
मान्माको थुम्कोमा घामका किरण नपुग्दै हामी सनलाइट होटल छाडेर बजारबाट ओरालो लाग्यौँ । साढे पाँच बजे नै प्रस्थान गर्ने सल्लाह भए पनि कोही ढिलो उठ्ने र कसैको लगेज छुटेर फर्केर आउने गर्दा अन्तिमपटक ६:२० मा मात्र हामीले मान्मा छाड्यौँ । हामी अर्थात् लोकवार्ता तेह्रौँ राष्ट्रिय सङ्गोष्ठीका सहभागीहरू । सङ्गोष्ठी सकेर फर्किँदै थियौँ, कार्तिक १३ गते ।
मान्मा छाड्न बडो कठीन, कर्णालीको माटो र मायाले । मान्मा थाप्लोमा अवस्थित छ र बाटो त्यहाँबाट सयौँपटक कुइँक्क यता कुइँक्क उता गरेपछि बल्ल तल पुगेर कर्णाली भेट्न पुग्छ । कर्णाली नभेटेसम्म बाटो सोझिन्न । एक घन्टाभन्दा बढी लाग्यो, तल कर्णालीछेउ पुग्न । यसभन्दा बढी लागेको थियो माथि पुग्न, कार्तिक ६ गते ।
खाडाचक्र नगरपालिकाको बडा नं. १ मा अवस्थित छ, कालीकोटको सदरमुकाम मान्मा । मान्मा बजार । जिल्लाको सदरमुकाम भन्नुमात्रै । न विकसित छ न विकास विस्तार गर्ने पर्याप्त उपयुक्त ठाउँ नै । बाटो साँघुरो एकनाले छ । न तलबाट चिनेर उठाउने ठाउँ छ न कान्लापट्टिवाट खनेर वा खारेर बढाउने ठाउँ छ । कतिपय ठाउँमा ठुला गुडीयान (बस) लाई मोड (टर्निङ) नपुगेर पछि सर्दै अघि बढ्दै गर्नुपर्ने रहेछ । धन्न ! यस्तो पनि राजमार्ग कहलाएकै छ, कर्णाली राजमार्ग ।
“कर्णालीको सबैभन्दा विकट बाटो यही हो ।” कुसुमाकर न्यौपानेले भन्नुभयो, तल पुगेपछि ।
मैले भनेँ, “हुम्ला जानु भा’छ ? डोल्पा जानु भा’छ ?”
“त्यो त छैन ।”
“त्यसो भए पिँढीमा बसेर नेपाल देखिन्न । यस्ता विकट ठाउँ धेरै हुन सक्छन् । यत्ति देखेर निष्कर्ष ननिकालौँ ।”
हो, हामीले हिँडेको सबैभन्दा विकट बाटो यही हो । यसमा सहमति जनाउन सकिन्छ ।
कर्णाली किनारमा गुडीयान पुगेपछि अब त सजिलो बाटो आइपुग्यो भनेर सबैले लामो सास फेरे । ठिक त्यही बेला खोल्सामा गुडीयान घचक्क रोकियो । चालक लामाले भने, “ल सबै ओर्लौँ त एक छिन ।”
लामाले भनेपछि लामिछानेले नमान्ने कुरै भएन । उनले हाँकेको ००६ ख ६७११ नम्बरको पर्यटक बसबाट हामी पालैपालो तल झर्यौँ ।
हामी ओर्लियौँ र गुडीयान छाडेर कर्णाली पुलसम्म हिँड्यौँ, करीब तीन सय मिटर । कर्णालीमा अपार जल प्रवाह थियो । कर्णाली उफ्रिई उफ्रिई हामीलाई स्नेहले सुमसम्याउन खोज्दै थियो । पूर्वबाट तिला र हिमा कर्णाली मिसिएर आएको हिमा (सिंजा) कर्णाली र उत्तर हुम्लाबाट आएको राकम कर्णाली मिसिएर अझ ठूलो कर्णाली बनेको छ, यहीँनेरबाट । यही कर्णालीले कालीकोट र अछाम जिल्लालाई वारि र पारि पारिदिएको रहेछ । हामी कालीकोटमा गुड्दै अछामका पाखापखेरा नियाल्दै अघि बढ्यौँ । पारि अछामको पञ्चदेव विनायक र कमल बजार नगरपालिकाको वल्लो पाखामा झलमल्ल घाम लागेका थिए ।
