यात्रा आफैमा अनौठो हुँदैन । यात्रा त यात्रा न हो । पैदल होस्, गाडीमा होस्, वायुयानमा होस् या त जलयानमा नै होस् । हामी सबैले दैनिक गर्ने यात्राहरू सधैं के उत्साहपूर्ण रमाइला, रोमाञ्चित हुन्छन् ? पक्कै पनि हुँदैनन् । कोच्चिंदै बसमा दैनिक यात्रा गर्दा कस्तो हुन्छ ? तर यात्रा गर्दा देखिने, सुनिने, भोगिने कुराहरू र सहयात्रीले यात्रालाई अनौठो र रमाइलो बनाउँछन् । यस पटकको यात्रामा पनि यस्तै हुँदैछ ।
आज सन् २०२४ को जुलाइ महीनाको १० गते हो । सुन्दर लमार उपत्यकाको स्पेसिमेन डाँडामा अनिलजीले चलाएको बिएमडब्लु कार रफ्तारमा कुदिरहेको छ । हरियालीले ढाकेको डाँडालाई निलो आकाशले गम्लङ्ग अँगालोमा कसेको छ । टाढाटाढा सम्मको क्षितिजमा पनि नीलो र हरियो रङको अपूर्व मिलन देखिन्छ । देब्रेपट्टिको दमस्याइलो ठाउँमा लमार खोलो बगिरहेको देखिन्छ । लमार खोलो पछि गएर एलोस्टोन नदीमा मिसिन्छ होला ! खोलाको पारिपट्टिको समथर भूभाग टुन्ड्रा प्रदेशमा पाइने बुकी जस्तै वनस्पतिहरूले ढाकेको छ । दाहिनेपट्टि अग्ला डाँडाहरू छन् । तिनलाई कोणधारी जङ्गलले ढाकेको छ ।
हामी अमेरिकाको वायोमिङ राज्यमा रहेको एलोस्टोन राष्ट्रिय निकुञ्जको यात्रामा छौं । म अगाडिको सीटमा छु भने स्मृति भाउजू र मेरी श्रीमती ललिता पछाडिका सीटमा । अनिलजीले आफ्नै गाडीमा हामीहरूलाई यात्रा गराउँदै हुनुहुन्छ । ९,००० वर्ग किमीमा फैलिएको एलोस्टोन राष्ट्रिय निकुञ्ज संयुक्त राज्य अमेरिकाका वायोमिङ, मोन्टाना र आइडाहो गरी तीन राज्यमा फैलिएको छ । धेरै क्षेत्रफल वायोमिङ राज्यभित्र पर्छ । यो राष्ट्रिय निकुञ्जमा पस्ने चार दिशामा एकएक वटा मूलद्वार छन् । हामी उत्तरपश्चिमको गार्डिनर शहरमा भएको मूलद्वारबाट छिरेका हौं ।
“ऊ त्यहाँ देखियो,” सपेसिमेन डाँडामा पश्चिमबाट पूर्वतिर कुदिरहेको कारको देब्रेतिर देखाउँछु । सबैका टाउका देब्रेतिर फर्किन्छन् । एउटा बायसन मस्तले चरिरहेको छ । राष्ट्रिय निकुञ्जमा उनीहरूकै राज छ यतिखेर । क्यानडा आएर थाहा पाएको एउटा कुरा के हो भने राष्ट्रिय निकुञ्जमा प्रकृतिको राज हुन्छ । निकुञ्ज भित्रका जैविक वस्तुका कुरा छोडौं निर्जीव वस्तुको पनि सम्मान गर्नुपर्छ । सुकेको काठ होस् अथवा त्यसै लडेको ढुङ्गो कुनै चीज पनि यताको उता सार्न पाइँदैन । अमेरिकामा पनि त्यही कानून लागू हुन्छ । त्यही भएर हामी नजिकै भएको देखेर पनि बायसन आफ्नै धूनमा चरिरहेको छ । अर्को कुरा हामी जस्ता पर्यटकहरू कति आए-गए होलान् । कतिलाई चासो राखोस् बायसनले पनि ।
बायसनलाई उत्तर अमेरिकामा बफेलो अर्थात् भैंसी भन्छन् । एक घण्टाअघि लन्च खाँदा हामी चार जनाका बीचमा बायसन गाई हो कि भैँसी हो भन्ने छलफल भएको थियो । कुरो बफ मोमो खानेले बायसनको मासु खान मिल्छ कि मिल्दैन भन्ने थियो । हामीले देखेको भैंसीको जस्तो न सिङ छ न त अनुहार नै बायसनको । बरु अनुहार र बनोट हेर्दा गाई जस्तो छ । तर हामीले दूध खाने गरेको गाई चाहिं पक्कै हैन भन्ने कुरामा हामी सहमत भएका थियौं ।
