भ्रमण गर्नु एक रोमाञ्चपूर्ण र अति मनपर्ने कार्य लाग्छ मलाई । अझ समूहको भ्रमण झनै रमाइलो लाग्छ । पाल्पा जिल्लामा दर्ता भएर तानसेनमा सेवामूलक गतिविधि सञ्चालन गरिरहेको रविकिरण समाज तानसेनले कोरोना महामारीमा बाहेक हरेक वर्ष आफ्ना सदस्य परिवारका लागि विभिन्न धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरूमा भ्रमणको आयोजना गर्ने गर्दछ । यस वर्ष पनि कार्तिक १३ र १४ गते दुई दिन बुटवल उ.म.पा. नयाँगाउँमा रहेको मुक्तिनाथ मन्दिर, कपिलवस्तुको जगदीशपुर ताल, प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीको नरपानीमा रहेको सुपादेउराली भगवतीको अवलोकन, दर्शन गर्ने उद्देश्य राखेर भ्रमणको कार्यक्रम बनायो । संस्थाका अध्यक्ष सूर्यप्रसाद न्यौपानेको नेतृत्त्व र सचीव हरिप्रसाद घिमिरेको सहजीकरणमा भ्रमण हुने निश्चित गरियो ।

प्रस्थानः

भ्रमण दुई दिनको थियो । पुग्नुपर्ने गन्तव्य थिए चारओटा । सीमित समय थियो मात्र दुई दिन । समयको पावन्दी थियो । हामीलाई अलमल गरेर अबेर गर्ने समय थिएन । २५ जना यात्री र दुई जना बस स्टाफ गरी जम्मा २७ जनाको टोली १३ गते बिहान सवा चार बजे हाम्रो बस तानसेनको नारायणस्थान चोकबाट प्रस्थान गर्यो ।

बिहान सबेरै सडकमा बढी ट्राफिक थिएन । सबैको खाली पेट घुम्तीयुक्त सडक । गति बढाए, बसलागेर उल्टी हुने पनि सम्भावना थियो । चालकलाई बस बिस्तारै हाँक्न आग्रह गरियो र चालकबाट त्यस कुराको पालना भयो । बस बर्तुङ्गबाट अघि बढेपछि भने साथीहरूको अधकल्चो निदले फेरि एकैछिन भए पनि निद्रादेवीको शरण माग्यो । आ–आफ्नै सिटमा साथीहरू निदाउन थाल्नुभयो ।

झुम्सा नजिकै पुगेपछि बस रोकियो । “ल पिसाब लागेको छ भने पिसाब फेर्नुस्” भन्दै सहचालक भाइ तल ओर्ले । हामी सबै बसबाट ओर्लेर पिसाब फेरी हलुका भयौं । त्यसपछि अगाडि बढेको बस बिहान ६ बज्दानबज्दै नयाँगाउँको मुक्तिनाथ मन्दिर पुगेर रोकियो ।

मुक्तिनाथ मन्दिर दर्शनः    

हामी सबै मन्दिरभित्र प्रवेश गर्यौं । व्यक्तिमा रहेको धार्मिक आस्थाले पारेको प्रभाव, अवस्था र प्रत्येकको व्यक्तिगत उद्देश्यअनुसार हामीले मन्दिर अवलोकन, दर्शन, पूजाअर्चना आदि कर्म गर्र्यौँ । बिहान सबेरै पुजारीहरूबाट भगवानका स्तुतिहरू पाठ भइरहेको थियो । भेटी ग्रहणका लागि भने जुन मन्दिरमा जाँदा पनि पुजारीहरू बडो तयारीका साथ दानपात्र अगाडि राखेर बसेको पाइन्छ । यहाँ पनि त्यसको अपवाद थिएन । पैसाले भगवान् खुशी हुन्छन् कि आस्थारूपी पुष्पले ? म सधैँ अलमलमा हुन्छु । यो कुरा प्रष्ट पार्न भगवान आफू बोल्दैनन् । किन हो कुन्नि बोल्ने पुजारीका कुराले चित्त बुझाउनै सकेको छैन । यति कुरा गर्दा पनि नास्तिक भएको दोष आउँछकि भन्ने डर लागेको छ । जे होस् हामीले गच्छे अनुसारको भेदी, दान चढायौं । पुजारीबाट टीका प्रसादादि ग्रहण गरेर विलम्ब नगरी कपिलवस्तुस्थित जगदीशपुर ताल अवलोकन गर्न यात्रा शुरु गर्यौं ।

जगदीशपुर तालको यात्राः     

यात्राका क्रममा हाम्रा अगाडि सडकको दायाँबायाँ शहरोन्मुख बस्तीहरू, पहेँलपुर धानका खेत, कहीँ धान थन्क्याइसकेर तोरी, मसुरो छर्न खेत जोताई जस्ता दृश्यहरू हेर्दै अघि बढ्दै गयौं । बिहानको समय भएर होला सडकमा कम बाहन भेटिन्थे । कोलाहल र धूलो कम भएकाले ट्राफिक जाम थिएन । बिहानको झुल्के घाम, स्वच्छ शीतल हावामा आनन्दमय र रोमाञ्चपूर्ण बनेको थियो हाम्रो यात्रा ।

