चिप्लिएर पानीमा भिजेको मोबाइललाई पूर्ववत् रूपमा फर्काउन रुमालले पुछ्दै फुकफाक गर्दै घाममा तताउने एकसुरे उपक्रममा थिएँ, कसैको अप्रत्याशित स्वरले झस्किएँ, “सर, हामी गुप्ता जान चाहन्छौँ । ३ जना मात्र गुप्ता पुग्न सम्भव छ कि छैन ?”

कवीन्द्रजीको आवाज त चिनेँ, तर उहाँको मुखतिर नफर्किएरै जवाफ दिएँ, “किन नसकिनू ? मज्जाले जान सकिन्छ । उस्तै परे एक्लै पनि जान सकिन्छ !”

कवीन्द्र आफैँ ठट्टाका पारखी । उहाँसँग कुरा गर्दा आफूलाई पनि ठट्टेउलो पल्टिन मन लागिहाल्छ ।

“हो र ? उसो भए हामी गुप्ता जाने तयारीमा लागे भो त ? यही शुक्रबार गुप्ता जाने भन्ने मोटामोटी प्लान बनिसकेको छ हाम्रो त ।”

तयारी भइसकेको कुराले म अलि झस्किएँ । म बित्थैमा किन उकास्दै छु कवीन्द्रलाई ? पुसको महिना, १४०० मिटर उचाइको मुसीकोटमै त बिहानबेलुका हम्मेसी कोठाबाट बाहिर खुट्टा निकाल्न सकिँदैन । ३५०० मिटरभन्दा बढी उचाइको लेकाली भेकमा यो प्रतिकूल मौसममा जान हौस्याउनु भनेको बल्दो अगुल्टोलाई च्याप्प समात्न हौस्याए बराबर हो । तर कवीन्द्रले मबाट चाहेको सुनिश्चिततालाई आफैँले दिएको पूर्वतर्कको आधारमा पुष्ट्याइँ गर्ने बाध्यता आइपर्‍यो । मैले कुरा घुमाएर भनेँ, “तर, साथमा एकजना पथप्रदर्शक पनि लानुपर्छ । पथप्रदर्शक नभई त गाह्रो होला ।”

“नचिनेको ठाउँमा को पाइएलान् र पथप्रदर्शक ? त्यो ठाउँमा पुगेको हुनुपर्‍यो, त्यहाँको भूगोल, बाटो गाउँ र गासबासको जानकारी भएको व्यक्ति हुनुपर्‍यो ।”

“अस्ति भर्खरै पुगी सबै जानकारी बटुलेर आएको त मै छु नि । लानुहुन्छ मलाई ?” ठट्टेउलो पारा झिक्न खोज्दा मोबाइल चिप्लेझैँ अर्को वाक्य मुखबाट फेरि चिप्लेर झरिहाल्यो ।

“सरलाई पाए त किन नलानू ? काँधमै हालेर झ्याइँकुटी पार्दै लगिन्छ नि !”

“ल, उसो भए म रेडी । पछि कुनै बहाना गरेर पछि हट्न पाइँदैन नि ? म त जाने भनेपछि नगई नछाड्ने डौलौ मान्छे परेँ ।” मैले फेरि ख्यालख्यालमै उनीहरूकै दृढतामा प्रश्नचिन्ह उठाउन खोजेँ ।

“हामी त पहिल्यै रेडी भैसकेका छौँ सर । जाने पक्का हो ।” भन्दै कवीन्द्र बिदावारी भएर अफिसबाट निस्किनुभयो । कवीन्द्रजी गुप्ता दहमा जाने कुरा सुन्नेबित्तिकै अस्ति मसँगै गुप्ता पुगेका दिलबहादुरजी पनि सकसकाइहाल्नुभयो ।

कवीन्द्रजी बाहिरिएपछि मेरो मनमा तर्कनाको हुत्ती खेल्न थाले । मैले किन उक्साएँ उनीहरूलाई ? मोबाइल हातबाट चिप्लिनु र वचन मुखबाट चिप्लिनु उस्तै भयो । मोबाइलको त डिस्प्ले फेर्न सकिएला, खल्तीमा दाम परेको बखत नयाँ किनेर काम चलाउन सकिएला । मुख त न फेर्न सकिन्छ, न अर्को मुखबाट काम चलाउन सकिन्छ ।

‘उनीहरू तयार भई आइहाले भने के मैले म जाँदिनँ भनी अब सुक्ख पाउँला ?’ एक मनले सोध्यो !

