आफ्नो गुन्द्रा काम्लासहितको शयनकक्ष र गरगहना तथा बहुमूल्य वस्तु राखिएको बाकसहरू जम्मै पाहुनापाछाको जिम्मा छोडेर घरभेटीहरू छिँडीको चिसो कोठामा सुत्न पुग्दछन् । कहिल्यै नदेखेका र नचिनेका पाहुनाहरूउपर गरिएको योभन्दा ठूलो विश्वासको दृष्टान्त अर्को के होला ?

जब गाडीबाट ओर्लिएँ, चारैतिरको अनौठो दृश्य देखेर म अन्यौलतामा तिर्मिराएँ । म कहाँ जाँदै छु भन्ने मेरो सुद्धि नै हराएछ । साँच्चिकै म यतिखेर कहाँ छु ? ६०/६५ सालतिरको खरीबोटजस्तो पनि लाग्छ  ४३/४४ तिरको सुर्खेतको मेलकुनाजस्तो पनि लाग्छ ! ४०/४१ तिरको तुल्सीपुरजस्तो पनि लाग्छ !! ३७/३८ तिरको नेपालगन्जजस्तो पनि लाग्छ !!! पुरै बजार खच्चरको मल र गल्लाको दुर्गन्धले रङमङिएको छ । सडकको चिसा किनारमा नुनका खुल्ला बोराहरू असरल्ल थुप्रिएका छन् । टिनले बेरिएका झिलिमिली छाप्राहरूका अगाडि गल्लाकै चुली छ । हटारुहरूले हटारे डोकाहरूमा मालसामान खाँद्दै छन् । सानासाना पसलहरूमा नुन र बेसाहा किनमेल गर्नेहरूको भिडभाड पनि छ । घोडाखच्चरहरू कुल्टुङकुल्टुङ घाँडा बजाउँदै आउजाउ गरिरहेका छन् । पक्की सडक टुङ्गिएको छ र खन्दाखन्दै छोडिएको आलो मोटरबाटो सुरू भएको छ ।

“एक्कजी म त साँच्चिकै अलमलिएँ, हामी कहाँ आइपुग्यौँ हँ ?”

“सरलाई पनि बुढ्यौलीले छोएजस्तो छ । हाम्रो गाडीयात्रा देउखोला बजारमा टुङ्गिन्छ है सर भनेका भनेई छौँ त । यो देउखोला हो सर, देउखोला ।”

प्राचीन युगजस्तो लाग्ने परिदृश्यले आफ्नो यथा अवस्थिति स्मृतिकोशबाट विलुप्त भइसकेको छ । मलाई अहिले बुढ्यौलीले होइन अबोध बाल्यकालले छोएजस्तो भान भइरहेको छ ।

साँच्चिकै म बासँग पछि लागेर हाट जाँदाको अवस्थामा पुगेको छु । किनमेल गर्नेहरूको ठेलमठेलमा कर गरी गरी बालाई बानियाँको पसलको गुड किन्न पठाएर राल चुहाईचुहाई चाटेका दिनहरू सम्झिरहेछु यतिखेर ।

“हेर्नू न ! मैले त नुन र बेसाहाको लागि हाट जाने हटारुहरू अब कहिल्यै देख्न पाउँदिनँ होला भन्ठानेको थिएँ । मुसीकोटको आसपासबाट दशकौँपहिले लोप भइसकेका ती हटारीहरू र घोडाखच्चरहरू कहाँबाट आए होलान् यहाँ ? भाग्यलाई जस्ताको तस्तै मन्जुर गरेर नुन र बेसाहाको लागि दौडधुप गरिरहेका कमिलाको ताँतीजस्तो अकिञ्चन जिन्दगीको दारुण मुकाम कता पर्छ होला ?”

सबै आआफ्नै सुरमा व्यस्त छन् । मेरो कुरा सुनेर जिज्ञासा मेटाइदिने कल्ले ?

