दशैंको समयमा माता वैष्णोदेवीको दर्शन लगायत भारतका केही प्रसिद्ध तीर्थस्थलहरूको यात्रा गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार २०७५ असोज २९ गते दुर्गा पक्षको षष्टि तिथिका दिन बिहान ७ बजे हाम्रो ११ दिने तीर्थयात्राको शुरुवात भयो ।
निर्धारित दिनमा तीर्थयात्रा टोलीका सदस्यहरू, श्री रघुवीर चन्द्र, सती सिलवाल, भवानी अधिकारी, सविता ढुङ्गाना, शिरोमणि रिसाल, सरस्वती रिसाल, कल्पना मिश्र, कौशलराज मिश्र र यो पङ्क्तिकारलाई लिएर हामीले बुक गरेको ल्याण्डक्रुजर गाडी काठमाडौंबाट हुँइकियो । यो गाडीको गन्तव्य हामीलाई सुनौली नाकासम्म पुर्याउनु थियो ।
अगाडि बढ्दै गर्दा काठमाडौंको मौसममा चिसोपन आइसकेको महसुस भयो । बिहानको चियापान नौबिसेमा गरी करिब ११:३० बजे तिर चितवनको आँपटाडीमा पुगेर हामीले घरबाटै बनाएर लगेको खाना खायौं ।
त्यहाँबाट खाना खाएर हिंडेका हामी साँझ ४:३० बजे सुनौली बजार पुग्यौं । एउटा होटेलमा हाम्रो रात्रि बसाइको व्यवस्थापन भयो । होटेलमा कुराकानी गरी भोलिपल्ट बिहान गोरखपुर जान भारतीय जिपको अग्रिम बुकिङ गरेर खाना खाईवरी सुतियो त्यस दिन । दिनभरको गाडीको यात्राले थाकेकाले होला राति मजाले निदाइयो ।
भारतीय रेलवेको टिकट हामीले काठमाडौंको ओरियन्ट प्याराडाइजबाट करिब चार महिनाअघि नै बुकिङ गरिसकेको हुनाले हामीले अबको यात्राको सुरुवात गोरखपुर रेलवे स्टेशनबाट गर्नु थियो । त्यसैले हामी राति बसेको होटेलमा बिहानको चियापान गरेर भारतीय जिपबाट गोरखपुरतर्फ लाग्यौं ।
बिहान १० बजेतिर जीपले हामीलाई गोरखपुर रेलवे स्टेसनमा ओराल्यो । रेलवेको लकरमा सामानहरू राखेर बाहिर आई खाना खाएर हामी प्रसिद्ध गोरखनाथ मन्दिरतर्फ लाग्यौं । गोरखनाथको मन्दिरमा सुरक्षा व्यवस्था धेरै कडा देखिन्थ्यो । भित्र र बाहिर ठूलो संख्यामा सशस्त्र सुरक्षाकर्मीहरू तैनाथ थिए । बेलुका ५ बजेको रेलको टिकट भएकाले हामीलाई खासै हतार थिएन, त्यसैले निकै समय लगाएर गोरखनाथको दर्शन र विशाल मन्दिर परिसरको अवलोकन गरियो ।
हिन्दूहरूका पूज्य सिद्ध तेजस्वी योगी बाबा गोरखनाथको गोरखपुरस्थित मन्दिरलाई सबै नाथ (गोरक्ष) पीठहरूको प्रमुख मानिन्छ । यहाँ मकर सङ्क्रान्तिको दिनबाट माघ महिनाभर खिचडी मेला लाग्ने गर्छ । गोरखनाथलाई पहिलो खिचडी पीठाधीश्वर (पीठका प्रमुख) ले चढाउछन् भने त्यसपछि नेपालका राजाको तर्फबाट पठाएको खिचडी चढाइएपछि मात्र अन्य भक्तजनहरूले चढाउन पाउने परम्परा रहेको छ । सयौं वर्ष अघिदेखि चलिआएको यो खिचडी मेलामा नेपालीहरूको समेत उल्लेखनीय सहभागिता हुने गर्दछ । यिनै कुराहरूको जानकारी बटुल्दै हामी बाहिर निस्क्यौं र गोरखपुर बजारको भ्रमण तथा खाजानास्ता गरेर रेलवे स्टेसन पुग्यौं ।
