मनमा अत्यास बढेको अनुभूति हुन थाल्यो । अगाडि हेर्दै अवलोकन कक्षबाट बाहिर निस्किएर सोधपुछ कक्षमा पुगेँ । त्यहाँ कोही पनि सोधपुछ गर्न आएका रहेनछन् । आफ्नो नाम टिपाएँ र दोस्रो तलातिर लागेँ ।

===

गाडी पार्किङको छानालाई पनि फूलहरूले ढपक्कै ढाकेका रहेछन् । फूलहरू र हरिया बिरुवाका कारण साँच्चै सुन्दर देखिएका छन् साङ्घाईका शहर, चोक र गल्लीहरू । शायद प्रदूषण नभएर सबैतिर सफा छ वातावरण । बिजुली गाडीको सञ्चालन नै यस्तो स्वच्छताको कारण होला ।

जुलाई २३, २०२५ को दिन पथप्रदर्शक फिओनले हामीलाई साङ्घाई म्युजियममा पुर्‍याउँदा बिहानको ११ बजेको थियो । सन् १९५२ मा नान्जिङरोडमा स्थापना गरिएको यो सङ्ग्रहालय पछि सन् १९५९ मा हेनानरोडमा सारिएको थियो रे । यहाँ पनि स्थानको कमी र असुविधा भएछ । यो साङ्घाई पिपुल्स स्क्वायरको सुविधा सम्पन्न भवनमा चाहिँ सन् १९९६ मा स्थानान्तरण गरिएको रहेछ।

“अहिले हामी चीनको अन्तर्राष्ट्रिय स्तरको महान् सङ्ग्रहालयमा छौँ। प्राचीन चिनियाँ परम्परा, कला, संस्कृति र विकास प्रक्रिया बुझ्न यसले हामीलाई सघाउनेछ । यहाँ पाँच हजार वर्षसम्म पुराना पुरातात्त्विक महत्त्वका चिनियाँ सामग्रीहरू देख्न पाइन्छ । ई.पू. ३००० देखि २०औँ शताब्दीको पूर्वार्धसम्मका चिजबिजहरू सङ्ग्रहित छन् । यस सङ्ग्रहालयमा सङ्ग्रहित सामग्रीको सङ्ख्या भने १ लाख २० हजारभन्दा बढी छ । यो सङ्ग्रहालयले चिनियाँ सभ्यताको हजारौँ वर्षको इतिहास प्रस्तुत गर्छ।”

फिओनले साङ्घाई सङ्ग्रहालयभित्र प्रवेश गर्दै यसका बारेमा छोटो जानकारी दिइन् । उनको पछिपछि स्क्यालेटर चढेर हामी पहिलो तलातिर लाग्यौँ।

हामीलाई अगाडि हिँड्नु भन्दै फिओन दौडँदै सोधपुछ कक्षासम्म पुगेर आइन्। सायद उनले केही जानकारी दिनु र लिनु पर्थ्यो । प्रदर्शनी कक्षहरूमा छर्नु अगाडि ढोकैनेर सिङ्गमरमरका सेता अत्यन्तै आकर्षक मूर्तिहरू रहेछन् । यी मूर्तिहरू शास्त्रीय र नव-शास्त्रीय मूर्तिकलाका प्रतिरूप रहेछन् । यिनीहरू प्राचीन युरोपेली मूर्ति र मूर्तिकलाका अध्ययन सामग्रीका रूपमा युरोपीय मुलुकबाट प्राप्त गरी यहाँ राखिएका हुन् रे । पहिलो महिलाको मूर्तिलाई आन्तरिक शुद्धता र मौन एकाग्रताको कलात्मक प्रतीक मानिँदो रहेछ । दोस्रो बालकको मूर्तिले बाल्यावस्था र पारिवारिक मायाको भावलाई प्रकट गर्दै मानवीय दैनिक जीवनतिर मोडिने समयलाई बोध गराउँदो रहेछ । तेस्रो बालिकाको हँसिलो मुहारमा प्रस्तुत मूर्तिले  गाउँले जीवन , प्रकृति निकटता र बाल स्वभाविकता अभिव्यक्त गर्दो रहेछ ।

