यात्राको थालनी:

भन्नेहरू भन्छन् जीवन यात्राको अर्को नाम हो तर मलाई लाग्छ जीवन यात्रा मात्रै होइन । यो त रहरहरूको थुप्रो पो रहेछ अथवा भनौँ एकपछि अर्को यात्राको तिर्खा मात्रै रहेछ । त्यही तिर्खाको अभिलाषा बोकेर हामी कुम्पुर बागबच्छला माई देवीको मन्दिरतिर लाग्यौँ । चर्को घामको रापमा सेकिँदै-सेकिँदै कालीदहबाट हामी उक्लिँदै थियौँ । खडेरीले खाएर सुख्खा भइरहेका पाखामा आगो लगाए जल्ने भइसकेका मकै जबरजस्त उभ्भिएका थिए । सुक्न लागेका फर्सीका कलिला तर उमेर गइसकेकाजस्ता सुख्खा लहराले कष्टसाध्य गर्मीको साछीत्व वरण गरिरहेका थिए ।

हामी धादिङ बेसीबाट कालीदह, कुम्पुर हुँदै गजुरी झर्ने यात्रामा थियौँ । साबिक कालिदहबाट बागबच्छला कुम्पर एकडेढ घण्टाको पैदल उकालोको बाटो हो, केही वर्ष अगाडिसम्म । अहिले कच्चै नै भएपनि मोटरबाटोले पन्ध्र मिनेटमा झारेको थियो । सडकको सदुपयोग गरेर हामीले वाहन (फोर व्हिलर) को सहारामा कुम्पुर बाघबच्छला मन्दिर पुगेका थियौँ ।

साथमा थिए राजु झल्लु प्रसाद । समय २०८० जेठ २९ गते बिहान ११ बजेतिरको थियो ।

थोपल खोलामा पक्की पुलका लागि जग खन्ने कार्य भइरहेको थियो । टेकाहरू अड्याउने र ढलानका लागि प्रारम्भिक प्रयास चालु थिए । वर्षातको समय हुनै लागेको छ । थोपल खोला वर्षातमा ठूलै र उग्र पनि हुन्छ । यति बेलासम्म ढलानको कार्य आरम्भ भएको छैन । खोलामा माटा ढुङ्गाहरू उरुङ्खात लगाइएका छन् र थुनिएको छ । तिनै बगरले खोला टालिएमा थाहा छैन कति र कहाँ कहाँ खतरा उत्पन्न हुने हो, त्यसतिर सायद कुनै निकायको चासो र चिन्ता छैन । मन मनले हाम्रा विकास निर्माणका नियामक निकायहरूको अकर्मण्यता र शून्य सुपरिवेक्षणप्रति टिठ लागेर आयो । हामीले भन्नु केही थिएन, उकालो लाग्यौँ । जति जति उकालो गएपनि गाउँघर शून्य-शून्य नै थिए । गाउँमा आजभोलि मान्छे भन्दा ज्यादा चराको चिरबिर सुनिन्छ ।

 

गाउँघर आजकाल सुनसान छन् र उजाड छन् त छन् नै, तरुना तन्नेरीहरू युरोप, अमेरिका,खाडीका अनेक श्रम-शिविरहरूमा पसिना चुहाउँदै छन् र उनीहरूका गाउँघर गल्ली चोकहरू बिस्तारै बिस्तारै निर्जन जस्तै हुन लागिसके । खेत-खलियान, मेलापात र वन-बनेलीमा घन्कने दोहोरी तथा सिलोकका भाकाहरू अब होटेल, बार र टिकटकमा मात्रै भेटिन्छन् । भ्रमजस्ता भइसके । चौतारामा बसेर खेलिने बाघचाल, सिलोक जुहारी र ग्रामीण न्याय र विकास निर्माणका छलफलहरू पनि शून्य प्रायः भइसकेका छन् । बाघबच्छला उक्लिँदासम्म देखिएका उजाड बस्तीहरूले मनमा यस्तै यस्तै तरङ्गहरू पैदा गरेका थिए । हामी गाडीमा नै भएपनि झन्डै आधा घण्टा लगाएर सिद्धलेक गाउँपालिकास्थित साबिकको कुम्पुर गाविसमा रहेको चेक्वाङको बाघबच्छला देवी माई मन्दिर पुगेका थियौँ ।

