प्रनिल आचार्यले चलाएको चिल्लो कार कारजस्तै चिल्लो सडकमा झन्डै ११० किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमबाट पूर्वतिर कुदिरहेको थियो र सडकको दायाँबायाँ देखिने दृश्यहरू मिलिकमिलिक गर्दै पछाडितिर भागिरहेका थिए । मेनक्याटोदेखि विनोनासम्म पुग्नु यात्राको लक्ष्य थियो भने मिसिसिपी नदीमा माछा मार्नु यात्राको उद्देश्य ।

यसरी यात्रा गर्दा मनमा अनेकौँ कुराहरू खेल्न थाल्छन् । विगत, आगत र वर्तमानका अनेक चित्रहरू मनभित्र घुम्न थाल्छन् । यस्तै भयो मलाई पनि मिसिसिपीमा माछा मार्ने कुरा आएपछि एक्कासि चञ्चल मन विगतमा विचरण गर्न थाल्यो ।

सानो छँदा हँसियाका चुच्चाले कुचुकुचु पार्दै, एउटा ढुङ्गालाई अर्को ढुङ्गाले हिर्काउँदै र साना साना दुवाली थुन्दै छल्दी खोलामा माछा मारेको दृश्य आँखा अगाडि घुम्न थाल्यो । कस्ता रमाइला थिए ती दिनहरू ! माछा मार्दै गर्दा दिन ढल्दै गएको पनि पत्तो हुँदैनथ्यो । कहिलेकाहीँ बुल्मका कुमाल दाइ वा कुमाल्नी भाउजूहरूले निगालाका बल्छी वा आफैँले बुनेका जालको सहायताले माछा मार्दै गरेको दृश्य पनि ताजा बनेर आयो । मङ्सिर महीना, खेतमा धान स्याहार्ने बेला धानका पाँजा पल्टाएर भोटी माछा मारेको र पोलेर खाएको दृश्य पनि सिनेमाको रिलजस्तै मनभित्र रङ्गीन बनेर घुम्न थाल्यो ।

माछा मार्ने ती तरिकाहरू मौलिक थिए । पर्यावरणलाई असर नगर्ने खालका थिए । पछि शहरतिरबाट गाउँघरमा विकास आउन थाल्यो । विकाससँगै राम्रा, नराम्रा सबै कुराहरू पनि आउन थाले । माछा मार्नका लागि खोलामा करेन्ट लगाउने, कडा विषादी प्रयोग गर्ने र बम हान्ने काम पनि हुन थाल्यो । परिणाम खोलानालामा माछा मात्रै होइन, अन्य जलचर प्राणी पनि मासिँदै जान थाले । पर्यावरणमा नकारात्मक असर पर्न थाल्यो । प्रकृतिलाई दुःख दिने काम जारी रह्यो ।

अहिले म विदेशी भूमिमा छु । विदेश घुम्न थालेपछि यस्ता धेरै कुराहरू देख्ने र अनुभव गर्ने अवसर जुरिरहेको छ । विकसित मुलुकहरूमा यस्ता संवेदनशील विषयहरूलाई महत्त्व दिने र स्पष्ट नीति बनाई नियमन गर्ने चलन हुँदो रहेछ । माछा मार्ने काम होस् वा जङ्गली जनावर मार्ने काम सबै कामका लागि राज्यबाट अनुमति (लाइसेन्स) लिनु पर्ने कानूनी व्यवस्था हुँदो रहेछ । जङ्गली जनावर मार्ने अनुमति लिएपछि निश्चित समय र स्थानमा तोकिएका जङ्गली जनावर मार्न पाइने र माछा मार्ने अनुमति लिएपछि कुनै पनि नदी वा तालमा माछा मार्न पाइने व्यवस्था हुँदो रहेछ । अनुगमन प्रणाली र जरिवाना कडा भएको हुँदा जो कोहीले पनि नियम उल्लङ्घन गर्ने धृष्टता नगर्दा रहेछन् ।

