हवाईजहाजले तासकन्द अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उज्बेकिस्तानमा रातको सवा १ जति बजेको थियो । विमानस्थलको पृष्ठभूमि अँध्यारो थियो तर हवाईजहाजको पार्किङ क्षेत्रका केही भागहरूमा भने मधुरा बत्तीहरूले फालेको उज्यालोका टुक्राहरू छरिएका थिए । केही थान हवाईजहाजहरू मस्त निद्रामा थिए भने केही हवाईजहाजहरू उडान भर्ने तैयारीमा थिए । उडान भर्ने तैयारीमा रहेका हवाईजहाजहरूका वरिपरि अरू साना सवारी साधनाहरूको चहलपहल देखिन्थ्यो ।
त्यहाँ अधिकांश हवाईजहाजहरू साना कदका देखिन्थे अर्थात् न्यारोबडी । हामी सवार हवाईजहाज पनि न्यारोबडी नै थियो । पार्किङ क्षेत्रतिर लाग्दै गर्दा मैले जहाजको झ्यालबाट बाहिर नजर फैलाएँ । केही मसिना सवारी साधनहरू पल्याकपुलुक बत्तीको उज्यालो फाल्दै दौडिरहेका थिए । पर देखिन्थ्यो “तासकन्द इन्टरनेशनल एयरपोर्ट” भनेर शिरमा लेखिएको भवन अर्थात् एयरपोर्ट टर्मिनल । हवाईजहाजहरू त्यो भवनबाट अलि परै देखिएका आधारमा अनुमान गर्न सकिन्थ्यो त्यहाँ एरोब्रिजको सुविधा छैन यात्रुहरूलाई हवाईजहाजबाट सिधै एयरपोर्ट टर्मिनलभित्र प्रवेश गर्न ।
जसै जहाजले त्यो उज्बेकि भूमिमा अवतरण गर्यो । म भने सोचाइका तरङ्गहरूमा फैलिरहेको थिएँ । कुनै समय उज्बेकिस्तान एउटा विशाल देश सोभियत संघको हिस्सा थियो । अर्थात् सोभियत संघ थियो । म सोभियत संघमा हुन्थें यतिखेर यदि मैले ९० को दशक पहिले त्यो भूगोलमा अवतरण गरेको भए । तर ९० को दशक नाघेको छ । त्यसैले म उज्बेकिस्तानमा छु । कस्तो हुँदो हो, यदि म सोभियत संघमा अवतरण गरेको भए ? त्यस बखत जब सोभियत संघ र अमेरिका शीत युद्धमा अल्झिरहेका थिए । अर्कोतिर, सोभियत संघबाट छुट्टिने मेलोमा उज्बेकि जनताहरू स्वतन्त्रताको आन्दोलन लडिरहेका थिए ।
म अझै पछाडितिर धकेलिएँ कल्पनाको संसारमा, सोभियत संघले मस्त राज गरिरहेको बेला कस्तो थियो होला औसत उज्बेकिहरूको जीवन दैनिकी, होला – दुखसुख हरेक घरको दैलोभित्र । देशको राजधानी मस्को पुग्ने सपना कति उज्बेकिहरूको पुरा हुँदो हो । दुई प्रेमीहरू एउटा मस्को र अर्को उज्बेकि भूमिमा बसेर एक अर्कोको प्रतीक्षामा दिन बिताउनु पर्दाको अवस्थामा प्रेमको परिभाषा के हुँदो हो, कस्तो हुँदो हो ?
