गुवाहाटी भ्रमणका हामी सहयात्रीहरूको पथप्रदर्शक डा. सृजना नै हुनुहुन्थ्यो । उहाँले आज अर्थात् २०८१ असार १४ गते हामी फुर्सदमा रहेकाले कामाख्या, शुक्रेश्वर र ब्रह्मपुत्रको दर्शन, कटन विश्वविद्यालय र वार मेमोरियल भ्रमण अनि समय मिले साँझसम्म फ्यान्सी बजार जान सकिने प्रस्ताव गर्दै सबै जना बिहान नौ बजेभित्र कामाख्या जानका लागि तयारी हुन आग्रह गर्नुभयो । तदनुसार हामीहरू सानाठूला दुई वटा गाडीमा कामाख्या दर्शनका लागि अघि बढ्यौँ ।
प्रताप सरका साथमा लाक्पा, रुद्र र आस्था चार जना सानो गाडीमा अगाडि बढ्नुभयो भने बाँकी हामी आठ जना अर्को मध्यम गाडीमा उहाँहरूकै पछि लाग्यौँ । उहाँहरूको गाडीलाई कामाख्या मन्दिरमा प्रवेश गर्ने अनुमति प्राप्त भएछ तर हामीहरू चढेको गाडीलाई त्यस्तो अनुमति प्राप्त भएन । अनुमति प्राप्त नहुनुको कारण के रहेछ भने कामाख्या मन्दिरको सबैभन्दा ठूलो अम्बुवाची मेला भर्खरै सकिएर आजकै दिन सर्वसाधारणका लागि मन्दिर खुला गरिएको रहेछ र त्यही दिन त्यहाँका मुख्य मन्त्री दर्शनका लागि आउँदै हुनुहुँदो रहेछ । त्यसैले हामीहरूले गाडीबाट मन्दिरसम्म पुग्ने अनुमति प्राप्त गर्न नसकेका रहेछौँ । फलस्वरूप हामीहरू हाम्रा सहयात्रीहरूले कामाख्याको दर्शन गर्न पाउनुहोला र उहाँहरूले ल्याएको प्रसादमै चित्त बुझाऔँला भनी राजमार्गसँगै जोडिएको कामाख्या मन्दिर प्रवेशद्वारको मात्रै दर्शन गरेर त्यहाँबाट शुक्रेश्वर महादेवको दर्शनका लागि अघि बढ्यौँ ।
शुक्रेश्वर र ब्रह्मपुत्रको दर्शन
कामाख्या मन्दिरको प्रवेशद्वारबाट हामीहरूलाई भित्र पस्ने अनुमति प्राप्त नभए पनि हाम्रा गाडीचालकले हामीलाई शुक्रेश्वर महादेव मन्दिरको प्रवेशद्वारनजिकै ल्याएर गन्तव्य पूरा गरी बिदा भए । शुक्रेश्वर मन्दिरको प्रवेशद्वारनजिकै आकाशे पुल रहेछ जसलाई बाहिरबाट कलात्मक रूपमा बाँसले सजाइएको रहेछ । असममा बाँसका विभिन्न परिकारहरू बन्दा रहेछन् भन्ने कुरा त पहिलो गुवाहाटी भ्रमणका अवसरमा पनि मैले थाहा पाएको थिएँ र शुक्रेश्वर मन्दिरमा पनि पुगेको थिएँ तर त्यति बेला त्यस किसिमको कलात्मक आकाशे पुल बनिसकेको थियो कि थिएन त्यो भने ख्याल गरिएनछ । उक्त आकाशे पुलमा लिफ्ट जडानसितै सिँढीको पनि व्यवस्था गरिएको रहेछ ।
सबै सहयात्रीहरू मन्दिरभित्र प्रवेश गर्दै हुनुहुन्थ्यो तर म भने बाँसको कलाले सजाइएको त्यही आकाशे पुललाई हेर्दाहेर्दै मन्दिर प्रवेश गर्न ढिलाएछु । कलाकार हुनु भनेको चेतनशील मानव हुनु हो भन्ने कुरा नीतिकार भर्तृहरिले नै प्रकारान्तरले पुष्टि गरेका छन् । साहित्य, सङ्गीत र कला जीवनका त्रिवेणी हुन् । जसमा यी चीज छैनन् त्यो व्यक्ति सिङ र पुच्छर नभएको पशुजस्तै हो भन्ने उद्घोष गरेर नै भर्तृहरिले कलालाई मानव जीवनको अभिन्न अङ्ग ठानेका हुन् । त्यस्तो कला देख्ता मोहित हुनु अस्वाभाविक पनि होइन ।
हामीहरू प्रवेश गर्दै गरेको मन्दिरको मूल द्वारमा भने जनार्दन देवालय उल्लेख गरिएको थियो । मूल द्वारबाट भित्र प्रवेश गरेपछि सामुन्नेमा जनार्दन देवालय रहेछ भने त्यसको दायाँपट्टि शुक्रेश्वर महादेवको मन्दिर रहेछ । शुक्रेश्वर महादेवको मन्दिर जान केही सिँढीहरू उक्लनुपर्दो रहेछ । मन्दिरभित्र प्रवेश गर्दा दर्शनार्थीलाई कुनै परीक्षण गर्ने र कुनै बन्देज पनि लगाइएको रहेनछ । हामीहरू पुग्दा मन्दिरमा त्यति भीडभाड पनि थिएन । एकैछिन पर्खिएपछि त्यहीँ रहेका सिलभर र तामाका हतर वा साना-ठूला कलशमा बाहिर धाराबाट प्राप्त हुने ब्रह्मपुत्रकै जल भरेर आफैले राम्रोसँग शिवलिङ्गमा अर्पण गर्न पाइँदो रहेछ । डा. सृजनाकै सिको गरेर मैले पनि एक हतर जल शिवलिङ्गमा अर्पण गर्दै रुद्रसूक्त पाठ गर्ने अवसर पाएँ । त्यति बेला त्यहाँका पुजारीले आरती पनि गर्दै हुनुहुन्थ्यो । हामीलाई आरतीगानमा पनि सहभागी हुने मौका मिल्यो । डा. सृजनाले भन्नुभएअनुसार दैत्यगुरु शुक्राचार्यले स्थापना गरेका कारण यस मन्दिरलाई शुक्रेश्वर महादेवको मन्दिर भनिएको र शुक्रेश्वर महादेवलाई द्वादश ज्योतिर्लिङ्गमध्येका एक लिङ्ग पनि मानिँदो रहेछ ।
