गुप्ता पुग्ने उखरमाउलो चढेदेखि नै गुप्ताको फोटो बारम्बार हेर्ने गरेको थिएँ । गुप्तामा परेको सिस्नेको अग्घोर सुन्दर छायाँ बनिबनाउ लाग्दथ्यो । कुनै सिद्धहस्त चित्रकारले मिहीन ढङ्गले गुप्तामाथि सिस्ने खप्ट्याइदिएको चित्र होला भन्ठान्थेँ । गुप्ता आइपुगेपछि कल्पनातीत चित्र देखर केही बेर भ्रममै अल्झिएँ । के यो साँच्चिकै प्राकृतिक नै हो त ? प्रकृतिभन्दा कुशल कलाकार जाबो मनुष्य के हुन्थ्यो ! कति जीवन्त प्रस्तुति !

जति म गुप्ताको समीप पुग्दै छु, त्यति त्यति गुप्ताको मुहनीले झन् झन् आफैंतिर खिचिरहेको छ । माथिबाट सानो आहाल मात्र देखिने स्यानी गुप्ता झन् झन् विस्तीर्ण हुँदै छिन् । गुप्ताभित्र पसेको सिस्ने झन् झन् विशाल रूप धारण गर्दै छ । रुकुमका यी दुई बेग्लाबेग्लै सर्वोत्तम धरोहरहरू एकै ठाउँमा गुजुल्टिएको देख्न पाउनु मेरो लागि अहोभाग्य हो । गुप्ता र सिस्नेलाई एकैचोटि सुकोमल दृष्टिपात दिन पाउने मेरो अभीष्ट पूर्ण हुँदा दङ्ङ छु । मैले यहाँ आइपुगेर बल्ल वास्तविक सुखको इन्द्रप्रस्थ फेला पारेको छु ।

फेवामा माछापुच्छ्रे तैरिरहेको दृश्य देख्नु पहिल्यै सुप्रसिद्ध गीतकार प्रेमप्रकाश मल्ल आफ्नै जिल्लाको गुप्ता दह पुगेको भए त्यो कालजयी गीतको सट्टा सिस्ने हिमाल गुप्तामाथि पौडी खेल्दो रैछ भनी गीत रचिसक्थे र फेवामा माछापुच्छ्रे तैरिएको दृश्य उनलाई फिका लाग्ने थियो । त्यसो त सर्वोच्च शिखर सगरमाथा गोक्यो हिमतालमा लमतन्न ढलेको देखिन्छ । हिमतालहरूबाहेक अन्य तालमा हिमालले पौडी खेलेको दृश्य संसारमै बिरलै देख्न पाइन्छ । पाकिस्तानको नागापर्वत शेओसर तालमा पौडी खेलिरहेको सुन्दर दृश्य देखिन्छ । अलास्काको डेनाली हिमाल वन्डरलेकमा पौडी खेलिरहेको भेटिन्छ । स्विजरल्याण्डको मटरहर्न हिमाल स्टेलसी तालमा डुबेको देख्न सकिन्छ । त्यो अद्भूत दृश्य हेर्न ती ठाउँहरूमा संसारभरकै करोडौँ मान्छेहरू खनिन्छन् । त्यसरी सिर्जित आम्दानीले राज्यको समग्र अर्थतन्त्र चल्छ । तर हामीले गुप्तामाथि सिस्नेको दृश्य अद्भूत देखिन्छ भनी प्रचारप्रसार गर्न उदासीन हुन्छौँ । वाहियात काम ठान्छौँ । यहाँ त बिडम्बना छ हजुर, बिडम्बना ।

म गुप्ताको सन्निकट पुगेर रासलीलामा चुर्लुम्म डुबेका प्रणयकामीहरूलाई पुलुक्क हेर्छु र लज्जानत शिर निहुराउँछु । सिङ्गो सिस्नेलाई बाहुपासमा बाँध्न सक्ने यी गुप्ताले मोहनी पासोमा पारेर कतै मलाई  पनि आफैंमा समाहति गर्छिन् कि डरले हच्किन्छु ।

यी युगल प्रेमाकाङ्क्षीको समीप पुग्दा लजाउँदै अवश्य छुट्टिएलान् भन्ने लागेको थियो तर यिनीहरू त लज्जाहीनताको सीमा नाघेर  प्रणयक्रीडामा लवलीन छन् । नयनमा नयन राखेर, अधरमा अधर, पादमा पाद जोडेर गुप्ताकै आलिङ्गनमा मगनमस्त छ सिस्ने । एकअर्काको भर्जिन गोपनीयता भङ्ग गर्न लागिपरेका जस्ता छन् । बाहिर को आयो को गयो मतलब नै छैन । म भने सास रोकेर अश्रुपुरित नयनले त्यो जलक्रीडा अपलक हेरिरहेको छु । त्यो अवर्णणीय अलौकिक दर्शनले द्रवीभूत भएको छु । यिनीहरूको यो प्रणयक्रीडा आजको होइन । युगयुगान्तरदेखि यसरी नै चलिरहेको छ र यसरी नै चलिरहनेछ ।

हिजो राति धुम्मिएको बादलले असीम, अन्तहीन आकाश सिनित्तै सफा गरिसकेको छ । तालको छेउछाउ एकनाशले बहने चिसो चिसो सिरेठोले किशोर सूर्यको कोमल तापलाई घरीघरी फिका तुल्याइरहेको छ । जता हेर्‍यो उतै विस्तीर्ण सुन्दर सन्निवेश छ । अलकापुरीबाट झुक्किएर खसेको स्वर्गको टुक्राजस्तै जे हेर्‍यो त्यसैमा रसमाधुर्य भेटिन्छ । वन उपवनबाट आइरहेको मधुर अनुगुन्जनले हृदयको तार रेटिरहेको छ । कता हेर्नू, कता नहेर्नू !