खयर छोडौं, यी सबै कुरा यथार्थमा फर्कौं, म यतिखेर उज्बेकिस्तानमा थिएँ । सोभियत संघमा होइन । उज्बेकिस्तानको राजधानी तासकन्दमा थिएँ, धेरै पर रहेको मस्कोमा होइन । मैले तासकन्द एयरपोर्टमा उज्बेकि सरकारी औपचारिकता पूरा गर्नु पर्नेछ त्यो देशमा प्रवेश गर्न । भिसा त छँदैछ । मन खुशी बनाएको थियो ईभिसाले । आफ्नै छिमेकी देश चीनले पत्याउँदैन हामीलाई ईभिसा दिन । तर दूर भूगोलको उज्बेकिस्तानले हामीलाई ईभिसा पत्याउँछ । चीनले नेपालका केवल नेताहरू मात्रै चिन्छ तर सर्वसाधारण नेपालीहरूलाई फिटिक्कै चिन्दैन । महाभूकम्प पछि त रासनपानी पस्ने गौडाहरू नै बन्द गरिदिने त्यो छिमेकीका भिसाको कुरा के गर्नु, फर्कौं उज्बेकिस्तानतिरै ।
बिजनेस क्लासमा बसेर यात्रा गरेकाले तेस्रो र चौथो यात्रु थियौं हामी हवाईजहाजबाट बाहिर निक्लिन । भुइँसम्म झर्नका लागि एउटा लामो भर्याङ जोडिएको थियो ढोकामा । विमानस्थलका सुरक्षाकर्मी लगायतका केही कर्मचारीहरू भरेङ झर्दै गरेका हामीलाई हेरिरहेका थिए । मानौं हामी अर्कै ध्रुवबाट आएका अनौठा मान्छेहरू थियौं । होइन होइन, उनीहरू ड्युटी गरिरहेका थिए ।
सुरक्षाकर्मीको फराकिलो र टाउकोभन्दा ठूलो फरेसक्यापले मलाई फेरी एकपटक सोभियत संघको सम्झना लेरायो । मनमनै भने “शायद सोभियत संघको धङधङी पूर्ण रूपले हटेको छैन ।”
मुखले ओकल्ने त कुरै थिएन ।
अलिपर दुइटा कोबसहरू लाइनमा लागेका थिए जहाजको भर्याङको सामुन्ने भएर । तीनैले लैजाने वाला थिए यात्रीहरूलाई एयरपोर्ट टर्मिनल भवनतिर । कुन बसतिर जाने द्विबिधा जन्मियो ।
“बिजनेस क्लास?”
“एस ।”
“गो टु द्याट बस ।” विमानस्थलको एकजना कर्मचारीले हामीलाई अगाडीको कोबसतिर बाटो देखायो ।
एयरबस ए ३२० बाट निक्लिएर हामी बिजनेस क्लास यात्रुहरूका लागि तोकिएको कोबसमा बसेर एयरपोर्ट टर्मिनलतिर हानियौ । बस पनि चौथाइको दूरीलाई मानोको नापो पुर्याएर टर्मिनल भवनको अगाडी गएर रोकियो । हामीभन्दा अगाडी एउटा अर्को बस टन्नै यात्रुहरू बोकेर बसिरहेको थियो कहिले खन्याउला तीनलाई भनेर । त्यसको ढोका खुलेको थिएन, बन्दै थियो हाम्रै जस्तो । टर्मिनल भवनमा पनि कतै द्वार दुलो खुलेको देखिएन । हामी सवार बस त्यो अघिल्लो बसको पछाडि गएर रोकिएको थियो ।
जम्माजम्मी चारजना थियौं सवारी बसमा । बिजनेस क्लास टन्नै भरिएको भए पनि बसको भुँडी भने ह्वाङ्गै थियो । कता लागे बिजनेस क्लासका अरू यात्रुहरू पत्तै भएन । म छक्क परिरहेको थिएँ– त्यो टर्मिनलको ढोका किन नखोलेको होला ।
