छरछिमेक तथा इष्टमित्रहरू सँगको सरसल्लाहबाट तीर्थयात्रा जाने कार्यक्रम तय भयो । २२ जनाको टोली जुटेपछि यात्रा व्यवस्थापकसँग बसेर यात्राको प्याकेज बन्यो ।
हाम्रो यात्राको मुख्य गन्तव्य तथा उद्देश्य नेपालका प्रसिद्ध गढीमाई, छिन्नमस्ता भगवती, सानो पाथीभरा, जनकपुरधाम, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर महादेव, अर्जुनधारा, सताक्षी धाम लगायत भारतका आसाम राज्यमा अवस्थित कामरूप कामाख्या मन्दिर, अरुणाञ्चल राज्यको परशुराम कुण्ड र सिक्किम स्थित सर्वेश्वरा धाम (नयाँ चारधाम) दर्शन गर्ने र बाटोमा पर्ने विभिन्न देवस्थलको दर्शन एवम् पर्यटकीय स्थलहरूको अवलोकन गर्ने थियो ।
१३ दिने हाम्रो यात्रा प्याकेजमा बिहानको चिया, खाना र बेलुकीको खाना गरी दुई छाक खाना, बास र बसभाडा समावेश थियो भने, यी बाहेक साईटसीन गर्दा लाग्ने तथा अन्य खर्च भने आफैंले ब्यहोर्नु पर्थ्यो । १५ दिनपछि हिंड्ने कार्यक्रम बन्यो । हामी यात्राको तैयारीमा जुट्यौं ।
यात्रा कार्यक्रम तय भएको दशौं दिनमा सहभागी अञ्जन कट्टेलले आफूहरूलाई सुतक परेकाले जान नमिल्ने जनाउ दिनुभयो । २२ जनाको टोली मध्ये एकापरिवारका ५ जना घटेपछि हामी १७ जना बाँकी भएका थियौं, पुनः भोलिपल्ट अर्का २ जनाबाट पनि त्यस्तै खबर आयो । हामी तनावमा पर्यौं ।
बाँकी रहेका १५ जनाले आपसी सल्लाह गरेर पुनः यात्रा व्यवस्थापक मोहन दाइसँग सम्पर्क गर्यौं र यात्रु जम्मा १५ जना मात्र भएको जानकारी गरायौं । उहाँले पूर्वनिर्धारित रकममा नै १५ जनालाई लिएर जान सकिन्न भनेर असमर्थता जनाउनु भयो । जाने सबै तैयारी गरिसकेकोले देवताको भाकल लाग्छ भनेर केही रकम थपेरै भएपनि यात्रामा निस्कने सोचाइ बनायौं हामीले । कुरा मिलेपछि निर्धारित मितिमा फेरबदल नगरीकन जाने पक्कापक्की भयो ।
तीर्थ यात्राको लागि तोकिएको दिन २०७६ फागुन ४ गते आइतवारका दिन बिहान ६ बजे अम्बिका लामिछाने, भवानी अधिकारी, लक्ष्मी पाण्डे, गीता बिष्ट, उमा ढुंगाना, रामेश्वरी ढुंगाना, ईन्दिरा घिमिरे, कल्पना मिश्र, अनिता बस्नेत, बिष्णु बस्नेत, प्रमिला न्यौपाने, महालक्ष्मी आचार्य, मञ्जु रिजाल, रिजाल दिदी र मुरारीराज मिश्र सहित १५ जना तीर्थयात्री, यात्रा ब्यवस्थापक मोहनप्रसाद अधिकारी, सहयोगी घिमिरे बहिनी र टंक भाई, चालक अर्जुन पौडेल तथा सहचालक आले भाई गरी जम्मा २० जना सवार बस तीर्थयात्राको लागि काठमाडौंबाट प्रस्थान गर्यो ।
मौसम सफा भएता पनि चिसो भने पूर्ण रूपमा हटिसकेको थिएन । व्यवस्थापक मोहन दाइले हामी सबैलाई टोलीको पहिचान स्वरूप तीर्थयात्रा अंकित टोपी प्रदान गर्नुभयो । साथै उहाँले यात्राको बेला अपनाउनु पर्ने सावधानी तथा यात्रा सम्बन्धी थप कुराहरू बारे जानकारी गराउनु भयो ।