हामी अब वनकटहवा, जीतपुर हुँदै अनेक पुलपुलेसा पार गरी रामापुर पुग्यौँ । यो त्यही ठाउँ थियो जहाँ प्रख्यात पुराणवाचक पण्डित नारायणप्रसाद पोखरेलको हत्या भएको थियो । कुन मकसदले त्यो हत्या गरियो थाहा छैन तर हजारौँ जनताको बलिदानले राजनैतिक परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न नसकेकोमा भने खिन्नता बोध भयो । निराशाको लामो निश्वास छोड्दै आँखा चिम्लिएँ केही बेर ।

हामी अब सालझण्डी आइपुगेका थियौं । यहाँबाट अर्घाखाँची हुँदै बाग्लुङ्गको ढोरपाटन पुग्ने लोकमार्ग निर्माणाधीन अवस्थामा छ । यो मार्ग यस क्षेत्रको समृद्धिको राजमार्ग बन्ला । कृषि, उद्योग, व्यापार, पर्यटन आदि क्षेत्रको विकास भई देशको समृद्धिमा टेवा पुग्ला भन्ने मनका लड्डु पकाउन थालेँ ।

अब भने सडक वनक्षेत्रमा प्रवेश गर्यो । अगाडि सडक किनारामा एक हुल बाँदर खानेकुरा खोज्दै गरेका देखिए । बस नजिकै पुग्दा साना लालाबाला रुखबुट्यानतर्फ दौडिए । बानी परेका ढेडुले भने यसो तर्केर बाटोमात्रै छाडिदिए । बिहान घाम लागेपछि आहारको खोजीमा निस्कने र घाम डुब्न लागेपछि खान बन्द गर्ने उनीहरूको बानीको अनुशरण मात्रै गर्न सक्ने हो भने मान्छेको स्वास्थ्यमा सुधार भई बाँदर जस्तै फुर्तिला बन्थे होला भन्ने लाग्यो । पृथ्वीको सबभन्दा बुद्धिमान प्राणी मान्छेले बाँदर जस्तो जनावरबाट शिक्षा लिन कहाँ सुहाउँछ होला र !

अब चन्द्रौटा बजार आइपुगियो । कपिलवस्तु शुरु भइसकेको थियो । धर्तीको मैलो धोई वर्षामा आफू पनि मैली भएर वाणको गतिमा बहने वाणगङ्गा अहिले शरदमा भने सफा, स्निग्ध, सङ्ली देखिन्थिन् । “गङ्गा तवः दर्शनात् मुक्ति” भन्ने उक्ति स्मरण गर्दै मनमनै नमन गरेँ, वाणगङ्गालाई ।

नदीहरू मानव क्रियाकलापकै कारण संहारक बन्दछन् । बनेका छन् । बुद्धिले काम लिनसके नदी हाम्रा समृद्धिका मार्ग बन्दछन् । कृषि, यातायात, पर्यटन, उर्जालगायत धेरै कुरासँग जलक्षेत्र जोडिएको छ । यिनै नदी किनारामा हाम्रा ठूलाठूला सभ्यता विकसित हुन सकेका हुन् ।

जगदीशपुर तालः

कोइली, वनगाईबाट वाणगङ्गाको लक्ष्मणघाट पुल तरेपछि सात किलोमिटर दक्षिण जगदीशपुर ताल रहेको बाटो किनारामा राखिएको सूचना पाटीले बतायो । बाटोमा वनकरिया, थारु होमस्टे हुँदै एकैछिनमा जगदीशपुर ताल पुगेर बस रोकियो । अब हाम्रा अगाडि जगदीशपुर ताल लमतन्न फैलिएको थियो । सफा, सुन्दर, विशाल तालले मौन भाषामै हाम्रो अभिवादन गरेजस्तो प्रतीत हुन्थ्यो । बिहानका घामका किरण तालको पानीमा परावर्तित भई हाम्रो आँखामा अनेकौँ अनेकौँ सूर्य एकैसाथ चम्केजस्तो लाग्थ्यो । जाडो ठाउँमा बस्ने चराहरू जाडो छल्न हिँउदमा यहाँ आउने गर्दछन् । एक हुल सारस पानीमा डुबुल्की मार्दै आफ्नो आहारा माछा खोज्दै थिए । हामीले धेरै चरा देखेनौँ । त्यहाँ ड्युटीमा तैनाथ प्रहरीसँग जिज्ञासा राख्दा चराहरू आउने बेला अझै भइनसकेको जानकारी पायौं ।

त्यस क्षेत्रमा संकटापन्न मलाहा बिरालो (फिसिङ्ग क्याट) पाइने र कसैले यसको चोरीशिकारी गरेमा दण्डजरिवाना हुने सूचनाले ध्यान तान्यो । तालका किनारामा फुलेका साना, सुन्दर श्वेतकमलका फूल मायालु शिशुजस्ता देखिन्थे । कतैकतै ठूला रक्तकमल फक्रँदै थिए ।

“यहाँ माछा मार्न मनाही छ” भन्ने सूचनापाटी पनि टाँगिएको थियो, तर त्यहीँ सूचनापाटी नजिकै दुई जना बालक एउटाले बल्छी र अर्कोले हातमा जाल लिएर माछा मार्ने प्रयत्नमा मस्त देखिन्थे । त्यहाँ नियमको परिपालना भएको देखिएन । मलाहा बिरालोको पनि यही अवस्था त होला नि ! शिकार गर्न हुन्न भन्ने, भेटे मारिहाल्ने । सूचनापाटीको सन्देश अनुसार नियमको राम्रो पालना हुनैपर्ने देखियो ।