केही समय पश्चात् टर्मिनल भवनको सिसाको ढोका घर्याक्क आवाजका साथ खुल्यो । सिसाको स्लाईड खापा रहेछ त्यो ढोकाको । एउटा फरेस क्याप लगाएको मोटे सुरक्षाकर्मीले टर्मिनल भवनबाट बाहिर निक्लिएर हातले इशारा गर्यो । उसले इशारा गरेसँगै बसका ढोकाहरू ह्वात्तै खुले । अघिल्लो बसका यात्रीहरू यसरी हुत्तिएर त्यो दैलो भरिए म त हेरेको हेरै भएँ । मानौं तासकन्द विमानस्थल भएर यात्रा गर्ने हरेक यात्री त्यो दौडको ज्ञाता थिए र हुत्तिने तालिम नै लिएका थिए सोभियत संघ स्टाइलमा ।
त्यहाँको हुत्त्याइ देखेर मैले झट्टै सम्झिएँ आफ्ना ती पुराना दिनहरू । …नेपालमा सोभियत संघ – साँझमा अफिस छुटेपछि घर जानका लागि हामी त्रिचन्द्र कलेज अगाडीको मोडमा गएर बस पर्खिन्थ्यौं । जम्माजम्मी एउटा बस थियो हाम्रो काँठको गाउँसम्मै जाने । त्यो बस छुट्यो भने बागबजारबाट भक्तपुर जाने बसमा चढेर उता सल्लाघारीमा ओर्लिनु पर्थ्यो र त्यहाँबाट झण्डै पौने घण्टाको पैदल यात्रा गर्नु पर्थ्यो साँझको भोको पेटमा ।
त्यसैले त्यो गाउँमै पुग्ने बस हाम्रो लागि महत्त्वपूर्ण थियो । त्यो बस आउने बित्तिकै हामी यसरी हुत्तिन्थ्यौ । हुत्तिएनौं भने उभिने ठाउँ पनि मिल्नेवाला छैन, सिटका त कुरा परै जावोस् । घण्टाघर वरिपरिका मान्छेहरू अलमल्ल पर्थे हाम्रो त्यो बस चढाई देखेर । हो त्यस्तै हुत्त्याइ देखें मैले धेरै वर्षपछि तासकन्द विमानस्थलमा ।
हामी सुस्तरी बसबाट निक्लिंदा एक कोबस यात्रीले दैलोदेखि मझेरीसम्म भरिहाले । लास्टैमा परियो टर्मिनलभित्र पस्ने त्यो खेपमा । हामी पस्ने बित्तिकै द्वार बन्द गरिहाल्यो त्यो फरेस क्यापवाला मोटेले । अब अर्को खेप त्यसै गरी हुत्त्याउने होला त्यसले टर्मिनलभित्र भनेर अनुमान लगाए मैले ।
अचम्मै परें, भित्रको भीड देखेर । ढोकाबाट भित्र पस्ने बित्तिकै पाँच–सात मिटरको दूरीमै लस्कर लागेका थिए अध्यागमनका डेस्कहरू । प्रत्येक डेस्कको अगाडी जात्रै भीड थियो । मान्छेहरू पोको परेका थिए हरेक डेस्क अगाडी, व्यवस्थित लाइन होइन । फरेन पासपोर्ट भनेर लेखिएको एउटा भीडमा मिसियौ हामी बुढाबुढी । हामीभन्दा अगाडी दश पन्ध्रजना जति थिए होलान् उभिने तर दश घण्टा उभिए जत्तिकै उभिनु पर्यो । आफूलाई हतार भएको हो वा अध्यागमन अधिकारी सुस्त हुन खुट्याउनै सकिएन । सायद त्यसैले पनि होला ढिला भएको महसुस भयो ।
बेलाबेलामा फरेस क्यापवाला मोटे मूलद्वार खोल्थ्यो । ह्वारररर यात्रीहरूको भेल पस्थ्यो त्यहाँभित्र र अध्यागमन डेस्कहरू अगाडी पोको पर्थे । फेरी बन्द हुन्थ्यो मूलद्वार ।
