“उता यहाँ जस्तो जाडो हुँदैन । झन्डै झन्डै काठमाडौँको जस्तै मौसम रहन्छ । जाडोको लुगा धेरै नलैजाऊँ । एउटा हल्का किसिमको ज्याकेट चाहिन्छ । अरू लुगा सामान्य भए हुन्छ ।” एटलान्टा जाने प्रसङ्गमा भान्जा दीप्पन, बहिनी रेवतीसँग मिनियापलिसमा भएका कुराकानीमा प्राप्त भएका टिप्स थिए यी । सुझाव अनुसार एकेक वटा ब्यागप्याक लिएर हाम्रो जोडी ६ दिनको एटलान्टा यात्रामा निस्कने पक्कापक्की भयो ।

गत वर्षको बडादसैँ मिनियापलिसमा छोरी-ज्वाइँ र नातिनातिनीहरू सँग रमाइलोसित मनाइयो । टिका लगाउन एटलान्टाबाट बहिनी र भानिज पनि मिनियापलिस आए । दुई छोरीका ४-४ जना, बहिनी, भानिज र हामी दुई जना गरी परिवारकै १२ जना भेला भएछौं । विदेशमा यस्तो अवसर जुर्छ । तिहार पनि बहिनीसँग अमेरिकामै मनाउने सुखद संयोग मिल्यो । भाइटिका नलगाएको निकै वर्ष भैसकेको थियो । कहिले कोभिड त कहिले विभिन्न सांस्कृतिक छेकथुन आदि कारणले गर्दा भाइटिका लगाउने मेसो मिलेको थिएन । दशैंको टीकाटाला सकेर दीप्पन आफ्नो कार्यक्षेत्र एटलान्टा फर्किहाले । बहिनी तिहारसम्म हामीसँगै भइन् । लक्ष्मीपूजा र भाइटिका उल्लासमय वातावरणमा मनाइयो ।

तिहार र त्यसपछि पनि लामो समयसम्म मिनियापलिसको मौसम अनपेक्षित किसिमले रमणीय रह्यो । दिनहरू प्रायजसो घमाइला भए र उति जाडो मससुस भएन । सामान्यतया अक्टोबरदेखि हिउँ पर्ने र नोवेम्बर लाग्दालाग्दै बाक्लै हिउँ जम्ने यो ठाउँमा डिसेम्बर लाग्दासम्म पनि खासै हिउँ परेन । हिउँ एकदुई पटक मात्र सामान्य किसिमले परेर टर्‍यो । भाइटिकाको दिन त अघिपछि भन्दा घमाइलो भयो र चिसो सिरेटो पनि चलेन । इगन स्थित छोरी अपेक्षाको घरमा बिहानको घाममा बसेर साइत मै बहिनीको हातबाट भाइटिका लगाउने काम गरियो । स्कूलबाट फर्केर आएपछि साँझमा नातिनातिनाहरूको टिका सम्पन्न भयो ।

भोलिपल्ट अर्थात् नवेम्वर १६ तारिखका दिन स्पिरिट एयरलाइन्सको जहाजबाट बिहान ९ बजे एटलान्टा उड्ने सेड्युल थियो । हामी सबेरै हल्का ब्रेकफास्ट गरेर हिंड्न तम्तयार भयौं । ज्वाइँ उम्मिदले ६.४५ मै एयरपोर्टमा ड्रप गरिदिनुभयो । तोकिएकै समयमा जहाज उडेको हुनाले अर्को ३ घण्टा पुग्दानपुग्दै हामी एटलान्टा एयरपोर्टमा उत्रियौं । दिदीको घर फिनिक्स (एरिजोना) बाट भाइटीका मानेर फर्केका दीप्पन हामीलाई आगमन कक्षामा प्रतीक्षा गरिरहेका थिए ।

“कस्तो भयो फ्लाइट, मामा ? केही समस्या त भएन ?”