यहाँबाट हाम्रो रेलयात्रा दिल्लीसम्मको थियो । निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो गरी बैशाली रेल आयो, हामीले आफ्नो सिट समायौं । रेलमा रातभर मजाले निदाइयो । बिहान ०८ बजे दिल्ली स्टेसनमा उत्रियौं हामी । त्यो दिन हामीले, सहरभरी व्यापक सञ्जाल भएको अन्डरग्राउन्ड मेट्रो रेलको सवारी, दिल्ली परिवहन निगमको बस यात्रा गर्दै बजार अवलोकन र केही खरिदारी गर्दैमा बितायौं ।
दिल्लीको अन्डरग्राउन्ड मेट्रो रेल सेवा सस्तो, भरपर्दो, सुविधासम्पन्न र अत्यन्तै प्रशंसा योग्य लाग्यो । खै, हामीले आफ्नै देशमा यस्तो सुविधा पाउने कैले हो कुन्नि ! अबको हाम्रो रेल राति ९ बजेको थियो । हामी स्टेसनमा पुग्यौं । निर्धारित समयभन्दा ५ मिनेट अघि नै राजधानी एक्सप्रेस आयो । समयको मामलामा भारतभर यो रेल अब्बल मानिंदो रहेछ, तर हामीलाई सेवासुविधाका दृष्टिले पनि अब्बल लाग्यो । पिउने पानी देखि रोजाई अनुसारको खाना, मिठाइ, चिया लगायतका कुराहरू रेलवे बाटै उपलब्ध भयो । रातिको यात्रा सकेर बिहान ०५ : ३० बजे जम्मु स्टेसनमा ओर्लेर लगत्तै अर्को रेलमा चढी ०८ : ३० बजेतिर हामी कटरा स्टेशनमा उत्रियौं ।
कटरा स्टेशनबाट बाहिर निस्कनु अघि त्यहाँको सुरक्षा निकायबाट भएको व्यक्तिगत विवरण दर्ता, फोटो खिचाइ र सुरक्षा जाँचहरू पूरा गरेर पास लिएपछि हामी जिप बुक गरेर कटरा बजारतिर लाग्यौं । बजारको यौटा होटेलमा लकर लियौं र आफूलाई अति जरुरी पर्ने सामानहरू मात्रै लिई बाँकी सामानहरू लकरमा राखेर हामी माता वैष्णोदेवीको मन्दिरतर्फ जाने तरखरमा लाग्यौं ।
यसै क्रममा हाम्रो तीर्थयात्रा टोलीका अग्रज श्री रघुवीर चन्द्रज्यूको सम्पर्कद्वारा त्यहाँको बीएसएफ क्याम्पबाट भारतीय सीमा रक्षक बलका परिवारहरूलाई सहुलियत स्वरूप उपलब्ध हुने वैष्णोदेवी मन्दिर प्रवेश गर्ने विशेष पास उपलब्ध भयो । हामी त्यहाँबाट दुई वटा ट्याम्पो लिएर मन्दिर जाने बाटोको सुरक्षा चेक नाका पुग्यौं । त्यहाँ लाइन बसेर सामान लगायतका सुरक्षा जाँच गरायौं ।
अलि अगाडि जाँदा बाणगङ्गा नदी आयो । परापूर्वकालमा बालिका रूपमा रहेकी वैष्णोदेवीले पृथ्वीमा चलाएको बाणले जमिन फुटेर निस्केको पानी बगेको नदी भएकाले यस नदीलाई बाणगङ्गा भनिएको रहेछ । नदीको किनारमा देवीको पाउको निसान पनि रहेको छ, जसलाई चरण पादुका भनिन्छ । यहाँ स्नान गर्नाले सबै पाप नाश हुने जनविश्वास भएकाले वैष्णोदेवी जाने दर्शनार्थीहरूले त्यहाँ स्नान गर्ने चलन रहेछ, हामीले पनि नुहायौं । त्यसपछि चिया नास्ता गरेर बिहान १० बजे हामीले मन्दिरको उकालो चढ्न सुरु गर्यौं ।
