हाम्रो उपनिषद्ले ‘चरैवेति चरैवेति’ अर्थात् हिँडिरहू हिँडिरहू भन्ने शिक्षा दिइरहन्छ । कुनै निश्चित ठाउँमा बसिरहँदा पोखरीको पानीजस्तै हाम्रा विचारहरू पनि दूषित हुँदा रहेछन् र पानीजस्तै बग्न नपाएका कारण हामीले आफ्ना विचारहरूलाई प्रशोधन गर्न नसक्ता रहेछौँ । जति धेरै ठाउँ घुम्यो हाम्रा विचारहरू पनि त्यति नै धेरै परिष्कृत र परिमार्जित हुँदा रहेछन् । भ्रमण एवम् अवलोकनले पनि हाम्रो जीवनलाई केही न केही सिकाउँदो रहेछ र हाम्रा विचारको क्षितिजलाई फराकिलो पार्दो रहेछ । त्यसैले यथासम्भव कहीँ कतैबाट निम्तो आउँदा आफ्ना विचारलाई परिमार्जन गर्ने अवसर मिल्छ भनेर मैले जस्तोसुकै परिस्थितिमा पनि निम्ताहरूलाई प्रायः अस्वीकार गर्दिनँ ।

यसै सन्दर्भमा भारतको असमस्थित गुवाहाटी विश्वविद्यालय र नेपाली भाषा विकास मञ्चको संयुक्त आयोजनामा भारतीय नेपाली शब्दकोशको निर्माण हुँदै रहेछ । त्यसका लागि नेपालबाट पनि केही विशेषज्ञलाई आमन्त्रण गरिएको थियो । त्यही आमन्त्रणलाई स्वीकार गरेर काठमाडौँबाट प्रा. डा. हेमनाथ पौडेल र डा. यज्ञेश्वर निरौला तथा नवलपरासीबाट डा. मतिप्रसाद ढकाल र डा. धनपति कोइरालासहितको चारजनाको टोलीमा छोरी आस्था ढकाल पनि थपिएकी थिइन् । काठमाडौँबाट दुवैजना गुरुहरू असार १२ गतेको रात्रिबसमा बिपी राजमार्ग हुँदै काँकडभिट्टा पुग्दै हुनुहुन्थ्यो भने नवलपरासीबाट हामी तीनजना पनि नारायणगढबाट असार १२ गतेकै रात्रिबसमा चढेर असार १३ गते बिहान काँकडभिट्टाभन्दा केही पश्चिममा रहेको सीतापुरी बजारमा ओर्लियौँ ।

सीतापुरी बजारबाट करिब दश मिनेट दक्षिणतर्फ लागेपछि मित्र धनपति कोइरालाका वयोवृद्ध कन्यादाता आमाबुवा बस्दै आउनुभएका घरमा पुगिँदो रहेछ । आध्यात्मिक अनुष्ठानमा लागिरहनुभएका आमाबुवा र उहाँकी बुहारीले हामीलाई तिथि नै नतोकीकन पुगेका अतिथि भनेर स्वागतसत्कार गर्दै आशीर्वचनसमेत प्रदान गर्नुभयो । खाना खाइसकेपछि खाएका भाँडाहरू खप्ट्याएका खण्डमा त्यस घरमा पुनः पाहुना फर्केर आउँदैनन् भन्ने विश्वास त्यहाँ प्रचलित रहेछ । त्यहाँबाट हामीहरू बिदा भएर झापाकै झिलझिले बजारमा पुग्यौँ । जहाँ मित्र डा. धनपति कोइरालाको जन्मघर रहेको थियो र त्यहीँ उहाँका सबै दाजुभाइहरू बसोबास गर्दै आउनुभएको रहेछ । उहाँका सबै दाजुभाइका घरमा पुगेर भेटघाट गरेपछि उहाँकै ठूलाकान्छा भाइ रोहिणी कोइरालाले चलाएको अटोमा भाइलाई नै गुरु थापेर हामीहरू झापाको उत्तरतर्फ अवस्थित शताक्षीधामको यात्रामा अघि बढ्यौँ ।