अमेरिका आएको केही समयपछि यस्तै कानूनी प्रावधान पूरा गरी माछा मार्ने र रमाउने सुनौलो अवसर जुट्यो । फुर्सदको समयमा घरवरिपरिका ताल, तलैया तथा नजिकका खोलाहरूमा माछा मार्ने काम त गरिएको थियो तर लामो यात्रा तय गरी माछा मार्न गएको अनुभव भने थिएन । एक दिन छोरा कृष्णले भने, “आउने विकेनमा मिसिसिपी नदीमा माछा मार्न जाने कार्यक्रम बनाएका छौँ, जानुपर्छ, रमाइलो हुन्छ ।”

मिनिसोटा राज्यको उत्तरी कुनामा रहेको इटास्का झिलबाट उत्पत्ति भई अमेरिकाको मध्य भागका विभिन्न राज्य हुँदै बग्ने र अन्त्यमा मेक्सीकोको समुद्रमा मिसिने मिसिसिपी नदी विश्वको चौथो र अमेरिकाको दोस्रो लामो नदी हो । छोराले मिसिसिपी नदीको नाम लिनासाथ मलाई सन् २०१५ मे २६ मा मिसिसिपी नदीको उद्गम स्थल (इटास्का झिल) पुगेको घटना सम्झना भयो । उद्गम स्थलमा मिसिसिपी नदी गाउँघरमा खोलाबाट खेतमा लैजाने कुलो जत्रो थियो । सहयात्री माइक डेलीले त्यस समयमा आफ्नो भाषामा भनेका थिए, “मिस्टर ह्यारी, मिसिसिपी नदीको शिर यही हो ।” त्यस बेला मीना र म निकै रोमाञ्चित भएका थियौँ । उक्त यात्रालाई मैले ‘माइकको डुङ्गा’ शीर्षकमा लिपिबद्ध गरिसकेको छु ।

उद्गम स्थलमा कुलोको आकारमा जन्मिएको र मेक्सीको पुग्दा कहीँ कहीँ झन्डै तीन किलो मिटर चौडा आकारमा फैलिएको मिसिसिपी नदीलाई त्यसपछि देख्न पाएको थिइनँ । उक्त नदीलाई पुनः नजिकबाट देख्ने र नदी किनारमा बसेर माछा मार्न पाइने कुराले रोमाञ्चित भएँ । छोराले बताएअनुसार हामी माछा मार्न जाने ठाउँ विनोना सिटीको प्राइरी आइसल्याण्ड थियो र उक्त स्थान हामी बस्ने ठाउँ मिनिसोटा राज्यको मेनक्याटो शहरदेखि करिब १२५ माइल टाढा थियो ।

कृष्णका साथीहरू भरत, रमिता र दीप माछा मार्न र रमाइलो गर्नकै लागि डेड दिनको बाटो गाडी चलाएर केन्टेकीदेखि मेनक्याटोसम्म आएका थिए । एक रात हामीसँग बिताएपछि उनीहरू माछा मार्ने झोली तुम्मा भिरेर तयारीका लागि एक दिन पहिले नै विनोनातिर लागे । म र मीना सेप्टेम्बर ०१, सन् २०२४ आइतबारका दिन बिहान चिया नास्ता खाएपछि कृष्णका अर्का साथी मिनिसोटा स्टेट युनिभर्सिटीका सहप्राध्यापक डा. प्रनिल आचार्यसँगै उहाँकै गाडीमा जाने भयौँ ।

घरबाट हिँड्दा बिहान ९:३० बज्दै थियो । बिलम्ब नगरी अघि बढ्ने तयारीमा थियौँ । त्यस्तैमा प्रनिलजीले भन्नुभयो, “बुबा वालमर्ट (सामान किन्ने ठाउँ) पसेर थप केही सामान लिनुपर्ने छ ।”