मन्दिरको लोभलाग्दो दृश्य:

 

नेपालका आम मन्दिरलाई स्मृतिका पत्रहरूबाट उप्काउँदा हामी एकै किसिमको परिदृश्य जन्माउँछौँ: अक्सर बिहान नियमित पूजा समयमा खुल्ने र दिनभर बन्द रहने अथवा पर्व पर्वमा खुल्ने सरसफाइ हुने र पर्व सकिएपछि झाडी वा कसिङ्गरले ढाकिरहने तर, त्यस धार्मिक क्षेत्रमा भने फरक परिदृश्य थियो । मन्दिरको परिसर निकै सफा सुग्घर र लिपपोत गरिएको दिव्य जाँगरले सजिएको थियो । त्यस्तो दिव्यताले मन आकर्षित गरेको थियो ।

 

एक सानो जङ्गलको बाक्लो चौघेराको बिच खण्डमा बाघबच्छलाको (वत्सला) मन्दिर छ । यो स्थल जङ्गलको ब्रह्मस्थलमा छ । गोलाकार सानो वन आफैँमा वाटिका जस्तै छ । नाना प्रकारका फूल र बिरुवाहरूको योगमय यस जङ्गल तपोधामजस्तै छ । यसको प्रवेश मार्ग पूर्वक्षेत्रबाट रहेको छ । प्रवेशस्थलमा नै सानो विश्रामपाटी रहेको छ । हामी मध्यदिनमा पुगेका थियौँ । त्यस पाटीमा केही वृद्धवृद्धाहरू विश्राम गरेर शीतलता तापिरहेका थिए । हामीले उहाँहरूलाई बाघवच्छला देवीको उत्पत्ति र उनको ऐतिहासिक र पौराणिक महत्वको बारेमा प्रश्न गरेका थियौँ । कसैले पनि स्पष्ट जवाफ दिन सकेनन् बरु नजिकै रहेका उत्तम श्रेष्ठलाई बोलाइदिए ।

 

उत्तम श्रेष्ठ देवीका सर्वोत्तम भक्त

मान्छेका रुचि र स्वभाव पनि अचम्मकै हुन्छन् जस्तो यहाँका उत्तमको छ । उनी अद्भुत स्वयम् सेवक रहेछन् मन्दिरका लागि । बिहान ३ बजेदेखि उनी सरसफाइमा निस्कन्छन् । बाटोघाटो, मन्दिर परिसर तथा भित्र रहेका ठाँटी, पाटी सबै ६ बजेसम्म उनी सफा गर्छन् । उनलाई यस कार्यका लागि नियमित रूपमा मिनाकुमारी श्रेष्ठ, सावित्री श्रेष्ठ ज्ञानमाया श्रेष्ठ, ज्ञानमाया श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, फूलमाया श्रेष्ठ, निरुता श्रेष्ठ, मिना श्रेष्ठले आमा समूह नै बनाएर सहयोग गरिरहेका छन् । २०७२ सालदेखि नै सरसफाइको यो क्रम कुनै दिन पनि रोकिएको छैन नियमित भइरहेको छ ।

उत्तम श्रेष्ठले यस मन्दिरमा नियमित सेवा गरेबापत कुनै पारिश्रमिक पाएका छैनन् र लिनुपर्छ भनेर कहिल्यै सोचेका पनि छैनन् ।उनैले मन्दिरमा ३० लाख खर्चेर खानेपानीको आपूर्ति गरिदिएका छन् गेट बनाएका छन् र सानाठूला अनेक मन्दिर तथा मूर्तिहरू राख्न प्रयास गरिरहेका छन् । यी सबै काम उनी धनी भएर गरेका होइनन् । बरु उनी अभाव र गरिबीले झन्डै झन्डै बौलाइसकेका थिए । देवीकै आशीर्वादले उनी अडिएका छन् ।