ताल विशेष गरी वरपरका खेतहरूमा सिंचाइ गर्नकै निम्ति बनेको भए तापनि यसले पर्यटनमा पनि राम्रो टेवा पुर्याएको रहेछ । तालको किनारमा ठाउँठाउँमा पानी खोल्न र बन्द गर्न भल्भहरू थिए । ताल बनेपछि कृषिमा सिंचाइ मात्रै नभएर ताल अवलोकन, नौकायन, मत्स्यपालन जस्ता कार्यक्रम सञ्चालन गरेर मनग्गे आम्दानी लिन सकिने रहेछ । टाढा चिसो ठाउँबाट चराहरू बसाइँ सरेर आउने हुँदा पंछी संरक्षणमा समेत राम्रो टेवा पुग्दो रहेछ । हाम्रो माडीमा पनि ताल भइदिए कति मनोहर हुन्थ्यो होला, कति धेरै पर्यटकीय क्रियाकलाप हुन्थ्यो होला भन्ने कल्पना मनमा आयो । यद्यपि अहिले त्यो सम्भव देखिंदैन । यो मनलाई कल्पना गर्न केही पनि असम्भव देखिंदैन तर कहिलेकाहीँ असम्भव देखिने कल्पना पनि साकार भएका देखिएका छन् ।

हामीले ताललाई पृष्ठभूमिमा राखेर फोटोहरू खिच्यौं । तालले सबैको ध्यान तानिरहेकै थियो तर हाम्रा अरू पनि गन्तव्य थिए र समय सीमित थियो । हामीले अनिच्छापूर्वक ताललाई बाइबाइ गरेर बिहान ८.३० बजे नै त्यहाँबाट अघि बढ्यौँ ।

यात्रा स्वर्गद्वारीको

जगदीशपुरबाट अघि बढेपछि कैला खोलाभन्दा केही अगाडि पश्चिमबाट पूर्व आउँदै गरेको बस सामान्य दुर्घटना भई सडक किनारमा खडा थियो । अलपत्र यात्रुहरू टक्य्राक्टुक्रुक्क बसेर यात्राको सामान्य अवस्था पर्खिरहेका थिए । यात्रामा अवरोध भएपछि कति असहज हुन्छ ! हे प्रभु ! हाम्रो यात्रा सुरक्षित होस् ! ईश्वर पुकारा गर्दै अघि बढ्यौँ । बाटो अब फेरि वनक्षेत्र भएर थियो । वनकसाबाट पहाडी बाटो शुरु भयो । अलि पर पुग्दा २३ कि.मी. पर भालुबाङ्ग रहेको सूचनापाटीले बतायो ।

भालुबाङ्गतर्फको यात्रामा बाटोमा जङ्गली खोला, चोर खोला, ठाडे खोला, सामा खोला, कैला खोला, सुरही खोलालगायत धेरै पहाडी खहरे खोलाहरूलाई पछि पार्दै अन्ततः राप्ती नदी तरेर ११ बजे भालुबाङ्ग पुग्यौँ । हामीलाई बिहान चियानास्ताको अवसर पनि जुटेको थिएन । निकै भोक लागेको थियो । त्यहीँको प्यूठानी आचार्यको होटलमा विना ब्रेकफास्टको लन्च (ब्रन्च) खायौं ।

खाना खाएपछि विलम्ब नगरी स्वर्गद्वारीको गन्तव्यतर्फ अघि बढ्यौँ । अब पूर्वपश्चिम राजमार्ग छोडेर बाटो उत्तरपूर्वतर्फ लाग्यो । साँघुरा पिच सडकमा हाम्रा बसचालक भीम थापाले बडो कुशलतापूर्वक बस हाँकिरहेका थिए । राप्ती नदीलाई दायाँ पारेर हामी अघि बढिरह्यौँ । कुलुले, खहरे खोला, डुम्रे खोला पार गर्दै ठाउँठाउँमा राखिएका दुर्घटना हुने जोखिम क्षेत्रका सूचनाबाट सजग बन्दै चालकले हाम्रो यात्रालाई निरन्तरता दिइरहे । वारिपारि राप्ती नदी किनाराका विशाल उर्वर फाँटहरू अवलोकन गर्दै जसपुर भन्ने ठाउँमा पुग्यौँ । अब भने राप्ती नदी सडकबाट मात्र दश मिटर जतिमात्र तल थियो । नदी किनारैकिनार माण्डवी गाउँपालिका वडा नं. ३ को वडा कार्यालय हुँदै घ्याङ्घ्याङ् खोला पुल तरेर लामाचौर पुग्यौँ । यहाँ राप्ती धेरै जङ्घार भई फराकिलो बनेको रहेछ । जुडापाटा भन्ने ठाउँबाट भने नदी फेरि साँघुरिएको थियो ।

कागपाती खोला तरेपछि अलि उकालो यात्रा शुरु भयो । बाँझीपुरको विशाल फाँटले कृषिमा प्यूठान आत्मनिर्भर छ भन्ने बताइरहेको थियो । जिमुरपाटापछि भिंग्री आइपुगियो ।