वालमर्टमा पसेर केरा, सुन्तला लगायतका फलफूल तथा माछा मार्ने राम्रा बल्छी, माछा हाल्ने बाल्टी लगायतका जरुरी सामान किन्यौँ । सामान किनेर हिँड्नुपूर्व प्रनिलजीले मोवाइलमा जीपिएस लगाउनुभयो । जिपिएसमा मेनक्याटोदेखि विनोनासम्म पुग्न युएस १४ ई सडक हुँदै जानुपर्ने, त्यहाँ पुग्न झन्डै दुई घण्टा दुई मिनेट लाग्ने र दिउँसो १२:०० बजे पुग्ने सङ्केत देखियो ।

मेनक्यटोदेखि विनोना सिधै पूर्व थियो । युएस १४ ई सडकमा पुगेपछि हामी सिधै पूर्वतिर लाग्यौँ । दुई दुई लेनको मूल सडक फराकिलो थियो । जाने आउने सडकका बीचमा झन्डै दुई लेन सडक बनाउन पुग्ने खालको खाली जमीन थियो । उक्त खाली जमीनमा हरियो घाँस थियो, जुन समय समयमा मिसिनले काट्ने हुँदा सफा र सुन्दर देखिन्थ्यो । यात्राका क्रममा मैले अमेरिकामा सडक सञ्जाल निकै राम्ररी फैलिएको महसूस गरेँ । हरेक सडक निर्माण गर्दा फरक फरक किसिमका लेन बनाउने र बीचमा खाली ठाउँ छोड्ने चलन सबै ठाउँमा हुँदो रहेछ । व्यस्त सडक (मुख्य हाई–वे) हरूमा त झन् गाडीको चापअनुसार आठदश लेनसम्मका सडक बनाएको पनि देखियो । मूल सडकमा गुड्ने गाडीहरूको गति ४० माइलदेखि ७० माइल प्रतिघण्टासम्म हुँदो रहेछ । गाडी चलाउँदा सबैले सडक नियम पालना गर्दा रहेछन् । सबै गाडीहरू तीव्र गतिमा गुड्ने हुँदा कसैले गल्ती गरी दुई ओटा गाडी ठोकिए भने भीषण दुर्घटना हुने सम्भावना हुँदो रहेछ ।

मूल सडकमा प्रवेश गरेपछि प्रनिलजीले गाडीको गति बढाएर ७० देखि ७५ सम्म पुर्याउनुभयो । लाग्थ्यो हामी गुडिरहेको होइन उडिरहेका छौँ । पूर्वतिरबाट आउने गाडीहरू पारि अर्को लेनबाट त्यस्तै गतिमा कुदिरहेका थिए ।

मेनक्यटो सिटी छोडेर हामी केही माइल मात्र पर पुगेका थियौँ, घरहरू हराउँदै गए र सडकको दायाँ बायाँ मकै बारी शुरु भयो । बारी पनि साना हुन् र ! आँखाले पल्लो किनार नदेखिने खालका । भर्खर चमर फालेर घोँगा हाल्दै गरेका मकैका बोट अनुशासित फौजीहरू परेड खेल्नका लागि एउटै पङ्क्तिमा उभिएजस्तै देखिन्थे । सबै मकै एउटै उचाइ र आकारका थिए । हामी मकै हेरेर रमाएको देखेपछि प्रनिलजीले भन्नुभयो, “यी सबै मिसिनले छरेका मकै हुन् । ठूला ट्याक्टरले अघि अघि जोत्दै जान्छ, पछि पछि एउटै लाइनमा मकैको बिउ रोप्दै जान्छ ।” अर्को कुरा यहाँ मकै खन्ने चलन पनि नहुँदो रहेछ । सबै ठाउँका मकै निकै बाल्ला थिए । नेपालमा पातला मकै देखेका हामीलाई यहाँका बाक्ला मकै देख्दा अचम्म लाग्नु स्वाभाविकै थियो । त्यति बाक्ला मकैले पनि दुई ओटा वा सोभन्दा बढी घोगा हालिरहेका देखिन्थे । सडक किनारका बारी र मकै देख्दा एउटै बारीका मकैले हाम्रा सात गाउँलाई वर्षभरि आटो खान पुग्लाजस्तो अनुमान लगाउन सकिन्थ्यो ।