बाटोमा कतै ढुङ्गा छापिएका र कतै ढलान गरेका थियो । सिंढी र बाटाहरू फराकिलो तथा व्यवस्थित थिए । दायाँबायाँ विभिन्न सरसामानहरूका पसलहरू खोलिएको थियो । मानिसहरूको बाक्लै आउजाउ देखिन्थ्यो । हिंड्न नसक्नेहरू घोडा र उलिन्काठ चढेका तथा मानिसका पिठ्युँमा समेत बोकिएका थिए । खर्च गर्न सक्नेहरूका लागि हेलिकप्टरबाट जाने आउने व्यवस्था पनि रहेछ यहाँ ।
मन्दिरबाट फर्केकाहरूका अनुहारमा सन्तुष्टि र उक्लनेहरूमा जतिसक्दो चाँडो दर्शनको हतारो देखिन्थ्यो । दर्शनार्थीहरू ‘जय माता दी’ उच्चारण गर्दै हिंडेका थिए, यो एक प्रकारको आपसी अभिवादन पनि थियो तीर्थयात्रीहरूको । सम्पूर्ण बाटोमा जस्ताको छाना लगाइएकोले घाम पानीको कुनै पिर थिएन । बाटोका दुबैतिर करिब ५०० मिटरको फरकमा तातो, मनतातो र चिसो पानीको निःशुल्क व्यवस्था थियो । चिया, कफी, फलफूल लगायतका खाजा नास्ताका पसलहरू बाटोभरी थिए । विश्राम स्थल र शौचालयहरूको पनि सुविधाजनक निःशुल्क प्रबन्ध थियो । समग्रमा मन्दिरसम्मको बाटो तीर्थयात्रीहरूका लागि सहज, सुरक्षित र व्यवस्थित थियो ।
करिब १४ किलोमिटर बाटो पुरा गरी साँझ पर्नु अघि नै हामी मन्दिर छेउ पुग्यौं । मन्दिरद्वारा सञ्चालित प्रसाद बिक्री काउन्टरबाट चढाउने प्रसाद किन्यौं । यहाँ फरकफरक मूल्यका नभई एकै मूल्यका प्रसाद मात्रै किन्न पाइने रहेछ ! समानताको यो ब्यवस्थाले मन छोयो । हुन पनि, भगवानका सामु को धनी को गरीब !
यो संधै भिडभाड हुने स्थान हो, तापनि नवरात्रीको नवमी तिथि भएर होला शायद, मन्दिर परिसरमा अत्यधिक भीड थियो । भक्तजनहरूको करिब एक डेढ किलोमिटर दोहोरो लाइन देखिन्थ्यो ।
मन्दिर जाँदा मोबाइल, ब्याग लगायतका कुनै पनि सामान लैजान मनाही रहेछ । त्यसैले, हामी स्नान गरेर सामानहरू राख्नका लागि लकर हाउसतिर गयौं । लकरको संख्या सीमित रहेकोले मन्दिरबाट फर्कने तीर्थयात्रीले आफ्नो सामान लगेर खाली भएपछि मात्रै लकरमा सामान राख्न पाइने भएकोले यहाँ सामान राख्न झन्डै दुई घण्टाभन्दा बढी लाइन लाग्नु पर्यो । आफ्नो पालो आएपछि चढाउने सामाग्रीहरू बाहेकका सम्पूर्ण सामानहरू त्यहीँ निःशुल्क उपलब्ध भएको लकरमा राखेर हामी मन्दिर परिसरतिर लाग्यौं ।
भारतीय बीएसएफ बाट उपलब्ध भएको विशेष प्रवेश पास भएकाले लाइन जति नै लामो भए पनि बिना अवरोध हामी केही मिनेटको अन्तरालमा मन्दिर छिर्यौं । आफैंले केही पनि मन्दिरमा चढाउन नपाइने हुनाले भित्र छिरेपछि हामीले लगेको प्रसादको झोला त्यहाँका व्यक्तिहरूले लिएर हामीलाई टोकन दिए । दर्शन पछि फर्कंदा त्यो टोकन दिएर प्रसाद पाइने व्यवस्था रहेछ !