भिंग्री स्वर्गद्वारी जाने जक्सन रहेछ । हाम्रो बस यहाँ रोकियो । हामीले चियाखाजा खायौं । स्वर्गद्वारी मन्दिरमा पूजाआजाका लागि पूजा सामाग्री, गौसेवाका लागि नूनसातुको जोहो गरेपछि हामी उकालैउकालो स्वर्गद्वारीतर्फ लाग्यौँ । राप्ती नदीलाई अहिलेसम्म दायाँ पारेर नदीको बहाव विपरीत पूर्वोत्तरतर्फ यात्रा गरिरहेका हामी अब भने नदीलाई दायाँतर्फ छोडेर उत्तरतर्फको उकालो चढिरहेका थियौं ।

खुलेको घमाइलो मौसममा उकालोका नागबेली घुम्तीहरू पार गर्दै बस अघि बढिरहेको थियो । आधा उकालो पार गरेपछि घडेरी भन्ने ठाउँनेर स्वर्गद्वारीबाट फर्केका सवारीसाधनहरूले केहीबेर विश्राम गर्नुपर्ने ठाउँ रहेछ । यहाँ प्रहरीको पनि उपस्थिति थियो । यस ठाउँमा भयानक दुर्घटना भई धेरै मानिसहरू हताहत भएका कारण यो नियम लागू गरिएको चालक भीम थापाले बताए ।

स्वर्गद्वारीबाट फर्किँदा लामो ओरालो सडकमा लगातार ब्रेक लगाएर सवारीसाधन चलाउनु पर्छ । ब्रेकमा अत्यधिक घर्षणले तातेर ब्रेकफेल भई दुर्घटना हुने अत्यधिक सम्भावना हुनेहुँदा यो जोखिम कम गर्न यस्तो नियम बनाइएको जानकारी पाइयो । केहीबेर रोकिनु परे पनि सुरक्षाका दृष्टिले यो नियम उचित लाग्यो ।

हामी अब भिंग्रीकोट आइपुगेका थियौं । यहाँबाट अगाडि अझ डरलाग्दा घुम्तीहरू थिए । साँघुरो पिच सडकका किनारामा फलामे बार बनाएर सुरक्षाको केही व्यवस्था मिलाइएको रहेछ । अब भने जङ्गल पुरै कोणधारी थियो । बाटोमा धर्मशाला भन्ने ठाउँमा केही होटलहरू पनि भेटिए । बसभन्दा साना सवारीसाधन बढी चल्ने रहेछन् यहाँ । भिंग्रीबाट अटो पनि चल्दो रहेछ । माथि आएपछि अलि तेर्सो सडक भेटियो । त्यहीँ एउटा सानो डाँडो चारपाटे रुमाल जस्तै चिटिक्क र सम्म परेको रहेछ । डाँडाको नाम पनि “रुमाले” ठ्याक्कै कस्तो मिलेको नाम !

जहाज आकासिए झैँ आकासिंदै थियौं हामी माथिमाथि । अब त आकाशको बादल पनि नजिकै भएजस्तो लाग्थ्यो । झन माथि गयो झन अग्ला डाँडा देखिन्थे वारिपारि । धनबाङ्ग पुगेपछि समथर परेको ठाउँमा बस रोकियो । यहाँबाट अगाडि बाहन जाँदैनथ्यो । आ—आफ्ना झोलाझाम्टा बेकेर बसबाट ओर्लियौं ।

स्वर्गद्वारीः

हामी स्वर्गद्वारी डाँडाको फेदीमा पुगेका थियौं । यहाँबाट आधा घण्टा उकालै उकालो चढेर स्वर्गद्वारी मन्दिर पुग्नुपथ्र्यो । उकालो चढ्न र ओर्लन ढुङ्गा छापेको सजिलो सिंढीको बाटो बनाइएको थियो । बीचमा स्टीलको रेलिङ्ग । थकाई लाग्दा वा कमजोर स्वास्थ्यका यात्रु रेलिङ्ग समातेर चढ्न ओर्लन सकिने । अशक्तहरू धनबाङ्गबाट घोडामा चढेर पनि जान सकिने व्यवस्था रहेछ । ठाउँठाउँमा फोहर गर्न नहुने सन्देशका सूचना र फोहर विसर्जन गर्न राखिएका कन्टेनरहरू थिए तर धनबाङ्गबाट स्वर्गद्वारीसम्मको आधा घण्टाको पैदल बाटोमा कहीँ पनि शौचालय भने थिएनन् । हामीलाई यो अभाव भने खट्कियो ।

उकालोमा दायाँबायाँ ठूला—ठूला गुराँसका रुखहरू पहरेदार जस्तै गरी खडा थिए । चैत महिनामा यी गुराँसहरू फुलेर पुरै वन राताम्य हुँदा यो ठाउँ कति मनमोहक हुन्छ होला । यहाँ पैयुँका रुखहरू पनि रोप्ने हो भने यसको गुलाबी छटाले हिउँदमा यहाँ आउने भक्तजनहरू कति मोहित हुन्थे होला ! लालीगुराँस जस्तैगरी पैयुँको बोटहरू पनि रोपियून् भन्ने कामना गर्दै उकालो चढ्दै गयौं हामी । बिस्तारै उकालो चढेर आधा घण्टामा, ठीक चार बजे हामी मन्दिरमा पुग्यौँ ।