म सर्वाङ्ग नाङ्गो सिस्ने र त्यस वरपर चुलिएका शिखरहरूतिर पुनः नजर दौडाउँछु । सिस्नेको आदेशमा सबै चुलीले दिव्य स्फटिकमय हिमाच्छन्न च्यादरलाई उतारेर सगर्व ठडिएका छन् ।  सिस्नेको दायाँतिरको द्वारी हिमाल पनि सिस्नेकै स्वरूपमा ठडिएको छ । सामुन्नेको सिस्नेलाई बिर्सने हो भने द्वारी हिमाल नै सिस्ने हो कि भनी झुक्याउँछ । सिस्ने र द्वारी दुवैलाई बिर्सँदा पनि साना साना चुचुराहरूसमेत दुरुस्तै सिस्नेजस्तै प्रतीत हुन्छन् । स्थलीय भूभागको पनि जस्तो माउ उस्तै चल्लाहरू सिर्जना गर्न सक्ने प्रकृतिको कला देखेर छक्क नपर्ने को होला ?

द्वारी हिमालको काखमा रहेको द्वारी भन्ज्याङलाई घाक्रे पास पनि भनिँदो रहेछ । यो रुकुम र डोल्पाको प्रवेशद्वार हो । कास्की, पर्वत, गुल्मीतिरबाट उहिलेको जुम्ला राज्यमा आउजाउ गर्ने मुख्यद्वार यही होला, जुन करीब ५००० मिटरको उचाइमा रहेको छ । द्वारे भन्ज्याङबाट म आफ्नो जिउ दायाँतिर घुमाउँदै जान्छु ।  दाहिनेतिर पुथाको टुप्पी मात्र देखिन्छ, तथापि स्फटिकमय शिरपोशको झलझलाकारले पूर्णचन्द्र उदाउँदै छन् कि भन्ने भ्रम सिर्जना हुन्छ ।

पुथा हिमाल पनि आफ्नै जिल्ला रुकुमले अहिलेतक विभेद र वञ्चनामा राखिरहेको राष्ट्रिय धरोहर हो । सिस्नेभन्दा झन्डै एकहजार मिटरभन्दा अग्लो अर्थात् ७२४६ मिटर उच्च हिमालले कहिल्यै सिस्नेतुल्य उच्च हिमालको प्रश्रय पाएन । रुकुमका विकासे पुस्तकका रङ्गीन कलेवरहरूमा दौड प्रतिस्पर्धा गराउँदा १००० मिटरपछिको सिस्ने नै सधैँ विजेता घोषित भयो र पुथाले त्यो दौडमा हारिरह्यो । दौडमा मिलिसेकेन्ड र मिलिमिटरको महत्त्व हुन्छ । तर यहाँ त किलोमिटरकै अन्तरको कुरा छ । हिमालमा १००० मिटरको फरक हुनु भनेको झन्डै दोब्बरको फरक हो । विकासे सोच त यसै छल र विभेदको उत्कर्ष हो, पुथाले स्वतन्त्र लेखकहरूको लेखमा पनि जित हासिल गर्न सकेन । कोही कतैबाट  प्राथमिकता र प्रश्रय नपाउँदा पनि यो जुगुप्साले उसको उचाइ कहिल्यै घटेन, ऊ सधैँ अग्लिरह्यो ।

पुथाउत्तरगङ्गा नाउँको गाउँपालिका नै स्थापना भएपश्चात् मात्र यसको चर्चा परिचर्चा शुरू भएको हो । अहिले त त्यहाँ सुनदह, अप्सरादह, सहरतारा ताल, पुपालदह, ईश्वरदह, राक्षसदह लगायतका तालहरू समेत छन् भन्ने जानकारीमा आएपछि आन्तरिक पर्यटनको चहलपहल बढ्न थालेको छ । पछिल्लो समय चर्चित भएको ‘रुकुम मैकोट’ भन्ने गीतले पनि यो ठाउँको नाम कहिल्यै नसुनेकाहरूलाई मैकोट पुगौँ पुगौँ भन्ने चाहना सिर्जना गरिदिएको छ ।

म पारिबाट वारिको फाँटतिर दृष्टि डोर्‍याउँदछु । फाट्टफुट्ट रूपमा झ्याम्म परेका ऋषिकुटजस्ता बुट्यानहरू दमारभरि छन् । दमारको छेउमा ढुङ्गाको प्वालबाट हेर्न मिल्ने अनौठो ताल छ रे ढुङ्गालाई हिर्काउँदा ढोलजस्तै बज्छ रे । यो ठाउँको नामै ढोलढुङ्गा राखिएको रहेछ । ढोलढुङ्गा चुलिँदै बुगेरीको लेक बनेको छ । बुगेरीको पछाडिपट्टि झन् अग्लो जुजाउ लेक छ । ढोलढुङ्गादेखि गुप्तासम्मै सानासाना  बुट्यान छन् जसको पृष्ठभूमिमा सुकेको घाँसे मैदान छ ।  हामी आएको टुम्का लेक हाम्रो दक्षिणपट्टि छ । टुम्काको पश्चिमपट्टिको लेकलाई पनि बुगेरीधुरी (बुकी लेक) वा खारा भनिँदो रहेछ । खाराको नजिकै भएकोले कसै कसैले गुप्तालाई पनि खारा दह भन्दा रहेछन् । खाराबाट उत्पत्ति भएर बग्ने खाराखोला नै तल पुगेर पेटारीखोला बनेको छ ।  बुगेरीभन्दा पारि ४००० मिटर उचाइ आसपासका वृक्षविहीन पाथीभरे तथा निगालटाला लेकहरू चुलिएका छन् । पाथीभरेले सिस्नेलाई छुन खोजेको जस्तो छ । मेरो सामुन्नेका दुई तालहरूको किनारमा दुबेरी छ भने चारैछेउमा कैँचीले मिलाएका जस्ता लेकाली सल्लाको घनघोर जङ्गल छ ।

