अयोध्या, नैमिषारण्य र वृन्दावनको तेह्रदिने भ्रमणबाट फर्केको दुई साता पनि भएको थिएन, एक रातका लागि चित्लाङ घुम्न जाने जाने प्रस्ताव आयो । शरीरले साथ दिएसम्म र अनुकूल मिलेसम्म घुम्न जानुपर्छ भन्ने मेरो धारणा रहेकाले सो प्रस्ताव नकार्ने कुरै भएन, सहजताका साथ स्वीकार गरेँ । पहिले पटकपटक गइसकेको ठाउँ भए तापनि सबैसँग जाँदा रमाइलो हुने भएकाले मैले जाने सहमति जनाएँ ।

चित्लाङका पुराना बासिन्दा, पारिवारिक नाताभित्रका भाइ सुदर्शन लामिछानेले साझेदारीमा हालै नयाँ होमस्टे सञ्चालनमा ल्याएका रहेछन् । उनको होमस्टेको आतिथ्यता र आन्तरिक पर्यटन प्रवर्धनअन्तर्गत चित्लाङका स्थानहरूको अवलोकन गर्ने हाम्रो भ्रमणको मुख्य उद्देश्य थियो । त्यहाँ जाने सवारीसाधनको व्यवस्था र सुदर्शन भाइसँगको समन्वयको काम कल्पना मिश्रबाट भएको थियो । हामी १४ र चालकदलका २ गरी जम्मा १६ जना चित्लाङ भ्रमणमा जाने भएका थियौं ।

भ्रमणको निर्धारित दिन बिहानको खाना खाइवरी १० बजे सबैजना जम्मा भयौं । चालक अरुण पौडेलभाइ १०ः१५ मा बस लिएर टुसाल मार्गस्थित पिपलबोट रहेको तीनदोबाटोमा आइपुगे । हाम्रो टोली तैयारी अवस्थामा थियोे । यहाँबाट सती सिलवाल, नारायणराज मिश्र, शर्मिला मिश्र, सरस्वती कट्टेल, कल्पना मिश्र, प्रमिला न्यौपाने, कल्पना कँडेल, सीताराम कँडेल, दिवाकर न्यौपाने, सरोज न्यौपाने, विजया न्यौपाने, मीना अर्याल र मुरारीराज मिश्र गरी १३ जना बसमा चढ्यौं । अब बाँकी एकजना सरस्वती रिसाल भाउजूलाई ललितपुरको बागडोलमा लिन जानुपर्ने थियो । त्यसैले हामी गौशाला, एयरपोर्ट, कोटेश्वर हुँदै सातदोबाटो तर्फ लाग्यौं । बाटोमा सवारीको चाप थियो । हामी पुग्न अगाडि नै भाउजू आएर हामीलाई कुरिरहनु भएको रहेछ ।

हामीले फर्पिङतिरको बाटोबाट चित्लाङ जाने सोच बनाएका थियौं । तर हाम्रो सवारीसाधन भाडाको नम्बर प्लेटवाला भएकाले चित्लाङ जान यातायात कार्यालयबाट पटके अनुमति लिनुपर्ने कुरा चालक अरुणभाइले बताए । त्यसको लागि ढुङ्गेअड्डा पुग्नु पर्ने रहेछ । बाध्यात्मक कारण भएकाले हामीले थानकोटको निर्माणाधीन बाटो नै प्रयोग गर्नुपर्ने देखियो । ढुङ्गेअड्डामा पुगेर गाडीको पटके भ्रमण अनुमति लियौं ।

नवीकरण गरेका सवारीलाई एउटा जिल्लाबाट अर्काे जिल्ला प्रवेश गर्न पनि चर्काे दस्तुर तिरेर पटकपटक अनुमति लिइरहनुपर्ने अवस्था देख्दा नमीठो लाग्यो । “सके देशभर, नसके कम्तीमा पनि एउटा प्रदेशभर त यस्तो पटके अनुमतिको प्रथा बन्द हुनुपर्छ” भन्ने लाग्यो । फेरि, पर्यटन प्रवद्र्धनको चर्को नारा दिने तर काम भने फिटिक्कै नगर्ने राज्यका अङ्गलाई यस्ता ससाना समस्या उपर ध्यान दिने फुर्सद कहाँ हुन्छ होला भन्ने सोचेर चित्त बुझाएँ ।