सडकको दुवैतिर हरियाली चरन क्षेत्र देख्दा खुसी लाग्यो । झापाका अधिकांश ठाउँमा गाईवस्तुको चरनका लागि प्रशस्त जग्गाजमिन छुट्याइएको हुँदो रहेछ । चरनक्षेत्र पार गरेर वनको काखैमा अवस्थित शताक्षीधाममा नयाँ र पुराना संरचनाहरू देखिए । मुख्य रूपमा शिवजीको मन्दिर अनि अन्य देवीदेवताका ससाना मन्दिरहरूसँगै व्यवस्थित गौशाला पनि रहेछ ।

मानवनिर्मित भौतिक संरचनाले ओगटेको शताक्षीधामसँग मितेरी गाँसेको शताक्षी खोलाको मुहानतिर मनमोहक झरना अनि बिरे नुनको मुहान पनि भेट्न सकिन्छ भन्ने कुरा रोहिणी भाइले बताउनुभयो । यद्यपि बर्खाका समयमा बाढी र पहिरोका कारण बिरे नुनको मुहान भेट्न सकिँदैन रे भन्ने पनि त्यहाँ सुनियो तर हाम्रो उत्कट चाहनाका कारण हामीहरू डोरेटो बाटालाई पनि छाडेर खोलाका कलात्मक ढुङ्गाहरू अनि कलकल बगिरहेको चिसो पानीलाई स्पर्श गर्दै खोलैखोला मुहानतर्फ लाग्यौँ । हाम्रा पथप्रदर्शक रैथाने रोहिणी भाइ नै शताक्षी खोलाका कलात्मक ढुङ्गाहरू देखेर तिनलाई स्पर्श गर्दै मोहित भइरहनुभएको थियो भने हामी नवागन्तुकका लागि त्यहाँका कलात्मक ढुङ्गाहरूले मोहनी नलगाउने कुरै भएन । जीवनलाई पनि कलात्मक बनाउन चाहने हरेक व्यक्तिले शताक्षी खोलाका ढुङ्गाझैँ बारम्बार घर्षण र प्रताडनको सामना गर्न सक्नुपर्दो रहेछ भन्ने अनुभूति हामीलाई भयो ।

गन्तव्य कस्तो होला भन्ने जिज्ञासा उठिरहेपछि र इच्छाशक्ति प्रबल भएपछि यात्राका क्रममा देखापर्ने कठिनाइ पनि सुखद हुँदा रहेछन् । पथप्रदर्शकले अब त आइपुग्नै लाग्यो भनिदिँदा पनि कठिन परिस्थितिहरू आफै निराकरण भएजस्तो लाग्दो रहेछ । हामीहरू चप्पल लगाएकालाई त खोलाको चिसो पानीमा चोबलिँदै अघि बढ्न गाह्रो भएको थिएन तर आस्था छोरीले जुत्तालाई खोलामै छाडेर अघि बढ्दा नाङ्गा खुट्टाले चिप्लो, हिलो र गग्रेटो बाटामा हिँड्दा गाह्रो भइरहेको थियो तापनि रोहिणी भाइले अगाडिबाट हामीलाई उत्साहित गरेर अघि बढाउँदै लगेपछि र हामी पनि पछि पछि लाग्दै गएपछि आस्था पनि बिरे नुनको स्वाद लिने र द्रौपदी तलाउसम्म पुग्ने प्रयास गरिन् तर काठको बर्खे पुललाई खोलाले बगाएकाले झरनासम्म पुग्ने बाटो अलि गाह्रो रहेको ठानेर आस्था छोरी द्रौपदी तलाउबाटै बिदा भइन् । हामीहरू भने झरनासम्म पुग्ने उत्कट चाहनाले अघि बढ्यौँ । अघि बढ्दै जाँदा एक ठाउँमा नागको थान भेटियो भने त्यसकै आसपासमा रहेको एउटा पहरामा गाईका थुनजस्ता हजारौँ चट्टानबाट पानीका थोपाहरू चुहिरहेका कारण त्यसलाई शताक्षी सहस्रधारा नामकरण गरेर सानो साइनबोर्ड राखिएको थियो । त्यही शताक्षी सहस्रधारा रहेका ठाउँकै कारण शताक्षीधाम बन्न पुगेको रहेछ ।

