तीन बजेको हुन्छ मिडल्यान्ड लुटन स्थित वेलकम ब्रेक वानमा पुगिँदा । अलिअलि थाकेको पनि महसुस भइरहेछ, झण्डै अढाइ घण्टा लामो यात्राले । एक्कासि चिसो सिरेटोले स्वागत गर्छ, कार बाहिर निस्कँदा । घमाइलो दिनमा पनि न्यानो अनुभूति गर्न नसकिने । तर खासै टाढा छैन पार्किङ एरियादेखि कफी सप । यति बेला शरीर तन्काउँदै गाडीको चावी हल्लाउदै कुलदीप भाइ भन्नुहुन्छ—‘अब आधा बाटो काटियो, केही हतार छैन भिनाजु ।’

राम्रो लाग्यो यसप्रकारको व्यवस्थापन । एक निश्चित दुरीमा ब्रेक स्टलहरू । विशेषतः हाइवे क्षेत्रमा । अति आवश्यक पनि हुन्छ, यात्री र सवारी चालकको सुविधा र सुरक्षाका लागि । कतिपय ठाउँमा यस्ता सुविधाको अभावमा जताततै पार्किङ गरेर सडक अवरुद्ध गर्ने । विश्राम क्षेत्र नपाउँदा सवारी चालक थाकेर निदाउने समस्था आउने । यात्रीहरूले पनि हत्तपत्त फ्रेस हुने मौका नपाउने । यस्तै कारण त हुन् सडक दुर्घटना बढ्ने बढाउने । अझै कति ठाडा रहेछौँ हामी, यस्ता सोच र व्यवस्थापनको हिसाबले ?

हाइवेदेखि थोरै बाहिर रहेको पार्किङ एरिया । र, केही आवश्यक सपिङ सेन्टरहरू । झट्ट हेर्दा झुरूपप परेका होचा घरहरू मात्र देखिने । प्रायः एकनासका । तर भित्र प्रवेश गर्दा होचा भए पनि व्यवस्थित स्टलहरू । सफा गोलाकार क्षेत्रमा थरीथरी पसलहरू । खानादेखि आवश्यक सरसामान वा नानाहरू । तर यति बेला सबैको पहिले रोजाइ हुन्छ, वासरुम । आहा ! कति सफा अनि निशुल्क सेवा । किनकि प्रायः केहीदिन यता सशुल्क सेवा मात्र भेटेका थियौँ  यस्ता पब्लिक शौचालयहरू ।

यति बेला हामीले रोजेको खोजेको मिठो तातोतातो कफी । बाहिरको जाडो भगाउने । शरीरको थकान मेटाउने । दृष्टि पर्‍यो, माथिल्लो लाइनको चपस्टिक, कफी सपमा । कारण नाम । यसै पनि एसियन । ‘चारवटा क्यापिचिनो’ सबैको ठाडो आदेश । पछि केही स्न्याकहरू थपिए सीता र छत्राको रोजाइमा । कतै काउन्टरमा इन्डियन सेफ देखेर पो हो कि ?

थरीथरीका अनुहारहरू यति सानो ठाउँमा पनि । सबै आआफ्नै धुनमा मस्त । हाइवे न पर्‍यो । कहाँकहाँ पुग्ने हतारका यात्रीहरू । एकैछिन भए पनि कति सुखद यो विश्रान्तित समय । सुखान्त यस्तै विश्रान्तित समय खोजिरहेछु यो सेल्सवरीदेखि ननिटनसम्मको यात्रामा ।

एकाध घण्टाको विश्रामपछि लागियो आफ्नो बाटो । यति बेला मैले ग्रुप सेल्फी हानेर पोष्ट्याएँ फेसबुकमा । अलिअलि हल्ला त गर्नै पर्‍यो, यो सामाजिक सञ्जालले धुम मच्चाएको वर्तमानमा ।

“आहा ! क्या राम्रो सन्नी—डे । दिदी भिनाजु त भाग्यवानी हुनुहुँदो रहेछ ? यो मौसममा घाम लाग्नु अनि यसरी यात्रामा पानी नपर्नु । यो एक संयोग भनौँ कि भाग्य ? मौसम सफा भएपछि यात्रा गर्न र गाडी हाँक्न पनि क्या रमाइलो । … आनन्द ।” कुलदीप भाइले थोरै तारिफका पुल बाँधे, रफ्तारमा कारको स्टेरिङ घुमाउँदै । सहमतिमा टाउको हल्लाइ दिन्छु, उनकै वगलमा बसेर । र, शरीरमा पनि केही  स्पूmर्ति बडे झँै भइरहेछ कफी ब्रेकपछिको समयमा ।