चालक पञ्च नेपालीलाई बिदाइका हात हल्लाउँदै हामी भर्खरै ट्रयाक खोलिएको बाटोबाट पैदलै अगाडि बढ्न थाल्छौँ । बाटो मोडिएर सानोभेरी किनारमा झर्छ र सानीभेरीले छोडिदिएको बगरै बगर अगाडि बढ्छ । मास्तिर हेर्दा किरकिरे ढाँरको ठुलै गरगरे रेलो छ । त्यो रेलोले पूरै पहाड खर्लप्पै निलेको छ । सानासाना ढुङ्गाहरू मास्तिरबाट बेगिँदै बेलाबखत झरिरहेका छन् । जिउमा सानै ढुङ्गा परे पनि त्यसले क्षतविक्षत तुल्याउन सक्छ भन्ने भयले माथिबाट झरिरहेका ढुङ्गालाई हेर्दै होसियारीपूर्वक पाइला चाल्दै छौँ । केही हप्ताअघि त त्यही पहिरोमा टाँगिएको डोरीमा झुन्डिएर वारपार गर्नुपर्थ्यो रे । डोरीबाट हात चिप्लियो कि बाँच्ने आशाको गुन्जायसै छैन । सिधै आँ गरेर बाइरहेको सानीभेरीको खाप्चो भित्रै परिने ।

अहिले भने सानीभेरीको बगरबाट बाटो बनाइएको रहेछ । सजिलोको सास फेरिरहेका हामीहरूको बाटो केही पर नपुग्दै सकिएर पहिरोको बिच्चबिच्च हुँदै ठाडै मास्तिर उक्लिन्छ । उच्च लेकको शिरबाटै झरेको बलौटे माटोसहितको ढाँरको रेलो मोबाइलमा खेलिने ब्लकब्लास्ट गेमजस्तै छ, एउटा ब्लक सर्‍यो कि माथिबाट जम्मै ब्लकहरू सर्रै तल झर्ने । घरीघरी माथि उक्लिसकेका हाम्रा पाइलाहरू पनि लर्किएर तलै पुग्दछन् । तर खुट्टा चिप्लिए पनि जोखिम भने उति छैन । ढाँरमा चिप्लिएको जिउ सानीभेरीमा छप्ल्याङ्ग गर्न नपुग्दै बिचमै अल्झाइहाल्ने रुखका पोथ्रापोथ्री बाक्लै छन् । हामीलाई त के र ! रित्ता यात्रीहरू न थियौँ । निष्ठुर नियति र दुर्भाग्यले सरेआम ठगिएर भारी बोकेका घोडा खच्चर र भरियाहरू पनि कनीकुथी यही पहिरोमा उँधोउँभो गरिरहेकै छन् ।
चार हातगोडाको सङ्घर्षबाट मुस्किलले रेलो पार गरेपछि अलि माथि पुरानो तेर्छो बाटो भेटिन्छ । बाटो तेर्छिएर के गर्नू छङ्गाछुर चट्टाने भिर उस्तै छ, उँधोउँभो जता हेर्दा पनि आँखा भन्न रिङ्ने । एकछिन बिसाएर पूर्वोत्तरका डाँडाकाँडाहरू हेर्ने हो भने अभिमन्त्रण गर्दै हामीलाई नै पर्खिएका जस्ता देखिन्छन् । तर तीमध्ये कुन देवयानी हुन्, कुन् शर्मिष्ठा हुन् र कुनचाँहिले हामीमध्ये कुनचाहिँ भाग्यमानीलाई वरमाला पहिर्‍याउन हाम्रो अघि टुप्लुक्किने हुन्, केही ठेगान छैन । मन कुनै स्वयम्वर महोत्सवमा भाग लिन गइरहेको वरको जस्तै उछालपछार गरिरहेको छ ।

दुर्भाग्यले निर्मम थप्पड हानिरहेको यो भिरमा ट्रयाक खोल्ने प्रयास अहिलेको भने होइन । १२/१५ वर्षपहिलेदेखि नै स्थानीयदेखि राज्यसम्म एकजुट भएर सकेसम्म लागिपरेकै छन् । तर पनि कतै सिन्को भाँचिएको पनि देखिँदैन । योभन्दा अर्को दुर्भाग्यको दसी के हुनसक्छ ? अहिले त बालुवादेखिको सडक ९/१० किलोमिटर अगाडि बढिसकेको छ । अब नाइगार जोडिन ३/४ किलोमिटर मात्र बाँकी छ । नाइगारसम्म त मध्यपहाडीको हाङ्गो आइपुगेर थामिएको छ भन्ने सुनिन्छ ।

दिनको १२ बज्नै थालिसकेको छ । कार्त्तिक अन्तिमतिरको मुटु ठिहिर्‍याउने चिसो भनेर के गर्नु ? निरन्तर सङ्घर्षवश् खलखली उम्रिएका पसिनाले जिउका कपडा जम्मै लुछुप्पै भिजिसकेका छन् । भोकाएका भुँडीमा भुजा हाल्न आतुर नजरहरू नाइगार पुग्ने भिरमा खोपिएको घोरेटो बाटो झन् झन् लम्बिरहेको देखेर आत्तिएका छन् ।