हामी मन्दिर भित्रभित्रै हुँदै अघि बढ्यौं । अन्ततः पूर्वजन्मको पुण्यको प्रभाव र माता वैष्णोदेवीको असीम अनुग्रहले नवरात्रीको नवौं (नवमी) दिन राति १०ः३० बजेतिर उहाँको अपूर्व दर्शन गर्ने सुअवसर प्राप्त गर्यौं । मन हर्षविभोर भयो ।
उत्तर भारतको सबैभन्दा पूज्य शक्तिपीठ मध्येको एक वैष्णोदेवी मन्दिर प्रसिद्ध धार्मिक तीर्थस्थल हो । माता रानी, वैष्णवी, माता दी, वैष्णोदेवी आदि नामले चिनिने यस मन्दिरमा दायाँतर्फ देवी कालीको, बायाँतर्फ सरस्वतीको र बिचमा लक्ष्मीको गरी देवीको तीनवटा चट्टानी आकृति रहेका छन् । जसलाई पिण्डि पनि भनिन्छ । माता वैष्णोदेवीको दर्शनबाट मनोकामना पुरा हुने विश्वास गरिन्छ ।
श्रीरामको अवतारमा रहेका विष्णुले कलियुगमा आफूले कल्कि अवतार लिने र वैष्णवीसँग विवाह गर्ने वचन दिएकाले माता त्यहाँ आई तपस्यारत रहेको भन्ने धार्मिक मान्यता छ । मन्दिरबाट ओर्लंदै गर्दा टोकन दिएर प्रसाद लियौं । दिनभरको हिंडाइले थाकेको शरीर माताको दर्शन पश्चात् चङ्गा भएको अनुभव भयो । आधारात भैसकेको भएतापनि मन्दिर प्राङ्गणमा निकै नै भिडभाड थियो ।
हामीले लकर रुममा आएर सामानहरू लियौं । चिया–खाना खायौं । वैष्णोदेवी मन्दिरबाट करिब ३ किलोमिटरको दुरीमा रहेको भैरवनाथ अर्थात् भैरोनाथ मन्दिर दर्शन गरेपछि मात्रै वैष्णोदेवी तीर्थयात्रा पूर्ण भएको मानिने रहेछ । अनि, हामीले राति नै फर्कने सल्लाह गरेर भैरोनाथ मन्दिरतर्फ अघि बढ्यौं । यसरी अनेक अनुभव बटुल्दै आधारातमा भैरोनाथको दर्शन गरी रातभर हिंडेर बिहान साँढेआठ बजेतिर हामी बाणगङ्गा हुँदै कटरा फर्कियौं ।
सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र भएतापनि सुरुको चेकपोस्ट र वैष्णोदेवीको मूर्ति रहेको स्थानमा एकाध बाहेक बाटोमा सेना–प्रहरी कतै देखिएनन् । रातभर हिंडदा पनि सुरक्षाको दृष्टिकोणले कतै सामान्य असजिलो पनि भएन । आफ्नो स्थानमा कुनै नेताको भाषण हुदाँ पनि संकटकाल र युद्धको झझल्को दिने गरी बाटो र चोकचोकमा सयौँ हतियारधारी सेना–प्रहरी देख्ने बानी परेका हामीलाई संवेदनशील क्षेत्रमा देखिएको वर्दि र हतियारधारी सुरक्षाकर्मी बिहिनताको यो दृश्य अलि अनौठो लागेता पनि तीर्थयात्रीहरुमा असुरक्षाको मानसिक त्रास नपरोस् भनी आफू नदेखिएरै पर्याप्त सुरक्षा दिने भारतीय सुरक्षा संयन्त्रको यो रणनीति भने ज्यादै सराहनीय लाग्यो ।
त्यहाँबाट फर्कँदै गर्दा, आफूलाई वैष्णोदेवीको दर्शन गरिसकेका व्यक्तिहरूले “त्यहाँ जान निकै गाह्रो हुने, बडो मुस्किलले मात्रै गएर आइन्छ… “ भनेका कुराहरू स्मरणमा आए । हुन त हामीलाई कुनै गाह्रो अप्ठ्यारो नपरेको भएर पनि हो कि, मानिसले आफू पुगेको ठाउँमा अरू पनि पुगे भने आफ्नो महत्त्व रहन्न भनेर यस्ता डर देखाउँदा रहेछन् कि भने जस्तो लाग्यो !