शुक्रेश्वर महादेवको दर्शन गरेपछि सिँढीहरू ओर्लिएर जनार्दन देवालयमा प्रवेश गर्दा त्यहाँ न पुजारी थिए न त कुनै दर्शनार्थी नै भगवान्का सामुन्ने देखिन्थे । महादेवको मन्दिरमा उपस्थित भएका भक्तजनहरू जनार्दन देवालयमा पनि उपस्थित भएर दर्शन गरिदिन सकेको भए जनार्दन देवालय सुनसानजस्तै बन्ने थिएन । मूल द्वारमा जनार्दन देवालयको नाम लेखिए पनि मन्दिरभित्र भने जनार्दन नै उपेक्षित भइरहेको देख्दा केही दुःख पनि लाग्यो । शुक्रेश्वर महादेव र जनार्दन देवालय दुवैका छेउमा नै ब्रह्मपुत्र नदी बगिरहेकी थिइन् । त्यसैले ब्रह्मपुत्र नदीको दर्शन गर्न हामी त्यहाँबाट टाढा पनि जानु परेन । वर्षायाम भएकाले ब्रह्मपुत्र नदी उर्लिएर चारैतिर फैलिएको थिइन् ।
ब्रह्मपुत्रको किनारबाट उमानन्दको दर्शन गर्नका लागि सरकारी वा प्राइवेट तहका कुनै पनि बोटहरू त्यतिबेला सञ्चालनमा आएका थिएनन् । एउटा बोट ब्रह्मपुत्रको बीच भागमा पुग्न खोज्दै थियो तर ब्रह्मपुत्रको बहावले अघि बढ्न त्यसलाई समस्या भएकाले पछि फर्कने अभ्यास गरिरहेको दृश्य टाढैबाट देखिन्थ्यो । यही ब्रह्मपुत्रलाई नै आधार बनाएर गुवाहाटीकै वरिष्ठ नेपाली साहित्यकार लीलबहादुर क्षत्रीले ‘ब्रह्मपुत्रको छेउछाउ’ नाम लोकप्रिय उपन्यासको रचना गर्नुभएको थियो । जसलाई पढ्ने पाठकहरू ब्रह्मपुत्र नदी र त्यसका वरपरको नेपाली जनजीवनको परिवेशबाट अप्रत्यक्ष रूपमा परिचित हुन सक्छन् । शुक्रेश्वर मन्दिर नजिकैको ब्रह्मपुत्र नदीका किनारबाट उमानन्द मन्दिर भएको पूरै टापु नदेखिए पनि थोरै भाग भने देखिन्थ्यो ।
वर्षायाममा गरिएको यस पटकको गुवाहाटी भ्रमणका क्रममा उमानन्दको दर्शन गर्न नपाएकामा मसँगै मेरा धेरै सहयात्रीलाई पनि पश्चात्ताप भयो । मैले त २०७४ वैशाखमा पहिलो पटक गुवाहाटी पुग्दा उमानन्दको दर्शन गर्ने अवसर पाएको थिएँ र त्यही सम्झिएर अहिले पनि चित्त बुझाएँ तर आस्था छोरीलाई भने पहिलो पटकको गुवाहाटी यात्रामा पहिल्यै गुगलबाट खोज गरेर फलाना फलाना ठाउँमा जान पाउँला भनेर बनाएको पूर्वसोचअनुसार उमानन्द मात्रै होइन शुक्रेश्वर मन्दिर र ब्रह्मपुत्र नदीको समेत नजिकैबाट दर्शन गर्न नपाएकामा निकै पछुतो लाग्नु अस्वाभाविक थिएन । वैयक्तिक वा पारिवारिक यात्रामा जस्तो सामूहिक यात्रामा सबैतिर जान सम्भव नहुँदो रहेछ र समूहको निर्णयमै सबै अघि बढ्नुपर्दो रहेछ भन्ने कुराको बोध गरेपछि भने आस्था छोरीको पश्चात्ताप केही मात्रामा शान्त भयो ।
लेखकलाई आजीवन पेन्सन
शुक्रेश्वर र ब्रह्मपुत्र नदीको दर्शन गरेपछि हामीहरू कलात्मक बाँसले सजाइएको आकाशे पुलको प्रयोग गर्दै बाटो काट्यौँ । डा. सृजनाले हामीहरूलाई पान बजारको जसवन्त रोडमा रहेको विद्याघर नामक पुस्तक गृहमा प्रवेश गराउनुभयो । त्यस घरका तल्लो तलादेखि तेस्रो तलासम्मका सबै कोठाहरूमात्रै होइन उक्लिने सिँढीहरू पनि पुस्तकैल पुस्तकले भरिएका थिए । तेस्रो तलाको एउटा कोठामा पुगेर हामीहरू सबैले त्यहाँ राखिएका नेपाली पुस्तकहरूको अवलोकन गर्ने र केही समय साहित्यिक परिचर्चा गर्ने अवसर पनि पायौँ ।
