
बरुण र नेप्च्युनमा समानता छ । दुवै सागरका देवता हुन् । दुवै शुद्ध पानीबाट बनेका हुन् । बरुण नेप्च्यूनको हिन्दी नाम हो । त्यसैले विज्ञान र धर्मशास्त्रको बरुणमा फ्युजन छ । बरुण आकाशबाट आएर पृथ्वीसँग विवाह गरे भन्ने कुरा शास्त्रहरूले उल्लेख गरेका छन् ।
…
फागुन १४ को कार्यक्रम, निम्तो आयो माघ नलाग्दै । तार थियो भाषा साहित्यका अद्भूत तारा ताराबहादुर बुढाथोकीको । बूढा कडा । एकचोटि बोलाउँदा नाइँनास्ती गरे जीवनभर नदोहोर्याउने । हुन्छ भनेँ । सम्झेँ – खाँदबारीमै त होला नि कार्यक्रम ! जसरी पनि पुगिहालिन्छ ।
फागुन १० गते उहाँकै अर्को तार आयो – “कतै अलमल नगरी सरासर नुमबजार आउनोस् है ! बाटो अफ्ठेरो, कच्ची र ज्यादै लामो छ ।”
लुखास् त ! उम्रे नि काँडा जीउभरि सरर्रै । किन हुँदोरहेछ र खाँदबारीमा कार्यक्रम ? हिउँ खान बोलाइएको रहेछ मकालुको काखमा । ह्वात्तै बढ्यो जोस् । ‘आहा !’ भन्यो मनले । अझै थपियो उत्साह । बिना तनाव डुलेर घरै आइपुगिने भयो । भारतका पाहुनालाई काँकडभिट्टाबाट उठाएपछि यताका स्रष्टा टिप्तै नुम पुग्ने र कार्यक्रम सकिएपछि जहाँबाट चढेका हुन् त्यहीँत्यहीँ झार्दै काँकटभिट्टा पुग्ने रिजर्भ बस । भएन त मज्जा ?
भारतीय टोलीको नेतृत्व गर्ने कार्बी आङ्लङ्का रण काफ्ले र हामीलाई लाने/ल्याउने बसका कन्डक्टर विश्व गुरुङसँग निरन्तर सम्पर्कमा बसेँ । मसँग अरु साथीहरू सम्पर्कित हुनुहुन्थ्यो । अघिल्लै साँझ होटल ताज काँकडभिट्टामा भेला भएर भारतका विभिन्न प्रान्तका १४ जना स्रष्टाहरू १३ गते बिहान ६ बजे बस चढ्नुभयो । दार्जिलिङबाट डा. साङ्मु लेप्चा र डा. नीनु राई, सिक्किमबाट लुइस विष्ट र कृष्ण ढुङ्गेल, असमबाट रण काफ्ले, वेलसिङ हान्से, उत्पला होकाई, सर्थे रोङ्पी, तुतु निगम, तपस बोर्डालोई, सुमित्रा मडर, नेहा बोरा, नागालेण्डबाट विनिता जिदुङ, रीना राजियुङ र नैरिङ हाफ्लोङ्बर । हरियाणाबाट आउनुहुने डा. सुमन रानी भने छुट्नुभयो रेलको ढिलाइले ।
इलामबाट डा. देवी दुलाल क्षेत्री र विवश बलिभद्र कोइराला क्रमशः बिर्तामोड र केर्खाबाट उक्लनुभयो । सिङ्गो झापाको प्रतिनिधि बनेर म उक्लिएँ दमकबाट । इटहरीबाट उक्लनुभयो विराटनगरका स्रष्टा खेम नेपाली, भरत गुरागाईँ बर्बरिक, रोहिणी रसिक, सुरज माझी, इटहरीकी गङ्गा आचार्य गौतम । अघिल्लै दिन आएर होटलमा बस्नुभएका स्रष्टाहरू जनकपुरबाट प्राज्ञ रमेश रञ्जन झा, भैरहवाबाट प्रा.डा. कपिल लामिछाने, सुर्खेतबाट बलभद्र भारती र सुदूरपश्चिमबाट माननीय डा. पुस्करराज भट्ट पनि इटहरीबाटै उक्लनुभयो । हिलेबाट तेह्रथुमका मित्र नेपाली, मानेभञ्ज्याङबाट बुलु मुकारुङ, सुमन राई, विरेस राई, सूर्यबहादुर श्रेष्ठ पनि उक्लिनुभयो ।
