अस्ट्रियाको राजधानी भियनास्थित हामी स्टाड्ट पार्कमा छौँ, योहान्नस स्ट्रौसको प्रतिमाको अगाडि । मलाई यो प्रतिमा अगाडि उभिएर एकछिन प्रार्थना गर्न मन थियो, प्रार्थनाका दुई शब्द अर्पण गर्न मन थियो ।

स्ट्रौसको नाम मैले पहिलो पटक विक्रम संवत् २०४७ तिर वीर अस्पतालको परिसरमा सुनेको थिएँ जतिबेला गायक नारायणगोपाल उपचारार्थ आइसीयूमा थिए । त्यसको धेरै वर्षपछि म स्ट्रौसको नामसित साक्षात्करण त्यतिबेला भएँ जब म स्वरसम्राट् नारायणगोपालको जीवनी लेख्दै थिएँ । त्यो जीवनीमा फेरि त्यही पुरानो कारणले स्ट्रौस महोदयको नाउँ जोडिन आयो भूमिकामा । त्यस पुस्तकको भूमिकाका दुई शब्दमा फेरि एकपटक नगेन्द्रदाइले योहान्न स्ट्रौसको नाम सम्मानका साथ उल्लेख गर्नुभयो ।

पढेँ, भावविभोर भएँ ।

स्वरसम्राट्ले अस्पतालको शैय्यामा अन्तिम स्वास फेर्दै गर्दा सम्झेका तीन महान् सङ्गीतकर्मीमा   स्ट्राभिन्स्की, शोपेँ र स्ट्रौसको नाम सम्झना थियो ।

अस्ट्रियाको राजधानी भियनामा सन् १८२५ मा जन्मेका जोहान्न स्ट्रौस जसलाई बोलीचालीमा योहान्न नै भनिन्छ । स्ट्रौस भियनामै जन्मेका फ्रान्ज शुबर्टभन्दा पछिका चर्चित र सम्मानित सङ्गीकर्मी हुन् । शुबर्ट ३१ वर्षमै बिते हाम्रै दार्जीलिङका सङ्गीतकार शरण प्रधानजस्तै वा हाम्रै नेपालका मोतिराम भट्टजस्तै ।

शुबर्ट बित्नुभन्दा तीन वर्ष अघि मात्र जन्मेका थिए स्ट्रौस । उनलाई धेरै सुन्ने र जान्ने मौका पछि मात्र मिल्यो ।

शुबर्ट क्लासिकल युगका मानिन्छन् भने स्ट्रौसले रोम्यान्टिक युगलाई नेतृत्व गरेका थिए । स्ट्रौसले सन् १८७४ देखि सन् १८६८ सम्म सक्रिय समय बिताए । उनी अपेरा र भियानिस नृत्य सङ्गीतका विज्ञ मानिन्थे, मर्निङ् न्यूज पेपर, द ब्ल्यू डेन्व्यू अनि वाइन वुमन एन्ड सङ्ग उनका चर्चित कृति हुन् ।

उनले सन् १९०० शुरु हुनुअगावै, एक वर्षअघि नै महाप्रस्थान गरे ।

घटना फेरि दोहोरियो, स्मृतिमा । म पुनः एकपटक निकट भएँ ।

पुस्तक छापिनका लागि प्रेसमा गइसकेपछि म हिँडे, यूरोप भ्रमणमा ।

मनमा एउटा संकल्प थियो, भियना पुग्नेबित्तिकै स्ट्रौसको शालीक हेर्न जान्छु तर ‘मलाई लान्छ कसले ?’  त्यो निश्चित थिएन ।

यो मेरो अभिलाषा मैले अञ्जलीसित दुई तीनपटक भनिसकेको थिएँ । साथीहरूका माझ पनि मैले बेला बेला चर्चा गरिसकेको थिएँ ।