विद्याघरद्वारा पूर्वायण प्रकाशन नामक प्रकाशन संस्था पनि सञ्चालन गरिएको रहेछ र त्यसले नेपालीलगायतका अन्य भाषाका पुस्तकहरू प्रकाशन तथा वितरण गर्ने काम गर्दै आएको रहेछ । त्यसका सञ्चालक डा. अमृत उपाध्याय नेपाली नै रहेछन् तर त्यति बेला भने त्यहाँ उनलाई भेट्न सकिएन । डा. सृजनाद्वारा लिखित दुई वटा पुस्तक त्यही पूर्वायण प्रकाशनले प्रकाशनमा ल्याएको रहेछ । असमको प्रान्तीय सरकारले कुनै जाति, वर्ण, भाषा नहेरीकन कम्तीमा तीन वटा पुस्तकहरू प्रकाशन गर्ने पुराना सबै साहित्यकार र संस्कृतिकर्मीहरूलाई मासिक रूपमा आजीवन आठ हजार पेन्सन दिँदै रहेछ भने नयाँ साहित्यकार वा संस्कृतिकर्मीलाई एकमुष्ट रूपमा प्रोत्साहन स्वरूप पचास हजार दिन थालेको रहेछ । हालसम्म साहित्य र संस्कृतिका क्षेत्रमा पेन्सन पाउने असमका नेपालीहरूको सङ्ख्या एक सय जति रहेछ । लेखकलाई र लेखकका कृतिलाई असम प्रान्तमा कत्तिको सम्मान गरिँदो रहेछ भन्ने कुरा त्यस किसिमको पेन्सन व्यवस्थाले पनि पुष्टि गर्दछ ।
यता नेपालमा हाम्रा लेखक र तिनका कृतिहरूको अवस्था हेर्दा कतैबाट पनि प्रोत्साहन हुन सकिरहेको देखिँदैन तथापि लेखकहरूले स्वान्तसुखाय लेखिरहेका छन् र साहित्यसाधनामा आफूलाई समर्पित गराइरहेका छन् । असम प्रान्तमा जस्तो पेन्सन व्यवस्था नेपालका केही प्रदेशमा मात्रै हुन सके पनि सम्बद्ध प्रदेशका लेखकहरू सम्मानित भएर अझै गहन कृतिको लेखन र अनुसन्धानमा अग्रसर भइरहन सक्ने थिए । विद्याघरको पूर्वायण प्रकाशन कक्षमा बसेर गरिएको सानै साहित्यिक परिचर्चाबाट पनि हामीलाई ठूलै प्रेरणा पाएजस्तो भयो ।
गुवाहाटीमा गुवाको स्वाद
विद्याघरको पूर्वायण प्रकाशन कक्षबाट निस्कँदै गर्दा हाम्रा पेटले बिहानको खाना नखाईकन अघि बढ्न सकिँदैन भन्ने सङ्केत गरेको हुँदा हामीहरू एउटा खाना घरभित्र प्रवेश गऱ्यौँ । असमी खाना यस्तो हुन्छ भनी गुगलमा खोज गरेर खाने सोच बनाएकी आस्था छोरीले बताएको सम्झिएको थिएँ । जुन खानाको प्रकार आफ्नै आँखा अगाडि आएर वर्तमानमा बसेको थियो । चरेसका थालको बीच भागमा एक कचौरा भात अनि त्यही थालको वरिपरि पापडको टुक्रा, पाँच वटा चरेसकै कचौरामा क्रमशः दुई थरी दाल, दुई थरी सब्जी अनि आलुको अचारसँगै एउटा पकौडा तथा स्टिलको खुट्टे कचौरामा खिर राखिएको थियो भने थालबाहिर एउटा सानो प्लेटमा थोरै सागको सब्जी अनि अर्को प्लेटमा कागतीको टुक्रा राखिएको थियो । यिनै विभिन्न खाद्य परिकारहरूलाई असमी खाना भनिँदो रहेछ तर असमी खाना प्रत्यक्ष देख्ने र त्यसको स्वाद लिने सोच बनाएकी छोरीलाई गुवाहाटी बसुन्जेल कुनै दिन पनि असमी खानाको स्वाद त परै छाडौँ खानासमेत प्रत्यक्ष रूपमा देख्ने अवसर मिलेन ।
खाना खाँदै गर्दा डा. सृजनाले खरानीको अचार त गुवाहाटीको प्रसिद्ध अचार हो भन्ने कुरा गर्नुभयो तर त्यस खानाघरमा त्यतिबेला खरानीको अचार भने थिएन । खरानीको अचार भनेको सुन्दाबित्तिकै खरानीको अचार कसरी बनाइन्छ होला र त्यसको स्वाद कस्तो हुँदो हो भन्ने उत्कण्ठा जाग्यो मात्र तर त्यसलाई शान्त गर्न भने पाइएन । गुवाहाटीमा चरेसका थालकचौराको प्रयोग भइरहेको देख्ता बाल्यकालमा आमाबुवाले चरेसका थालकचौरामा खाने गरेको सम्झना भयो । अहिले त नेपालमा चरेसका भाँडाहरू भोकभोकै कुनामा थन्किएका छन् र तिनका ठाउँमा स्टिल र प्लास्टिकका प्लेटहरूले पेट भरिरहेका छन् । सिक्किम, दार्जिलिङ र असमतिर चरेसका थालमा नै पाहुना वा मानमनितो गरिनुपर्ने मान्यजनलाई परिकार पस्किने गरिन्छ भन्ने कुरा पनि डा. सृजना शर्माबाट हामीले जानकारी पायौँ ।