वारि र पारिका पाखापखेराबाट झरेका छाँगा, छहरा, खोलाखालीलाई आफूमा समाहित गर्दै कर्णाली शक्तिसञ्चय गर्दै अझ गुरुगम्भीर हुँदै थियो ।
दक्षिणपट्टि महाबु पर्वत मुस्कुराउँदै थियो ।
गुडीगोष्ठीमा एउटा भन्छ म लामो, अर्को भन्छ म लामो क्या हो ? भनेर मैले गाउँखाने कथा हालेँ । उत्तर त आए, तर खास उत्तर आएन । गाउँ खाएर मैले बाटो र खोलो भनिदिएँ । “हो त हगि । कुन लामो ?” माधवप्रसाद पोखरेलले हाँस्दै भन्नुभयो । हाँस्दा सेता दाँत टलक्क टल्के ।
तल कर्णाली र त्यसकै छेउ छेउ कुदेको सडक देखेपछि यो गाउँखाने कथा सम्झेको थिएँ, मैले ।
पोले माछो रुख चन्र्या त्याइको नाउँ क्याउ ? भनेर मैले अर्को गाउँखाने कथा सोधेँ । साथीहरूले टाउको कनाउन थल्नुभयो ।
एउटा रोटीमा चारवटा प्वाल के हो ? सानी नानीले सिङ्गै अम्लो (औँलो) निलेकी के हो ?
मैले अरु केही गाउँखाने कथा हालेँ । कुनैका उत्तर आए । कुनैका उत्तर आएनन् । यो क्रम धेरै बेर भने चलेन । पालो सबैलाई चाहियो ।
पौने नौ बज्दा कालीकोट सकिएर दैलेख लाग्यो । बिहान जुरुक्क उठेर हिँडेका हामी बटुवालाई चियाको तलतल लागेकैं थियो । दैलेखको खिड्की ज्युलामा खिड्कीज्युला पुग्ने बित्तिकै गुडीयान घचक्क रोकियो, अलिअलि लोलाएका आँखाहरू ब्युँझिए । कार्तिक ५ गते जलपान गरेकै होटेलमा हामी पस्यौँ । सेल पाकेर थपक्क पर्खी बसेका रहेछन्, चुलाछेउमा । देख्नासाथ मुखमा पानी आयो । मैले एउटा सेल उठाएँ । मुकुन्द शर्माले अर्को सेल समाउनुभयो । माधवप्रसाद पोखरेल, अध्यक्ष भवेश्वर पंगेनी, उपाध्यक्ष यज्ञराज उपाध्याय, महासचीव ध्रुवप्रसाद भट्टराईले एक छेउमा थपक्क आशन ग्रहण गरेर प्रतीक्षा गर्न थाल्नुभयो । गायत्री पराजुली शशि थापा पण्डित, प्रवीण पुमा प्रतीक्षाको सदुपयोगतिर लाग्नुभयो, तस्वीर खिचेर । सेल, समोसा मटर र चियाबाहेक त्यहाँ केही थिएन । सेल पनि सकिए पाकेजति । समोसा अझ ताईमा पौडी खेल्दै थिए । हामी आठ दस जना बिना चिनीको चिया खाने थियौँ । साहु चिया बसालेर अन्य सेवामा लागे । म र मनोहर लामिछाने मिलेर चिया पकायौँ, बाड्यौँ र खायौँ । अन्त्यमा कोषाध्यक्ष अम्बादत्त भट्टले हिसाब मिलान गर्नुभयो । एकद्वार प्रणाली जो थियो ।
जलपानले हाम्रा पेट पुस्टिए । हावाले गुडीयानका चक्का भरिए ।
आसन ग्रहण भएपछि प्रज्ञा नेपाली बृहत् शब्दकोशको प्रसङ्ग उठ्यो । यज्ञेश्वर निरौला चनाखो हुनुभो । म पनि सङ्कलनमा संलग्न थिएँ । शब्द, अर्थ र स्रोतको प्रविष्टिका कुरा भए । धेरै कुरा छुटेछन् । अहिले चाल पाइयो । यस्तो त भइरहन्छ, शब्दकोश निर्माणमा । कोही केही पूर्ण छैन दुनियामा ।