 यहाँको पसलमा खानेपानी किन्ने क्रममा ट्रान्सपोर्ट कम्पनीमा कार्यरत भाइ दीपेश कोइराला यातायात कार्यालय अगाडि भेटिए । धेरै समयपछिको भेट भएकाले केही समय आपसी पारिवारिक भलाकुसारी भए । अब हामी थानकोटतर्फ अघि बढ्यौं । पौष महिना भए पनि वातावरण तातिएको थियो । बसभित्र दोहोरी गीत बजिरहेको थियो । तर बसका मानिसहरू भने आआफ्नै धूनमा गफमा व्यस्त थिए । खड्याङ् मड्याङ् बाटोमा धुवाँ र धूलो छिचोल्दै बस थानकोट पुगेर त्यहाँबाट बायाँतिरको उकालो लाग्यो । शुरुमा पक्की सडक र अधिकांश कच्ची निर्माणाधीन बाटो पार गरेपछि २५ मिनेटमा काठमाडौं र मकवानपुरको सीमा देउराली भञ्ज्याङमा पुगियो ।

बाटो खराब भए पनि वरिपरिका दृश्य भने चित्ताकर्षक देखिन्थे । हरियालीयुक्त डाँडाकाँडाका लहर, हिमाल, विभिन्न प्रजातिका रुखहरू रहेका वनजङ्गल र चराचुरुङ्गीका आवाजले वातावरणमा रोमाञ्चकता प्रदान गर्दै थियो । घाम छेकिएको र मन्दमन्द चलेको सिरेटोले चिसोको अनुभव गरायो । बाटोमा फाट्टफुट्ट सवारी र पैदलयात्री भेटिन्थे ।

यहाँबाट करीब १२ किमीको उकाली ओराली कच्ची बाटो छिचोलेर पौवा भन्ने स्थानमा पुगियो । पहिला तराइबाट काठमाडौं आउने र काठमाडौंबाट तराई जाने यात्रुहरू, चन्द्रागिरिको डाँडो पार गरेर चित्लाङको बाटो हुँदै यसै पौवा (पाटी) मा बास बस्ने गर्थे रे ! कलात्मक ढङ्गले जिर्णेद्वार भएकोले पौवाको स्वरूप आकर्षक देखिन्थ्यो । पौवापछाडि पुरानो त्रिगजुर शिवालय रहेको छ । यो जीर्ण शिवालयले भने यहाँ आउने–जाने हरेक मानिससँग आफ्नो संरक्षणको लागि मौनगुहार मागिरहेको आभास भयो ।

पौवा रहेको स्थानबाट अलि अगाडि, द्वापरयुगमा सप्तऋषिहरूले नुहाउने गरेको सप्तर्षि धारा रहेको छ । जहाँ गणेश, सरस्वती, शिव लगायतका देवताका मूर्ति स्थापित छन् । नजिकै एउटा पोखरी छ । धाराबाट मूलको स्वच्छ र कलकल झरेको पानी त्यत्तिकै खेर गइरहेको देख्दा काकाकुलको बस्तीमा बसेको मेरो मनमा मेलम्ची झलझली नाच्यो । घाटमा मलामी जाँदा आउने केहीछिनको मसान वैराग्य जस्तै, मनभरी पानी संरक्षण र सदुपयोगको खाका कोरियो !

सप्तर्षि धाराको अवलोकनपछि प्राचीन भीमसेनको दर्शन गरियो । त्यसपछि सम्राट् अशोकद्वारा स्थापित चैत्य पुग्यौं । यसै चैत्यको नामबाट अपभ्रशं हुँदै गएर चित्लाङ भएको हो भन्ने पनि भनाइ रहेछ । मकवानपुरको रमणीय ऐतिहासिक गाउँ चित्लाङलाई प्राचीनकालमा चित्रापुरको नामले चिनिन्थ्यो । सम्राट अशोकले वि.सं. ३१६ मा अशोक चैत्य बनाएपछि चैत्य रहेको बाटोमा परेको कारण यसलाई ‘चैतलोङ’ भनिन थाल्यो । यही चैतलोङ नै पछि अपभ्रंश भएर चित्लाङ हुन गएको भन्ने कुरा आफूले सानैदेखि सुन्दै आएको स्थानीय सुदर्शन लामिछानेले सुनाए ।

समुद्र सतहबाट १७ सय मिटर उचाइमा रहेको, उत्तरतर्फ चन्द्रागिरी तथा दक्षिणतिर महाभारत श्रृङ्खला पर्ने, काठमाडौंबाट २ घण्टामै पुग्न सकिने रमणीय चित्लाङलाई लिच्छविकालीन राजा अंशु वर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँ पनि भनिने कुरा स्थानीयहरूमा प्रचलित रहेछ । यहाँको डाँडालाई शिवको रूपमा पुजिन्छ । यो गाउँमा नेवार, बाहुन, क्षत्री र तामाङ लगायतको बसोबास छ ।

अशोक चैत्य पछि महाकविसँग नाम जोडिएको ढुङ्गामा पुग्यौं । भारतबाट मानिसको काँधमा बोकिएर पशुपतिनाथको दर्शनका लागि आएका भारतीय तीर्थयात्रीलाई देखेर, १९९८ सालताका यहाँको गुर्जुधारा नजिकै बसिरहेका महाकवि लक्ष्मीप्रसाद देवकोटाले कालजयी कविता लेखेका थिए भनिन्छः

“कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो ।
कुन सामाग्री पूजा गर्ने
साथ कसोरी लाने हो !” 