अमेरिकन बायसनको इतिहास दुःखदायी छ । युरोपियनहरूले उत्तर अमेरिकाको जमीन कब्जा गर्दै जाँदा त्यहाँका आदिवासीसँग धेरै ठाउँमा हार खानुपरेको थियो । आदिवासीहरूलाई हराउन उनीहरूको बाँच्ने आधार समाप्त गर्ने नीति अनुरूप युरोपियनहरूले बायसनको संहार गर्न थाले । किनभने आदिवासीहरूको खाना, नाना र छाना बायसनबाटै उपलब्ध हुन्थ्यो ।
यहाँसम्म भयो कि उत्तर अमेरिकाको पश्चिम उत्तरको रकी पर्वत शृङ्खलादेखि भर्जिनिया सम्मको जङ्गलमा साम्राज्य जमाएका बायसन सन् १८८० तिर केवल ५०० को संख्यामा सीमित रहे । सन् १९६० पछि बायसनको संरक्षण शुरू भएपछि अहिले ३०,००० जति जङ्गली बायसन अमेरिकामा पाइन्छन् । घाँसको खोजीमा हिंडिरहने भएकाले एलोस्टोनमा करिब ६,००० बायसन छन् भन्ने सुनिन्छ ।
गाडीमा यात्रा गर्दा सँगसँगै गुडिरहेका गाडी कहिले अगाडि त कहिले पछाडि पर्छन् । निकुञ्ज भित्रको एक लेनको सडकमा कुनै जनावर देखिएपछि अगाडिको गाडीले घ्याच्च रोक्छ । अनि आफू पछाडि छ भने आफूले पनि गाडी रोक्नुपर्छ । आफूले देखिसकेको जनावर भए पनि दोहोर्याएर हेर्नुपर्ने हुन्छ ।
यस्तै क्रम चलिरहेको बेला हाम्रो अगाडि गुडिरहेको गाडी मूल सडक छोडेर दाहिनेतिर मोडेको देखिन्छ । टाढैबाट एउटा साइनबोर्ड देखिंदै छ । साइनबोर्डमा हेर्दा एउटा तीरले ‘पेट्रिफाइड ट्री’ जाने बाटो यतै हो भनेर देखाइरहेको छ ।
अनिलजीले मतिर पुलुक्क हेरेर सोध्नुहुन्छ, “के गर्ने ?”
मैले अनिलजीलाई, “हामी पनि त्यतै जाऊँ । बसेको शहरबाट १,४०० किमी टाढा आएको यस्तै नयाँ चिज हेर्न त हो !”
भनी नसक्दै उहाँले गाडीको स्टेरिङ त्यता घुमाइसक्नु भएको रहेछ ।
आफ्नै धूनमा कुरा गरिरहेका श्रीमतीज्यूहरू अचानक गाडी दाहिने मोडिंदा एकछिन त अत्तालिनुहुन्छ । पछाडिबाट स्मृति भाउजूले सोध्नुहुन्छ, “सडक छोडेर किन दाहिने मोडेको ?” अनिल जी र म हाँस्छौं ।
“हेर्दै भीरतिर लान खोज्ने । अनि फेरि किन हाँस्ने ?” ललिताले पनि थप्छिन् ।
“आज हामी पनि ‘पेट्रिफाइड ट्री’ हेर्ने । हुँदैन ?” ‘पेट्रिफाइड ट्री’ लाई महत्त्व दिँदै प्रश्न उतैतिर फर्काइदिन्छु । उहाँहरू दुवैजनामा उत्सुकता जागेको देखिन्छ ।
“आफ्नो हातमा स्टेरिङ छ । जे गर्ने हो गर्नुस् । हामी त जसोजसो बाहुन बाजे उसैउसै स्वाहा गर्ने हो ।” पछाडिबाट जवाफ आउँछ ।
एकछिन मै हामी खोल्सोतिर पस्दै छौं । सडक साँगुरो तर पिच भएको रहेछ । फर्किने गाडी पनि राम्रैसँग पास हुने रहेछ । यो सडक हेर्दा मलाई नेपालका राजमार्गमा यात्रा गरेको सम्झना आयो । एउटा पेट्रिफाइड ट्री हेर्नका लागि यत्रो सडकमा लगानी ? हाम्रो देशमा भने राष्ट्रिय स्तरका राजमार्गको हालत सदैव यत्तिको भए त गर्व गर्न हुन्थ्यो ।
हाम्रा पछाडि बसेका श्रीमातिजीहरूबाट पनि आँखा अगाडिको सुन्दरताको तुलना नेपालका ठाउँहरूको सुन्दरतासँग हुँदैछ । सोच्दै छु, यो सपेसिमेन डाँडो भन्दा जुम्लाको गुठीचौर, डोल्पाको धो, बागलुङको ढोरपाटन, मुस्ताङको जोमसोम कति राम्राराम्रा । अरूले एउटा रूख देखाएर पर्यटक लोभ्याउँछन् । हामी भने आफ्नै पीरले चाउरिएको मरिच जस्तो दिमागले सोच्छौं । अनि के खाएर हुन्छ त विकास ? अनि कसरी पर्यटक भित्रिन्छन् त ?