हामी ११ जना यात्रीहरू अलगथलग भएर धेरै बेरसम्म गुप्ताको वरिपरि फन्का मारिरहन्छौँ । दशै दिशाबाट तालको दृश्यको रसस्वादन गर्दछौँ, तथापि जति पिए पनि अघाए पो ! यस ताल खासै ठुलोचाँहि होइन । करीब ११७ मिटर लम्बाइ र ६७ मिटर जति चौडाइ भएको ताल हो । सिस्ने हिमालको सुन्दर छायाँले गर्दा यो भव्य देखिएको हो । यो बिचमा अलिकति फुकेको सखरखण्डजस्तो लाम्चो आकारको छ ।

हाम्रो मानसिक भोक नमेटिए पनि बिहानैदेखि परवाह नगरिएका पेटहरू भोकाएका छन् । आआफ्नो झोलाबाट रेडबुल, चाउचाउ, बिस्कुट, चिउराको प्याकेट निकाल्दै खाजा खानेहेतुले स्यानी गुप्ताको पश्चिमपट्टिको होचो थुम्कोमा चढ्छौँ । थुम्कोबाट उतापट्टिको अर्को अनपेक्षित दृश्य प्रकट हुँदा चर्मचक्षु विस्फारित हुन्छन् ! हाम्रा मुख बायका बायै हुन्छन् ! सास करीब करीब रोकिएको अवस्थामा पुग्छौँ । ओहो ! हामीले अहिलेसम्म हेरेको ताल त के ताल ? हामीले देखेको तालभन्दा दोब्बर ठुलो ताल त यतापट्टि पो लुकेको रहेछ । यसरी लुक्न सफल भएकोले गुप्ता दह भनिएको होला ।

यस तालमा सिस्नेले डुबुल्की मार्न रुचि देखाएको छैन । खोँचमा भएकोले ताल निकै गहिरो हुनुपर्छ । पानीको रङ गाढा निलो छ । यतापट्टि पनि ताल उतापट्टि पनि ताल देखिएपछि हामीभित्र हर्षको उछाल मच्चिन्छ ।

प्रकृतिको सृजना पनि अनौठो छ । रुकुमका प्रायजसो ठाउँमा प्राकृत रूपमै जुम्ल्याहा तालहरू सिर्जना भएका छन् । साँखका सानीदह र ठुली दह । बाँफीकोटको स्यार्पु र स्यानी दह । रुकुमकोटमा कमल दह र छिप्री दह । रन्मामैकोटमा सुनदह र  अप्सरा ताल । माछिमीमा आँखे गरा र सुपे गरा । खारामा काला पोख्रा र तेह्रकुने ताल । रुकुमलाई त जुम्ल्याहा तालको जिल्ला भनेर चिनाउन पनि मज्जाले सकिँदो रहेछ ।

यताको सुन्दरताले घण्टौँसम्म यत्रतत्र हराएका यात्रीहरूलाई एकत्र हुने अवसर मिलेको छ । हामी गोलघेरा बनाएर थुचुक्क बस्छौँ र झोलाबाट पहिल्यै झिकेका ड्राइफुडहरू बुकाउँदै र कुरुमकुरुम चपाउँदै  परमानन्दको अनुभूति साटासाट गर्छौँ । यही उपक्रममा आआफ्नो कल्पनाको लेप उतार्दै जान्छौँ ।

लैपाबाट साथ लागेर आएका बालयात्रीहरूलाई छोडेर हाम्रो यात्रामा सबैभन्दा कान्छा यात्री अनिल केसी हुनुहुन्छ, जो पहिलोपटक निकै लामो यात्रामा निस्कनुभएको रहेछ ।  अनिलजी देउखोलादेखि नै मोबाइलमा आफू हिँडिरहेको लोकेशन हेरेर हामीलाई वस्तुस्थितिको बारम्बार जानकारी दिँदै हुनुहुन्छ । उहाँले आफ्नो मोबाइलमा रहेको कदम नाप्ने एप्सबाट देउखोलादेखि गुप्तासम्म २५,५०० पाइला हिँडिसकेको जानकारी दिनुहुन्छ । नयाँगाउँले भाइ गोपाल खडका तिहारको अवसरमा गाउँ आएको बखत चिताउँदै नचिताएको अकल्पनीय सुन्दर ठाउँसम्म आइपुग्ने अवसर प्राप्त गरेकोमा मखलेल हुनुहुन्छ । उहाँ भन्नुहुन्छः खाई सार कि लाई सार, यस्तो ठाउँ हेरे पो सार, मरेपछि त लम्पसार ।