बिहानको समय भएकोले बाटोमा खासै सवारीको चाप थिएन । चालकभाइले बजाएको सुमधुर भजन बसभित्र गुञ्जिरहेको थियो । कलंकी कटेपछि पानीका २० कार्टुन किनेर बसमा हाल्यौं । थोरै यात्रुका कारण पछिल्ला सीटहरू खाली रहेकाले हाम्रा ब्याग र पानीका बोतलहरू छतमा राख्नु परेन । खाली सिटमा नै तिनको व्यवस्थापन भयो ।
हाम्रो पहिलो गन्तव्य वारा जिल्लाको कलैयामा अवस्थित तराई क्षेत्रको प्रसिद्ध शक्तिपीठ गढीमाईको मन्दिर थियो । नौबिसेमा पुगेर चियापान गरे पश्चात् कुरिनटारमा बिहानी खानाको लागि हाम्रो बस रोकियो । उपयुक्त स्थल हेरेर खाना पकाउने तरखर भयो । हामीले खाना पकाउन लाग्दा त्यही स्थानमा भारतीय तीर्थयात्रीहरू पनि हामीले जस्तै खाना पकाउँदै थिए ।
करिब डेढ घण्टाको त्यहाँको बसाइँपछि खानपिन सकेर हामी प्रस्थान गर्यौं । बाटोमा निकै गर्मी थियो । साँझ पर्नु अगावै हामी वीरगन्ज पुग्यौं । मोहन दाइले होटेलको व्यवस्थापन गरेपछि हामीले बसबाट आवश्यक सामान झिकेर कोठामा आसन जमायौं । खाना खाने बेलामा भोलि बिहान सबेरै गढीमाईको मन्दिर जाने जनाउ पाइयो ।
दोस्रो दिनको हाम्रो यात्रा बिहानै सुरु भयो । नित्यकर्म सकेर होटेलबाट ओर्लंदा चिया तैयार थियो । चियापान पछि सामान बसमा राखेर झिसमिसेमै गढीमाई मन्दिर पुग्यौं । हामी पुग्दा त्यहाँ नित्यपूजा हुंदै रहेछ । संसारकै सबैभन्दा धेरै बली चढाइने भनी प्रसिद्ध, नेपाल र भारतका लाखौं नागरिकका आस्थाकी प्रतीक देवी माता गढीमाईको दर्शन गर्यौं ।
गढीमाईको दर्शनपछि बाटोमा पर्ने स्थानहरूको अवलोकन गर्दै हामी जनकपुरधाम तिर लाग्यौं । ऐतिहासिक सहर जनकपुरमा जानकी मन्दिर भव्य देखिन्थ्यो । यहाँ दर्शनार्थीहरूको घुइँचो लागेको थियो । विवाह मण्डप लगायतका अन्य केही मन्दिरहरूको दर्शन गरेर हामी धनुष मन्दिरतर्फ लाग्यौं ।
धनुष मन्दिरको दर्शन गर्ने क्रममा त्यहाँका पुजारीले यहाँको ऐतिहासिक तथ्य र धार्मिक महत्वका बारेमा बताउनु भयो । सीता स्वयंवरको समयमा रामद्वारा भाँचिएको शिव धनुषको तीन टुक्रा भएको रहेछ । जसमध्ये एक टुक्रा स्वर्गमा, एक टुक्रा पातालमा गई बाँकी रहेको एक टुक्रा यहाँ स्थापना गरिएको रहेछ । यहाँ रहेको धनुषाकृति बढ्दै बढ्दै गएको भन्ने समेत उहाँको भनाइ थियो ।
यसै स्थानमा रहेको कुण्डमा जलको मात्रा बढी भए देशमा सहकाल आउने तथा जल घटेमा कुनै नराम्रा घटना हुने स्थानीयको विश्वास रहेको बताउँदै उहाँले जनआन्दोलन, दरबार हत्याकाण्ड, भूकम्प जस्ता घटनाका समयमा पनि कुण्डमा जल सुकेको कुरा सुनाउनु भयो । अहिले पनि त्यहाँ जलको मात्रा निकै तल (हेर्दा नदेखिने) थियो ।