मन्दिर परिसरः    

उज्यालैमा मन्दिर अवलोकन, दर्शन, जानकारी संकलन गर्न पर्याप्त समय थियो । ती काम भोलिलाई थाँती नराखी आजै सक्नुपर्छ भन्ने लाग्यो र सकेजति जानकारी संकलनतर्फ लाग्यौँ । म आफू सोह्र वर्षअघि पनि यस ठाउँमा पुगेको थिएँ । त्यो बेलाभन्दा अहिले मन्दिर परिसरमा धेरै परिवर्तन भएको पाइयो । विभिन्न संघसंस्थाहरूको सहयोगबाट त्यहाँ आवश्यक धेरै संरचनाहरू निर्माण भएका रहेछन् ।

हामीले हाम्रो दर्शनार्थी संख्या मन्दिर प्रशासनमा दर्ता गर्यौं । साँझ विश्रामका लागि खाना, कोठा र बेड बुक गर्यौं । सहुलियत दर रहेछ । आफ्ना झोलाहरू केठामा राखेर मन्दिर दर्शन, पूजाअर्चना, घुमीघुमी मन्दिर परिसर र वरपरको दूश्यावलोकनमा रमायौं । निकै उचाइमा रहेको त्यो देवस्थलीबाट देखिने प्राकृतिक दृश्य धित मरुन्जेल हेर्यौं ।

पहिले यहाँ आउँदा यहाँका मुख्य गुरुसँग भेटेर त्यसबेला मन्दिरबारे जानकारी लिने क्रममा मन्दिर व्यवस्थापनमा आइपरेका समस्याका बारेमा पनि जिज्ञासा राखेको थिएँ । उहाँले दाङमा रहेको मन्दिरको गुठी जग्गा जनआन्दोलनका बेला कब्जा भएको बताउनुभएको थियो । अहिले त्यो समस्या समाधान भयो होला कि के भयो होला ? जिज्ञासा मनमा आयो । स्वर्गद्वारी मन्दिरका मुख्य गुरु देवता भण्डारी हुनुहुन्छ भन्ने जानकारी पाएपछि उहाँलाई सोधखोज गरी भेटेँ । उहाँ कसैसँग फोनमा व्यस्त हुनुहुन्थ्यो त्यसबेला । उहाँसँग दाङमा रहेको मन्दिरको गुठी जग्गाको समस्याको बारेमा जिज्ञासा राखेँ । “कब्जा गरी छाडे नि । अहिले पनि फोनमा जग्गा पास गरी’दे भनी धम्काइरहेका थिए” उहाँले उत्तर दिनुभयो ।

दाङमा रहेको हजार बढी बिघाको जग्गाको कुत (धेरैले नदिएको जानकारी),  संघसंस्थाहरूको सहयोग, भक्तजनहरूबाट प्राप्त दानदातव्य, चन्दा, भेटीको आम्दानीबाट मन्दिरको सम्पूर्ण खर्च व्यवस्थापन हुँदोरहेछ ।

मन्दिरमा अहिले ५०० जति गाई र तिनको सेवा गर्ने पर्याप्त सेवकहरू रहेछन् । त्यहाँ स्थापित “श्री बालतपसी वेदविद्यालय गुरुकुलम्” वेद मूल विषयसहित अरु विषय कक्षा १२ सम्म पठनपाठन हुँदोरहेछ ।

स्वर्गद्वारी गुफा अवलोकनः

मन्दिरदेखि एक किलोमिटर पूर्वमा एउटा सानो गुफा रहेछ । त्यो गुफा अवलोकन गर्न जानेहरूले गुफा दर्शनपछि सानासाना ढुङ्गा बटुलेर पर्खाल जस्तै बनाउने परम्परा रहेछ । यसको कारणबारे अरुसँग जिज्ञासा राख्दा परलोकपछि बस्ने घर बनाएको हो भन्ने रोचक जानकारी पाएँ । कति उदेक लाग्दा चलन छन् हाम्रा ! यो लोकको भन्दा पनि परलोकको चिन्ता ! म आफू पनि यही समाजको उपज । “गतानुगतिको लोको मालोको परमार्थिव” भन्ने भनाइ सम्झँदै आफूले पनि परलोकपछि स्वर्गद्वारीमा एउटा आवास पक्का गरें ।

गुफा परिसरसँगै जोडिएर रहेको स्वर्गद्वारी लेकको शिखरमा नेपाली सेनाको बर्दबहादुर गणको क्याम्प रहेछ । आर्मीको “यहाँ फोटो खिच्न मनाही छ” भन्ने सूचनापाटीको सन्देशलाई पालना गर्यौं हामीले । फोटो लिँदा आर्मी परिसर नआओस् भन्नेमा सचेत भयौं ।

आरती, भोजन र भजनः      

घाम डाँडामा डुब्दै थियो । यस्तैमा तल बेसीतिरबाट एक्कासी कुहिरोको मुस्लो आएर हामी भएको ठाउँलाई डमक्कै ढाक्यो । चिसो बढ्न गयो । यसैबेला मन्दिरमा सन्ध्या आरतीको शंखघण्ट बज्न थाल्यो । हामी हतारहतार आरती भेटाउन मन्दिरतर्फ लाग्यौँ र आरतीमा सरिक भयौं केहीबेर ।