 

उत्तमको कथा:

उत्तम श्रेष्ठ सामान्य किसान हुन् । उनले २०७० सालसम्ममा अनेक हण्डर ठक्कर दुःख र कहर भोगेका थिए । उनकी श्रीमती २०६३ सालमा निधन भयो । अनेक प्रयत्न र खर्च गर्दा पनि उनले आफ्नी श्रीमती बचाउन सकेनन् । निकै ऋण लाग्यो । श्रीमतीको निधनको पीडा खप्न नसकिरहेको बेला सात दिनमै छोरी पनि बितेपछि उनी अर्धपागलजस्तै भएका थिए । यसै बिच फेरि अर्की छोरी नरहनुको दुःख पनि सहे ।

२०७१ सालसम्म उनले ८० लाख भन्दा ज्यादा ऋण लिइसकेका थिए । तिर्ने कुनै सम्भावना थिएन । उनलाई अब भाग्नु वा मर्नुभन्दा अर्को विकल्प थिएन । उनले पृथ्वी राजमार्ग छेउमा आदम घाटमा बसेर होटेल चलाउने योजना बनाएर घर भाडामा लिएका पनि थिए र बसाइँ जान तयारी पनि गर्दै थिए । यसैबिच २०७१ साल फागुन १२ गते उनले राति सपनामा बाघवच्छला देवीलाई सपनामा देखे । बाघवच्छलादेवीसँगै सपनामा उनले अरू तीस पैँतिस देवीहरूलाई पनि सँगै देखेका थिए । देवीले उनलाई सपनामै गाउँ छोडेर कतै नजान भन्नुभएछ, ‘तिमी कतै नजाऊ, यहाँ नै बस । हेर मेरो मन्दिर कति फोहर र हेलत्व भएर गुज्रिरहेछ । मन्दिरको सेवा गर । सरसफाइ गर, तिमीलाई भलो हुनेछ ।’

त्यसपछि उनले भाडामा लिएको घर छोडिदिए, गाउँ जोड्ने विचार पनि त्यागिदिए र नियमित माताको सेवामा समर्पित भएर लागिरहेका छन् । उनले मन्दिर परिसर सरसफाइ र नियमित सेवा गरेपछि ऋण पनि कम हुँदै गइरहेको छ । कुनै साहुले आएर धरपकड पनि गरेका छैनन् ।

“सानो पसल छ र व्यापार पनि राम्रै भइरहेको छ । खेतीपाती सप्रिएकै छ । सबैभन्दा महत्त्वपूर्ण कुरा मन शान्त र आनन्द मिलिरहेको छ”, उत्तम उत्साहित हुँदै थप्छन् । उनले हामीलाई सुनाए कि “देवी अत्यन्त शक्तिशाली र वात्सल्यमयी भएकाले देवीले मागेको कुरा पुर्‍याइदिनु भएको छ । त्यसैले यहाँको मन्दिरमा भाकल गर्ने, नियमित पूजा अर्चना गर्नेहरूको बाक्लै उपस्थिति हुने गरेको छ ।”

यहाँ मन्दिर भनेर त्यस्तो वृहत् संरचना छैन बरु साल तथा जामुनाको फेदमा प्राकृतिक शिला छ, त्यसैलाई देवीको स्वरूप मानेर पूजा अर्चना गर्ने प्रचलन छ । आसपासमा नाग, गणेश, शिव पार्वती आदि अनेक साना मसिना अरू मन्दिरहरू पनि सँगै छन् ।

 

उत्पत्तिको कथा र सम्भावना:

देवीको उत्पत्तिको सन्दर्भमा एक प्रचलित किंवदन्ती छ । नजिकै गाउँका किसानले अहिले मन्दिर भएको स्थलमा बारी बिराएर खनजोत गर्दै थिए । मकै छर्न लागेका बेला कोदालाले एक शिलालाई लागेपछि त्यस शिलाबाट रगत बग्न थालेछ । किसानलाई राती सपनामा देवीले आएर ‘म देवी बाघवत्सला हुँ । तिमीले यस स्थलमा खनजोत नगर बरु यहाँ नियमित पूजाआजा गर्ने गर’ भनेको हुनाले त्यस समयदेखि यहाँ नियमित पूजा अर्चना हुने गरेको त्यहाँका पाका पुस्ताका नागरिकहरू बताउँछन् तर त्यसो भएको कति वर्ष भयो भन्ने यकिन कसैले गर्न सक्दैनन् ।