“सबै एकदम ठीकठाक रह्यो, बाबु । कुनै अप्ठेरो भएन । ठिक समयमै जहाजले उडान र अवतरण गर्‍यो ।” हामी गफ्फिंदै अगाडि बढ्यौं ।

“मामा, हजुरहरूलाई कत्तिको भोक लागेको छ ? लन्चको समय भयो । यतै रेस्टुरेन्टमा खाऔं कि बाहिर जाऔं ?” भान्जाको प्रश्नपछि खाना खाएर मात्र एयरपोर्टबाट बाहिर निस्कने सल्लाह भयो । बहिनीको क्यारीअन ब्याग र हाम्रो ब्याकप्याक मात्र भएकोले सामान कलेक्ट गर्ने झन्झट थिएन । सरासर एउटा राम्रो रेस्टुरेन्ट रोजेर खाली टेबलमा आआफ्ना ब्याग बिसायौं । भोक र भोजनको राम्रो संयोजन भएर होला शायद, खाना निकै स्वादिष्ट लाग्यो । मीठो मानेर खायौँ । एटलान्टाको स्थानीय समय मिनियापलिसको भन्दा एक घण्टा छिटो भएकोले खाना खाइसक्दा झन्डै दुई बजिसकेको थियो ।

एयरपोर्ट टर्मिनलको सटल ट्रेनलाई MARTA रेल्वे स्टेशनमा छाड्यौँ र अर्को ट्रेनमा नर्थ स्प्रिङ स्टेशन पुगेर उत्रियौं । दीप्पनले त्यहीं पार्किङ गरिराखेको आफ्नो कारमा बसाएर हामीलाई आफ्नो घर कमिंग (Cumming) पुर्‍याए । एयरपोर्टबाट कमिंगसम्म जान झन्डै दुई घण्टा लाग्यो । यो समयमा एटलान्टाको इतिहास र त्यहाँ हेर्नलायक महत्वपूर्ण ठाउँहरूको बारेमा दीप्पनसँग सोधपुछ गरेर जानकारी लिइयो ।

विश्व प्रसिद्ध मानव अधिकारवादी नेता मार्टिन लुथर किंग (जुनियर) एटलान्टा सिटीमा जन्मेका रहेछन् । उनको नेतृत्वमा नै अमेरिकामा मानव अधिकार आन्दोलनले उचाइ प्राप्त गरेको हो र अफ्रिकन मूलका अमेरिकी नागरिकहरूले समानताको अधिकार प्राप्त गरेका हुन् । एटलान्टा किंगको नामसँग जोडिएको हुनाले “आउनु पर्ने ठाउँमै आइएछ” भन्ने लाग्यो ।

कुराकानीमा मग्न भएको हुँदा कमिंग पुगेको पत्तै भएन । घरमा दीप्पनका सालाभाइ प्रतीक (प्याट) भेटिए । भान्जी बुहारी पुष्पा कलेज गएकी रहिछन् । फ्रेश भएपछि प्रतीक लगायत हामीहरू चिया खाजा खाँदै गफगाफ गर्नमै व्यस्त रह्यौं । साँझ पुष्पा कलेजबाट आइन् । पुष्पा र प्रतीकले तयार गरेको स्वादिष्ट खाना खाइसकेपछि हाम्रो भ्रमण कार्यक्रमको रूपरेखा तयार भयो । तत्पश्चात् आआफ्ना शयन कक्षतर्फ लागियो ।

०० ०० ०० ००

जर्जिया अमेरिकाको दक्षिणपूर्वमा अवस्थित राज्य हो । यो उत्तर दक्षिण फैलिएर समुद्र तटसम्म पुगेकोछ । राजधानी शहर एटलान्टाको भू बनोट अलि फरक खालको पाइयो । आपलेसन माउन्टेनको फेदमा रहेको यो शहर भिरालो जमिन, होचा डाँडा र सघन हरियालीले पनि चिनिंदो रहेछ । दक्षिणपूर्वको आर्थिक राजधानीको नामले पनि चिनिने यो शहरमा विश्व स्तरका अनेकौं विश्वविद्यालयहरू छन् । यहाँको पुरानो शहरी क्षेत्रलाई MARTA (मेट्रोपोलिटन एटलान्टा र्यापिड  ट्रान्जिट अथरिटि) रेल्वे सञ्जालले फनक्क बेरेको छ । हाल शहर विस्तारित भएर चारैतिर टाढाटाढासम्म पुगिसकेको देख्न सक्छौं । नव निर्माणको गति तेजले बढिरहेको छ ।

