संयुक्त अरब इमिरेटस (युएई)को एक शहर हो दुबई । प्रमुख शहर तर, राजधानी होइन । राजधानी शहर अबुधावी रहेछ । युएईकै पर्यायवाची मानिन्छ दुबईलाई । सौभाग्यले भनौं पंक्तिकारलाई आफ्ना नजिकका साथीहरू सँगै युएईकै यात्राको साइत जुर्यो । म धेरै प्रभावित/आकर्षित भएकोले त्यहाँको यात्रानुभवलाई पाठकहरूका माझमा पस्किने जमर्को गरेकोछु ।
स्कन्दपुराणका अनुसार सत्ययुगमा ब्रह्माबाट वरदान पाएका सुन्दरताका पुजारी वीरहरूले अत्यन्तै सुन्दर तीनवटा पुर (त्रिपुर) बनाएको किंवदन्ती मैले स्वस्थानी व्रतकथामा पढेको थिएँ । यो व्रतकथा हामी नेपालीहरू अधिकांशका घरमा पढिन्छ भन्ने अनुमान मलाई छ । सुन, चाँदी र फलामका ती पुरहरूमा विभिन्न रंग र रत्नहरू, ध्वजा, पताकाहरू, बत्तीहरू, सबै ऋतुमा फुल्ने फूल, बिरुवाहरूले सुसज्जित गरी बनाएको कथामा वर्णन छ । त्यस्तै सुन्दर लाग्दछन् युएईका शहरहरू । मनमोहक ।
यस पटक युएईका तीन शहरहरूको यात्रा गरियो । दुबई, अबुधावी र सारजाँहाँ । स्वस्थानी कथामा वर्णित त्रिपुर जस्तै लाग्छन् ती शहरहरू ।
अहिलेसम्म म आफू विश्वका विभिन्न देशहरूमा पुगें । त्यसमध्ये एक युएईको सुन्दरताको कारणले यस पटकको यात्रा अविष्मरणीय नै भयो । त्यसैले मलाई दुबईलाई आठौं आश्चर्यको शहर भन्न मन लागेको छ । किनकि सामान्य ज्ञानमा विश्वका सातौं आश्चर्यसम्म पढेको थिए । त्यसमा थप गर्नुपर्ने हामी सहयात्रीहरूले ठानेका छौं ।
हामी चार साथीहरू गोविन्द, रमेश, शरद र पंक्तिकारका बीचमा राम्रै दोस्ती छ । पारिवारिक स्तरमै परिचित छौं हामी । हाम्रा सुखदुःखमा साथै हुन्छौं । सेवा निवृत्त भएकाले लगभग सबै फुर्सदिला पनि छौं । चारैजनाको बीच चिया गफको सिलसिला थियो एक साथीले प्रस्ताव राखे “दुबई घुम्न जाऊँ न” ।
सबै हास्यौं । रमेशको जोडीले केही वर्ष अघि मात्रै घुमेकोले नदोहोर्याउने भन्नुभयो । बाँकी हामीहरूले नटेकेको भूमि भएकोले सर्वसम्मतिले प्रस्ताव पारित गर्यौं । तीन जोडीको साइत मिलाउने गरी मन प्रफुल्ल पारेर छुट्टियौं ।
त्यसै दिन नागपोखरी स्थित सिलिंक नामक अनुभवी ट्राभल एजेन्टका कर्मचारीसँग सम्पर्क भयो । कुराकानी पछि भ्रमणको मिति यकिन गरियो । होटलको बुकिङ, बिमा, भिसा, टिकट लगायतका कामको जिम्मा दियौं । एक हप्तामा विदेशी मुद्राको सटही सहित सबै तैयार । साइत मिलेकोले होला काम फटाफट भयो ।
हामी एयर अरेबियाबाट गयौं । बजेट एयरलाइन्स भएकोले उडानमा सामान्य नास्तासम्म खान दिए । हामीलाई पुगेन, उडानभित्रै किन्न पाइने सुविधा रहेछ । हामीसँग युएईकै मुद्रा थियो किनेर पनि खायौं ।
