
सञ्चालक समितिको बैठकमा भाग लिन काठमाडौं गएको थिएँ । वरिष्ठ साहित्यकार अनिल पौडेलले फोन गर्नुभयो । कुराकानीकै क्रममा उहाँले भन्नुभयो, “हामी त पर्सी रारातिर जान लागेको, जाने हो ? ”
“हँ … रारा !”
‘रारा’ भन्ने बित्तिकै मेरो रारा जाने धेरै अघि देखिको चाहना पुनः ब्युँतियो । मैले भनेँ, “यस्तो हतारमा योजना भएको रहेछ, म सल्लाह गरेर तपाईंलाई खबर गर्छु ।” समितिको बैठक सकिएपछि मैले बोर्ड बैठकमा उपस्थित हुनुभएका साथीहरूसँग रारा जाने कुराको जानकारी लिएँ । साथीहरू प्रायः सबै जना त्यहाँ गइसक्नु भएको रहेछ ।
केही समय पहिले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ रारा पुगेर आउनुभएको रहेछ । उहाँले भन्नुभयो, “म केही दिनअगाडि मात्रै गएर आएको । अहिले मौसम पनि ठीक छ । जानु भए हुन्छ ।”
उहाँले रारा जाने तरीका र बास बस्ने ठाउँहरूको बारेमा विस्तृत जानकारी गरिदिनुभयो । र बैंकले लगानी गर्ने र गरिसकेका परियोजनाहरू पनि बताउनु भयो । बैंकका सञ्चालक सदस्य डा. राजेन्द्र मिश्र कर्णाली प्रदेशमा कृषि मन्त्रालयको सचिवको जिम्मेवारीमा रहिसक्नु भएकोले उहाँको कुराले समेत मलाई रारा जान उत्प्रेरणा मिल्यो । जाने निर्णय गरेँ । यो पटक रारा पुग्ने रहर पूरा हुने भयो भनेर म हर्षित भएँ ।
सोही दिन साँझपख मैले अनिल दाजुसँग सल्लाह गरी सुर्खेतसम्मको जहाजको टिकटको व्यवस्था गरिहालें । म रारा जाने कुरा सुनेपछि भाइ गोकुलले “म पनि तपाईंहरूसँगै जान पाए हुन्थ्यो ?” भनेर आफ्नो जिज्ञासा मलाई सुनाए ।
सल्लाह मिल्यो र अनिल पौडेल, भावना पौडेल, गोकुल खत्री र सञ्जीव पौडेलको टोली तयार भयो । के कसरी जाने भन्ने बारेमा योजना बन्यो । सोही समयमा सुर्खेतका कृषि विकास बैंकका निर्देशक सुरज टण्डनसँग पनि सल्लाह भयो । योजना बनेको दिन थियो २०८१ साल वैशाख २५ गते ।
भोलिपल्ट अर्थात् वैशाख २६ गते मातातीर्थ वैशाख कृष्ण औंसीको दिन रहेछ । तिथिले औँसी परे पनि हामी चार जनाको मुहार रारा जाने खुसीमा पूर्णिमाको जूनझैँ उज्यालो बनेका थियो । हाम्रो योजना अनुसार २६ गते बिहान ७:४५ को बुद्ध एयरको जहाजबाट हामी चार जनाको टोली सुर्खेततिर लाग्यौं । सुरज टण्डनजी बिहान ७:०० बजे नै श्रीएयर लाइन्सको जहाजबाट सुर्खेत जानुभएको थियो ।
हामीभन्दा अगाडी नै सुरजजी सुर्खेत पुगिसक्नु भएको थियो । सुरजजी र कृषि विकास बैंक सुर्खेतका साथीहरूले एयरपोर्टमै हामीलाई न्यानो स्वागत गर्नुभयो । हामीले उहाँहरूको न्यानो स्वागतसँगै कृषि विकास बैंक प्रदेश कार्यालय सुर्खेतमा नै बिहानको खाना खायौं । सिइओको सुझावअनुसार त्यही बाटोमा हिंडिरहेका सवारी साधनमा जान उपयुक्त ठान्यौं । सोही अनुसार बैंकको सवारी साधनलाई छाडी स्कारपिओ गाडीलाई लैजाने सल्लाह भयो । सवारी चालक थिए सन्देश बि.क. ।
हामी त्यहाँबाट करिब ११:०० बजेतिर रारालाई लक्ष्य बनाई अगाडि बढ्यौं । पहाडी बाटो, उकालो चढाइ र वरिपरिका रमाइला प्राकृतिक दृश्य हेर्दै कटकुवा, रतीखोला, छेदा, लाते, सिद्धपाइला, रातानाङ्ला हुँदै रानीमत्ता पुगेपछि सुर्खेत जिल्लाको सिमाना समाप्त हुँदो रहेछ । सुर्खेतबाट माथि कर्णाली राजमार्गको उकालो माथि स्टेभ्याली पुगे पछि सुर्खेततिर फर्केर हेर्दा बजार पूरै देखिँदो रहेछ । सुर्खेतलाई दृश्यावलोकन गराउने उद्देश्य राखी विभिन्न व्यवसायीहरूले डाँडामाथि होटल तथा लजहरू खोलेका रहेछन् ।