जनकपुर धामका विभिन्न मठमन्दिर र पोखरीहरूको दर्शन अवलोकन पश्चात् खानपिन सकेर हामी धरान तर्फ लाग्यौं । हामी बीच बाटोमा पुग्नु केही अघि मात्रै अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलन सकिएको रहेछ । नेपाल र भारतका सहभागीहरूको सवारीको चापले करिब ४ घण्टा सडक जाम भयो । जाम छिचोलेर बास बस्ने धरानको एक होटेलमा पुग्दा रातको साँढे नौ बजेको थियो । हतार हतार खाना बनाइयो । खाना खाएर हामीले धरानमा दोस्रो रात बितायौं ।
हाम्रो अबको गन्तव्य धरानकै विभिन्न मन्दिरहरू थिए । हामी बिहान बुढासुब्बा मन्दिर पुग्यौं । यहाँका मन्दिरका दर्शन सहित पुजारीसँग यस स्थानको महत्वका बारेमा बुझ्यौं । यहाँको विशेषता भनेको नै यस स्थानमा रहेका बाँसहरूमा टुप्पा नहुनु रहेछ । यसो हुनुमा बूढासुब्बाले गुलेलीले मट्यांग्रा हानेर टुप्पा भाँचिदिएको भन्ने मान्यता रहेछ । किराँत धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण मानिने बूढासुब्बा मन्दिरभित्र दुई वटा माटाका ढिस्का छन् जसलाई बूढासुब्बाको समाधि स्थलको रूपमा पूजिने गरिन्छ ।
त्यसपछि पिण्डेश्वर बाबा धाम पुगेर महादेवको दर्शन गर्यौं । पौराणिक कालमा समुन्द्र मन्थन गर्दा निस्केको अमृत घडालाई दानवहरुबाट जोगाई यस स्थानमा ल्याएर अमृतपिण्ड शिवलिङ्गको स्थापना गरी राखिएको भनाइ छ । श्रावण महिनामा चतराको कोशी नदीमा स्नान गरी त्यहाँको जल ल्याएर पिण्डेश्वरमा चढाउनेको भिड लाग्ने गर्दछ ।
त्यहाँबाट हामी सतीदेवीको दाँत पतन भएर उत्पत्ति भएको मानिने प्रसिद्ध शक्तिपीठ माता दन्तकाली भगवतीको मन्दिर पुग्यौं । नेपाल एकिकरण पूर्व विजयपुर राज्यका सेन वंशी राजाहरूको इस्ट देवीको रूपमा पूजित धरानको विजयपुर डाँडाको मध्य भागमा अवस्थित दन्तकाली भगवतीको नियमित पूजा हुँदै रहेछ, केहीवेर कुर्नु पर्यो । त्यहाँ हामीले कालो दाँत आकृति सहितकी दन्तकाली माताको पूजाअर्चना र दर्शन गरी नेपालको पूर्वी भागमा रहेको जनकपुर पछिको प्रमुख तीर्थस्थलको रूपमा प्रसिद्ध सताक्षी धामतर्फ प्रस्थान गर्यौं ।
सतासीधाम क्षेत्र अत्यन्तै रमणीय रहेछ । यहाँ दिगम्बेश्वर महादेव, हनुमान, गायत्री आदि मन्दिर, जसमुनी आश्रम र गौशाला पनि रहेको छ । पौराणिक कालमा पाण्डवहरूले यही स्थानमा हतियार लुकाएर गुप्तवास बस्न गएका थिए भन्ने किम्बदन्ती रहेछ ।
मन्दिरबाट लगभग आधा घण्टा पैदल यात्रापछि पुगिने सहस्र धारा भन्ने स्थानमा रहेको झरनामा युधिष्ठिरले सताक्षी देवीको पूजा आराधना गरी देवीको दर्शन पाएको हुनाले यसलाई सताक्षी धाम भनिएको हो भन्ने भनाइ समेत रहेको पाइन्छ । सहस्र धारामा नुहाउनाले पाप नाश हुने जनविश्वास रहेको छ ।