महान् गायक नारायणगोपालले सुनेका ती पश्चिमीया सङ्गीत साधक कस्ता होलान्, कस्तो बनेको होला तिनको मूर्ति ? मनमा अनेक प्रश्नहरू उठे ।

उनको बारेमा थोरै जानकारी त पहिल्यैदेखि थियो । जन्म, मृत्यु, सफलता, असफलता र क्यारिअरग्राफका बारेमा तर उनलाई सम्मानपूर्वक प्रतिष्ठापित गरेको ठाउँ हेर्न असाध्य रहर भई नै रह्यो ।

मेरा असङ्ख्य जिज्ञासालाई भियनामा आइपुग्नेबित्तिकै सेप्टेम्बर १३ को रात डा. अलकालाई पनि भनिसकेको थिएँ । डा. अलकाले यो मेरो बिन्ती प्रेमपूर्वक मलाई घुमाउने जिम्मा लिएका मित्र प्रभुवन्तजीलाई भन्नुभयो ।

प्रभुवन्तजी हामीलाई घुमाउन सेप्टेम्बर पन्ध्र, आजका दिनदेखि पुरै तैयारीका साथ खट्नुभयो । साँझ साँझतिर मात्र उहाँले हामीलाई स्टाड्ट पार्क ल्याई पुर्याउनु भयो ट्राम चढाएर । ट्राममा हामीबाहेक पछि अरु पनि थपिनुभयो,  रुद्रजी, अलकाजी र एक नयाँ मित्र रेग्मीजी ।

रेग्मीजी यसअघि अस्तिको रात एयरपोर्टमै भेट हुनुभएको थियो ।

ट्रामबाट ओर्लिएपछि कलाप्रेमी प्रभुवन्तजी अल्मलिनुभयो, दायाँ हो कि बायाँ ?

अलकाजीले भन्नु भयो, “होइन, बायाँ नै हो ।”

अलकाजीलाई बेला बेला प्रभुवन्तजी व्यङ्ग्य पनि कसिरहनु हुन्थ्यो । प्रभुजी र अलकाजीका बीच  व्यङ्ग्यवाण चल्दै गर्दा रुद्रजी मौन साधनामा रहनुहुन्थ्यो, कहिलेकाहीँ हाँस्नु पनि हुन्थ्यो ।

फेरि हामीसित पानी परेकै दिन आजै दिउँसोबाट अलकाजी र उहाँका पति रुद्रजी पनि यात्रामा जोडिनुभएको थियो, मध्यान्हको समयदेखि ।

स्ट्रौसको शालीक अगाडि म उभिएको बेला ठीक सात तीस भइसकेको थियो । निख्खर अँध्यारो हुन बाँकी थियो तर बत्तीको झल्झलाकारका बीच हामी थियौँ ।

म उभिएँ शालीकको छेउमा । साथीहरू फोटो खिच्न तैयार भए । साथीहरूमध्ये प्रभुवन्तजी नै उचालिए । उहाँले मेरा केही फोटो खिचेपछि अञ्जलीजीलाई पनि मञ्चमा बोलाउनुभयो फोटो खिच्न । एक किसिमले मञ्च नै थियो त्यो प्रतिमास्थल ।

प्रतिमास्थलको ठीक अगाडि एउटा सानो पोखरी थियो । पोखरीमा नक्कली हाँसहरू सजाइएका थिए । प्रतिमाको सिरानीमा थुप्रै फ्लड लाइटहरू थिए भने पोखरीमा फुट लाइटहरू व्यवस्थित थिए ।

किङ् अफ वाल्ज स्ट्रौसले देब्रे पाखुरामा लीन गरेर भ्वाइलेन लिएका थिए, देब्रे खुट्टा अलि अगाडि थियो ।

बत्तीले गर्दा साँझ बैजनी रङको देखिँदै थियो । म एकदम भावलीन भइरहेको थिएँ, त्यो क्षण गायक नारायणगोपाललाई सम्झेर अनि नारायणगोपाललाई त्यो रेकर्ड सुनाउने व्यवस्था मिलाइदिने बसन्त चौधरी र नगेन्द्र थापालाई पनि सम्झेर ।

नारायणगोपालले प्राण त्याग्नु अघि सुनेको स्ट्रौसका ती मास्टरपीसले उनलाई कस्तो आनन्द वा महानन्द दियो होला ? म सोचिरहेँ ।

अनि उनैले गाएको कञ्चन पुडासैनीको गीत याद आयो –

म सोचिरहेँ तिमी याद आयौ ..