गाडी अगाडि बढिरहेको वेला मेरो दिमाग अंग्रेजी शब्द ‘पेट्रिफाइड’ को अर्थ खोज्दै छ । ‘पेट्रिफाइड’ को नेपालीमा सामान्य अर्थ हुन्छ जडवत, भयभीत, डराएको, तर्सिएको र ‘ट्री’ को अर्थ रूख । भयभीत अथवा तर्सिएको रूख भनेको के हो त ? रूख कसरी तर्सिन्छ ? के कारणले तर्सिन्छ ? सानो छँदा रुकुमकोट र यसका ओरिपरि मैले नचढेका रूखहरू कमै थिए । फलस्वरूप मेरो शरीरमा सग्ला हड्डी कमै छन् । त्यतिखेर मैले तर्सेको रूख कहिल्यै देखिनँ । यसभन्दा अघिसम्म पनि रूख तर्सिन्छ भन्ने कुरो थाहा थिएन । कुरो कताबाट कता पुग्यो । पेट्रिफाइड ट्री कै कुरा गरौं ।
अलि गहिरिएर सोच्दा भूगोलको किताबमा पढेको कुराको सम्झना भयो । यो ‘पेट्रिफाइड ट्री’ भनेको के हो भन्ने बुझ्न एक छिन म यहाँहरूलाई पनि पाँच करोड वर्ष अगाडिको एबसरोका पर्वत श्रृंखला र त्यसमा अवस्थित एलोस्टन क्षेत्रतिर लैजान्छु ।
त्यतिखेर एलोस्टन क्षेत्र घना जङ्गलले ढाकेको थियो । पृथ्वी बन्ने क्रम चलिरहेकाले ज्वालामुखीहरू निरन्तर फुटिरहन्थे । त्यही बेला एबसरोका पर्वत श्रृंखलामा निकै ठूलो ज्वालामुखी फुट्यो । ज्वालामुखी फुट्दा त्यसबाट निस्केको लाभा, खरानी बगेर एलोस्टन क्षेत्रको पूरै जङ्गललाई पुर्यो ।
यसरी लाभा, खरानीले पुरेको क्षेत्र चिसिंदै जाने क्रममा जमीन चिरिएका स्थानहरूबाट पानी बग्नथाल्यो । पानीले आफूसँग विभिन्न खनिजका कणहरू बगाउन थाल्यो । तातोले खंग्रङ्ग सुकेका रूखका छिद्रहरूमा पानीले ती खनिजहरू भर्यो । यसरी जैविक वस्तुहरूमा खनिज भरिने प्रक्रियालाई अंग्रेजीमा पेट्रिफिकेशन भनिन्छ । त्यही प्रक्रियाबाट बनेको रूखलाई पेट्रिफाइड ट्री भनिएको हो । यस्तै पेट्रिफिकेशनबाट बनेका ढुङ्गाहरू गण्डकी क्षेत्रको कालीनदीमा पाइन्छन् । ढुङ्गामा पेट्रिफाइड जिवाशेषहरूलाई हामी शालिग्राम भनेर पूजा गर्छौं ।
लौ जा ! के के सोच्दासोच्दै दश मिनेटको ड्राइभ पछि गाडीहरू पार्क गरेको ठाँउ पो आउँछ त ! अगाडि बढ्ने बाटो छैन । पार्क गरेका अरू गाडीहरू पनि छन् । केही मान्छे गाडीभित्र पस्दैछन् । केही गाडीबाट निस्कँदै छन् । फर्किन लागेका मान्छेहरूको अनुहारमा मुस्कान छ । केही मान्छेहरू पहाडको भिरालो जमीनमा उक्लिंदै गरेका देखिन्छन् । यो सबै देखेपछि पेट्रिफाइड ट्री त्यतै कतै भिरालो ठाउँमा हुनुपर्छ भन्ने अनुमान लगाउँछु ।