खाना खाइसकेपछि धेरैजसो सहयात्रीले गुवा अर्थात् काँचो सुपारीका टुक्रा पानसँग खाँदै हुनुहुन्थ्यो । गुवाहाटी आइपुगेर पनि गुवाको स्वाद लिन पाइएन भने गुवाहाटी आउनुको औचित्य नै नरहने पो हो कि भनेर पानको टुक्रासँगै गुवाका टुक्राको पनि स्वाद लिइयो । डा. दशरथ सरले काँचो गुवा खाँदा चबाएर खान हुँदैन, सुकेको सुपारीजस्तै बिस्तारै खानुपर्छ किनभने गुवाले शरीरको तापक्रम वृद्धि गर्ने भएकाले गर्मीयाममा समस्या पनि हुनसक्छ भनेर सचेत गराउनुभयो । यही गुवा शब्दसँग हाट शब्द गाँसिएर गुवाहाटी शब्द बनेको रहेछ । गुवाहाटीलाई कसैले गौहाटी पनि भन्दा रहेछन् । एउटा विश्वविद्यालकै नाम पनि गौहाटी राखिएको रहेछ । सन् १९४८ मा स्थापना हुने बेलामा विश्वविद्यालयको नाम गुवाहाटी उल्लेख गर्नुपर्नेमा गौहाटी उल्लेख हुन पुगेकाले विश्वविद्यालयको नाम गौहाटी विश्वविद्यालय रहन गएको रहेछ। गौ अर्थात् गाई बिक्री गरिने हाट अर्थात् बजार भएको भनेर गौहाटी नामकरण पक्कै पनि गरिएको होइन होला । अचेल धेरैजसो मौखिक तथा लिखित व्यवहारमा गुवाहाटी शब्द नै प्रचलनमा आइरहेको रहेछ ।
गुवा अर्थात् काँचो सुपारी बिक्री गरिने हाट भएकाले यसलाई गुवाहाटी भनिएको रहेछ भन्ने कुरा तर्कसङ्गत देखियो । संस्कृतमा ‘गुवाक’ भनेर सुपारीलाई बुझाइन्छ । त्यही गुवाकबाट तद्भव शब्दका रूपमा ‘गुवा’ शब्दको प्रयोग गरिएको हुनुपर्छ । सङ्क्षिप्त हिन्दी शब्दसागर (२०६१, पृ. २७०)मा संस्कृतको गुवाक शब्दबाट हिन्दीमा गुआ शब्दको विकास भएको देखाइए पनि असमी भाषामा काँचो सुपारी वा तामुललाई बुझाउन गुवा शब्दको प्रयोग गरिएका कारण ‘गुआहाटी’ नभनेर ‘गुवाहाटी’ भनिएको रहेछ । शारीरिक खानासँगै यसरी गुवाको मौखिक र भाषिक स्वाद पनि लिएर हामीहरू त्यहाँबाट कटन विश्वविद्यालयतर्फ अग्रसर भयौँ ।
कटन विश्वविद्यालयको आदर्श वाक्य
कटन विश्वविद्यालयको नाम सुने पनि पहिलोपटक गुवाहाटी आउँदा कटन विश्वविद्यालयमा पुग्न पाइएको थिएन । यसवर्ष त्यो अवसर प्राप्त हुँदै थियो जसले गर्दा मनमा उत्कण्ठा पनि जाग्दै थियो । असम र पूर्वोत्तर भारतमा उच्च शिक्षाको सबैभन्दा पुरानो संस्थाका रूपमा सन् १९०१ मा सर हेनरी स्टेडमेन कटनले आफ्नै नाममा गुवाहाटीमा कटन कलेजको स्थापना गरेका रहेछन् । त्यही कलेज सन् १९४८ देखि गौहाटी विश्वविद्यालयको आङ्गिक कलेजका रूपमा सञ्चालनमा आएको रहेछ भने सन् २०१७ मा आएर त्यही कलेज कटन विश्वविद्यालयका रूपमा राज्यस्तरको विश्वविद्यालय भनेर चिनिन थालेको रहेछ । त्यही विश्वविद्यालयमा डा. सृजना शर्माले विगत दुई वर्षदेखि नेपाली विषय प्राध्यापन गर्दै आउनुभएको रहेछ । त्यसभित्र प्रवेश गर्दाबित्तिकै टाढैबाट एउटा सालिक देखियो । हामीले त्यो सालिक कसको होला भनेर डा. सृजनासँग जिज्ञासा राख्यौँ । उहाँले त्यो मूर्ति त्यतिबेलाको कटन कलेजका संस्थापक सर हेनरी स्टेडमेन कटनको हो भनेर हामीलाई जानकारी गराउनुभयो ।
भारतमा प्रा.डा. दिवाकर प्रधान गुरुले लेखक तथा कलाकारका साथै विशिष्ट योगदान दिने व्यक्तिका प्रतिमालाई सालिक नभनेर मूर्ति भन्न सिकाउनुभएको रहेछ । उहाँकै चेली भएका कारण डा. सृजनाले सालिक नभनेर त्यसको सट्टा मूर्ति शब्दको प्रयोग गर्नुभएको रहेछ । नेपालमा भने देवीदेवताका प्रतिमालाई बाहेक जुनसुकै कीर्तिशेष व्यक्तिका प्रतिमालाई सालिक भनेर चिनिंदै आइएको छ । कटनको सालिकलाई नै पृष्ठभूमिमा राखेर हामीले सम्झना स्वरूप केही तस्बिरहरू लियौँ ।