हावाको रफ्तारमा दौडिरहेको कारबाट बाह्य दृश्यहरू हेर्न एकाग्र छ यो मन । तर घरीघरी एकाग्रता भङ्ग गरिरहन्छ, नेभिगेसन जिपियसको आवाजले । एक प्रकारले ढुक्क बनाउने, सवारी चालकलाई । आवाज सहितको रोड र रोडको डाइरेक्सन बताइरहने । कति गज्जबको सिस्टम । पोस्टकोड सेट गरेपछि हाइवे होस् वा अञ्जान ठाउँ । मज्जाले दिशा, दुरीदेखि दायाँ बायाँ तलमाथि वैकल्पिक बाटो समय सबै बताइरहन्छ छिनछिनमा ।

बेला बेला कुलदीप भाइ बाटामा देखिने भेटिने दृश्यहरू र ठाउँहरूबारे बताइरहन्छन् नालीबेली सहित । कार रफ्तारमा हुइँकिरह्यो फराकिलो हाइवेमा । आफ्नै ताल छ, पछिल्लो सिटमा बसेका दिदी बहिनीको । हाँस्छन् वोल्छन् फरक प्रसङ्गमा । यता पनि ध्यान दिएर सुन्छु उनीहरूका कुरा । किनकि धेरै नयाँ र रोचक जानकारी खोजिरहेछु यो पारिवारिक नौलो यात्रामा ।

हिउँदको मौसम भए पनि घमाइलो दिन । खुलेको आकाश । टाढा टाढा कतै कतै सेता कुइराका थुप्राहरू । दायाँ बायाँका खुला घाँसे मैदान । लडीबुडी गर्न जाऊँ जस्तो लाग्ने । जता हेर्‍यो उतै खुला फराकिला घाँसे मैदानहरू । तर केही फुस्रा मैदान । कतै हिउँदको ठिहीले थलिएका जस्ता । हाम्रा घरदेशका भन्दा अलिक फरक लाग्ने बोटबिरुवा र फाँटहरू । यी फाँटहरूमा कतै कतै मात्र देखिन्छन् वा भेटिन्छन् बोटबिरुवा र ठुला रुखहरू । नत्र घाँस मात्र उम्रने लेकाली नाँगी जस्ता क्षेत्रहरू । कतै कतै मात्र भेटिन्छन् ससाना सिङरिङ्ग परेका बोटबिरुवाहरू  । त्यो पनि  रोडको दायाँ बायाँ किनारतिर । बोट बिरुवाहरू पनि कतै जाडोले खाएको हो कि ? या मौसम परिवर्तनसँगै पात झरेर नाङ्गिएका हुन् ? कति कुरूप लाग्ने हरियालीहीन वा पात रहित अवस्था । कतै बसन्त र न्यानो पर्खिरहे जस्ता । अनि बोटबिरुवाका प्रकृति हेर्दा आवश्यकता रोपेर हुर्काएका जस्ता । कृत्रिमताको झल्को दिने खालका । अनि सुन्दर लाग्ने ती फराकिला फाँटहरूमा कतैकतै देखिन्छन् एकनासका ससाना घरहरू । एउटै कदका । एउटै अनुहारका । गज्जब लाग्ने । आवश्यकता नै यस्तो कि बनावट नै यस्तो ?

खुल्ला फाँटहरू आफ्नै विशेषता र पहिचानमा बाँचेका । कति रमाइला होचा ढिस्काहरू । दौडिए नाघिदिऊँ जस्तो लाग्ने । जता पर्किएर हेरे पनि उस्तै लाग्ने । ती फाँटहरूमा मस्त देखिन्छन् कतै भेडाका बथानहरू । कतै घोडा गाईवस्तुका हुलहरू । सबै सबै स्वछन्दरूपमा रमाइरहेका, हिउँदे घाम तापेर ।

बेला बेला मेरो एकाग्रता तोड्न बोलिदिन्छन, कुलदीप भाइ—’भिनाजु यी फाँटहरूमा घाँसको खेती गरिन्छ । उः ती थुप्राहरू देख्नु भो ? ती सबै  घाँस काटेर राखिएका थुप्राहरू हुन । घाँस बिक्री हुन्छ यहाँ ।’ मेरो सहमतिमा अरू हौसिँदै बोल्छन्  भाइ-‘यहाँका धनी मानिहरूसँग मात्र हुन्छ जग्गा जमिन । … र, खाली जग्गा जति छन् ती सबै रानीको हो ।  किनकि यहाँ रानीको शासन चल्छ ।’ बोल्दा बोल्दै बढी बोलिहालेँ जस्तो लागेर होला । सम्झिए झैँ गरेर सच्याए कुरो भाइले-‘ए साँच्ची क्विन एलिजावेथको देहवसानपछि प्रिन्स चार्लस पो छन् त बेलायतको सम्राट ।’