गुडीयान आठबीस नगरपालिका ४, राकम कर्णाली पुग्दा सिद्धार्थ होटेलमा गत वर्ष खाना खाएको सम्झना ताजा भयो । रातो मार्सीमा काली मार्सी मिसाएर पकाएको भात सारै नरम र स्वादिलो थियो । केही समयमा साई खोला पुग्यौँ । यहाँ कर्णालीमा पुल बनेको रहेछ । पुल तरेर पारि गएपछि अछाम जिल्ला लाग्छ, तर सदरमुकाम ४८ किमी पर रहेछ । यहाँबाट जुम्ला ११९ र सुर्खेत ११३ किमी टाढा पर्दारहेछन् । हामी त सुर्खेत हुँदै तराईतिरको बाटो तताउने तयारीमा थियौँ । १२ बज्दा दैलेखको चामुण्डा ब्रिन्दासैनी नपा ७, पाल्तडा पुग्यौँ । सानो बजार पाल्तडा ।
गुडीयान बेतोडले दौडिन खोज्थ्यो । ठाउँ ठाउँमा बनेका स्वयम्भू खाल्डाखुल्डीले ब्रेक लगाइदिन्थे । यस्तो पो राजमार्ग । कर्णाली राजमार्ग ।
गुडीयानभित्र गुडीगोष्ठी चलेकै थियो । कुसुमाकर न्यौपाने, शशि थापा पण्डित, प्रवीण पुमा, मनोहर लामिछाने, शीतल गिरी, माधव लामिछाने, भक्त राई आदि आआफ्नो विषय क्षेत्रका विज्ञ अगाडि उभिएर पालैपालो व्याख्यान दिँदै थिए । गुडीगोष्ठीका धेरै फाइदा देखिए, ज्ञानको आदान प्रदान, मनोरञ्जन, समय कटनी आदि ।
“झर्यो ! कन्क्लुजन आयो ।” सहयात्रीले हुटिङ गरे । सायद राजेन्द्र आचार्यले हो कि । वक्ताले बोल्ने क्रममा अङ्ग्रेजी शब्द प्रयोग गर्नुभएछ ।
आवासीय विद्यालयमा पढेका हाम्रा छोराछोरीका तर्फबाट हामीमध्ये धेरैले नेपाली शब्द बोले वापत् जरिवाना तिरेका हौँ । छातीमा हात राखेर मम भनौँ । यहाँ फरक छ । माधवप्रसाद पोखरेल जसले नेपालका करीब ७० भाषाका वर्णमाला बनाएर कीर्तिमान कायम गर्नुभयो । उहाँ सगरमाथा र अरू पनि गौरीशङ्कर भाषाविद् यो गुडीगोष्ठीमा विद्यमान छन् । प्रस्थान दिवस कार्तिक २ गतेबाट नै एउटा लोकनियम के बनेको छ भने जसले आफ्नो वार्तालाप वा व्याख्यानका क्रममा अङ्ग्रेजी शब्द बोल्दछ उसले एक शब्द बोले वापत् पचास रुपियाँ लोकवार्तालाई बुझाउने ! लेखा राख्ने गायत्री पराजुली, रकम असुल्ने अम्वादत्त भट्ट । मूल्याङ्कनकर्ता माधवप्रसाद पोखरेल, राजेन्द्रकुमार आचार्य र हुमकान्त पाण्डे । के बोलेछु कुन्नि एक सय पचास (तीन शब्द) मैले पनि बुझाएँ । सबैभन्दा कम हुमकान्त पाण्डे रु. पचास र सर्वाधिक भक्त राई रु. पाँच सय सायद । तिर्नुपर्ला भनेर मुख नखोली बस्ने शशि थापा पण्डितले पनि बुझाउनुभयो । संस्कृतका प्रकाण्ड विद्वान्ले पनि बुझाउनुभयो ।
यस्तो कर्म गुडीयानमा रमाइलोका लागि थियो ? होइन, यसले हामीलाई के सचेत गराइदियो भने हामी थाहै नपाई अनावश्यक अङ्ग्रेजी शब्दहरू प्रयोग गरिरहेका हुँदा रहेछौँ । ख्याल गरौँ । यो जरिवाना होइन, सचेतना शुल्क हो । सचेतना अभियान हो । सङ्कलित रकमले एक छाक अलपनको गर्जो टारेछ । कोषाध्यक्षले उद्घोण गरेपछि थाहा पाइयो ।