त्यहाँ विमानस्थलको अध्यागमन अधिकारीहरूले यात्रीहरू क्लियर गर्न समय लगाइरहँदा मलाई भने कताकता त्यो ९० को दशक पहिलेको सोभियत संघको गन्ध आइरहेको थियो एयरपोर्टभित्रको त्यो वातावरणमा । लाग्दै थ्यो शंकालु प्रशासन । हरेक कुराहरूलाई शंकाको दृष्टिले हेर्ने । के चाहिँ गर्छ त्यो अध्यागमन अधिकारी र त्यत्रो समय लाग्छ एउटै यात्रुलाई भनेर म आफैलाई सोध्दै थिएँ ।
आफ्नो पालो आउने बित्तिकै पासपोर्ट र ईभिसाको कागज अध्यागमन अधिकारीको हातमा थमाएँ । उसले बोर्डिङ पास माग्यो, त्यो पनि दिएँ । एकपटक उसले मेरो अनुहारतिर हेर्यो र पासपोर्टको फोटोसँग रुजु गर्यो । त्यसपछि त्यसले खोस्रिन थाल्यो मेरो पासपोर्ट । यसरी खोस्रियो कि बयान गरेर साध्य छैन । ३६० डिग्रीमै जाँच गर्दै थियो । कतै मेरो पासपोर्ट नक्कली पो हो कि भनेर ।
त्यसलाई सक्कली नक्कली जाँच अनुसन्धान गर्ने अफिस खोलेर राखिदिने हो भने हाम्रो देशका आधा शैक्षिक र आधा नागरिकताका प्रमाण पत्रहरूलाई नक्कली नै प्रमाणित नगरे पनि सक्कली चाहिँ होइनन् भनिदिन्छ । यो चाहिँ मैले ठोकुवा गरे । कतै कसैको उमेरले मेल खाँदैन त कतै नामै पनि मेल खाँदैन भन्ने सुनेको हुँ । तीन पुस्ते नमिल्ने पनि कैयौं छन् रे । बहादुर, कुमार, प्रसादहरू चाहिने ठाउँमा नपाइने, नचाहिने ठाउँमा टुप्लुकिँदा पनि व्यक्तिको ब्यहोरा रुजु हुँदैन भन्ने पनि सुनेकै हो । यस्तो अवस्थामा त्यस्तो अध्यागमन अधिकारीले छानबिन गर्ने पर्यो भने बिताएन ?
अध्यागमन अधिकारीले मेरो पासपोर्टमा छाप हान्यो ढ्याक्क गरेर बाहिरसम्मै आवाज आउने गरी । पास भएँ । केही बेरमै मेरी उनी पनि पास भइन् । उसै गरी ढ्याक्क गर्यो उनको पासपोर्टमा छाप हान्दा पनि । हामीले उज्बेकिस्तानमा प्रवेश पायौं औपचारिक रूपमा ।
अबको अर्को काम भनेको सुटकेस बटुल्नु हो । अध्यागमन डेस्कहरूको पिठ्युँमै रहेछन् ब्यागेज बेल्टहरू । हाम्रो त ठ्याक्कै हामीलाई प्रवेश दिने काउन्टरकै पछाडि । बेवारिसे झैं घुमिरहेको रहेछ हाम्रो सुटकेस हामी अध्यागमनमा अड्किरहँदा । मैले टपक्कै उठाएँ आफ्नो सुटकेस र बाटो खोज्न थालेँ अगाडी बढ्ने ।
पाँच मिटर जति पर एउटा काउन्टरमा मान्छेहरू झुम्मिइरहेको देखेँ । एउटा लाइन पनि जोडिएको थियो त्यो काउन्टरमा । ठ्याक्कै पत्ता लगाए मेरा नजरहरूले, त्यो काउन्टर सिमकार्ड बेचिरहेको थियो आगन्तुक विदेशी यात्रीहरूलाई ।