तिमीलाई भुल्दा म एक्लो परेछु

तिमीलाई सम्झेँ,

तिमी याद आयौ ।।

फोटो खिचिसकेपछि मैले एकपटक फेरि स्ट्रौस महोदयलाई शिर झुकाएर अभिवादन गरेँ । हातमा भ्वाइलिन लिएर पश्चिमी दिशातिर हेरेर बजाइरहेको त्यो शालीकमा गज्जबको आकर्षण थियो ।

म हेरिरहेँ ।

स्ट्रौसको शालीक हेर्नुअघि हामीले पानी र बतासका बीच मोत्सार्टको शालीक पनि हेरेर आएका थियौँ तर यति नजीकबाट होइन । यति नजीक त म यसकारण पनि भएँ, भर्खरै मैले उनको नयाँ रेकर्ड पनि किनेको थिएँ बजारमा ।

मैले मनमनै भनें, “प्रिय स्ट्रौस, तिमीलाई मेरो देशको महान् गायकका तर्फबाट श्रद्धाञ्जलि .. जो तिमीलाई धेरैभन्दा धेरै माया गर्थ्यो ।

घरमा थन्काएर आएको ‘स्वरसम्राट् नारायणगोपाल’ नामक पुस्तकको पाण्डुलिपिमा फेरि म  स्ट्रौसलाई पढ्ने छु । पुस्तक विमोचन हुँदा यो नामलाई एक पटक फेरि नगेन्द्र थापा दाइको अगाडि स्वरोच्चारण गर्नेछु । यस्तै केही सोचेँ ।

सोच्दा सोच्दै प्रतिमाको छेउबाट झरेँ ।

शालीकको मञ्चबाट म झर्नेबित्तिकै केही जर्मन विद्यार्थीहरू चढे । उनीहरूले शालीकलाई हेरे र स्पर्श गरे ।

हामी पार्कबाट निस्किने तैयारी गर्दै थियौँ, रुद्रजीले अलि परैबाट भन्नुभयो, “एकछिन बस्ने पो हो  कि ?

दायाँबायाँ दुइटा फराकिला किटका बेञ्चीहरू थिए । पोखरीमा हाँसहरू खेलिरहेका थिए । अँध्यारोमा बत्तीहरू आफैँ मौनता तोडिरहेका थिए ।

“बस्ने भए बसौँ ?”, प्रभुवन्तजीले भन्नुभयो, ”बरु एक एक बोतल बियर पो खाने हो कि ?”

“होइन, होइन ।”, महिला स्वरको असहमति आयो । त्यो स्वभाविक पनि थियो किनकि दिनभरिको हुरीबतासले शहर तनावग्रस्त थियो ।

भनिन्छ, हुरी भन्ने शब्द शेक्सपियरले आविष्कार गरेका हुन् तर यसपालि भियनामा देखिएको हुरी त एकदम आक्रामक र नशालु नै थियो । नशा भन्ने शब्द पनि शेक्सपियरले नै त ल्याएका हुन् नि ।

आज र अस्ति हामीले देखेको हुरी शेक्सपियरका दुवै शब्दको फ्यूजन थियो ।

मैले फेरि एकपटक स्टाड्ट पार्कलाई फर्केर हेरेँ ।

मैले सम्झेँ, हिन्दीका प्रसिद्ध साहित्यकार निर्मल बर्मा यही स्टाड्ट पार्कमा आएर शालीक हेर्दै बियर खाएर बसेका थिए । उनले आफ्नो यात्रा संस्मरणमा रोचक ढङ्गले लिपिबद्ध गरेका छन् । उनका ती पंक्तिहरू स्वतः स्मृतिमा आए ।