भुइँमा साँझ खस्तैगर्दा हामी पुग्यौँ नुम बजार । पाहुनाको स्वागतार्थ हातमा खदा र गुराँसका थुँगा लिएर पालिकाका कर्मचारीहरू लामबद्ध उभिएका थिए । पहिर्याएर गला मिलाएपछि फाइलमा तयार गरिएका नाम पढ्दै भागबण्डा लगाए हामीलाई र पुर्याए होटलहोटलमा । हामी ५ जना पर्यौँ नुम भान्साघरमा । बसुन्जेल जे जे खाए पनि खुवाउने अनुमति दिए होटल सञ्चालकलाई । तर हामी सबैले अनुशासन र मर्यादाभित्र रहेर साधारण खाना मात्रै खायौँ । ताम्मारु भनिने मार्सी चामलको भात र खसीको मासुसहितको सेट पर्दोरहेछ साधारण खानाभित्र । खाँदबारीको चिकेन मःमःले धेरै ठाउँ नदिए पनि चेपचाप, कुनाकानी खाँदखुँद गरेर मानामाना अँटायौँ र ठँस्ठँस् गर्दै सुत्न गयौँ ।
राति स्याँठको राज चल्दोरहेछ । निकै नै चिसो भयो । फाइभरका दुईवटा सिरक खप्टिँदा पनि धानेन र ज्याकेट ओढ्नुपर्यो । बिहान हेर्दा कञ्चन नीलो थियो आकाश । चारै दिशा हाँसिरहेका थिए हिउँचुलीहरू । घामको सिन्दुर हिमालका शिरमा खस्नुअघि नै गाउँपालिकाको आँगनमा उभिइसकेका थियौँ हामी ताली बजाउन । मकालु, जलजला हुँदै वरिपरि चम्चमाइरहेका हिमालहरूको घुमीघुमी दृश्यपान गर्दा चिसोको मात निकै चढिसकेको थियो शरीरमा । अझै नजिकका कालापहाडहरूमा खसेको सेताम्मे हिउँले पनि हातगोडा अरर्र्याउन र सौन्दर्यलाई थप उचाइमा पुर्याउन सहयोग गरिरहेका थिए । कठाग्रिने चिसो स्याँठले जति हिर्काए पनि झुल्केघामले सुनौला रङ भर्दै गएका हिमाल छोडेर भागेनन् नजर बाहिरतिर । चाल दिएनन् गोडाले कतै सल्बलाउन ।
पालिकाको आँगनमा बनाइएको मकालुको अर्को नमूना हिमाल, पार्क र वरिपरि उठाइएको कम्पाउण्ड वालमा कुँदिएका चित्रहरूबारे बुझाउन आउनु भयो स्थानीय एलबी तामाङ, भरत कटुवाल ‘साल्दाइ’ र ताराबहादुर बुढाथोकी । चित्रमा मकालु बेसक्याम्प जाँदा बाटोमा पर्ने सानो पोखरी, ठूलो पोखरी, शिवधारा, पार्वती गुफा, गणेश चट्टान, गर्भवती भएकी पार्वती रुपको पहाड, लङमाले खर्क, धानखेती, अरुण तेस्रो जलविद्युत परियोजना आदिलाई हुबहु उस्तै खिचिएको थियो । अत्यन्तै स्पष्ट हुनेगरी कुँदिएको थियो । उहाँहरूले हामीलाई त्यहीँ पुगेको भान हुनेगरी विस्तृत विवरणसहित चिनाउनु भयो । अरुण उपत्यका र मकालु बरुण राष्ट्रिय निकुञ्जमा पाइने जीवजन्तु, चराचुरुङ्गी, दुर्लभ लोपोन्मुख जनावरहरू, काँडेभ्याकुर, रुखभालु, रेड पाण्डा, कस्तुरी लगायत दुर्लभ जडीबुटीका चित्रहरू चिनाउनु भयो ।
नेपाली भाषा, साहित्यको क्षेत्रमा हिमालजस्तै अटल बनिसक्नुभएका प्रा.डा. कपिल लामिछाने र डा. पुस्करराज भट्टसँग हिँडेर नुम बजारका कुनाकुना छानमारेँ मैले पनि । म सुतेको होटलको कोठामा पुगेर हृदय र पुस्तकहरू साटासाट गर्यौँ । खाना खायौँ र कार्यक्रमका लागि तयार भयौँ ।