आठ दशजना थिए लाइनमा । म जोडिएँ त्यही लाइनको पुछारमा । सिमकार्ड र डाटा पहिलो आवश्यकता थियो परदेशमा । लाइन पटक्कै सरेन र सर्ने छाँट पनि देखिएन । सारै जुम्सो कर्मचारी भनौं कि विवरण धेरै चाहिने हो दूर सञ्चार कम्पनीलाई, काउन्टरको कर्मचारी निकै सुस्त देखिन्थ्यो । लामो समयसम्म पनि एउटै पर्यटकले पाएको थिएन सिमकार्ड ।
त्यो जुम्सोले अगाडीको ग्राहकलाई भनेको सुनें । उसले क्यास मात्रै लिन्छ रे त्यो पनि उज्बेकि मुद्रामा, सिमकार्डका लागि । अमेरिकी डलर, युरो वा क्रेडिट कार्डले भुक्तानी लिँदैन रे । हामीसँग स्थानीय मुद्रामा क्यास रकम थिएन । रमाजीलाई लाइनमा बसालेर म खोज्न हिँडे मनी एक्सचेन्ज काउन्टर ।
अध्यागमन डेस्कहरूको दुई छेउमा जोडिएका रहेछन् एउटा एउटा मनी एक्सचेन्ज काउन्टर । एउटा बन्द रहेछ, अर्को खुल्ला । म खुल्लावाला काउन्टरको लाइनको पुछारमा गएर जोडिएँ । चार पाँचजना थिए लाइनमा । १०० दरको एउटा अमेरिकी डलरको नोटलाई उज्बेकिस्तानको १२ लाख ६० हजार सोम (उज्बेकिस्तानको स्थानीय मुद्रालाई सोम भनिन्छ) बनाएँ । काउन्टरवालीले ९ वटा लाख लाखका नोट र बाँकी बिस बिस हजारका नोटहरू दिई । एक बिटै भयो नोटहरू मेरो हातमा ।
पन्ध्रबीस मिनेटजति पछि फर्केर आउँदा सिमकार्डको लाइन जस्ताको त्यस्तै, जहाँको त्यही थियो । एक बित्ता पनि अगाडी बढेको थिएन । …जुम्सोले बिताउने भोÚ मनमनै भनेँ । त्यही ताल हो भने त सिमकार्ड लिँदासम्म त उज्यालै पो हुन्छ ।
सिमकार्ड नलिईकनै जानु पर्छ भन्ने मनमा आयो । त्यसो त तत्कालका लागि एयरपोर्टदेखि होटेलसम्म जाने ट्याक्सी बुकिङ गर्ने प्रयोजनका लागि मात्रै जरुरी थियो इन्टरनेट डाटा । एयरपोर्टको फ्री वाइफाइलाई पनि निम्तो दिएको हो मोबाइल फोनमा तर पटक्कै पस्न मानेन । के मिलेन मिलेन । जति तान्न खोजे पनि परपर भएर हरायो ।
कमै रकममा एयरपोर्ट ट्याक्सी पाइन्छ भने त्यो विकल्प पो हेर्ने हो कि भनेर म नजिकैको एयरपोर्ट ट्याक्सीको काउन्टरमा पुगें । मेरो होटेलको लोकेशन हेरेर त्यो उज्बेकिले ९० हजार सोम लाग्ने बतायो । अमेरिकी डलरमा भन्दा ७ डलर जति पर्न आयो । कसरी थाहा पाउनु “यान्डेक्स गो” वाला एपले दिने सेवाको दर र एयरपोर्ट ट्याक्सीको सेवादारमा फरक छ कि छैन भनेर । सोचे भोलीको कुरा के हो के हो, सस्तो पनि मिल्दै छ सिमकार्ड, लोकल सिमकार्ड लिएर मात्रै एयरपोर्ट छोडौं । यसै पनि रमाजी लाइनमै थिइन् सिमकार्डका लागि । म त उसै यताउता हल्लिरहेको त थिएँ ।
सिमकार्डको लागि सबैभन्दा सस्तो प्याकेज ४४ जिबी इन्टरनेट डाटा सहित लोकल कल एक महिनाका लागि जम्मा ६० हजार सोम अर्थात् ४ अमेरिकी डलर जति पर्दै थियो । त्यो त संसारकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज होला । त्यसो त भारतमा पनि भा रु ३०० मात्रैमा प्याकेज पाइएको थियो महिनाभरका लागि ।