कटरा बजारमा पुगेर सामान राखेको लकर रुम रहेको गेस्ट हाउसमा बस्यौं । नुहाई धुवाई गरेर खाना खाइयो । विजया दशमीको दिन थियो । टीका बनाएर आपसमा दशैंको टीका लगायौं, वैष्णोदेवीको फूलप्रसादले जमराको काम ग¥यो । शुभकामना साटासाट गरेर विश्राम गर्यौं ।
हाम्रो अबको गन्तव्य पन्जाबको अमृतसरमा रहेको प्रसिद्ध स्वर्ण मन्दिर थियो । त्यसैले, समय खेर नफाल्ने मनसुवाले हामीले अमृतसर सम्मको रातिको बसको टिकट लियौं । साँझ खाना खाएर बस चढ्यौं । बसको केही सिट स्लिपर सिट थियो । बसको माथिल्लो भागमा बस्न र सुत्न मिल्ने स्लिपर सिटको अनुभव रमाइलै भयो । बिहानै अमृतसर पुगेर बस्ने होटेलको व्यवस्थापन र चियापान पश्चात् स्वर्णमन्दिर तिर लागियो ।
सफा बाटो, कलात्मक परिसर र सुन्दर पोखरीको बिचमा रहेको स्वर्ण मन्दिर वास्तवमै भब्य देखिन्थ्यो । मन्दिर प्रवेश गर्ने दर्शनार्थीका पाउ धोई पुण्यार्जन गर्न आतुर व्यक्तिहरू ढोकाभरी थिए, हामीलाई अलिक अप्ठ्यारो लाग्यो । तर यो यहाँको आम चलन रहेछ । मन्दिरमा मानिसको निकै लाइन र भीडभाड भए पनि, भीड पूर्ण शान्त र संयमित थियो । हामीले धेरै समय लगाएर दर्शन गर्यौं ।
यहाँ दर्शनार्थीका लागि चौबिसै घण्टा निःशुल्क प्रसाद (खाना) खुवाइने रहेछ, जसलाई लंगर भन्दा रहेछन् । हामीले पनि लंगर खायौं । अत्यन्तै ठूलाठूला दुई हलमा एकै पटक हजारौं जनालाई खाना खुवाउने, भाँडाकुँडा माझ्ने र खाएको ठाउँ सफा गरेर पुनः लगत्तै खाना खुवाइँदो रहेछ । दैनिक करिब चालिस हजार जनालाई खाना खुवाइने अनुमान रहेको यहाँको खाना व्यवस्थापन अचम्म लाग्दो छ । तर, गरे के नसकिने रहेछ र ! यहाँ पनि पुण्य आर्जनका लागि दर्शनार्थीले खाएको जुठो थाल कचौरा उठाएर भाँडा माझ्ने ठाउँसम्म पुर्याउनका लागि आउने मानिसहरू धेरै हुँदा रहेछन् । उनीहरूको सेवाभाव प्रति हामी नतमस्तक भयौं ।
अमृतसर शहरको मध्य भागमा अवस्थित करिब ४०० वर्ष पुरानो स्वर्ण मन्दिर, सिख धर्मावलम्बीको पवित्र धार्मिक स्थल हो । यसलाई पन्जाबको सबैभन्दा ठूलो आकर्षणको रूपमा लिइन्छ । दरबार साहिब, संवरण मन्दिर, हरमन्दिर साहिब, गोल्डेन टेम्पल आदि नामबाट पनि चिनिने यो गुरुद्वारको बाहिरी भागमा सुनको पाताले लेपन गरिएको छ । पुरै मन्दिरको निर्माण सेतो सङ्गमरमरबाट भएको यो मन्दिरलाई कला, शिल्पको बेजोड नमूना मानिन्छ ।