हामी सत्तरी पचहत्तर माइल प्रतिघण्टाको गतिमा कुदिरहेका थियौँ । केही पर पुगेपछि मकैको सट्टा भट्ट लगाएको देखियो । मकैपछि यहाँको अर्को महत्त्वपूर्ण बाली भट्ट रहेछ । भट्ट छरेका बारी पनि निकै ठूला थिए ।

तीव्र गतिमा अघि बढ्दै थियौँ, बायाँतिर मालवाहक रेल देखियो । यहाँ यातायातका साधनका रूपमा रेललाई पनि प्रयोग गरिँदो रहेछ । नजिकै दुई ओटा ठूला कारखाना देखिए । कारखानाको अवस्था हेर्दा ती कारखाना खाद्यान्नसँग सम्बन्धित हुन् भन्ने अनुमान गर्न सकिन्थ्यो किनभने कारखानाको नजिकै ठूला ठूला ट्याङ्कीहरू थिए । ती ट्याङ्कीमा मकै वा भट्ट भण्डारण गरिँदो रहेछ ।

न गर्मी न जाडो, मौसम निकै अनुकूल थियो । यसो हेर्दा नेपालमा दशैँका बेला हुने खालको मौसम थियो । त्यसैले गाडीमा एसी वा हिटर लगाउनुपर्ने आवश्यकता पनि थिएन । जता हेर्यो उतै सुन्दर दृश्य थिए, जति हेरे पनि नअघाइने खालका दृश्य । सडक किनारमा फाट्टफुट्ट बाहेक घर वा बस्तीहरू भने थिएनन् । जता हेरे पनि मकै वा भट्ट लगाएका बारी मात्रै थिए ।

हिँड्दै थियौँ, अर्को मालवाहक रेल देखियो । हिँडेको थिएन, सडक किनारको लिकमा आराम गरिरहेको थियो । हेर्दाहेर्दै अर्को सुन्दर दृश्य देखियो । त्यो दृश्य थियो सोलारको । हो, सडक किनारमा ठूलो सङ्ख्यामा सोलार जडान गरिएको थियो । यहाँ सोलार तथा हावाबाट चल्ने पङ्खालाई पनि विद्यूत आपूर्तिको वैकल्पिक स्रोतका रूपमा प्रयोग गरिँदो रहेछ ।

यात्रा साह्रै रमाइलो भइरहेको थियो । जति पूर्व गयो उति फराकिला फाँट देखिँदै थिए । चारैतिर समथर भूमि थियो । सामान्य अग्ला होचो स्थानबाहेक अग्ला पहाड कतै थिएनन् । आकासमा बादल नलागेको हुनाले निलो आकास सफा र सुन्दर देखिँदै थियो । धुलो, धुवाँ, तुवाँलोको नामो निसान थिएन । लामो लामो सास फेर्दा फोक्सो खुशी भएको अनुभूति हुँदै थियो । कतै हरिया रुख तथा बिरुवाहरूले वनजङ्गलको झझल्को दिइरहेका थिए धेरै ठाउँमा मकै र भट्टको जङ्गल देखिन्थ्यो । अपवाद बाहेक सडक सिधा थियो । यति लामो सडकमा पनि कतै अस्वाभाविक घुम्टी तथा खाल्टाखुल्टी थिएनन् । सडक निकै सफा, सुन्दर र मिही थियो । नेपालमा खाल्टाखुल्टी भएका र भत्किएका सडकमा यात्रा गर्न बानी परेका हामीलाई अनौठो लागिरहेको थियो ।

