ।

धेरै वर्ष पहिले यहाँ पुगेका नियात्री देवीचन्द्र श्रेष्ठ (२०४५, घाम पानीको छापविडो) को अनुभव सम्झिरहेछु म यतिखेर । उनले लेखेका थिए, “जुम्लाको सदरमुकाम छिनासिम (हालको खलङ्गा ) देखि तिलानदीको किनार हुँदै नाग्म पुगेर सिन्जाबाट आइरहेको हिमनदी भेटिन्छ । बस, त्यही हिमनदीको बाटो गरी पूर्व फर्केर, अर्थात् नदीको विपरित दिशा भएर सरासर हाट सिन्जा पुग्न सकिन्छ । यसरी हिँड्दा उकालो ओरालो कहीँ केही पर्दैन । हिँडाइमा २ दिन लाग्छ । घोडा त एकै दिन पनि पुगिरहेकैछ ।” पहिले यसरी पैदलै वा घोडसवारमा आउनुपर्ने सिन्जामा अहिले आँगनसम्मै मोटरमा सवार भएर आइपुग्दा विकासको झुल्को देखिरहेछु ।

सिन्जा क्षेत्र, खस नेपाली भाषाको उद्गम स्थल मानिन्छ । खस राज्यका रूपमा चिनिने खसान अर्थात् खस जातिको बाक्लो रस्तीबस्ती भएको सिन्जाको बोलीवचनमै मिठास पाइरहेछु । नौलो नौलो अनुभूति भैरहेछ । सम्झिरहेछु अग्रज संस्कृतिविद् एवम् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र भाषाविद् तथा लोकवार्ताविद् चूडामणि बन्धु । साथै उनीहरूका सहयात्री विहारीकृष्ण श्रेष्ठ, स्थिरबहादुर सिंह र प्रदीप रिमाल । उहाँहरूकै कुत्कुत्याइमा हामी लोकवार्ताका विविध पक्ष कोट्याउन आइपुगेका छौँ यतिखेर । उहाँहरू २०२७ सालतिरै कणाली लोकसंस्कृतिको अन्वेषण र अध्ययन गर्न यहाँ आइपुग्नुभएको हो । यसै पवित्र र रमणीय भूमिमा मुकाम गरेर लोकसंस्कृति र लोकभाषाको अन्वेषण गर्नुभएको थियो । हामी यतिखेर लोकवार्ताको वैशाखी टेकेर आइपुगेका छौँ लोकवार्ताको पहिचान, संवर्धन र संरक्षणको सन्देश प्रवाहित गर्न गराउन ।

यसपटकको हाम्रो दौडाइ हो सुर्खेतदेखि मुगुको रारासम्म । करिब तेह्र दिने दौडाइ ! आज हामी पुगेका छौँ सिन्जाको नराकोटमा । तीस जनाको लोकवार्ते समूह बाँडियौँ दुई ओटा बासस्थानका लागि, अर्थात् होटलका लागि । एउटा सानो समूह लम्कियो त्रिवेणी होटल एण्ड रेस्टुराँमा, अर्को ठुलो समूह, गल्लीको एउटा होटलमा छिर्यो । म त्यसैमा अट्नुपर्ने थियो तर कोठाको अभावले अटाइनँ र उछिल्टिएँ । अनि हत्तपत्त सानो र विशेष समूहमा अल्झिन कुदिहालेँ ।