एकमुठी प्राणलाई हत्केलामा राखेर तेर्पायाँ तेर्पायाँ हुँदै अगाडि बढेपछि अलि पर पक्की झोलुङ्गे पुल भेटिन्छ । पारि जान नपाएको अधीर मन विकल्प भेट्टाएपछि पुलमा पुगेर पिङ मच्चाउन थालिहाल्छ । पुलबाट हेर्दा थाहा हुन्छ, सानीभेरीको विशाल आयतन । वाह ! महासागर नै मुल्टिएर आइपुगेको जस्तो भान हुन्छ । सानीभेरीका ठुलाठुला तरङ्ग र भुभुल्काहरू निर्निमेष हेर्ने हो भने मै हुँ भन्नेका पनि आँखा नरिङाई छाड्दैन ।

सानीभेरीको पुलमा विभिन्न पोज दिएर एकल तथा सामूहिक फोटो खिचेपछि हामी पारिको पाखोमा पुग्छौँ । अलिकति पर नपुग्दै अर्को ठुलो गाडमाथिको पुल पार गरेर देउखोलाजस्तै सानो बजारमा पुग्छौँ । बजारको नाम रहेछ तिपतरा । बिस्तुरिइसकेको  सडकलाई बडेमानको बुढो डोजरले ओगटेर बसेको देखिन्छ । विकासको पूर्वाधारमध्येको यातायात यहाँसम्म पनि आइपुगेको छ है भन्ने एउटा बलियो प्रमाण हो यो डोजर । तर यो यहाँ आइपुगेर थला परेको वर्षौँ भइसकेको जस्तो छ । डोजरका छालामासु जम्मै खियाले खाइसकेर अस्थिपञ्जर मात्र बाँकी छ । दुईचारवटा खिद्रिङमिद्रिङ पसलहरूबाहेक यातायातका अरु प्रमाणहरू खासै त्यस्तो केही भेटिँदैन । मोटरबाटोको ट्रयाक भने क्युबाङ, कोल, गोलखाडा हुँदै यहाँसम्म आइपुगेको रहेछ । नजिकै रहेको जामाबगरमा त गाडीमोटरको नियमित आउजाउ चलिरहन्छ रे ।

हामीलाई पर्खिरहेका पथप्रदर्शक गोपाल खडका हामीलाई लिन अलि तलै आइपुग्छन् । नाइलनको पुरानो ट्रयाकसुट लगाएका पातला पातला र कलसौँरा वर्णका गोपाल छिटाछरिता देखिन्छन् । उनले हामीलाई खिया लागेको टिनले बेरिएको एउटा होटेलमा पुर्‍याउँछन् । होटेलभित्र पस्दा आगोको मुस्लोमै परेको जस्तो भान हुन्छ । मध्यान्हको सूर्यको रापजति जम्मै त्यही टिनले सङ्कलन गरेर राखेको रहेछ ।

एकडेढ घण्टाको पैदल यात्राले नै जिउ फतक्कै गलाइसकेको छ । पसिनाले लुछुप्पै भिजेका जिउका लुगा उतारेर घाममा सुकाउँछौँ र विश्राम लिन्छौँ एकछिन । भात पस्किन बेर लाग्दैन । अरू सबै होटेलभित्र र होम सम्धी र म बाहिरै बसेर पस्किएको मिठो दालभात कपाकप खाइसक्छौँ ।

भात खाइसकेपछि सुरू हुन्छ गुप्तादहतिरको हाम्रो खास पदयात्रा । प्रत्येक यात्रीका छातीमा उत्कण्ठा, उत्साह र उमङ्गका झिल्काहरू उठिरहेका छन् । अलि बेरको विश्रान्ति र भोकभुजाइले जिउ चङ्गा भइसकेको छ । अब गोपाल अगाडि लागेर उत्तराभिमुख हुँदै गोरेटो बाटोमा लम्कन्छन् । सानीभेरी वरपरको विकासका सम्पूर्ण पूर्वाधारहरू र निःसार कृत्रिमतालाई तलै छोडेर गुमनाम नग्न यथार्थता भेट्टाउन लालायित चङ्गातुल्य आठजोर खुट्टाहरू रौसिएर गोपालका पदचापलाई पछ्याउन थाल्छन् ।

