यात्रा हतारबाट शुरु भयो । भान्जा पर्शु नेपालले एकैसासमा भनिसके ‘मामा अहिले म मुख्यमन्त्रीसँग छु । हामी पथरीबाट पूर्व लागिसक्यौँ । फिक्कलको कार्यक्रममा जानुपर्छ, तपाईँ २ वटा कोट बोकेर दमक चोकमा तुरुन्त आउनु ।’
गर्मी बेजोड थियो । पसलको सर्टर उठाउँदै थिएँ । स्टाफ १५ दिने छुट्टीमा छन् । लुगा रफ लगाएका छन् । दाह्री पलाएर ठाडाठाडा भएका छन् । पाँच मिनेटमा दमकचोक पुग्नुपर्ने । घर छ भृकुटीचौकमा । पुग्नै लाग्छ पाँच मिनेट । मुख्यमन्त्री दौडिएका छन् सुरक्षाघेराभित्र, प्रहरीको स्कटिङमा । फाल्तु कुरा नगरी मैले भनेँ, ‘भान्जा म भ्याउँदिनँ, तपाईँहरू जानुहोस् ।’
भान्जाको हातबाट मोबाइल तानेर धनकुटाका प्रदेश सांसद निरन राईले भने, ‘विष्णुजी ? दायाँबायाँ नगरी तुरुन्त झरिहाल्नोस् त । २६ वर्षपछि मौकाले भेट हुँदैछ, त्यसमा पनि आनाकानी ? एउटा नेप्किन पेपर पनि किनिराख्नोस् ल ।’
परेँ दोधारमा । श्रीमती र कान्छी छोरीलाई सुनाएँ । उनीहरूले भने, ‘जानु नि त अनि, अवसर किन गुमाउनुहुन्छ ? अहिले व्यापार पनि छैन, हिँड्ने बर्खामा त हो नि ।’
अनुमति पाएपछि मन जानेतर्फ एकोहोरियो । ‘मलाई घर पुर्याइदिनुन दाजु’ भनेँ लक्ष्मण दाइलाई । उहाँले बाइकमा तुरुन्तै पुर्याएर फर्कनुभयो । मैले लुगा फेरेँ । ठूली छोरीले कोट तयार गरिन् । नेप्किन पेपर र बिस्कुट किनेर सिटी चढेँ । चोक पुग्दा साइरनसहितका प्रहरी भेनबीचमा मुख्यमन्त्रीको कालो सिसा जडित सेतो गाडी आइपुगिहाल्यो । हात उठाएँ । किन रोक्नदिन्थे र सुरक्षाकर्मीले । बरु पछाडिको गाडीतर्फ सङ्केत गर्दै निरन्तर हिँडिरहे । पछाडि हेरेँ । मलाई चढाउने गाडी आउँदै रहेछ । सुरक्षा घेरा बाहिरै बस्नुपर्दा धेरै खुकुलो भयो मन ।
त्यो गाडी चाहिँ मुख्यमन्त्रीका स्वकीय सचिव जीवन कार्कीका लागि छुट्याइएको रहेछ । उहाँ अघिल्लो सिटमा हुनुहुन्थ्यो । महालक्ष्मी नगरपालिका धनकुटाका पूर्वप्रमुख पर्शु नेपाल, सांसद निरन राई र म दोस्रो सिटमा बस्यौँ । गुरुजी चाहिँ सबैका भान्जा हुनुहुँदोरहेछ । चिनजानपछि गफिँदै अगाडि बढ्यौँ ।
धनकुटा क्याम्पस पढ्दाका मेरा सहपाठी निरनजी पूर्व कमै आउनुभएको रहेछ । उहाँलाई धेरै ठाउँहरू चिनाउँदै, तिनीहरूका विशेषता बुझाउँदै हिँड्दा गफमा थपियो अर्को सौन्दर्य । चारआलीबाट उत्तर मोडिएर बुधबारे कटेपछि बर्नेको चियाबगानले आफ्नो एसी खोल्यो र २४ नम्बरमा लगायो । सुनमाई, जोरकलश, भालुखोप, कुटीडाँडा, हर्कटे हुँदै कन्याम पुग्दा चिसोको मात्रा १६ मा आइपुग्यो । भालुखोपदेखि नै कुहिरोको राज चलिरहेको थियो ।