नेपालबाट उड्ने एयर अरेबियाको जहाजले थप सुविधा दिंदो रहेछ । जहाजमा भएका खानेकुराहरू नेपाली मुद्रामा किन्न पाइने । आदरणीय डा. नवराज खतिवडाज्यूको शब्द “हवाई सुन्दरी” सापटी लिन चाहन्छु, त्यो उडानमा एक नेपाली चेली हवाई सुन्दरी रहिछन् । उनले हामी सँगैका एक नेपाली भाइलाई नेपाली मुद्रामै खानेकुरा किन्न दिइन् ।
हामी युएईको सारजाँहाँ शहरको अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै भित्रियौं । अध्यागमनका औपचारिकता सकेर आ आफ्ना झोला समातेर बाहिर निस्कियौं । एयरपोर्टमा हामीलाई लिन एक नौजवान हाम्रो नामको “प्लेकार्ड” लिएर उभिनुभएको थियो । अभिवादनको आदान प्रदान भयो । कास्मिरी मूलका भाइ रहेछन् भने “युएईमे आपका स्वागत है” ।
हामीले उनलाई उनको गाडी राखिएको ठाउँसम्म पच्छ्यायौ । सामान गाडीमा राख्न ती नौजवानले सहयोग गरे । उनले हामीलाई “बरदुबई” स्थित होटल “वेस्कोट”मा दिनको करिब ३ बजे पुर्याए ।
सारजाँहाँबाट दुबई जाने बाटोका दुबैतिर फूलका बगैंचै बगैंचा देखेर हामी मोहित भै हाल्यौं । पहिलो नजरमै युएईले हामी सहयात्रीको मन जित्यो । हामीले हाम्रै भाषामा अहा कस्तो राम्रो बगैंचा भन्दै थियौं । चालक महोदयले बुझेछन् र भने “ये तो सिम्पल है इससे पसन्दिदा तो दुबई शहरके रास्तेका दायाँ बायाँके बगिंचे और मिराकल गार्डेनमे है” ।
चालक महोदय कास्मिरी मूलका भएकाले होला उर्दू मिश्रित हिन्दी राम्रो बोल्थे । दुबईमा जताततै हिन्दी बोलिंदो रहेछ । हामीले हरेक दिन फरक फरक चालक महोदयको सेवा लिन पायौं । कुनै भारतीय मूलका कुनै पाकिस्तान र कुनै अफगानिस्तानी मूलका युवाहरूको सेवा लियौं । सबैले उर्दू मिश्रित हिन्दी बोल्थे। हामीलाई छुट्टै टुर गाइडको सेवा लिन परेन ।
होटलमा भित्रिन र आराम गर्न साँझसम्मको समय थियो । तर, बिहान घरमा खाना नखाएका र जहाजमा पनि चित्तबुझ्दो खाना नपाएकोले हामीलाई राम्रै भोक लागेको थियो । होटलमा “चेकइन” गर्यौं र बाहिरियर खानाको खोजीमा लाग्यौं ।
“बर दुबई”मा नेपाली रेस्टुरेन्टहरू प्रशस्त रहेछन् । “सिल्भर स्पुन” नामको रेस्टुरेन्टमा पस्यौं । खानाको सूची काठमाडौं कै जस्तो । हामी नेपालीमा एक विशेषता छ । मेनुको आद्योपान्त पढ्ने र मःमःलाई रोज्ने । त्यहाँ पनि भयो त्यस्तै । तर, त्यो ठीक गरिएछ । नेपालमा पाइने मःमः भन्दा त्यहाँको मीठो लाग्यो हामीलाई ।
आजै साँझमा क्रुज डिनरको कार्यक्रम थियो । ठिक साढे पाँच बजे हामीलाई लिन उनै चालक आए । हामी गाडीमा बस्यौं । शहरको दृश्यावलोकन गराउँदै करिब डेढ घण्टा गुडाएर क्रुज स्टेशन “मरिना”मा पुर्याए ।
“मरिना”मा समुन्द्रको एउटा भँगालो शहर बीचमा पसाइएको जस्तो लाग्यो हामीलाई । त्यहाँ ठूला क्रुज देखि साना स्टिमरसम्म प्रशस्तै थिए । बस पार्कमा बस राखेजस्तै । केही बेरको पर्खाइ पछि हामीलाई एउटा स्टिमरमा चढाइयो । सबै यात्रुहरू चढें, स्टिमर पौडिन शुरू गर्यो । दायाँ बायाँ शहरको झिलिमिली छ बीचको समुद्रमा स्टिमर पौडिंदै छ । स्टिमरमा टेबुल कुर्ची सजाइएका छन् । खानाका परिकारहरू बफेटमा सजाइएका छन् ।
