
गोरखपुरको रेल स्टेसनभित्र छिर्दै थियौँ, बाक्लो कुहिरोलाई चिर्दै स्टेसनभित्रबाट आएको माइकको चर्को आवाज कानमा ठोकियो —
— यात्रु महानुभाव ध्यान देँ, रेल की छत और पाउदान मे बैठकर यात्रा करना जुर्म है । ऐसे मे कडी दण्ड हो सकति है ।
— लाइसेन्स प्राप्त कुली से ही सहयोग लें, नकली कुली का सहारा न लें ।
— अमृतसर से कटियारको जानेवाली अम्रपाली एक्सप्रेस कुछ ही समय मे प्लेटफार्म नं. १ पे आरही है ।
अम्रपाली एक्सप्रेसको नाम सुन्नासाथ मेरा कान टाठा भए । हामीले यात्रा गर्ने रेलको नाम अम्रपाली नै थियो । ‘कतै हामी जाने रेल त आएन ?’ मनमा जिज्ञासा पलायो । खल्तीको टिकट र नजिकै भित्तामा चम्किरहेको स्क्रीन हेरेँ । हामी जाने रेलको समय दिउँसो १२:२५ थियो । हामी स्टेसनमा पुग्दा मेरो घडीमा बिहानको १०:३० बज्दै थियो । यो हामी जाने रेल होइन भन्ने पक्का भएपछि मन शान्त भयो ।
चियोले चिमोट्दै थियो । “गरम गरम चाय, मसलेदार चाय कपका दश ।” चियावालाको आवाजले हामीलाई तान्यो । अघिल्लो वर्ष प्रा.डा. कपिल लामिछाने, नवराज रिजाल, डा. पुष्करराज भट्ट र म लघुकथा गोष्ठीमा नारनोल जाँदा पनि यही भाउ थियो । चिया पिएर समय बिताउने विचार आयो मनमा । चिया मगाएँ । कागजका गिलास साह्रै साना थिए । दश रुपियाँको चिया दुई घुट्कीमै सकियो । चिया पनि खासै प्रशंसा गर्न लायक थिएन । चिनी धेरै, रङ र दूध निकै कम । रेल स्टेसनको चिया यस्तै हुन्छ भन्ने सम्झेर मन बुझायौँ ।
२०७९ साल पुस २१ गते बिहान रूपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका स्थित घरबाट हिँडेदेखि बाक्लो कुहिरोले पछ्याइरहेको थियो र चिसोले शरीरमा लगाएका बाक्ला लुगासमेत छिचोलेर भित्रैसम्म ठुँगिरहेको थियो । बाक्लो कुहिरोको कारण घरबाट सुनौलीसम्म आउन पनि झण्डै एक घण्टा लागेको थियो । सुनौलीबाट भारततिर लागेपछि कुहिरो कम होला भन्ने आशा गरेका थियौँ, तर भयो उल्टो । नेपालको भन्दा पनि बाक्लो थियो त्यहाँको कुहिरो । चिसो पनि उत्तिकै ।
हाम्रो यात्राको लक्ष्य गोखरपुर हुँदै अम्बाला, मन्सादेवी, चण्डीगढ र अमृतसरसम्मको थियो । गोरखपुरदेखि अम्बालासम्म रेलमा र त्यसपछि अन्य सार्वजनिक साधनहरूमा यात्रा गर्ने योजना थियो । यात्री थियौँ तीन जना— श्रीमती मिना, छोरा सुमन र म ।
सुनौलीदेखि गोरखपुरसम्मको १०२ किलोमिटर दूरी, लोकल बसमा यात्रा गर्दा झण्डै चार घण्टा लाग्न सक्थ्यो । हामीसँग पर्याप्त समय थिएन । त्यसैले ट्याक्सी लियौँ । तीन जनाको एक हजार रुपियाँ दिने सहमति भयो । हामी पछाडि बस्यौँ, चालकले अगाडि दुई जना राखे । नेपालको तुलनामा भारतमा ट्याक्सीको भाडा निकै सस्तो लाग्यो । १०२ किलोमिटर बाटो, तीन जनाको एक हजार सस्तो भएन त !