यस्तै, सताक्षी धामलाई हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान् विष्णुसँग गरिदिन लागेपछि भागेर लुकेको ठाउँ पनि भन्ने गरिंदो रहेछ । कुनै समय पृथ्वीमा सुक्खा लागेको बखत सतीदेवीले आफ्ना सय वटा आँखाबाट एकैपटक अश्रुवर्षा गरी खोलो बगाउँदा तिनै देवीको नामबाट सताक्षी धाम भएको भन्ने पनि धार्मिक मान्यता रहेछ । यिनै जानकारी लिंदै हामीले आश्रममै खाना खायौं । गर्मीको समयमा खानासँगै खाइएको त्यहींको उत्पादित मोही अमृतभन्दा कम्ती मीठो लागेन ।
अबको हाम्रो गन्तव्य भारतको आसाममा अवस्थित माता कामरूप कामाख्या देवीको मन्दिर थियो । बोर्डरमा सामान्य कागजी कारबाहीपछि हामी सिलगुडी प्रवेश गर्यौं । यता आउनुपूर्व सिलगुडीमा बसोबास गर्ने भतिज युगराज मिश्रसँग बाटोमा भेट्ने सल्लाह भएकोले मोहन दाइको फोन मार्फत सम्पर्क गरेर भेट्ने स्थान तय गरियो । हामी तोकिएको स्थानमा पुग्दा भतिज युगराज, बुहारी सुनिता अधिकारी मिश्र र नाति कुणाल पुगिसकेका रहेछन् । आफन्तजनहरू सँगको भेटघाट रमाइलो र अविस्मरणीय रह्यो ।
चियापान पश्चात् बाटोका दृश्यहरू अवलोकन गर्दै हामी अघि बढ्यौं ।
रातीको बसाइँ जलपाईगुडीको मालबजार स्थित होटेलमा भयो । बेलुका बजारको अवलोकन पनि गरियो । भोलीपल्ट सबेरै त्यहाँबाट हामी कामरूप कामाख्या मन्दिर तर्फ लाग्यौं । बिहानको समय बाटो प्रायः सुनसान थियो । हामी अपराह्न कामाख्या मन्दिर पुग्यौं । मन्दिरका पुजारीको गेस्टहाउसमा बसाइको व्यवस्था थियो । त्यो दिन हामीले मन्दिर अवलोकन गरी रात्रि आरतीमा सामेल भयौं ।
बेलुकी मन्दिरका पुजारीसँग सल्लाह भए बमोजिम हामी भोलि बिहान नित्यकर्म सकी एक कप कालो चिया खाएर सबेरै मन्दिरमा लाइन बस्न गयौं । प्रातः ७ बजेर दर्शनका लागि मन्दिर खुल्ने रहेछ । लाइनमा हामीभन्दा अघि सिक्किम तिरका २ जना दर्शनार्थी मात्रै थिए । हामी माताको दर्शनको प्रतीक्षामा व्यग्र थियौं ।
यसैबीच हाम्रो टोलीका लक्ष्मी पाण्डे दिदीलाई अकस्मात् सन्चो भएन, उहाँ चिटचिट पसिना काट्दै लल्याकलुलुक अवस्थामा पुग्नुभयो । हामी सबै आत्तियौं । मोहनदाइले त्यहाँका पुजारीसँग सम्पर्क गरी ढोका खुलाउनु भयो । दिदीलाई मन्दिर परिसरभित्र मेचमा राखेर उपलब्ध प्राथमिक उपचारको गरियो ।