गाडीबाट ओर्लेर हामी पनि अरूहरूको पछि लाग्छौं । भिरालो ठाउँमा गोरेटो बाटो समातेर उक्लिन्छौं । श्रीमतीज्यूहरूको अनुहारमा उत्सुकताका साथै व्यङ्ग्य पनि देखिएको छ । २-४ ओटा हरिया रूख गोरेटोको दायाँबायाँ छन् । अलि अगाडि बढ्दा एउटा बीस फिट जति अग्लो नाङ्गो रूखको फेद देखिन्छ । हाँगाबिंगा केही छैन । तर निर्जीव ढुङ्गा जस्तो देखिन्छ । त्यसको ओरिपरि फलामे बारले घेरेको छ ।
मनमनै सोच्छु, ‘यही हो त पेट्रिफाइड ट्री ?’ ।
महिला वर्गले हाँसो रोक्न सक्नु भएन । “हात्ती आयो हात्ती आयो फुस्सा,” भनेर श्रीमतीजीहरू व्यङ्ग्यात्मक तरीकाले हाँस्दै हुनुहुन्छ ।
म भने पेट्रिफाइड ट्रीलाई गहिरिएर हेर्छु । रूखका बोक्रा अझै छन् । जराहरू भुइँभित्र यथावत छन् । त्यसैले त यो खडा छ । सुन्दर र आकर्षक छैन तर महत्त्वपूर्ण छ । यसले पाँच करोड वर्ष अघिको समय र वातावरण देखाउँछ । कुनै चीजको महत्त्व नबुझ्दा अथवा महत्त्वलाई जानीजानी नमान्दा त्यो चीजको विनाश बाहेक अरू के नै बाँकी हुन्छ र ? अहिलेको नेपाली भाषा र व्याकरणको हालत जस्तो ।
एक थरी आए झर्रोवादी आन्दोलन चलाए । नेपाली भाषा बिगारे । मर्ने बेलामा ‘गल्ती गरेछौं’ भनेर आत्मशान्ति खोजे । तर उनीहरूले बिगारेको नेपाली भाषा उस्तै छ । अर्को थरी आए नेपाली भाषाको महत्त्वलाई नै ओझेलमा पारेर भाषा सरलीकरणको निहुँमा वर्णहरू नै निले । वर्ण विन्यासमा नै कैंची चलाए । यो विध्वंसको असर यति विकराल छ कि नेपाली भाषामा अराजकता छ । नेपाली भाषा अब कता जान्छ भन्ने अनुमान गर्न नै डर लाग्छ ।
मगजमा उब्जेका भावनाहरूसँगै यात्रा पनि चलिरहेको छ । यात्राकै क्रममा एलोस्टोनको लमार उपत्यकामा यस्तै पेट्रिफाइड ट्रीको जङ्गल नै छ भन्ने जानकारी पाइएको छ । जङ्गलमा कुनै रूख सुतेको अवस्थामा छन् त कुनै ठुटा मात्र छन् । वायोमिङ राज्य कै उत्तर पूर्वमा अवस्थित १२६८ फिट अग्लो डेभिल्स टावर संसारकै ठूलो पेट्रिफाइड ट्री रहेछ । हामीले त लमार उपत्यकाको एउटा मात्र पेट्रिफाइड ट्री हेर्यौं । जङ्गल झन् कस्तो होला ? अनुहारभरी प्रसन्नताका भनौं अथवा व्यङ्ग्यका मुस्कान लिएर हामी भयभीत रूखको दर्शनपछि फेरि आफ्नो यात्रालाई अगाडि बढाउँदै छौं ।
१० जुलाई २०२४
वेस्ट एलोस्टोन, मोन्टाना
संयुक्त राज्य अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ कार्तिक २०८२, शुक्रबार 