डा. सृजनाले प्राध्यापन गर्दै आएको भाषा, संस्कृति तथा कला केन्द्र अर्थात् सिएलसिए (सेन्टर फर ल्याङ्वेज, कल्चर एन्ड आर्ट) विभागका अघि उभिएर पनि केही छायाचित्रहरू लिने रहर पूरा गरियो । त्यसपछि विश्वविद्यालयको लोगोसहित मूल आदर्श वाक्य लेखिएका ठाउँमा पुग्यौँ । त्यस विश्वविद्यालयमा मूण्डकोपनिषद्को द्वितीय मूण्डकको द्वितीय खण्डको चतुर्थ श्लोकको तृतीय पाउमा उल्लिखित ‘अप्रमत्तेन वेद्धव्यम्’ अर्थात् असावधानी नभईकन लक्ष्यलाई वेधन गर्नुपर्दछ भन्ने आदर्श वाक्य लेखिएको थियो । हामीहरू असावधानीपूर्वक अग्रसर भइरह्यौँ भने हामीले कुनै पनि लक्ष्यलाई प्राप्त गर्न सक्तैनौँ ।
उपनिषद्को त्यस आदर्श वाक्यबाट हामीले आफ्नो लक्ष्य प्राप्तिका लागि हामीहरू सदैव सावधानीपूर्वक अगाडि बढिरहनुपर्दो रहेछ भन्ने महत्त्वपूर्ण शिक्षा पायौँ । वर्षौँसम्म विश्वविद्यालयमा पढ्दा पनि प्राप्त गर्न नसकेको ज्ञान उपनिषद्का यस्ता एउटै आदर्श वाक्यबाट प्राप्त गर्न सकिँदो रहेछ । त्यसैले त सबै ज्ञानहरूमध्येमा हाम्रा उपनिषद्को महिमा र गहनता बढ्ता ठहरिएको रहेछ । कटन विश्वविद्यालयको आदर्श वाक्य पढेर त्यसलाई हाम्रा हरेक लक्ष्यमा गुरुमन्त्र ठान्ने प्रेरणा लिँदै हामीहरू वार मेमोरियलको अवलोकन गर्न अग्रसर भयौँ ।
युद्ध स्मारकले सिकाएको पाठ
पहिलोपटक गुवाहाटीमा पुग्दा कला सङ्ग्रहालयको पनि अवलोकन गर्ने अवसर मिलेको थियो तर यसपटक त्यहाँ जाने फुर्सद नै मिलाउन सकिएन । दोस्रोपटक गुवाहाटी पुगेको पहिलो एकदिन मात्र फुर्सद रहेकाले पुग्न सम्भव भएका ठाउँमध्ये वार मेमोरियल अर्थात् युद्ध स्मारक पनि एउटा थियो । त्यसभित्र प्रवेश गर्ने अनुमति लिएर हामीहरू भित्र प्रवेश गर्नेबित्तिकै सुन्दर बगैँचा देखियो । जुन बगैँचाकै बीचमा एकातिर ट्याङ्क राखिएको थियो भने अर्कातिर एउटा विमान सजाएर राखिएको थियो । त्यो ट्याङ्कलाई विजयन्त ट्याङ्क भनेर चिनाइएको थियो । विजयन्त नामक त्यस ट्याङ्कलाई भारतीय सैनिकले सन् १९७१ को भारत तथा पाकिस्तान युद्धमा प्रयोग गरेका रहेछन् ।
त्यसै गरी त्यहीँ राखिएको इन्डियन एयरलायन्सको बहादुर नामक विमान कार्गिलको युद्धमा प्रयोग गरिएको हो भन्ने जानकारी पनि हाम्रै सहयात्री डा. सृजना शर्माले हामीलाई गराउनुभयो । बगैँचामा रहेका यी दुई युद्धसामग्रीको अवलोकन गरेर हामीहरू अघि बढ्दै जाँदा त्यहाँ ठूलो तलाउ देख्यौँ । त्यस तलाउको नाम दिघली पुखुरी रहेछ । त्यसकै एकातर्फ भित्तामा सजाइएका युद्धसँग सम्बद्ध सिमेन्टेट चित्रहरूको परिचय दिँदै डा. सृजना शर्माले नै हामीहरूलाई अवलोकन गराउनुभयो । ती चित्रहरूसँगै तिनको परिचय पनि अङ्ग्रेजी भाषामा दिइएको थियो । चित्र कोरिएको भित्ताको अर्कातर्फ तलाउतिरको खाली भागमा एउटा नाउमा चढेर युद्ध गर्दै गरेका जवानका आकृतिहरू बनाइएका थिए ।
ती आकृतिहरूमध्ये सबैभन्दा ठूलो आकृति भएका व्यक्तिको नाम लाछित बरफुकन रहेछ जसले मातृभृमिप्रति विद्वेष फैलाउने आफ्नै मामालाई हतियारले काटेर ‘मामाभन्दा माटो प्यारो’ भन्ने सन्देश दिएका रहेछन् । असम राज्यका आदिवासी मानिने तिनका पुर्खाहरू पनि हाल असम राज्यमै रहेका र अहोम् भनेर चिनिने तिनीहरू अझै पनि लाछित बरफुकनजस्तै जुझारु छन् भन्ने कुराको जानकारी पनि हामीले पायौँ ।
युद्धमा अग्रसर हुँदै गरेका लाछित बरफुकनसहितका सेना चढेको नाउका अगाडिपट्टि अमर जवान भन्ने उल्लेख गरी सैनिक स्मारक बनाइएको र त्यही स्मारकका एकापट्टि स्मारकतर्फ झुकिरहेका सैनिक जवानको सालिक राखिएको थियो । त्यहाँ भित्तामा सजाइएका युद्धका कलाकृतिहरूको राम्रोसँग अध्ययन गर्न एकजना विशेषज्ञका साथमा पूरै एकदिनको फुर्सद निकाल्नुपर्दो रहेछ तर हामीसँग भने पर्याप्त समय थिएन । त्यसैले हामीहरू युद्धसँग सम्बद्ध सामग्रीहरू राखिएको सानो म्युजियम कक्षतर्फ अग्रसर भयौँ ।