गाउँपालिकाको आँगनबाट शुरु भएको प्रभातफेरी नुम बजारलाई फेरो मारेर बजारमुनिको कार्यक्रमस्थलमा टुप्लुक्क आइपुग्यो । बाजागाजासहितका झाँकीहरू, स्काउटको विद्यार्थी टोली, अतिथि, पालिकाका कर्मचारी र सर्वसाधारण स्थानीयहरूको बाक्लो उपस्थितिमाझ रातो हेलेकेप्टार चढेर आएपुगे १४ सर्वोच्च हिमाल आरोही लाक्पा शेर्पा । उनको उच्च कदका सामुन्ने फिक्का बने प्रमुख अतिथि माननीय ऊर्जामन्त्री दीपक खड्का । त्यही भएर होला उनी आएनन्, नाम मात्रै बस्यो कुर्सीमा । हाम्रो मनले लाक्पालाई नै प्रमुख व्यक्तित्व मानिरह्यो ।
कार्यक्रमस्थलमा प्रवेश गर्नुअघि नै गुराँसको फूल, सलिविर र गुराँसकै पातलाई मिलाएर सिलाइएका बेहुलाले लगाउनेजस्ता झपक्क परेका माला, खदा, सिलाम साक्मा, कार्यक्रमको लोगो अङ्कित फुली, अबिर टीका लगाइदिएर रिमिक्क पारेपछि भुइँसोरी नमस्कार गर्दै आसन ग्रहण गराए मकालुका चेलीहरूले । झट्ट हेर्दा हामी सयौँ पाहुनाहरू बेहुलाबेहुलीजस्तै सिँगारिएर बसेका थियौँ । सबै मञ्चाभिमुख थियौँ । मञ्चासिन थिएन कोही । कार्यक्रम सञ्चालक र प्रस्तिुति दिने व्यक्तित्वका लागि मात्रै उपयोग गरिएको थियो मञ्च । त्यसमा पनि ठूल्ठुला सामूहिक नृत्यहरू अगाडि तयार गरिएको भलिबल ग्राउण्डमा नचाइए । गायन, वाचन र ससाना समूह नाचलाई मात्र मञ्चमा चढाइयो । कार्यक्रममा तामाङ सेलो, लोहोरुङ राई, शेर्पा, मगर, असमिया, सङ्गिनी आदि झाँकीहरू प्रस्तुत गरिएका थिए ।
मान्छे नै उडाउला झैँ गरी बिहान दश नबज्दै चल्न थालेको स्याँठ दिनभर रोकिएन । न उसले आँखा बन्द गर्यो न हामीलाई खोल्न दियो । चिसो थाम्नै नसकेपछि विवशजी र म कोल्टे लाग्यौँ । हाम्रा पाइला पछ्याउँदै खेम नेपाली, रमेश रञ्जन झा र बुलु मुकारुङ दाइहरू पनि बाङ्गिनु भएछ । भरत बर्बरिक र रोहिणी रसिक चाहिँ ठाडै आउनु भयो । होटल मकालु पुगेर कसैले तातोपानीमा मह मिसायौँ त कसैले ढुङ्ग्रोमा तातोपानी । तर भोलिपल्ट नै फर्कनुपर्ने साथीहरूका लागि मञ्च नछोड्ने उर्दी जारी भएकाले साँझसम्म नै स्याँठ खाइरहनु पर्यो । मायाको चिनोसहितको सम्मान ग्रहण गर्नुथियो उहाँहरूले । रगत जम्ने चिसोबाट जीउ बचाउन निक्कै मुस्किल पर्यो उहाँहरूलाई ।
साँझ पर्यो तर रोकिएन कार्यक्रम । खाए फलानाहरूले स्याँठका छडी भन्दाभन्दै सांस्कृतिक कार्यक्रमले अझै तताउन थाल्यो मञ्च । स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिपछि राजु परियार र आशा बिसीले १२ बजे रातिसम्म निरन्तर दोहोरी गाइरहे ।