हामी वातानुकुलित मौसममा रमाउँदै पाल्टाँगेको पल्लोछेउ, फिक्कलको मुखैमा रहेको एकोम (ACCOM) होटल पुग्यौँ । आँगनमा गाडी पार्किङ् गराएर खानाका लागि सिँडी उक्लँदै हुनुहुन्थ्यो मुख्यमन्त्री हिक्मतकुमार कार्की । सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गा बराल, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, एमाले नगरअध्यक्ष दुर्गादेवी भट्टराई लगायत कर्मचारीहरूले होटलमै स्वागत गर्नुभयो ।
खानापछि फिक्कल मा.वि.मा आयोजित नगरको वार्षिक बजेट सार्वजनिकीकरण कार्यक्रममा सहभागी भयौँ । त्यहाँ विभिन्न झाँकी तथा नृत्यहरूको रमाइलो लिइसकेपछि प्रमुख अतिथि माननीयलाई सुइँको नदिई हामी ३ भाइ मञ्चबाट सुरुक्क ओर्लियौँ । अघि आएकै गाडीमा चढ्यौँ र पशुपतिनगर पुग्यौँ । धनकुटा छिन्ताङबाट फिक्कल बसाइँ सर्नुभएका निरनजीका साडुदाइ दुर्गा राईले हाम्रो अगुवाइ गर्नुभयो ।
कुहिरोको चिसो घुम्टो ओढेर दार्जिलिङ, मिरिकतर्फ अनुहार फर्काइरहने पशुपतिनगरले सीमापारिसम्म डुलायो हामीलाई । भारतीय भूमिमा जाडो खाँदै उभिएका, नेपाली पसिनाले हुर्काएका गोभ्रेसल्लाहरूसँग बहेली खेल्दै संवादमा हराउनुभयो पर्शुजी ।
“मेरै जस्तो एउटै आकाश, एउटै ताप र जलवायुमा हुर्केका हौ तिमी । मपाइँत्व र वैरत्व बोकी हिँड्ने मान्छेका धूत्र्याइँका पदचाप साह्रै धेरै सहेका छौ तिमीले । अहङ्कारी मान्छेलाई मात्र छुने राजनीतिक सीमामा उभिएर उसका लाखौँ बेइमान जात्राहरू देखिसक्यौ तिमीले । अब भन त प्रिय, घृणाको कुन पराकाष्टासम्म पुग्न सक्तोरहेछ मान्छे ? कति हदसम्मका अवैद्य गतिविधिहरू गर्नसक्तो रहेछ मान्छे ? कालो धन बटुल्न, सीमा रेखा रातिराति सार्न, जङ्गेपिल्लरहरू गायव गर्न, शत्रुता साँध्न र मान्छे भएर मान्छे नै बेच्न, मान्छे नै मार्न कसरी सक्तोरहेछ मान्छेले ?
प्रश्नहरू गम्भीर हुँदै गएपछि संवादमा छोडेर पर्शुजीलाई हामी हिड्यौँ केही समय दार्जीलिङतिर र केही समय मिरिकतिर पैदल यात्रा गर्दै । पछि फर्केर फादेनजीको होटलमा दार्जीलिङको ग्रीन टीसँग चारै जना रमायौँ, र बरबोटे झरेर साहित्यकार तारानाथ शर्मा तथा दुर्गानाथ शर्माको पुर्ख्यौली घरको अवलोकन गर्यौं । तान्त्रिक पाण्डेको पैसा कमाउने धन्दास्थल, झलनाथ खनालज्यूको सर्प पालन केन्द्र डुल्ने फुर्सद थिएन हामीलाई । बरु बाह्रैकाल, चौबीसै घण्टा ढाकिरहने कुहिरोका बेफाइदाहरूभित्र फाइदा उठाउनेहरू कति होलान् पशुपतिनगरको वरिपरि भन्ने सवालमाथि बहस चलाउँदै आइपुग्यौँ फिक्कलकै कार्यक्रममा । फेरि बस्यौँ आआफ्नै सिटमा र सुन्न थाल्यौँ मुख्यमन्त्रीको भाषण । र, पछि फेरि मेयर साहेबको समापन मन्तव्य ।