त्रिवेणी होटलको भवन भव्य देख्दा सन्चो लाग्यो । ठुलै रुखको आड हो । विशेष समूहमा विशेष व्यवस्था हुन्छ भन्ने अन्य सहयात्रीहरूको डाह ठिकै हो कि झैँ लागेको हो मलाई पनि । “अहो आइपुग्नु भयो ? लौ लौ ! खाना खाइहालौँ ।” नसाले धूत एक मोटे मोटे व्यक्तिले हामीले झिटीझाम्टा बिसाउन नपाउँदै भान्छे टेबुलतिर सङ्केत गर्न थाले । हामीलाई पहिले कोठामा पुगेर केहीबेर सुस्ताउनु थियो । हात मुख धुनु थियो । तर उनी खाना खान नै जिद्दी गर्दै थिए । हामीले कोठाकै माग गरिरह्यौँ । वास्तवमा होटल व्यवस्थित भैसकेको रहेनछ । कोठाहरूको त व्यवस्थै रहेनछ । नगरपालिकाको आग्रहमा दश जनाको खाना र वासको व्यवस्था गर्न उनलाई जिम्मा लगाइएको रहेछ । उनले राजनैतिक कार्यकर्ता त होलान् भन्ने बुझेर खाना ख्वाएर खुल्ला हलमा लस्करै सुताइदिने योजना बनाएका रहेछन् । हामी जेष्ठनागरिक देखेर उनी जिल्लिए । त्यसमा पनि लोकवार्ताका अध्यक्ष, उपाध्यक्षका विशिष्ट समूह भएको थाहा पाएपछि त हड्बडाउन नै थाले ।उनलाई के गरूँ कसो गरूँ हुन थाल्यो । अप्रत्यासित उकुसमुकुसमा रनभुल्ल भए केही बेर ! “सरहरूलाई म जसरी पनि सुताउँछु । मैले त सामान्य कार्यकर्ता होलान् भनेर सोचेको थिएँ । अहिले म एक्लै छु । बुढी र छोराहरू पनि बाहिर गएका छन् । म केही न केही गर्छु, मेरै सुत्ने कोठा पनि दिन्छु सरहरूलाई । नआत्तिनोस् ।” पूर्व गाउँपालिका अध्यक्षसमेत रहेका होटल सञ्चालक देवसिंह रावलले लड्खडाउँदै आश्वासन दिनथाले । के गरुन् त बिचरा ! ‘चोक्टा खान गएकी बुढी झोलमा डुबी’ भने झैँ भयो मलाई । अर्को होटलमा ठाउँ पाएको भए यता लाग्नुपर्ने नै थिएन । जे भयो भयो अब ! जे पर्ला सो टर्ला !

“म यस गाउँपालिकाको पूर्वअध्यक्ष ! जसरी पनि कोठा मिलाउँछु, एक छिन पख्नोस् ।” मुख बिगार्दै उनी बारम्बार भन्थे र यताउता गर्न थाल्थे । मापसेमा धूत उनले हाम्रा लागि बैठक कोठा, छोराहरूको भद्रगोल कोठाहरूसमेत मिलाएरै छोडे । हामी पनि घुस्रियौँ यथास्थानमा कुनै सङ्कोच नमानी । सङ्कोच मान्दा उठिबास हुने सम्भावना प्रबल थियो । अर्को होटलमा घुस्रिने साथीहरूको डाह भोग्यौँ हामीले मज्जाले । बुझाइमा फरक परेपछि कस्को के लाग्छ र । त्वम् शरणम् । सिन्जाली रात मस्तले बितायौँ, कुनै गुनासो रहेन । यात्राको रोमाञ्चकता पनि त यस्तैमा अल्झेको हुन्छ । नत्र के को यात्रानुभूति !

कार्तिक नौ गते (२०८१) को बिहान झलमल्ल थियो सिन्जा । रातको आश्रयदाता रावलजीको सदाशयता न्यानो बन्यो । अनि हिमा कर्णालीको कलकल र छङ्छङ्सँगै आङ तन्क्याएँ प्रफुल्ल हुँदै । सिन्जाको निर्मलता स्पर्श गरायो तात्तातो चियाले । जडिबुटीको चिया स्वादिष्ट र स्फूर्तिमय भेटेँँ मैले । कर्णाली भूमिको पर्वतीय भूबनोट साँच्चै लोभलाग्दो छ । सिन्जाली धरातल पनि के कम हुन्थ्यो । कतै कलकल नदी प्रवाहित छन् भने कतै सल्ला सुसाइरहेका छन् । कतै मार्सीको महक मग्मगाइरहेको छ भने कतै जडीबुटीको सुगन्ध फैलिएको छ । दुर्गमबाट सुगम बन्दै गरेको कर्णाली अझै ठस्स गन्हाउँदैरहेछ झोरोको राग !