भोलिपल्ट गाउँपालिकाको हलभित्र साहित्य गोष्ठी सञ्चालन भयो । मकालु साहित्य समाजका सचिव कृष्ण चापागाईँको सञ्चालन, ताराबहादुर बुढाथोकीको सभापतित्व र माननीय डा. पुस्कर भट्टको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. कपिल लामिछाने, बलभद्र भारती र रमेश रञ्जन झा विशिष्ट अतिथि बन्नुभयो । नेपाल तथा भारतका विभिन्न भूभागबाट आउनुभएका कवि कलाकारहरूले आआफ्ना रचनाहरू प्रस्तुत गर्नुभयो । सिक्किमका कलाकार कृष्ण ढुङ्गेलले लोपोन्मुख नेपाली लोकबाजाहरू विशेषगरी बिनायो, मुर्चुङ्गा र मुखले फुक्ने हारमोनियमको सुमधुर धुन सुनाउनुभयो । सङ्गीतकार बुलु मुकारुङ, सुमन राई र सूर्य नारायण श्रेष्ठले ताराबहादुर बुढाथोकीले लेख्नुभएका सङ्खुवासभा चिनाउने गीतहरू हारमोनियम, मादल र गितारका साथमा गाएर मन्त्रमुग्ध बनाउनुभयो । सहभागी सबै कविहरूले अति सुन्दर कविताहरू प्रस्तुत गर्नुभयो । मैले पनि नुम क्षेत्रलाई जोडेर तपसिल अनुसारको कविता प्रस्तुत गरेँः
मकालुको काखबाट
आयौँ आज मकालुका चरणमा तानेर सौन्दर्यले
देखी भव्य सुसभ्य संस्कृति कला छौँ मख्ख आतिथ्यले
केही पूर्व र पश्चिमा कवि कला पोख्छौँ नुमा भूमिमा
रम्छौँ प्रेम छरेर काव्य रसमा छौँ पूर्ण सन्तुष्टिमा ।
कार्बी आङ्लङ सिक्किमे असमियाँ सङ्गीतका पारखी
आयौँ देश विदेशका सय थरी साहित्यका सारथि
यस्तो भेट गराउने मन दिने सत्कार्यका योजक
गर्छौं तारिफ साधुवाद छ ठुलो छौ धन्य संयोजक ।
देख्तै सुन्दर शान्त शीतल हुने हाम्रो पहाडी धरा
बस्ता शौम्य सुरम्य स्वच्छ रसिला यी खेतबारी गरा
यस्तो दिव्य धरा विशेष नुमको सन्देश यो देशले
पाओस् आज विदेशिने मनुजले फर्कौ भनोस् चेतले ।
लेख्छन् लेक गुराँसका कलमले सौन्दर्यको लालिमा
पढ्छन् शान्त हिमालले शिरचुमी सूर्योदयी लालिमा
उठ्छन् लाख पहाड एक लयमा ताँती मिलेझैँ गरी
कर्मीका सिपले चिटिक्क घरको दाँती मिलेझै गरी ।
फुल्छन् फूल शरद् वसन्त वनमा वर्षाद वर्सेपछि
खुल्छन् प्रेम परागका कण चुमी सामीप्य झल्केपछि
हामी हिड्न सिकौँ यिनै प्रकृतिका झङ्कार पछ्याउँदै
हेरून् विश्व जगत् प्रलोभित बनी यो दृश्य मिठ्याउँदै ।
माटोले मुटुमा छुँदा शिर झुकून् आस्था दिऊन् कम्पन
अग्ला हुन् अनुराग प्यार दिलका सोचाइ हुन् कञ्चन
माया प्रीति बढोस् समस्त जनमा हौँ फूलका रङ्गझैँ
छौँ रङ्गीन अभिन्न भाव लयमा हौँ मूलमा एक नै ।
अन्त्यमा, सभापतिको ज्ञानवर्धक मन्तव्यले जुरुक्कै उचाल्यो कार्यक्रमको ओझ । किन बोलाएछन् यति धेरै स्रष्टाहरू यति धेरै खर्च व्यहोरेर यति धेरै टाढा भन्नेकुरा छर्लङ्गै बनायो । त्यसको एक अंश यस्तो थियोः