दैलेख जिल्ला लागेपछि गुराँस गाउँपालिका प्रवेश गरियो । बाटोमा पर्ने ठाउँहरु कानीमत्ता, घोडावास, गाईवान्ना, तालपोखरी, रिठ्ठा, चिसापानी, शियाकोट, रतिखोला, काउलेखोला, तल्लो डुङ्गेश्वर हुँदै गुराँस गाउँपालिका सकिने रहेछ । त्यसपछि दुल्लु नगरपालिका शुरू हुनेरहेछ । गाडी आफ्नै गतिमा अगाडि बढ्दै थियो । हामी कुराकानी गर्दै प्राकृतिक सौन्दर्यपान पनि गर्दै रहेका थियौं । बाटोमा पर्ने दरबारे, गिट्टीखोला, नाउली, सियाला, कालेखोला, पादुकाखोला, डाव, असराघाट, सिस्ने, आठबिस, टुनीबगर, साइगाउँ हुँदै राकमकर्णली पुगियो । त्यही चिया, खाजा खाइयो । त्यहाँ कृषि विकास बैंकको शाखा कार्यालय पनि रहेछ । त्यहाँका प्रबन्धक र कर्मचारी साथीहरूसँग बैंकको बारेमा जानकारी लिइयो । त्यहाँबाट अगाडि बढेपछि साइखोला, वसुन्धारा, आकाशगर्ग हुँदै आठबीस नगरपालिका शुरू भयो । कर्णाली राजमार्ग कहीँ पिच, कहीँ भत्केको पिच, साँघुरो बाटो भएकाले कहीँ कहीँ त विपरीत दिशाबाट आएका सवारीलाई साइड दिन पनि कठिन हुने रहेछ ।
सेरीघाटबाट फेरि उकालो शुरू हुने रहेछ । खिड्की जिउला, ददि खोला हुँदै त्यो दिन हामी कालिकोटको सदरमुकाम मान्मामा वास बस्न पुगियो । झमक्क साँझ पर्दा त्यहाँ पुगेका थियौं । वास बस्नका लागि हामी ‘कोट दरबार’ भन्ने होटलमा पुग्यौं । हामीले कालिकोटको कृषि विकास बैंकमा पहिल्यै सम्पर्क गरिरहेको हुनाले हामी सोझै होटल गएका थियौं । कालिकोटको कृषि विकास बैंकमा सुदर्शन अधिकारी प्रबन्धक रहेछन् । उनलाई भेटेर त्यहाँको व्यवसाय र कार्यालयका समस्याहरूका बारेमा केही समय छलफल भयो । सुर्खेतका निर्देशक हाम्रो टोलीमा सँगै भएका हुनाले कार्यालयमा परेका समस्या सुन्ने र समाधान गर्नेसमेत काम भएको थियो । त्यहाँ बैंकको घरबेटीको कर्जाको केही समस्या भएको कुरासमेत त्यहाँ जानकारी भयो ।
मलाई कर्णालीको भूगोल, त्यहाँको संस्कृति र मानिसहरूको अवस्था समेत आफ्नै आँखाले देख्ने इच्छा थियो । त्यही भएर हामी धेरै ठाउँमा रोकिंदै–रोकिंदै गएका थियौं । त्यो बाटोमा हिंड्दा तराई या मध्य पहाडी जिल्लातिर जस्तो बाटामा सानासाना पसलमा चियानास्ता पाइने रहेनछ । दूधको चिया त सुर्खेतबाट हिंडेपछि मान्मा पुगेर मात्र देखियो । फर्कँदा पुनः जुम्लामा पुगेर मात्र देख्न पाइयो ।
यात्राको दोश्रो दिन अर्थात् २७ गते वैशाख बिहान मान्माबाट अगाडि बढ्यौं । त्यहाँबाट हिंड्दा पारिपट्टि डरलाग्दो भीर देखिएको थियो । आखिर हामी जाने बाटो त पूरै तै भीरैभीर पो रहेछ ! हामी अगाडि बढ्दै जानेक्रममा ताडी, शुभकालिका हुँदै बिहानीबजार भन्ने ठाउँमा पुगियो । नाम बजार भए पनि खासमा बजार भने थिएन । राताडाव तेस्रोबजार, सेराबाडा, खाडाचक्र, तिलागुफा र वाफीघाट हुँदै अगाडि बढियो । डरलाग्दा पहाड, साँघुरा बाटा, कतैकतै मानिसहरू भेटिने पातला काठले छाएका घरहरू पनि देखिए ।