मीनाक्षी शब्दजस्तै शताक्षी शब्द पनि बहुव्रीहि समासद्वारा निर्मित शब्द हो र यसको शाब्दिक अर्थ सयवटा आँखा भएकी भने शताक्षी शब्द दुर्गामाताका लागि प्रयोग गरिएको पाइन्छ । शताक्षीधाममा मुख्य दुई मन्दिर छन् । तीमध्ये एउटा शिवजीको मात्र मूर्ति राखिएको छ भने अर्को मन्दिर दुर्गादेवीको प्रतीक्षकका रूपमा शताक्षी माताको स्थापना गरिएको छ । सहस्रधारा शब्दको विशेषणका रूपमा शताक्षी शब्द प्रयोग भएको देखिन्छ । यद्यपि त्यहाँ तपतप चुहिएका पानीका थोपालाई नै धारा ठान्दा तिनै थोपाका आधारमा हजारवटा धारा भन्ने अर्थ लगाउन सकिएला तथापि शताक्षी सहस्रधारा नामकरण गर्नुको मूल अभिप्राय भने शोधखोज र अनुसन्धानकै विषयका रूपमा थाती रहन बाध्य भयो । शताक्षी सहस्रधारादेखि थोरै अघि बढेपछि झरना रहेका ठाउँमा पुग्न सकिँदो रहेछ ।

झरनालाई नजिकबाटै नियाल्नका लागि माथि चढ्न लिस्नु चढेजस्तै साँघुरा घुट्किला चढ्दा निकै ख्याल गर्नुपर्दो रहेछ । झरनाको नजिकै पुगेर बस्दा मन निकै प्रफुल्ल र शान्त भएको अनुभूति भयो । त्यस्ता ठाउँमा घन्टौँसम्म रहे पनि मन त अघाउन नसक्तो रहेछ । हामी भौतिक परिवेशमा रमाइरहेकाहरूका लागि त्यस्ता प्राकृतिक परिवेशले ध्यानमग्न हुन भने प्रेरित गर्दा रहेछन् तर हामीसँग समय निकै कम थियो । समय बचाउन सकेमा झापाको चियाबगानसमेत अवलोकन गर्नुपर्ने थियो र छिटै काठमाडौँबाट आउनुभएका प्राध्यापक मित्रहरूसँग पनि भेटिएर भारतीय रेलयात्रा प्रस्थान गर्ने ठाउँसम्म निर्धारित समयमै पुग्नुपर्ने थियो । त्यसैले मन नअघाए पनि समयले हामीलाई अघाउन बाध्य बनाएकाले हामीहरू त्यहाँबाट फर्कियौँ ।

पहिलोपटकको यात्रामा अघि बढ्दा जुनसुकै ठाउँ पनि कस्तो होला अनि कतिबेला पुगिएला भन्ने उत्कण्ठाले भरिभराउ भएको हुँदो रहेछ र बाटो पनि निकै लामो भएको अनुभूति हुँदो रहेछ तर गन्तव्यमा पुगेपछि भने सारा उत्कण्ठाहरू स्वतः हराउँदा रहेछन् र फर्किँदा त्यही बाटो निकै छोटो ठहरिँदो रहेछ । त्यसैले गन्तव्यमा पुगेर फर्किँदा छिटै बाटो काटिएको अनुभूति हामीलाई भयो । फर्किँदा बाटामा एक सयजना जति सैनिक जवानहरूले आआफ्ना टिफिनका ससाना बट्टामा आगो बालेर खाना वा खाजा पकाउँदै थिए । उनीहरूका खाना वा खाजाका परिकारहरू भने एकअर्कासँग भिन्न थिए । त्यसरी पकाइरहेको देख्दा हामीलाई निकै अचम्म लाग्यो । सबैले एकै ठाउँमा नपकाएर किन भिन्नाभिन्नै चुला बनाएर पकाइरहेका होलान् भन्ने पनि लाग्यो ।