निर्मल बर्माले सन् १९६४ अघि यहाँ आउँदा शालीकको ठीक अगाडि एउटा रेस्त्राँ थियो भनेर लेखेका छन् । अहिले त्यो रेस्त्राँ अलि पर बिहेको पार्टीघर जस्तो सजाएर राखिएको थियो तर त्यहाँ हामी गएनौँ  ।

अस्ट्रियाको राजधानी भियनालाई खूब माया गर्थे, निर्मल बर्मा । घरिघरि घुमेका थिए उनी ।  स्ट्रौसको शालीक छेउ बसेर पबमा वियर पिउँदै भियनामाथि लेखेको यात्रा संस्मरण उनको पुस्तक ‘चीडोँ पर चाँदनी’मा समाहित छ ।

“निर्मल बर्मा त्योबेला आएको रहेछ है, अलकाजी ?”, मैले यो प्रश्न सोध्दा डा. अलका इतिहासतिर पल्टिनुभयो, “होइन नि दाइ । उनीभन्दा धेरै पहिले सन् १९१३ मा सत्यव्रत परिब्राजक आइसकेका थिए । ….”

यो सूचना मेरो लागि बिल्कुल नयाँ थियो ।

“ए है ।” भनेर म मौन भएँ ।

भारतीयहरूको अस्ट्रियासित उहिलेदेखि गज्जबको सम्बन्ध बनेको रहेछ, बन्दै आएको त्यो इतिहास धेरै पुरानो रहेछ । तर नेपालीहरू कहिलेदेखि यहाँ आए ? त्यो एकिन मलाई थाह भएन । वा, अरु कसैलाई थाह होला ।

स्टाड्ट पार्कबाट निस्किँदै गर्दा हामी पुनः पार्कभित्रको अँध्यारोमा फेरि हरायौँ, तातो र निख्खुर कालो अँध्यारो ।

पार्कबाहिर आएपछि लक्ष्मीदिदी अलि थाक्नु भएजस्तो लाग्यो, उहाँले घुम्न मन नगरे जस्तो लागेपछि हामीले फर्किने निर्णय गर्यौँ ।

फर्किनुअघि हाम्रो रात्रिभोजनको कार्यक्रम बाँकी नै थियो । यो तीन दिनअघि नै तय भएको  थियो शायद ।

आजको रात्रिभोजको जिम्मा प्रभुवन्तजीले लिनुभएको थियो र उहाँले व्यवस्था गरेको कुनै चाइनीज होटलतिर लाग्ने भयौँ ।

पार्कबाट बाहिर आएर हामीले ट्राम चढ्यौँ । ट्रामबाट ओर्लेर फेरि हामीले दुई तल्ले बस चढ्यौँ, हामी पुग्नु पर्ने ठाउँ अलि टाढै रहेछ ।

“निक्कै टाढा छ नि । उहाँले टाढा टाढा मात्र लानु हुन्छ ।…”, अलकाजीले फेरि प्रभुवन्तजीलाई व्यङ्ग्य कस्नुभयो ।

काठमान्डूका रैथाने प्रभुवन्तजी मेरा पुराना मित्र पनि हुन् । विगत बत्तीस वर्षदेखि उहाँ यहाँ कार्यरत हुनुहुन्छ । अहिले कुनै पाँचतारे होटलसँग आवद्ध हुनुहुन्छ । उहाँसित मेरो पनि धेरैपछि भेट भएको हो । सम्झिने हो भनें लगभग बीस–पच्चीस वर्षपछि होला । विशेषतः उहाँले नै सम्झिनु भएपछि मैले थाह पाएँ ।