गाडी आफ्नै रफ्तारमा अगाडि बढिरहेको थियो । अगाडि बढ्ने क्रममा भैँसीगौँडा, टिमुरे, गल्जेबजार, खल्लागाउँ, राँचुली, नमघाट, भिग्मा हुँदै हाम्रो गाडी नाग्मा पुग्यो । यहाँ केही पसलहरू रहेको देखियो । यहीँ हामी सबैले बिहानको खाना खायौं । खाना खाएर हामी पुनः अगाडि बढ्यौँ । यो बाटो हिंडिरहँदा कालिकोटको पिली पहाड पर्दोरहेछ । यही पहाडमा माओवादी द्वन्द्वकालमा भएको युद्धमा ठूलो सङ्ख्यामा सेनाको हताहती भएको जानकारीसमेत त्यहीँका मानिसहरूबाट प्राप्त भयो । युद्ध भएको ठाउँमा अहिले एउटा टावर बनाइएको रहेछ । यसै पनि डाँडाबाट चारैतर्फ देखिने भएकोले शायद टावर बनाउनु आवश्यक थिएन कि ? भन्ने सोच मेरो मनमा लाग्यो । खै, के सोचेर स्थानीय निकायले यो ठाउँमा टावर बनाएको हो, मैले बुझ्न सकिनँ । बाटोहरू डाँडाको बीचबाट भए पनि पूरै भीरको बाटो हुनाले गाडीबाट तलतिर हेर्न सक्ने सामर्थ्य कसैको पनि थिएन । यसो केही गरी तलतिर हेरियो भने टाउको रिँगाउने खालको रहेछ ।
खाना खाएपश्चात् लगभग ११:०० बजेतिर हामी त्यहाँबाट आफ्नो गन्तव्य छोट्याउने तरखरले अगाडि बढ्यौँ । हाम्रो योजनाअनुसार हामी रातको वास रारा नजिकै गरिने थियो । अगाडि बढ्दै जाँदा बागबजार, भूगोलपाटा, बाँजागाड, कोइरेली, बड्की, हिमा, आचारलिही, नरकोट, चुलेलगाँउ हुँदै सिन्जा पुग्यौँ । कालिकोट सकिएर जुम्ला जिल्ला लागियो ।
सिन्जा पुग्दा नेपाली भाषाको उत्पत्ति भएको स्थान भनेर पढेका थियौं । आफूले बोलिरहेको भाषाको उत्पत्तिस्थल पुग्दा मेरो मनमा कौतूहल पैदा गरायो । त्यहाँ केहिबेर ओर्लेर सोधपुछ गरौँ भनेको खासै त्यस्तो व्यक्ति भेटिएन । अरु बाटोको अवस्था जे जस्तो भए तापनि सिञ्जामा भने फराकिलो र भरखर राम्रो पिच भएको बाटो देखियो । हामी त्यहाँ केही समय गाडी रोकेर सुस्तायौं । सिन्जा छोडेपछि फेरि बाटोको दुर्दशा भोग्नुपर्यो । कच्ची बाटो भए तापनि ग्राभेल भएकाले केही राम्रै मान्न पर्यो । सिन्जा कटेपछि पाण्डवचोक, गौरी चौर, गोठीज्यूला पुगेपछि जुम्ला जिल्लाको सिमाना सकिने रहेछ र मुगु जिल्ला प्रवेश गरिँदो रहेछ ।
मुगु प्रवेश गर्दैगर्दा बोतागाउँ, भूलभूले कटेपछि रारा राष्ट्रिय निकञ्ज शुरु हुने रहेछ । पिना भन्ने ठाउँ कटेपछि ताल्चा विमानस्थल आउँदो रहेछ । ताल्चा विमानस्थलबाट रारा जान बायाँतिर सल्लेरी तिर जानु पर्ने र मुगुको सदरमुकाम जाँदा दायाँतिर ओरालो जानुपर्ने रहेछ । ब्रह्मकुण्ड र गल्लापानी हुँदै मुगु जिल्लाको सदरमुकाम गमडढि पुगिँदो रहेछ । गमगढी ताल्चा विमानस्थलबाट निकै तल खाल्टोमा पर्दोरहेछ । भिरालो जमिन, कतै एउटा ठूलो घर बनाउने ठाउँ पनि नहोलाजस्तो । त्यहाँ कृषि विकास बैंकका प्रबन्धक र कर्मचारी साथीहरूसँग त्यहाँको बैंकिङ, व्यवसाय र अन्य समस्याहरूका बारेमा छलफल गरियो । फापरको रोटीको खाजा खाएर गमगढीबाट पुनः अघि आएको बाटो फर्कँदै ताल्चा विमानस्थल हेरियो । त्यो विमानस्थल डाँडामा भएको कारणले बाह्र बजेपछि हावा चल्ने हुँदा बाह्र बजे अघि नै विमान आउने रहेछ । नेपालगन्जबाट उडान हुने जहाजहरूको मौसममा भर पर्नुपर्ने अवस्था रहेछ । त्यो दिनमा हामी सल्लेरी गएर साङ्ग्रीला होटलमा बास बसियो । त्यहाँ पुग्दा साँझको साढे सात बजेको थियो ।
तेस्रो दिन होटलबाट तयार भएर बिहान ६:०० बजे नै निस्कियौं । होटलबाट केही पर मिलीचौरसम्म गाडीमा गयौं । त्यहाँबाट गाडी नजाने भएकाले या त पैदल हिँड्नुपर्ने या त घोडा चढ्नुपर्ने रहेछ । त्यहाँबाट रारातालसम्म पुग्न लगभग आधा घण्टा लाग्ने रहेछ । हामी २८ गते बिहनाको करिब ७ बजे हाम्रो अन्तिम गन्तव्य रारा पुग्यो । आहा ! बिहानीको झुल्के घाम मनमोहक अनि शान्त, निलो, सफा वरिपरि हरियो जंगल बीचमा ताल त्यो सौन्दर्यको बयान कुन शब्दले गरूँ ? ताल पहिलो पटक देखे पछि सबैको मुखबाट आएको हो आवाज आहा रारा !