पुजारीले अब केही समय रेस्ट गराएर हेरौं, सुधार नभए अस्पताल लगौंला भनेर आश्वासन दिए । करिब आधा घण्टा जतिमा दिदीको स्वास्थ्यमा केही सुधार आएर राम्ररी बोल्ने अवस्थामा आउनुभयो । हामीले सन्तोषको श्वास फेर्यौं । यति खेरसम्म मन्दिर खुल्ने बेला भएको थियो । पुजारीले एकजना बिरामीको साथमा बसेर बाँकी दर्शन गर्न जानुस्, म बिरामीलाई एकछिन पछि अर्को ढोकाबाट भित्र लैजाने छु भनेपछि म दिदीसँग बसें । अरू सबै भित्र प्रस्थान गरे । यति बेलासम्म मन्दिरमा निकै भीडभाड भइसकेको थियो । हाम्रो टोली भित्र पुगेर दर्शन गर्दै थियो । केही बेरपछि पुजारी आएर लक्ष्मी दिदी र मलाई बेग्लै ढोकाबाट भित्र पुर्याए । हाम्रो टोलीका सबैजना भित्रै भेटिए ।
सतीदेवीको गुह्यद्वार पतन भएर बनेको पहिलो शक्तिपीठ नेपालको गुह्येश्वरी भए झैं सतीदेवीको शुचिस्थान अर्थात् योनाङ्ग पतन भएर बनेको एकाउन्नौं शक्तिपीठ कामाख्या मन्दिर हो । यो मन्दिरमा देवीको कुनै मूर्ति देखिन्न । यहाँ एउटा कुण्ड छ जसलाई सधैं फूल र कपडाले ढाकिन्छ । कुण्डबाट सधैं जल निस्किरहन्छ । यहाँ देवीको योनिको पूजा गरिने भएकाले कामाख्या माता रजस्वला हुन्छिन् भन्ने धार्मिक मान्यता छ ।
माताको रजस्वला अवधिमा मन्दिरभित्र सेतो कपडा बिच्छ्याइदिने र यसरी बिच्छ्याइएको सेतो कपडा तीन दिन पछि रातो हुने र त्यसै रातो कपडालाई यहाँको मुख्य प्रसादको रूपमा वितरण गर्ने चलन रहेछ । प्रत्येक वर्ष मन्दिर नजिकैको ब्रह्मपुत्र नदीको पानी तीन दिनसम्म रातो हुने र यो कामाख्या माताको रजस्वलाको कारण हो भन्ने पनि मत रहेछ । यस मन्दिरलाई अघोरी तथा तान्त्रिकहरूको साधना सिद्धि गर्ने स्थल समेत मानिने रहेछ ।
यहाँका सबै कुरा राम्रै भएता पनि भित्र मूर्ति पिच्छे बसेका पुजारी (पण्डा) हरूको व्यवहार भने उदेक लाग्दो र ठगी प्रवृत्तिको रहेछ । मन्दिर भित्रै विभिन्न देवीदेवताको दर्शन गर्दा जबर्जस्ती गर्ने, अंकै तोकेर कतै सय त कतै पाँच सय चढा भन्ने, दुर्वचन बोल्ने र माताको प्रसाद (वस्त्रको टुक्रा) आफूखुशी मूल्य तोकेर लिन लगाउने जस्ता कुराले गर्दा केही नराम्रो लाग्यो । नेपालका कुनै मन्दिरमा यस्तो नभोगेकोले पनि यस्तो लागेको हुनसक्छ ।
भगवान् शिवको नववधूको रूपमा पूजिने कामाख्या माताको बिहानै दर्शन गरे पश्चात् खाना खाएर हामीले दिनभर गुवाहाटीमा रहेका विभिन्न स्थान र मठमन्दिरहरूको भ्रमण गर्यौं । यसै क्रममा दश मिनेट डुंगा चढेर ब्रह्मपुत्र नदीपारि उमानन्दको दर्शन गर्यौं । एशियाकै ठूला नदी मध्येको एक ब्रह्मपुत्र नदीमा आतेजाते बीस रुपियाँ भाडा तिरेर गरिएको सो जलयात्रा निकै रोमाञ्चक रह्यो ।
यसैगरी त्यहाँ बालाजी, साई, सूर्य, शनि लगायतका अन्य मन्दिरको पनि दर्शन भयो । साँझमा पुनः कामाख्या माताको आरतीमा सहभागी भइयो । यसरी दुई रात माताको स्थानमा बिताएर भोलिपल्ट त्यहाँबाट निकै टाढा पर्ने परशुराम कुण्डको दर्शनार्थ अरुणाञ्चल प्रदेश तर्फ लाग्यौं ।