हामीले खाना खाँदै, विविध सांस्कृतिक कार्यक्रम र समुन्द्रको किनारमा आकाश छुने गरी अग्लिएका महलहरू र बत्तीको झिलिमिली हेर्दै दश बजे रातीसम्म बितायौं ।
दुबई मध्यपूर्वको मरूभूमीको शहर भने पनि रातीमा बहने समुन्द्रको हावाको कारण मौसम केही चिसो थियो । पातलो पातलो भए पनि एउटा ज्याकेट नै चाहिने । होटलमा फर्किदा करिब मध्यरात्रि भएको थियो । तर, शहर जागा नै थियो ।
हाम्रो टुर गाइड उर्फ चालक महोदय भन्दै थिए “दुबई नेभर स्लिप” ।
दुबईमा उज्यालो भयो । हामी नित्यकर्म र बिहानी खाजा खाएर ९ बजे नै तैयार थियौं । आज दुबईबाट करिब २०० किलोमिटर टाढाको युएईको राजधानी “अबुधावी” शहरको टुर र त्यहाँकै वरिपरि रहेका स्वामीनारायण हिन्दु मन्दिर, ग्राण्ड मस्क र फरारी बर्ल्डको भ्रमण गर्ने कार्यक्रम थियो ।
हामीलाई घुमाउने सवारी आयो । १० बजेको हाराहारीमा हामीलाई बोकेर हिंड्यो । ६ लेन चौडा एकतर्फी सडक छ । कहीँ कतै खाल्डाखुल्डी छैनन् । गाडी करिब १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिएको छ । सडकको दायाँ बायाँ फूलका बगैंचा छन् । त्यस्तै आकाश छुन चुलिएका थरिथरि बनौटका महलहरू छन् । जताततै धरहरै धरहरा । हामीले आँखा झिमिक्क नपारी हेर्दैछौं । एक आपसमा तिनैको बखान गर्दैछौं ।
हामी स्वामीनारायण मन्दिरमा पुग्यौं । मुस्लिम मुलुक युएईमा हिन्दू पर्यटकलाई आकर्षित गर्न बनेको मन्दिर । केही दिन पहिला मात्रै भारतीय प्रधानमन्त्रीले समुद्घाटन गर्नु भएको समाचारमा पढेका थियौं । ठूलो क्षेत्रफलमा फैलिएको र हेर्दै भव्य चित्ताकर्षक । मन्दिरको वास्तुकला अतुलनीय लाग्यो । जता फर्केर हेरे पनि नअघाइने ।
त्यस पछि हामी ग्राण्ड मस्कमा गयौं । त्यो झनै भव्य । एक दिनभर नै त्यहाँ खर्चिए पनि हुने थियो । तर, हामीलाई थोरै दिनमा धेरै ठाउँ हेर्नु थियो । पेटले भोक लागेको संकेत गरेको थियो । तर, हामी दृश्यावलोकनमै अघाएका थियौं । त्यसै दिनमा फरारी वर्ल्डमा हेर्न र फर्किएर दुबई आउनु नै थियो । यी सबै सक्दा थाक्यौं र १० बजे राती होटलमा पुग्यौं ।
अर्को दिन लाग्यो । हामी बिहान ९ बजे नै दुबई शहरको सिटी टुरका लागि तैयार भयौं । युएईका सरकार प्रमुख सुल्तानहरूका राजप्रासादहरूको दूर दृश्यावलोकन गर्यौं । विदेशबाट माटो किनेर मरुभूमि र समुद्रमा ओच्छ्याएर विस्तारित जमिनमा बनाइएको आवासीय शहर “पामजुमेरा” घुम्यौं । यो आवासीय शहर विश्वकै महँगो मध्ये मानिन्छ । विश्वमै एक मात्र “सेभेन स्टार” मानिएको होटल “ब्रुज अल अरब” को दूर दृश्यावलोकन गर्यौं ।