यहाँपछि नजिकै रहेको चियापसलमा बसेर चियापान गर्ने काम भए । हामीलाई खासै हतार नभएकाले यहाँका अन्य दर्शनीय स्थलमा पनि आजै पुग्ने सोच बनाएर खर्कको फेदीमा पर्ने खोंचमा रहेको सुर चन्द्र (स्वच्छन्द) भैरव मन्दिरतर्फ लाग्यौं । आकर्षक स्थानमा रहेको स्वच्छन्द भैरवलाई यहाँका बासिन्दाहरूले साक्षात् देवताका रूपमा श्रद्धापूर्वक मान्ने गरेको पाइयो ।

भैरवको दर्शनपछि यहाँबाट ४ किमीमाथि खर्कमा रहेको चित्लाङ अतिथिगृह पुग्नु थियोे हामीलाई । निर्माणको क्रममा रहेको कच्चीबाटो उक्लेर केही मिनेटमै बसले खर्कको नजिकै पुर्यायो । आजका लागि बसको यात्रा यहीँसम्मको थियो । भोलि बिहानसम्मका लागि बसलाई त्यहीँ पार्किङमा राखी आफ्ना झिटीझाम्टा बोकेर खर्क जाने सिंढी उक्लियौं । करीब ५ मिनेटमा माथि पुग्दा सुदर्शन भाइ लगायत चित्लाङ अतिथिगृहका साथीहरूबाट आत्मीय स्वागत पाएर उकालो चढेको थकान स्वाट्टै मेटिए झैं भयो ।

“तपाईंहरूलाई भोक लागेको होला, अहिले ब्यागहरू यहीँ टेबुलमाथि राखेर हात मुख धुनुहोस्, चिया खाजा तयार छ । पहिले खाजा खाऊँ अनि मात्रै कोठामा जानुहोला ।”, सुदर्शन भाइले भने । यस्तो स्वादिलो प्रस्ताव आएपछि ढिलो गर्ने कुरै थिएन । हामी फटाफट हातमुख धोएर आयौं । साँझ अबेरसम्म घाम आउने डाँडामाथि रहेको खर्क, सम्म परेको बारीका डिल, चारैतिरबाट रमणीय दृश्य र चित्लाङ नियाल्न सकिने ठाँउमा बसेर, भोकको झोंकमा स्थानीय स्वादको भुटेको मकै, साँधेको गुन्द्रुक भटमास, चिउरा, प्राउन र चिया निकै मीठो मानेर खाइयो ।

खाजा सकेर आआफ्नो कोठामा सामान राखेपछि कोही घुम्न निस्किए, कोही फोटो खिच्न थाले, कोही स्थानीय उत्पादन किन्न हिंडे त कोही घाम ताप्दै गफिन थाले । बस्ती धेरै नभएको खर्कमा धेरै प्रकारका कृषिजन्य उत्पादन नहुने रहेछ । घुम्न गएकाहरू केही बेरपछि पाकेको फर्सी, लप्सी लगायतका सामान बोकेर आइपुगे ।

साँझ पर्न लागेकाले मौसम चिसो चिसो हुँदै थियो । सहभागीहरू नाचगानमा रम्न थाले । नाचगान चल्दै गर्दा खाना तयार भएको खबर आयो । तात्तातो दालभात, साग, काउली, स्थानीय जातको च्याउ, गेडागुडी, गुन्द्रुक र गोलभेडाको अचार, पापड तथा कालिजको मासुसहितको खाना भरपेट खाइयो । खानापछि क्याम्प फायरको व्यवस्था थियो । आगोको वरिपरि बसेर जिउ तताउँदै गफगाफ चल्यो । चिसो बढ्दै गएको र निन्द्रादेवीले समेत निम्ता गरेकाले राति करीब १० बजे सुत्नका लागि आआफ्नो कोठातिर लागियो ।

राति मस्त निन्द्रा पर्यो । बिहान ६ बजे उठ्दा आँगन र चौरलाई तुषारोले ढपक्कै छोपेको दृश्य देखियो । धेरैपछि देखिएको यस्तो दृश्यले बाल्यकालमा घरको बाहिर राखिएको अटल (माटोले बनेको बाटा) को पानी जम्ने गरेको सम्झना ताजा भए झैं लाग्यो । तुषारोका कारणले मौसम निकै चिसो लाग्थ्यो । झण्डै साँढेसात बजे खर्कको डाँडामा झलमल्ल घामले स्पर्श गरेपछि भने केही तातोपनाको महसूस हुनथाल्यो । यतिबेला सम्ममा चियानास्ता तयार भयो । नास्तामा चिया, अण्डा, बटर, पाउरोटी, आलु र गेडागुडीको तरकारी थियो । नास्तापछि सबैजना घुमघाम गर्न निस्कियौं । बाटो कान्लाहरूमा झपक्कै तुषारो, तातो चढ्दै गएको घाम, वरिपरिको हरियाली र चराचुरुङ्गीको चिरबिर आवाजले वातावरणलाई मनमोहक बनाइरहेको थियोे ।