सवा एक बजेतिर मात्र मुखमा माड लाग्ने भयो । गुड़ीयान दैलेखको दुल्लु नपा १, तल्लो डुङ्गेश्वर पुगेर रोकियो । हामीले पहिले तल्लो डुङ्गेश्वरस्थित सिद्धेश्वर महादेव र भगवती मन्दिरको दर्शन अवलोकन गर्यांैँ । झन्डै कर्णाली जत्रै देखिने डुङ्गेश्वर खोला आएर यहीँ कर्णालीमा मिसियो । हामीले चन्द्रसूर्य होटलमा पालैपालो खाना खायाैँ । गुडीयानले केही समय सुस्ताउने मौका पायो ।
खाना खाइसकेर गुडीयान कर्णाली राजमार्ग समातेर सुर्खेततिर हानियो । त्यस्तै साढे तीन बजेको होला । कल्याणकाँधको जङ्गलमा पुग्दा गुडीयानभित्र गुडीगोष्ठी चलिरहेकै बेला एकाएक प्रवीण पुमा उफ्रिनुभयो, “राउटे ! गाडी रोक रोक ।”
वास्तवमै त्यहाँ राउटे रहेछन् । एकदुई होइन, पूरै पल्टन (डप्फा) । गुडीयान रोकियो । हाम्रा आँखा चम्के । हामी ओर्लियौँ । जङ्गलको बाटो । बाटामुनि राउटेको राउटी । करीब सय डेढ सय राउटे त्यहीँ रहेछन् । सहयात्रीहरू शीतल गिरी, तेजप्रकाश श्रेष्ठ, दिलविक्रम आङ्देम्बे, प्रवीण पुमा, कुलराज निरौला, गणेश घिमिरे, यज्ञेश्वर निरौला, शशि थापा पण्डित, कुसुमाकर न्यौपाने, माधवप्रसाद पोखरेल, ध्रुव भट्टराई, बालकृष्ण शर्मा झटपट ओर्लेर हेर्न र तस्वीर लिन लागे । मैले राउटेसँग बसेर तस्वीर खिचाएँ । केही भिडियो र सेल्फी लिएँ । अरु सहयात्री पनि तस्वीर खिच्ने खिचाउने धूनमा लागे । चालकहरू पनि दङ्ग थिए । कति ठाउँ घुमे, तर राउटेसँग जम्काभेट भएको रहेनछ । यति दिन यात्रा गर्दा यसअघि मैले पनि राउटेसँग साक्षात्कार गर्ने अवसर पाएको थिइनँ ।
भानुभक्त भए लेख्दा हुन्– यति दिनपछि मैले, राउट्याजी देख्याँ । मानव चोलाको एक्, विचित्र चाल लेख्याँ ।
हामीलाई भने ढुङ्गा खोज्दा देउता मिले झैँ भयो । पशुपतिको जात्रा सिद्राको बेपार भयो । लोक खोज्दै जाँदा नसोचेको लोकजीवन भेटियो ! अनपेक्षित । एउटा खुशी भेटियो । हामी कर्णाली लोकजीवन पढ्न हिँडेकाहरूका लागि भ्रमणशील राउटेसँग प्रत्यक्ष साक्षात्कार हुन पाउनु के खोज्छस् काना ? आँखो भइगयो ।
कल्याणकाँधको जङ्गलमा लोकवार्ता मेला लाग्यो । लोकवार्ताको अड्डा खडा भयो । करीब सयभन्दा बढी राउटे र तीसजना हामी । एकातिर प्रत्यक्ष राउटे लोकजीवन अर्कातिर त्यस्ता लोकजीवनलाई विषय बनाएर अध्ययन गर्ने हुटहुटी बोकेका हामी लोकवार्ताका विद्यार्थी । अनुसन्धानकर्ता । लोकवार्ताको कक्षामा राउटे कार्यशाला चल्दै थियो । विद्यार्थीहरू विषयलाई कापीमा टिप्दै, फोटो खिच्दै र कोही भिडियो बनाउँदै थिए ।
बाटामुनि छाउनी सम्झाउने राउटी थियो । राउटीमा करीब साठी जति छाप्रा हुँदा हुन् । केही मात्र छाप्राहरू घोचा गाडेर सेउलाले छाइएका थिए । त्यसैले ती होचा थिए । धेरैजसो छाप्रालाई माथिबाट पालले ढाकेको देखियो । पाल धेरै देखिए । दान अनुदानका होलान् । दुई पाखे पाल पनि होचै थिए । बुझेर ल्याउँदा राउटी भनेको झुप्रे बस्ती रहेछ । झुपडबस्ती रहेछ ।