त्यस दृश्यलाई आफ्ना क्यामेरामा कैद गर्न त मन थियो तर उनीहरूको अनुमति विना त्यो सम्भव थिएन । त्यहाँ रहेका सेनाप्रमुखसँग अनुमति माग्न खोज्दा क्यामेरामा सम्झनास्वरूप तस्बिर लिने अनुमति त प्राप्त भएन तर त्यसरी खाना पकाउनुको रहस्यको तस्बिर भने हामीले आफ्ना  मनमा खिच्न पायौँ । सेनाहरू विभिन्न परिवेशहरूमा खटिएर काम गर्नुपर्ने र परिस्थितिवश कहिलेकाहीँ भोकभोकै बस्नुपर्ने अवस्था पनि आउन सक्ने भएकाले त्यस अवस्थामा आफूसँग भएका कच्चा खाद्य पदार्थलाई कसरी खानयोग्य बनाएर उपभोग गर्ने भन्ने बारेमा प्रशिक्षण दिने सन्दर्भमा सबै सैनिक जवानलाई आधा घण्टामा आआफ्नो खाना वा खाजा पकाएर खाइसक्नुपर्ने निर्देशन दिइएको रहेछ ।

सेनाप्रमुखसँग सोध्न र यति जानकारी लिन नपाएको भए हामीलाई सैनिक जवानहरूले कति रमाइलो किसिमले वनभोज खाइरहेका रहेछन् भन्ने लाग्थ्यो होला तर उनीहरू निकै हतारिएर आआफ्नो खाना वा खाजा पकाइरहेका थिए । कतिपय जवानले भर्खरै चुलामा आगो फुकेर दाउराहरू बाल्ने अभ्यास गर्दै थिए भने कतिपय जवानको खाना वा खाजा पाकिसकेको थियो । सीमित समयमा र कठिन परिस्थितिमा कसरी आफ्नो काम पूरा गर्ने भन्ने अभ्याससँगै शिक्षा लिन पनि सैनिक जवानहरूले त्यसरी पकाइरहेको दृश्यले हामीलाई प्रेरणा दियो ।

हामीहरू शताक्षीधाम क्षेत्रको मन्दिरहरू रहेका ठाउँमा आइपुग्नै लाग्दा आस्था हाम्रो प्रतीक्षा रहेकी थिइन् । हामीले झरनाका बारेमा केही वर्णन सुनाएपछि उनलाई झरना पुग्न नपाएकामा केही पछुतो पनि लाग्यो । जानेबेलामा हामीले शताक्षीधाममा रहेका मन्दिरहरूको बाह्य दर्शन मात्रै गरेका थियौँ तर हामीहरू शताक्षीधामको उद्गमस्थलमा पुगेर फर्किँदा मन्दिरहरू बन्द भइसकेका थिए । त्यसैले हामीले बन्द भएका मन्दिरका ढोकामै पुगेर आआफ्ना मनहरू भगवान्मा अर्पियौँ । त्यहाँ मुख्य मन्दिरका रूपमा शिव मन्दिर रहेछ । त्यसकै अगाडि अखण्ड धुनि बलिरहेको अग्निकुण्ड पनि रहेछ । त्यसका वरिपरि अन्य मन्दिरहरू पनि थिए र थप भौतिक संरचनाहरू पनि निर्माण गरिँदै थिए । नजिकै गौशाला पनि रहेछ तर सबैको दर्शन गर्न भने हतारिएको हाम्रो मनले फुर्सद दिएन । शताक्षीधामको उद्गमविन्दुमा पुगेकाले पनि होला हामीलाई त्यहाँका नवनिर्मित र निर्माणाधीन संरचनाहरू धोको पुग्ने गरी अवलोकन गर्न नपाएकामा पछुताउ पनि लागेन ।