दक्षिण एशियाली साहित्यिक सांस्कृतिक सम्मेलन २०२५ फेब्रुअरी २६ देखि मार्च १ सम्म ४ दिन लगातार गर्नुको अर्थ यो हिरण्यगर्भ संखुवासभालाई सबैका आँखामा ल्याउनु हो । शताब्दीयौँसम्म बादल र रहस्यले घेरिएको अज्ञात चुचुरोलाई विभिन्न विदेशी नागरिकहरूद्वारा आरोहणका प्रयत्नहरू भए । ८,४८५ मि. अग्लो मकालु हिमाल हो भन्ने रहस्योद्घाटन भएपछि र सन् १८५० मा संसारको पाँचौँ अग्लो शिखरको रूपमा पहिचान प्राप्त गरेपछि झन् धेरै प्रयत्नहरू भए । तिनै प्रयत्नहरूमध्ये सन् २००९, फेब्रुअरी ९ को प्रयत्नले यसको शिर चुम्बन गर्यो र आजसम्ममा अन्य सयौँ आरोहीहरूले शिखर चुमेर फर्किसके । हुँदाहुँदा सन् २०२२ को एकै सिजनमा लाक्पा शेर्पाद्वारा सबैभन्दा छिटो तीनपटक आरोहण गरी गिनिज बुक अफ वल्र्ड रेकर्ड पनि कायम गरिसके । तर यस्तो महत्त्वपूर्ण कार्यको प्रचारप्रसार खै ? किन भएन प्रचार ? हो, यसको प्रचारप्रसार गर्ने जिम्मा अब लेखक, साहित्यकार, कलाकारहरूले लिनुपर्छ भनेर जिम्मेवारी सुम्पन तपाईँहरूलाई यहाँ बोलाइएको हो ।
यस्तैगरी पाँचपोखरी, दूधपोखरी, बरुण नदी, बरुण उपत्यका, सभापोखरी पनि यो जिल्लाका गहना हुन् । बरुण नदीको महिमा हिन्दु सभ्यताका ऋग्वेद, यजुर्वेद, अथर्ववेद, उपनिषद्, रामायणजस्ता शास्त्र/ग्रन्थ र सत्य हरिश्चन्द्रजस्ता पौराणिक मिथकहरूमा पनि उल्लेख गरिएको छ । ऋग्वेदमा एक मन्त्र छ ‘ओम जलबिम्बये नमः नील पुरुषाय धिमही तन्नो बरुणः प्रचोदयात’ । भनिएको छ कि बरुण आकाश, सागर र जलका देवता हुन् । वैदिक ग्रन्थमा बरुणलाई मित्र, न्याय र सत्यका देवतासँग जोडिएको छ । बरुणलाई आदित्यको रूपमा पनि उल्लेख गरिएको छ । यसलाई पश्चिम दिशाका दिक्पाल, संरक्षक भनिएको छ । अथर्व वेदले बरुणलाई सबै समझ र ज्ञानका देवताको रूपमा उल्लेख गरेको छ । यजुर्वेदले बरुणलाई सयौँहजार उपचारका देवताको रूपमा उल्लेख गरेको छ । तेत्तरिया ब्राह्मण, बृहदारनायक र रामायणले बरुणलाई शक्तिशाली भगवान्को रूपमा उल्लेख गरेका छन् । राम र रावणले वरुणलाई महासागर र रामायणका देवताका रूपमा प्रार्थना गरेका छन् । बरुण नदीको दुधपोखरीमा भगवान शिवको विगुत समात्न सकिन्छ । मानिसहरू भन्छन् बरुण नदीमा, दुधपोखरीमा छुक पाइन्छ । भोटे संस्कृतिमा छुकको अर्थ अमृत हो ।
अर्को कुरा बरुण र नेप्च्युनमा समानता छ । दुवै सागरका देवता हुन् । दुवै शुद्ध पानीबाट बनेका हुन् । बरुण नेप्च्यूनको हिन्दी नाम हो । त्यसैले विज्ञान र धर्मशास्त्रको बरुणमा फ्युजन छ । बरुण आकाशबाट आएर पृथ्वीसँग विवाह गरे भन्ने कुरा शास्त्रहरूले उल्लेख गरेका छन् । यसरी हाम्रा पूर्वजहरूले चिनीसकेको, दस्तावेजीकरण गरिसकेको, पवित्र, अमृतमय, आराध्यदेव बरुणलाई हामीले किन चिन्न चिनाउन सकिरहेका छैनौँ ?