यताको वातावरण र मौसम पनि काठमाडौंकै जस्तो थियो, न जाडो न गर्मी । दिनभरको लगातार यात्रा पछि हामी बेलुका तीनसुकिया भन्ने व्यस्त स्थानमा पुग्यौं । त्यहाँको सवारी जामले काठमाडौंको झझल्को दिलायो । हामी राती त्यहीं होटेलमा बास बस्यौं । अघिल्लो दिनको यात्राले थाकेका भएता पनि चिया खाएर हामी बिहान साँढे पाँच बजे परशुराम कुण्डको लागि निस्कियौं । मौसम चिसो थियो । बाटो खाली भएपनि त्यति राम्रो थिएन । वरिपरिको वातावरण भने सुन्दर देखिन्थ्यो । दृश्यावलोकन गर्दै हामी अघि बढ्यौं । करिब दश बजे परशुरामकुण्ड क्षेत्र पुगियो ।
बसबाट ओर्लेर आधा घण्टा जति सिंढीको बाटो हिंडेपछि नदीको किनारमा रहेको कुण्डमा पुगिंदो रहेछ । नदी गहिरो र वेगवान् भएकोले नुहाउने स्थानमा फलामे बार लगाइएको थियो । पानी चिसो र हावा चलिरहेको थियो । नदीमा स्नान पछि नजिकै रहेको कुण्डमा स्नान गरियो । यहाँ नुहाउँदा लगाएको वस्त्र त्यहिं छोड्नु पर्ने भनाइ रहेछ । हामीले पनि त्यसै गर्यौं । स्नान र पूजाआजा पछि यस क्षेत्रका मठमन्दिरहरू, गौशाला, परशुराम आश्रम आदिको दर्शन अवलोकन गरियो । ब्रह्मपुत्रको किनारमा रहेको यस कुण्ड क्षेत्रमा हावा भने निकै चल्ने रहेछ ।
किंवदन्ती अनुसार भगवान् विष्णुका छैठौं अवतार मानिने परशुरामले पिताको आज्ञा पालन गर्दै मातृहत्या गरेकाले सो पापका कारण उनको हातमा बन्चरो टांसिएको थियो । त्यस पापबाट मोचन हुने उपाय सोध्दा पिता जमदग्नीले, संसारका कुण्डहरूमा स्नान गर्दै जानु, जहाँ स्नान गर्दा हातबाट बन्चरो खस्छ त्यहीं यो पापबाट मुक्ति मिल्छ, भनी बताए अनुसार यहाँ आएर स्नान गर्दा बन्चरो हातबाट कुण्डमा झरेर पापमोचन भएको हुनाले त्यस कुण्डलाई परशुराम कुण्ड भनिएको रहेछ ।
यहाँको स्नानले हरेक पापबाट छुटकारा पाइने जनविश्वास रहेको पाइयो । माघे संक्रान्तिमा यहाँ ठूलो मेला लाग्ने रहेछ, जसलाई सानो कुम्भ मेला पनि भनिने रहेछ । परशुराम कुण्डको स्नान र दर्शन पछि हाम्रो फिर्ती यात्रा सुरु भयो । हामी पुनः गएकै बाटो हुँदै तीनसुकिया तर्फ लाग्यौं । अघिल्लो दिन राती बसेको स्थानबाट करिब २ घण्टा जति परको स्थानमा हाम्रो रात्री बसाइँ भयो ।
तिनसुकियाबाट भोलिपल्ट सबेरै हिंडियो । यो दिनको बसयात्रा भने निकै लामो रह्यो । हामी साँझपछिको समयमा मालबजार पुग्यौं । जाँदा बसेकै जलपाईगुडीको मालबजार स्थित होटेलमै हाम्रो बसाइँ भयो । थोरै विश्राम पछि, खाना खानुअघि हाम्रो टोलीका सदस्यहरूले मालबजारमा इच्छानुसार केही किनमेल गरे ।
अर्को दिन पनि बिहानै हिंडियो । हाम्रो अबको यात्रा सिक्किमको चारधाम भनिने सर्वेश्वरा धाम तर्फको थियो । बाटोमा कुनै समय नेपालको पूर्वीसिमाना मानिएको टिस्टा नदी हेर्दै नौ बजेतिर सिक्किम पुगियो । बजारमा हल्का चियानास्ता भयो । त्यहाँका सबै अनुहार नेपाली र भाषा समेत नेपाली बोल्ने भएकोले भारतीय भूमिमा रहेको भान भएन ।