नगरपालिकाभित्र बायोक्यामेस्ट्रीको रिर्पोट १५ दिनमा दिने मेसिन जडान गरिएको, प्रदेश सरकारको लागतमा कन्याममा चियाको अन्तर्राष्ट्रिय बजारीकरणका लागि गुणस्तर मापन, प्रदर्शन र बिक्री कक्षसहितको केन्द्रका लागि उच्च तहका भव्य भवनहरूको निर्माणसम्पन्न गरिएको, सिओफोरको घाँस उत्पादन गरेर परालको आवश्यकतालाई विस्थापित गरिएको, नगरको इच्छा नारीलाई शिक्षा भन्ने नाराका साथ नारीलाई उच्चशिक्षाका लागि छात्रावृत्ति कार्यक्रम सञ्चालन गरिएको, धुलोरहित कक्षाकोठा, ल्याबसहितका कक्षाकोठा, बालमैत्री नगरपालिका बनाइएको, कर्फोक माविमा इनोभेसन सेन्टर स्थापना गरिएको, दैनिक २ लाख लिटर दूध निर्यात गरे पनि खोरेँत मुक्त बनाउन नसकिएको हुँदा विदेश सप्लाइ गर्न नसकिएको, नगरको ६० प्रतिशत भूमि चियाले ढाके पनि किसानलाई राम्रो मूल्य दिन नसकिएको, अन्तर्राष्ट्रिय बजार विस्तार गर्न नसकिएको जस्ता कुराहरू राख्तै कार्यक्रम समापन गर्नुभयो ।
साउन पन्ध्रको दिन । खीर खुवाएर मुख्यमन्त्रीलाई नवनिर्मित चिया बिक्रीकेन्द्र देखाउन लगियो । सँगै पुग्यौँ हामी पनि । चाइनिज प्रविधिबाट निर्मित भवन, डेकोरेसन, लाइटिङ र जडित उपकरणहरू हेर्दा प्रदेश सरकारको काम औचित्यपूर्ण लाग्यो ।
साँझ खस्नै लागेको थियो । रोङ गाउँपालिकाको घण्टी बजिरहेथ्यो स्वकीय सचिवको फोनमा । सूर्योदय न.पा. परिवारलाई हात हल्लाएर रोङ आइपुग्यौँ । अनुहार नचिनिने अँध्यारोमा पनि गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरू मुख्यमन्त्रीको स्वागतका लागि लामबद्ध हुनुहुन्थ्यो । खादा, माला र फूलका गुच्छाको स्वागतपछि अध्यक्षको कार्यकक्षमा नुनखोर्सानीसहित अर्गानिक काँक्राको स्वागत पाइयो । उपाध्यक्ष विष्णुमाया खवासबाट शब्दस्वागत भयो । सबैको परिचय आदानप्रदान भयो । र अध्यक्ष मनिकुमार स्याङ्बोबाट पालिका प्रगति विवरण प्रस्तुत गरियो ।
पालिकाले चलाएका अभिभावक शिक्षा, गुरुकिसान शिक्षा र डायरी प्रणाली, क्षेत्रगत खेतीप्रणाली, अर्गानिक सब्जी उत्पादन र ब्रान्डिङ, गुन्द्रुक तथा महको ब्रान्डिङ गरी पाँच हजार किलो गुन्द्रुक र पचास हजार किलो मह प्रतिवर्ष गरिएको निर्यात, उच्च शिक्षा अध्ययनको खर्च आजैबाट सञ्चित गर्नुपर्छ भन्ने भावना जागृत गराउन पालिका भरिका प्रत्येक विद्यार्थीको बैँक खाता खोली दैनिक कम्तीमा १ रुपैया जम्मा गर्न लगाउने र पालिकाले पनि प्रतिविद्यार्थी दैनिक रु.१ जम्मा गरिदिने व्यवस्था, ४० किलोमिटर लामो कर्सोङ पदमार्ग निर्माण, अर्गानिक चिया, दूध, चिज, खुवा, अम्लिसो, अलैँची, लिची, सुन्तला निर्यात, सानो पाथीभराजस्ता धार्मिक पर्यटन स्थलहरूको निर्माण तथा विकास आदि अनेक अनुकरणीय कार्यहरू वैज्ञानिक ढङ्गबाट सञ्चालन गरी विकासका लागि स्वनिर्भर रहेको कुरा सुन्न पाउँदा मन त्यसै प्रफुल्लित भयो ।