नरसिंह बुढा आफ्नो जिल्लाका धेरै पर्यटकीय स्थलहरूमा पुगे पनि यति सुन्दर ठाउँ कतैबाट नदेखिएको अनुभूति पोख्दै हुनुहुन्छ। हिमाल आरोही बमकाजी सिर्पाली आफूले विश्वका दर्जनौँ हिमाल आरोहण गरेको भए पनि आफ्नै घरको हिमाललाई  नजिकैबाट हेर्न पाउँदा धन्यधन्य भएको अनुभूति सुनाउँदै हुनुहुन्छ । यात्राका सबैभन्दा ज्येष्ठ सदस्य होमसम्धी जीवनमा पहिलोचोटि यति अनकन्टार स्थलमा आइपुग्दा कताकता हराएको जस्तो लागेको बताउँदै हुनुहुन्छ । यात्रीहरूले छोडिसकेर पनि पुनःयात्रामा जोडिन आइपुगेका दिलबहादुर खडका यहाँ आइपुग्न सफल भएकोमा खुसीले भुइँखुट्टा छैनन् । गुमेको अवसर पुनः प्राप्त गर्नुजत्तिको मज्जा अर्को के होला र ?

आफूलाई साहित्यकार भन्न लजाउने तर एकभाँते साहित्यकारलाई उछिन्ने एक्क केसी बेग्लै दुनियामा हराइरहनुभएको छ । समीपमै रहेको साथीले कोट्याएपछि हँ भन्दै झस्किनुहुन्छ । उहाँले सिस्नेलाई प्रेमी र गुप्तालाई प्रेमिकाको उपमा दिएर गुप्ताको तर्फबाट यस्तो कविता रचेर वाचन गर्नुहुन्छः

ए मेरो परमपृय परमतेजस्वी सिस्ने

उभिँदा उभिँदा तिमीलाई पट्यार लागेछ भने

ममा निसङ्कोच विश्राम गर्न आउनू है !

निमेषभरमै म तिमीलाई चैनको पूरा निद सुताउन सक्छु

मेरो मुलायम वक्षस्थलमा ।

 

तिमी आउनलाई मेरो सहमति लिइरहनु पर्दैन

मेरो मनमौजी हौ तिमी मनको राजा

तिम्रो सिँहासन ईः यहाँ निर्मित छ

जहाँ उषासँग झुल्किँदै आए हुन्छ,

मध्याह्नमा टल्किँदै आए हुन्छ,

गोधूलि सन्ध्यामा ढल्किँदै आए हुन्छ,

जुनेली रातमा रल्लिँदै आए पनि हुन्छ ।

 

कहिलेकाहीँ तिमीलाई

आफू कस्तो छु भनी ऐना हेर्न मन लाग्दो हो,

त्यतिबेला तिमीले मलाई हेर्नू है

मभित्र रहेको तिमीलाई दुरुस्तै देखाइदिउँला ।

पथप्रदर्शक गोपाल खडकाले दिएको जानकारीअनुसार कसैले यो ठाउँलाई लिरुमारे पनि भन्छन् रे । आफ्नो बाल्यकाल यतै बिताएका गणेशजीले भने लिरुमारे नाम नसुनेको बताउनुहुन्छ । स्थानीयहरूले शिरकाटिएको जस्तो देखिने भएकोले सिस्नेलाई शिरकाटा वा मुरकाटा र पुथालाई कुमकाटा भन्ने पनि गर्दा रहेछन् ।

“अब घर फर्कन ढिला हुन्छ है ! जाम् अब ।” बमकाजीको स्वरमा तन्नेरीहरूले स्वर थप्दै जर्‍याकजुरुक उठ्छन् ।

“तलको विशाल ताल त हेर्नै बाँकी छ । किन यहीँबाट फर्कने ? म त ठुली गुप्ताको पानी नछोएर मरे पनि फर्कँदिन ।” म जिद्दी कस्छु ।

“थकाइ मरेकै छैन । तल गए पनि फर्किए पनि एकछिनमा जाम् ला नि त ।” होमसम्धी र नयाँगाउँले गोपाल बसिरहेको ठाउँबाट उठ्नै मान्दैनन् ।

दुवैको मतिमा लाग्ने हो भने ठुलीगुप्ता हेर्न छुट्न सक्छ । गुप्ता हेर्न यत्रो दुक्ख बेसाएपछि १० मिनेट तल नझरेर किन यत्तिकै फर्कने ? भनी मेरो मन कस्सियो । बालयात्रीहरूलाई अघि लगाएर तन्नेरीहरू टुम्कातिर उकालो लागिसकेका थिए भने होमसम्धी र गोपालभाइ ठाउँको ठाउँ थिए । मेरो पालो खुरुरु तलतिर कुदेँ । जति तल झर्‍यो, ठुलीगुप्ता उति विस्तीर्ण हुँदै थिइन् ।

मृदु औ मोहक ठुलीगुप्ता भरिँदो बैँसले लट्ठ थिइन् । सुन्दरता अझै निखारिएको थियो । स्यानीगुप्ताभित्र सिस्नेको एकछत्र राज थियो भने ठुलीगुप्तामा उपवनको राज थियो । अपितु यो ताल निकै गाढा भएकोले स्पष्ट छायाँ देखिँदैनथ्यो । सतह छोएर बग्ने शीतल पवनले सार्वकालीन माधुर्य गुञ्जाइरहेको थियो । तालको मत्त यौवनको ऊष्मा अतल गहिराइबाट प्रकम्पित हुन्थ्यो र परपरसम्म तरङ्गित हुन्थ्यो । म त्यही तरङ्गमा लहराइरहेको थिएँ ।