नेपालको प्राकृतिक सम्पत्ति साँच्चै अनुपम उपहार छन् । नेपालको सम्पत्ति भनेकै प्रकृतिले दिएको उपहार हो । रारा पनि प्रकृतिको उपहार मध्येको सर्वोकृष्ट मनमोहक उपहार रहेछ । हाम्रो भ्रमण टोली राराको छेउमा पुगेर एकटकले ताल नियाली रह्यो । त्यति अग्लो भूभागमा चारैतिर हरियाली जंगल बिचमा निलो,सफा कन्चन पानी । जति हेर्यौं त्यति मुखबाट अनायास निस्कन्छ आहा रारा !
कवि मविवि शाहको “रारा कि अप्सरा” कविता सम्झनामा आयो । उनले भनेका थिए । कविताको केही अंश :
रारा भनेको तिमी को हौ?
स्वर्ग कि अप्सरा ?
अथवा इन्द्रको कोपले गर्दा
झर्यौ पृथ्वीमा, धेरै वर्ष अघिदेखि
रहिआयौ यस सुनसानमा उपेक्षित ?
भन ! भन बिन्ती छ मेरो
अथवा स्वर्ग नै ठान्यौ तिमिले झुक्केर
आइ अनि बस्यौ यस पृथ्वीमा
एसियाको धुकधुकीमा रारा मा नेपालमा ।
तालको पारिपट्टि जानका लागि डुङ्गा ८:०० बजेपछि मात्र वारी आउने रहेछ । हामी बिहानको हिँडाइ पनि हुने भयो भनेर खुसी हुँदै तालको देब्रे किनाराबाट किनारै किनार करिब एक घण्टा तालको सौन्दर्य दृश्यावलोकन गर्दै हिंड्यौं । करिब एक घण्टामा तालको पारिपट्टि रहेको डुङ्गा चढ्ने ठाउँमा पुग्यौं । त्यहाँ नेपाली सेनाको एउटा सानो टुकुडी पनि बस्दो रहेछ । हामीले त्यहीँका आर्मीका अफिसरसँग बसेर चिया पियौं । उहाँबाट तालको बारेमा जान्न पाइयो । हिउँदमा हिउँले ढाक्ने र ज्येष्ठको आधा आधि देखि श्रावण महिनासम्म वरिपरि फूलले ढाक्छ रे ।
२०२० साल फागुन २० गते राजा महेन्द्रको त्यस ठाउँमा भ्रमण भएपछि त्यो ताललाई ‘महेन्द्रताल’ नामकरण भएको रहेछ । तर अहिले पनि यो राराकै नामले चिरपरिचत भई नै रहेको छ । समुद्र सतहदेखि २९९२ मिटर उचाइमा अवस्थित यो ताल १६७ मिटर गहिराइ, लम्बाइ अधिकतम ५.१ कि.मि. र चौडाइ अधिकतम ३.२ कि.मि. रहेका छ । यो तालको क्षेत्रफल १०.८ वर्ग कि.मि. रहेको कुरा रारा विकिपिडीयामा उल्लेख भएको पाइन्छ ।
रारातालको वरिपरि हरियो जङ्गलले ढाकेको र बीचमा सफा, सुन्दर, स्थिर र शान्त देखिने ताल प्रकृतिअनुसार रङ्ग फेरिरहन्छ । वरिपरि जङ्गल भए तापनि पातपतिङ्ग तालमा एउटा पनि देखिंदैन । हरेक दिन मध्याह्न पछि आउने हावाले तालमा भएका पातपतिङ्गरहरू किनारामा पुर्याइदिन्छन् भनेर त्यहाँका डुङ्गा चलाउने बोटेहरू भन्दैथिए । रारा राष्ट्रिय निकुञ्जको १०६ वर्ग कि.मि. भित्र यो ताल रहेका छ ।
…पश्चिम नेपालको अप्सरा’ भनेर परिचित यो ताल त्यहाँका पुराना बासिन्दाहरूका लागि केही दुःख पनि रहेछ । यो कुरा सुनिल उलकले २०७९ साल मङ्सिरमा लेखेको लेख लेखेका रहेछन् – ‘राराको सौन्दर्यपछाडि लुकेको रोचक तथ्य र पीडा’ । उनका अनुसार २०२० साल फागुन २० गते मङ्गलवार राजा महेन्द्र पहिलो पटक रारादह पुगेका थिए । उक्त अवसरमा उनले लेखेको कविता थियो – सुन्दरताको भण्डार सारा के खनाया यसै रारामा राराकी अप्सरा…. ।
उनी अगाडी लेख्छन् “राजा पुग्नु केहीका लागि खुशीको कुरा थियो । केही राजाका कविताले रमाए तर केहीका लागि भने यो राजाको आगमन अभिसाप भएर आयो । राजाको त्यो भ्रमण सम्झनै मन नलाग्ने कथा भएर आयो । ताल नजिकै तीन बस्तीहरू मुर्मा,रारा र छाप्नु थिए । ती बस्तीहरू त्यहाँबाट हटाउने विषयमा छलफल भयो ।”