दुवै पक्षका मन्तव्यपछि कर्सोङ पदमार्गको वृत्तचित्र हेरियो । रमाइलो कुराकानी गरियो र अन्त्यमा, पालिकाका उत्पादनहरूमध्ये मह र गुन्द्रुकका साथमा गुरुकिसान डायरी र अभिभावक शिक्षा किन ? भन्ने पुस्तिका उपहार पाइयो । गर्व गर्न लायक कामहरू देखे सुनेर मनभरी हर्ष छायो । बिदाइमा देखाउनुभएको हार्दिकताको न्यानो अँगालाभरी च्यापेर झर्यौँ ओरालैओरालो ।
गुरुकिसान छनौट गरी उनीहरूलाई विषयविज्ञ बनाउने र तिनै गुरुकिसानको ज्ञान लिएर बाँकी किसानले कृषिमा सुधार ल्याउने गरेको विषयले जिउमा फरक रक्तसञ्चार भयो । अभिभावक शिक्षाको विषयले त झन् सुतिरहेको मस्तिष्कलाई जुरुक्कै उठायो । अभिभावक शिक्षित नभई परिवार शिक्षित हुँदैन, परिवार शिक्षित नभई समाज शिक्षत हुँदैन, सिङ्गो पालिका शिक्षित नभई विकासका कदम अघि बढ्न सक्तैनन् भन्ने निष्कर्ष निकाल्नु नै रोङ गाउँपालिकाको पहिलो सफलता थियो । त्यस निष्कर्षलाई कार्यान्वयन गर्न पालिकाभरिका प्रत्येक अभिभावकलाई विषय विज्ञहरूबाट १५ दिनमा १ पटक अनिवार्य रूपमा शिक्षा दिलाउन थालियो । उपस्थित नहुनेलाई पालिकाले दिने सेवासुविधाबाट तीन महीना बञ्चित गर्ने, हुनेलाई थप प्रोत्साहनका कार्यक्रमहरू दिने गरियो र शिक्षित पालिका निर्माण अभियानसँगै उनीहरूका आवश्यक्ताहरूको पहिचान, प्राथमिकीकरण, समाधान गर्दै पालिकाद्वारा अघि सारिएका नयाँ नयाँ योजनाहरू उनीहरूमार्फत नै कार्यान्वयन गराउन थालियो भन्ने कुरा सुन्न पाउँदा रोङ गाउँपालिकाले दिन सार्थक बनाइदिएको महसूस भयो ।
यस्ता अनेक ज्ञान, सीप र कलाको भण्डार रहेछ इलाम । असल कर्म गर्ने मान्छेहरूको बसोबास स्थल रहेछ इलाम । २ लाख लिटर दूध दैनिक निर्यात गर्ने, सबैभन्दा धेरै पर्यटक भित्र्याउने, सबैभन्दा बढी चिया निर्यात गर्ने, गाईबाट ९० प्रतिशतभन्दा बढी बाछीमात्रै जन्माउने प्रविधि अपनाउने, बालमैत्री, प्रविधिमैत्री, वातावरणमैत्री सूर्योदय नगरपालिकाका तथ्याङ्कहरू हेर्न पाउँदा देशको उज्ज्वल भविष्यका लागि इलामलाई अगुवा बनाउनु जरुरी भएको महसूस भयो ।
बिर्तामोडमा आएर खाना खायौँ । हिक्मतजीसँग पहिले एउटै मोर्चामा रहेर काम गर्दाका कुरा कोट्याएँ मैले । पुनर्ताजगी गराइए स्मृतिहरू । नजिक भए मन । जानेका केही सुझावहरू पनि दिने प्रयत्न गरेँ मैले । र त्यहीँबाट बिदा भएर गाडी चढ्यौँ । सुरक्षाघेरामा मुख्यमन्त्री दौडनुभयो, हामी स्वतन्त्र रूपमा आफ्नै खुशीले । ११ बजे राति मलाई दमकमा छोडिदिएर उहाँहरू लाग्नुभयो विराटनगरतिर । म लागे सुमुसुमु आफ्नै वासस्थान दमक ६, किराँत मन्दिरतिर दुईवटा कोट हातमा बोकेर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ माघ २०८२, सोमबार 