आरतीपछि भोजनका लागि भोजनालयमा गयौं । पच्चीस जनाको हाम्रो टोलीको कुपन देखाएर त्यति नै थाली समात्यौँ र मेचमा प्रतीक्षा गरेर बस्यौँ केहीबेर । एकछिनमा चार पाँच जना सेवकहरूले एकएक वटा बाल्टीमा दालभात, तरकारी, अचार हाम्रा थालमा क्रमशः राख्दै जानुभयो । धेरैथरी गेडागुडी मिसाएर बनाएको दाल, राज्मासमेत मिसाएर पकाएको कलिलो सागको स्वादिलो तरकारी, निकै स्वादिष्ट थिए । भोक राम्रै लागेको थियो, भरपेट खायौं ।

खानापछि मन्दिरमा गरिने भजनकीर्तनमा सरिक हुने सूचना थियो हामीलाई । भजनकीर्तन भर्खर शुरु भएको थियो । हामी सबै त्यसमा सरिक भयौं । पण्डितहरूले वाद्यवादन बजाउने र भजन गाउने गर्नुभयो । हामी सबैले खूब नाच्यौँ । नाचमा अरु समूहका दर्शनार्थी पनि सरिक हुनुभयो । एक घण्टासम्म भजनकीर्तन र नृत्यको भव्य रमाइलो भयो । त्यसपछि भने विश्रामका लागि आफ्नो कोठातिर लाग्यौँ ।

हामी पच्चीस जनाकै लागि अलगअलग खाट थिए । आरामदायी ओछ्यान, न्याना कम्बल र सिरक प्रशस्त थिए । हामी रातको नौ बजे नै सुत्यौँ । लामो यात्राको थकाइ थियो । एकैछिनमा भुसुक्कै निदायौं ।

बिहान तीन बजेपछि भने हामी उठेर क्रमशः शौचादि र स्नान कर्म थाल्यौँ । बाथरुममा भने अलि फोहर पायौं । फोर पानी भरिने, वाशबेसिनको पानी नालीमा नगई भूइँमा खस्ने, बाथरुममा तौलिया झुण्ड्याउन ह्याङ्गरसमेतको व्यवस्था नहुनु व्यवस्थापनका कमजोरी थिए । यी अत्यावश्यक सुधार गर्नैपर्ने पक्ष हुन् जस्तो लाग्छ । यी कुरा सजिलै समाधान गर्न सकिने हुन् भन्ने लाग्छ । यसमा छिट्टै सुधार भैदियोस् भन्ने अपेक्षा राखियो ।

नित्यकर्म बेलैमा सकेर मन्दिरमा गयौं । बिहान चार बजेदेखि नै पण्डितहरूबाट पूजा—अर्चना र पाठपारायण भइरहेको थियो । हामीले पनि फूल, अक्षता, भेटी, यथाशक्य दान आदि मन्दिरमा चढायौं । पण्डितबाट आशिर्वचनसहित टीका, फूल, प्रसाद ग्रहण गर्यौं । मन्दिरहरूको परिक्रमा गरी कोठामा गएर आ—आफ्ना झोलाहरू बेकेर बाहिर निस्कियौं ।

फिर्तियात्राः    

पूर्वमा सूयोदयको भव्य छटा देखियो । क्षितिजको लालिमालाई झुल्किनै लागेको तेजिलो सूर्यका किरणले विखण्डित गर्दै थियो । सूर्योदयको शुभमुहूर्तमा आनन्दित हुँदै मन्दिरबाहिर निस्कियौं । फटाफट सिंढी ओर्लेर केहीबेरमा तल हाम्रो बस रोकिएको ठाउँ धनबाङ्ग पुग्यौँ । बसका स्टाफ बसको ढोका खोलेर तैयार थिए । हामी छिटोछिटो बसमा चढेर आ—आफ्नो सिटमा बस्यौँ ।

बस ओरालोतर्फ बढ्न लाग्यो । ओरालोको बीचमा सवारीसाधन विश्राम गर्ने ठाउँमा आज प्रहरी थिएनन् । नियमअनुसार त्यहाँ बस रोकिनु पर्ने केहीबेर तर रोकिएन । हिजो सवारीसाधन रोकिनुपर्ने कारणको सविस्तार ब्याख्या गरेका बसचालक आफैंले आज बस रोकेनन् । “किन बस नरोकेको ?” सोधेँ । “केही हुँदैन । मैले विस्तारै हाँकेको छु” उत्तर आयो तर चित्त बुझेन । बसले सुरक्षाकर्मीको सन्देश पालना नगरेको मन परेन । सुरक्षाकर्मी त्यहाँ तैनाथ भइदिएको भए उनले बाध्य भएर रोक्नै पर्थ्यो । अलिकति छिद्र पायो कि कानून उल्लंघन गरिहाल्ने, दुर्घटना भए कोकोहोलो मच्चाउने हामी कहिले सुध्रने होला !