ला कसरी खोल्ने होला मोबाइल फोन, नयाँ सिमकार्ड घुसार्न ? नयाँ समस्या जन्मियो । साँचो सुइरो केही पनि थिएन साथमा । पिन चाहिन्थ्यो हाम्रो मोबाइलको सिमघरको ढोका खोल्न । मोबाइलको सिमघरको साँचो पनि जरुरी चिज रहेछ यात्रामा । त्यतिखेर मात्रै हेक्का भयो ।
भर्खरै सिमकार्ड लिएर लाइनबाट बाहिर निक्लिए दुईजना पश्चिमे जस्ता देखिने मध्य एसियन युवतीहरू । आफ्नो मोबाइलमा सिमकार्ड हाल्नका खातिर उनीहरू त्यो गोलो काउन्टरको एक छेउतिर लागे । म पनि तिनीहरूको नजिकै गएँ र हेर्न थालें के गरेर खोल्दा रैछन् तीनले तीनको मोबाइलको सिमघर । मैले लाइनमा बसेकी रमाजीलाई मोबाइलको सिमघर खोल्ने पिन छ भनेर सोधें । त्यहीबाट अलि ठूलो स्वर गरेर उनले छैन भनिन् । हामी बिचको संवादको भाव ती केटीहरूले बुझिसकेका थिए भन्ने मेरो अनुमान थियो ।
एउटी केटीले कानको सानो टप निकाली । फुली जत्रै थियो त्यसको टप । त्यही टपको पिनले खोली उसको मोबाइलको सिमघर । म ओल्टाईपल्टाई गर्दै थिएँ मेरो मोबाइल फोनमा पिन घुसार्नु पर्ने ठाउँ खोज्दै । उसले मेरो मोबाइल फोन आफ्नो हातमा लिई र आफ्नो एयर टपको डाँठले खोलिदिई । ती केटीहरू सुन्दर त थिए नै, ती भन्दा पनि सुन्दर थिए तीनका सहयोगी मनहरू । तिनीहरूलाई हृदयदेखि नै धन्यवाद दिएँ ।
हामीले सिमकार्ड लिँदा अर्को आधादेखि पौने घण्टाको समयले बाईबाई गरिसकेको थियो तासकन्द एयरपोर्टमा । केटीहरूले सिमघर खोल्दिसकेका थिए । सिमकार्ड हाल्ने काम त्यही उज्वेकी कर्मचारीलाई दिए । उसले भीडका बाबजुद पनि सिम हालिदियो । एक्टिेभेट गर्न पनि सहयोग गरिदियो । एउटा भारतीय युगल जोडीले पनि सहयोग गर्न प्रयास त गरेका थिए तर तीनले सकेनन् एक्टिभेट गर्न । त्यही कर्मचारीले मेरो समस्याको गाँठो फुकाइदियो ।
त्यसपछि भने हामी साइड लाग्यौं । साइड लागेर पहिलो नम्बरमा होटेलमा फोन गर्यौं र आफूहरू एयरपोर्टमा आइपुगेको र केही बेरमै होटेलमा दाखिल हुने जानकारी गरायौं । उता होटेलबाट अर्ध निद्रामा कसैले के के भनेको सुनियो तर बुझिएन । उज्बेकि बोल्यो कि रसियन बोल्यो थाहा छैन । लास्टामा अंग्रेजी भाषामा ओके भनेको बुझियो । बस, त्यत्ति भए त पुगिहाल्यो ।
“यानडेक्स गो” एप पहिल्यै डाउनलोड गरिसकिएको थियो मोबाइल फोनमा । “ह्वेर टु” मा सोध्लिक प्यालेस होटेल हालेर दूरी र रकम सोधे । १७ मिनेटको यात्राका लागि २४००० सोम भाडा लाग्ने जानकारी गरायो त्यो एपले । कहाँको ९०००० सोम कहाँको २४००० सोम । मैले बुक गरिहाले यानडेक्स गो मा । आठ–नौ मिनेटमा आइपुग्छ ट्याक्सी भनेर जानकारी गरायो यानडेक्स गो ले ।