त्यस म्युजियममा पनि कुनै कर्मचारी खटिएका थिएनन् । डा. सृजनाले नै हामीलाई त्यस म्युजियमका बारेमा सङ्क्षिप्त जानकारी दिनुभयो । त्यस म्युजिमको बाहिरपट्टि भारतीय सैनिक गणहरूका विभिन्न झन्डाहरू राखिएका थिए । भित्रपट्टिका भित्तामा प्रमुख सैनिकहरूले युद्धमा दिएको योगदानलाई सचित्र सङ्क्षिप्त रूपमा उल्लेख गरिएको थियो भने बीच भागमा सिसाभित्र युद्धमा प्रयोग गरिएका विमानहरूका ससाना विमानहरूका प्रतीकहरू राखिएका थिए ।वैदेशिक युद्धहरूका क्रममा भारतीय सैनिकहरूले केकस्ता युद्ध सामग्रीहरूको प्रयोग गर्दै उनीहरूले केकस्तो योगदान दिएका थिए भन्ने कुराको सङ्क्षित जानकारी लिन चाहने व्यक्तिहरूले गुवाहाटीमा पुगेपछि यो वार मेमोरियल पुग्नैपर्ने रहेछ । यहाँ पुग्ने अधिकांश व्यक्तिहरूले मातृभूमिप्रति श्रद्धा गर्नुपर्दो रहेछ भन्ने शिक्षा प्राप्त गर्न सक्ता रहेछन् ।
नेपालमा पनि वैदेशिक तथा आन्तरिक युद्धहरूमा नेपाली सैनिक तथा प्रहरी जवानहरूले केकस्ता युद्धसामग्रीको प्रयोग गरेका थिए र उनीहरूले राष्ट्रका लागि केकस्तो योगदान दिन सकेका थिए भन्ने विषयमा यस्तै युद्ध स्मारकहरू स्थापना भइदिन सके हुन्थ्यो भन्ने हामीलाई लाग्यो ।
त्यति मात्रै होइन ‘अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भनेर आफ्ना भाइ लक्ष्मणलाई सुनैसुनले सजिएको लङ्काभन्दा आफ्नै आमा र आफ्नै जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छ भन्ने शिक्षा दिने रामको कथा त हामी सबैले सुनेकै थियौँ तर त्यस कथाभन्दा पनि आफ्नै आदरणीय मामाभन्दा मातृभूमिलाई ठूलो ठानेर मातृभूमिप्रति श्रद्धा व्यक्त गर्न सिकाउने ती महान् लाछित बरफुकनले सिकाएको पाठ हाम्रा लागि निकै प्रेरणादायी बन्यो । हामी जनताले त यस्तो पाठ पढिरहन र त्यसलाई आफ्ना व्यवहारमा लागु गर्न पनि प्रयासरत छौँ तर हाम्रो नेपालको राजनीतिक नेतृत्व वर्गले यस्तो पाठ सिक्न र त्यसलाई व्यवहारमा उतार्न सके भ्रष्टाचारमा मुछिएका आफ्ना परिवार र आफ्नो राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई संरक्षण गर्नतिर नलागी तिनलाई यथोचित रूपमा दण्डित गर्दै जान सक्ने थिए कि !
जीवन्त इतिहास लेखनको अभ्यास
वार मेमोरियलको अवलोकन गरेर हामीहरू दिउँसो २:३० बजे आफ्नो एकदिने वासस्थान गीताञ्जली होटलमा आइपुग्यौँ । नेपालबाट आउने हामी पाँचजना दुईदिन सम्मका अनिदा थियौँ । हामीलाई केही समय विश्राम गरौँ कि भन्ने पनि लागेको थियो तर हामीहरू विश्राम गर्नकै लागि गुवाहाटी आएका थिएनौँ । बिहानको योजनाअनुसार अब हामी फ्यान्सी बजार जान बाँकी थियो ।
त्यसै बीचमा डा. सृजनाले असम गोर्खा सम्मेलनका अध्यक्ष कृष्ण भुजेललाई हामीहरू गुवाहाटी आइपुगेको खबर गरिसक्नुभएको रहेछ । गुवाहाटीको पल्टन बजारमा नेपाली मन्दिरकै सामुन्नेमा रहेको अतिथि होटेलमा आज नै दिउँसो तीन बजेदेखि वयोवृद्ध साहित्यकारको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा हाम्रो टोलीलाई पनि आमन्त्रण गरिएको समाचार हामीमाझ आइपुग्यो । त्यसैले ‘मौकामा चौका हान्न पाउने’ लोभ लागेर हामीहरू ३:१५ बजे उक्त कार्यक्रममा पुग्यौँ । प्रमुख वक्ताका रूपमा लीलबहादुर क्षत्रीको आगमनको प्रतीक्षामा पौने घण्टा जति त्यहीँ बिताउँदा अनौपचारिक रूपमा भएका साहित्यिक छलफलहरू सुन्न पाइयो । कार्यक्रममा हामीहरूलाई सहभागी गराउने प्रमुख सूत्रधार डा. सृजना शर्मा नै हुनुहुन्थ्यो । त्यसका लागि आयोजक संस्थाका अध्यक्ष कृष्ण भुजेलले उहाँलाई विशेष धन्यवाद पनि दिनुभयो । उहाँले पहल नगरिदिनुभएको भए हामीहरू त्यस कार्यक्रममा उपस्थित हुने मौका नै पाउने थिएनौँ ।