शिवधारा एक अनौठो तीर्थ हो जसलाई गोमुख गङ्गा पनि भनिन्छ । यहाँ २०० मिटर अग्लो स्थानबाट छहराका रुपमा ठुलो पानीको धारो वरिपरि घुम्दैघुम्दै गुफाभित्र निरन्तर खसिरहन्छ । किराँतीहरूले यसलाई मापालुङ भन्छन् । उनीहरूले पार्वतीलाई सुम्निमा, शिवलाई पारुहाङ, चट्टानी गुफालाई फोक्सो स्वरुपको ढुङ्गा मान्छन् । सुम्निमालाई मा, पारुहाङलाई पा, चट्टानी गुफालाई लुङ सम्बोधन गरी मकालु, शिवधारा र पार्वती गुफाको अन्तरसम्बन्ध देखाउँछन् । विकास र वैभवको वर्णन गर्छन् ।
तामाङहरू विश्वास गर्छन् कि भगवान् शिव पेङदोर्चेको रुप धारण गरेर उनकी रानी भेट्न यस ठाउँमा आए र त्यहीँ बसेर उनले डम्फुको आविष्कार गरे । भोटेहरू विश्वास गर्छन् कि तिनीहरूका महागुरु पद्मसंभवले यिनै सुन्दर गुफाहरूमा एक्लै बसेर अध्ययन, ध्यान, तपस्या गरे र बौद्ध धर्मशास्त्रहरू लेखे । यस अर्थमा शिवधारा शक्तिको साझा स्रोत र विश्वासको साझा केन्द्र हो ।
यो दुर्लभ, लोपोन्मुख जनावरहरूः स्पिनी बेलर, रेड पाण्डा, कस्तुरी प्रिय आदिको बसोबास स्थल हो । दुर्लभ जडिबुटी र अर्किडहरू भएको जैविक विविधताको भूमि पनि हो । बरुण नदी भनेको ज्ञान, शक्ति र पवित्रताको स्रोत हो । त्यसैले हामी यो साहित्यिक सांस्कृतिक सम्मेलनमार्फत बरुण, मकालु र शिवधारालाई विश्वकै महत्त्ववपूर्ण गन्तव्यका रूपमा चिनाउन र यसको प्रवद्र्धन गर्न चाहन्छौँ ।
यो मन्तव्यसँगै सकियो पालिका हलभित्रको कार्यक्रम । त्यसपछि हामीलाई तल खुलामञ्चमा लगियो । चियाबिस्कुट खुवाइयो र भव्य कार्यक्रमका बीच अबिर, टीका लगाई संखुवासभाको छुर्पी, लप्सीको अचार, चौँरीको घिउ, मकालु हिमालको फोटो र गुराँसका थुँगा जडित सुनौला कलस भएका स्मृतिचिह्न दिएर ससम्मान बिदाइ गरियो । बिदाइ गर्नुहुनेमा मकालु गाउँपालिकाकी उपाध्यक्ष मनकला राई अग्रस्थानमा हुनुहुन्थ्यो । अध्यन्तै फुर्तिली, हँसिली, सहयोग, विकासप्रेमी नारी कार्यक्रमभरि नै सक्रिय हुनुहुन्थ्यो । अध्यक्ष ओङ्दी छिरिङ शेर्पा, प्रमुख प्रशासनिक अधिकृत इन्द्रबहादुर दर्जी, वडाध्यक्षहरू आङ्बाबु शेर्पा, छोपाल शेर्पा, वीरबहादुर राई, बालकुमार तामाङ, योगराज राई, नरेन्द्रकुमार राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लामबद्ध उभिनु भएको थियो ।
यसरी हामी अत्यन्तै ठूलो सम्मानका साथ बिदा भयौँ । मकालु हिमालको काखमा साहित्यका रङ्गीविरङ्गी गुराँस फुलाउने गाउँपालिकाले सबैको कल्याण गरेको देख्यौँ हामीले । मकालु साहित्य समाजका उपाध्यक्ष सनम थापा, अध्यक्ष विरेश रार्य, पूर्व अध्यक्ष ताराबहादुर बुढाथोकी, सचिव कृष्ण चापागाईँले हृदय ओछ्याएर गर्नुभएको स्वागत सम्मानको खुलेर प्रशंसा गर्दै होटलतिर लाग्यौँ ।