बजारको छेउमै ढुङ्गेछाने घरहरू एकपछि अर्को लहरै देखिन्छन् । गोपाल भन्दै जान्छन्, ‘यो भुपू सभापति खेममान खडकाको घर, त्योचाँहि प्राध्यापकद्वय पञ्चराम केसी र पूर्ण खडकाको घर, त्यो जिशिनि रामलाल खडकाको घर, ऊः त्यो समाजसेवी जीवन खडकाको घर, त्योचाँहि गणेश केसीको घर, त्यो शिक्षक पृथ्बी रिजालको घर, त्यो पत्रकार केशव बीसीको घर ।

त्यहाँका सबैजसो घरहरू जिल्लाका अगुवाहरूकै रहेछन् । तर ती प्रायः घरहरू अहिले उनीहरूको स्वामित्वमा भने छैनन् । उनीहरू त समयको गतिसँगै गतिमान भएर कि जिल्लाको राजधानी, कि केन्द्रीय राजधानीतिर बसाइ सरेर गइसकेका छन् ।

तिपतराको गाउँ सकिएपछि पारिपट्टि मोराबाङ र वारिपट्टि कोटघारी नामको अर्को सानो गाउँ भेटिन्छ । गोपालले अजङका पत्थरहरू असरल्ल थुप्रिएको बगरलाई औँल्याउँदै भन्छन्, “त्यहाँ पहिले ठुलो बस्ती थियो । आजभन्दा तिस वर्षपहिले कोटघारीका गाउँलेहरू राति सुतिरहेको अवस्थामा भारी बर्षात् भई बाढीले वितण्डा मच्चाउँदा करिब १६ वटा घर, ३५ वटा पानीघट्ट र ३५० रोपनी खेत बगाएको थियो । त्यसै बाढीको चपेटामा फसेर करिबकरिब मृत्युको मुखमा पसिसकेका स्थानीय उदय केसी, सरिता केसी, घनश्याम केसी, गोपाल बुढाथोकी र चिताराम केसी गरी ६ जना कलिला किशोरहरू रातभर भिमलको रुखमा चढेर बाँच्न सफल भएका थिए ।”  ती अजङका ढुङ्गा पल्टाउँदै ल्याउने कति ठुलो भेल आयो होला हेर्दै मुटुमा कम्पन पैदा हुन्छ । मनै भरङ्ग हुन्छ ।

गाउँको आँगन वा बाटोमा भेटिने गोपालका चिरपरिचित गाउँलेहरूले उत्सुकतावश्  कता जाने हो ? किन जाने हो ? कहिले फर्कने हो ? भनी घरीघरी अल्झाइरहेका छन् । गाउँ सकिनेबित्तिकै नाइगार खोलाको छेउको पाखे बाटो सुरू हुन्छ । नाइगार अर्थात् तुबाङ गाड दक्षिणाभिमुख हुँदै यन्त्रवत् लयमा तलतिर झरिरहेकी छिन् ! हामी यन्त्रवत् चालमै उत्तराभिमुख हुँदै माथितिर लागिरहेका छौँ । बाटो तेर्सेतेर्सो छ मज्जाले फाल हाल्दै अगाडि बढ्न सकिन्छ ।

“ए, गोपाल खडका भाइ !” भनेर सम्बोधन गर्नेबित्तिकै एउटा अगाडिबाट र अर्को पछाडिबाट “हजुर ?” भन्ने प्रतिक्रिया प्राप्त हुन्छ । हाम्रो यात्रामा अब दुईजना गोपाल खडका छन् । एउटालाई सम्बोधन गर्दा दुवैले वा अर्काले फर्काउँछन् । यसले पनि यायावरहरूमा बेग्लै मनोरञ्जन थपेको छ ।

त्यो पारिको गाउँको नाम के हो ? यो खोलाको नाम के हो ? त्यो पाखाको नाम के हो ? त्यो कुइनेटाको नाम के हो ? त्यो रुखलाई यहाँ के भन्छन् ? यो झार के  काम लाग्छ ?  ८ जनाका कौतुहलपूर्ण प्रश्नहरूका तिर एकैचोटि पथप्रदर्शक गोपालमै खनिन्छन् । बिचरा गोपालले कसलाई जवाफ दिऊन् ? कसलाई नदिऊन् ?