दुवैतिर तीन तीन लेनको वन-वे फराकिलो हाईवे । अचानक बाटो बदल्न परे ठाउँठाउँमा राउन्ड-वेको व्यवस्था । त्यहीँबाट मात्र बाटो बदल्न सकिने । तब त ड्राइभिङ गर्दा सधैँ सतर्क रहनुपर्ने । यस्तै तितामिठा गफमा काटियो गाडीको लामो यात्रा । साँझ परिरकेको हुन्छ ननिटन पुग्न अगावै ।

एउटा पृथकता पाएँ यहाँ र हङकङका सडकमा । यहाँ जति नै साँझ वा रात परोस् रोडमा बत्ती नबल्ने । हङकङका रोडमा जति पनि हिँड्न सकिन्छ रोड ल्याम्पको सुविधाले । चाहे हाइवे होस् या सव-वे । यहाँ त हाईवेमा लाइट भनेको लेन छुट्ट्याउन कोरिएको रेखामा—राखिएका ससाना जमिनभित्रका जुनकिरी जस्ता बल्बहरू । त्यसैलाई आधार मानेर गाडी ड्राइभ गर्नुपर्ने । रोडको दायाँ बायाँ न बत्ती न उज्यालो । अन्धकार । तर पनि चलेकै छ  सवारी । गुणगान गायकै छन् बृटिस साम्राज्यको ।

साँझमा मात्र पुगियो ननिटन सहर । धमिलो ल्याम्प-पोष्टमा ससाना घरहरू देखिन थाले सहर पुगिएको आभास दिलाउँदै । घर पुग्नु अगाडि कुलदीप भाइले गाडी मोडे, टेस्को  (Texco) सुपरमार्केटतिर । अलिक फरक र अनौठो लाग्छ यसको बनावट । मार्केट प्लेस भनौँ कि टहरो । निकै ठूलो र अग्लो देखिन्छ आवासीय घरहरूको तुलनामा । “हङकङतिरको पार्किङ सप र वेलकम जस्तै हो यहाँका टस्को अस्डा सुपरमार्केटहरू । घर भान्सामा चाहिने दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न यहीँ आउनुपर्छ भिनाजु ।” यसको परिचय बाड्दै थप विशेषतामाथि बोले कुलदीप भाइ— “… हेर्दा पो यस्तो देखिन्छ  तर धेरै नेपालीहरूलाई रोजगारी दिएको छ यो घ्याङघर जस्तो देखिने सुपर मार्केटले ।”

अग्रभागको पार्किङ एरियामा कार राखेर पस्यौँ टस्को सपिङ सेन्टरमा । अहिले नै खाद्य वस्तु खरिद गर्नुपर्ने अर्घेलो ‘म परेँछु  क्यार ।’ आज बेलुकी खाना रेस्टुरेन्टमा खाने प्रस्तावलाई स्विकारिनँ मैले । कारण म परे घर बाहिर त्यति खान नरुचाउने मान्छे । घर नजिक नभए अलग कुरो । सबै मेरो कुरामा सहमत भए । म पनि मक्ख । सबै  हारे एक शाकाहारीको अगाडि । एक त शाकाहारी रेस्टुरेन्ट बिरलै पाइन्छ, यस्ता सहरी इलाकामा ।

कति सस्तो लाग्ने खाने कुराको दाम । एक पौन्ड, पचास सेन्ट । दुई पौन्ड । मोल वस्तुको नजिकै टाँसिएको । यहाँको लागि ठिकै होला तर नेपाली करेन्सीमा बदल्दा त बाफ्रे ।’ अनि कमाइको हिसाब पनि यस्तै रहेछ वस्तुको मोल जस्तै ।

सपिङ गरेर घर लाग्दा रोड किनारका घरहरू देखाउँदै बोलिरहेछन् कुलदीप भाइ—’कहिले यो घर त्यस्तो त्यो घर यस्तो । ऊ त्यो गोर्खा रेस्टुरेन्ट । त्यो ह्यावेन्ली पाथको भवन । हाम्रै पहलमा खरिद गरेको । त्यो वीर सैनिकको सालिक रहेको रेभस्ली पार्क । यसको ठिक अगाडी राखिएको छ अर्को गोर्खे ढुङ्गा पार्क । अनि यता उता फलाना गाउँलेका घरहरू । तपाईं चिन्नुहुन्छ !’ आदि इत्यादि । सहमतिमा टाउको मात्र हल्लाइरहेँ मैले । कारण यसै त साँझको धमिलो उज्यालो । पहिलो पटक देखिरहेछु ती घर र आकारहरूलाई ।  कसरी स्पष्ट ठम्याउन सक्नु र ठाउँ ठाउँमा मात्र बलेको धमिलो ल्याम्प-पोष्टको उज्यालोमा ? तब त बारम्बार टाउको मात्र हल्लाइरहे उनको गफमा । तर मेरो कानलाई निक्कै चनाखो बनायो पछिल्लो एउटा कुरोले अर्थात् गोर्खे ढङ्गाले ।