एकछिन पछि बस भिंग्री आइपुग्यो । रोकियौं हामी त्यहाँ । अघिल्लो दिन चियानास्ता खाएकै होटलमा आज पनि चियानास्ता खायौं । बिहान ९.१५ मा राप्ती नदीलाई बायाँ पार्दै अघि बढ्यौँ ।

सुपादेउरालीको यात्राः

आज फिर्ती यात्राको क्रममा हाम्रो रुट हामी आएकै बाटो नभएर फरक थियो । हामी प्यूठानको खलङ्गा हुँदै अर्घाखाँची निस्कने र सुपादेउराली भगवतीको दर्शन गरेर समय रहे अर्घाखाँचीकै पाणिनी तपोभूमिसमेत अवलोकन गर्ने कार्यक्रम थियो । चालकलगायत हामी कोही पनि यात्रा नगरेको नौलो रुट थियो त्यो । कस्तो होला त्यो अन्जान रुटको यात्रा सबैमा जिज्ञासा र एक किसिमको रोमाञ्चको भाव थियो हामीमा ।

बिहानका सुनौला घाममा राप्ती वारिपारि खेतमा फुलेका तोरीको मनमोहक दृश्य हेर्दै अघि बढ्दै थियौं । बाटोमा नवलपरासीबाट मौरी चराउन ल्याएका थुप्रै मौरीघार भेटिए । मह काढेर बेच्दै पनि थिए त्यहाँ । मौरीपालनमा मेरो रुचि भएकाले होला त्यस ठाउँमा मौरीपालनको भरपूर सम्भावना देखेँ ।

हिजो हामी भालुबाङ्ग भएर आएका थियौं । आज फर्किंदा भने त्यहाँ नपुग्दै जसपुर भन्ने ठाउँबाट राप्ती नदी तर्ने पुल तर्यौं । पुलपारि चकचके भन्ने ठाउँ हुँदै प्यूठानको खलङ्गा बजारलाई लक्षित गरेर बाटो सोध्दै अघि बढ्दै गयौं । केहीबेरको यात्रापछि चेरनेटा भन्ने ठाउँमा प्यूठान नगरपालिकाको स्वागतद्वार भेटियो । त्यसको केहीबेरमै एउटा ठूलै उपत्यकामा प्रवेश गर्यौं । त्यहाँ प्यूठान खोलाको वारिपारि विशाल फाँट थियो । क्वाडी भन्ने ठाउँबाट अघि बढ्दा बजारमा पुरानाशैलीका घरहरू प्रशस्तै भेटिए । तानसेन जस्तै पुरानो बजार लाग्यो त्यो ।

हामी अब बिजुआर बजार हुँदै अघि बढ्दै थियौं । दायाँतर्फ प्यूठानको खलङ्गा बजार १२ कि.मि. टाढा रहेको सूचना पाटीले देखायो । त्यहीँनेर स्वर्गद्वारी बहुमुखी क्याम्पस थियो । यो नयाँ रुटमा हाम्रा चाालक पनि अनविज्ञ रहेकाले ठाउँठाउँमा बस रोकेर बाटो सोध्दै अगाडि बढ्थे । हामी यात्री उनकै भरमा थियौं ।

बाग्दुलाको चोकबाट दायाँतर्फको पुल तरेर अगाडि सरिबाङ् खोलादेखि माथि धरम्पानीबाट तल बायाँपट्टि हेर्दा प्यूठान बजार निकै सुन्दर देखियो । हामी सेनाको बर्दबहादुर गणको क्याम्प हुँदै खलङ्गा बजार क्षेत्र प्रवेश गर्यौं । त्यहीँनेर साँघुरो सडकमा विपरीत दिशाबाट आएको अर्को बससँग हाम्रो जम्काभेट भयो । बाटो साँघुरो भएकाले बस पार गर्न मिलेन । हाम्रो बस पछि हट्नुपर्ने भयो । अलि परैसम्म बस ब्याक नगरी पार हुने ठाउँ थिएन । तल हेर्दा छङ्गाछुर थियो आङै सिरिङ्ग गराउने । हाम्रा चालकले बडो कुशलतापूर्वक परसम्म गाडी ब्याक गराए । गाडी पार भयो । एकैछिनमा खलङ्गा आइपुग्यो । दक्षिण फर्केको, तानसेनभन्दा अझै भिरालोमा खलङ्गा बजार रहेछ ।

खलङ्गाको बजारमा सुपादेउराली जाने सडकको जानकारी लिएर हामी पूर्वतिर लाग्यौँ । अगाडि झाँक्रीस्थान मन्दिरको बोर्ड देख्दा आफ्नै गाउँ कल्लाबारीको झाँक्रीस्थानको सम्झना आयो ।

अगाडिको घुम्तीबाट बाटो ओरालियो । सालगाँटी, बन्चरे हुँदै तल खोला तरेर अगाडि चुँजाठाटी पछि मल्लरानी क्षेत्र समाप्त भएको सूचनापाटी भेटियो । सन्धिखर्क पुग्न अलि लामो भए पनि पिच बाटो भएर जानुको सट्टा कच्ची सडक भए पनि छोटो बाटो भएर सन्धिखर्क नगई सिधै सुपादेउराली जाने कुरा गरे चालकले । हाम्रा चालक साहसी हुन् भन्ने प्रमाण थियो त्यो । हामीमा भने यो निर्णयले मनमा अलि डर पैदा गरायो ।

साढे एघार बजिसकेको थियो । सुपादेउराली पुग्न अलि टाढै थियो । त्यहाँ चिनेको होटलमा खानाको अर्डर गरेर अघि बढ्यौँ हामी । अब छापखोला तरेर उकालोतर्फ लाग्यो बस । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नं. ५ आइपुगेपछि भने “अब तो दिल्ली दूर नहीँ” जस्तो लाग्यो ।