सोनु नाम बताए चालकले । रमाइला मान्छे रहेछन् । गाडी चलेपछि हिन्दी गीत र हिटर दुवै लगाए । तैपनि गाडीको तातोले कठ्याङ्ग्रिदो चिसो चिर्न सकिरहेको थिएन । बाक्लो कुहिरोले गर्दा अगाडिको दृश्य देख्न पनि मुस्किल परिरहेको थियो ।
सडक भने फराकिलो र राम्रो थियो । बीचमा खाल्टाखुल्टी थिएनन् । ट्याक्सी तीव्र गतिमा कुँदिरहेको थियो । उफार्ने वा झ्याक्ने काम गरेको थिएन । त्यहाँको बाटो देखेपछि मैले नेपालका बाटा सम्झिएँ । आफैँलाई विरक्त लाग्यो ।
गोरखपुर जाने सडक नयाँ र राम्रो भए पनि सडक किनारका घरहरू भने पुराना र अव्यवस्थित देखिन्थे । जताततै प्लास्टिक र अन्य फोहोरले गर्दा बाहिरको वातावरण दिक्क लाग्दो थियो । फोहोरको मामिलामा भारतभन्दा बरु नेपाल नै राम्रो हो कि भन्ने पनि लाग्यो मलाई ।
सुनौलीबाट हिँडेको करीब दुई घण्टामा हामी गोरखपुर पुगेका थियौँ । गोरखपुर बजारभित्र कतिपय ठाउँमा आकासे पुल (फ्लाइओभर) बनेका रहेछन्, देखेर अचम्म लाग्यो । सडकमा ठूला गाडी, साना गाडी, अटो रिक्सा, मान्छेले चलाउने रिक्सा, पैदल यात्री सबैले सँगसँगै यात्रा गरिरहेका थिए । बजार क्षेत्रमा सधैँ जाम भइरहन्थ्यो तर अहिले आकासे पुलले गर्दा बाटो जाम हुने समस्या केही हदसम्म समाधान भएको महसूस भयो । माथि आकासे पुल भए पनि तल फोहोरको डङ्गुर भने हेर्न लायक थियो ।
सोनुले हामीलाई रेल स्टेसनको बाहिर लगेर ओराले र मुसुक्क हाँस्दै बिदा मागे । उनको व्यवसायिक कला देखेर खुशी लाग्यो । हामीले तोकिएको पैसा र धन्यवाद दिएर उनलाई बिदा ग¥यौँ ।
प्लेटफर्मभित्र खचाखच भीड थियो । एउटा खाली ठाउँ खोजेर झोलाझाम्टा बिसायौँ । सुमन घुम्न गए । मिनाले झोला खोतल्न थालिन् । एकैछिनमा सातुको पोको, गिलास र चम्चा निकालेर नास्ता तयार गरिन् । बिहान घरमा खाएको एउटा रोटी र एक कप चिया पचिसकेको थियो । पेटले आहार माग्दै थियो । घरैदेखि ल्याएको पानी भने सेलाएर हिउँ जस्तै चिसो भएको थियो । चिसो पानीमा घोलेको सातु पेटमा पसेपछि बाहिर मात्रै होइन भित्रका आन्द्राभुँडी समेत चिया भए । शरीर लुगलुग काम्न थाल्यो ।
“चिया खाऊँ है ?” मिनासँग सल्लाह गरेँ । उनी मुसुक्क हाँसिन् । आशय बुझेँ । नजिकै चियाको ठेला थियो । चिया मागेँ । चियाको रूप, रङ र स्वाद बाहिरको जस्तै थियो । तैपनि तातो चियाले चिसो सातु तताउने काम चाहिँ ग¥यो ।
समय घर्किँदै थियो । बाक्दो कुहिरोले गर्दा पूर्व, पश्चिम, उत्तर, दक्षिण कता हो ठम्याउन सजिलो थिएन । स्टेसनमा रेल आउने र जाने क्रम जारी थियो । हामी भने एकै ठाउँमा डल्लो परेर बसिरहेका थियौँ ।
“पिसाब फेर्न पाइँदैन ?” मिनाले कानमा फुसफुसाइन् । वरिपरि घुमेर हेरेँ, अलि पर शौचालय लेखेको बोर्ड देखेँ । भित्तामा लेखिएको थियो— ‘पेसाव कर ने का ५ और टट्टी कर ने का १० ।’
मिना र म आआफ्नो जातको दुलोमा पस्यौँ । म छिटै निस्केँ, मिना निस्किन ढिला गरिन् । शौचालय कुरेर बसेका कामदारले भन्यो, “इस ने टट्टी किया है, इसका दश रुपियाँ दे दो !”