अर्को मनले भन्यो, ‘उनीहरूलाई त्यहाँ पुर्‍याउन कसैको न कसैको हौसला चाहिन्थ्यो, मैले ठीकै त गरेँ ।’

‘के तैँले नउक्साएको भए उनीहरू जाँदैनथे र ? कवीन्द्रले त पहिल्यै प्लान बनिसकेको भनेका थिए । उनीहरूसँग फेरि आफू जान पाइयो भने अझै अनुभव बटुल्न सकिएला । गुप्ता दहमा परेको सिस्ने शृङ्खलाको छायाँको अनुपम् दृश्य मनग्गे हेर्न पाइएला ।’

‘त्यसो होइन । उनीहरूलाई डर हालेर भए पनि तैँले रोक्नुपर्थ्यो । यस्तो मौसममा केही भइहाल्यो भने त्यसको जिम्मेवार तैँ हुनेछस् !’

‘केही नहुन पनि त सक्छ । पथप्रदर्शन गरिदिए उनीहरूले पनि गुप्ता हेर्न पाउलान् ।’

‘तँ मुखमुखै जान नमानेको स्वाङ गरे पनि तेरो अन्तस्करणले त फेरि जाने नै जिद्दी गरिरहेको छ ।’

‘सगरमाथा हेर्न विश्वका प्रायः सबै देशबाट नेपाल आइपुग्छन् । हाम्रा शेर्पाहरू भरियाको निहुँले पटक पटक सगरमाथा चढ्ने अवसर प्राप्त गर्छन् । हाम्री चेली सिर्जना सिज्जूले यात्रा गरेर कहिल्यै अघाउँदिनन् । तिनीहरूको यात्रा-दुनियाँमा कति मान छ सम्मान छ ?’

‘इस्, पाइस् मान सम्मान ! कसले गरेको छ र यहाँ तिनीहरूलाई सम्मान ? प्राणै बाजी थापेर शिखर आरोहरण गर्नेहरूको एक मामुली खेलाडीजत्तिको पनि सम्मान छैन यहाँ । कहाँ निर्माण भएको छ रुकुममा यात्रा-दुनियाँ ? यात्रीको त यहाँ केही कामै छैन ।’

‘सम्मान अहिलेकाले नगरे भविष्यमा होला । अहिले नबुझ्नेले पछि बुझ्लान् । विश्वमा कति देशका अर्थतन्त्र पर्यटनमै निर्भर हुन्छन् । आन्तरिक पर्यटकनै पर्यटन अर्थतन्त्रका मूल आधार हुन् । उनीहरूले देखाइदिए मात्र बाहिरकाले चिन्ने हुन् ।’

मेरा दुई मनहरू यात्रा थाल्ने अघिल्लो दिनसम्म झगडा गरेर थाकेनन् । यसरी रडाको नै मच्चाउन थालेपछि उनीहरूलाई थामथुम पार्ने उद्देश्यले कवीन्द्रजीलाई फोन लगाएँ, “के गर्ने हो कवीन्द्रजी ? आकाशमा त बादलका धब्बाहरू थुप्रिन थालिसके !” “झन् मज्जा हुन्छ सर । बाटोभरि हिउँ खेल्दै जान पाइन्छ । गन्तव्यमा हिउँको थुप्रोमा लुकामारी गर्न पाइन्छ । हिउँले लच्किएका हिमालहरू र हिउँको तन्नामा सुतेकी गुप्तासँग जिस्किन पाइन्छ । यात्रीहरू घाम पानी हुरीबतास भनेर कहिल्यै तर्सँदैनन् ।”

उहाँको दृढ निश्चय देखेर म कायल परेँ । झटपट भनिहालेँ, “ल, उसोभए चौरजहारीबाट भोलि बिहानै  ५ नबज्दै हिँडिहाल्नुहोला । ६ बजे मुसीकोटबाट एनिहाउ हिँडिसक्नुपर्छ । नत्र उता बासको समस्या पर्छ । समयमै गन्तव्यमा पुगिँदैन फेरि ।”

“ओके सर ओके ।” कवीन्द्रजीबाट थप सुनिश्चितता प्राप्त हुँदा म खुशीले मखलेल भएँ ।

अस्तिको यात्रामा ताराप्रसाद पुन छुट्नुभएको थियो । उहाँलाई जानुहुन्छ कि ? भनी सोध्दानसोध्दै उहाँ पनि जान तम्तयार भइहाल्नुभयो । उहाँ लामो समयदेखि पायल्सको उपचार गराइरहेका दीर्घबिरामी भएकाले उहाँलाई अत्यधिक यात्रा, अतिरिक्त खानपिन गर्न वर्जित गरिएको थियो ।