तासकन्द अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल एरियाको एउटै हलभित्र अध्यागमन, ब्यागेज बेल्ट, मनि एक्सचेन्ज, सिमकार्ड, एयरपोर्ट ट्याक्सी र भन्सार सबै सेवाहरू उपलब्ध थिए । त्यत्ति सानो अराइभल हल त मैले डोमेस्टिक एयरपोर्टमा पनि देखेको छैन ।
हामीहरू भन्सारको “नथिङ टु डिक्लेयर” भन्ने बाटो हुँदै बाहिर निक्लियौं । टर्मिनल भवनबाट बाहिर निक्लिसकेपछि पनि बार लगाएर बाटो लामो बनाएर परसम्म पुर्याईएको रहेछ । एरोले देखाएको बाटो जाँदा निकै हिंड्नुपर्यो । एक हुल मान्छेहरू एउटा कच्ची बारको पछाडि उभिरहेका थिए । त्यही रहेछ साँच्चिकै बाहिर जसलाई आगमन कक्ष भनिन्छ अरू विमानस्थलहरूमा । त्यहाँ चाही आगमन आँगन भन्नु पर्यो । हामी आँगनमै पुगिसकेका थियौं ।
त्यहाँबाट बाहिरिंदा केही मान्छेहरूले ट्याक्सी चाहिन्छ भनेर सोध्न आए तर अरू एसियन एयरपोर्टहरूमा जस्तो छोप्नै चाहिँ आएनन् । “नो” भनेपछि तर्किहाल्थे । पछिपछि लागेनन् ।
हामी मान्छेहरूको भीड पनि भएको र कारहरू लस्करै पार्क पनि गरेर राखिएको क्षेत्रमा पुगेका थियौं । मलाई लागेको थियो, यानडेक्स गो को कार त्यतै कतै पार्किङ गरेर बसेको होला भनेर । म एक एक गरेर हेर्न थाले प्रत्येक कारको नम्बर प्लेटमा । पटक्कै भेटिएन खोजेको नम्बर अर्थात् नम्बर रुजु भएन ।
मैले आफ्नो मोबाइलमा पनि हेर्दै र एकपछि अर्को कारहरूको नम्बर प्लेटमा पनि हेर्दै हिंडेको देखेर एकजना मान्छेले मलाई सोध्यो, “यानडेक्स ट्याक्सी पर्खेको हो,”
मैले हो भनेपछि उसले बाहिर सडकमा गएर प्रतीक्षा गर्ने जानकारी दियो । यानडेक्स ट्याक्सी त्यो कार पार्किङ एरियामा नआउने पनि बतायो उसले । पर लमतन्न परेर सुतिरहेको सडक पनि देखाइदियो हातको इशाराले ।
अलि परै रहेछ सडक । साँच्चिकै सडक नभेटुन्जेल अरू बाटो पनि सडक जस्तै बनेर आउनाले हामी कनफ्युज भैरह्यौं । कारहरू पार्किङ गरेर राखिएका तीन चार क्षेत्र नै पार गरेर जानु पर्ने रहेछ त्यो सडक भनिने सडक भेट्टाउनको लागि ।
उता बुक भएको ट्याक्सी आइसकेको जानकारी दिइसकेको थियो यानडेक्स गो एपले । त्यो कार कहाँ रोकिएको थियो हामीलाई थाहा थिएन । यानडेक्स गो वाला कारको ड्राईभरलाई पनि हामी कहाँ छौं भन्ने थाहा थिएन । मैले यानडेक्स गो एपमा आफ्नो लोकेशन सेटअप नगरिसकेका कारणले उसले हाम्रो लोकेशेन पत्ता लगाउन नसकेको रहेछ भन्ने कुरो भोलिपल्ट मात्रै थाहा भयो । साधन र प्रविधि हातमा भएर मात्रै कहाँ हुन्छ र, उपर्युक्त तरिकाले प्रयोग गर्न पनि त जान्नु पर्यो ।