सङ्ग्रहालयभित्र पस्ने बित्तिकैको भने पहिलो ग्यालरीमा प्राचीन कालमा पूजामा प्रयोग हुने विभिन्न आकृतिका तामाका भाँडा र हतियारहरू रहेछन् । दोस्रो ग्यालरीमा देखिएका बुद्धका धातु र काठका मूर्तिहरूले मेरो मनको आँखालाई नेपालको लुम्बिनी पुर्‍यायो । जहाँ एसियाका तारा, नेपाली सुपुत्र गौतम बुद्धको जन्म ईसा पूर्व ५६३ मा भएको थियो । अहिले म नेपाली भूमिमा जन्मिएका बुद्धका ती विभिन्न प्रतिमाहरूले नेपाली कलालाई पनि उनीसँगै संसारभर पुर्‍याएको अनुभूति गरिरहेको छु । शान्तिको सन्देशका लागि प्रसिद्ध बुद्धको नाम, उनका प्रतिमा र विचारहरू जहाँ जहाँ पुग्छन् त्यहाँसम्म नेपाली नाम, कला र कीर्ति अवश्य पुगिरहेको हुन्छ । मैले यस्तै ठानेँ । एकपटक मन गर्वले फराकिलो भएझैँ लाग्यो ।

हामी तस्बिर खिच्दै, अवलोकन गर्दै हिँडिरहेका छौँ । भाइहरू कुमार कार्की र नवराज खड्काको भन्दा मेरो काम एउटा बढी छ । म हेरिएका सामग्री, ठाउँ र तत्काल भएको अनुभूतिलाई छोटकरीमा डायरीमा उतार्ने गर्छु । कुमार भाइ,”छुट्नुहोला है दाइ” भन्दै मलाई सचेत गराउँदैछन् । हिँड्दा प्राय सबैभन्दा अगाडि फिओन त्यसपछि भाइहरू र म अन्तिममा हुन्थ्यौँ ।

जताततै घुइँचो छ अवलोकन गर्नेहरूको । बालबालिकादेखि वृद्धवृद्धासम्म छन् हेर्नेहरू। विदेशी अनुहार भने कतैकतै फाट्टफुट्ट मात्र देखिन्छन् । अधिकांश चिनियाँहरू मात्र घुमिरहेका छन् यहाँ । ठूलाठूला झ्याल, ढोका र खुल्ला बार्दलीबाट आएको प्रकाशले मनग्य उज्यालो छरिरहेको छ । एक ठाउँबाट अर्को ठाउँ पुग्दा धेरै पटक मानिसहरूसँग ठोकिन पुगिन्छ । छेउतिर उभिएर डायरीमा एक दुई शब्द टिपोट गर्न पनि सजिलो छैन।

‘म हराएँ !’

केही शब्द टिपोट गरेर टाउको उठाउँदा अगाडि हिँडिरहेका तीनै जना देखिएनन् । तन्की तन्की हेरेँ । अहँ ! उनीहरू कतै पनि देखिएनन् ।

म त अघिकै ठाउँमा छु। वास्तवमा फिओन, कुमार र नवराज हराए । उनीहरू अगाडि गएको तिरै बढेँ म । कतै पनि भेटिएनन् । अगाडि पछाडि  सबैतिर हेरेँ, अहँ ! देखिएनन् उनीहरू ।

‘अब के गर्ने ?’

मनमा अत्यास बढेको अनुभूति हुन थाल्यो । अगाडि हेर्दै अवलोकन कक्षबाट बाहिर निस्किएर सोधपुछ कक्षमा पुगेँ । त्यहाँ कोही पनि सोधपुछ गर्न आएका रहेनछन् । आफ्नो नाम टिपाएँ र दोस्रो तलातिर लागेँ । पहिलो काम साथीहरू खोज्नु थियो । अरू कुरा नहेरी मानिसहरूको भीडमा खोजेँ कोठा कोठा छिचोल्दै तर भेटिएनन् उनीहरू । उनीहरू हराएका हुन् या आफू हराएको हुँ पत्तै भएन । चिन्ता चाहिँ बोकेरै अवलोकन गर्न थालेँ यो तलाका सङ्ग्रहित सामग्रीहरूको ।