यो ताल स्यानीगुप्ताभन्दा दोब्बरभन्दा ठुलो देखिन्छ । यसको चौडाइ करीब १८२ मिटर र लम्बाइ २१३ मिटर जति छ । ठुलीदह ‘पानको पात’ को आकारमा फैलिएको छ । बर्खामा भरिएको पानीको डोब माथि माथिसम्म देखिन्छ ।

समीपबाट ठुलीगुप्ताको पनि मनग्गे दृश्यपानपछि मेरो कौतुक साम्य हुँदै गयो । आजका ११ जना यात्रीमध्ये लावण्यले भरिपूर्ण रमणीय ठुलीगुप्ताको किनारमै विचरण गरेर वासनातृप्ति गर्न पाउने म एक्लो भाग्यमानी थिएँ । यस तालसँगको गहिरो दोस्ती मसँग मात्र गाँसियो । यसको गरिमा र महिमा गान गर्ने  जिम्मा मैले नै पाएँ ।

घुम्दै फिर्दै के आएँ यता

भङ्ग भयो गुप्ताको गोप्यता ।

गोपाल माथिबाट चिच्याउँदै थिएः “सर एक्लै नघुम्नू ! त्यतातिर त भालु हुनसक्छ भालु ! छिट्टै फर्किहाल्नुस् !”

हो कि न ? भनी मैले वरिपरिको घना जङ्गलतिर आँखा दौडाएँ । आसन्न दृष्टिपातले मेरो सातोपुत्लो नै उड्यो । जङ्गलैभरि त मलाई छोप्न आतुर सानाठुला भालु नै भालुहरू पो ढुकी बसेका रहेछन् । त्यो भयानक दृश्य देखेर मुटुले थातथलो छोड्न थाल्यो । लाग्यो, एउटै भालुको प्रतिरोध गर्न ह्याउ नहुनेले यति धेरै भालुहरूबाट कसरी बचुँला र म ?

थुरथुर काम्दै पछि सर्न थालेपछि सबैभन्दा नजिकको बडेमानको भालुसँग साक्षात्कार भयो । त्यो त केको भालु हुन्थ्यो ? गोब्रे सल्लाको ठोसो पो रहेछ ! ठोसोमा लागेर सुकेको बाक्लो झ्याउले गर्दा दुरुस्तै भालुजस्तै देखिएको ! बल्ल पर परका पनि भालु होइनन् भन्ने पक्का भयो र मुटुले ढ्याङ्रो ठोक्न छोड्यो । पथप्रदर्शक गोपाल पिउने पानी ल्याउन ठुलीगुप्तातिर झरेपछि अरू ढाडस मिल्यो ।

ठुली गुप्ताबाट बोत्तलमा ल्याएको पानी स्वच्छ र निर्मल देखिन्छ । निर्धक्क पिउँदै हामी पनि उकालोतिर लाग्छौँ । तल छोडिएका ठुलीगुप्ता र स्यानीगुप्ताले यति छिटो किन फर्केको भन्दै ओठ पिलपिलाइरहेका छन् । पारि सिस्नेको लहरले हामी फर्किँदै गरेको देखेर बादलका गुच्छाहरू फ्याँक्दै बिदाइको हात हल्लाउँछन् । टुम्काको डाँडोमा पुग्दा अघि लागेका साथीहरू हामीलाई नै पर्खी बसेका भेटिन्छन् । हेर्दाहेर्दै सिस्ने पूरै शृङ्खलालाई भुइँ कुहिरोले छोपिसकेको छ । लैपामै उज्यालो हुन दिएको भए हामी सिस्ने र गुप्ताको सपाट दृश्यपान गर्नबाट वञ्चित हुँदा रहेछौँ ।

गणेशजीलाई फोन लगाएर यहाँको प्रशासनिक विभाजनको बारेमा सोध्छु । उहाँले बताएअनुसार हामीले पैदल यात्रा थालनी गरेको सानीभेरी किनारको तिप्तारादेखि गुप्ताको छेउसम्मै पनि सिस्ने गाउँपालिकाको वडा नं २ नै पर्दोरहेछ र यसपछि मात्र वडा नं  १ सुरु हुँदोरहेछ । मुसीकोटबाट यात्रा थालनी गरेको १ घण्टापछि सुरु भएको रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई हामीले बालुवापारि नै छोडेका थियौँ । बालुवादेखि भुमे गाउँपालिका सुरु भएको थियो । बालुवाभन्दा केही अगाडिको खोलाबाट अर्को गाउँपालिका अर्थात् पुथा-उत्तरगङ्गा गाउँपालिका सुरु भएको थियो र सानीभेरीको पुल तर्नेबित्तिकै पुनः सिस्ने गाउँपालिका नै सुरु भएको थियो । गुप्ता दहतक पुग्दा रुकुम पूर्वका पूरै ३ वटा गाउँपालिकामा पाइला टेक्न पाउनु पनि यात्राको उपलब्धि हो ।