अपराह्न चार बजे लीलबहादुर क्षत्री कार्यक्रम स्थलमा आइपुग्नुभएपछि कार्यक्रम प्रारम्भ भयो । सर्वप्रथम त्यहाँका विभिन्न साहित्यिक संघसंस्थाहरूले खादाहरू ओढाएर विभिन्न अभिनन्दनपत्रहरूले लीलबहादुर क्षत्रीलाई अभिनन्दन गर्नुभयो । साथै दार्जिलिङ, सिलगुढी र नेपालबाट आएका अतिथि तथा असमका विशिष्ट साहित्यिक महानुभावहरूलाई असमी गामुछाले स्वागत गरियो । त्यसपछि प्रमुख अतिथि लीलबहादुर क्षत्रीले असम गोर्खा सम्मेलनको इतिहासका बारेमा आफ्ना संस्मरणहरू प्रस्तुत गर्न थाल्नुभयो । त्यसमा पुष्पधर शर्माले सहजीकरण गरिररहनुभएको थियो ।
लीलबहादुर क्षत्री शारीरिक रूपमा निकै अस्वस्थ देखिनु हुन्थ्यो । त्यतिबेला उहाँ एक्लै हिँड्न पनि नसक्ने अवस्थामा हुनुहुन्थ्यो । उहाँलाई दुईजनाले दुवैतिर समातेर मञ्चमा लग्नुभएको थियो । यस्तो अवस्थामा रहनुभएका उहाँलाई कार्यक्रममा बोलाएर अनि उहाँलाई नै बोल्न लगाएर केही कुरा सुन्न पाउन खोज्नु आयोजकको र सहभागीहरूको समेत सौभाग्य त होला तर उहाँको कष्टकर अवस्थाका बारेमा हामी बेखबर पो भयौँ कि भन्ने पनि लाग्यो । जब उहाँले आफ्ना वाणीहरूलाई बिस्तारै विस्तार गर्न थाल्नुभयो तब उहाँको स्मरणशक्ति र बोलीमा रहेको स्पष्टताले गर्दा हामीहरू निकै उत्साहित भयौँ । यस्ता मनीषीका मुखारविन्दबाट हामीले प्राप्त गर्ने वाणीहरू हाम्रा लागि महत्त्वपूर्ण आशीर्वचन नै हुनेछन् भनेर हामीले ध्यान दिएर सुनिरह्यौँ ।
काम थाल्न मात्रै गाह्रो रहेछ । थालेपछि भने जे कुरा पनि सजिलो हुँदो रहेछ । घरमा राखिएका कागजपत्रहरूलाई कसिङ्गर ठानेर फाल्ने बानीमा हामीहरूले सचेतता अपनाउनुपर्दो रहेछ । सचेतता नअपनाउने हो भने महत्त्वपूर्ण कागजातहरू पनि हराउन सक्ता रहेछन् । त्यसैले इतिहास लेखनका लागि भावी पुस्तालाई पनि सामग्री उपलब्ध हुन सकोस् भनेर लिखित सामग्रीलाई सावधानीपूर्वक जोगाएर राख्नुपर्दो रहेछ । गाईवस्तुका शरीरमा लाग्ने कीरा वा किर्नाहरू शरीर शिथिल हुँदै गएपछि झर्दै गएजस्तै हाम्रा अनुभवहरू पनि समय वा उमेर सकिँदै गएपछि झर्दै जाँदा रहेछन् । त्यसैले समयमै इतिहास लेखनजस्ता काममा अग्रसर भइहाल्नुपर्दो रहेछ । इतिहास लेख्न खोज्ने संस्था वा व्यक्तिले कहिल्यै पनि हतार गरिहाल्न भने हुँदो रहेनछ । इतिहासलाई लिपिबद्ध गरिसकेर पनि विद्यालय वा महाविद्यालयबाट डिग्री पाइहाल्ने हतारोजस्तै ऐतिहासिक सामग्रीहरू छापिहाल्न नहुँदो रहेछ ।
लीलबहादुर क्षत्रीका दुई भाइ छोराहरू रहेछन् । तीमध्ये कान्छा छोरा पल्लव, कान्छी बुहारी र दुई वर्षकी नातिनी पनि कार्यक्रममा उपस्थित थिए । सानी नातिनी कार्यक्रमस्थलमा निकै रमाइरहेकी थिइन् । कहिले मञ्चमा हजुरबुवालाई भेट्न जान्थिन् भने कहिले दर्शक दीर्घामा बसेका सहभागीहरूका सामु आएर मुस्कुराइरहन्थिन् । नातिनीलाई नजिकै आउँदा कतै लड्ने हुन् कि भनेर लीलबहादुर क्षत्रीले विशेष ख्याल गर्न खोज्नुहुन्थ्यो तर नातिनी आफै सचेत थिइन् । मञ्चबाट आफै एक्लै ओर्लँदा कतै लडिन्छ कि भनेर होसियार पूर्वक खुट्टा झार्थिन् । उनको अनुहार लीलबहादुर क्षत्रीकै जस्तो देखिन्थ्यो । भविष्यमा उनी लीलबहादुर क्षत्रीकी साहित्यिक उत्तराधिकारी पनि बन्न सक्छिन् कि भन्ने आभास पनि मलाई भयो ।