यात्रा अनुमति दिने पर्यटन कार्यालयका नेपालीभाषी कर्मचारीहरू निकै सहृदयी लागे । कागजपत्र भर्ने, फोटोकपी गरिदिने लगायतका काम उनीहरूले नै गरिदिए । उनीहरूको सम्मानजनक बोली र सहयोगी व्यवहारले मन छोयो । हाम्रा सरकारी कार्यालयका कर्मचारीका व्यवहार आँखामा झलझली नाचे, मनै अमिलो भयो । त्यहाँबाट करिब एक घण्टा जति खाल्डाखुल्डी रहित सफा घुम्ती बाटोको यात्रा पश्चात् नयाँ चार धाम क्षेत्रमा पुगियो ।
भारत वर्षको चार दिशाका चार कुनामा चार महत्त्वपूर्ण तीर्थस्थलहरू अवस्थित छन् । जस अनुसार पूर्वमा जगन्नाथपुरी, पश्चिममा द्वारका, उत्तरमा बद्रिनाथ र केदारनाथ र दक्षिण कन्याकुमारीमा रामेश्वर गरी चार देवस्थलहरूलाई चार धाम भन्ने परम्परा छ । हिन्दूहरूले आफ्नो जीवनकालमा एकपटक यी चारधामको तीर्थयात्रा गर्नुपर्ने मान्यता राख्दै आएको पाइन्छ । यसैगरी भारतका विभिन्न राज्यहरूमा बाह्र वटा शिवलिङ्गहरू रहेका छन् जसलाई द्वादश ज्योर्तिलिङ्ग भनिन्छ । पर्यटन प्रवर्धनका लागि सिक्किम सरकारले यी सबै चार धाम र द्वादश ज्योर्तिलिङ्गका बेग्लाबेग्लै भव्य मन्दिर र तिनका प्रतिमूर्तिहरू सहित शिवजीको विशाल मूर्ति स्थापना गरेको रहेछ यस स्थानमा ।
प्रतिव्यक्ति पचास रुपियाँको टिकट काटेर हामी भित्र छिर्यौं । एकै ठाउँमा द्वादश ज्योर्तिलिङ्ग र चारधामको दर्शन पाइयो । मन्दिरका प्रायजसो पुजारीहरूले नेपाली ढाकाटोपी लगाएका देखिन्थे । बगैंचाहरूमा नेपालको राष्ट्रिय फूल रातो लालीगुराँस फुलिरहेको थियो, सबैजना दङ्ग पर्यौं । यो स्थान हेर्न लायक रहेछ । सबैतिरको अवलोकन गरेर खाना खाईवरी हामी त्यहाँबाट निस्कियौं । बाटोबाट हेर्दा टिस्टा नदी गहिरो र सफा देखिन्थ्यो । वरिपरिको वातावरण नेपालकै जस्तो थियो ।
यात्राको प्याकेज अनुसार अबको हाम्रो गन्तव्य नेपालका मन्दिरहरू थिए । त्यसैले, दिनभरीको यात्रापछि बेलुका हामी नेपाल प्रवेश गर्यौँ। रातको बसाई बिर्तामोडमा भयो । भोलिपल्ट हामी इलामको रोङ्ग गाउँपालिकामा पर्ने कुटीडाँडामा अवस्थित सानो पाथीभरा मन्दिर गयौं । पौने घण्टा जतिको उकालो सिंढीको बाटो चढेर मन्दिर पुगियो ।
आदिम कालमा माता पार्वतीले हिमालयमा तपस्या गरी फर्कंदा दाहिने पाउ टेकेको स्थानमा यो पाथीभरा मन्दिर भएको किंवदन्ती छ । देब्रे पाउले टेकेको स्थान ताप्लेजुङको पाथीभरा मन्दिर रहेको मानिन्छ । त्यसैले यस पाथीभरालाई बहिनी पाथीभरा वा सानो पाथीभरा पनि भनिंदो रहेछ । यहाँबाट कञ्चनजङ्घा हिमाल र ताप्लेजुङको पाथीभरा मन्दिर पनि देखिने रहेछ, तर हुस्सु लागेका कारण हामीले चाहिं देख्न सकेनौं ।