महेन्द्रलाई यस तालको सुन्दरतालाई कायम राख्न र संरक्षण गर्नुपर्दछ भन्ने सोच आयो । पञ्चायती व्यवस्थाको समयमा राजाले बोलेपछि पुगिहाल्ने । राराको वरिपरि भएका मुर्मा, रारा र छाप्नु गाउँका करिब २३२ घरधुरी मा रहेका १५०० जनसंख्यालाई त्यहाँबाट हटाई बाँके र बर्दियाको जङ्गलमा सार्ने र त्यहाँ राष्ट्रिय निकुञ्ज बनाउने योजना बन्यो । तर त्यो योजना लागु गर्न केही समय लाग्यो । राजा महेन्द्रको सोचअनुसार नै राजा वीरेन्द्रले २०३२ सालमा राष्ट्रिय निकुञ्जनको स्थापना गरे । त्यहाँका बासिन्दाहरूलाई २०३५ सालमा बाँके र बर्दियाका जङ्गली क्षेत्रमा बसाइँ सर्न आदेश दिइयो । आफ्ना पितापुर्खादेखि बसेको ठाउँ छाडेर हिँड्नुपर्दा ती १५०० जनतालाई पीडाबोध भएको कुरासमेत उक्त लेखमा प्रस्तुत गरेका छन् ।
यो १०.८ वर्ग कि.मि. को तालको पारिपट्टि सैनिकहरूको क्याम्प रहेको छ । त्यहाँ जाने पर्यटकहरू बस्नको लागि होटलहरू पनि छन् । हामीलाई बोटेहरूले सुनाएअनुसार राजनैतिक पहुँचका भरमा निकुञ्जभित्र होटेलहरू खुलेका छन् । साँचो के हो थाहा भएन । तालभन्दा केही टाढा होटेलहरू पनि रहेको कुरा तिनै नाविकहरूबाट जानकारी पाइयो ।
त्यो समयमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता चलिरहेकाले डुङ्गामा विभिन्न स्कुलका बालबालिकाहरू गीत गाउँदै, रमाइलो गर्दै घुमिरहेका थिए । डुङ्गा सीमित सङ्ख्यामा रहेका र विद्यार्थीहरूको भीडभाड भएकाले वारि आउनका लागि केही समय पर्खिनुपर्ने भयो । केही समयपछि मात्र हामीले डुङ्गा चढ्ने अवसर पायौं । एउटा डुङ्गमा दुई जना चलाउने मानिसहरू रहँदा रहेछन् । उनीहरूसँग कुराकानी गर्दै, हामीले पनि डुङ्गा खियाउँदै फोटाहरू खिच्दै, रमाउँदै झण्डै ४५ मिनेटपछि तालको वारिपट्टि आयौं । हामी वारिपट्टि आइपुग्दा बिहानको १०:०० बजिसकेको थियो । ‘पृथ्वीको स्वर्ग’ भनेर चिनिएको र धेरै समयदेखि आउन चाहेको रारातालको नयनाभिराम सुन्दरतालाई केही समय नियाल्यौँ । मन नलागी–नलागी पाइला फर्कायौं । करिब आधा घण्टाको पैदल यात्रापछि पुनः मिलीचौरमा आइपुग्यौँ । हामीले गाडी त्यहीँ ल्याउनका लागि चालकलाई भनेका थियौं । गाडी त्यहाँ आइसकेको रहेछ ।
डुङ्गाबाट आउँदा नाविकहरूसँग कुराकानीमा उनीहरू भन्दै थिए, “हामले थाहा पाएसम्म कुनै पनि डुङ्गाबाट दुर्घटना भएको छैन । एक पटक बाहिरबाट आएको हेलिकप्टर झरेको हो ।” यो कुरा सुन्ने बित्तिकै हामीले पनि प्रेक्षा राज्य लक्ष्मी शाह चढेको हेलिकप्टर दुर्घटना भएको सुनेको हो ।
फेरी हामीले सोध्यौं “कहाँनेर हो ?“ जवाफमा उ त्यो उत्तर पूर्वको कुनामा हो । हामीले त्यो भनिएको कुना फर्किफर्की हेर्यौं । के देखिनु हो र । सन २००१ को नोभेम्बर १२ मा फिस्टेल एयरको हेलिकप्टर राराताल खसेको र दुर्घटनामा प्रेक्षा सहित ३ जना अन्य यात्रीहरूको मृत्यु भएको कुरा एचभपकजथब कजबज ध्ष्पष्उभमष्ब मा पाइन्छ । हामीले पनि सोधखोज गर्ने प्रयास गरेऊ । राराले कुन कुनामा लुकाएर राख्यो होला ती यात्रीहरूलाई ? किन लियो होला राराले आफू भित्र ? प्रश्न अनुत्तरित नै थियो । सायद यो दुर्घटनाको राज खुलेको छैन होला ।