अलिकति माथि नयाँ फलामे पुल भेटिन्छ । बायाँपट्टिको प्वाङ गाउँ हुँदै आएको चितरखोला यहीँनेर तुबाङ खोलामा मिसिँदो रहेछ । यसलाई पेदीखोला भनिँदो रहेछ । रुकुममा पेदीखोला नामका स्थलहरू थुप्रै भेटिन्छन् । फेदीलाई पेदी भनिएको हुनुपर्छ ।

हामी पुल तरेर पारिपट्टि लाग्छौँ । थोरे अघि बढेपछि बाक्लो सुन्तलाबारी भएको गाउँ भेटिन्छ । यसको नाम माछाठेक्नी रहेछ । पारिपट्टि अजङको पहाडबाट ठुलै खोला झरनाजस्तै ठाडै झरेको मनमोहक दृश्य देखिन्छ । यस ठाउँको नाम लामागार रहेछ । त्यसको पूर्वपट्टि पहाडको भित्तोमा लहरै झुन्डिएका जस्ता गाउँहरू कुचिबाङ, कुरीपानी, दत्कुना हुन् भनेर गोपालले चिनाउँछन् । त्यही भित्ताको बिचमा मोटरबाटो खनिएको देखिन्छ । यो यात्रामा तलै छोडिसक्यौँ भनेको मोटरबाटो फेरि भेटिँदा छुटेको साथी भेटिएजत्तिकै खुसी लाग्दछ ।

तुवाङ खोलाको निर्मल जलप्रवाह कर्णप्रिय कलरव सङ्गीत घन्काउँदै एकसुरमा ओरालो झरिरहेकै छिन् । मनपरेकी मायालुउपर घरीघरी नजर गएझैँ तिनै प्रवाहशील सरिताउपर हाम्रो सुकोमल दृष्टिपात परिरहेको छ । नजिकैको निर्मल रहमा देखिने आफ्नै कायाको प्रतिच्छायाले दिएको परमानन्दानुभूति वर्णनातीत छ । भिन्नाभिन्नै धरातलमा निस्कने ती सरिताको मिठासपूर्ण भिन्नाभिन्नै अनुगुञ्जनले यात्रीहरूलाई लठ्ठै पार्दछ ।

पेदीखोलाभन्दा माथि जमिनको सतह बिस्तारै उकालिँदै गएकोले खोलाको बेग पनि बढेको देखिन्छ । भिरालो ठाउँ पाउनासाथ तुबाङ खोलाले कतै छहराको आकार ग्रहण गरेको छ त, कतै तालिएर दहको । एकएकको नाम राखी साध्य छैन । प्रमुख छहराको नाम भुतछहरा राखिएको छ भने ताउलाजस्तो आकारको प्रमुख तालको नाम ताउले रह राखिएको रहेछ । खोला किनारमा अजङका ओढारहरू पनि भेटिन थालेका छन् । तुबाङ खोलाको किनारभरि छताछुल्ल घर, गोठ, बारी, पँधेरो, वृक्ष, वन, खेत र खरबारी सबैको नाम सोधेर र कण्ठ पारी साध्य नै छैन । तर तीभित्र आश्रित जीवनहरूलाई नजिकैबाट नियाल्न पाउनु नै पैदलयात्राको जरिया हो, अहोभाग्य हो ।

बाटो सजिलो र फराकिलो नै छ । बाटोभरि निर्माण सामग्रीहरू छड, सिमेन्ट, बालुवा, पाइप तथा खाद्यान्नहरू राङ्से डोकामा खाँदेर फेदको विकासलाई शिखरमा पुर्‍याउन उद्यत भुइँमान्छेहरू र शिखरमा गाईगोरु भेडाबाख्रा चराएर फेदीमा झार्ने गोठालाहरूको लाम उत्तिकै छ । कठोर परिश्रमका बाबजुद उनीहरूबाट पोखिने मृदुमुस्कान शब्दातीत छ । हामी ती लामको कहिले बिचमा पर्छौँ, कहिले छुट्टिँदै अगाडि बढ्छौँ । जति कुइनेटा काटे पनि उस्तै परिदृश्य नजरसामु पर्दछ । केही माथि थर्पुहाल्ना भन्ने गाउँ भेटिन्छ । अझै माथि तल्लो तुबाङ नाउँको गाउँ भेटिन्छ । खोला किनारमा रहेका ग्रामीण परिवेशहरूमा खासै भिन्नता देखिँदैन । तल्लो तुबाङको किनारमा साना जलविद्युत उत्पादन गर्ने सानो पावरहाउस देखिन्छ । यहीँबाट आसपासका गाउँहरूमा आंशिक बिजुली वितरण गरिँदो रहेछ । यहीँनेर आएर तलबाट पहाडको भित्तोमा देखिएको नाम मात्रको मोटरबाटो मिसिँदो रहेछ । “कता जाने मोटरबाटो हो यो ?” भनी सोध्दा गोपाल भन्छन्, “माथि प्वाङ गाउँ छ, त्यसभन्दा पर आरीबाङ, किँदा, छिपखोला आदि गाउँसम्म पुग्न सक्छ ।” म संशय पेश गर्छुः मोटरबाटो त पुग्ला तर मोटर पुग्ला नपुग्ला यसै भन्न सकिँदैन ।