जेठदेखि भदौ, असोजसम्म भेँडा तथा भैँसीहरू लिएर गोठाला यो ठाउँमा पुगेर यतै गोठ बनाएर बस्दा रहेछन् । सिस्नेको वडा नं १ मा नौदह ताल, दोसान्त ताल, रक्त ताललगायतका अन्य हिमतालहरू पनि छन् रे । ती तालहरू सिस्ने आरोहीले मात्र हेर्न पाउँदा हुन् । पहिले यो ठाउँमा साउन पूर्णिमाको दिन दहीले हानाहान गर्ने मेला लाग्ने गर्दथ्यो रे । कालान्तरमा त्यो पर्व लोप भइसकेको रहेछ ।

गुप्ता पुग्ने अन्य बाटाहरूको बारेमा सोध्दा गणेशजीले अनेकौँ रुटहरूको बेलिबिस्तार लगाइदिनुभयोः

  • पूर्वतिरका जिल्लाहरूबाट यो ठाउँमा आउँदा मध्यपहाडी लोकमार्ग हुँदै काश्की पोखराबाट रुकुमकोटसम्म २ सय ४३ किलोमिटरको दूरी १० घण्टामा पूरा हुन्छ। यस्तै गरी सुर्खेतबाट करीब १५० किमि र दाङबाट १३५ किमिको सडक यात्रा पूरा गरी मुसीकोटमा आइपुगेपछि मुसीकोटबाट ३९ किलोमिटरको दूरी करीब डेढ घण्टामा पार गरेर रुकुमकोट पनि पुग्न सकिन्छ । रुकुमकोटबाट धाउने झरेर बालुवा हुँदै देउखोलासम्म १५ किलोमिटर पक्की बाटो छ । देउखोलाबाट ५ किलोमिटरको पैदल दूरी पार गरेर तिप्तारा पुग्न करीब डेढ घण्टा लाग्दछ । तिप्तारामा सानातिना होटेल र पसलहरू भेटिन्छन् ।
  • तिप्ताराबाट पेदीखोला–माछाठेक्नी– लामागार–थर्पुहाल्ना–तुबाङ–भुतछहरा हुँदै लैपा पुगेर पहिलो बास बस्न सकिन्छ । लैपाबाट मैनेरी–बुकाओराल–पेटारीखोला–हरेलाग्ना–च्यारसिङे–टुम्का हुँदै करीब १५ किमि पैदल बाटो पार गरेर ५ घण्टामा गुप्ता पुग्न सकिन्छ । अधिकांश बाटो खोलाको किनारैकिनार भएकोले यो बाटो बढी शीतल हुनुको साथै विविध प्रकारको भूसतह, विविध वनस्पति र नौला जन्तुहरूको अवलोकन गर्न सकिन्छ ।
  • तिप्ताराबाट नायगाड–सुद्री–भङ हुँदै भट्टेचौर गएर बास बस्न सकिन्छ र भट्टेचौरबाट अर्को दिन ओख्रना–दमार गाउँ थालगैरा हुँदै जङ्गलको बाटो भएर गुप्ता पुग्न सकिन्छ । यो बाटोमा बढी भाग ग्रामीण वस्ती पर्छ र उकालै उकालो पर्छ । यो बाटो लैपाबाट भन्दा निकै लामो पर्छ ।
  • तिप्ताराबाट दतकुना–टाटे फुर्का–नाङना–कालाढार–राम्राथला–जिजाउधुरी–ढोलढुङ्गा–बुकेरी हुँदै पनि गुप्ता दह पुग्न सकिन्छ । तर यो बाटो बढी उकालै उकालो र निर्जन नाङ्गो डाँडोको भागमा हिँड्नुपर्ने हुन्छ ।
  • त्यस्तै बाँफीकोटबाटै आठबीसकोट स्यालाखदी, रोकाजा, चैतीखारा–फिलङ्गी–कुएरी–पाथीभरे–धुरी–खारा हुँदै  यहाँ पुग्न सकिन्छ।
  • मध्यपहाडी लोकमार्गमा पर्ने काँक्रीबाट रिकाधुरी क्युबाङचौर–गरखानी कोल–गोलखाडा–राङ्सी जामाबगर–ज्योतिबाङ–मानमबगर–लाक्छेबाउलेको त्रिवेणी सल्लीबिसौना–मुसीको–जयोरीलाग्ना–दतकुना–जौँरी–कुरीपानी– कुचिबाङ–पाग्पोगे–लोल्माखोला–तुबाङ हुँदै प्वाङ जाने सडकको ट्रयाक खोलिसकेको छ । यसै गरी त्रिवेणीको सल्लीबिसौनाबाट सुद्री–बझेनीधारा–छ्यारछ्यारे–सल्लीबिसौना–भङ–भट्टेचौरतिर पनि भकाभक मोटरबाटोको ट्र्याक खोलिँदै छ । यी दुवै सडक पक्की भए भने गुप्ता पुग्ने पैदलमार्ग ३ घण्टा छोटो पर्न जानेछ । सडकमार्गबाट उत्तरगङ्गा सानीभेरी र लाक्छेबाउलेले बनाएका रन्मागार, भालुखाप्चे, सल्लीबिसौना, मानमबगर, जामाबगर, सन्ज्याबाङको बगर लगायतका दोभान र त्रिवेणी र सङ्गम स्थलहरूको दृश्यपान गर्न पाइनेछ ।
  • डोल्पातिरबाट द्वारी भञ्ज्याङ हुँदै पनि यहाँ आउन सकिन्छ ।