एकैछिन गलफत्ती गर्नुप¥यो । मिनासँगसँगै बाहिर निस्केकी युवती साक्षी बकिन्, “नही इनो ने भी पेसाब किया है ।”
त्यसपछि भाइ शान्त भयो । प्रत्येक व्यक्तिसँग पैसा लिए पनि शौचालयको अवस्था भने दयनीय थियो ।
रेल आउने समय हुन थालेको थियो । साधारण डिब्बामा चढ्ने यात्रुहरूको सङ्ख्या अत्यधिक थियो । यात्रुहरू वरपर कुँदिरहेका थिए । त्यस बेला मेरा मनमा आफूले धेरै पहिले रेल चढ्दा भोगेका समस्या सलबलाइरहेका थिए ।
धेरै वर्ष पहिले म चण्डीगढ आसपासमा काम गर्थेँ । त्यस समयमा रेल चढ्न नसकेर निकै समस्या हुन्थ्यो । एकचोटि कुल्लीले मलाई झ्यालबाट भित्र छिराएको थियो । भित्र त छिरेको थिएँ तर भित्र पसेपछि खुट्टो टेक्ने ठाउँ पनि पाएको थिइनँ । लामो समयसम्म यात्रुका बीचमा च्यापिएर बस्नुपरेको थियो । आफूसँग भएको झोला च्यापिएर च्याप्टो परेको थियो । कतिले धकेल्यो भनेर गाली गरेका र धक्याएका थिए । पुराना दिन सम्झिँदा मन खिन्न भयो ।
मेरा आँखा अगाडि यात्रुहरूको भीड थियो । मैले ती सबै यात्रुहरूमा म आफू भएको अनुभूति गरिरहेको थिएँ । उनीहरूको अवस्था देखेर मेरा आँखा रसाइरहेका थिए । मैले अनुमान लगाएँ, यी सबै कामकै खोजीमा जाँदै होलान् । युपी या बिहारको तुलनामा हरियाणा वा पञ्जाबमा काम पाइने सम्भावना बढी हुने हुनाले ती यात्रुहरू कामकै खोजीमा जाँदै थिए क्यार ! यात्रा गर्ने बहुसङ्ख्यक यात्रुहरू दुःखी र गरीब जस्ता देखिन्थे । साथमा राम्रो झोला थिएन, थिए त केवल बोरा वा कुटुरा । कठै ! ती कुटुराहरूमा के थियो होला । बाहिरी वस्त्र पनि खासै बाक्ला थिएनन् ।
पहिले पहिले यात्रा गर्दा प्रायः म एक्लो हुन्थेँ । तर अहिले श्रीमती र छोरा साथमा थिए । पहिले जस्तो गन्तव्यमा पुगेपछि काम पाइएला कि नपाइएला भन्ने पिरलो पनि थिएन । पहिले पैसाको अभाव थियो । भोक लागेको बेला खान पनि मुस्किल पर्थ्यो । तर अहिले त्यस्तो कुनै समस्या छैन । कहिलेकाहीँ सोच्छु, त्यो बेला भोक थियो खाना थिएन, अहिले खाना छ भोक छैन । अर्को अर्थमा भन्नुपर्दा त्यस बेला जे खाए पनि पच्थ्यो तर अहिले खाने बेला ख्याल गर्नुपर्छ । उमेरले मानिसलाई बिस्तारै आफ्नो दास बनाउँदो रहेछ, यो कुरा पनि अहिले आएर अनुभूत गरिरहेको छु ।
हेर्दा हेर्दै प्लेटफर्म नै थर्किने गरी पूर्वतिरबाट विशाल रेल हामीतिर आयो । त्यसले बजाएको हर्न र आवाजले एकैछिन भूकम्प आएको अनुभूति भयो । रेल पर्खिएर उभिएको भीड वरपर दगुर्न थाल्यो ।