भोलिपल्ट कमिंगको अर्चार्ड लेक र सामुदायिक पार्कलगायत नजिकका ठाउँमा घुमघाम गरियो । श्रीमतीजीको घुँडाको मसल दुखेर समस्या पैदा भएकोले हामीसँग घुम्न सकिनन् र बीचमै आराम गर्न घर फर्किनु पर्‍यो । साँझमा सबैजना जुटेपछि दीप्पनले हामीलाई आफूले खरिद गर्न भनेर ठिक्क पारेको घर देखाउन लगे । अहिले बसेको ठाउँबाट तीन मिनेटको ड्राइभमा रहेछ । घर हामीलाई पनि मन पर्‍यो । राम्रो मोहडा, पर्याप्त बेडरूम, फराकिलो ब्याकयार्ड र सनरुम भएको सो घर झलक्क हेर्दा नै जो कोहीलाई मन पर्ने खालको रहेछ । डिसेम्बरको पहिलो हप्ता साँचो बुझ्ने मिति तय भएको थाहा भयो । भान्जाको प्रगति देखेर खुशी हुँदै घर फर्क्यौं । रमाइलो पारिवारिक वातावरणमा साँझको खाना खाइयो । प्रतीक खुलेर बातचित गर्ने रमाइलो स्वभावका मिलनसार युवा रहेछन् । खाना बनाउने सोख र सिप दुवै रहेछ उनमा । हाम्रो एटलान्टाको बसाईं सम्झनालायक बनाउन उनको पनि उल्लेख्य भूमिका रह्यो ।

शनिवारको निमित्त कस्सिलो कार्यक्रम तय गरेका थियौं । थोरै समयभित्र धेरै काम गर्नुपर्ने थियो । तसर्थ ब्रेकफास्ट गरेर हतारहतार तयार भयौं र खानेपानीका बोटल र पुष्पाले ठिक पारिदिएको ड्राइ फ्रुट्सको प्याकेट टिपेर दीप्पन, बहिनी, अन्जु र म जर्जियाको एउटा प्रमुख दर्शनीय स्थल स्टोन माउन्टेन पार्कतर्फ हान्नियौं । गाडी पार्किङ गरेर केबलकार स्टेशन पुगियो । अन्जुको घुँडामा समस्या भएकोले उनी र बहिनी केवलकारबाट पहाडको टुप्पामा जाने भए । काउन्टरबाट दुई जनाको निमित्त टिकट काटियो । दीप्पन र मैले हल्का लुगा लगाएका छौँ । क्याप, सन ग्लास र पानीको बोटल हातहातमा छ । हाईकिङ गर्नका निम्ति हामी ‘रेडी पोजिसन’ छौं । हाईकिंग गर्ने निश्चय अघिल्लो दिनै गरेका थियौं ।

स्टोन माउन्टेन पार्क एटलान्टा शहरको सर्वाधिक आकर्षणको केन्द्र हो । सप्ताहान्तमा यात्रा गर्ने मानिसहरूको घुइँचो लाग्दछ । पार्कले विशाल ग्रेनाइटको पहाड, ताल र जंगलले ढाकेको वरिपरिको ठूलो क्षेत्रफललाई समेटेको छ । पार्कभित्र कन्भेन्सन हल, उद्यान, गल्फकोर्स, होटल आदि पनि छन् । प्रकृतिमा रमाउन चाहनेहरूको लागि वाकिङ, हाइकिङ र बाइकिङ ट्रेलको बन्दोबस्त छ । साथै, रेल्वे र स्काई कारको व्यवस्था पनि गरिएको रहेछ । ग्रेनाइटको चट्टानको अग्र भागमा सुन्दर कला कोरिएका छन् । ती चित्रहरू १८६० को दशकमा भएको अमेरिकी गृहयुद्धमा संघका विरुद्ध दक्षिणी राज्यहरूको अलायन्सका तर्फबाट लड्ने सेनाका जर्नेलहरूको रहेछ ।

जर्जिया लगायत दक्षिणी राज्यहरूमा गृहयुद्ध (१८६१-१८६५) समाप्त नहुँदासम्म दास प्रथाको बलियो पकड थियो । त्यसवेला राष्ट्रपति अब्राहम लिंकन नेतृत्वको संघ सरकार सिङ्गो अमेरिकालाई दासत्व मुक्त गराउने पक्षमा प्रयत्नशील रहेको थियो । दास राख्न पाउने अधिकार लगायतका विषयमा संघसँग मतभेद बढेपछि दक्षिणका ११ राज्यहरू संघबाट पृथक् रहेको घोषणा गर्दै अलग अलायन्स (संघ) बनाएर गृहयुद्धमा सरिक भएका थिए । यस युद्धमा दुवैतिर ठूलो जनधनको क्षति भयो । सो युद्धमा संघले विजय प्राप्त गरेपछि ४० लाख भन्दा बढी दासले (अफ्रिकी–अमेरिकन हरूले) स्वतन्त्रता प्राप्त गरे । पूरै अमेरिकाबाट दासत्व प्रथा समाप्त भयो । सबै राज्यहरू संघमा समावेश भए र अमेरिका एकीकृत देश बन्यो ।