अब डाँडाको बाटो केही सजिलो थियो । अलि पर सन्धिखर्क जाने पिच बाटो पनि भेटियो । खिल्जी गैरेहरूको बस्ती, बेल्कोट हुँदै अघि बढ्दा अलि उकालो ठाउँको बायाँपट्टि परम्परागत काठेकोलमा मानिसहरूले तोरी पेलेको देखियो । बस रोकेरै यो दुर्लभ दृश्य धितमरुन्जेल हेर्ने मन थियो । तर सामूहिक उद्देश्यका अगाडि एकल उद्देश्यको महत्त्व थिएन । फोटो खिच्नेसमेत अवसर मिलेन ।

बाटोमा सिदीचौर मा.वि.को प्राङ्गणमा भलिबल खेलको प्रतिस्पर्धा भइरहेको थियो । अलि पर नुवाकोट हटियाबाट सन्धिखर्क जाने पिच बाटो छोडेर सुपादेउराली जान कच्चीबाटो समाते चालकले । यो बाटो जाँदा सुपादेउराली पुग्न १३ कि.मी. छोटो हुने बताए उनले ।

वैलीपोखरा पुग्दा जताततै पहेँलपुर तोरी फुलेको देखियो । यो मनोहर दृश्य देख्दा भने कच्चीबाटोको धुलो र उबडखाबडको कष्टपूर्ण यात्रा बिर्सायो । मनै आनन्दित भयो । कहिल्यै बस नहिँडेको आफ्नो गाउँको कच्ची बाटोमा यति ठूलो बस गुडेको देख्दा अचम्भित भई गाउँलेहरू आफ्नो काम बिसाएरै बसको भिडियो खिच्दै गरेको देखियो । हाम्रो यात्राले उनीहरूलाई पनि आनन्दित तुल्यो । यो हाम्रा लागि कम खुशीको कुरा थिएन ।

ढिकुराको शारदा मा.वि.बाट तल सन्धिखर्क बजार छ्याङ्गै देखियो । त्यहाँबाट अलि पर पुगेपछि भने ग्राभेल गरेको सडक भेटियो । मनलाई अलि राहत मिल्यो । खाँचीघाट पुगेपछि ओरालो शु रुभयो । वारिपारि पैयुँ फुलेर वनै गुलाबी रङ्गको थियो । त्यो छटा हेर्दैगर्दा त बाँचीखोला पुलमा आइएछ । यहाँबाट त अब हाइवे पो भेटियो । अलि पर के पुगेका थियौं टाढैबाट सुपादेउराली भगवतीको मन्दिर ट्वाक्कै देखियो । हामी श्रद्धाले नतमस्तक भयौं ।

सुपादेउरालीः

हामीले छिट्टै मन्दिरमा देवीको दर्शन, पूजाअर्चना सकेर टीकाप्रसाद ग्रहण गर्यौं । त्यसपछि पहिलेदेखि अर्डर गरेको होटलमा दिउसोको तीन बजे खाना खायौं । होटलमा माथिल्लो तलामा शौचालय थिएन । त्यसका लागि अप्ठेरो भर्याङ्ग ओर्लेर तल जानुपर्ने रहेछ । त्यो भीरमा बनेका होटलमा तल झर्दा पातालमै पुगियो कि जस्तो भयो ।

घरतर्फको यात्राः

हामीले हाम्रा चार गन्तव्यको यात्रा जसोतसो पूरा गरेका थियौं । अब पहाडी बाटोबाटै घर फर्किनुथियो । हामी नरापानी, घुम्ती, अड्मुरी, ढाक्रेबास, चिबेक, निगाली, तीनगिरे (माओवादी र सेनाको ठूलो भिडन्त भएको ठाउँ) आइपुग्यौँ । पाणिनी तपोभूमि जान साथीहरूको प्रस्ताव थियो तर सम्भव भएन ।

पाल्पा शुरु भएपछि अब त घर आयौं भन्ने अनुभूतिले मन आनन्दित भयो । आश्रय दिएर मात्र घर हुँदोरहेनछ । जहाँ आफ्नोपनको अनुभूति हुन्छ त्यहीँ आकर्षण हुन्छ । मायाप्रेम हुन्छ । अपनत्व हुन्छ । सबैथोक हुन्छ । अनि बल्ल घर हुन्छ । घरबाट त दुई दिन पर हुँदा पनि असेट लागेर आउँदोरहेछ ।

अब भने घरको यात्रा बढी ढुक्क र सुख दिने थियो । थकाई निकै थियो । आ—आफ्ना सिटमा आँखा चिम्लियौं । तन्द्रामा भयौं केहीबेर । लौ, हामी त भैरवस्थान आइपुगेछौँ । हाम्रा आस्थाका धरोहर भैरवबाबालाई मनैमनै नमन गर्यौं । एकैछिनमा बस सम्मोबारी, ढुङ्गाखानी, बतासे हुँदै तानसेनको गैरागाउँमाथि आइपुग्यो ।

हामी घर पुगिसकेका थियौं । दुई दिनमा चार गन्तव्यको यात्रा सकेर एउटा पूरै फन्को लगाएका थियौं । हामीलाई सुरक्षित यात्रा गराएका चालक भीम थापालाई धन्यवाद दिँदै सहयात्री साथीहरूसँग बिदाबारी भएर आ—आफ्ना घरतिर लाग्यौँ ।