आत्तुरी त मलाई पनि लागिरहेको थियो तर सुमन थिए शान्त । उनले मलाई अँठ्याएर राखेका थिए । मेरो चञ्चलता शिथिल भएको थियो । जब म छलटपाउँथेँ त्यस बेला छोराले मलाई इसारा गर्दै शान्त हुन भनिरहेका हुन्थे ।
रेल रोकियो । यात्रुहरू भित्र पस्नका लागि हतारिए । सबै जना एकैचोटि पस्न खोज्दा रेलको ढोकामा बुझो लागेकोजस्तो देखिन्थ्यो । रेल रोकिएपछि हामी पनि अघि बढ्यौँ । हाम्रो सिट पहिलेदेखि नै बुक भएको तथा रिजर्वेशनमा त्यत्ति धेरै भीड नहुने हुँदा हामीलाई गाह्रो भएन । हामी चढ्ने डिब्बाको नाम A1 थियो । वातानुकूलित द्वितीय श्रेणी लेखेको डिब्बाको तल A1 लेखेको देखियो । हामी सजिलै भित्र पस्यौँ । ठेलमठेल गर्नु परेन । भित्र पसेपछि मैले आँखा चनाखा बनाएँ र सिट नं. ४९, ५० र ५१ हेर्दै अघि बढेँ । हाम्रा सिट सजिलै भेटिए ।
वातानुकूलित डिब्बा भएको हुनाले बाहिरको तुलनामा भित्र न्यानो थियो । आनन्द महसूस भयो । मुख्य समस्या रेल आउनु, चढ्नु र सिट पत्ता लगाउनु थियो । एकैचोटि सबै समस्या समाधान भए । सामान मिलाएर सिटमा बसेपछि आनन्द महसूस भयो ।
दश मिनटजति रोकियो होला रेल । त्यसपछि लामो सिठी (हर्न) बजेको सुनियो । पहिलो हर्न बजाएको केही सेकेन्डपछि दोस्रो हर्न बज्यो । त्यसपछि बिस्तारै अघि बढ्न थाल्यो ।
केही समयपछि रेलका कर्मचारीले एउटा कम्बल, बेडसिट र एउटा तकियाको पोको दिए । हामीले आआफ्ना बिस्तरा बनायाँै र आराम गर्न थाल्यौँ ।
बाहिरको कुहिरो हटेकै थिएन । हामी बसेको डिब्बा वातानुकूलित भएको हुनाले बाहिरको चिसोले हामीलाई ठुँग्न त पाएको थिएन तर पनि बाहिर हेर्न भने गाह्रो भइरहेको थियो । बाक्लो कुहिरोको बीचबाट बाहिर हेरेँ । आँखामा मोतीबिन्दु लागेजस्तै दृश्य देखियो ।
खेतमा गहुँ, तोरी, उखु लगायत विभिन्नखाले बालीहरू थिए । वातावरण सफा भएको भए लहलह भएको गहुँ बाली, पहेँलै फुलेको तोरी बारी तथा टुप्पामा सेतो फूल फुलाएर हावासँग बहेली खेलिरहेका रसिला ऊखु देख्दा मन प्रशन्न हुन्थ्यो होला तर मौसमले धोखा दिएकोले सुन्दर दृश्य पनि धमिलो देखि+दै थियो । रेल तीव्र गतिमा गुडिरहेको थियो तर बस वा गाडीमा जस्तो हल्लाउने वा उफार्ने काम भने पटक्कै गरेको थिएन । सलल हवाई जहाजमा यात्रा गरेजस्तै अनुभूति भइरहेको थियो ।
आफ्नै दुनियामा हराइरहेको थिएँ, ‘चाय गरम’ को चर्को आवाजले झस्किँएँ ।