एउटा होचो कम्पाउन्ड वाल भएको गेट खोलेर भित्रिएसँगै टुङ्गियो आजको यात्रा । घरको कम्याउण्ड वरपर खासै केही देखिदैन अँध्यारो भएको कारणले । सायद दुई दिनदेखि घरमा कोही नभएर होला, घरै अँध्यारो  । आँगन कम्पाउन्डै नै अँध्यारो । हतारहतार कुलदीप भाइ र छत्राले घरको ताला  खोल्दै बाले बाहिर भित्रको बत्तीहरू ।

‘आहा ! कति सुन्दर अनि शान्त वातावरण । पहिलोपल्ट पुगेको नयाँ घर र नयाँ सहर ।’ फेरि चिसो हावा सेक्न आइपुगे पनि टेरिनँ । बरु एकदुई पाइला वरपर हिँडेर नजर दौडाउन मन लाग्यो यो शान्त वातावरणमा । ढोकामा टाँसिएको एउटा चम्किलो प्लेटमा दृष्टि पर्छ, जहाँ अङ्क लेखिएको छ ‘वान ।’ सायद यही होला घर नम्बर ।  मास्तिर ठूलो मेन रोड । त्यसैको एउटा शाखा यो घरको अगाडिबाट तलतिर तन्किरहेको । यी दुई रोडको टे्रङ्गलमा अवस्थित घर । कतै यही कर्नरबाट गन्ती गरिँदा पाएको हो कि यो घरले ‘नम्वरं.वान’ को बिल्ला ?

पहिलेदेखि नै एउटा फरक बानी मेरो । बेलुका खाना खाएपछि सुतिहाल्नुपर्ने । बरु बिहान चाँडै उठ्ने । यस्तो बानी आफ्नो घरमा त ठिकै तर पाहुना हुन जाँदा बेठिक पनि । कतिलाई त बिहान अबेरसम्म सुत्नुपर्ने । यस्तै यस्तै हुन्छ यहाँ पनि । म सुत्न लाग्दा कुलदीप भाइ तल बैठक रुममा गितार बजाउँदै गाउँदै थिए सुर बेसुरमा । आफ्नै तालमा । अनि छत्रा पनि भोलिदेखि फेरि काममा जानुपर्ने भन्दै—खोज्दै थिइन् भोलिका लयहरू ।

कुलदीप छत्राको—चार जानको सानो परिवार । छोराछोरी युनिभर्सिटी पढ्ने । हुर्किसकेका । गज्जबको छ शैक्षिक सिस्टम पनि । राम्रो लाग्छ सायद सबैलाई । उमेर पुगेपछि विद्यार्थीलाई—पढाइका निम्ति सरकारले ऋण प्रदान गरिदिने । अनि विद्यार्थी पनि पूर्ण रूपले परिवारमाथि निर्भर रहन नपर्ने । एक प्रकारले आत्मनिर्भरताको वातावरण बनाइदिँदो रहेछ यस सिस्टमले । प्रायः शैक्षिक सत्र सुरु भएपछि होस्टलमा नै रहने व्यवस्था रहेछ विद्यार्थीहरूका लागि । बेला बेलामा घर आउन भनेको परिवार भेटघाटको लागि मात्र । यस्तै बेला पुगिएछ ननिटन । योग भनौं कि संयोग । कता कता परिवारका सबै सदस्यहरू नभेटिँदा केही खल्लो र नीरस लाग्ने शुन्य शुन्य वातावरण ।

हिजोदेखि नै उत्सुक थिएँ हिउँ पर्ने खबरले । आउँदै गर्दा एउटा लरीबाट रोड विभागका कर्मचारीहरूले नुन छर्किरहेका थिए, सहरी इलाकाका बाटामा । हिउँ चाँडो पग्लियोस । बाटोमा कोही नचिप्लिउन् भनेर यस्तो कार्य गरिँदो रहेछ स्थानीय प्रशासनबाट । मभित्र केही उत्सुकता जागेको छ हिउँसँग खेल्ने । यति नै बेला सेल्सवरीतिर हिउँ परिरहेको फोटो फेसबुकमा राखिसकेकी थिइन् बुहारी भिक्टोरियाले । यस्तै कौतुहल मेट्न उठ्ने बितिक्कै बाहिरी संसार चिहाउँछु झ्यालको पर्दा हटाएर । तर उस्तै छ बाटो । हिजो देखिए झैं । न हिउँ देखिन्छ न पर्ने सम्भावना ? केवल ओसिलो धमिलो तुवालोको साम्राज्य देखिन्छ पहिलो बिहानीमा ।

अझै निद्रा नटुटे झैँ सुनसान वातावरण । हिउँ नपरे पनि चिसोले सेकिरहँदा यसै यसै खुम्चिरहे झैँ लाग्ने वरपरका घरहरू । कतै पारिलो घामको पर्खाइमा पो छन् कि ? केही समय झ्यालबाट चिहाइरहँे पर परसम्म । बाहिर जाने इच्छा भए पनि आँट गरिनँ, चिसो हावा ताप्न । यता कोठाभित्र त चिसो बडेको छ हिटरलाई पराजित गर्ने दुस्साहसमा । कतै पानी हिटर नुहँदो हो त … ?