०० ०० ०० ००

अन्जु र बहिनीलाई केबलकार स्टेसनमा छाडेर हामी मामा भान्जा हाईकिङ गर्न अगाडि लम्कियौं । पहाड उक्लने र ओर्लने मान्छेको दोहोरो लर्को थियो । उकालो चढ्ने ताँतीमा हामीले आफूलाई मिसायौं । मानिसहरू असिनपसिन भएर सकी नसकी अरूभन्दा छिटो शिखरमा पुग्न तँछाडमछाड गरिरहेका छन् । कतिपय मानिसहरू नाङ्गै दौडमा सामेल भएका देख्छौं, मानौं उनीहरू आफ्नो तन्दुरुस्तीको परीक्षा दिइरहेका छन् । म पहाडमा हुर्के-बढेको र हिंड्न रुचाउने मान्छे । दीप्पन भरपुर ताकत भएको जवान । त्यसो भएकोले अगाडिका धेरैलाई पछाडि पार्दै आफ्नो गतिलाई क्रमशः बेगिलो बनाउँदै जान्छौं ।

अन्ततः आधा घण्टाभित्रै हामी पहाडको थाप्लोमा उभिन सफल हुन्छौं । सामान्यतया ४५ मिनेट जति समय लाग्ने हिसाबकिताब रहेछ । यात्रा दलका दुई सदस्य (अन्जु र बहिनी) त तीन मिनेट मै केवलकारबाट माथि पुगेर हामीलाई पर्खिरहेका थिए । फोटो सेसनपछि भ्यू टावरबाट शहर र वरिपरिको दृश्यावलोकन गर्छौं । शरद ऋतु (फल सिजन) बाँकी रहेकै अवस्था भएकोले चारैतिरका वनस्पति विभिन्न रङमा सजेर सौन्दर्य फिंजाइरहेका छन् । पूरै शहर ढकमक्क फुलेको छ । सो मनमोहक दृश्य हेर्ने तिर्सना पूरा भएपछि जो जसरी गएका थियौं उसैगरी फेदीमा ओर्लियौं ।

स्टोन माउन्टेन पार्कमा एकत्र भएपछि डाउनटाउनलाई लक्ष बनाएर त्यहाँबाट हिंडछौं । बीच बाटोमा पर्ने डेकाटोरको पटेल बजारमा पुष्पा र प्याटलाई भेट्ने र त्यहीको इन्डियन रेस्टुरेन्टमा लन्च गर्ने योजना छ । नभन्दै हाम्रो र प्रतीकको गाडी सँगसँगै जस्तो पटेल बजारमा पुग्छ । एउटा इन्डियन रेस्टुरेन्टमा खाना खान्छौं । त्यसपछि हाम्रो गाडी सिधै एटलान्टा डाउनटाउनको मार्टिन लुथर किंग जुनियर स्मृति पार्कमा पुगेर रोकिन्छ ।

०० ०० ०० ००

अमेरिकी गृह युद्धको इतिहासमा जर्जिया र एटलान्टाको नाम विभिन्न सन्दर्भमा उल्लेख भएको पाइन्छ । सन् १८६१- ६५ को गृहयुद्धमा यहाँ घटेका अनेकौं घटनाहरू विशेष उल्लेखनीय रहेका छन् । त्यस्तै १९६० को दशकमा भएको अमेरिकी नागरिक अधिकार आन्दोलनमा एटलान्टाले औधी महत्त्वपूर्ण भूमिका खेलेको छ । विश्वप्रसिद्ध समतावादी अश्वेत नेता मार्टिन लुथर किंग (जुनियर) एटलान्टाको धर्तीमा उदाएको कुरा उल्लेख भैसकेकै छ ।

उनको जन्म जनवरी १५, १९२९ मा भएको हो । उनी अमेरिकी नागरिक अधिकार आन्दोलनका शीर्ष नेता थिए । उनले अफ्रिकी मूलका अमेरिकनलाई भेदभावपूर्ण तरिकाले राष्ट्रिय मूल धारबाट अलग राख्ने नश्लवादी नीतिका विरुद्धमा सिङ्गो देशलाई सशक्त नेतृत्व गरेका थिए । सन् १९६० देखि १९६८ सम्म भएका समानता लगायत नागरिक हक अधिकारका सबै ठूलाठूला आन्दोलनहरू उनकै नेतृत्वमा भएका हुन् । एटलान्टादेखि अल्बानीसम्म, वाशिंगटनदेखि सिकागोसम्म र मेम्फिसदेखि न्यूयोर्कसम्मका सबैजसो नागरिक आन्दोलनहरूमा उनी स्वयं सहभागी थिए । तीनै ठूला आन्दोलनको परिणाम स्वरूप अमेरिकामा नागरिक अधिकार कानून र मताधिकार सम्बन्धी कानून बनेका हुन् जसले अफ्रिकी अमेरिकनहरूलाई समानताको हक दिलाएर अन्य नागरिक सरह सम्मानित जीवन जिउन सक्षम तुल्याएका छन् ।