अगाडि बढिरहेका थियौँ, सडकको बायाँतिर चारैतिर देखिने गरी उभिएको पानी ट्याङ्कीमा प्ब्क्क्इल् लेखेको देखियो । यहाँ हरेक गाउँ वा शहरको बीचमा पानी ट्याङ्की हुने र ती ट्याङ्कीमा गाउँ वा शहरको नाम लेख्ने चलन हुँदो रहेछ । कासन पुग्दा करीब आधा बाटो हिँडेको अनुमान गर्यौँ किनभने मोबाइलमा जडित जिपिएसले लक्ष्यमा पुग्नका लागि एक घण्टा सात मिनेट बाँकी रहेको देखाइरहको थियो ।

हामी ७० प्लसकै गतिमा थियौँ । केही पर पुगेपछि सडक किनारमा एउटा बोर्ड देखियो । त्यसमा अब आउने शहरको नाम बाइरोन (द्यथ्च्इल्) लेखिएको थियो । उक्त शहरको जनसङ्ख्या ६,३१२ रहेको कुरा पनि त्यसै बोर्डमा थियो । सडक किनारमा छिटफुट घर थिए तर मकै बारी यथावत् थिए । कतै सोलार फाँटको दृश्य पनि देखिँदै थियो ।

अघि बढ्दै थियौँ, हामी रचेस्टरको नजिक पुगेको कुरा सडक किनारमा रहेको बोर्डले देखायो । बोर्डमा रचेस्टर शहरको जनसङ्ख्या १,६५,३९५ रहेको कुरा पनि उल्लेख गरिएको थियो । शहर नजिक पुगेर हो कि यहाँको सडक अघिको भन्दा फराकिलो थियो अर्थात् तीन÷तीन लेनको ।

रचेस्टर यसअघि म आइसकेको शहर हो । यहाँ मेओ क्लिनिकको ठूलो अस्पताल छ । अस्पताल मात्र के भन्नु अस्पतालले ओगटेको ठाउँ एउटा शहर बराबर छ । यहाँ अमेरिका मात्रै होइन, संसारका विभिन्न ठाउँबाट मानिसहरू उपचार गर्न आउँदा रहेछन् । छोरा डा. पवन भण्डारी ‘किरण’ ले मेओमा काम गर्ने समयमा उनीसँगै म पनि यहाँ आउने र घुम्ने अवसर पाएको थिएँ ।

रचेस्टर नपुग्दासम्म हामी सिधा पूर्व गइरहेका थियौँ, रचेस्टर कटेपछि बायाँतिर मोडियौँ । मोवाइलले भन्यो, “भ्हष्त द्दघघ” अर्थात् २३३ नम्बरको सहायक सडकबाट बाहिर निस्क । २३३ नम्बरबाट बाहिर निस्कियौँ । उक्त सडक अर्को मूल सडकमा जोडियो । थोरै अघि गएका थियौँ, अर्को शहर आयो । त्यसको नाम थियो सेन्ट चार्लस (क्त। ऋजबचभिक) । हामीले माछा मार्ने सामान त किनेका थियौँ तर माछालाई झुक्याउने गँड्यौला किन्न बाँकी थियो । नजिकको कुइक ट्रिप (सामान किन्ने ठाउँ) मा पसेर गँड्यौँला किन्ने सल्लाह भयो । प्रनिलजीले गाडी सुरक्षित ठाउँमा पार्क गर्नुभयो र कुइक ट्रिप कहाँनिर छ भनेर मोवाइलमा खोज्नुभयो । थोरै अघि रहेछ । मोवाइलले देखाएको बाटो अनुसरण गर्दै अगाडि बढ्यौँ ।

सानो फिरिजभित्र साना साना डिब्बा थिए । एउटा डिब्बा खोलेर हेर्यौँ, त्यसमा साना ठूला गरी दसदेखि पन्ध्र ओटा गँड्यौला थिए । एउटा डिब्बाको मोल साडे छ डलर लेखिएको थियो, नेपाली रुपियाँ करिब नौ सय । हिसाब गरेँ, एउटा गँड्यौँलाको झन्डै पचहत्तर रुपियाँ पर्ने देखियो । गँड्यौँलाका दुई ओटा डिब्बा किनेर बाहिर निस्कियौँ ।