शताक्षीधाममा पुग्दा हामीले यो धाम धार्मिक पर्यटनका दृष्टिले विकसित हुन धेरै समय नलाग्ने र यसका सम्भावनाहरू पनि धेरै रहेको अनुभूति भयो । भौतिक संसारमा रमाइरहेकाहरूका लागि मन बहलाउन अन्यत्र पनि धेरै ठाउँहरू छन् तर शताक्षीधाममा आउने यात्रीहरू शताक्षीधामको उद्गमस्थलमा पुगेनन् भने तिनीहरूले साँच्चीकै प्राकृतिक सुन्दरता र शताक्षीधामको मूल दर्शन गर्नबाट वञ्चित हुन सक्छन् । त्यसैले शताक्षीधामको उद्गम स्थल र सुन्दर झरना भएका ठाउँमा पुग्न शताक्षीधाम विकास समितिले आफ्ना विकासका योजनाहरूलाई द्रुततरमा अघि बढाउन ढिलाइ गर्नुहुँदैन भन्ने हामीलाई लाग्यो ।

शताक्षीधामको यात्रा सकेर हामीहरू झिलझिले बजार आइपुग्यौँ र चालक मात्रै होइन पथप्रदर्शक पनि बनेर राम्रोसँग शताक्षीधामको परिचय दिएर यात्रामा हामीलाई सघाएकामा रोहिणी भाइलाई धन्यवाद दिँदै हामीहरू काँकडभिट्टातर्फ लाग्यौँ । छिनछिनमा लोकल बसहरू छुटिरहने भएकाले हामीलाई त्यहाँबाट काँकडभिट्टा पुग्दा छिटै पुगे जस्तो लाग्यो । गुवाहाटी विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमका हाम्रा सहयात्री मित्रहरू प्रा.डा. हेमनाथ पौडेल र डा. यज्ञेश्वर निरौला काँकडभिट्टाको कामरूप होटेलमा बस्नुभएको थियो । हामीहरू पनि खोज्दै उहाँहरू भएका ठाउँमा पुग्यौँ । आआफ्ना झोलाहरू त्यहीँ बिसायौँ र एकछिन विश्राम पनि गरेर हामीहरू काँकडभिट्टाको नजिकै रहेको चियाबगानको अवलोकनका लागि निस्कन खोज्दा दुवै मित्रहरूलाई जानका लागि प्रस्ताव पनि राख्यौँ तर निकै गर्मी रहेकाले उहाँहरू बाहिर निस्कन चाहनुभएन ।

काँकडभिट्टा बसपार्कबाट करिब बीस मिनेट जतिको पैदल यात्रामै टोकला चियाबगानमा पुग्न सकिँदो रहेछ तर प्रचण्ड गर्मीका कारण हामीहरूलाई अटोले चियाबगानका मुख्यद्वारमै ल्याइदियो । सरकारीस्तरमा सञ्चालित नेपाल चिया विकास निगमलाई वीरगञ्जको त्रिवेणी ग्रुपका सुवास संघाइको परिवारले २०५७।२०५८ सालतिर खरिद गरी आफ्नो मातहतमा ल्याएको थियो । त्यतिबेला मेरा मामा पण्डित चन्द्रमणि शास्त्रीसँग चिलिमकोट चियाबगानमा पुग्ने क्रममा म पनि त्यहाँ त पुगेको थिएँ त्यतिबेला चियाबगानको अवलोकन गर्ने अवसर भने मलाई मिलेको थिएन । हामीसँगै रहनुभएका मित्र डा. धनपति कोइराला झिलझिले बजारकै बासिन्दा हुनुभएकाले उहाँका लागि चियाबगान नौलो थिएन तर आस्था छोरी र मेरा लागि भने चियाबगानको अवलोकन नितान्त नयाँ थियो ।