त्यसैदिन बेलुका डिनर सहितको “डेजर्ट सफारी” गर्ने हाम्रो कार्यक्रम थियो । दिनको ४ बजे एक सानदार गाडीले हामीलाई बोकेर करिब डेढ घण्टाको यात्रा पछि ठूलो मरुभूमिमा पुर्यायो । रातो बालुवा भएको मरुभूमि ।
“डेजर्ट सफारी”का लागि बालुवामा जाने गाडीको चक्कामा हावा कम राख्नु पर्दो रहेछ । हामी चढेकै गाडीले चक्काको हावा खुस्कायो र सफारी गराउने भयो । हामी सिटवेल्टले बाँधियौं । रातो बालुवाका थुम्कामा, खोल्सामा र ढिस्कामा गाडी दौडिन थाल्यो। कतिपय थुम्काहरू खोल्साहरू उफ्रिएर नाघ्यो दायाँ बायाँ पल्टिएला झै गरी ढल्किएर हामीलाई साहसिक मनोरञ्जन दियो । करिब १५ मिनटको साहसिक कुदाई पछि हामी बालुवामा उत्रियौं । बालुवा त चीसो रहेछ । तस्वीरहरू खिच्यौं र गाडीमै चढेर फेरी बालुवाका थुम्का खोल्सा नाघ्दै फर्कियौं ।
सूर्यास्त हुनै लागेको थियो । मरुभूमिको सूर्यास्त हेर्दै हामी “डेजर्ट सफारी”को डिनर खाने शिविर तिर गयौं । त्यहाँ ऊँटको सफारी गर्यौं। झमक्क साँझ भयो । सयौं पर्यटकहरूको अगाडी “वेली डान्स”को कार्यक्रम शुरू भयो हेर्यौं । बफेटमा सजाइएका स्वादिष्ट खानाहरू खायौं । सूर्यास्त पछिको मरुभूमिको चीसो हावाले गर्दा हामी छिटै फर्किने भयौं । त्यसैले स्थानीय एक सज्जनको सहयोगबाट चालक भाइसंग सम्पर्क गरेर वोलायौं र फर्कियौं । तैपनि होटलमा पुग्दा मध्यराती नै भयो ।
अर्को दिन भयो । बिहानको खाजा खाएर हामी सुन बजार हेर्न गयौं । ठूलो क्षेत्रफलमा फैलिएको सुनको बजार र झिलिमिली देखेर हामी चकित । महाभारत टिभी श्रृंखलाका राजा महाराजाहरूले लगाउने पोशाक जस्ता सुनका कपडाहरू देखि हिरा लगायतका बहुमूल्य धातुका अनेकानेक गर गहनाहरूको किनबेचका लागि गरिएको सजावट हेरेर हामी रनभुल्ल भयौं ।
दिउँसो “मिराकल गार्डेन”मा फूलहरूको अलौकिक सजावट गरेको बगैंचा हेर्यौं । बगैंचा कूल ७२ हजार वर्ग मिटरमा फैलिएको रहेछ । १५ करोडभन्दा बढी फूल बिरुवालाई हवाई जहाज देखि विविध आकार प्रकार र प्रतिबिम्बमा सजाएर प्रदर्शनमा राखिएको रहेछ । संसारकै ठूलो यो बगैंचाले “गिनिज बुक अफ बर्ल्ड रेकर्ड”मा नाम लेखाउन सफल छ भनेको सुन्दा हामी दङदास भयौं ।
मानिसले के के मात्रै गर्न सक्दछन् । “मिराकल गार्डेन” फूलहरूको एक अद्भुत प्रदर्शनी हो । मरुभूमिमा मानिसले गरेको पौरख देख्दा जो कोही पनि आश्चर्यचकित हुनेछन् । त्यस्तो बगैंचाको विकास गर्न सोच बनाउने परिकल्पनाकारलाई र संरक्षण गर्ने पौरखी हातहरूलाई सलाम गर्नै पर्छ ।