“चिया पिउने हो ?” सुमन र मिनालाई सोधेँ । दुवैले नखाने सङ्केत गरे । हामी कसैले वास्ता नगरेपछि चियावाला चिच्याउँदै अघि बढ्यो । पर पुग्दासम्म पनि उसको आवाज आइरहेको थियो ।
झ्यालबाट बाहिर हेरेँ । गाउँ देखियो । केही पक्की र केही कच्ची घरहरू आपसमा मिलेर बसेका थिए । घरका आँगन र छेउँछाउँमा गाई, भैँसी र केही बाख्राहरू थिए । भैँसीलाई बोरा ओडाएको दृश्य देखेर एक्लै हाँसेँ ।
गोरखपुरबाट हिँडेको तीन घण्टामा हामी मनकापुर स्टेशनमा पुग्यौँ । मनकापुरमा केही मिनेट मात्रै रोकियो रेल र केही मानिसलाई उतार्दै र केहीलाई चढाउँदै पुनः आफ्नो गति लियो ।
हामी गोन्डा स्टेशन पुग्दा दिउँसोको साढे तीन बज्दै थियो । त्यहाँ पनि केही समय रोकियो । बिहान सामान्य नास्ता गरेका र गोरखपुर स्टेशनमा चिसो सातु खाएका बाहेक पेटमा अरू चिज परेको थिएन । सुमनले त सातु पनि खाएका थिएनन् । भोक लाग्लाजस्तो भयो । मिनाले झोला खोतलेर फलफूल निकालिन् । फलफूल खाएर पेटको ज्वाला शान्त पा¥यौँ ।
बेलुकीको ५:३० बज्दै थियो । रेल रोकियो । बाहिर हेरेँ, बाराबेकी लेखिएको बोर्ड थियो । बाराबेकीमा रेल केही समय रोकियो । यात्रु झर्ने र चढ्ने क्रम जारी थियो । त्यस्तैमा खाना अर्डर भन्दै एक जना व्यक्ति हामी नजिक आयो । मिनालाई सोधेँ । उनले नखाने भनिन् । छोरालाई सोधेँ । भेज खाना खाने भाव व्यक्त गरे । त्यसपछि त्यो चिच्याउने व्यक्तिलाई बोलाएर दुईओटा खाना अर्डर गरेँ ।
केही समयपछि खाना आयो । दाल, तरकारी, अचार, दुईटा पातला रोटी र थोरै भात । प्लास्टिकको थालीमा राखिएको र माथिबाट प्लास्टिककै ढकनीले ढाकेको सबै कुरा हिउँजस्तै चिसो थियो । बिस्तारै ढकनी खोलेर खान शुरु गरेँ । भोक लागेको थियो, मिठै भयो । मैले खाएको देखेपछि मिना पनि उठेर मुख मिठाइन् । सँगै खायौँ ।
खानापछि आफ्नो रेलको ओछ्यानमा गएँ र कोल्टे परेँ । कतिबेला निद्रा प¥यो थाहै पाइनँ ।
ब्युँझिदा रेल कुँदिरहेकै थियो । हातको घडी हेरेँ बिहानको ७:११ बजेको थियो । मोवाइलमा भने ६:५६ बजेको थियो । नेपालको समयभन्दा भारतको समय १५ मिनट ढिला भएको हुनाले त्यस्तो भएको होला ।
बिस्तारै रेलको गति कम हुँदै गयो र रोकियो पनि । मैले बाहिर हेरेँ, एउटा ठूलो बोर्डमा कुरुक्षेत्र लेखिएको थियो । त्यही कुरुक्षेत्र जहाँ महाभारत युद्ध भएको मानिन्छ । धेरै वर्ष पुरानो घटना सम्झना भयो । २०३६ सालको कुरा । त्यो बेला म चण्डीगढमा काम गर्थेँ । बुबा र आमालाई बोलाएको थिएँ । त्यस वर्ष सूर्यग्रहण थियो । मैले बुबाआमालाई लिएर कुरुक्षेत्र गएको थिएँ । ग्रहण लागेको बेला कुरुक्षेत्रको ठूलो सरोवरमा स्नान गरेका थियौँ । औँला भाँचेँ, ४४ वर्ष भएछ । एक जुग पुरानो कुरा । त्यस बेला बुबाआमासँग कुरुक्षेत्र घुम्दा निकै रमाइलो भएको थियो । बुबाको सम्झना भयो । बुबा बित्नुभएको पनि दश वर्ष पूरा भइसकेछ ।