तल्लो तुबाङबाट फलामे पुल तरेपछि हामी ठाडो उकालो लाग्दछौँ । तिपतरादेखि ३ घण्टाजतिको निरन्तर कुदाइले भने लास्टै थकानको महसुस भइरहेको छ । पाइताला पोल्न थालेका छन् । गोडाले अगाडि बढ्न अल्छी गरेका छन् । अपितु तृष्णातरलले लखेटिएका यायावरहरू चर्को थकानले गलेर लखतरान परे पनि कसैले पनि त्यो पीडाबोध व्यक्त गर्न सकेका छैनन् । अब छिट्टै भेटिन्छ भनिएको लैपा आधा घण्टा बित्दा पनि नजिक देखा परेको छैन । ओखरबोटमा एउटा सानो स्कुल देखिन्छ । ठाडो उकालो चढिसकेपछि मात्र ठुलाठुला पाटाहरू भएको गाउँ भेटिन्छ ।

“यही हो लैपा !” भनिदिएपछि यात्रीको थकानसकान चट् हुन्छ । बेलुकाको ४ मात्र बजेको छ तर गोधूलि वातावरणले सन्ध्याको छनक दिन्छ । केही मित्रहरू यतै बास बस्नुपर्ने राय व्यक्त गर्दछन् ।

“रात पर्न अझै २ घण्टा उब्रिएकै छ यति सबेरै किन यहाँ बस्ने ? बाटो काटे आफैलाई नाफा हो !” भन्छन् बाँकी साथीहरूले ।

“योभन्दा माथि अब गाउँ भेटिँदैन । यो नै गुप्तादह मार्गको अन्तिम गाउँ हो । मास्तिर गोठहरू त थुप्रै छन्, तर न त्यहाँ सामलतुमल भेटिन्छ, न भाँडाकुँडा, न ओढ्ने ‌ओछ्याउने । कात्तिकको ठण्डा रात कटाउने कसरी ?” थुप्रै कठिनाइको फेहरिस्त दिन्छन् गोपालजी ।

गोपालको सिफारिशअनुसार लैपामै बास बस्न मन्जुर हुन्छन् थकित यात्रीहरू । पथप्रदर्शक गोपालले लैपा गाउँको माथिपट्टि रहेको प्रवीण खडकाको घरमा बासको बन्दोबस्त मिलाउँछन् । हामीहरू ९ जनाको समूह भएकोले एउटै घरमा अट्न सम्भव थिएन । सबैले प्रवीणकै घरमा खाना खाने र आधा व्यक्तिहरू उनको छिमेकीको घरमा सुत्न जानेगरी कुरा मिल्छ ।

हामी प्रवीणको घरको पटाङ्गिनीमा उक्लन्छौँ । डोका, डाला, बन्चरा, कोदाला, नाम्ला र हँसिया घरभरि देखिन्छन् । हामीहरू एउटा एउटा डोकोलाई मुढाजस्तो घोप्ट्याएर थाकेको जिउलाई अडेस लगाउँछौँ । एकैछिनमा ताततातो चिया आइपुग्छ । बटुकाहरूमा दिइएको चिया एकैछिनमा सुर्क्याउँछौँ । मोबाइलमा चार्ज सकिइसकेको छ । स्थानीय जलविद्युतको बत्ती बेलुका ६ बजेपछि मात्र छोडिने जानकारीले मन आत्तिन्छ ।