भोलिपल्ट बिहान पाँच नबज्दै बसभित्र बसिसकेका थियौँ हामी । रातिदेखि नै सिमसिम पानी परिरहेको हुनाले निर्माण कार्य धमाधम भैरहेको कच्ची सडक पग्लेर हिलोआली हुँदैगरेको कुलेगरो बनेको रहेछ । डाँडापाखा ढाकेर हिउँ झरेको थियो । गाडीको चक्का फनफन फन्फनाएर छेउ र भित्ता नाच्न थाल्यो । घच्याक् घच्याक् ढँररर..ढँररर गर्छ गाडी । उक्लिँदैन उकालो । पछि सर्छ, सर्दैन अघि । ४० किलोमिटर लामो छ कच्ची । छिचोलेर कसरी पुग्ने खाँदबारी ? बालुवा खोजेर बेल्चाले हाल्छ बाटोमा सहचालक । निथ्रुक्क छ भिजेर बिचरा ! आगोका झिल्का उडाउँदै फन्फनाउँछन् चक्का । झड्का हान्छ ड्राइभर झडक् झडक् । हाम्रा सिक्किमका कलाकार कृष्ण ढुङ्गेलले पनि सहचालकलाई भलिभाँती सहयोग गर्नुभयो सँगसँगै बेल्चा चलाएर । हामी ठाउँठाउँ उत्रिँदै अफ्ठेरा उकाला हिँडेर काट्तै गाडी हलुका बनाउँदै थियौँ । माथि मुढेछेउ निक्लन लाग्दा झिर्लिम्मै झर्यो अगाडिको सिसा । दानादाना भएर छरियो सडकभरि । आडैमा बस्नुहुने रण काफ्लेजीको हात कोतारेछ ठाउँठाउँ । तर पनि उति ठूलो क्षती भएन । चिसो स्याँठको मुस्लो छिर्यो पछिल्लो भागसम्म । जति चिसो भए पनि गुरुजीका साहसले डेग छोडेन । सुकेपाताल, सग्राँती, सुब्बाभिर, कुवापानीहुँदै चिचिला बजारमा निस्कँदा कठाङ्ग्रिए अगाडिका यात्रीहरू ।
चिया, डुनोट, तातोपानी खाएर निकैबेर आगो तापेपछि विस्तारै ओर्लियो गाडी छ्याङकुटी डाँडो निस्केर ओरालैओरालो । अलितल बस्नेत होटलमा रोकेर थप्यौँ थुक्पाको तातोतातो झोल । मानेभञ्झ्याङमा बुलु मुकारुङ दाजुको टिम ओरालेपछि खाँदबारीमा दुईपट्टि एकएकवटा झ्याल राखेर प्लास्टिकको पट्टी बाँध्यो गाडीले अगाडिपट्टि । सञ्चारकर्मी, रेडियोकर्मी साथीहरूले माला खादाले सम्मान गर्नुभयो हामीलाई । मायाको चिनोस्वरुप मकालु हिमालका तस्बीरहरू दिलाएर सत्कार गर्नुभयो विदेशी पाहुनाहरूलाई ।
गाडी थोरै अगाडि बढेको मात्रै के थियो कलाकार कृष्ण ढुङ्गेल आत्तिँदै हामफल्नुभयो ढोकाबाट । सबै अताल्लियौँ के भएछ गडबड भनेर । दौडेर अघि बसेको फलैँचामा पुग्नुभयो र जीवन चलाउने कुटुरो टिपेर हतारहतार चढ्नुभयो गाडी । थरथर काम्दै सिटमा बस्नुभयो । खलखल पसिना छुटे शरीरबाट । पानी खान दिए साथीहरूले । हावा हम्किदिए । भरे मात्रै बोली खुल्यो, “मेरा सबै डकुमेन्ट, रुपियाँ… त्यहीँ थिए । बिर्सेर हिडेँछु झोला । के भएको म ?”
तुम्लिङटार, सभाखोला, अक्करेभिर, पिलुवा नाघ्दै, अरुणसँग सुसेली हाल्दै लेगुवा घाट आएर असला माछाभात खाइयो । माङ्माय तरेर दियाले डिकुरे, पाख्रिबास, हिले, धनकुटा, धरानहुँदै साँझमा उत्रिएँ म दमकमा । साथीहरू लाग्नुभयो ११ बजेको रेल चढ्नेसम्मको हतारोमा काँकडभिट्टा, सिलिगुडीहुँदै एनजेपीतिर ।
यस्तो सुनौलो अवसरका लागि सिङ्गो संखुवासभालाई साधुवाद ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