पन्ध्रौ शताब्दीको मध्य (वि.सं १४५५) मा राजा जालन्धरले सिन्जा राज्य स्थापना गरेका थिए । राजा जालन्धर शिवभक्त हुनाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ जोडेर ‘सिन्जा ’ नाम राखेको जनश्रुति सुनेको थिएँ मैले । नभन्दै शिवरूपी केदारनाथको महिमा गुन्जिरहेको भेटिरहेको थिएँ सिन्जामा यत्रतत्र । सिन्जाको यस अवस्थितिलाई हाटसिन्जा नराकोट पनि भनिँदो रहेछ । हाटसिन्जा हिमा कर्णाली अर्थात् स्थानीय बोलीमा न्योरगाड भनिने हिमा खोला समेटेर पर्वतीय धरातलमा रमाइरहेकोछ । यसो नियाल्दा हाटसिन्जा हात्तीको पिठ जस्तो पर्वतशृङ्खलाको दक्षिणी भेगमा बसिरहे झैँ लाग्यो मलाई ।

म डाँडापाखा नियाल्दै थिएँ, सिन्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल हस्याङफस्याङ गर्दै आइपुगे । अध्यक्ष हर्ताकर्ता र जाँगरिला युवा नै रहेछन् । सिन्जाको विकासमा अग्रसर रहेको भेटिए । उनैको अगुवाइमा हामी उक्लियौँ सखारै राइके भेग अवलोकन गर्न । राइके पाखा उनको एउटा दृष्टिबिन्दु रहेछ पहिचानको खोजीमा ।
बस सिन्जा नदी तरेर कनिकुथी उकालो लाग्यो । पहाडी सडकको उबडखाबड छिचोल्दै तेर्सिलो उकालो (तेर्पाई तेर्पाई) मा बस गतिशील थियो भने म परिवर्तित प्राकृतिक दृश्यमा रमाइरहेको थिएँ । कहिले नवयौवना झैँ हराभरा पाखापखेरा देखिन्थे त कहिले कोरा बसेका क्रियापुत्री झैँ खल्बाट (उजाड) पाखा । कहिले निर्जन भूमि त कहिले रमणीय रस्तीबस्ती । कहिले लहलहाउँदा खेतबारी त कहिले बाँझा पाखाबारी ।

अधिकांश भूभाग बाँझो नै देखिरहेछु मरुभूमि झैँ उराठ । यदाकदा देखिने खेतबारीमा पनि वृद्धवृद्धा तथा बालबालिकाको हातहरू मात्र सल्बलाएका देखिँदै छन् । कर्मठ युवाका हात कमै देखेँ मैले, र त कटक्क काटिँदै थियो मन । सुन्दै अनि अखबारका पन्नामा पढ्दै आएको थिएँ, ‘कर्णालीमा खाद्य संस्थानको गोदाममा चामलको अभावले टाढाटाढाबाट आएर कैयौँ दिनसम्म पालो पर्खंदा पनि रित्तो हात फर्किनु पर्यो । नागरिकको यस्तो बिजोक पर्दा पनि सरकार किन मौन ?’ यस्तो किन हुन्छ ? हामी आयातीत चामलमै किन भर पर्न बाध्य छौँ ? सरकारकै मुख मात्र किन ताक्छौँ हामी ? सरकारले पनि चामल बाँड्नुभन्दा चामल फलाउने सीप र हौसला दिएर रैथाने उत्पादनलाई टेवा पुर्याउँदा बेस हुँदो हो । खै र हौसला बाँडिएको युवा पुस्तामा ! पलायन हुने वातावरण प्रदान गर्नु बाहेक अरू जान्दैन कि सरकार !

यस्तै रन्कोफन्को बारम्बार आइरहँदा फुत्त फुत्किन्छ प्रश्न, “अध्यक्षज्यू, खेतबारीमा त बुढाबुढी र केटाकेटी मात्र देखिन्छन् नि ! तन्नेरीहरू छैनन् कि क्या हो ? खेतबारी पनि बाँझै देखिन्छन् अधिकांश । यसरी उब्जाउ कत्तिको हुन्छ ? धानेको छ यहाँको उब्जाउले गाउँपालिका ?” “खै सर ! के भनौँ । तन्नेरीहरू सबैजसो पखेटा लाग्नासाथ उडिजान्छन् । गाउँघरमा दुःखजिलो गरेर बस्नै चाहँदैनन् । गरी खानेलाई यहाँ पनि प्रशस्त सम्भावना नभएको होइन । बाटोघाटोको विकासले सम्भावना बढाएकै छ तर तन्नेरीहरू अझ बढी आय र सुविधामा लोभिएर पलायन हुन पुग्छन् । म यहीँ बसेर केही गरौँ भन्छु, साथीहरूको मन फिर्दैन । खेतबारी बाँझो पनि किन नरहुन् । युवाशक्ति सबै पलायन छन् । यस्तो अवस्थामा यहाँको उब्जाउले के धान्नु र !” अध्यक्ष गुनासो पोख्छन् । उनी पनि के गरुन् ! राष्ट्रिय रोग नै बनिसकेको छ पलायनको शृङ्खला !