मार्टिन लुथर किंग जुनियर, स्मृति पार्कमा किंगको जीवन र नागरिक अधिकार आन्दोलन सम्बन्धित विभिन्न बस्तु र संरचनाहरू रहेका छन् । आगन्तुक कक्ष, सूचना केन्द्र, म्यूजियम, उनी जन्मेको घर, छरछिमेक, ब्याप्टाइज भएको र पछि पास्टर भएको चर्च, उनी र उनकी श्रीमती कोरेटा स्कट किंगको समाधिस्थल आदिलाई पार्क भित्र समेटिएको पाइयो । सूचना केन्द्र र म्यूजियममा किंग र उनले नेतृत्व गरेको आन्दोलनसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका, डकुमेन्ट्री लगायत अनगिन्ती श्रव्य-दृश्य सामग्रीहरूको  विशाल संकलन छ । किंगको योगदानको बारेमा अमेरिकी राष्ट्रपतिसहित विश्वका धेरै शीर्ष व्यक्तित्वहरूले व्यक्त गरेका बिचारहरू पनि सुन्न र पढ्न पाइन्छ । उनका विषयमा जिज्ञासा लिएर बुझ्न जान्न चाहने अमेरिका लगायत विभिन्न देशका नागरिकहरू दिनहुँ ठूलो संख्यामा स्मृति पार्कमा पुग्दा रहेछन् र उनका प्रति श्रद्धाभाव व्यक्त गर्दा रहेछन् । हामी दिनको उत्तरार्द्धतिर पुगेको हुनाले होला त्यस बखत भीड पातलिसकेको थियो ।

काला जातिमाथि भएका अत्याचार र भेदभाव प्रतिरोधी आन्दोलनको सिलसिलामा २९ पटक जेल परेका हुन् किंग । पटकपटक भएको हमलाबाट उनी बच्न पनि सफल भएका थिए । तर पछि सन् १९६८ अप्रिल ४ तारिखको दिन आन्दोलन कै सिलसिलामा टेनेसिको मेम्फिसमा गोली हानी उनको हत्या भएको हो । उनी अहिंसाका प्रबल पक्षधर भएका हुनाले उनले नेतृत्व गरेका आन्दोलनहरू पनि अहिंसात्मक नै थिए । किंगको योगदानको कदर गर्दै उनको सम्मानमा संघीय सरकारले सन् १९८० मा मार्टिन लुथर किंग स्मृति पार्क निर्माण गरेको रहेछ ।

स्मृति पार्कबाट डाउनटाउन हुँदै यसको मुटुमा रहेको सेन्टेनियल पार्क गएर त्यसको फेरो लगाउँदै फोटो खिच्ने र सिएन्एन् वर्ल्ड हेडक्वाटर्स, कोकाकोला हेडक्वाटर्स, जर्जिया अकोरियमलगायत भव्य संरचनाहरू अवलोकन गरियो । सिएन्एन् बिल्डिंगभित्र रहेको रेस्टुरेन्टमा गएर कफी पिउँदै केही बेर सुस्ताइयो पनि ।

सेन्टेनियल पार्कको प्रवेश द्वारमा ओलम्पिक रिंग्स र पार्कभित्र ओलम्पिक फ्लेम्सका पिल्लर बनेका छन् । शताब्दी ओलम्पिक गेम्स (सन् १९९६) एटलान्टामा सम्पन्न भएको ऐतिहासिक घटनालाई चिरस्थायी तुल्याउन यी संरचना निर्माण भएका हुन् । ओलम्पिक गेम्स आयोजनाले एटलान्टाको आर्थिक, सामाजिक र जनसांख्याकि परिदृश्यमा कायापलट ल्याएको रहेछ । सो खेलले एटलान्टामा प्रशस्त बाहिरी लगानी र प्रतिभा भित्र्याउन सहयोग गरेको बुझियो । त्यही बखत पार्कले पनि नयाँ स्वरूप पाएको रहेछ ।