चियाबगानहरू कलात्मक रूपमा सजाइएका बगैँचाजस्ता हुँदा रहेछन् । चियाबगानमा रहेका चियाका बोटहरूलाई सुरक्षित गर्न बीचबीचमा ठूलठूला रूखहरू पनि सुरक्षित गरिएका हुँदा रहेछन् । तिनै रूखका फेदलाई बोराले बेह्रेर तिनमा कीटनाशक औषधी पनि छरिएको हुँदो रहेछ । हामीले आफ्ना करेसाबारीमा तरकारी खेती गर्दा प्रयोग गरिने औषधीले किराहरू मरे जस्तै चियाबगानमा त्यसरी राखिएको औषधीले गर्दा चियाका बोटमा किरा लाग्नबाट बचाउँदो रहेछ । चियाबगानमा रहेका चियाका बोटबाट पात टिपेर त्यसलाई प्रशोधन गरी चिया बनाइँदो रहेछ भन्ने कुरा त चिलिमकोट चियाबगानमा पहिला पुग्दा नै मैले थाहा पाइसकेको थिएँ । पहिला पहिला रेडियो नेपालबाट तीनपाते चियाको निकै विज्ञापन आउने गर्थ्यो । चियाको बोटबाट तीनवटा पात भएका मुन्टाहरू टिपेर चिया बनाइँदो रहेछ भन्ने कुरा त्यही विज्ञापनबाट पनि जानकारी पाइएको थियो तर कसरी त्यस्ता पातहरू टिपिँदो रहेछ भनेर चियाबगानमा पुग्दा देख्ने अवसर भने पाइएन । चियाबगानका सुन्दर दृश्यहरूलाई आआफ्ना बाहिरी र भित्री क्यामेरामा सुरक्षित गरेर हामीहरू त्यहाँबाट बिदा भयौँ ।

रात्रिबसको बाह्रघन्टे लामो यात्रामा संलग्न रहेका कारण हामीहरूको निद्रा पुगेको थिएन र हामीहरू केही थाकेका भए पनि हामीहरूले आफूलाई विश्राम गर्ने अवसर भने दिएनौँ । हामीहरूलाई चियाबगानका दृश्यहरूले भन्दा पनि शताक्षीधामको उद्गमस्थलमा पुग्दाका क्षणहरूले आनन्दित बनाइरहे । बजारतिर प्रचण्ड गर्मीले आहत बनाइरहेका कारण हामीलाई शताक्षी खोलाको पानीमाथिको पैदल यात्रा अनि झरनाको शीतलताले निकै राहत दिएर आनन्दित बनाइरह्यो । हाम्रा थकाइका अंशहरू भागेर गएका कारण मन विरेचन भएर रमाइरह्यो । समयले छिटै नलखेटेको भए र पूरै दिन फुर्सद निकालेर शताक्षीधामको उद्गमस्थलमा बस्न पाएको भए हाम्रा मनमा र तनमा अझै कति ऊर्जा थपिने थियो होला ।

काँकडभिट्टा पुग्न टिकट काटिसकेर अनि सहयात्राका लागि काँकडभिट्टामा हाम्रो प्रतीक्षा गरिरहनुभएका मित्रहरूको प्रतीक्षालाई लम्ब्याएर भए पनि बाटामै पर्ने शताक्षीधामको यात्रा गर्न अनुरोध गर्ने सहयात्री मित्र डा. धनपति कोइराला र उहाँकै सहोदर भाइ रोहिणी कोइरालाले शताक्षीधामको यात्रा गर्ने अवसर नजुराइदिनुभएको भए उहाँहरूप्रति कृतज्ञ रहँदै हाम्रा मनमा र तनमा पनि नयाँ ऊर्जा थप्न मुहान बनेर प्रेरित गरिरहने शताक्षीधामले आगामी दिनमा समेत अतृप्त प्यास मेट्न आइरहनू है भनेर बिदाइका हात हल्लाउन पाउने नै थिएन ।