यात्राको दिन बिहान ५ बजेलाई मोबाइलमा अलार्म मिलाएको थिएँ ४ बजे नै आँखा खुलिहाले । मैले पालैपालो सबैलाई फोन लगाएर उठाएँ । गाडी आइनपुगन्जेल खुट्टा तन्काउने हिसाबले ताराजी र म ६ बज्नुपहिल्यै मोटरबाटोमा पैदल मार्चपास गर्न थाल्यौँ ।

हामी ठाडाढुङ्गा पुग्दा मात्र ८ बजेतिर कवीन्द्र पुनजी, नरेन्द्र बुढामगरजी, दिलबहादुरजी गाडीमा हामीलाई भेट्टाउन आइपुग्नुभयो । महेश कठायतजी भने बाइकमा हुनुहुन्थ्यो । सबै साथीहरूको भेटपश्चात् यात्राको रोमाञ्चकता झनै उम्लियो । हामी मुसीकोटको डाङडुङ्गे, कानेबाङ, साँख, घोरखानी हुँदै सवा नौबजे रुकुम पूर्वको सदरमुकाम रुकुमकोट पुग्यौँ र नरेन्द्रजीको पुरानो अफिस कोलेनिकामा खाना खायौँ । एकछिन विश्राम गरी खाना खाइसक्दा दिउँसो सवा दश बजिसकेको थियो ।

अघिल्लोचोटि गुप्ताबाट फर्किँदा तिप्तारा निवासी पृथ्वीराज रिजालले आफूलाई खबर नगरेकामा गुनासो व्यक्त गर्नुभएको थियो । अतः यो यात्रामा साथ दिनुहुन्छ कि भनी फोनबाट सोध्दा उहाँले आफू पनि गुप्ता जान सलाएको जानकारी दिनुभयो ।

सिस्ने गाउँपालिकाअन्तर्गत पर्ने रुकुमकोटबाट भुमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकाका भूभागहरू छुँदै १५ किलोमिटरजतिको मोटरबाटो पार गरी हामी ११ बजे देउखोलामा पुगेर गाडीबाट ओर्लियौँ । महेशजी भने मुटु कँपाउने चिसो सिरेठोसँग पौँठेजोरी खेल्दै जाजरकोटबाट देउखोलासम्म बाइकको यात्रा पूरा गर्नुभयो ।

देउखोलाको सानो बजारको चहलपहल उल्लेखनीय थियो । हामीले देउखोलाबाट पैदल यात्राको शुरुवात गर्‍यौँ । गाडीमा अटेसमटेस भई खाँदिएकाहरू जमिन छुन पाएपछि खुशीले आल्हादित भइरहेका थिए । देउखोलापछि आउने भालुखाप्चेको भीरमा कसरी उक्लिने होला भनी चिन्ताले सताइरहेको बखत पृथ्वीराजले फोन गरेर भन्नुभयो, “भालुखाप्चेको भीरतिर नलाग्नुहोला । अहिले सानोभेरीमा काठेपुल बनाएर नदीको किनारैकिनार बाटो बनाइएको छ, आधा घण्टामै तिप्तारा आइपुगिन्छ ।”

भीरको रेलोमा उक्लिने टन्टाबाट हाइसन्चो मिल्यो र हामीले छान्यौँ तल्लो बाटो । पृथ्वीराजसँग बिहान सम्पर्क नभएको भए हामी भालुखाप्चेकै भीरमा उक्लने जोखिम मोलिरहेका हुन्थ्यौँ यतिखेर ।

भीरको उकालो सम्झेर थरथरी काँपेका खुट्टाहरू तेर्सो बाटो पाएपछि बुर्कुसी मार्न थाले । अलिकति पर सानीभेरी गुजुल्टिएको ठाउँमा फराकिलो काठे पुल हालिएको रहेछ । हामीले हातखुट्टा तन्काउँदै र जिउ मर्काउँदै पुल र सानीभेरीको फोटो खिच्यौँ । अनि वारिपारि कतै नच्याई फेरि बगरै बगर अगाडितिर हानियौँ । बाटो साँघुरिँदै गइरहेको थियो । केही साथीहरूले तिप्तारा जाने यति सानो बाटो हुनै सक्दैन भन्दाभन्दै मैले नै साथीहरूलाई उक्साउँदै त्यहाँसम्म पुर्‍याएँ जहाँ अगाडि बढ्ने बाटो नै थिएन । उत्तरतिर छङ्गाछुर भीर थियो, अगाडि भयानक ओढार र दक्षिणको पूरै भाग विशाल सानीभेरीले ‌ओगटेको थियो । जुन बाटो यहाँसम्म आइपुगेका थियौँ, त्यही बाटो फर्कनुको विकल्प बाँकी थिएन ।