राउटीमा राउटे थिए । तिनका ससाना बग्रेल्ती बालबालिका थिए । सञ्चार माध्यममा यसअधि नै नाम चलेका सम्झना र गाजलु पनि त्यहीं रहेछन् । प्रवीण पुमाले सोधेर थाहा लगाउनुभएछ । अस्थायी छाप्रा, झुप्रा र पालहरू थिए । लोग्नेमान्छेका शिरमा टोपी, तल लँगौटी र जिउमा गादो (नसिलाएको ग्वाम्ल्वाङ्गको कपडा) थियो । गादो पछिल्तिर कम्मरबाट दुवै छेउ वा फुर्को अघिल्तिर ल्याएर गाँठो पारेर अल्झाइएको थियो । केही लोग्नेमान्छेले शिरमा मटमैलो सेतो फेटा गुथेका थिए । टोपी र कछाड लगाउन पछि सिकेका रे । महिलाहरूले कपडाले टाउको ढाकेका र नसिलाएकै कपडाले जिउ ढाकेका थिए । कसैले चोलो लगाएका थिए । चोलो लगाउन पछि सिकेका रे । केही पुरुषका काँधमा बन्चरो थियो । कतिका हातमा मोटो लौरो ।
बाँदर आदि जङ्गली जनावरको शिकार र कन्दमूल तिनका मुख्य आहारा रहेछन् । उनीहरू मृगलाई भने मार्दा रहेनछन् । आगो बालेर धुनी लगाउँदा रहेछन् । शिकार पोलेर पकाएर बाँडीचुँडी खाँदा रहेछन् ।
नेपालमा दुई थरी राउटेहरू छन्, घरबासे र फिरन्ता । डडेलधुराको जोगबुडा आदि ठाउँमा रहेका राउटे स्थायी बसोबास स्वीकार गरेर बसेका घरबासे राउटे हुन् भने अन्य राउटेहरू एक ठाउँ अडिएर बस्दैनन् । ठाउँ सरिरहन्छन् । कल्याणकाँधमा हामीले भेटेका राउटेहरू फिरन्ता रहेछन् । राउटेको खास पहिचान भनेकै भ्रमणशील वा फिरन्ता हुनु हो ।
राउटेहरू जङ्गलमै बस्छन् । त्यो पनि गाउँशहरको नजिकको जङ्गलमा । गाउँशहरको नजिक बसे पनि तिनले कसैलाई सताउने, डस्ने, कसैको अन्नबाली फलफूल चलाउने छुने गर्दा रहेनछन् । मानव सभ्यताको एक चरण जङ्गली अवस्थाको अवशेष एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि बचेको रहेछ – फिरन्ते राउटेमा ।
हाम्रा पुर्खाले उहिल्यै यस्तो अवस्था पार गरेर आएका होलान् । मेरा मनमा यस्तै कुराले परेड खेले ।
राउटे समूहमा बस्दा रहेछन् र समूहको नाइके मुखिया (माउड्या) हुँदा रहेछन् । मुखियाको आज्ञा आदेश, निर्देश सबैका लागि मान्य हुँदो रहेछ । अहिले यहाँका मुखिया रहेछन् –वीरबहादुर शाही । तर हामीले उनलाई भेट्न पाएनौँ किनभने उनी यतिखेर अर्को बास ठाउँ व्यवस्थापनका लागि गएका रहेछन् ।
भेटेका पाका राउटेले भने– “भोलि हामी यो ठाउँ छाडेर अर्को ठाउँमा सर्दै छौँ । वीरबहादुर शाही सानो टोली लिएर बसाइँ सर्ने ठाउँ हेर्न जानुभएको छ ।” उनले गादोमाथि पछ्यौरा ओढेका थिए, टाउकामा पछाडि ढल्काएर ढाका टोपी लगाएका थिए र खुट्टामा चप्पल थिए ।
मैले भनेँ, “मसित मित लाउने ?”