म घोत्लिन्छु, नेपालीभाषाको उद्गमस्थलले विकास गर्नैपर्ने हो । धान, गहुँ, मकै, उवा, कोदो, फापर, सिमी, तोरी, स्याउ, ओखर आदिको फसलले नै पनि सिन्जालाई सम्पन्नतातिर धकेल्न सक्थ्यो । जुम्ली मार्सी चामल त विख्यातै छ । त्यसैको व्यापक खेती गर्दा पनि हुन्थ्यो । त्यस्मा पनि राडी, पाखी आदिको घरेलु उत्पादन र भेँडा च्याङ्ग्रा, चौरी, गाईबस्तु पालन पनि नहुने हैन । जडिबुटीको भण्डार नै हो कर्णाली । हालका आधुनिक औजार र प्रविधिको प्रयोगबाट यथेष्ट आय आर्जन गर्न सकिन्छ नै तर हामी बढी सुखसुविधा भोगी हुने, मिठो खाने र राम्रो लाउने प्रलोभनमा फस्दै गएका छौँ । यो दुःखद अनुभूति हो ।

यस्तो उब्जाउभूमि परित्याग गरेर पलायन हुनु किन रहर गर्दा हुन् हाम्रा युवाहरू ? उब्जाउभूमि खनीखास्री गरेर आफ्नै माटोमा फलेको अन्न खाएर देश समुन्नत गराउन नसकिने हैन । हाल विकासका पूर्वाधार खडा हुँदै पनि छन् । मिठै खान पनि त आफ्ना उब्जाउ निर्यात गर्न सके आवश्यक वस्तु आयात गर्न पनि सकिन्छ नि ! सरकारले पनि उचित वातावरण उपलब्ध गराउन ध्यान दिनुपर्छ । हामी विदेशी स्याउभन्दा स्वदेशी नास्पाती मिठो मान्न छोडिसकेका छौँ । यो नै हाम्रो दुर्बल पक्ष लाग्छ मलाई ।

“सरहरू !” आवाज बज्रियो कानमा । म यथार्थतिर हुत्तिएँ । पुलुक्क हेरेँ अध्यक्ष धिताललाई, जो अहिलेको पदप्रदर्शक थिए उनी भन्दै रहेछन् – “सरहरू ! अहिले हामी राइके भेगतिर लाग्दैछौँ । ऊ त्यता पारि केदारनाथको मन्दिर छ । केदारनाथ पहाडको सिरानमा बारेगाउँ बुदबुदिमा अवस्थित छन् । भारतको उत्तराखण्डको केदारनाथ र यस केदारनाथको सम्बन्धमा एउटा रोचक किंवदन्ती पनि छ । त्यो किंवदन्ती पछि भन्दै गरौँला । अहिले सिन्जाको बारेमा केही भन्छु ।

“ऊ त्यो कनका सुन्दरीको डाँडापछाडि साँघुरो गल्छी हुँदै प्रवाहित यस हिमानदी अर्थात् सिन्जा खोलाको फराकिलो मैदान नै सिन्जा को मुटु हो । सिन्जा २४३२ मिटर उचाइमा अवस्थित छ । कनका सुन्दरी मन्दिरभन्दा तल रहेको मल्ल राजाहरूको पुरानो राजधानी कोटगाउँ छ । त्यहाँ छरपष्ट रहेका भग्नावशेषहरू हालसम्म पनि भेटिन्छन् । उत्तर दक्षिण फैलिएको फराकिलो सिन्जा उपत्यकाभित्र विभिन्न जातजातिको बाडा छन् ।”