कुरुक्षेत्र पुग्दा बिहान उज्ज्यालो भइसकेको थियो तर पनि हुस्सुको कारण बाहिर अँध्यारै थियो । चिसो उत्तिकै । कुरुक्षेत्रमा केही समय मात्रै रोकियो रेल । त्यसपछि हिँडिहाल्यो । केही समय निकै रफ्तार लियो । सँगैको यात्रुले भन्यो, “अब ज्यादा दूर नही है अम्बाला ।” ऊ पनि अम्बालामै झर्ने वाला थियो । त्यसैले आफ्नो मोवाइलमा नेट खोलेर रेलको अवस्थाबारे जानकारी लिइरहेको थियो ।
हामीसँग भारतीय सिम थिएन । सिम भएको भए फोन गर्न र नेट चलाउन सहज हुँदो रहेछ । त्यही बेला मैले सोचेँ, ‘अर्कोचोटि भारत आउँदा अनिवार्य रूपमा सिम लिएर आउँछु ।’ नेट नहुँदा संसारबाटै टाढा भएको महसूस भइरहेको थियो ।
अम्बाला पुग्दा बिहान ८:२० बजेको थियो । बिस्तारै रेल रोकियो । यात्रामै चिनजान भएका साथीले भन्यो, “यही है अम्बाला, उत्रिए ।”
हामी पहिलेदेखि नै तयार भएर बसेका थियौँ, उत्रियौँ । अम्बालाबाट जिरकपुर, मनिमाजरा हुँदै मन्सादेवी जाने कार्यक्रम थियो ।
मूल गेटबाट बाहिर निस्किनै लाग्यो आधा घण्टा । बाहिर निस्केपछि बसको खोजी गर्नु पहिलो काम थियो । बसपार्क सोध्दै हिँडेँ । सन् १९८०÷८१ तिरको अम्बाला र अहिलेको अम्बालामा धेरै फरक थियो । ध्यान दिएर हेरेँ तर विगतको अम्बाला कतै भेटिनँ । केही समय हिँडेपछि बसपार्क त भेटियो तर बसमा जाँदा धेरै समय लाग्ने अवस्था देखियो ।
विदेश बसेर आएका सुमन एसी बस खोज्न गए । मैले नजिकै ठेलामा राखेको चिया पिउँदै ट्याक्सीबारे जानकारी लिन थालेँ । एक जना व्यक्तिले सहजीकरण गरिदिए । कुरा हुँदै थियो, त्यस्तैमा सुमन आए । उनले भने, “खै एसी बस पाइएला जस्तो छैन ।”
“ट्याक्सीमा जाऊँ । यहाँ नेपालजस्तो महँगो पर्दैन । समय पनि बचत हुन्छ, सहज पनि हुन्छ ।” मैले प्रस्ताव राखेँ ।
सुमन सहमत भए र ट्याक्सी खोज्न थाले । एक जना दलाल रहेछ । ऊसँग कुरा गरेको अम्बालादेखि मन्सादेवीसम्म रु. १६००।– लाग्ने बतायो । अम्बालादेखि मन्सादेवीसम्मको दूरी ४८ किलोमिटर थियो । निकैबेर कुराकानी ग¥यौँ तर भाउ घटाएन । पछि एक जना अटो ड्राइभरले फोन गरेर अर्को ट्याक्सीवालालाई बोलाइदिए । अर्का चालक रू. १३००।– रुपियाँमा जान राजी भए । हिँड्नै लागेका थियौँ, अघिका दलालले ट्याक्सी चालकलाई बोलायो र कुरा गर्न थाल्यो । केहीबेर कुरा गरेपछि चालक अँध्यारो मुख लगाएर आए र आफ्नो सिटमा बसे ।