यहाँ प्रकाशको सुन्दर व्यवस्थापन गरिएको छ ।सरोवरको बिचमा बनाइएको यो मन्दिरको चारै दिशामा ढोकाहरू छन् । मन्दिर परिसरमा कलात्मक स्मारक र शिलालेखहरू छन् । मन्दिरमा सधैँ गुरुवाणी गुन्जिरहेको हुन्छ । सिखहरूको गुरुद्वार भए तापनि यसको नाममा मन्दिर शब्द जोडिनुको अर्थ धार्मिक समानता जनाउनु हो भनेर मान्न सकिन्छ । त्यसैले नै होला, यहाँ सबै धर्म र सम्प्रदायका मानिसहरू आउने गरेका छन् । मन्दिरमा कुनै भेदभावजन्य व्यवहार देखिंदैन थियो ।
हाम्रो यसपछिको पूर्वनिर्धारित गन्तव्य हरिद्वार भएकाले अबको योजना अमृतसरबाट रेलमा हरिद्वार जाने थियो । तर विडम्बना के भइदियो भने, हामी अमृतसर पुग्नु अघिल्लो रात दशहराको कार्यक्रम भैरहेको बेला रेलले किचिएर त्यहाँ निकै मानिसको मृत्यु भएकाले रेल सेवा अवरुद्ध थियो । राजनीतिक दलहरूले हडताल आव्हान गर्न लागेका थिए । यस्तोमा रेल खुल्ने समय कुर्नु ठीक नदेखी हामीले बसबाटै दिल्ली हुँदै हरिद्वार जाने बिचार गरेर त्यसै दिन रातिको बसको टिकट लियौं ।
अनि, दिनभरि घुमघाम गरेर पुनः मन्दिरमा बेलुकीको भजन आरती हेर्न आयौं । दिउसो देखेको र रातिको मन्दिरको दृश्यमा आकाश जमिनको फरक झैं देखियो । बत्तीको प्रकाशमा स्वर्णमन्दिर धपधप बलिरहेको जस्तो चम्किलो देखिन्थ्यो भने, पोखरीमा यसको छाया पनि उस्तै चम्किरहेको थियो, फेवातालमा माछापुच्छ्रे हिमाल टल्किए जस्तै । हामी मन्त्रमुग्ध भएर हेरिरह्यौं निकैबेर सम्म । अनि, मनले नमान्दा नमान्दै पनि समयको बाध्यताले गर्दा होटेलमा आई सामान लिएर रातिको बसबाट दिल्लीतर्फ प्रस्थान गर्यौं ।
बिहान दिल्लीमा ओर्लिएर नित्यकर्म र चियापान पछि आफूलाई अत्यावश्यक बाहेक अन्य सबै सामानहरू बसपार्कको लकर रुममा राखेर बिहान ९ बजेतिर हामी त्यहाँबाट हरिद्वार जाने दिल्ली नगर निगमको बसमा चढ्यौं । दिउसो निकै गर्मी महसुस भयो । करिब साँढे चार बजे बसले हामीलाई हरिद्वार पुर्यायो । होटेलको व्यवस्थापन र चियाखाजा पछि ट्याम्पो लिएर साँझ हरिद्वार गयौं । गङ्गा नदीमा हातखुट्टा धोएर मन्दिर दर्शन र अवलोकन गर्ने काम गरियो । भोली बिहान पितृमुक्ति हेतु गर्ने तीर्थश्राद्धका लागि नेपाली पण्डितको व्यवस्था गरी हामी हरिद्वारको प्रसिद्ध गङ्गा आरतीमा सहभागी भयौं ।