विभिन्न जातजातिका वनस्पतिले सुसज्जित हरिया जङ्गलले घेरिएको यस क्षेत्रलाई प्रकृतिको अनुपम उपहार मान्न सकिन्छ । मन्दिर क्षेत्र पनि व्यवस्थित रहेछ । माताको दर्शन पश्चात् हामीले खाना खाएर अर्जुनधारा मन्दिरतर्फको यात्रा सुरु गर्यौँ । पौराणिक कालमा गाईबस्तुलाई पानी खुवाउनको लागि अर्जुनले बाणले हानेर पानीको धारा निकालेको भएर यस ठाउँलाई अर्जुनधारा भनिएको किंवदन्ती रहेछ ।
यस स्थानमा पोखरी सहितको भव्य मन्दिर समेत रहेको छ । विभिन्न मूर्ति र आकृतिहरूले सजिएको यस अर्जुनधारा क्षेत्रलाई आन्तरिक पर्यटन प्रवर्धनको लागि एउटा राम्रै गन्तव्य बनाउन सकिने देखिन्छ । यहाँबाट हामी सप्तरी जिल्ला स्थित राजविराजको करिब १० किमी दक्षिण भारतीय सीमावर्ती क्षेत्र सखडा गाउँमा पर्ने छिन्नमस्ता भगवती मन्दिरतिर हिड्यौं । साँघुरो बाटो, सवारी साधनको चाप र धुलो झेल्दै केही घण्टामा हामी मन्दिर पुग्यौं । मन्दिर क्षेत्र भव्य रहेछ, ठूलो पोखरी सहितको । मन्दिर पुग्दा हुरी र पानी पर्यो ।
छिन्नमस्तादेवी टाउको नभएकी देवी हुन । छिन्नमस्ता भगवतीको प्राचीन मूर्तिलाई चाँदीको प्रतिमाले छोपिने रहेछ । हामीले शिर बिनाको प्राचीनमूर्ति दर्शनको लागि पुजारीलाई अनुरोध गर्यौँ, तर बिहान ४ बजे हुने नित्यपूजाको बेलामा बाहेक अरूबेला त्यो प्राचीन मूर्तिको दर्शन नपाइने जानकारी पायौं । छिन्नमस्ता साक्षात् भगवती मानिन्छिन् । माताको अनुकम्पाले यहाँ आई पूजाआजा र दर्शन गर्न पाएकोमा आफूलाई धन्य ठान्यौं हामीले ।
तत्पश्चात् हामी रात्री विश्रामका लागि बर्दिबास पुग्यौं । हेर्दा हेर्दै यात्राको अन्तिम दिन आयो । बिहान सात बजे हामी सिन्धुली गढी हुँदै फर्कन थाल्यौं । पानी परिरहेको थियो । मौसम असाध्यै चिसो थियो । हामी अपराह्न कुशेश्वर महादेव मन्दिर आइपुग्यौं । एक डेढ वर्ष पहिले पुग्दा मन्दिर पुनः निर्माण हुँदै थियो । अहिले निर्माण कार्य सकिएछ । मन्दिर दर्शन र पूजाआजा गर्यौँ। नदी किनारमा खाना पकाएर खायौं । सदाको भ्रमणमा झैँ आपसमा रकम उठाएर चालक, सहचालक र सहयोगीहरूलाई दिएर माला खादा सहित सम्मान गर्यौं । साथै, देश तथा विदेशका तीर्थस्थलहरूको घुमाइको सफल व्यवस्थापनका लागि मोहन दाइलाई पनि धन्यवाद ज्ञापन गर्यौं ।
तत्पश्चात् तीर्थयात्रा सकुशल सम्पन्न गराइदिनु भएकोमा घुमेर आएका सबै देवी देवताहरूको स्मरण गर्दै काठमाडौं प्रस्थान गर्यौं । यात्रा अवधि निकै उपलब्धिमूलक रह्यो । साँझपख घर आइपुगेर हाम्रो रमाइलो तीर्थयात्रा समापन भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।