तालबाट मिलीचौर जङ्गलको बाटोमा केही सिँढीहरू पनि बनाइएको रहेछ । त्यहाँ हिँड्न नसक्ने मानिसहरू घोडा चढेर जाने र आउने गर्ने हुनाले धेरै घोडाहरू देखिए । तर दुर्भाग्य त्यो बाटोमा हिँड्ने घोडाहरूले पूरै बाटो लिदीले भरिएको थियो । सफा गर्ने कोही नभएर हो कि क्या हो बाटैभरि लादीको दुर्गन्धले हिँड्न निकै समस्या पार्ने रहेछ । हामी भने पैदलै हिँडेर नै मेलीचौर पुगेका थियौं । बिहानको खाना बास बसेकै होटल सांग्रीलामा तयार गर्नका लागि भनेका थियौं । समयको सदुपयोग गर्ने विचारले खाना तयार हुने समयसम्म सल्लेरीमा बैंकले लगानी गरेका र गर्नुपर्ने परियोजनाहरूको हेर्ने काम गर्यौं । बैंकले स्थानीय जनताप्रति गरेको कामको अवलोकन गरेपछि हामी प्रसन्न बनेका थियौं ।
सल्लेरीबाट करिब ११:१५ मा खाना खाएर अगाडि बढ्यौँ । करिब दुई घण्टामा भूलभूले भन्ने ठाउँमा पुगियो । त्यहाँबाट जुम्ला जाने बाटो बनाउनका लागि ट्र्याक खोलिँदै रहेछ । यो बाटो फोर ह्विल गाडी जान्छ । नाग्माबाट जानुभन्दा झण्डै दुई घण्टा छिटो जुम्ला पुगिन्छ भन्ने कुरा थाहा पायौं । चालकले पनि जान सकिन्छ, त्यही बाटा जाऊँ भनेर हामी डाँफेको लेकको बाटो अगाडि बढ्यौँ । भूलभूलेबाट ओरालो अनि डाँफेको लेकको उकालो पर्दो रहेछ । अगाडि बढ्दै जाँदा हाम्रो गाडी कनकसुन्दरी नगरपालिकामा पुग्यो । त्यहाँसम्मको ओरालो बाटो त केही ठिकै थियो तर जब उकालो लाग्यो, तब के को बाटो हुनू ! पूरै भीरैभीर रहेछ । गाडी अगाडि बढ्ला भन्यो, पछाडि फर्कन्छ । घुम्तीमा एकै पटकमा गाडी घुम्दैन । ब्याक गरीगरी घुमाउनु पर्दछ । हामी सबैको अनुहार मलिन भएको थियो । भावना भाउजूको अनुहार त झन् बिग्रेको थियो । अनिल दाजुको पनि अनुहार हेर्न लायक थियो । मेरो आफ्नो कस्तो थियो कुन्नि ? म पनि ‘कहाँ जुम्लाको भीरमा आएर’ भन्ने भएको थियो । गोकुल भाइ सवारी चालक भएर होला, अल्लि कम आत्तिएका थिए । खै, यो बाटो पार लगाउन सकिँदैन कि ! जस्तो भएको थियो । डाँफे लेकको उकालो चढ्दा गाडी नै हिँड्न सकेन । चालकले “खै, गाडीले पिकअप नै लिँदैन” भनेर जङ्गलको बिचमा गाडी रोके ।
चालकले कताकता फोन गरे, के के भने इन्जिनतिर हेर्छन् “ठिकै छ” भन्छन् । करिब आधा घण्टापछि “बसौँ गाडीमा बिस्तारै जाऊँ” चालक भाइ सन्देशले भने । गाडी त अलिअलि गर्दै फेरि राम्रैसँग हिँड्यो । खै, के भएको थियो ? केही बनाएको पनि देखिएन । त्यही चालक र गाडीलाई नै थाहा होला । जे होस् हामी त्यहाँबाट डाँफे लेकको भन्ज्याङमा पुगियो । त्यहाँ एउटा चिया पसल रहेछ । जडीबुटी चिया भनेर खाइयो ।
डाँफे लेकबाट ओरालो झर्नुपर्ने रहेछ, जुम्ला जानका लागि । ओरालो झर्दै गर्दा दायाँबायाँ लालीगुराँस फुलेका देखिए । राता मात्र होइन, त्यहाँ त सेतो र रातो मिसिएको लालीगुराँस पनि देखियो । ओरालो झर्दै गर्दा असिना र पानी मज्जाले पर्यो । कतैकतै बाटो आफै बनाउँदै, ढुङ्गा राख्दै हिँड्नु पनि पर्यो ।
जुम्ला उपत्यका तिला कर्णालीको काखमा रहेछ । मैले सोचेको जुम्ला भिरालो जमिन होला, स्याउ हुने ठाउँ भनेको त कति राम्रो उपत्यका रहेछ । तिला कर्णालीको किनारमा प्रायः स्याउका बिरुवाहरू । आहा ! कति रमणीय रहेछ । हाम्रो टोली बेलुका करिब साढे चार बजे जुम्लाको ‘होटल चौतारी’मा बास बस्न पुग्यौं ।
समयमा नै पुगेकाले जुम्ला बजार घुमियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका त्यहाँका मुख्यमुख्य ठाउँहरू घुमियो । जुम्लाको डिल्लीचौरका प्रबन्धक साथीले प्रेमपूर्वक फापरको रोटी हालेर होटलमै लिएर आउनुभयो । आहा, कति स्वादिष्ट ! प्रेमपूर्वक खाइयो । भ्रमण अवधिमा म आफू शाकाहारी भएको र सबै ठाउँमा शाकाहारी भोजन नै खाने कुरामा टोलीका सबै साथीहरू सहमत हुनुभयो । रोटी, ढिंडो जहाँ जे बन्छ त्यही बनाउन लगाएर खाइयो ।