पूजापाठ: मन्दिरमा हरेक दिन नियमित पूजा हुन्छ । मङ्सिर पूर्णिमा र फागु पूर्णिमाका दिन विशेष मेला लाग्ने गरेको छ । शरद नवरात्रमा पनि विशेष पूजा हुन्छ । श्रावण महिनाबाहेक प्रायः सबै महिनामा बली दिइने प्रचलन छ ।

 

राम शाहद्वारा पराजित घलेहरूको कथा:

कुम्परको आसपास घले, नेवार तथा मगरहरूको बसोबास अधिक सङ्ख्यामा रहेका छन् । त्यस क्षेत्रमा पनि गोर्खातिरबाट आएका घलेहरूको बस्ती छ । घलेहरू धेरै पुराना स्थानीय मुखिया वा राजखलक भएको दाबी स्थानीय घलेहरूको छ । देश एकीकरण हुनुपूर्व अनेक रजौटाहरू थिए । त्यही रजौटाहरू उन्मुलन कार्य सँगै उनीहरूको रजाइँ समाप्त भएको थियो । रजौटा समाप्त भएपछि सर्वसाधारण भएर घलेहरू कुनाकाप्चातिर आएर बसोबास गर्ने क्रममा कुम्पुर आएका हुन् । उनीहरूले यस स्थलमा स-स्यानो राज्य बनाएका थिए । जुन यही मन्दिरको आसपास थियो, जसलाई राम शाहले समाप्त पारिदिएका थिए र उनीहरूलाई यहाँका मुखिया बनाएर राखेका थिए । तिनीहरूले नै यस देवस्थल बनाएका हुन सक्ने अनुमान छ । त्यसो हो भने बाघवत्सला मन्दिरको इतिहास राम शाहभन्दा निकै अगाडि जान्छ तर कति अगाडि भन्ने अनुमान लगाउन भने गाह्रो छ । त्यसका लागि छुट्टै अध्ययनको आवश्यकता छ ।

 

र अन्यमा,

कुम्पुरको बाघवच्छला देवी पृथ्वी राजमार्ग र कालु पाण्डे राजमार्ग दुवैतिरबाट पहुँच भएको सुगम यात्रा गन्तव्य भएको मन्दिर हो । राजमार्गको गर्मी र लेकको जाडो दुवै छल्न सकिने मधुर प्रकृतिका हावापानी यहाँ पाइन्छ । मिलनसार ग्राम्य समाज र बेग्लै किसिमको अपनत्व पनि यहाँका सरल नागरिकहरूको दिलबाट बगिरहने स्नेहको बन्धन अनुभव गर्न सकिन्छ त्यसैले जो कसैलाई पनि यहाँ आएपछि बिरानो ठाउँमा गएको अनुभव हुँदैन । स्थानीय विशेष आस्था र विश्वासको केन्द्र हो, बाघवच्छला देवीको मन्दिर ।

कालुपाण्डे राजमार्ग र पृथ्वी राजमार्गबाट पनि नजिकै पर्ने, भौगोलिक दृश्यावलोकनको मोहक पहाडी तरेलीहरू हेर्न सकिने यस स्थललाई विकास गर्न धेरै काम गर्न बाँकी छ । यसको सनातन पौराणिक आस्था जोगाउन मन्दिर परिसरलाई तारबार गर्नु आवश्यक छ । बाटोघाटोको सहज पहुँच स्थापित हुन सके अझ श्रद्धालुहरूको आकर्षण बढ्ने थियो । बास बस्नका लागि धर्मशालाहरू छैनन् र नजिकमा होटेल तथा लजहरू पनि नभएकाले होमस्टेहरू सञ्चालन गर्न आवश्यक छ ।