साथीहरू अलि तलै बिसाएर अर्को बाटोको इन्तजार गरिरहेका थिए । मैले र ताराजीले ओढारको वरिपरि कतै बाटो छ कि भनी सम्भावना खोज्न थाल्यौँ । नभन्दै एउटा मसिनो गोरेटो घोप्टे भीरमाथि उक्लिएको भेटियो । ताराजी र म त्यतै सोझियौँ । भीरमा अलिकति उक्लिएपछि मेरो छोटो टाङले नभ्याउने चिप्लो ढुङ्गा बाटोमा तेर्छिएको भेटियो । मेले ताराजीको काँधमा चढेर ठाडोढुङ्गा पार गर्न सफल भएँ । त्यहाँबाट तलतिर हेर्दा आँखा रिङ्ने घोप्टे भीर र माथिपट्टि पनि झनै अग्लो भीर थियो । अब न माथि जान सकिने अवस्था थियो न तल झर्न सकिने सम्भावना थियो । काँध थाप्ने ताराप्रकाश तलै छुटिसक्नुभएको थियो । अत्यासले मेरो शिरदेखि पाउसम्म खलखली पसिनाको खोलो बग्न थाल्यो ।

चिप्ला पत्थरहरू भीरभरि टाँसिएका थिए । ती पत्थरका कापकापबाट सुकिसकेका झुलेखरका (सीताको कपाल) बुटाबाहेक समात्नटेक्न मिल्ने कुनै बोटबुट्यान र पाइता थिएन । सुकेको खर समात्दा उखिलिने र टेक्दा चिप्लिने जोखिम भए पनि त्यसकै भर परी माथितिर घस्रन थालेँ । ताराप्रकाशजीलाई त्यो भीर पार गर्न झनै मुस्किल पर्‍यो । हामी दुईजना भीरमा मुख बाइरहेको कालबाट बालबाल बच्न सफल भयौँ । अरू साथीहरू तलैबाट वापस फर्किएर फराकिलो बाटो भेटाएपछि त्यही बाटो हुँदै आइपुगे । आधा घण्टा मात्र लाग्ने भनिएको तिप्तारा पुग्न हामीलाई १ घण्टाभन्दा बढी लाग्यो ।

तिप्तारामा हामीलाई पृथ्वीराजजीले पर्खिरहनुभएको थियो । उहाँको तिप्तारास्थित घरमा पुगेर एकछिन विश्राम गर्‍यौँ । तिप्तारा समुन्द्रीसतहदेखि १२८५ मिटर उचाइमा अवस्थित छ । अबको यात्राको पथप्रदर्शकको जिम्मा लिन पृथ्वीजी तयार हुनुभयो । यसअघि हामी लैपा हुँदै जाँदा तुबाङ खोलालाई पछ्याएर उत्तरतिर लागेका थियौँ, तर यसपालि तिपताराबाट पूर्वतिर पर्ने नाइगारको बाक्लो बस्ती हुँदै हामीले सुद्रीको नाकै ठोकिने उकालो चढ्न थाल्यौँ । यति बेला दिउँसोको साढे बाह्र बजेको थियो । उत्तरतिरबाट आउने लाछेबाउले खोला र पूर्वतिरबाट आउने उत्तरगङ्गाले बनेको चित्ताकर्षक सङ्गम स्थल सल्लीबिसौना हामीबाट तल तल पर्दै थियो ।

तन्नेरी साथीहरूले उकालोलाई उकालो भनेनन्, बेलाबेला चल्ने चिसो सिरेटोलाई सिरेटो भनेनन्, पुसको जाडोलाई बिर्साइरहेको टन्टलापुर घामलाई घाम भनेनन् । कवीन्द्रले चौरजहारीबाटै माइक बोकेर आउनुभएको रहेछ । त्यसैबाट घन्किरहेको रोमाञ्चक गीतमा यात्रीहरू निरन्तर कम्मर मर्काएर नाचे, कन्दरा थर्काएर गाए । ताराजी आकाशका तारा झर्ने गरी नाच्नुभयो, नरेन्द्रजी नूर झुकाउँदै नर्तन गर्नुभयो, कवीन्द्र कटि हल्लाउँदै नाच्नुभयो, महेशजीले मन र दिलबहादुरजीले दिल फुकाएर नाच्नुभयो, पृथ्वीजीले नाचेर पृथ्वी नै हल्लाइदिनुभयो । हिँडिरहेको बाटो धुलोपिठो भयो । एक से एक रमाइलोले सुद्रीको २ घण्टाको उकालो कटेको पत्तै भएन । पुसको जाडोको लवलेशै थिएन । हामी समुन्द्रीसतहदेखि १९०० मिटरको उचाइमा रहेको सुद्रीको माथिल्लो गाउँ पुग्दा दिउँसोको ३ बजिसकेको थियो र सूर्य कोल्टे पर्दा वातावरण नै अँध्यारिन थालेको थियो ।