०० ०० ०० ००

भोलिपल्ट बिहान अर्लिलन्च खाएर हाम्रो (चार जनाको) टोली टेनेसीको रुबी झरना अवलोकन गर्न प्रस्थान गर्‍यो । रुबी फल्स जर्जियाको उत्तरतर्फ रहेको टेनेसी राज्यको चट्नूगा शहरमा पर्दछ । लूकआउट पहाडको गर्भमा अवस्थित रहेछ – रुबी फल्स । कमिंगबाट रुवी फल्स पुग्न १८४ किमी दूरीको यात्रा तय गर्नु पर्दछ र ड्राइभ गर्न करिब दुई घण्टा लाग्छ । अपलेसन माउन्टेन (Appalachian Mountain) शृंखलाका होचा होचा सुन्दर डाँडा र मनमोहक हरियाली पार गर्दै गन्तव्य तर्फ बढ्यौं । बाटोमा नेपाल सम्बद्ध विविध विषयलाई लिएर आपसमा विचार विमर्श गर्ने सिलसिला पनि चालू रह्यो । कु

रैकुरामा नेपालले सुशासन र विकासको  क्षेत्रमा ठोस उपलब्धि हासिल गर्न नसकेकोले युवाहरू शिक्षा वा रोजगारी प्राप्तिका नाममा गाउँघर रित्त्याएर विदेश पलायन भएको तर्क प्रस्तुत भयो । Daron Acemoglu र James A. Robinson को  Why Nations Fail भन्ने पुस्तकको चर्चा गर्दै त्यस पुस्तकमा उल्लेख भए जस्तै नेपालमा राज्य संचालनमा साझेदारहरूको बृहत् सहभागिता नरहनु, थोरै मान्छेको हालीमुहाली चल्नु, शासकहरूलाई नियन्त्रण गर्ने संस्थागत संरचना सशक्त नहुनु वा भएका संस्था र संरचनाहरूलाई शक्तिहीन तुल्याउनु आदि कारणले नेपालको रूपान्तरण प्रक्रिया अवरुद्ध भएको र सुशासन र विकास ओझेलमा परेको भन्ने दीप्पनको विश्लेषण थियो ।

यो पुस्तकमा किन कुनै मुलुक धनी हुन्छन् र कुनै गरीब हुन्छन् भन्ने प्रश्नको परम्परागत उत्तर छैन । लेखकहरूले शासनमा थोरै व्यक्तिको हालीमुहाली चल्नु, शक्ति नियन्त्रण र सन्तुलन गर्ने संस्थाहरू प्रभावशून्य भएर शासककै इच्छापूर्ति गर्ने साधन बन्नु गरीबी र पछौटेपनका प्रमुख कारण हुन् भन्ने किटानी धारणा सप्रमाण प्रस्तुत गरेका छन् ।

हुन पनि नेपालको लोकतन्त्र नेताहरूको कब्जामा रहेको, पार्टीहरूमा आन्तरिक लोकतन्त्र शून्य प्रायः अवस्थामा पुगेको, नेताहरूले सबै शक्ति आफूमा केन्द्रित गरेको र निगरानी र नियन्त्रण गर्ने संस्थाहरूलाई स्वार्थ पूर्तिका माध्यम मात्र बनाएको तथ्यले दीप्पनका तर्कलाई बल दिइरहेका थिए । अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा र नेपालीलाई हेर्ने दृष्टिकोणको सन्दर्भमा विश्वको पासपोर्ट र्यान्किंगमा नेपालको स्थान खस्किएको प्रसङ्ग पनि आयो । देशको नकारात्मक चर्चा गर्नुपर्दा या सुन्दा मन अमिलो हुँदो रहेछ र कुरा जेजस्ता भएपनि “अँध्यारो पछि उज्यालो अवश्य हुन्छ” भन्ने सकारात्मक निष्कर्षसहित कुरा टुंग्याउन पर्दो रहेछ । त्यहाँ पनि त्यसै गरियो ।