चौथो दिन बिहान आफ्नो इच्छाअनुसार चिया वा कफी पिएर चन्दननाथ मन्दिरमा र भैरवनाथको दर्शन गरियो । त्यहीँको एक स्थानीय सहकारीले सञ्चालन गरेको पसलबाट जुम्लाको चिनो भनेर मार्सी चामल, सिमीलगायत किनियो भने केहीले उनीको स्विटर पनि किने ।
त्यो दिनमा हामी दैलेख हुँदै सुर्खेत पुग्नु पर्ने भएकोले अरू अलमल नगरी त्यहाँबाट हिंडियो । मिचा उपत्यका, श्रीदुस्का हुँदै तातोपानी गा.पा.को ऐरेनी पुगियो । ऐरेनीबाट करि २३५ कि.मि. टाढा रहेको सुर्खेत पुग्नुपर्ने भएकाले चालकले आफ्नो वाहनको गति तीव्र बनाएका थिए । तिला कर्णालीको किनारैकिनार जर्मि, लिताकोट, रोका, कुडारी, त्रिवेणी, लिही हुँदै एक घण्टापछि कर्णाली राजमार्गको नाग्मा बजार कर्णाली राजमार्गमा पुगियो । साँघुरो बाटो भए तापनि पिच गरिएको हुनाले सजिलो थियो । नाग्मा भनेको तिला र कर्णाली नदी मिलेको ठाउँ रहेछ ।
त्यो दिनको बिहानको खाना हामीले पहिलो दिन बास बसेको होटल ‘कोट दरबार’ मान्मा, कालिकोटमा भनेका थियौं । करिब साढे दसमा हामी खाना खाने होटलमा पुग्यौँ । करिब एक घण्टा खाना खाने, आराम गर्ने गरी करिब साढे एघार बजे त्यहाँबाट हिँड्यौँ । मान्माबाट ओरालो झरेपछि मलाई इलामबाट घुम्तीयुक्त ओरालो झरेजस्तै अनुभूति भयो । यसरी ओरालो र घुम्तीबाटो काट्दै हाम्रो वाहन तिला कर्णालीको तिरैतिर हुइँकिएर हुम्ला बजारमा पुग्यो । अगाडि बढ्दै जाँदा कालेखोला भन्ने ठाउँबाट हुम्ला जाने बाटो छुट्टिने कुरा थाहा भयो । दहीखोलाबाट कालिकोट जिल्ला सकिएर दैलेख जिल्ला शुरू भयो ।
हामी फर्कने क्रममा दैलेखमा तेलखानीको उत्खनन गर्दै गरेको स्थानमा पनि अवलोकन गर्ने योजना थियो । त्यसै योजनाअनुरूप रामघाट भन्ने ठाउँबाट कर्णाली राजमार्ग छोडी मध्यपहाडी लोकमार्ग भेट्ने गरी हिँडियो । करिब दुई कि.मि. को कच्ची बाटो हिँडेपछि मध्यपहाडी लोकमार्ग आयो । त्यहाँबाट हामी दैलेखमा भएको तेल उत्खनन् परियोजना हेर्नका लागि अगाडि बढ्यौँ । लोकमार्ग राम्रोसँग पिच भएको बाटो रहेछ । अगाडि बढ्दै जाँदा लैनचौर, ओमकोट, जम्मुकांध, हुँदै बाटोमा ऐंसेलु टिपिरहेका सानासाना नानीहरू भेटिए । हामी पनि गाडीबाट उत्रिएर उनीहरूसँग ऐँसेलु टिप्न लाग्यौँ । ती नानीहरूले आफूले टिपेका ऐंसेलु हामीलाई खान दिए । त्यसको बदलामा हामीले पैसा दिएको त उनीहरूले लिन मानेनन् । उनकै समीपमा रहेकी अल्लि पाको मानिसले “हुन्छ, बुबाहरूले दिएको पैसा लिनू” भनेपछि बल्ल लिइन् । गाउँघरको सस्ंसकार कति अनुशासित भन्ने लाग्यो ।
ऐंसेलु खाएपछि पुनः यात्रा शुरू भयो । खापरथान, बडला, भोटेचौतारा, चामुण्डा हुँदै थापाथली भन्ने ठाउँमा पुग्यौँ । अगाडि बढ्दै जाँदा चगत्रा, पोखरास्थान, रावतकोट, खालीबजार, खामखोलेडाँडा, सौनुगाउँ, कोटेश्वर, जहाँरमाडी, खोलिबजार, जलजले हुँदै तेलखानी उत्खनन गरिरहेको ठाउँमा पुगियो । बाहिरबाट फोटाहरू पनि लियौं । हामी गएको अघिल्लो रातिबाट मात्रै ड्रिल गर्न शुरू गरिएको रहेछ । केही समय अवलोकन गरेपछि मैले मनमनै सोचेँ – अब नेपालमा पनि तेलखानी फेला परोस्, अग्रिम शुभकामना !