सडक किनारमा अर्को अचम्मको दृश्य देखियो, त्यो थियो चिहान घारी । यहाँ मृतकलाई जलाउने भन्दा पनि गाड्ने चलन बढी हुँदो रहेछ । यहाँका चिहानहरू निकै व्यवस्थित हुँदा रहेछन् । तिनको सुरक्षा तथा सरसफाई अनुकरणीय लाग्यो मलाई । चिहानघारीमा दुई तीन सय वर्ष पुराना लासहरू गाडिएको कुरा लास सँगै गाडिएका शिलामा उल्लेख गरिएको पनि देखियो ।

हामी लक्ष्यको नजिक थियौँ, यस्तैमा घना जङ्गल शुरु भयो । अघिसम्मको फराकिलो सडक साँगुरिएर दुई लेनमा सीमित भयो । गति पनि सत्तरीबाट घटेर ५५ माइल प्रति घण्टा देखियो । घना जङ्गलको बीचमा बनेको सडक शान्त, सुन्दर र रमणीय थियो । दुवैतिर बाक्ला झाडी र रुख थिए । सडकको नाम प्रिन्स आइसल्याड आरडी थियो । जङ्गल क्षेत्र भएर पनि हो कि यहाँको सडक भने घुमाउँरो थियो । विभिन्न घुम्टी पार गर्दै हामी अगाडि बढिरह्यौँ ।

केही पर पुगेपछि जङ्गल पातलो हुँदै गयो । पातलो बस्ती शुरु भयो । अब हामी विनोना शहरको नजिक पुग्दै थियौँ । मिसिसिपी नदी भेट्न १०÷१२ मिनट बाँकी थियो । बिहान खाएको चिया नास्ता पचिसकेको थियो । पेटले चारोको माग गरिरहेको थियो । त्यस्तैमा सस्तो, सजिलो र छिटो खाना खानेबारे छलफल गर्यौँ । यो सबै विशेषता बोकेको खाना एउटा मात्रै थियो, त्यो हो म्याकडोनल । प्रनिलजीले हिँड्दा हिँड्दै म्याकडोनल सर्च गर्नुभयो । नजिकै रहेछ, गाडी घुमाएर पस्यौँ र इच्छा भोजन गर्यौँ ।

हामी मिसिसिपी नदीको किनार अर्थात् प्रायरी आइसल्याण्ड, विनोना (एचबष्चष्भ क्ष्कबिलम, ध्ष्लयलब) पुग्दा दिउँसोको एक बजिसकेको थियो । युवाहरू क्याम्प साइटमा आगो बालेर हरिया मकै पोल्दै थिए । वरिपरि मानिसहरूको बाक्लो उपस्थिति थियो । कोही पाल टाँगिरहेका थिए त कोही च्ख् (च्भअचभबतष्यल ख्भअजष्अभि) लाई घर मानेर बसिरहेका थिए । रुख बिरुवाले ढाकिएको उक्त स्थान सुन्दर, सफा र रमणीय थियो । त्यस स्थानमा पिउने पानी, शौचालय, फोहोर फाल्ने कन्टेनर, आगो बाल्ने स्थान, पाल टाँग्ने स्थान सबै कुराको सुविधा थियो । त्यहाँ धेरै मानिस थिए तर कसैले हल्ला गरेका वा फोहोर गरेका थिएनन् । हरियो घाँसे मैदान निकै सफा र सुन्दर थियो । सबै मानिसहरू अनुशासित थिए । त्यहाँको अवस्था देखेपछि मलाई नेपालका सार्वजनिक स्थलहरूको सम्झना भयो । आफैँले आफैँलाई धिक्कार दिएँ र पीडाको लामो साफ फेरेँ ।