“बाडा ? बाडा भनेको के हो ?” हाम्रै साथीहरूमध्ये कसैको आवाज गुन्जियो । “ए, बाडा भनेको गाउँबस्ती हो । सिन्जाका गाउँहरूमा हाटसिन्जा , लुट्को गाउँ, गोठीज्युलाका अतिरिक्त सकुनबाडा, पछाडबाडा, लाहाडज, बडुवालबाडा, भट्टबाडा, कार्की आचार्य बाडा, धिताल लिही बाडा, भण्डारी बाडा, प्याकुरेल बाडा, विष्ट बाडा, अगस्ति बाडा, चुलेल बाडा आदि छन् । ऐतिहासिक, धार्मिक र सांस्कृतिक परम्पराको धनी छ सिन्जा । सिन्जा खोलाको दक्षिण र उत्तर दुवै किनारमा नदी उपत्यकाका सुन्दर फाँटहरू अति उर्बर छन् । यसै नदीले सिन्जा उपत्यका उर्वर बनाएको छ । भनिन्छ सिन्जाको सभ्यता नै हिमानदी किनारको सभ्यता हो ।”
उनी भन्दै थिए बिचमै मैले प्याच्च सोधेँ, “अध्यक्षज्यू, सेरा फाँटको कुनै यौटा बारीको पाटोमा सुन भेटिएको कुरा साँचो हो ?”

चूडामणि बन्धु सरको भनाइ सम्झेर सोधेको थिएँ । उहाँले ‘गाउँ गाउँमा गवेषण’मा लेख्नुभएको छ “हाटसिन्जा एक किसिमले सिन्जा उपत्यकाको सिरानको गाउँ हो । यहाँ बाहुन, ठकुरी, कामी, दमाईको बसोवास छ । यसको पूर्वतिर पारिपट्टि अघिका मल्ल राजाहरूको राजधानी भएको ठाउँ लामथाडा छ र त्यही कनकासुन्दरी देवीको मन्दिर पनि छ । मन्दिरदेखि मुन्तिरको सेरामा बारी बनाउँदा केही वर्ष अघि एउटा सुनारले आठ धार्नी सुन भेट्टाएको थियो रे ! केही महिना अघि पनि त्यहाँ माटाले बनाएको नालीको टुक्रो फेला परेको थियो ।” “खै कुन्नि सर ! गाइँगुइँ त मैले पनि सुनेको हुँ । तर सत्य कुरा हो होइन मलाई थाहा भएन ।” अध्यक्ष धिताल सरक्क पन्छिए । २०२७ सालतिर उनी जन्मेकै थिएनन् कि ! “उत्रौँ सरहरू ! आइपुग्यो ।” उनले सचेत गराए । त्यतिबेलासम्म गन्तव्य स्थल आइपुगिसकेछ । हामी ओर्लियौँ बसबाट । सडक अझै लम्बिएको थियो कतै पुग्ने धूनमा । त्यहाँ ओर्लिएर चारैतिर हेरेँ । प्राकृतिक सुन्दरताले लठ्ठै पार्यो । अगस्ती बाडा आइपुगेका रहेछौँ ।

सडककै छेउमा एउटा ढिक्कोको मुनि माटाको मुण्डे घरको छानालाई अर्को घरको आँगन बनाइएको देखियो । एउटा घरको छाना अर्को घरको आँगन बनाएर भिरालो भू-धरातलको सदुपयोग गरिनु सुन्दर पक्ष हो । कृषिप्रधान समाजमा कृषियोग्य जमिनको जगेर्ना गरिनु पनि हो कि ? भिरालो डाँडामा कृषियोग्य जमिन पनि त न्यून हुन्छ, हैन र ? पूर्खाको सोच र प्रविधिलाई कम आँक्न सकिन्छ र ?

आहा ! त्यसै आँगन अर्थात् च्याप्टो छानोमा कोदो चुटिरहेकी कर्मशील बैकनी (महिला) को पसिना हिउँ झै घाममा टलक्क टल्किरहेको थियो । म यस्तै दृश्यमा हराइरहेको थिएँ, बोलावट आयो एकै ठाउँमा भेला हुन । हामी आज्ञाकारी विद्यार्थी झैँ झुरूप्प भयौँ र घेर्न पुग्यौँ हाम्रा अगुवा धितालजीलाई ।