एक प्रकारले रमाइलो लाग्छ झ्यालबाट बाहिर हेरिरहन । एक त नयाँ ठाउँ ।  बसाइ पनि नयाँ । तर बाहिर देखिएका घरहरू अन्य ठाउँका जस्तै एउटै अनुहारका । अनि फराकिलो रोडका दुवै किनारमा फैलिएका । अगाडि सानो कार पार्क अनि पछाडि दुईतीन आना जतिको करेसाबारी । हरेक घरको समान विशेषता । यो टे्रङ्गुलर किनारमा उभिएको घरबाट यस्तै बाह्य दृश्यहरू कल्पना गर्दै हेरिरहन्छु एउटा फरक अनुभूतिमा ।

यो पनि त एउटा समय कटाउने मेलो । अब शरीर तनाक तुनक पर्न थाल्छु तल बैठक कोठामा पुगेर । अनि टिभी खोलेर यूट्युबमा नारायण गोपालको गीत बजाउँछु —’चिनारी हाम्रो धेरै पुरानो ….।’

“कुनै नयाँ कुरा पनि देख्नुभयो भिनाजु ?” भोलिपल्ट कुलदीप भाइले एउटा प्रतिप्रश्न गर्छन्, मैले बैठक कोठाका फोटाहरू हेरिरहँदा । “राम्रो छ कान्छा । तिम्रो पुरानो शिप उस्तै रहेछ अहिले पनि ।” छोटो उत्तर बोलेँ उनको प्रश्नमा । नजिकै आएर झ्यालमाथि लेमिनेसन गरेर टाँसिएको केही धमिलो फोटो देखाए, कतै मेरो जवाफ पूरा नभए झैँ । अघि त्यही उभिएर कतिन्जेल बाहिरी संसार हेरिरहेँ तर कसरी कसरी पुगेनछ मेरो नजर ।

पुरानो समयतिर फर्काइदियो त्यो केही धमिलो पे्रmमभित्रको तस्बिरले । एकछिन त सोच्नै सकिनँ कहिले कहाँ खिचिएका थिए यी फोटाहरू भन्ने । केही बोल्न नसकिरहँदा उनैले व्याख्या गरे तिथिमिति सहित । एउटा फोटामा हामी दुई परिवारका चार उभिएँका थियौँ— म, सीता, कुलदीप र छत्रा । फोटामा सामुद्रिक किनार थियो । चिङ-यी ब्रिज थियो । त्यो एरियामा बनेका अग्लाअग्ला अपार्टमेन्टहरूको उपस्थिति थियो । जो आज पनि उस्तै लाग्ने । समय-कालले मात्र केही धमिलो बनाउँदै लगिरहका फोटाहरू ।

‘२००३ मा चाइनिज न्यू एयरमा खिचेको ।’ समय सहित स्पष्ट पारे कुलदीप भाइले  । ‘ए हो त’ विस्मृतिमा फर्कंदै जवाफ मिलाएँ भाइसित । चाइनिज न्यू एयर एउटा ठूलो चाड हो  हङकङका जनताका लागि । तीन दिन सरकारी बिदा पाइने । कति स्थानीय चाइनिजहरूले हप्तौँ बिदा मनाउँछन् आपसमा खुसी बाँडेर । जसरी नेपालीले दसैं तिहार चाडपर्व मनाए झैँ । यही बिदामा घुम्न गएका थियौं डिस्कवरी वे । त्यही बेला खिचेको दुई परिवारको फोटो । साँचै कति जतन गरेर राखेका रहेछन् भाइले । पहिलेदेखि कति सामानहरू बडो जनत गरेर राख्ने बानी थियो उनमा । त्यही गुणले सप्राइज दिए, एक सुखद उपहार जस्तै यो पुनर्मिलनको अवसरमा । नोस्टालजिक नै बनााइदियो, झण्डै दुई  दशक अघिको समयतिर धकेलेर ।’