प्रवीण खडकाको परिवारमा उनकी श्रीमती हिमकुमारी, ९/१० वर्षको एउटा छोरा र ५/६ वर्षकी एउटी छोरी रहिछन् । बुढाथोकी क्षेत्रीकी छोरी भए पनि हिमकुमारी हिमाली शेर्पिनीजस्तै अनिन्द्य सुन्दरी देखिन्छिन् । प्रवीण पनि त शेर्पाजस्तै गोरा र सुन्दर छन् । दुई सन्तानका अभिभावक भइसक्दा पनि दुवै गठिलो देहयुक्त छन् । दुवैले जवानीको सँघार पार गरिसकेका छैनन् । दुवैको स्वर मिश्रीमधुर छ । दुवैको उज्यालो ललाट र भरिलो अनुहार तथा हँसिला आँखा छन् । टम्म मिलेका दन्तपङ्क्ति छन् । हिमकुमारीको थप प्राकृतिक विशेषतामा उन्नत वक्षस्थल र आर्जित विशेषतामा बढी टाठीबाठी तथा छिटीछरिती देखिन्छिन् । दुरदराजको कन्दरामा कष्टपूर्ण जीवन व्यतीत गर्नुपरे तापनि उनले सूचनाप्रविधि र राष्ट्रिय अन्तर्राष्ट्रय कुराहरुमा समेत पहुँच राख्छिन् भन्ने कुराले यात्रीलाई अच्चम्भित तुल्याइदिन्छ ।

होमसम्धीले प्रवीणलाई सोध्नुहुन्छः “के गर्नुहुन्छ ?”

“अरू के गर्नु हजुर ! हाम्रो काम भनेकै भाटा चिर्ने, छानो छाउने, बन्चरो चलाउने, दाउरा खोज्ने, गाईबाख्रा चराउने, हलो जोत्ने, दाम्ला, नाम्ला, डोका आदि बुन्ने त हो । खेतीकिसानी त छँदै छ ।” प्रवीण सहजभावमा उत्तर फर्काउँछन् ।

यता भोकले पेटमा आगो बलेर पेट नै विदीर्ण होला जस्तो छ । उता प्रवीण र उनको श्रीमतीको कामको घचारो झन् बढेको छ । हिमकुमारी लज्जा,  संकोच,  आतेस,  भय आदि मिश्रित मनोसंवेग लिएर भित्रबाहिर गरिरहेकी छिन् । पाहुनाहरूसित राम्रोसँग खुल्न सकेकी छैनन् ।

यात्रामा रनक्क तातिएको शरीरलाई घरीघरी चल्ने सिरेटोले चिस्याइसकेको छ । पसिनाले लुछुप्पै भिजेका जिउका लुगाहरूले कठ्याङ्ग्रिने अवस्थामा पुर्‍याएका छन् । जाडोले मुटु काँप्न थालेपछि  म आगो ताप्न खोज्छु । अनुमति पाएपछि तन्नेरी बगालहरूलाई बाहिरकै मनोरञ्जनमा छोडिदिएर होमसम्धी, गोपाल भाइ र म घरभित्रको अगेनाको डिलमै पुग्छौँ । अगेनामा गज्योर परेर बलिरहेको दाउराको आगोले कोठा रनक्क तातिएको छ । तातो पाएर कठ्याङ्ग्रिएको जिउले राहत महसुस गर्छ । अरू यात्रीको लागि लोकल कुखुराको मासु तयार भइरहेकोले म पहिल्यै खाना खान जोडबल गर्छु । हिमकुमारीले लेकाली च्याउको तिहुन पकाइदिन्छिन् । दुध तताइदिन्छिन् र रोटीको लागि पिठो मुछ्न थाल्छिन् ।

होमसम्धी भन्नुहुन्छः “रोटी पातला बनाउनू है, अलि पातला ।” उनले अपक्षाविपरीत मोटा रोटी पकाइदिन्छिन् । होमसम्धी र मैले त्यही रोटी मिठो मानीमानी खान्छौँ । बेलाबखत होमसम्धी उनीसँग मनोविनोद गरिरहनुभएको छ । गोपाल भाइ होमसम्धीले भनेका कुराहरूमा सही थापिरहेका छन् ।

गोपाल र होमसम्धीलाई छोडेर हिमकुमारीले मलाई छिर्के हान्छिन्: “यस्तो फुकीढल बूढोमान्छेलाई लेक चढ्न के मन लागेको होला ?” उनले त होमसम्धी र गोपाललाई समवयी तन्नेरी र मलाई निकै बुढो पो ठानिछन्, जबकि होमसम्धी नै मभन्दा ३ वर्षले जेठो हुनुहुन्छ । म नाजवाफ हुन्छु । जवाफ नपाएर होइन, दिन मन नलागेर ।

बेलाबखत आफ्नी श्रीमतीले उदारमनाभावले पाहुनाहरूसँग निर्धक्क कुरा गरिरहेको देखेर प्रवीण मुसुमुसु हाँसिरहेका छन् । उनको झरिलो मनले झनै उदात्त भावनाको परिचय दिइरहेको छ ।