पहिलो पटक गुवाहाटी जाँदा लीलबहादुर क्षत्रीसँगै उहाँकी धर्मपत्नीलाई पनि घरमै पुगेर दर्शन गर्ने र केही समय उहाँका आशीर्वचन प्राप्त गरिरहने अवसर मिलेको थियो । यसपटक कार्यक्रमस्थमै उहाँलाई भेट्ने र उहाँका प्रेरणादायी वाणीहरू श्रवण गर्ने अवसर मिलेकाले उहाँका घरमा जाने फुर्सद मिलाउन भने सकिएन । उहाँका कुरा सुन्न प्रतीक्षा गर्नेदेखि उहाँसँगै रहेर भोजन गरी बिदा हुने बेलासम्म अतिथि होटलमै समय बिताएर हामीहरू आफ्नो वासस्थानमा फर्किँदा रातको ८:३० बजिसकेको थियो ।
इतिहास लेखनका क्रममा मुख्यतया तीन कुराको विशेष ख्याल गर्नुपर्दो रहेछ : (क) हतार नगर्ने, (ख) वायस नगर्ने र (ग) प्रतिबद्ध हुने । इतिहास एउटा सत्यमा आधारित दस्ताबेज भएकाले यसमा कसैलाई पनि वायस वा उपेक्षा गर्न नहुँदो रहेछ ।
त्यसैगरी बौद्धिक व्यक्तिलाई इतिहास लेखनबाट पन्छाउँदा पनि यथार्थ इतिहास लेख्न गाह्रो हुँदो रहेछ । इतिहास लेखन समूहको नेतृत्वकर्ता सत्यवादी र स्वच्छ व्यक्तित्व भएको हुनुपर्दो रहेछ । इतिहास लेखनसँगै नेपाली बृहत् पुस्तकालय अनि सङ्ग्रहालयको पनि स्थापना गर्न ढिलो भइसकेछ । सङ्ग्रहालयको स्थापना गर्न सकियो भने त्यसमै हाम्रा पुर्खा र हामीले समेत प्रयोग गर्दै आइएका कराही, करुवा, बुद्धमूर्ति आदि सामग्रीहरू सङ्ग्रह गर्न सहज हुने थियो । त्यस्ता पुस्तकालय र सङ्ग्रहालयबाट हाम्रो भावी पुस्तालाई आफ्नो इतिहास र ऐतिहासिक सामग्रीहरूको अध्ययन एवम् अनुसन्धान गर्न पनि सजिलो हुन्थ्यो ।
लीलबहादुर क्षत्रीका यी र यस्तै आशीर्वचन विशेषतः असम गोर्खा सम्मेलन नामक संस्थाको इतिहास लेखनका सन्दर्भमा व्यक्त भएका थिए तापनि अन्य इतिहास लेखनका क्रममा समेत यिनलाई मार्गदर्शकका रूपमा लिन सकिन्छ । लीलबहादुर क्षत्रीकै घरमा पुगेर सम्बद्ध संस्थाका प्रतिनिधिहरूले उहाँका अनुभवहरूलाई यस कार्यक्रममा जस्तै प्राविधिक रूपमा रेकर्ड गर्न र टिपोट पनि गर्न सक्ने थिए तथापि उहाँलाई यसरी मञ्चमा राखेर उहाँबाट इतिहासका कुरा गराउन चाहनुले इतिहास लेखनमा सबैको चासो जागोस् अनि छुटपुट हुनसक्ने विषयहरूमा पनि सरोकारवालाले जागरूकता देखाउन सकुन् भन्ने उद्देश्य आयोजक संस्थाले यस किसिमको कार्यक्रम राखेको हुनसक्छ । वयोवृद्ध व्यक्तित्वहरू हाम्रा जिउँदा इतिहास हुन् र उनीहरूको जीवनकालमै यसरी साक्षात्कार गरी इतिहास लेखनमा अनुभवहरू सङ्ग्रह गर्न खोज्नु महत्त्वपूर्ण र प्रेरणादायी कर्म हो । यस किसिमका कर्महरूको अभ्यास हाम्रो नेपालमा हालसम्म भएजस्तो लाग्दैन ।
यथासम्भव छिटै यस्ता अभ्यासहरूमा हामी पनि अभ्यस्त हुँदै जान सकेमा हाम्रा जिउँदा इतिहासहरूलाई लिपिबद्ध गर्दै जान सकिने थियो र जिउँदा इतिहासहरू अस्ताएपछि हामीले आफ्नो इतिहास पनि अस्तायो भनेर पछुताउनुपर्ने अवस्था आउने थिएन होला ।
लीलबहादुर क्षत्रीका वाणीहरू सुनी सकेपछि असम गोर्खा सम्मेलनका केही प्रतिनिधिहरूले उहाँसँग इतिहाससँग सम्बद्ध केही जिज्ञासाहरू पनि राख्नुभएको थियो र लीलबहादुर क्षत्रीले तिनलाई यथासम्भव शान्त गर्ने प्रयत्न पनि गर्नुभएको थियो । इतिहास लेखनका संयोजक लोकनाथ उपाध्यायले गोर्खा सम्मेलनको इतिहास लेख्ने सन्दर्भमा सबै पक्षलाई यथोचित सहयोग प्रदान गर्न अनुरोध गर्नुभयो भने डा. सृजना शर्माले उक्त संस्थाको इतिहास लेख्ने सन्दर्भमा कुन कुन ठाउँमा सामग्री उपलब्ध हुन सक्लान् भन्ने बारेमा आफूले थाहा पाए सम्मका सूचनाहरूको सङ्केत गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।