एउटा लामो सम्बन्धको फेहरिस्ता नै छ कुलदीप भाइ र मेरो परिवारबीच । कुनै बेला हङकङ खोज्दै सँगै आएका थियौँ नेपालबाट । तिथिमिति फरक फरक भए पनि उस्तै थियो खोज्दै आएको समय र परिवेश । उस्तै थिए समयका भोगाइहरू । तब त लामो समयसम्म जोडिएका थियाँै समान स्वार्थ र आवश्यकताहरूले । एउटा सानो स्पेसभित्र जिन्दगी नै अटाइदिनुपर्ने हङकङको विवश बसाइ । सधैँ काम र महङ्गी जस्ता विविध कारणले एउटै फ्ल्याटमा केही वर्षहरू बिते एक परिवारिक वातावरणमा । जहाँ आपसमा माया थियो । सद्भाव थियो । विश्वास थियो । र त एकनासले सम्बन्ध तन्किइरहेछ, हिजोदेखि आजसम्म ।

तत्कालै, ‘मलाई यो फोटो चाहियो’  भनेँ । सहमति पनि जनाइहाले कुलदीप भाइले । कहिलेकाहीँ एउटा सानो कुराले पनि कति धेरै खुसी दिने रहेछ, मनै भरिने गरी ।

इङ्ल्यान्डको उत्तर पश्चिमको एउटा भाग हो ननिटन अर्थात् पश्चिम क्षेत्रको शहरीया इलाका । तर कतिपयले यसलाई गाउँको रूपमा पनि लिने गर्दा रहेछन् कारण बुफिङटन, ह्यास्टहिल जस्ता गाउँहरू यतै भएकाले । तथापि एउटा बढ्दै गइरहेको औद्योगिक क्षेत्र पनि हो ननिटन । अधिक डोरी फिता जस्ता रिबनका तानहरू र माइनिङ कारखानाहरू सञ्चालनमा छन् यस इलाकामा । वारविकसायर यहाँको एक पुरानो मुख्य मार्केट । जनघनत्व पनि खासै छैन यो सहरको । यता पनि बिस्तारै एसियन आप्रवासनहरूको बढ्दो चापले बिस्तारै स्थानीयहरू अन्तै सर्न थालेको आभास हुन्छ गोरा छालाहरू आसपास नदेखिँदा नभेटिँदा । खोइ मिल्न नसकेका हुन् कि बस्न नचाहेका हुन् । स्थानीय गोराहरू बिस्तारै आप्रवासहरूको क्षेत्रदेखि बाहिर सर्न थालेका बताउँछन् बस्दै आएका भुक्तभोगिहरू ।

अर्को दिनको कुरो । आजको यात्रा वकिङ्घम टाउन । छत्रा छुटिन् उनको बिदा नभएकाले । यहाँको नजिक र ठूलो पुरानो सहर वकिङ्घम । ब्रिटेनका राजा महाराजाहरू पुस्तैदेखि बस्दै आएको सहर । र त प्रख्यात पनि छ बृटेनको  राजदरबार वकिङ्घम प्यालेसको नामले । झण्डै एक घण्टाभन्दा बढी लाग्यो बाटाको समय । जाडोको याम । कार पार्क गरेर पैदल हिड्यौं वकिङघम सहरको चिसो खाँदै । सिमसिम पानी परिरह्यो कति गल्लीहरू चहारिरहँदा । बेला बेला चिसो हावा सेक्न आइपुग्ने । अति भएपछि सपिङ महलभित्र पस्थ्यौँ न्यानो खोज्न । करिब पूरा दिन नै एकदेखि अर्को सपिङ महल हिँडेर बितायौं, कतै सपिङ गर्न । कतै जाडो छल्न । र, कतै नयाँ खोज्न ।

अहिले पनि ताजै छ, त्यो दिनको एउटा घटना । कुरा सामान्य तर काइदा कुरो नबुझ्दा परियो फसादमा । सपिङ गरियो केही मन परेका भिर्ने ब्यागदेखि लगाउने लता कपडाहरू । जम्मा रकम एक सय पैतालिस पौण्ड निकालिन काउण्टरकी सुन्दरीले । क्रेडिट कार्ड दिएको खाँदै खाँदैन पेमेन्ट मेसिनले । दुई चारचोटिको  प्रयास पनि विफल । पिन नम्बर हान्ने सल्लाह दिइन् सुन्दरीले । आपत् पिन नम्बर नै छैन मसँग । किन कि अहिलेसम्म खासै जरुरत भएन । ‘सट्ट कोर्दा भैहाल्थ्यो किन चाहियो पिन नम्बर । अलमल तन्किरह्यो केही समय । यति बेला पछाडिबाट दबाब दिइरहे झैँ लागिरहेथ्यो क्यूमा रहेका अन्य ग्राहकहरूले । थोरै निरास केही सर्मिन्दा, पेमेन्ट गर्न नपाउँदा । पछाडि सरे अरूलाई बाटो खोल्दिन । पछि थाहा लाग्यो, ‘एकपल्टमा सय पौण्ड भन्दा बढी क्रेडिट एसेप्ट नगर्दोरहेछ क्रेटिड कार्डबाट ।’  नियन्त्रण गर्ने पनि थरीथरीका काइदाहरू ।