यहाँ त सयौँ वर्ष अघिका प्रसिद्ध चिनियाँ विद्वान, कवि, लेखकहरूका हस्तलिखित सामग्रीहरू पो रहेछन् । मोटामोटी कालखण्ड पनि उल्लेख गरिएको छ । प्राचीन ग्रन्थका अंशहरू पनि राखिएका रहेछन् । अर्को ग्यालरीमा सयौँ वर्ष अघिदेखिका महान् चिनियाँ कलाकारले बनाएका फूल, पशुपक्षी र मानव जनजीवन झल्कने चित्रहरू सजाइएका थिए । प्राचीन चिनियाँ राजाहरूले प्रयोग गरेका विभिन्न रत्नका गहना, जुहारतहरू र धार्मिक सामग्रीहरू सुरक्षित गरिएका देखेँ । यही तलामा प्राचीन समयका कलात्मक बुट्टा, छाप र निशानीहरूको सङ्ग्रह कक्ष पनि रहेछ । डिजिटल ग्यालरी पनि रहेछ प्रविधिको विकासले प्राचीन सभ्यतालाई अनुभूति गराउने किसिमको । साथीहरू देखिन्छन् कि भनेर बेलाबेला चारैतिर हेर्न पनि छोडेको छुइनँ ।

अहँ ! देखिएनन् दोस्रो तलामा पनि उनीहरू । स्क्यालेटरबाट फेरि झरेँ म पहिलो तलातिरै । यताउता नियाल्दै, खुला देखिने ठाउँतिर पनि हेर्दै म फेरि त्यही सोधपुछ कक्षमा पुगेँ । उनीहरू अझै आएका रहेनछन् मलाई खोज्न ।

मैले आफूसँग त्यहाँ चल्ने मोबाइलको सिम नभएको, मेरो पासपोर्ट पनि साथीले बोकेको बताएँ । उनीहरू मसँग केही पनि नभएको सुनेर हाँसे एकपटक । तर मेरो अनुहार हेरेर तुरुन्तै गम्भीर देखिए उनीहरू । मेरो मोबाइलबाट हामी चारै जना भएको एउटा तस्बिर सारे उनीहरूको मोबाइलमा । खोज्ने प्रयास गर्छौँ, तपाईँ एकपटक फेरि खोजेर आउनुहोस् भनेर सङ्ग्रहालयतिर पठाए उनीहरूले मलाई ।

म अलिअलि पहिलो र दोस्रो तला हेर्दै तेस्रो तलामा उक्लिएँ । खोजेँ उनीहरूलाई त्यहाँ पनि तर  भेटिएनन् । यस तलामा चिनियाँ प्राचीन कला झल्कने सेरामिक ग्यालरी रहेछ । सेरामिकका सुन्दर गमला, भाँडाकुँडा र अनेकन अन्य सामग्रीहरू नै यहाँका आकर्षण रहेछन् । क्युरियो सिटीमा चाहिँ विद्यार्थीहरूजस्ता किशोर किशोरीहरू झुम्मिएका थिए धेरै । यहाँको प्राचीन मुद्राहरूको सङ्कलन कक्ष हेर्दा मलाई नेपालको काठमाडौँ छाउनीस्थित राष्ट्रिय मुद्रा सङ्ग्रहालयको सम्झना आयो । त्यहाँ नेपालमा चलेका ईसा पूर्व पाँचौँ शताब्दीदेखिका विभिन्न सिक्काहरू र छाला र माटोका मुद्राहरूसमेत छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्वको सबैभन्दा सानो मुद्राको रूपमा सूचीकृत ‘फुकादाम’ पनि छाउनी मुद्रा सङ्ग्रहालयमा देख्न पाइन्छ । चौथो तला पनि हेरेर मात्रै फर्कने विचार गरेँ मैले ।