“गुरुजी क्या हुवा ?” मैले कारण जान्न चाहेँ ।
“साला दो सो रुपियाँ लिया । एक नम्बरका दलाल है । गुण्डा साला । जीस से भी पैसा छिन लेता है ।”
हामीले थप केही भनेनौँ । ट्याक्सी कुद्यो ।
३२÷३५ वर्ष उमेरको चालक हट्टाकट्टा थिए । कालो कपाल लामो थियो । हेर्दा उनी पनि गुण्डाजस्तै देखिन्थे तर रहेछन सरिफ । अम्बालाबाट हिँडेको केही समयपछि हनुमानसम्बन्धी भजन लगाए । बडो सुन्दर भजन । मैले सोधेँ पनि । उनले भने, “मैं हनुमानका भक्त हुँ । रोज हनुमान चालिसा पढ्ता हुँ । और फुर्सद के समय मे राम नाम लिखता हुँ ।”
उनको टाउको माथि एउटा रातो गाता भएको कापी थियो । झिकेर दिए । हेरेँ, त्यसमा निकै राम्रो अक्षरमा राम नाम लेखिएको थियो ।
“निकै राम्रा अक्षर रहेछन् ।” उसकै भाषामा प्रशंसा गरेँ ।
उनी मुस्कुराए मात्र केही बोलेनन् । उनको राम र हनुमान भक्ति देखेर अचम्म लाग्यो ।
कुरा गर्दै थियौँ । नौलो ठाउँ आयो । जिरकपुर हो कि भन्ने अनुमान लगाएँ । हो रहेछ । मैले करीब चालिस वर्ष पहिले देखेको जिरकपुर । मिना र म घुमेको र पहिलोचोटि फोटो खिचेको जिरेकपुर । मैले मिनालाई सोधेँ, “जिरकपुर, ठम्याउन सक्छ्यौ ?”
झ्यालबाट बाहिर हेरिन् तर कतै पनि उःबेलाको जिरकपुर भेटिनन् । मैले पनि धेरै हेरेँ, तर उः बेलाको जिरेकपुरको कुनै अंश देखिनँ । उः बेला शान्त, एकान्त र गाउँले जिरकपुर अहिले शहर बनेछ । उः बेलाको भुइँको बाटो फ्लाइओभर बनेर आकासतिर पुगेछ ।
अचम्म लाग्यो । हेर्दै थियौँ, ट्याक्सी दायाँतिर मोडियो । मन प्रसन्न भयो । मैले करीब चालीस वर्ष पहिले काम गरेको ठाउँ देख्न पाउने आशामा मेरा आँखा र मन चञ्चल भए । त्यस बेला म जिरेकपुरभन्दा केही माथि हरियाणा राज्यको ढकौली भन्ने ठाउँमा रहेको गुरु नानक सर्भिस स्टेशन (पेट्रोल पम्प) मा काम गर्थेँ । मैले यसै ठाउँमा काम गर्दै बनारसबाट हाइस्कुल तथा आईए उत्तीर्ण गरेको थिएँ ।
मिना र म विवाह गरेपछि यही ठाउँमा आएका थियौँ । हामीले राम्ररी सुहागरात मनाएको ठाउँ पनि यही नै थियो भन्दा अत्युक्ति हुँदैन । यद्यपि हामी यो ठाउँमा धेरै समय बसेनौँ तर उक्त ठाउँ सधैँ सम्झनामा आइरहन्छ । पुराना कुरा सम्झिदै थिएँ । मिना र मैले आफूले काम गरेको पेट्रोल पम्प खोज्दै थियौँ तर भेटेनौँ । सबै कुरा हराएछन् । उः बेलाको ढकौली गाउँ अहिले आधुनिक शहर बनिसकेको रहेछ । आफूले काम गरेको ठाउँ पनि पत्ता लगाउन पनि मलाई हम्मे हम्मे भयो ।