यसरी भङ्ग भयो गुप्ताको गोप्यताः

दुर्योधनको होस् कि अनुसूयाको गोप्यता दुवै तत्कालीन परिस्थितिका उपज थिए । दुर्योधनले त्यही गोप्यतालाई लुकाउने धृष्ठता गर्दा शत्रूको अगाडि कमजोर बन्न पुगे । अनुसूया त्यही गोप्यता बचाउन त्रिदेवको अगाडि बलियो बनिन् । अपितु दुवै गोप्यता कालान्तरमा उदाङ्गो बन्न पुगे । देवलोकमा त गोप्यता सदाकाल रहेन भने यो मर्त्यलोकको गुप्ताको गोप्यतालाई अँध्यारोमै छोड्नु युक्तिसङ्गत होइन ।  अतः निम्नानुसारका बुँदाहरूबाट गुप्ताको गोप्यता भङ्ग गर्ने धृष्टता गरेको छुः

  • पत्रपत्रिकामा प्रचारप्रसार गरिएजस्तो यहाँको बसाइ व्यवस्थापन नराम्रो पटक्कै छैन । स्यानी गुप्ता र ठुली गुप्ताको ठीक बीचमा निर्मित गेष्टहाउसको सुसञ्चालन गर्ने हो भने उत्तम बास व्यवस्थापन हुनसक्छ । टेन्ट लगेर जति जना गए पनि सयौँ टेन्ट अट्ने समथर ठाउँ छ । बाटो बाटोमा प्राकृतिक ओढारहरू भेटिन्छन् । भेडी गोठहरू थुप्रै भेटिन्छन् । देउखोलापछि करीब डेढ घण्टामा भेटिने नाइगारमा व्यावसायिक होटेलहरू छन् । नाइगारबाट करीब ३ घण्टामा पुगिने लैपाको होमस्टेमा हामी सुखसयलपूर्वक बसेका थियौँ । लैपाबाट सखारै हिँडेर ५ घण्टामै गुप्ता पुगी दृश्यावलोकन गरी आरामसँग लैपा फर्कन सकिन्छ । ओख्रेनातिरबाट गए त १ घण्टामा नै गुप्ता पुगिन्छ । यी लेकाली बस्तीहरूमा हामीले सोचेको भन्दा धेरै आतिथ्यतापूर्ण व्यवहारको साथै मनले चिताएकै अर्गानिक खाना खान पाइन्छ । यात्रामा निस्कँदा झोलामा ड्राइफुड र आवश्यक औषधिहरू हाल्नु त यात्रीहरूको पहिलो कर्तव्य नै भइहाल्यो ।
  • गुप्ता पुग्ने बाटो असहज छ भन्नु सोह्रैआना झुठ हो । गुप्तासम्मै भैँसी तथा घोडा खच्चरहरू दोहोरो हिड्न मिल्ने सरबाटो छ । बाटो न निकै उकालो छ, न अप्ठ्यारो । ९/१० वर्षका बच्चाहरूसँग रातिमा समेत हिड्न मिल्ने बाटोलाई कसरी अप्ठ्यारो भन्न मिल्छ ? प्राकृतिक छटाहरूको अवलोकन गर्न अनकन्टार क्षेत्रमा जाँदा यतिसम्म फराकिलो बाटो पाउनु त अहोभाग्यको कुरा हो !
  • गुप्ता दहमा पिउने पानीको अभाव छ भन्ने कुरा पनि सत्य होइन । शुद्ध निर्मल पानीको स्रोत भएको पेटारी खोलाको मुहानबाट पौने घण्टाभित्रै गुप्ता पुगिन्छ । जबकि खानेपानीको लागि नेपालमा २ घण्टा हिँडेर पानी ल्याउनुपर्ने गाउँहरू पनि अद्यापि छन् । पेटारी खोलाबाट नै एकदुई बोत्तल शुद्ध पानी साथमा लिन सकिन्छ । स्यानीदहलाई भैँसीले आहालको रूपमा प्रयोग गर्ने भए पनि नजिकै रहेको ठुलीदह स्वच्छ र निर्मल छ । हामीले त्यही पानी पियौँ । गुप्ताको पानीले कसैको स्वास्थ्यमा केही बिगार गरेन ।
  • विभिन्न सरकारी अभिलेखमा राखिएझैँ सिस्ने हिमाल कान्जिरोवा हिमशृङ्खलामा पर्दैन । यो धौलागिरि शृङ्खला अन्तर्गत पर्दछ जुन गुगल अर्थबाट पनि देख्न सकिन्छ । सरकारी अभिलेखमा भेटिने सिस्नेको उचाइ ५६८५ मिटर नभई ५९११ मिटर हो । उक्त कुरा पहिलो पटक प्रमाणित गर्ने सिस्नेका आरोही मनबहादुर खत्री हुन् ।
  • लामो दूरी हिंड्नुपर्ने हुँदा थकान र शारीरिक कमजोरी बढ्ने हुँदा बीचबीचमा बिसाउँदै जानुपर्छ । बाटैभरि बिसौना र चौतारीहरू भेटिइरहन्छन् । उचाइ बढ्दै जाँदा अक्सिजनको मात्रा कम हुने भएकोले उचाइ रोग (AMS) अर्थात् लेक लाग्ने हल्ला चले तापनि यो उचाइ भनेको ३५०० मिटरभन्दा तलै पर्ने भएकोले र ताल वरिपरि बाक्लो जङ्गल भएकोले सितिमिती लेक लाग्दैन । झन्डै ३५०० मिटरको टुम्का लेक काटेर गुप्ता पुग्दा ओरालो झरेर ३४०० मिटरको उचाइमा पुगिने भएकोले पनि तालमा लेक लाग्दैन । किनकि टुम्कामै शरीर वातानुकुलित (Acclaimatization) भइहाल्ने हुँदा कम उचाइको तालमा लेक लाग्ने सम्भावना कम हुन्छ । मौसम प्रतिकूल हुँदा चिसो, हिउँ, वा झरी आइपर्न सक्छ । त्यसको सुरक्षा प्रबन्ध यात्रा थाल्दा नै गरिनु बेस हुन्छ ।
  • दुर्गम स्थानहरूमा सुविधासम्पन्न सहर र सडक खोजेर पाइँदैन । सहर र सडकको प्रदुषणबाट बच्दै शान्त वातावरणमा भर्जिन प्राकृतिक स्थलहरूको अवलोकन गर्न नै दुर्गमको यात्रा तय गरिने हो । सडकभन्दा निकै टाढाका हिमालय, जङ्गल, र ग्रामीण क्षेत्रहरूको अनुपम सौन्दर्य अवलोकन गर्नु नै पदयात्राको मुख्य उद्देश्य हुन्छ ।
  • यात्रामा जङ्गली जनावरहरूको डर त हुनसक्छ तर ठुलो समूहमा हल्लाखल्ला गर्दै जाँदा वन्यजन्तु नजिक आउन सक्दैनन् ।
  • कहिल्यै नपुगेको र नचिनेको ठाउँमा पुग्दा दिशा वा बाटो हराउने सम्भावना प्रबल हुन्छ । स्थानीय पथप्रदर्शक लिएर जान सकिएमा एकातिर यात्रा सहज र सुनिश्चित हुन पुग्छ भने अर्कोतिर आसपासको क्षेत्रको मनग्गे जानकारी बटुल्न सकिन्छ । स्थानीयले पनि रोजगारी पाउँछन् । आफ्नै गासबासमा समेत मद्दत पुग्छ । हाम्रा पथप्रदर्शक गोपालले हामीलाई यी कुरामा प्रत्यक्ष मद्दत पुर्‍याए ।
  • पदयात्रा सुरु गर्नुअघि नै राम्रो योजना बनाइयो, मनमिल्ने साथीहरू जुटाइयो र मौसम तथा स्थानको जानकारी लिई आवश्यक सामग्री साथमा बोकियो भने यात्रामा आइपर्ने धेरै समस्या न्युनीकरण हुन्छन् । हामीले यस यात्रालाई उचित मित्रहरूको सम्मिलनमा, उचित मौसममा, उचित स्थानमा गरेको सर्वोचित यात्रा भनी नामाकरण गरेका थियौँ ।
  • गुप्ता दुई जिल्ला सदरमुकामहरू मुसीकोट र रुकुमकोटबाट सबभन्दा नजिकको निकै ठुलो पर्यटकीय तिर्थस्थल बन्ने सम्भावना छ । त्यहाँ देशविदेशका बालवनिता सबैले आरामसँग पुगेर मनग्गे प्राकृतिक दृश्यावलोकन गर्न सक्छन् । अतः विकासका साझेदारहरूले गुप्तालाई रुकुमको पर्यटकीय गन्तव्य तुल्याउन पहल गरे पाप लाग्दैन ।