रात्रि विश्राम पछि भोलिपल्ट सबेरै हरिद्वार पुगेर स्नान, दर्शन र श्राद्धादि कार्य सम्पन्न गरियो । बिहानको चियापान सकेर दिनभरको घुमघामका लागि बुकिङ गरिएको जीप लिई हामी त्यहाँबाट ऋषिकेश क्षेत्र तर्फ लाग्यौं । ऋृषिकेश धाम, राम–लक्ष्मण झुला लगायतका विभिन्न मठ मन्दिर र स्थानहरू घुम्दै बेलुकीपख केबुलकार चढेर चण्डी माताको मन्दिर पुगी हामीले पुनः हरिद्वारमा साँझको गङ्गा आरती हेर्यौं । साँझको आरतीको समयमा यहाँ निकै भिडभाड हुने रहेछ । नेपालीहरूको संख्या पनि धेरै नै देखियो यतातिर ।
भारतीय राज्य उत्तराखण्डमा पर्ने हरिद्वार निकै पुरानो हिन्दु तीर्थस्थल हो । महाभारत तथा अन्य पुराण शास्त्रहरूमा गङ्गाद्वार, मायातीर्थ, मायाक्षेत्र, सप्तस्रोत आदि नामले समेत वर्णन गरिएको यस क्षेत्रलाई हिन्दूहरूको पापमोचन गर्ने प्रमुख सात पवित्र स्थान मध्येको एक मानिन्छ । गंगोत्री हिमनदी बाट निस्केकी गङ्गा नदी नै हरिद्वारको मुख्य आकर्षण हो ।
पौराणिक कथा अनुसार, धन्वन्तरी ऋषिले समुद्र मन्थनबाट निस्केको अमृत घडालाई स्वर्ग लैजाने क्रममा यो क्षेत्रमा घडाबाट केही थोपा अमृत खसेको थियो । जुन स्थानलाई हर कि पौडी र ब्रह्म कुण्ड भनिन्छ र यो नै यहाँको सबैभन्दा पवित्र घाट हो । हरिद्वार क्षेत्रमा कनखल, बिल्वकेश्वर, नील पर्वत, कुशावर्त, अञ्जना देवी, मनसा देवी, माया देवी, चण्डी देवी, सप्तर्षि आश्रम, पारद शिवलिङ्ग, ऋषिकेश, राम झूला, लक्ष्मण झूला, गीता भवन, वशिष्ठ गुफा, त्रिवेणी घाट लगायतका अनेकौं देवस्थल र मन्दिरहरू रहेका छन् ।
हरिद्वार, चार धाम यात्राको प्रवेशद्वार पनि हो । यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा कुभ्भ मेला लाग्ने गर्छ । यस पवित्र स्थानको बारेमा हिन्दु धर्मशास्त्रमा भनिएको छ;
“हरिद्वारे कुशावर्ते बिल्वके नीलपर्वते ।
तस्मात् कनखले तीर्थाे पुनर्जन्मो न बिद्यते ।।”
(हरिद्वारका कुशावर्त, बिल्वक, नीलपर्वत र कनखल तीर्थस्थलको दर्शनले मात्र पनि जन्ममृत्युको बन्धनबाट मुक्ति मिल्छ भन्ने शास्त्रीय मान्यता छ)
शायद यसैले होला, प्रत्येक हिन्दूहरू आफ्नो जीवनकालमा कम्तीमा एकपटक हरिद्वार पुग्ने अपेक्षा गर्दछन् । समग्रमा हरिद्वार क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यका दृष्टिकोणले पनि महत्त्वपूर्ण स्थान भएको र यही विशेषताले गर्दा नै यहाँ धार्मिक पर्यटन फस्टाएको देखिन्छ ।