सुद्रीको उकालोपछि वर्षौँपहिले खनेर बिस्तुरिइसकेको मोटरबाटोसँगै हामीले पछ्याइरहेको घोरेटोबाटो पनि तेर्सियो । सुद्रीको उत्तरपूर्वी पाखो वृक्षविहीन खण्डहरजस्तो भएकाले तलतिर हेर्दा भन्न भन्न आँखा रिङ्थे । पातालमा देखिने लाछीबाउले गाड र पारिपट्टि सिस्नेका चारगाउँ नामका चिटिक्क परेका चारवटा गाउँहरूको दृश्यपानले यात्रीको थकान र प्यास सर्लक्कै मेटाइरहेका थिए । सुद्रीसम्म त थकानले उचालेको तीब्र प्यास मेट्न फाट्टफुट्ट पानी भेटिएको थियो, त्यसपछि पानीको थोपै पाइन छोड्यो ।

अब मोटरबाटो तेर्पायाँ परेकोले खुट्टालाई कठिनाइ नभए पनि जिउको बढ्दो थकान चुनौती बन्न पुग्यो । बाटोमा ड्राइफुड र ताराजीले ल्याएका मकै र भट्मासका खाजा खाँदै अगाडि बढ्यौँ । अघिल्लो कुइनेटालाई बझेनीधारा भनिँदो रहेछ । बझेनीधारापछि भीर त उस्तै छङ्गाछुर थियो, तर पाखोमा रुख बाक्लिँदै गएकोले आँखा रिङ्न छोडे । यहीँबाट हिमाच्छादित सिस्नेको लहरले लुकीलुकी हामीलाई आकर्षित गर्न थालिसकेका थिए ।

त्यसपछि दल्लुगैरा, छिङरिखोला नामका पाखाहरू काटिसकिएपछि सानो गाउँ देखियो जसलाई सल्लीबिसाउना भनिँदो रहेछ । सल्लीबिसौनापछि पाखाको फेददेखि टुप्पैसम्म एकतले छानेघरहरू छरिएको निकै घनावस्ती भेटियो, जसलाई भङ भनिँदो रहेछ । नाम भङ भए पनि पाखैभरि ठुलै स्वाँराहरू रहेछन् । जनजीवन भने कतै कहाली लाग्दो त कतै रमाइलाग्दो थियो । भङपछि मर्चेबिसौना, रामलीखोला नाउँका ठाउँहरूलाई पनि मुस्किलले पार गर्‍यौँ । यति बाटो पार गर्न हामीलाई सुद्रीबाट अरू ३ घण्टा लाग्यो । अपितु बाटो तेर्सैतेर्सो थियो र अपेक्षाकृत फराकिलो नै थियो । हिउँदमास भएकाले अपरान्ह ६ नबज्दै हिमाल र पहाडका चुचुराहरूमा बाहेक अन्त अँध्यारोले कब्जा जमाइसकेको थियो ।

रामलीखोलाको पूर्वतिरको नेटोमा पुगेपछि पारिपट्टि देखिएको कल्पनातीत दृश्यले हामीलाई अच्चम्मित तुल्याइदियो । लाग्यो, कतै हामीले बाटो बिराएर तानसेन बजार त पुगेनौँ ? पूरै डाँडो नै उज्यालिने गरी घरघरमा झिलिमिली बिजुलीबत्तीहरू बलिरहेका थिए । पृथ्वीराजजीले बताउनुभयो, “त्यही हो भट्टेचौर । हामी त्यस गाउँलाई बल्लेचौर भन्छौँ ।”