अन्तमाः

प्राकृतिक धरोहरको आकर्षण कति बलवान हुन्छ भन्ने कुरा प्रकृतिको समीप पुग्नेलाई मात्र थाहा हुन्छ । फोटो भिडियो हेरेर प्रकृतिको सुन्दरताको भोक मेटाउन सकिने भैदिए भ्लगर बहिनी सिर्जना सिज्जू अनेकौँ हण्डर खाएर प्राण हत्केलामा राख्दै एक्लै डाँडाकाँडा विचरण पक्कै गर्दैनथिन् होला । नेपालमै थुप्रिएका सगरमाथालगायतका विश्वका उच्च शिखरहरू आरोहण गर्न दूरदेशहरूबाट कुनै यायावर नेपाल आइपुग्दैनथ्यो होला । भिडियो हेरेरै होटेलका मिष्ठान्नको स्वाद मेटिन्थ्यो भने संसारबाटै सम्पूर्ण होटेलहरू र खेतीपाती समेत धराशायी भइसक्थे । फोटो हेरेर प्राकृतिक दृश्यहरूको धित मेट्नु भनेको फोटो हेरेर स्वादिष्ट खानाको भोक मेट्छु भनेजस्तै हो । आँखाले प्रत्यक्ष हेर्नु र फोटो भिडियो हेर्नु नितान्त फरक कुराहरू हुन् । पदयात्राबाट स्थानीय संस्कृति, परम्परा, र जनजीवन नजिकबाट बुझ्ने अवसर प्राप्त हुने र विविध भाषा र भेषभूषाको अध्ययन गर्ने मौका समेत मिल्दछ ।

हामी टुम्काको लेकबाट लैपातिर झर्ने सुरसार गर्छौँ । आजै घर पुगेर २ दिनमै गुप्ता दह परिक्रमा गरेको इतिहास रचाउन तन्नेरीहरूलाई हतारो भइसकेको छ । होमसम्धीले ओझेल पर्दै गरेको गुप्तालाई हेरेर ठाडी भाका रन्काउनुहुन्छः

बेलि बिबै आज शुक भोलिको छन्चर

यै हुन्च र म आउँदिन धौ जानु हुन्च र ।।