यता पनि भेटिए चाइनिज टाउन । एउटा सानो सानो  एरियाभरि नै फैलिएको । फर्कने बेलामा खाजा खान पस्यौं एउटा चाइनिज रेस्टुरेन्टमा । हङकङकै झल्को दिने । प्रायः ग्राहकहरू पनि अधिक चाइनिजहरू नै भेटिए भित्रको हलमा । बोलिचाली खाने कुरा सबैको नाम क्यान्टोनिजमा । मेन्यु भने दुई भाषा—क्यान्टोनिज र इङ्गलिसमा । सुयोक फान छसोक फान, कालिगाइ फान ह्वालोक ,पेचाओ अनि तेल मिसाएको केचाप आदि इत्यादि । यस्तै भाषा बोले खानाका परिकारहरूमा । कतै हाम्रो अनुहार पढेर हो वा आफ्नो मातृभाषा प्रेमले ।

सीता र कुलदीप भाइ काम चलाउ क्यान्टोनिज बोल्ने भएपछि मलाई के दुःख ! क्यान्टोनिज बाहेक कसैले बोलेनन अन्य भाषा । बीचबीचमा म बोल्ने गर्थे नेपाली भाषा । दुई जना मांसहारीले खाए थरी थरीका रोष्ट मासुहरू । भ्याए हाँस कुखुरादेखि स्टिम माछासम्मका परिकारहरू । र बोके एक डेड किलो जति बँगुरको रोष्ट । मैले पनि पहिले एउटा ह्वलोक र पछि एउटा तातो तातो कफी सकाएँ, एउटै टेबलमा बस्नु परेकाले ।

बेलुका फर्कंदा बाटामा हिजोकै कुरो सम्झाए कुलदीप भाइले— “उः त्यो बाटाछेउको रेभवसर्ी गार्डिन । जसको मध्य भागमा छ गोर्खे ढुङ्गा ।” हतार हतार कान ठाडो पार्दै मुन्टो बटारेँ । गाडीको स्पिटले घुम्ति काटी हाल्यो राम्ररी चिहाउन  नपाउँदै । अब भने नहेरी नहुने भयो, त्यो गोर्खे ढुङ्गा । पुर्‍याउने जिम्मा पनि लिए कुलदीप भाइले ।

जतिपल्ट यो बाटो ओहोरदोहोर गरियो त्यति नै पल्ट मेरो मन र शिर श्रद्धाले झुकिरह्यो, गोर्खा स्मृति पार्कनिर । अलिकति खुसी अलिकति गौरव पलाइरह्यो यो यात्रामा । र, कौतुहलता पनि जागिरह्यो  स्मारक स्थापनाबारेमा ।

अहिले बेलायतको विभिन्न क्षेत्रमा छरिएर बसोबास गरिरहेछन् ब्रिटिस गोर्खा सैनिक र उनका परिवारहरू । विशेषतः बसोबास गर्न पाउने वैधानिक अनुमति पश्चात् । यसरी बसोबास गरेका ठाउँ मध्ये एक हो ननिटन । यहाँ बसोबास गरिरहेका नेपालीहरूले एक ‘ननिटन गोर्खाली समाज’ स्थापना गरेका थिए, विशेषतः भू पू गोर्खा शैनिकहरूको सक्रियतामा । जसको मुख्य उद्देश्य थियो आपसी सहयोग र सद्भाव बढाउने । समाजको स्थापना पश्चात् मिडल्यान्ड ननिटनमा गोर्खा मनुमेन्ट – Monument) अभियान चलाएका थिए, ब्रिटिस गोर्खा सैनिकको दुई सय वर्ष पुगेको ऐतिहासिक अवसरमा । यो एक पहिचान अभियान थियो, विशेषतः नेपाली समुदायको । सहमति पनि जुट्यो, माग जायज भएकोले । र, एक ऐतिहासिक स्मृति प्रतीक स्वरूप सन् २०१५ मा गोर्खा स्मारक पनि राखियो, स्थानीय काउन्सिलको सहमतिमा ।

ढुङ्गा राखियो, प्रतीक चिन्ह स्वरूप । सुरुमा गोर्खा सैनिक सालिक राख्ने सहमति भए पनि । कारण एउटै ठाउँमा एकै किसिमको दुई सालिक वा प्रतीक नहोस् भन्नाका खातिर । गोर्खा सैनिक सालिकको परिकल्पना गरिएको ठाउँको ठीक दुई सय मिटर टाढा सैनिक स्मारक बनिसकेको रहेछ, केही वर्ष अगाडि नै । एउटै परिचय झल्काउने दुई दुई वटा सालिक । एउटै ठाउँमा कति उपर्युक्त ? उस्तै सालिक राख्नुभन्दा फरक गर्ने विकल्प खोजिए छ दुई पक्षको सहमतिमा । फरक खोज्न एउटा शिला स्थापना गरिएको रहेछ गोर्खा सैनिक स्मृति वा प्रतीकको रूपमा ।