होमसिकनेसले लेकमा हराउन थालेको हाम्रो अनुभूति मात्र पखालिएन, त्यो दृश्यले भोक प्यास र थकान सर्लक्कै मेटियो । साथीहरू फोटो भिडियो खिच्न र टिकटक बनाउनतिर लागे । नजिकैको झिलिमिली वस्ती देखिएकोले लागेको थियो अब त आइहालियो, त्यहाँ पुग्न दशपन्ध्र मिनेट पनि नलाग्ला ! अत्यधिक प्यासले छट्पटिइरहेको बखत पानीको धारो भेटिएझैँ बास भेटिँदाको आनन्द वर्णनातीत नै हुन्छ ।

हामीले केही समय रमाइलोमा भुलेर फेरि बाटो समात्यौँ । लखतरान भएर हिँड्दाहिँड्दा पन्ध्र मिनेट बित्यो, आधा घण्टा बित्यो र अरू १ घण्टा पनि बित्यो, त्यो झिलिमिली वस्ती त झन् झन् पर सरिरहेको छ । जति हिँडे पनि भेटिँदै भेटिँदैन । वीरबलको खिँचडीजस्तै हामीले भट्टेचौरका आकाशबत्तीले मनको खिचडी पकाउन त सुरू गर्‍यौँ, तर खिँचडी पाक्नुको नाउ तातिँदै तातिएन । बास भेटिएको हाम्रो जम्मै उत्साह सेलाउन थाल्यो ।

“ठूलोखोला आयो है, बग्नुहोला !”, “हिलेपहिरो आयो है चिप्लिनुहोला !”, भनेर सतर्क गराउँदै पृथ्वीजीले बल्लतल्ल हामीलाई बल्लेचौरको पहिल्यै बुकिङ गरिएको होटेलमा पुर्‍याउनुभयो । हामी तिप्ताराबाट हिँडेको ७ घण्टापछि रातको साढे सातबजे करिब २५०० मिटरको उचाइमा रहेको भट्टेचौरमा पुगेका थियौँ । गुप्ता पुग्न अझै एक हजार मिटरको उचाइ पार गर्न बाँकी नै थियो, जुन चानचुने कुरा थिएन ।

होटेल, भोज, वनभोज र यात्राहरूमा जो शाकाहारी हुन्छ उही प्राथमिकतमा पर्दैन र उसैलाई खानेकुरा पुग्दैन । होटेलमा पुग्नेबित्तिकै रसपान गर्ने साथीहरूको रामरमाइलो सुरू भइहाल्यो । म शाकाहरी पल्टिएर चिसो भङ (छिँडीमा) कुरेको २ घण्टातक पनि खाना खाने बोलाहट आएन । म आत्तिएर भान्छामा पुग्दा त भात र तरकारी सकिइसकेको रहेछ । शाकाहारीलाई भनेरै पकाएको सिस्नोको सागको कुराउनी मात्र बाँकी रहेको थियो । मैले अत्याएपछि मात्र मेरोलागि रोटी पाक्यो ।

ओख्रेना भएर गुप्ता जाने हाम्रो योजना भट्टेचौरका बासिन्दाहरूले बिच्काइदिएः ‘भट्टेचौरबाट २/३ घण्टामै गुप्ता पुगिन्छ भने ओख्रेनाको फेरो किन खाने ?’ उनीहरूको तर्क जायजै थियो । हामीसँग आउनुभएका पृथ्वीजीको इरादा भने ओख्रेना र दमारगाउँ हुँदै गुप्ता पुग्ने थियो । तर भट्टेचौरमा भेटिनुभएका काशिराम ओलीले भट्टेचौरबाट सिधै गुप्ता जाने बाटो बाटोको पथप्रदर्शन गरिदिने जिम्मा लिएपछि पृथ्वीजीको जिम्मेवारी पनि सकिइसकेकोले उहाँको सुझाव कार्यान्वयन हुन असम्भव हुन गयो ।

बिहानै हिड्ने योजनाअनुसार यात्री टोली भोलिपल्ट बिहानको तीनबजे नै उठिसकेको थियो । ४ बजे हिड्ने तयारी थाल्दा त्यहाँ दिलबहादुरजी देखिनुभएन । उहाँ कता हराउनुभयो भनेर एकछिन हल्लीखल्ली मच्चियो । सोधखोजपछि थाहा भयो, उहाँ त स्वास्थ्यकर्मी काशीरामसँग पछि लागेर हिजो राति नै अर्कै ठाउँ सुत्न पुग्नुभएछ । दिलबहादुर बिहानको पाँच बज्न थाल्दासम्म आइनपुगेपछि यात्री टोली बाध्य भएर उहाँलाई काशीरामको जिम्मा छोडेर गुप्ताको उकालो बाटो लागिहाल्यो । किनभने गुप्ता दह पुग्नुको मुख्य तात्पर्य हिमाल र प्रकृतिको दृश्यावलोकनको अतिरिक्त सिस्ने हिमाल तालमा पौडिरहेको सुन्दर एवम् अलौकिक दृश्य हेर्नु नै हो । त्यो दृश्य उज्यालो बसेदेखि बिहानको नौ-दश बजेसम्म मात्र देखिन्छ । गुप्तामा बिहानै नपुगे तालमा सिस्ने तैरिरहेको मनमोहक दृश्य हराइसक्दछ ।