“ऊ त्यो पारिको खाली पाखो देख्नुभयो ? राइको भेग हो त्यो । यस्ता भीराला पाखाहरू अरू पनि छन्, तर यो अग्लो र फराकिलो पनि छ । चट्टाने पाखो हुँदा भूस्खलनको सम्भावना पनि कम छ । हो यसैमा नेपालको नक्सा र खसान क्षेत्रको नक्सा कोर्ने मेरो योजना छ पहिचानका खातिर । यस विषयमा धेरै स्थानमा कुरा पनि राखिसकेको छु । पालिकाको यसवर्षको बजेटबाट केही रकम पनि छुट्याएको छु । केही विरोध रहे पनि यस पाखोमा कुनै अन्य गतिविधि गर्न पनि रोक लगाएको छु । विद्वत् वर्गहरू आउनुभएको अवसरमा यसै बारेमा छलफल गरौँ भनेर हजूरहरूलाई दुःख दिएको हुँ । यहाँ त्यस्तो नक्सा कोर्दा कस्तो होला ? कसो गर्नु पर्ला ?” गाउँपालिका अध्यक्षजीले एकै सासमा आफ्ना कुरा टुङ्ग्याए ।

मैले हिमा कर्णालीको पारिको पाखो हेरेँ । तल किनारामा केही खेतबारीका फोगटाहरू देखिन्थे । त्यहीँबाट रुख बिरुवा नभएको करिब ९० डिग्री कोणमा ठाडै उभिएको उतुङ्गको खल्वाट डाँडो पर्लक्क पल्टिएला झैँ लाग्थ्यो । टुप्पामा टुपी ठडिएका झैँ एक दुई ओटा रुख बाहेक बाँदरसमेत लड्लाजस्तो भिरालो पाखा कक्षाकोठाको कालोपाटी जस्तै खाली खाली देखिन्थ्यो, त्यहाँ जे लेखे पनि हुने जस्तो । वस्तुभाउलाई चरनयोग्य नभएर हरियो झारसमेत सुकेर फुस्रिएको पाखो, अरू के प्रयोजनका लागि उपयोगी हुँदो हो र ! सोच नराम्रो लागेन उनको ।

प्रकृतिको रूप रङ पनि गजब गजबको देखिरहेछु म । कतै मार्सी धान, कोदो, मकै, कतै स्याउ फल्ने हरिया र रसिला भूभाग छन् भने कतै राइको भेग जस्ता पाखा पखेरा पनि छन् । जे होस् यस्तै विविधताले नै त हाम्रो मातृभूमि साँग्रिला झैँ सुन्दर र शान्त छ ।

हामीलाई लागेको सल्लाह सुझाव पस्कियौँ । मूलतः भाषाविद् माधव पोखरेल, इतिहासविद् भवेश्वर पंगेनी तथा अन्य लोकवार्ता सहयात्रीहरूको नेपालको भन्दा सिङ्गो खसान राज्यकै नक्सा राख्न उपयुक्त हुने सुझाव रह्यो । खसान राज्यले हालको अवस्थिति मात्र हैन भारतको कुमाउ गडवालसम्मै ओगटेको कुरा प्रकाश पारियो । खसानको विशालतामा अध्यक्षले हौसिँदै छलफलमा लैजाने वाचा गर्दै कोण सभा टुङ्ग्याएपछि हामी पञ्चदेवलतर्फ उन्मुख भयौँ ।

गाउँपालिका अध्यक्ष धिताल सन्तुष्ट भए भएनन् उनै जानून् तर उनको जाँगर, उत्सुकता र केही गरौँ भन्ने सद्भावनामा आशावादी भयौँ हामी । स्थानीय युवा शक्तिलाई आफ्नै माटोमा रोकी विकासको गुराँस फुलाउन सकुन् ! मन मनै कामना गर्दै अघि बढेँ म पनि ।