उनले उल्टै सोधे, “कति पैसा दिन्छौ ?”
हामीहरू अचम्म मानेर राउटेहरूलाई हेर्दै थियौँ । राउटेहरू अचम्म मानेर हामीलाई हेर्दै थिए । मान्छे मान्छेमा किन यस्तो अन्तर ?
आसपास शिकार र कन्दमूल पाइन छाड्यो वा आफ्नो समूहको कुनै सदस्यको मृत्यु भयो भने राउटे त्यस ठाउँलाई छाडेर अर्को ठाउँमा जाँदा रहेछन् । जङ्गलकै अर्को ठाउँमा । उनीहरू भोलि कार्तिक १४ गते गिरीधारमा जाँदै रहेछन् । हामीले देख्यौँ, उनीहरू पोकापन्तरा पारेर सर्ने तयारी गर्दै थिए ।
हाम्रा पुर्खाले पनि यस्तै जीवन बिताएर आएका होलान् । मैले फेरि पनि सोचेँ ।
“यिनलाई किन भनियो होला राउटे ?” सायद गायत्रीको प्रश्न ।
चूडामणि बन्धुको गाउँ गाउँमा गवेषणा (२०८१) भरखर पढेको ज्ञानका आधारमा मैले भनेँ, “भनाइ धेरै छन् । एउटा भनाइअनुसार राउटीमा बस्ने भएकाले राउटे भनिएको हो । राउटी भनेको अस्थायी छाप्राहरूको समूह हो ।”
चूडामणि बन्धुले राउटेसित जोडिएका केही किंवदन्ती पनि राख्नुभएको छ । त्यसबारे त्यहीँ पढ्दा हुन्छ । म पनि राउटी बनाएर त्यसमै बस्ने भएकाले यस समूहलाई राउटे भनिएको हो भन्नेमा बढी दम देख्छु ।
राउटेहरू पनि आफूलाई राउटे भनेर चिनाउन चाहँदा रहेछन् । हामीले त्यहाँ सुन्यौँ, पुस्तक छोए तिनका ईश्वर रिसाउँछन् रे । त्यसैले तिनका लागि पढ्नु गुन्नु कौने काम भएको रहेछ ।
बदलिँदै गएछन् राउटेहरू । तस्वीर लिन खोज्दा पैसा मागे । खानेकुरा मागे । सरकारले भत्ता दिँदो रहेछ । भत्ताका लागि नागरिकता चाहिने भएकाले धेरै मनाएपछि बल्ल उनीहरूले नागरिकता लिएछन् । भत्ता लिँदा रहेछन् । गाउँ वा सडकछेउ दुनिया वा सदरिया मान्छे देखे लुसुक्क जङ्गल पस्ने राउटे अचेल नजिक आएर माग्न थालेछन् । चाउचाउ, बिस्कुट र सुर्ती समेत खान थालेछन् । बाँदर मारेर खान अल्छी गर्न थालेछन् । अगुवाहरूले राम्रै नेपाली बोल्न जानेछन् । दशैंमा राज्यले दिएका खसी बोका काटेर खान सिकेछन् । मुखियाले मोबाइल लिन थालेछन् । केहीले जुत्ता चप्पल लगाउन थालेछन् ।
विगतमा राष्ट्रपतिलाई भेटेको घटना स्मरण भयो हामीलाई । २०६५ पुसमा ६ जना राउटेलाई राष्ट्रपति रामवरण यादवसँग काठमाडौँमा भेट गराइएको थियो । सञ्चार माध्यमले त्यस भेटलाई निकै महत्त्व दिएका थिए । तिनलाई अछामको काँलेकाँडाको जङ्गलबाट लगिएको थियो । “घुमेर भएन, कहीं स्थिर भएर पस्नु पर्यो, केटाकेटीलाई पढाउनु पर्यो ।” भन्ने राष्ट्रपतिको आग्रहमा ऐनबहादुर शाहीले भनेका थिए, “हामीलाई वन भए पुग्छ । पढ्नवर्न पर्दैन । हाम्रो जातले पढ्न हुँदैन ।”
यहाँका राउटे आफूलाई वनको राजा भन्दा रहेछन् र थर शाही भन्दा रहेछन् ।