तेल खानीभन्दा करिब एक कि.मि. पर शिरस्थान मन्दिर रहेछ । त्यस मन्दिरमा दुई ठाउँमा आफै ग्याँसबाट बत्ती बलिरहेको भनेर पनि देखाइयो । भित्रबाट आफै ग्याँस आउँछ र कहिल्यै निभेको छैन भने त्यहाँ रहेका मानिसहरू भन्दै थिए । हामीले पनि त्यो ज्वालाको तस्बिर लियौं । त्यसपछि दैलेखमा रहेको कृषि विकास बैंकमा काम भएकाले हामी त्यहाँबाट दैलेखको सदरमुकामलाई गन्तव्य बनाएर अगाडि बढ्यौँ ।
त्यहाँबाट अगाडि बढ्ने क्रममा घामघाट खोला, माल्ली पोखरी, खम्ब, रोपे गाउँ, जहारकोट, सालटाकुरा, रुजास धारा, कोलटाकुरा, कृष्ण चौतारी, जिम्वालटोल, डेकेन्द्रचोक हुँदै ४:१५ बजे नारायण नगरपालिकामा रहेको दैलेखको सदरमुकाम ‘दैलेख बजार’ पुगियो । त्यहाँ रहेको कृषि विकास बैंकमा चिया खाएर त्यहाँबाट ५:०० बजे हाम्रो यात्राले पुनः अगाडि बढ्ने क्रम प्रारम्भ गर्यो । त्यहाँबाट सुर्खेतको दुरी ६५ कि.मि. रहेछ । अगाडि बढ्ने क्रममा दुईखम्बा, झुप्रेसाल, बाँसकोट, मौलाडाँडा, बाध्थला, कोटिलागेट, चुप्रा बजार (लोहोरे खोला), चिसापानी हुँदै कर्णाली राजमार्ग भेट्यौँ । सोही राजमार्ग हुँदै हाम्रो यात्रा सुर्खेत बजारतर्फ अगाडि बढ्यो । स्टेभ्यालीमा केही समय विश्राम गर्यौं । त्यहाँबाट सुर्खेत बजार पूरै देखिने हुनाले हामीले केही फोटाहरू पनि एकल र सामूहिक रूपमा खिच्यौँ र सुर्खेततर्फ अगाडि बढ्यौँ ।
करिब ७:३० बजे पुनः कृषि विकास बैंकको प्रदेश कार्यालयमा पुगेर सुस्तायौं । आजको बास पनि यही स्थानमा भयो । भोलिपल्ट बिहान सुर्खेतका बुलबुले ताल (नाम मात्रै ताल, सुख्खा भएको रहेछ) र काँक्रेविहार घुमेर बिहान ९:३० बजेको बुद्ध एयरकै जहाजबाट पाँचौं दिनमा काठमाडौं फर्कियौं ।
म आफू बैंकको संचालक भएको र बैंकको प्रदेश निर्देशक पनि सँगै भएकोले बाटोमा पर्ने बैकका कार्यालयहरू राकम कर्णाली, कालिकोटको मान्मा, मुगुको गमगढि, दैलेखको दैलेखबजार र जुम्लाका कार्यालयहरूको बारेमा व्यवसायमा परेका समस्या र समाधान गर्ने काम पनि भएको थियो । केही थप व्यवसायको अनुगमन समेत गरिएको थियो ।
यसरी कणाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगु गरी पाँच जिल्लाको केही भाग भए पनि भ्रमण गर्ने अवसर मिल्यो । उक्त भ्रमणमा रारा आहा ! नै लाग्यो । भ्रमणमा चाख राख्ने सबैले एउटा ठाउँ रारा बनाउँदा भ्रमणबाट खुशी प्राप्त पक्कै हुन्छ । कर्णाली जिल्लाका दश जिल्लामध्ये अरू पाँच जिल्लाको बारेमा जानकारी भएन । यिनै घुमेका जिल्लाहरूको भौगोलिक र प्राकृतिक अवस्था, रीतिरिवाज, संस्कार र संस्कृति, रहनसहनबारे थोरै भए पनि जानकारी लिने अवसर पाइयो । कालिकोट, मुगु र दैलेख जिल्लाका पुरुषहरूले प्रायः कोट लगाउने गरेको देखियो ।
त्यो बाटोमा हिंड्दा अधिकांश छोरा मान्छेले जतिसुकै फाटेको किन नहोस् कोट लगाएको देखियो । प्रायः कोटहरूको रङ्ग कालो देखिएकाले मैले यो ठाउँको नाम नै ‘कालिकोट’ राखिएको होला भन्ने मनमनै सम्झिएँ । सूचना र प्रविधिले कर्णालीजस्तो विकट क्षेत्रमा पनि गाई चराउन जाँदा होस् या काम गर्न हिँडेका, पसलमा बसेका धेरैजसोको हातमा स्मार्ट फोन बोकेको देखियो । मानिसहरू निडर, आफ्नो कुरा मज्जाले राख्ने निकै चलाख जस्ता लाग्ने ।
रारालाई पर्यटकको गन्तव्य बनाउनका लागि रारा जाने बाटोको स्तरउन्नत गर्नुपर्ने । राराको वरिपरि बाटोको राम्रो व्यवस्था भई पुरै ताल घुम्ने व्यवस्था भएमा पर्यटकको आकर्षण अझ बढ्न सक्छ । पर्यटकहरूका लागि बस्ने र चिया खाजा खाने ठाउँहरू पर्याप्त छैनन् । पर्यटकहरूलाई खाना बस्ने राम्रो व्यवस्था भएको होटलहरुको व्यवस्था हुन पर्ने देखिन्छ । रारालाई पर्यटकमय बनाउन राज्यको ध्यान पुग्नु पर्दछ । त्यहाँको जडीबुटी र फलफूलको सम्भावनालाई राज्यले प्राथमिकता दिनु पर्ने समेत देखिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