भट्टेचौरको केही उकालो काटेपछि स्वास्थ्यकर्मी काशीराम ओली दिलबहादुरलाई ल्याएर यात्री टोलीलाई भेटाउन आइपुग्नुभयो र हामीलाई बाटो देखाउँदै अगाडि लाग्नुभयो । हामीलाई लसुने नाउको ठाडो उकालो काट्न २ घण्टाभन्दा बढी लाग्यो । बिहानी वातावरण ठण्डा भए पनि जिउका लुगा पसिनाले लुछुप्पै भिजेका थिए । गुप्ताको आधा बाटो कटेपछि मात्र मिर्मिरे उज्यालो भयो । यहाँसम्मको फराकिलो बाटो टुङ्गिएकोले अब गोरेटोलाई पछ्याउन थाल्यौँ । नरेन्द्र, कवीन्द्र, महेश र काशीराम हामीलाई तलै छोडेर अगाडि बढिसक्नुभएको थियो ।

हामी उत्तराभिमुख थियौँ ! सूर्यको बिहानी किरणले हीराझैँ टल्किरहेको हिमाच्छादित सिस्ने हाम्रो वरवर सर्दै हाम्रो बिहानीको थकानलाई मिटाइरहेको थियो । गोब्रेसल्लाको बाक्लो जङ्गलको मुनि हिउँको च्यादर बिछ्याएझैँ सेताम्य थियो । घना जङ्गलमा घरी घरी बाटो हराए पनि अघिल्लो टोलीले स्याउली भाँचेर राखिदिएको चिनो हेर्दै हामी टुम्काको उकालो चढिरहेका थियौँ । चिनाराख्ने, बुकेरीलेक हुँदै सवा नौ बजे मात्र गुप्ता पुग्न सक्यौँ । बर्मा गए यो कर्म सँगसँगै भनेझैँ गुप्तामा छिटो पुग्नको लागि ७ घण्टाको बाटो घुमेर भट्टेचौरमा बास बसे तापनि गुप्ता पुग्न भने लैपाकै बराबर उकालो काट्नुपर्‍यो ।

हिउँको पारदर्शी परिधान पहिरेको सिस्ने गुप्तामा पौडी खेलिरहेको दृश्य अत्यन्तै लोभलाग्दो थियो । हिमटाकुरीहरूले परपरबाट यो दृश्य लुकीलुकी हेरिरहेको प्रतीत हुन्थ्यो । गुप्ताको किनारैभरि हिउँको बाक्लो ठाँड जमेको थियो । अस्ति भन्दा फरक दृश्यमा गुप्ता र सिस्नेलाई पाउँदा मन सम्हालिनसक्नु भइरहेको थियो ।

अघिल्लो टोलीभने पहिले नै गुप्ता पुगेर ड्रोनबाट चारैतिरको फोटो तथा भिडियोहरू लिन भ्याइसकेछन् । हाम्रो पछिल्लो टोलीले कवीन्द्रलाई पुनः ड्रोन उडाउन पठायो । जब ड्रोन उड्यो कवीन्द्रजीले साथीहरूलाई नचाउन मोबाइलमा गीत खोज्न थाल्नुभयो । ड्रोन तालको माथि आइपुगेको उहाँलाई हेक्कै रहेन । ड्रोनलाई सुरक्षित अवतरण नगराउँदै बेहोसियारीले गर्दा उडिरहेको ड्रोन एक्कासि तालमा खस्न पुग्यो । लाम्चो तालको दक्षिणतिर यात्री टोली जम्मा भएर नाच्ने तयारीमा थियो भने तालको उत्तरी भागमा ड्रोन खसेकोले कसैले पनि खसेको ठाउँ एकीन गर्न सकेन ।