हामी भियना आइपुगेको रात नै अलकाजीले उहाँको बारेमा मलाई आधाउधी जानकारी दिइसक्नुभएको थियो, “तपाईँको पुरानो साथी रहेछ । उहाँले एकदिन घुमाउनु हुनेछ ।

त्यसपछि दोस्रो दिन उहाँसित भेट भयो । हामीलाई भेट्न आउँदा उहाँले चारओटा छाता बोकेर आउनुभएको थियो । अञ्जलीजीलाई, लक्ष्मी दिदीलाई र मलाईसहित अर्को एउटा जगेडा ।

हामीकहाँ आउनुअघि प्रभुवन्तजीले मलाई म्यासेन्जरमा कल गर्नुभएको थियो, “तपाईंहरू कतिजना हुनुहुन्छ ?”

प्रश्न मलाई रोचक लाग्यो, शायद गाडीमा अट्ला कि नअट्ला भनेर होला ।

मैले भनें, “तीनजना ।”

“ओके । म ठीक नौ पन्ध्रमा तपाईँहरूको गेट अगाडि आइपुग्छु ।”

हामी ट्रास्टीमा एउटा एयर बीएन्डबीमा बसेका थियौँ, दुई तल्लामाथि ।

उहाँ समयमै आइपुगेर घरको भुइँतल्लाबाट आएर फोन गर्नुभयो, “म आइपुगेँ , प्रकाशजी । …”

प्रभुवन्तजीसित तलै गएर मैले भेट गरेँ । करीबकरीब दुई दशकपछिको भेटमा मैले थोरै थोरै मात्रामा उहाँलाई चिनेँ । अलि चिनेजस्तो नचिनेजस्तो पनि भयो ।

अनि पानीमा भिज्दै हाम्रो यात्रा शुरु भयो, आजैको बिहानदेखि । अघिल्लो दिन १४ सेप्टेम्बरका दिन हामी बुडापेस्ट गएर फर्केका थियौँ । त्यहाँ मौसम राम्रो थियो ।

भियनामा निरन्तर पानी पर्दैछ, अनि हुरी पनि । प्रभुवन्तजीले भनेअनुसार उहाँले यो हुरीबतास र पानी परेको बत्तीस वर्षमा पहिलो पटक देख्नुभएको रे ।

उहाँले मलाई फोनमा कति जना भनेर सोध्नुभएको प्रश्नको उत्तर यही रहेछ, छाता कतिओटा ल्याउनु पर्ला भनेर । यहाँ प्रायः मान्छेहरू अरु दिनमा हातमा छाता बोकेरै हिँड्दा रहेछन् ।

उहाँ आइसकेपछि हामीले बन्दूक शैलीमा हातमा छाता बोकेर यात्रा शुरु गर्यौँ, अलिअलि भिज्दै, अलिअलि बतासिँदै ।

यो यात्राको रमाइलो पक्ष नै यही भयो ।

यात्रा कहिलेकाहिँ सोचेजस्तो हुँदैन, त्यो नहुनुको आनन्द पनि अर्कै छ । समय पनि त हामीले सोचे जस्तो कहाँ हुन्छ र ? हामी पनि त समयजस्तो कहाँ हुन्छौँ र ? तर पनि समय र हामी बीचमा एउटा कुरा स्पष्ट त कहिले हामी समयसँगै बदलिन्छौँ, कहिले समय हामीसँगै बदलिन्छ ।

आज यात्रा प्रभुजीसित बिहानबाट शुरु भएको हो, करीब करीब बिहानै भन्नुपर्छ ।

ट्रास्टीको फ्ल्याट्बाट हामी प्रभुजीसित हिँडेर केही दूरीमा रहेको रेलवे स्टेशन आइपुग्यौँ ।

विशाल रेलवेस्टेशन अगाडि फरक फरक रेल जाने थुप्रै बाटोहरू थिए । हाम्रा सम्मुख सहाराको रुपमा प्रभुजी थिए ।

प्रभुजीको पछि पछि लाग्ने र उहाँले भनेको मार्गनिर्देशनमा हिँड्ने बाहेक हामीसित अर्को विकल्प थिएन ।