यतिखेर सङ्घीय सरकारले ४,०००।– र कर्णाली प्रदेश सरकारले २,०००।– जनही मासिक सामाजिक सुरक्षा भत्ता दिने गरेको रहेछ । काठका भाँडा र सामग्री बनाएर अन्नपातसँग साट्ने र पैसा छोए पाप लाग्छ भन्ने राउटे मान्यता समाप्त भएछ ।
फिरन्ते त हामी सबै हौँ । मेसोपेटोमियादेखि हिँडेर दुनियाँ ढाकेका छौँ । हाम्रै पुर्खा सिँजामा आई बसे । पछि गण्डकी प्रदेश हुँदै पूर्व हानिए, मधेस पसे, काठमाडौँ बसे र अहिले छोराछोरी विदेश नहुने कुनै घर छैन होला । उनीहरू प्रस्ट छन्, हामी फिरन्ता हौँ भन्छन् । हामी कुरा चबाउँछौँ, मेरो स्थायी ठेगाना यहाँ छ र वहाँ छ भन्छौँ । वास्तवमा यहाँ कोही केही स्थायी छैन ।
फेरि पनि हामी गैरराउटेको ‘घरजस्तो घ’ भए पनि घर छ । घर नभएकाहरू घर हुन प्रयत्नशील छन् । राज्य आफ्नो दायित्व निर्वाह गर्नका लागि भए पनि भनिरहेछ – सुस्थिरं भवतु अर्थात् एक ठाउँमा स्थायी भएर बस । तर यहाँ यसरी बस, यो यो गरेर खाऊ भनेर राज्यले भन्न सकेको छैन । राउटेका लागि मानवोचित आवास बनाएर जीविकोपार्जनको स्रोत साधन देखाइदिए किन पो नबस्दा हुन् ? मनमा परेड खेलेको कुरा हो यो । गास, बास, शिक्षा, स्वास्थ्य र सुरक्षा राज्यको दायित्व हो । भत्ता दिएर मात्र त्यो पूरा हुँदैन ।
नुराङ, बनकरिया, कुसुन्डा, सुरेल, ल्होमी र बालुङ पनि नेपालका लोपोन्मुख समुदाय हुन्, तर यी स्थायी बसोबास गर्दछन् । केही राउटेहरू घरबासे भए पनि यी राउटे भने अझै फिरन्ता रहेछन् । अन्य लोपोन्मुख जातिभन्दा राउटे फरक छन् । एक ठाउँमा बस्न रुचाउँदैनन्, बस्दैनन् । समुदायको कुनै सदस्यको मृत्यु भएमा त्यसलाई त्यहीँ गाडेर उनीहरू उसै दिन अर्को ठाउँमा सरिहाल्ने मान्यताले गर्दा राउटे एक ठाउँ स्थिर हुन मिल्दो रहेनछ । पितापुर्खाका पालादेखिको मान्यतालाई तिलाञ्जली नदिई एक ठाउँ बस्नु सम्भव छैन रहेछ । चलेर आएको मान्यतालाई तिलाञ्जली दिनु झनै सम्भव रहेनछ ।
सहयात्रीमध्ये पुमा र श्रेष्ठ बढी उत्साहित देखिनुभयो । क्यान हे कुन्नि ? म उत्साहित भन्दा पनि गम्भीर भएँ ।
परम्परालाई परिष्कार गर्दै राउटे बदलिएर मूल धारमा समाहित भएको देख्न चाहन्छु, म । गास, बास र कपासको व्यवस्था होस् । नाना, छाना र खानाको बाटो खुलोस् । जङ्गलभित्रै भए पनि सुस्थिर बस्ती बसोस् । छोराछोरीले स्कुल देखून् । पुस्तक पढून् । ज्ञानको ढोका खुलोस् ।
अलिक पर कर्णाली सुसाइरहेको थियो । हामी जङ्गलका बीचमा थियौँ । चारैतिर अक्सिजनको भण्डार हरिया डाँडा थिए । कर्णाली राजमार्ग जङ्गललाई जोत्दै कुदिरहेको थियो । झन्डै आधा घन्टाभन्दा बढी राउटेसँग साक्षात्कार गरी त्यहाँबाट हामी मनभरि राउटेको सम्झना साँचेर सुर्खेततिर सुइँकियौँ ।
राउटेका करीब डेढ सय जोर आँखाहरूले देखुन्जेल हाम्रो बस पछ्याइरहे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