त्यसै दिनको साँझमा “ग्लोबल भिलेज”को भ्रमण गर्यौं । संसारका विभिन्न देशहरूका नामबाट मण्डपहरू बनाइएका छन्। ठूलो क्षेत्रफलमा फैलिएको र विश्व विख्यात संरचनाहरूको प्रतिकृतिहरू एकै स्थलमा हेर्न सकिन्छ । दैनिक लाखौं पर्यटकले भ्रमण गर्ने स्थल रहेछ । मनोरञ्जनात्मक खेल खेल्न, कन्सर्टहरू गर्न, नाम अनुसारका देशमा पाइने प्रख्यात खानाको स्वाद लिन एवम् उत्पादनहरू किनमेल गर्न सकिने रहेछ । हामीले पनि सो दिन बेलुकाको खाना सोही भिलेजमा खायौं ।
यी तीनै ठाउँहरू हेरेरै नअघाइने छन् । प्रत्येकलाई एक वा दुई दिन खर्चिनु पर्ने हो जुन हामीसँग थिएन । एकै दिनमा हेर्न खोज्दा कतिपय दृश्यहरू छुटे । आँखा नथाकेसम्म हेरियो र मध्ये रात्रिमा थाकेर होटल फर्कियौं ।
फेरी अर्को दिन भयो । आजको पुरा दिन “दुबई शपिङ मल र बुर्ज खलिफा” टावरका लागि हो । सँगसँगै भएका यी दुई संरचना दुबईका शान हुन । दुबईको प्रतीक हुन । “बुर्ज खलिफा” टावर हालसम्म संसारकै अग्लो मानव निर्मित संरचना हो । कूल ८२८ मिटर अग्लो टावरको १५४ औ तलामा (५८४ मिटर उँचाइ) रहेको रेस्टुरेन्टबाट पनि बाहिरको दुनियाँ हेर्ने सुविधा रहेछ । तर हामी १२५ औ तलासम्म गएर सन्ध्या कालिन दुबई शहरको झिलिमिली हेरेर चित्त बुझायौं ।
एक मिनटमा १२५ तलासम्म पुर्याउने विद्युतीय भर्याङ चढ्ने अनुभव दुबईमै भयो।
सन् २००४ मा शुरू गरेर २००९ मा निर्माण सम्पन्न गरी २०१० बाटै सर्वसाधारणको लागि खुला गरिएको रहेछ । यति ठूलो संरचना छ वर्षमै निर्माण गरी सर्वसाधारणको लागि खुला गरिएको सुन्दा हामी चकित पर्यौं ।
“दुबई मल” विश्वको दोस्रो ठूलो शपिङ मल हो । होटलबाट बिहानको खाजा खाएर हिंडेका हामी दिनभर यी दुई संरचना भित्र रमायौं, हरायौं । मलमा विश्व विख्यात उत्पादनका हजारौं पसलहरू रहेछन् । साथै, कृतिम जलाशय, जल चिडियाखाना, कृतिम छहरा, आइस स्केटिङ ग्राउन्ड, सिनेमा हलहरू, रेस्टुरेन्ट र पार्किङ गरी करिब ९० लाख वर्ग मिटर क्षेत्रफलको उपयोग भएको रहेछ ।
टावरको फेदमा सुस्ताएको क्षणमा “म्युजिकल वाटर फाउन्टेन” कार्यक्रम भयो । हामीले पनि दृश्यापान गर्यौं । सबैतिर हेर्दा हेर्दा आँखा थाके । मलभित्र हिंड्दा हिंड्दा खुट्टा थाके र १२५ तला माथिबाट साँझको दुबई शहरको झिलिमिली हेरेपछि शरीर पनि थाक्यो र मध्यरात्रीमा होटलमा फर्कियौं । तर, मन थाकेको थिएन ।
युएई यात्राको अन्तिम दिन “फ्यूचर म्युजियम”को अवलोकन गर्ने कार्यक्रम थियो । हामी नास्ता खाएर आज दिनभर गरिने क्रियाकलापका लागि ९ बजे बिहानै तैयार भयौं । हाम्रा चालक उर्फ टुर गाइडले भन्दै थिए “जो कोही नागरिकसँग यदि कुनै नयाँ सोच/आविष्कार छ र सरकारलाई साँच्चिकै नवीन लाग्यो भने युएई सरकारले खरीद गरिदिन्छ” ।
वास्तवमा “फ्यूचर म्युजियम”मा भविष्यमा हुने सम्भावित विकासको सोच र परिकल्पना देखाइएको छ ।