यी सबै देख्दा, प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको धनी हाम्रो देशमा पनि यसै गरी आन्तरिक र बाह्य पर्यटनको प्रवर्द्धन गर्न सके जनताको जीवनस्तरमा सुधार आउनुका साथै देशले छिटै आर्थिक संवृद्धि हासिल गर्ने थियो भन्ने जस्ता बिचारहरू पनि पटकपटक मनमा खेलिरहे ।
यहाँबाट हामीले दिल्ली जाने रातिको बसको टिकट लिएका थियौं । रात्रीको खाना खाईवरी बस चढेर बिहान दिल्लीमा उत्रियौँ । हरिद्वार जानुअघि राखेको सामानहरू लकरबाट निकाली होटेल गयौं । हामीले यात्रामा निस्कँदा केही बढी नै सामान लगेका रहेछौं, जसले गर्दा कतिपय ठाउँमा अलिक असजिलो महसुस भयो । यसबाट यात्रामा सकभर थोरै सामान लिएर हिंड्दा सहज हुने अनुभव बटुलियो ।
दिउसो दिल्लीमा घुमघाम र किनमेल गर्ने काम भयो । भोलि बिहान काठमाडौ फर्कनका लागि, मोदी बसको नामले चिनिने दिल्लीबाट सिधा काठमाडौं चल्ने एक्सप्रेस बसको टिकट काट्यौं । थकाइले होला राति मज्जाले निदाइयो ।
भोलिपल्ट बिहान होटेलबाट बिदावारी भई हामी बस स्टेसन पुग्यौं । त्यहाँ सामान चेकजाँच र मेसिनबाट स्क्यानिङ्ग गरी सामानका ब्यागमा सुरक्षा स्टिकर टाँस्ने काम भयो । सामानहरू बसमा राखेर टिकट अनुसारको सिटमा बस्यौं । बिहान १० बजे बस गुड्यो । दुईजना ड्राइभर र एकजना सहयोगी सहितको बस पूर्णतः वातानुकूलित थियो । दिल्ली प्रहरीको भ्यानले साइरन बजाएर आफ्नो एरिया नकाटुन्जेल यो बसलाई स्कटिङ्ग गरी सुरक्षा दिंदो रहेछ ।
आपतकालीन रातो बत्ती जडित यो बसलाई भारतभर एम्बुलेन्स जस्तै रातो बत्ती बालेर इमर्जेन्सी साइरन बजाउँदै हिंड्न पाउने विशेष सुविधा रहेछ । जसले गर्दा भारतीय सिमानाभरि यसले सडक जाम र अवरोध खेप्नु परेन । तर नेपाल भित्र भने यस्तो कुनै सुविधा थिएन यो बसलाई । कहिलेकाहीँ टिकट नबिकेर जतिसुकै सिट खालि भए पनि तोकिएको समयमा खालि सिट नै राखेर भए पनि गुड्नु पर्ने र बिचबिचमा मानिसहरू चढाउन नपाउने यो बसको नियम रहेछ । बसको यात्रा सामान्यतया आरामदायी नै थियो ।
अन्ततः एक रात र दुई दिनको लामो दिल्ली–काठमाडौं बसयात्रा पछि हामी कार्तिक ८ गते साँझ ६ बजे कलङ्की चक्रपथमा ओर्लियौं । त्यहाँबाट टाक्सी समातेर, आफूले घुमेर आएका सम्पूर्ण तीर्थका देव–देवीहरूको स्मरण गर्दै ११ दिने तीर्थयात्रा समापन गरेर हामी घर फर्कियौं ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।