अब मिसिसिपी नदी धेरै टाढा थिएन । केही समय आराम गरेर पोलेका मकै खाएपछि लाग्यौँ नदी किनारतिर । जन्मिँदा खेतमा जाने नहर जत्रो मिसिसिपी नदी मोटाएर झन्डै नारायणी नदी जत्रो भइसकेको थियो । नदीमा माछा मार्ने मछुवाराहरू बाक्लै थिए । कोही नदी किनारमा बसेर माछा मारिरहेका थिए भने कोही ड्याम साइटमा उभिएर । कतिपय व्यक्तिहरू त आफ्नै डुङ्गामा बसेर पनि माछा मारिरहेका थिए । त्यस स्थानमा बीचमा बाँध बाँधेर नदीको बीचमा ठूलो ताल बनाइएको थियो । उक्त स्थान मिनिसोटा र विसकान्सन राज्यको सीमा रहेछ । वारि मिनिसोटा र पारि विसकान्सन । वारि सानो बस्ती थियो भने पारि देखिने क्षेत्र जङ्गलले ढाकिएको थियो ।

माछा मार्ने मानिसहरूको बाक्लो उपस्थिति थियो । साना नानीहरूदेखि ज्येष्ठ नागरिकहरूको जमघट थियो । सबै जना माछा मार्नमा व्यस्त थिए । धेरै जना मानिसहरूको माछा मार्नुको मुख्य उद्देश्य रमाइलो गर्नु थियो । सानो होस् वा ठूलो बल्छीमा माछा परेपछि खुशी हुन्थे, एकैछिन हेर्थे, रमाउँथे र पुनः पानीमा फाल्थे । माछा मार्ने मानिसहरूको भिड भए पनि सबै जना सानो स्वरमा बोलिरहेका थिए । हल्ला गरेको वा कसैलाई हानी पुग्ने गरी बोलेको कतै सुनिदैनथ्यो ।

हामी नदी किनारमा पुगेपछि माछा मार्न शुरु गर्यौँ । कहिले साना माछा त कहिले ठूला माछा पर्दै थिए बल्छीमा । हामीले साना र खाँदा मिठो नहुने च्याप्टा माछा नदीमै फाल्न अनि ठूला र खान मिल्ने खालका माछा बाल्टीमा राख्न थाल्यौँ । माछा मार्ने काम यति रमाइलो भइरहेको थियो कि, नदीबाट बाहिर निस्किनै मन लागेको थिएन । हामीले पालैपालो गरी झन्डै तीन घण्टा माछा मार्यौँ । हामीले लगेका बाल्टी भरिए । नयाँ ठाउँ र अनुभवले मन प्रफुल्ल भयो । अमेरिका आएको धेरै दिनपछि छुट्टै किसिमको खुशी मिलेको अनुभूति भइरहेको थियो मलाई ।

माछा मार्दामार्दै दिन ढलिसकेको थियो । सूर्य धेरै पर पुगिसकेका थिए । साँझ सबै जना घर फर्किने योजना थियो । त्यसैले माछा मार्ने कामबाट विश्राम लिँदै बाल्टीमा जम्मा गरेका असला माछा बोकेर क्याम्पमा फर्कियौँ । युवाहरूले थाले आगो फुक्न । दाउरा घरैबाट ल्याएका थिए । आगो बलेपछि माछा पोल्ने काम शुरु भयो । पोलेका माछा खानुको मजा अर्कै थियो ।

क्याम्पमा आएपछि पनि रमाउने काम जारी रह्यो ।

“अब जाने बेला भएन ?” छोराहरूतिर हेर्दै मैले जिज्ञासा राखेँ ।

त्यसपछि युवाहरूले सामान मिलाए । आफू बसेको ठाउँ सफा गरे । फोहोरजति सबै अलि पर रहेका कन्टेनरमा राखे । सबै काम पूरा भएपछि रमाइलो वातावरणलाई सधैँभरिका लागि मनमा पोको पारेर विस्तारै घरतिर फर्कियौँ ।

मिसिसिपीको यात्रा जीवनमा कहिल्यै नबिर्सिने यात्राको रूपमा रह्यो ।