यो म्युजियमलाई युएईका शासक उपराष्ट्रपति तथा प्रधानमन्त्री रहेका शेखले भविष्यको बारेमा लेख्नु भएको कविताको मर्ममा आधारित मानिंदो रहेछ । सन् २२।२।२२ मा सर्वसाधारणको लागि खुला गरिएको म्युजियमका पाँच तलाहरूमा भिन्न भिन्न विषयवस्तुहरूलाई समेटेर प्रदर्शन हुने गरेको देखियो र बुझियो । आगामी ५० वर्ष पछिको अन्तरिक्ष तथा संसारको सम्भावित चालचलन तथा विकासलाई म्युजियमका भिजिटरले अहिले नै हेर्न र अनुभूत गर्न पाउँछन् ।
नेपालका महावीर पुन पनि यस्तै एक नवीन सोचको विकास गर्ने वैज्ञानिक छन् । “आविष्कार केन्द्र” खोलेर धेरै नेपाली युवाहरूलाई विभिन्न वैज्ञानिक अनुसन्धानमा लगाएका छन् । तर, सरकारले देखेको नदेख्यै गरेको छ । ऊनका कुरा सुनिंदैन भन्ने समाचार पढ्न पाइन्छ ।
सरकारले मृत घोषणा गरेको कृषि औजार कारखानालाई महावीर पुनले सञ्चालनमा ल्याउने जमर्को गरेका छन् । आफ्नो नाममा सिर्जना गरिएको कृतिको विक्रीबाट हुने आम्दानीलाई कारखाना संचालनमा खन्याउने प्रण गरेका छन् । नेपाल सरकार र युएई सरकारको सोचमा यही फरक देखिन्छ ।
यी तीन शहरका धेरै स्थानमा हामीहरू पुग्न सकेनौं । हेर्नैपर्ने कतिपय स्थानहरू समयाभावले छुटे ।
युएईको मरुभूमिका शहरहरू दुबई, सारजाहाँ र अबुधावीमा बनेका भौतिक संरचनाहरू अवर्णनीय छन् । तिनका वास्तुकलाविद् इन्जिनियरहरूलाई सलाम गर्नुपर्छ ।
इस्लामिक संस्कारको शहरहरू भए तापनि जताततै कामकाजी महिलाहरू भेटिए । नारी र पुरुषमा समानता रहेको अनुभव गर्यौं । कामकाजी महिलाहरूका लागि सुरक्षित शहर भनेको पनि सुन्यौं ।
हामी भ्रमणमा जानु अगावै ‘वर्षाले दुबई शहर जलमग्न’ भन्ने समाचार पढेको थिए । र फर्किए पछि पनि पानीले दुबई शहरलाई फेरी चुर्लुम्म डुबाएको समाचार आयो । तर, हामीले जलाम्मेको कुनै अनुभव गर्नु परेन।
युएई सरकारले मरुभूमिको गर्मी कम गराउन “क्लाउड सिडिङ्ग” प्रविधि अपनाएर कृत्रिम वर्षा गराउने गर्दछ । फलस्वरूप समय समयमा जलामय हुने गरेको भनाइ छ ।
दुबईबाट मुम्बई सम्मको समुद्रमा रेल चलाउन १२०० माइल लामो सुरूङ्ग बन्दै रहेको पनि सुनियो । सरकारले आफ्ना नागरिकलाई विवाह पश्चात सन्तानोत्पतिका लागि अनुदान दिने प्रचलन रहेको पनि सुनियो ।
युएईमा आर्थिक कारोबार तथा व्यापार व्यवसायमा आयकर नलाग्ने रहेछ । मरुभूमिको गर्मी भए पनि पर्यटकको ओइरो लाग्दो रहेछ । सन् २०२३ मा १ करोड ७१ लाखभन्दा बढी पर्यटक भित्रिनु यसको प्रमाण हो ।
विश्व विख्यात संरचनाहरू दुबईमा बनेका छन् । मेहनेती हातले मरुभूमि सिंगारेर बगैंचामा परिणत गरेका छन् । विभिन्न विषय र विधामा विश्व रेकर्ड बनाएर “गिनिज बुक अफ बर्ल्ड रेकर्ड”मा नाम लेखाउन सफल भएको थाहा पाएकोले मैले दुबईलाई आठौं आश्चर्यको शहरको उपमा दिएको हुँ । सबैको जय होस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।