वास्तवमा विदेशमा विभिन्न पेशा व्यवसायमा स्थापित युवा वर्गमा स्वदेशको अगाध माया छ । नेपालको विकास भएर नेपालीहरू सुखी भएको देख्ने इच्छा छ उनीहरूमा । आफूहरूले पनि केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी पनि छ, नभएको होइन । तर वर्तमान शासक मण्डली नफेरिएसम्म केही हुँदैन भन्ने उनीहरूको बलियो भाष्य छ । सबै क्षेत्रमा परिवर्तनकारी युवा नेतृत्व आउनुपर्दछ भन्ने धारणा व्यक्त गर्छन् । भ्रमणको सिलसिलामा भेट भएका नयाँ पुस्ताका प्रायजसो नेपालीसँग मैले गरेको संवाद र अन्तरक्रियामा यस्तै धारणा व्यक्त भएको पाएँ ।

कुरा गर्दै जाँदा हामी जर्जिया र टेनेसिको सिमाना छुट्याउने डाँडामा पुग्छौं । डाँडा काट्ने बित्तिकै उत्तर तर्फको पहाडको फेदीमा अवस्थित च्याट्नूगा शहरमा हाम्रो नजर पर्छ र गन्तव्य नजिक पुगेको विश्वास हुन्छ । केही वेरपछि रमाइलो उपत्यका प्रवेश गर्छौं । आकलन गरेको समय भन्दा आधा घण्टा अगाडि नै निर्धारित स्थलमा पुगेर गाडी पार्किंङ गर्छौं । केभमा प्रवेश गर्नका लागि ३.३० बजेको टिकट छ हामीहरू सँग तथापि हाम्रो अनुरोधमा व्यवस्थापनले ३ बजेकै लटमा गुफा भित्र छिर्ने अनुमति दिन्छ ।

“तपाईंहरूको लिफ्ट छिट्टै जमीनको सतह भन्दा २६० फिट मुनि पुग्नेछ । त्यहाँबाट निस्कँदा आफूलाई गुफाको ढोकामै पाउनुहुनेछ र त्यहींबाट गाइड (मार्ग प्रदर्शक) को साथमा तपाईंहरूले गुफाको यात्रा आरम्भ गर्नु पर्नेछ । चित्ताकर्षक अनेकन् आकृतिहरूमा दृष्टि लगाउँदै बाटोको अन्तिम बिन्दूमा पुग्दा सामुन्नेमा ‘रुबी फल्स’ देख्नुहुनेछ ।” लिफ्टमा हुँदा हामीलाई दिइएको सूचना हो यो ।

“गाइडको कुरालाई ध्यान दिएर सुन्नुहोला र सोही बमोजिम गर्नुहोला ।”

“ए, झन्डै एउटा महत्त्वपूर्ण कुरा भन्न बिर्सेको ! गुफा भित्रको पानी चाहिं नखानुहोला है । गुफामा शौचालयको सुविधा छैन ।” मानिसहरू गलल्ल हाँस्छन् ।

“म्यांगानिजको मात्रा धेरै छ, यहाँको पानीमा । त्यसैले यहाँको पानी खाँदा दिशा पखाला लाग्छ ।” थप सूचना प्राप्त गर्छौं ।

लिफ्टबाट ओर्लेका पर्यटकलाई १०–१२ जनाको समूह बनाएर गाइडको अगुवाइमा गुफामा प्रवेश गराइन्छ । हामी चार जनालाई पनि एउटा समूहमा मिसाइन्छ । तहैतहको चट्टानको बीचमा बनाइएको गोरेटोबाट अन्य दर्शक सँगसँगै बिस्तारै बिस्तारै अघि बढ्दै जान्छौं । साँघुरो र होचो ठाउँबाट हिंड्दा टाउको र जीउको धेरै ख्याल राख्नु पर्थ्यो । ठाउँठाउँमा चुनढुङ्गा पग्लेर हात्ती, उडिरहेकी परी, गंगटो, ढल्केको महल माछा आदि नाना थरिका आकृति बनेका देखिन्छन् । हाम्रो देशमा भए अबिर केशरी नदली किन उसै छाड्थे ती आकृतिलाई ! देवी देवता भनेर पुकार्थे होलान् । कतिपय ठाउँमा आगन्तुकहरूलाई खाल्डाखुल्डीबाट बचाउन फलामको बार लगाइएको छ ।

गाइडको सल्लाह मान्दै र प्रकृतिको अनुपम कारिगरीको प्रशंसा गर्दै अगाडि बढ्छौं । धेरैजसो ठाउँमा बिस्तार बिस्तारै दोहरो आउजाउ गर्न सकिने गोरेटो भएता पनि कहींकहीं एकतर्फी मात्र हिंड्न मिल्नेछ । त्यस्तो ठाउँमा यात्रीलाई रोकेर एक तर्फी पास गराउने व्यवस्था रहेछ ।