यतातिर बस्ती भने फाट्टफुट्ट देखिन्थे । साधारण स्वास्थ्य समस्यामा समेत उपचार खोज्न काठमाडौं पुग्नुपर्ने बाध्यता, शिक्षामा पर्याप्त अवसरको अभाव र रोजगारीका कारण यहाँबाट शहरी क्षेत्रमा पलायन हुने क्रम बढेको चिया खाने क्रममा भेटिएका स्थानीयको भनाइ पाइयो । यसै कुरालाई बल पुर्याउँदै सुदर्शन लामिछानेले यसरी पीडा पोखे, “यहाँका सबै काठमाडौं झर्न थाले । अहिले त अवस्था यस्तो छ कि यता मान्छे मर्दा मलामी पाउन गाह्रो छ भने उता काठमाडौंतिर मलामी चित्लाङेहरूका भीडले जुलुसको झझल्को दिन्छ ।” यी कुराहरू सुन्दा, राज्यले स्थानीयको न्यूनतम आवश्यकताको परिपूर्तिको लागि समयमै ध्यान नदिने हो भने यताका बस्तीहरू भविष्यमा निर्जन हुने कुराको सहजै आकलन गर्न सकिन्छ ।

करीब दुई घण्टाको हिंडाइ र अवलोकन पछि हामी होमस्टे फर्कियौं । खाना तयार भइसकेको रहेछ । यताबाट कुलेखानी ईन्द्र सरोवर र भेडा फार्मतिर पनि जाने कार्यक्रम रहेकोले खाना खाने तरखरमा लाग्यौं । अघिल्लो दिन बेलुकाको जस्तै मीठो खाना थपी थपी खाइयो । यतिबेलासम्म घामको पारो निकै चढिसकेकाले वातावरण तातिएको थियो । एकैछिनको विश्रामपछि सुदर्शन भाइसँग धन्यवाद सहित बिदा लियौं । अरुणभाइले गाडी अगाडि बढाए । हामी भेडा फार्म हुँदै ईन्द्र सरोवरतर्फ लाग्यौं ।

जलाशययुक्त नेपालको पहिलो विद्यूत उत्पादन केन्द्र कुलेखानीको जलाशय यसपालि पहिलोपल्ट भरिएर ओभरफ्लो भएको रहेछ । हामीले त्यहाँको निरीक्षण र मोटरबोट चढेर जलयात्रा पनि गर्यौं । जलस्रोतको धनी भनिने देशमा यस्ता जलाशययुक्त जलविद्यूत केन्द्रहरू धेरै वटा बनाउन सकिएको भए विगतमा अठार घण्टासम्मको लोडसेडिङ्ग बेहोर्नु नपर्ने रहेछ भन्ने कुरा जलयात्रा गर्दै गर्दा मनमा आए । साथै, विगतमा विदेशी सहयोगमा बन्न लागेको अरुण आयोजना बन्द गराउन राजनीतिक तहमा देखिएको चलखेल र क्रियाकलाप पनि स्मरणमा आउँदा मन नराम्ररी अमिलियो ।

जलयात्रा सकेर फर्पिङ हुँदै फर्कन लाग्दा स्थानीयबाट त्यताको बाटो बिग्रेकाले गाडी नजाने जानकारी पाइयो । हामी पुनः बिहान आएकै बाटोबाट फर्कियौं । पौवा नजिकै पुग्दा गाडीहरू रोकिएका देखिए । ड्युटीमा रहेका प्रहरीले ’बाटो निर्माणका कारण अबको दुई घण्टापछि मात्र गाडी जान मिल्नेझ बताए । चर्काे घाममा यताउता गर्दै समय बिताउनुको विकल्प रहेन हामीसँग ।

अन्ततः बाटो खुल्यो । निर्माणाधीन बाटोमा धूलो उडाउँदै गाडी अघि बढ्दै गयो । ठाउँ ठाउँमा निर्माणका कारण अवरोध कायमै थियोे । थानकोट नजिकै पुगेर चियापानको लागि गाडी रोकियो । कोही नजिकै रहेका आफन्त भेट्न गए भने कोही चिया पसलमा छिरे । आधा घण्टाको विश्रामपछि हामी फर्कियौं । सहभागीहरूलाई छोड्दै घर पुग्दा साँझको ६ बजिसकेको थियो ।