यानडेक्स गो कार तारन्तार फोन गरिरहन्थ्यो, न उसले मेरो अंग्रेजी बुझ्थ्यो न म उसको उज्बेकि वा रसियन भाषा । कसैलाई फोन दिएर सहयोग लिऊँ न त भन्दा शंकाको पहाड सानो थिएन । जसलाई मोबाइल फोन दिउँला उही कतै मोबाइल फोन हातमा पर्ने बित्तिकै भाग्यो भने के गर्ने ? वनको बाघले खाला नखाला मनको बाघले त झम्टिहाल्यो त्यो परदेशमा ।
एउटा पसल देखें सडक किनारामा । म त्यतै हुत्तिएँ । पसले व्यस्त थियो काममा तैपनि मैले उसको समय खोस्ने प्रयास गरें । उसले नाइँनास्ती नगरी मैतिर ध्यान दियो । मैले उसलाई मेरो मोबाइल फोन दिँदै ट्याक्सी ड्राईभरसँग कुरा गरेर हाम्रो लोकेशन बताइदेऊ भनेर अनुरोध गरेँ । उसले मेरो अंग्रेजी बुझ्यो । तत्कालै मेरो मोबाइल फोन उसको हातमा लिएर कुरा गर्यो ड्राईभरसँग । उसले कुरा गरेको अर्को आधा मिनेटमा ट्याक्सी आएर हाम्रो सामु रोकियो । मैले यानडेक्स गो एपमा देखाएको नम्बरसँग त्यो कारको नम्बर भिडाए । नम्बर रुजु भयो । हाम्रो होटेलतिरको यात्रा शुरु भयो ।
घडीमा बिहानको साँढे ३ जति बजिसकेको भएपनि पृष्ठभूमिमा रातकै अँध्यारोको राज थियो । एयरपोर्ट एरिया छोडिसकेपछि त एक प्रकारको सन्नाटाकै राज थियो सडकमा । फाट्टफुट्ट देखिन्थे सवारी साधनहरू ।
“किन त्यत्रा मान्छेहरूसँग नसोधेर त्यो पसलेसँग नै सोध्न पुगेको उति पर?” रमाजीको कौतुहलता शब्द बनेर ओर्लियो ।
“मोबाइल फोन नै बोकेर भागे भने के गर्नु मैले । पसले त भाग्न सक्दैन । त्यसैले पसलेसँग नै सहयोग मागेको ।” मेरो जवाफ ।
रमा छक्क परिन् मेरो जवाफ सुनेर ।
अर्को बीसपच्चीस मिनेटमा हामी सोध्लिक प्यालेस होटेलको आँगनमै पुग्यौं । होटेलको लबीमा दाखिल हुँदा चरो मुसो कोही देखिएन रिसेप्सनमा । चारतारे होटेल के गतिको रहेछ नि भनेर जिब्रो काटेँ मैले । मैले मेरो उपस्थितिको जानकारी दिएपछि भित्रबाट आँखा मिच्दै आयो एउटा केटो र उसैले चेक ईन प्रक्रिया पूरा गर्यो अर्ध निद्रामा । होटेलको भाडा भोली नै लिउँला भनेर पन्छियो ।
बिछ्यौनामा गएर पल्टिंदा बिहानको ४ बजिसकेको थियो । पल्टिनु पहिले झ्याल खोलेर बाहिरतिर हेरें, अँध्यारोकै राज थियो । २ बजेसम्ममा त होटेलमा पुगेर घुप्लुक्क बिछ्यौनामा घुस्रिउँला भन्ने योजना थियो तर तासकन्द एयरपोर्टका जुम्साहरूले स्वाट्टै खाइदिए समय ।
विश्वमा शान्ति छाओस् ।
दोहा कतार ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।