विष्टबाडामा अवस्थित खस राजाहरूले बनाएको जनविश्वासमा अडेको पत्थरको देवल अर्थात् मन्दिरको अवलोकन गरियो । अछामको विनायकमा रहेका पञ्चदेवल, दैलेखमा रहेको पञ्चदेवलकै आकार प्रकारको देवलहरू दुइओटा देखिए । दुईटा मात्रै भए पनि पञ्चदेवल नै भनिँदोरहेछ । ती दुवै देवल हेर्न लायकका थिए । नेपालको सुदूर पश्चिममा यस्तै प्राचीन देवलको अस्तित्व देख्दा रमाउँछ मन ! त्यसै देवलको प्राङ्गणमा सङ्ग्रहालयको भवन पनि निर्माण गरिएको रहेछ । संञ्चालन हुन बाँकी रहेको कुरा वडा अध्यक्ष तीर्थ बडुले अवगत गराए । स्थानीय प्रतिनिधिहरूमा आफ्नो गाउँठाउँ कसरी विकसित तुल्याउन सकिन्छ भन्ने सदाशयता जम्जमाएको पाएँ मैले । तिवारी, न्यौपाने, आचार्य, बडु, शर्मा, सिँखडा, पाण्डे, सुनार, परियारको रस्तीबस्ती भएको विष्टबाडामा विष्टहरूको बसोवास भने देखिएन । सायद विष्टहरू यहाँबाट अन्यत्र सरिसकेका हुन् कि ! अथवा अर्कै कारण थियो कि विष्टबाडा नाम रहनुमा ।

देवदारुको वृक्षको आडमा रहेकोे आराध्य मस्टो मन्दिर र कालिका मन्दिरमा दर्शन गर्दै बोटबाट टिप्दैको स्याउ, पोलेको तात्तातो हरियो मकै र पाकेको मयल खाँदै हामी फर्किहाल्यौ । ग्रामीण परिवेशले लोभ्याउँदै थियो, तर दिउँसो नराकोटमा लोकवार्ता संगोष्ठी तुर्नु बाँकी नै भएकाले अल्मलिन भ्याएनौँ ।

त्रिवेणी होटलमा झट्पट बिहानको खाना भ्याएर नराकोटको फाँटमा संगोष्ठी जम्जमाइहाल्यो । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यमा प्रारम्भ भएको संगोष्ठीमा सिन्जा , हिमा र कनका सुन्दरी गाउपालिकाका लोकवार्ता संवाहकहरूको बाक्लो उपस्थिति देख्दा सिन्जा नदी मस्तले सुसाइन् ।

वक्तव्य, कार्यपत्रको प्रस्तुतिका साथै सिगारी नाच, बालो नाच, तरवार नाच रोपाईँ नाच, धार्मिक नाच र देउडामा बुर्कुसी मारिरहेको थियो सिन्जाली परिवेश । हाम्री चुलबुले सहयात्री शशी थापा पण्डित ठ्याम्मै जुम्ली भेषमा सजिँदाको रौनक बेग्लै बन्यो । शिरमा कालो काम्लो, ठेटुको फरिया र साउदो (पटुकी) कसेकी गलामा कम्पनी माला र अन्य मालाका साथ कानमा झुम्कामा सजिएकी पण्डितको चुरिफुरी नै बेग्लै रह्यो दिनभर ।

धामी नाचले अझ रौनक थपेको थियो । धामी गाजापानीका लालचन्द बुढा र डङ्गी (पुजारी) को प्रस्तुतिमा यस भेगमा धामीको हैकम कत्तिको हुन्छ भन्ने कुरा दर्साइएको थियो । पालैपालो प्रदेश प्रमुख जोशी, अध्यक्ष पंगेनी, गाउँपालिकाका अध्यक्षहरूलाई बोलाएर काम्दै अनेक प्रश्न सोध्दै र फलिफाफ फलाक्दै धामी कामिरहेको दृश्य अनुपम थियो । पाश्र्वमा ढोलक, दमाहा, सहनाइका धून गुन्जिरहेको थियो । हुर्मतै लिँदा रहेछन् धामीले । लोकवार्तात्मक रोमाञ्चकता त्यसैमा अल्झेको थियो । धामी परम्परा पश्चिम नेपालको ज्यान नै रहेछ ।

तीन बज्दै थियो संगोष्ठी तुरिँदासम्म । अनि हतार हतार सिन्जालाई नमन गर्दै उक्लियौँ मुगुको गमगढीतिर । गमगढीको बाटो त्यति सहज लागेन । बेला बेला पहिरोले अवरोध पनि गर्दोरहेछ । बल्लतल्ल एउटा गाडी छिर्ने कच्ची सडकमा बस हाँक्न पनि दुरुह नै हुँदो हो । धन्य चालक भाइहरूको कुशल हँकाइ र कुशल सहकार्य ! स्याबासीको कर्णाल बगाउन थालेँ म !