त्यहाँ पनि थिएनन् मेरा साथीहरू । म भने साथीहरू नभेटिए पनि चीनको इतिहासका पानाहरू पल्टाइरहेको थिएँ सङ्ग्रहालयका प्रत्येक ग्यालरीहरू छिचोल्दै । म चीनको सभ्यता, कला, संस्कृति एवं इतिहास भेटिरहेको थिएँ ।   चिनियाँ पुरातात्त्विक महत्त्वका ऐतिहासिक वस्तुहरू रहेछन् यहाँ । अझ महत्त्वपूर्ण कुरा त यसमा आधुनिक चीनका बुद्ध धर्मका ज्ञाता, कवि, लेखक एवं चिनियाँ कम्युनिस्ट पार्टीका अनन्य मित्र झाओ पुचुसम्बन्धी सामग्रीहरूले सिङ्गै ग्यालरी ढाकिएको रहेछ । उनी २० औँ शताब्दीका देशभक्त चिनियाँ व्यक्तित्व रहेछन् । सुन्दर हस्तलिपिका लागि नाम कमाएका पुचुका हस्तलेखन सामग्रीहरूले सिङ्गै चीनमा ख्याति कमाएका रहेछन् । यी सबै कुराहरू त्यहाँ लेखिएका सामग्रीहरू पढेर बुझ्दै छु म । मलाई देखाउने, बुझाउने कोही छैनन् अहिले ।

मैले आफैँ हराएर पनि एक्लै घुमिसकेँ सिङ्गै सङ्ग्रहालय । साथीहरू भेटिएका छैनन् अझै । उनीहरू मलाई खोज्दै समय बिताइरहेका छन् कि सङ्ग्रहालय पनि घुम्दै होलान् ? अब उनीहरू कता भेटिएलान् अथवा उनीहरूले मलाई कहाँ भेट्लान् ? म साँच्चै सङ्कटमा पर्ने त होइन ? मसँग त कुनै कागजपत्र पनि छैनन्, कतै कसैको ठेगाना पनि छैन ।

मनमा अन्योल र चिन्ता बोकेर म फर्किएँ पहिलो तलाको सोधपुछ कक्षमा । मलाई खोज्न त्यहाँसम्म पनि आएका रहेनछन् उनीहरू अझै । सोधपुछ कक्षका कर्मचारीको सल्लाहअनुसार म एस्क्यालेटरबाट उत्रिएर लागेँ बाहिर निस्किने मूल ढोकातिर । उनीहरूले मलाई त्यही उभिएर साथीहरूलाई पर्खन सुझाव दिएका थिए । साथीहरूसँग म छुटेको लगभग एक घण्टा भएछ । यता र उता कुद्दाकुद्दै थकाइ पनि लागेको छ । मूल गेटमा उभिएर अब प्रहरीको सम्पर्कमा जानुपर्ला भन्ने सोच्दै थिएँ झल्याँस्स सम्झना आयो हिजो बेलुका होटेलको विवरण भएको बोर्डको फोटो खिचेको । मोबाइलमा सुरक्षित थियो त्यो फोटो । दौडिएँ पहिलो तलाको सोधपुछ कक्षतिर फेरि । देखाएँ उनीहरूलाई त्यो फोटो र बताएँ आफ्नो नाम, होटेलको कोठा नम्बर र पथप्रदर्शकको नाम । उनीहरूले होटेलमा फोन गरेर प्राप्त गरे फिओनको नम्बर । त्यसपछि मात्र सम्पर्क भयो उनीहरूको फिओनसँग । अब भने बल्ल केही शान्ति मिलेजस्तो भयो ।

केही मिनेटमै आइपुगे फिओन, नवराज र कुमार । तिनै जना खुशी भए मलाई भेटेपछि । म झन् बढी खुशी भएँ । हामी अलमलिएछौँ, छलिएछौँ अगाडि पछाडि भएर । उनीहरूले पनि मलाई खोजेछन् तिनै ग्यालरीहरूमा यताउता गर्दै ।

हराएकै अवस्थामा पनि मैले घुमिसकेको थिएँ सिङ्गै सङ्ग्रहालय । उनीहरूले घुमिसकेका रहेछन् ।

फिओनले उकालिन फेरि माथिल्ला तलाहरूमा । सरसर्ती हेर्दै, तस्बीर खिच्दै हामी चौथो तलासम्म उक्लिएर फर्कियौँ । हराएको कुरा गर्दै, हाँस्दै, ठट्टा गर्दै हामी निस्कियौँ साङ्घाई सङ्ग्रहालयबाट बाहिर । मनमा चीनको इतिहासलाई ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका सामग्रीहरूमा देखेको अविस्मरणीय सम्झना बस्यो ।