त्यस बेला यस ठाउँमा ढुङ्गा पेलेर गिट्टी बनाउने क्रसर थिए, अहिले ती क्रसर पनि इतिहास बनिसके छन् । क्रसर चल्ने ठाउँमा ठूला ठूला भवन बनेको देख्दा अचम्म लाग्यो । ‘कस्तो राम्रो प्रगति गरेछन् ।’ मनमनै कुरा खेलाएँ ।
हेर्दा हेर्दै बाटो हिँडेको पत्तै पाएनौँ । एकैछिनमा हामी अर्को राम्रो बजारमा पुगिसकेका थियौँ । त्यो ठाउँ थियो पञ्चकुला । विगतको गाउँले पञ्चकुला पनि अहिले विशाल शहर बनेछ । हेर्दा अचम्म लाग्यो । सोचेँ, समय कति परिवर्तनशील छ !
पञ्चकुलाबाट सिधै गएमा कालका र त्यस भन्दा अगाडि शिमला पुगिन्छ । हामी देब्रे मोडियौँ । पञ्चकुलादेखि केही समयको दूरीमा मनिमाजरा र मनिमाजरादेखि केही समयको दूरीमा मन्सादेवी पर्छ । विगतमा त्यो बाटो म कैयौँचोटि पैदल हिँडेको थिएँ, तर अहिले छिचोलिनसक्नु भएको रहेछ ।
पञ्चकुलाबाट हिँडेको १५÷२० मिनेटमा राम भक्तले हामीलाई एउटा सुन्दर तथा रमणीय ठाउँमा पु¥याए । त्यो ठाउँ मन्सादेवीको प्राङ्गण थियो । अम्बालादेखि मन्सादेवी पुग्न एक घण्टा १५ मिनेट लाग्यो ।
मन्सादेवी पनि निकै परिवर्तन भएको रहेछ । मलाई त ठम्याउनै मुस्किल भयो । ट्याक्सीबाट उत्रिएर चारैतिर हेरेँ । अचम्म लाग्यो । एकचोटि आँखा चिम्लिएर चालीस वर्ष पहिलेको मन्सादेवी खोजेँ तर कहाँ पाउनु उतिबेलाको मन्सादेवी । गाउँले मन्सादेवी सहरे मन्सादेवी भएछ ।
मन्सादेवी पुगेपछि मिना औधी खुशी भइन् । उनको वर्षौँदेखि छोरालाई लिएर यहाँ आउने इच्छा पूरा भएको थियो । आमासँगै सुमन पनि खुशी भए । उनीहरू खुशी भएको देखेपछि म पो किन खुशी नहुनु थियो र, उनीहरूको अनुहारमा आएको चमकले मेरो अनुहार पनि बिहान उदाउँदै गरेको सूर्यजस्तै भयो ।
मन्सादेवीको मन्दिर अत्यन्तै सुन्दर थियो । बाहिरको वातावरण फोहोर भए पनि मन्दिरभित्र अत्यन्तै सफा थियो । दर्शनार्थीको खासै भीड थिएन । बिहानको समय भएको र दर्शनार्थीको भीड पनि नभएको हुँदा कुनै बाधा बिरोधविनै दर्शन गर्ने काम सम्पन्न भयो ।
मन्सादेवीपछि हाम्रो गन्तव्य चण्डीगढ हुँदै अमृतसरसम्मको थियो । नजिकै बस लाग्दो रहेछ । सरकारी बस चढ्यौँ र नयाँ गन्तव्यतिर लाग्यौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