कवीन्द्रको दुई लाख पचास हजारको बहुमूल्य सम्पत्ति मात्र होइन, यात्रा अवधिभर विभिन्न स्थलहरूमा ड्रोनबाट लिइएका सबै फोटो र भिडियोहरू तालमा डुबिसकेका थिए । कवीन्द्रजी तालबाट ड्रोन झिक्न सकिन्छ कि भनेर जिउका कपडा खोलेर वरफिलो तालमा पस्नुभयो । स्यानी गुप्ताको पानी निकै धमिलो र हिलाम्मे थियो । दहको गहिराइको कुनै भरपर्दो अनुमान थिएन । कवीन्द्रजीलाई सहयोग गर्न काशीराम पनि वरफतुल्य तालमा पस्नुभयो । त्यसको केही बेरपछि महेशजी पनि तालमा पस्नुभयो । यही तालमा केही महिनाअघि एकजना डुबेर मरेको पृथ्वीराज रिजालजीले बताउँदै हुनुहुन्थ्यो ।

छन त ड्रोनको रिमोट कवीन्द्रकै हातमा थियो, तर त्यसले दिएको सिग्नलले घरी वर र घरी पर देखाएर छक्काइरहेको थियो । जता खोजे पनि ड्रोन नभेटिएको र चिसो खप्न गाह्रो भएर रक्तसञ्चालनसमेत बन्द हुनथालेपछि तीनैजना तालबाट बाहिर निस्किनुभयो । बाहिर निस्कँदा काशीरामको शिरभन्दा मुनिको जम्मै अङ्ग रगत जमेर निलो भइसकेको थियो । हातखुट्टा अचल हुँदै थिए । बाहिर निस्कनासाथ काशीरामजी रक्तसञ्चालनार्थ तालको वरिपरि कुद्न थाल्नुभयो । कवीन्द्रजीको हालत पनि उस्तै थियो र उहाँ अत्यधिक ठण्डीले गर्दा धामी कामेझैँ लुगलुग काम्न थाल्नुभयो । महेशजीले हतारहतार बाक्ला कपडाहरू लगाएर शरीरलाई न्यानो बनाउन थाल्नुभयो । यस्तो अवस्थामा जाडोले कठ्याङ्ग्रिएको शरीर आगोमा तताउन आवश्यक थियो, तर कसैसँग पनि आगो बाल्ने उपकरण थिएन ।

तालमा पसेका साथीहरूले केहीबेर अरू ढिला गरेको भए वा कसैको खुट्टा हिलोमा फसेको भए कसै न कसैको ज्यान जाने प्रबल सम्भावना थियो । खासमा कवीन्द्रको ड्रोनले नै योपटकको गुप्ता यात्रामा अधिकांश यात्रीलाई डोर्‍याएर प्रतिकूल मौसममा पनि यहाँसम्म ल्याइपुर्‍याएको थियो । ड्रोन नै डुब्न पुगेपछि यात्राको रौनक सेलाउन पुग्यो । सबै साथीहरूको जिउ नुन खाएको कुखुराझैँ लल्याकलुलुक हुन पुग्यो । बाँकी दृश्यपान गर्न कसैको जाँगर चलेन ।

काशीरामजी आफ्नो जरुरी कामले गुप्ताबाट फर्किसक्नुभएको थियो । नरेन्द्रजी, कवीन्द्रजी र महेशजी ठुलीगुप्तालाई माथिबाटै अवलोकन गरेर स्यानीगुप्तातिर फर्कनुभयो । ताराजी, दिलबहादुरजी, पृथ्वीजी र म स्यानीगुप्ताबाट ठुलीगुप्तातिर झर्‍यौँ । ठुलीगुप्ताको आधा भाग जमेर सिसातुल्य बनेको थियो भने आधा भाग गाढा निलो थियो । छेउमा केहीबेरसम्म हिउँ खेलेर रमाएपछि पृथ्वीजी र मैले ठुलीगुप्तालाई एक चक्कर लगायौँ ।

गुप्तामा चुक्दा लाखौँको भौतिक क्षति बहोर्नुपरे पनि बलियो भाग्यले गर्दा मानवीय क्षति हुनबाट टोली जोगियो । यात्रीहरूले नजिकैबाट सेताम्य हिमलहरको अनुपम दृश्य हेर्न पाए । हिउँको तन्ना बिछ्याएर निस्लोट सुतेका दुई गुप्तादहहरू घण्टौँतक मनग्गे हेर्न पाए । गुप्ताको दुवैतिरको प्रकृति भूगोल र सामाजिक अवस्थालाई नजिकैबाट नियाल्न पाए । अन्तमा विविध अनुभूतिहरू सँगालेर हामीहरू लैपा हुँदै सकुशल आआफ्नो घरमा फर्कियौँ ।