उहाँ अस्ट्रियन भाषा पनि जान्ने र होटल सेवामा आवद्ध भएका हुनाले हुनाले सिजन अनुसारको टिकट, रेल, बस सबैको ज्ञान रहेछ ।

उहाँले हामीलाई तीनओटा टिकट चौबीस घन्टा समयावधिको काट्न भन्नुभयो । अञ्जलीले त्यही अनुसार इन्टरनेटबाट टिकट काटिन्, भोलि एघार बजेसम्म चढ्न मिल्ने टिकट । हाम्रो पक्षबाट अञ्जली हाम्रा प्रमुख थिइन्, तिनलाई भ्रमणको बारेमा धेरै ज्ञान पनि छ ।

अब फेरि हामी प्रभुजीको पछाडि ।

रेलमा बसेर हामी भियनाको मूल शहर पुग्यौँ, क्याथेड्रियल चर्चको अगाडि ।

प्रभुजी भन्नुहुन्छ, “ यो भियनाको प्रमुख स्थान हो । मान्नुस्, यो यहाँको वडा नम्बर एक हो । …”

काठमान्डूका रैथाने प्रभुजीको व्याख्या गर्ने शैली पनि काठमान्डौली शैलीकै छ ।

“अब यता लागौँ …”, प्रभुजी भन्दै हुनुहुन्थ्यो ।

पानी बेतमाशले पर्न थाल्यो अनि हुरी पनि । प्रभुजी फेरि हामीलाई छाता ओढ्ने तरिका सिकाउनु हुन्छ, “यसरी होइन यसरी । बन्दूक ताके जस्तो …”

हामी अघि बढ्दै गयौँ । सेन्ट स्टेफेन्स क्याथेड्रालबाट ठूलो स्वरमा क्यारल गाएको सुनियो अनि घन्टी पनि बज्न थाल्यो । अत्यन्त मीठो धुन सुनियो । हामी टक्क अडियौँ ।

“भित्र जाने कि ? …”

एउटा प्रश्न प्रभुजीको । जिज्ञासा हामी धेरैको । अञ्जली र मैले दिदीलाई हेर्यौँ, दिदी भारतबाट आएका केही बङ्गालीसित बाङ्ला भाषामा कुरा गर्दै हुनुहुन्थ्यो, चिनेर हो कि वा चिन्न खोजेर । थाह भएन ।

पछि थाह भयो, प्लास्टिकै प्लास्टिकले बेह्रिएर आएका ती भारतीयजनले दिदीलाई फोटो खिचिदिन आग्रह गरेका रहेछन् ।

हामीले फोटो खिच्यौ, फोटोभित्र हामी पनि बस्यौँ । फोटो कारण हामी पनि खिचियौँ एक आपसमा ।

प्रभुजीले घडी हेर्नुभयो, ”अलि छिटो गरौँ है ।”

हामी अघि बढ्यौँ, चर्चतिर । चर्चभित्र पसेपछि थाह पायौँ, यो त निक्कै ठूलो चर्च रहेछ ।

दिदी चर्चमा पसेपछि प्रार्थना गर्न थाल्नुभयो । म हामीले बोकेका छाता कुनामा थन्काउनतिर लागेँ । केहीबेर पछि म पनि प्रभुजीको पछाडि बसेर प्रार्थनाबद्ध हुन थालेँ । अञ्जली आफ्नो कार्यक्षेत्रमा खटिइन्, आफ्नो म्यानुअल क्यामेरा बोकेर फोटो खिच्न थालिन् ।

चर्चभित्र केही खुशी लाग्दा अनुहारहरू, केही उत्साहित आँखाहरू पादरीतिर हेरेर केही केही भनिरहेका थिए ।

मैले चर्चभित्र एक नजर घुमाएँ, कन्फशेन रुमतिर हेरेँ । त्यो विशाल चर्च कहिले बनेको होला, कसरी बनेको होला यी सबै कुरा सोध्न थालिन्, लक्ष्मी दिदी ।