करिब ४५ मिनेट जति ओरालो र तेर्सो हिंडेर अन्तमा झरनाको निकट पुग्छौं । त्यहाँ पुग्दा हामीलाई जमीनको सतहबाट ११२० फिट तल रहेको सूचना दिइन्छ । रुबी रङको प्रकाशमा ४४ मिटर अग्लो झरना छङछङ आवाज दिएर झरेको दृश्यले उपस्थित सबैलाई रोमाञ्चित तुल्याउँछ । मानिसहरू खुशीले चिच्याउँछन् । साँच्चि नै अत्यन्त सुन्दर दृश्य थियो त्यो । समूहको निम्ति निर्धारित समय सकिनासाथ बत्ती झ्याप्प निभ्छ । झरनाको आवाज मात्र सुनिन्छ – छङछङ । अरू केही पनि देखिंदैन । आगन्तुकहरू त्यहाँ बढी समय बस्न चाहँदा भीड लाग्ने हुनाले यस्तो गरिएको बुझिन्छ । यात्रीहरू फर्काइन्छन् । फर्कंदा आधा घण्टा भन्दा बढी समय लाग्दैन गुफा बाहिर निस्कन ।

लियो लम्बर्टले १९२८ मा सो गुफा र झरना पत्ता लगाएका रहेछन् । उनले आफ्नी श्रीमती रुबीको नामबाट झरनाको नाम पनि ‘रुबी फल्स’ राखेका रहेछन् । यो सबैका लागि दर्शनीय स्थल बनेको छ । वर्षिनी दशौँ लाख पर्यटकहरू त्यहाँ पुग्छन् । यो झरना जमिन मुनि गुफा भित्र अवस्थित अग्ला झरना मध्यमा पर्दछ । यो ४४ मिटर (१४४ फुट) अग्लो छ । झरनासम्म जान र फर्कन एक माइल पैदल हिंडनु पर्ने रहेछ ।

गुफाबाट निस्कँदै गर्दा गाइडलाई धन्यवाद दिइयो र सरासर भ्यूटावर गएर दूरबिनको सहाराले शहर र यसको हरियाली अनि अपलेसन पहाड शृंखलाका होचा डाँडाको मनमोहक दृश्यलाई पुन: मानसपट र क्यामरामा जस्ताको तस्तै उतार्ने जमर्को गरियो । जिपलाइन र केवल रेलवेको सुविधा प्रयोग गरेर पनि लूकआउट पहाडबाट टेनेसी उपत्यकाको दृश्यावलोकन गरी मनग्गे आनन्द लिन सकिंदो रहेछ । डाँडामा निर्मित सैनिक किल्ला र म्यूजियम हेर्नलायक छन् ।

खाजा खाएर हामी रुबी पार्कबाट बाहिर निस्क्यौँ र सैनिक किल्ला र म्युजियम सम्म पुग्यौं तर बन्द भैसकेको हुनाले भित्र गएर अवलोकन गर्न सकिएन । डाँडाको टुप्पासम्म च्याट्नूगा शहर फैलिएको छ र सम्भ्रान्तहरूका लागि महँगा महलहरू बनेका छन् त्यहाँ । फर्कंदा डाँडाबाट सूर्यास्त अवलोकन गर्ने मौका पर्‍यो । बाटोमा नेपालका एफएम रेडियोको समाचार र गीत संगीत सुन्न छुटाएनौं । घर आइपुग्दा बेलुकाको सात बजेको थियो ।

एटलान्टाबाट फर्कने अघिल्लो दिन बाहिरको प्रोग्राम राखिएन । अन्जुको शारीरिक समस्या र थकानका कारणले घरमा आराम गरेर बस्ने निधो गरियो । मध्यान्हपछि म दीप्पन र प्रतीकसँग नजिकको डाँडामा हाईकिङ गर्न निस्किएँ ।

साँझमा खाइपिई सकेर गफगाफ गर्दै भ्रमणको समीक्षा गरियो । हाम्रो भ्रमणलाई सुखद र रमणीय तुल्याएकोमा बहिनी, दीप्पन, पुष्पा र प्रतीकलाई धन्यवाद दियौं । यात्रा समापनको दिन बिहान सबेरैको उडानबाट मिनियापलिस फिर्नुपर्ने भएकोले ब्रेकफास्ट खानासाथ पुष्पा र प्रतीकसँग बिदाबारी भएर घरबाट निस्कियौं । दीप्पन र बहिनी हामीलाई ‘सी अफ’ गर्न एयरपोर्टसम्म आएका थिए ।