चाहे सालिक होस् वा ढुङ्गा । ठूलो कुरो सम्मान तथा कदर न हो—गौरवपूर्ण इतिहासको । अहिले सबै गोर्खाली समुदायका लागि सर्व स्वीकार्य रहेकोछ यो प्रतीक चिह्न । अर्थात् गोर्खालीको सान अभिमान दुवै । जुन जागरुकता अभियानको नेतृत्व ननिटन समाजका अध्यक्ष श्री ओम गुरुङले गर्नुभएको रहेछ, स्थानीयको जानकारी अनुरूप । २०१५ मा वीर गोर्खा सैनिक स्मृमिा ढुङ्गा (स्मृति प्रतीक) को स्थापना पश्चात् डिसेम्बर २०१६ मा ब्रिटिस सैनिक सहिद दिवस अवसरमा भूपू गोर्खा सैनिकहरूद्वारा एक परेड कार्यक्रमको पनि आयोजना गरिएको रहेछ ननिटन टाउन सेन्टरमा । जुन एक सरल र उपयुक्त माध्यम समेत बनेको बताउँछन्, स्थानीय समुदाय माझ गोर्खा समुदायलाई परिचित र स्थापित गराउन । समाजले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताइरहे पनि सो हुन नसकेको बताउँछन् कुलदीप भाइ । भइदिए अति राम्रो हुने थियो स्थानीयहरूबीचको सामाजिकीकरणको प्रक्रियामा ।

खुसी नै खुसीले मन भरियो यसरी थप जानकारी पाउँदा । जुन एउटा ऐतिहासिक कार्य नै थियो चाहे सानो होस् वा ठूलो । हेर्दा कतिपयलाई सामान्य लाग्न सक्छ तर गोर्खा समुदायका लागि यो एउटा परिचयको प्रतीक हो । वीरताको निशानी हो गोर्खे ढुङ्गा । कहिले सानो र ठूलो हुँदैन परिचय । यहाँ बसोबास गरिरहेका जो कोहीले जान्ने छन् बुझ्ने छन् गौरवशाली गोर्खाली इतिहास । अनि महत्व र वीरताको गाथा । त्यो पहिलो कार्यक्रममा धेरै वीर गोर्खाली सहिदहरूलाई स्मरण गरिएको थिएछ, उहाँहरूको वलिदानलाई कदर गरेर । गौरव योग्य एउटा जीवित इतिहास । जुन भावी सन्ततिलाई परिचित गराउन अति जरुरी छ यहाँको बासिन्दा बनिरहँदा । र, अरू थप परिचय वा जनकारी अवश्य दिने नैछन् यस्ता ऐतिहासिक कार्यहरूले ।

शताब्दीयौंदेखि कहलिएका वीर गोर्खाली हामी । तर कहिले आफूलाई वीर भन्न र चिन्न नसकेका हामी । हामीलाई अरूहरूले वीर भनिदिनुपर्ने । वीरको परिभाषा अरूले दिनुपर्ने । तब मात्र वीर । अनि कहिले वीर हुन सकेनौं हामी, हाम्रो मुलुकका लागि । वीर हुन पनि विदेश नै जानुपर्ने । सायद यसरी नै वीर कहलिएका छौं होला, हामी । कवि भूपि शेरचनको ‘हामी’ कवितामा जस्तै—

…  र त हामी वीर छौं

हामी बुद्धू नभएकन वीर कहिले हुन सकेनौं

हामी कसैको मूर्ति स्थापना नगरीकन

वीर कहिल्यैं हुन सकेनौं ।  … … ।

कतै देशले नबुझिदिएपछि देश खोज्दै जाँदा विदेशले बुझिदिए झैं लाग्यो गोर्खालीको गाथा । अनि समय समयमा यसरी नै लेखिँदै गइरहेछ भूगोलको कुना कुनामा नेपालीहरूको कथा ।

यताउति गर्दैगर्दा चार दिन बित्यो अर्थात् सकियो कुलदीप भाइको बिदा । अनि स्थगित भयो हाम्रो ननिटन घुम्ने चाहना । तेस्रो दिन बिहानै कान्छा अनित हामीलाई लिन ननिटन आएपछि पुनः आउने बाचा गर्दै  लागियो सेल्सवरीतिर । एउटा मिठो आथित्य र गोर्खे ढुङ्गा मानसपटलमा खेलिरह्यो फर्कंदाको यात्राभरि ।