चर्चबाट बाहिर आएपछि फेरि हाम्रो जम्काभेट बर्षातसित भयो । यो बर्षातका बारे केही दिनदेखि हामी चर्चा गर्दैछौँ । यो धेरै वर्षपछि यस्तो पानी परेको हो । यस्तै यस्तै केही केही ।

हामी चर्चबाट निस्केपछि वडा नम्बर एकको बजार घुम्न थाल्यौँ, विभिन्न ठूला साना पसलतिर चहार्यौँ, केही पसल बन्द नै थिए । आज आइतबार भएको कारणले गर्दा ।

म एउटा ठूलो पसल अगाडि पुगेँ, यो क्यासेट र सीडीको पसल रहेछ । त्यो पसलमा मेरो आँखा हठात् फ्रान्स लिस्टको सीडीमा पर्न गयो । फ्रान्ज लिस्ट हङ्गेरीका हुन् तर उनको ख्याति विश्वभरि छ, अपार छ । उनको व्यक्तित्व र नाम कामसित म पुरै परिचित थिएँ ।

आज फेरि उनको तस्वीर देखेर तरङ्गित भएँ ।

वाह, लिस्ट महोदय ।

किन्न मन थियो तर पसल बन्द रहेछ ।

भियना मेरा लागि एउटा अचम्मको शहर । पाश्चात्य सङ्गीतको प्राग्भूमि यो । यहीँ जन्मे कार्ल मार्क्स, सिग्मन्ड फ्रायड, मोत्सार्ट । अष्ट्रिया लुगा सिउने मेशिन आविष्कार गर्ने देश हो । यही देशले कफीलाई यूनेस्को मार्फत् विश्वभर परिचित गरायो ।

”यहाँका मान्छेले कसरी कफी पिउन सिके थाहा छ, हजुरलाई ? …” हिजोको एक भेटमा सुकृतबाबुले भनेका थिए ।

“हामीलाई थाह छैन ।”

उनले भने, “टर्कीका मान्छे हमला गर्न अस्ट्रिया आए । हमला गर्न नसकेपछि फर्केर गए । फर्किँदा उनीहरूले आफूसँग ल्याएको कफी यहीँ जङ्गलमा छोडेर गए .. त्यही कफी पछि यहाँको मूल उत्पादन भयो । यहाँ कफीलाई विभिन्न नामले बोलाइन्छ ।”

अस्ट्रियाका बारे विभिन्न रोचक कुरा सुन्दा अर्को अचम्म लागेको कुरा हो, यहाँ जन्मेका बच्चालाई दुईवटा नाम राख्ने कानूनी अधिकार छैन । एउटा पहिले प्रयोगमा नआएको अर्थहीन नाउँ र अर्को हिटलरको नाउँ ।

हामी घुम्दै गर्दा हामीले केही ठाउँमा ठूल्ठूला सङ्गीतकारका भव्य फोटो पनि देख्यौँ ।

भियनामा एउटा अचम्मको ठाउँ देख्यौँ, क्याफे सेन्ट्रल । यहाँ कफी पिउन मान्छे घन्टौँ लाइन बस्दा रहेछन् । हामीले केही लाइन बसिरहेका बौद्धिक, स्मार्ट अनि आकर्षक मान्छेलाई पनि देख्यौँ ।

यही प्रसङ्गमा रुद्रजीले भन्नुभयो, “यहाँ कफी पिउन बौद्धिक व्यक्तित्वहरू नै धेरै आउँछन् । एकपटक शुटिङ्गमा आएको बेला बलिउडका नायक शाहरूख खान र ऐश्वर्या रायले पनि यहाँ कफी खाएका थिए ।”

विभिन्न स्मृति र सन्दर्भसित जोडिँदै हामी अर्को दुई दिन भियनामा बस्यौँ ।