उन्मादी पाराका तन्नेरी पाहुनाहरू भित्र छिरेपछि त आगोले तातिएको कोठामा झन् राप थपिन्छ । मदमत्त तन्नेरी पाहुनाका ओठहरू यसै चलबलाइरहन्छन्, हातगोडाहरू आफूआफूमा सलबलाइ रहन्छन् । प्रमादी गफहरूले बलिरहेको आगोमा घिउ थप्दछ । त्यहाँ प्रशंसा, भनावैरी, उपहास पनि चल्छ ! तर शब्दमा संयम राखेर शब्दरूपी आभूषण पहिरिन जति प्रवीण र हिमकुमारी चतुर छन्, उति नै पाहुनाहरू सचेत पनि । उनीहरूका दुवै अबोध बच्चाहरूले अनिमेष शब्ददोहरी सुनिरहेका छन्। सायद उनीहरूले नै पाहुनाहरूको इष्ट नजर र दुष्ट नजर अर्थात् फउल हेर्ने  रेफ्रीको काम गरिरहेका होलान् ।

बेलाबखत उनीहरूको कटाक्षवाण मतिर पनि सोझिन्छ । म भने सरशैयामा सुतेर उत्तरायण पर्खिरहेका भीष्म पितामहसरी एउटा पनि उत्तररूपी सर नफर्काई प्रश्नको सरशैयालाई तकिया बनाएर सुनिरहन्छु ।

मागबमोजिम लेकाली हरिया मकैहरू आइपुग्छन् । रापिलो आगोमा पोलेका स्वादिष्ट मकै खाएर प्रारम्भिक भोक मेटाउँछन् ।  मासु पाकिसकेपछि फापरको ढिँडो लस्काइन्छ । बेहद मिठो स्वादको खाना तयार भएपछि पाहुनाहरू पेटका नशा फुलुन्जेल खान्छन् । भोलि सखारै ४ बजे नै यात्रा थाल्ने वाचा गर्दै पाहुनाहरू आधा आधा बाँडिएर दुईवटा घरमा सुत्न जाने तरखर गर्छन् ।

यति अग्लो लेकमा अग्लै प्रकारको बेग्लै आतिथ्यता पाउँदा मन आनन्दित छ । कुरा र खानालाई यति स्वादिलो र रसिलो बनाउने शिल्प कहाँबाट सिके होलान् यी जोडीले ? विकट पहाडमा हन्डर खाएको अलिकति चिन्ह पनि कतै देखिँदैन । यिनीहरूमा संकीर्ण वृत्ति, मपाइँत्व, परनिन्दा र स्वार्थ पटक्कै छैन । यसरी दूरदेशबाट आइपुग्ने पाहुनाहरूलाई निष्कपट, न्यानो र सम्मानपूर्ण व्यवहार गर्न कसले सिकायो होला यिनीहरूलाई ?

आफ्नो गुन्द्रा काम्लासहितको शयनकक्ष र गरगहना तथा बहुमूल्य वस्तु राखिएको बाकसहरू जम्मै पाहुनापाछाको जिम्मा छोडेर घरभेटीहरू छिँडीको चिसो कोठामा सुत्न पुग्दछन् । कहिल्यै नदेखेका र नचिनेका पाहुनाहरूउपर गरिएको योभन्दा ठूलो विश्वासको दृष्टान्त अर्को के होला ? उच्च लेकाली बासमा जाडोले मरिन्छ कि भन्ने अग्रिमत्रास समाप्त भएको छ । न्याना काम्लाले बरु जिउमा पसिना निकालेको छ ।

यस्तो कल्याणकामी र विनीत भाव, शान्त सौम्यवेष, उदारमना, भद्रताका साथ जिउने कला सिकेका महामानवहरू सहरमा जति खोजे पनि पाउन मुस्किल पर्दछ । सहर त अविश्वास, घृणा, अहङ्कार, सास्ती र शासनाको पर्याय मात्र हो । अशालीन, दुष्पूर तृष्णा, पाशविक प्रवृत्ति र खोक्रो अभिमान, कुख्यात अतृप्त यौवनको द्योतक न हो हामीले भोगेको सहर ।

होमसम्धी सुत्नुअघि ढलीढली ठाडीभाका रन्काउँछन्:-

आधा काँचो, आधा पाको, तिजु माजा फल

देख्नू भई, पैरनु भइनै, कर्णालीका जल ।।