भुनुन्न… भुनुन्न ।
बाटोभन्दा दक्षिणको ठूलै होटेलमा हामी पसेर झोलाझ्याम्टा बिसायौँ । म त ज्यान फालेर कुर्सीमै ढल्केथेँ ।
कानमा लामखुट्टे भुनभुनायो… भुनुन्न… भुनुन्न… ।
दिनभरि थाकेर शरीरमा यो के विपत्ति । आँखा झकाउन लागेथे– भुनुन्नले बाधा हाल्यो ।
‘मन्जो त हिमालकै फेदीमा छ त !’
‘यहाँ पनि लामखुट्टे ?’
मैले तातोपानी बोकेर आएकी छेउकी शेर्पालाई सोधेँ ।
उनले पर्दा सर्लाकसुर्लुक पारिन् । कपडाले यताउता झर्लाङझुर्लुङ गरिन् । मेरो ब्याग राम्रोसँग थन्काइदिइन् ।
अनि बोलिन्– ‘बाजे भन्थ्यो– जहाज आउन थालेपछि यतातिर मच्छड आएका रे । बाले त लुक्ला तलसम्म मोटर आएपछि यता मच्छड पसेको भन्थ्यो । म जन्मेदेखि नै मच्छड भेट्छ बर्खातिर ।’
२८४५ मिटर उचाइको मन्जो निकै चिसो ठाउँ हो । थामसेर्कु र कोङ्दे हिमालको छाया भेटिरहने मन्जोमा लामखुट्टे भुन्भुनाउनु भनेको तातो बढ्दै हिमालतिर सरेको भनक पाएँ मैले ।
होटेलको माथिल्लो तलामा गएर मन्जोलाई हेरेँ । अन्धकारमा बत्तीको झलमल्ल सिँगारपटारमा रमाइरहेथ्यो यो हिमाली बस्ती । घरहरू बाक्लै देखिन्थे । खेतका गरा पूर्व–पश्चिम पसारिएका लाग्थे ।
गुजुमुज्जे घरहरूको ताँती बिजुलीको उज्यालोमा एकनासले चम्किरहेका देखिन्थे । दक्षिणबाट उत्तरतिर ठेलिएका पहाडका तरेलीसँग अँध्यारो गाढा देखिन्थे झन्–झन् ।
‘अहिले सुतूँ । बिहानको एक घण्टा मन्जोका लागि दिउँला ।’
आफूले आफैँलाई फकाएँ ।
०००
‘के–के पाकेको छ ?’
भान्सामा पस्दै मैले सोधेँ सेविका राईलाई ।
‘याकको सुकुटी छ । गोलभेंडाको अचार, रायोको साग, कालो दाल, काँक्रा–प्याजको सलाद ।’
‘याक त यतै हो । अनि अरू सबै तराईबाट ल्याएको हो कि ?’
मैले खनखन गर्न छोडिनँ ।
अरूहरू पल्लो कोठामा बसेर फिँजे झोल खाइरहेथे । चिसचिसै भएकाले फलामे कराईमा होटेलमा खुट्टा सेकताप गर्नेहरू नि गफिइरहेकै थिए ।
सेविकाले भनिन्– ‘हिउँ पर्ने ठाउँ भए नि यहाँ सबै फल्छ । हामी त प्लास्टिकको घरमा जम्मै उमार्छौं ।’
म खाएर झटपट सुतेँ । अरूहरू को–कता पल्टिए ख्याल गरिनँ । राति मुढो लडे झैं पसारिएको म– बिउँझिंदा भाले बासिरहेको सुनेँ ।
अब बाहिर हेर्नु पर्छ ।
पाँच बजेतिर तातो पानी खाएर बाहिर निस्कँदा पो देखियो– मन्जोको रूप, बैँस र उज्यालो । ओहो, कति मोहकिँदो गाउँ । कति रमाइलो बस्ती । कति आँखा पक्क पर्ने घरहरू ।
चिटिक्क परेका स–साना घर । नीला, हरिया, राता छाना भएका सलाई बुट्टे घरहरू । दुई तल्ले सफा रङ्गिन छानाले छाइएका घरको ताँती । भर्खरै गाउँबाट चाड गएजस्तो । सिँगारिएको देख्दा लाग्छ– कुनै ठूलो पर्व नजिकिएको छ ।
हरियाली त्यत्तिकै छ । घरमा छाना–छानामा कुदिरहेको छ फुसफुसे कुइरो । त्यै कुइराले छानाको पुछपाछ गरेजस्तो । बडारकुँडार गरेजस्तो । बस्तीको सन्चो–बिसन्चो बुझ्न कुइरो कुदिरहेजस्तो । अथवा गाउँको खैखबरी गर्न कुइरो लम्किरहेजस्तो ।
पूर्वबाट पश्चिमतिर घुमेर गएको बाटो थियो । त्यही बाटोमा तल–माथि, देब्रे–दाहिने भएर मन्जो उभिएथ्यो ।
नाम पनि हिजो फरक–फरक देखेथेँ । कतै मन्जु, कतै मन्जो, कतै मोन्जो थियो घरका सूचना पाटीमा । तातो पानी थपी–थपी खाइरहेको छु । कुइराले कान चिस्याएको छ ।
छ बज्दा खेत, पाखा, गरातिर मानिसहरू चलमलाएका देखिए । चौँरी धपाएर पाखातिर गएका केटाकेटीका हूल थुप्रै थिए ।
‘मन्जु कि मन्जो ?’
होस् म निर्क्यौल गर्दिनँ ।
मनले थामथुम पारेँ ।
बिरु मेरो कोठामा छिरे । उनलाई हिजो बेलुकी नै बस्ती घुम्ने रहर सुनाएथेँ । मेरो रहर सुनेर उनी आएथे ।
‘भरे जाँदा सबै हेरिन्न । अहिले जाऊँ न त ।’
मेरो रहरमा सघाउने भए उनले ।
त्यसपछि हामी होटलबाट बाहिरियौँ । बिहानको मन्जो साँच्चै उज्यालो, सुकिलो र चहकिलो भइरहेथ्यो ।
०००
पूर्वतिर लाग्यौँ ।
घरैघर झुरुप्प छन् । हिजो देखेभन्दा र बिहान हेरेभन्दा झन् सुन्दर रहेछ भन्या । घरैपछि साना आँगन । होटल, लज, रेस्टुराँको पाटी । तातो पानीमा नुहाउन ।
‘तातो पानीमा नुहाउन पाइन्छ ।’
वाईफाई फ्री ।’
‘ढिँडोदेखि चिसोसम्म । मोमोदेखि बर्गरसम्म । सेक्पादेखि पास्तासम्म ।’
सूचना पढ्दै हिँडिरहेको छु ।
साना, होचा र रङ्गीचङ्गी घरको ताँती छ । घरका पेटीमा फूलको ढकमक्क । कुर्सी, टेबल र ठूलठूला छाताले सजिएका घरका आँगन र करेसा । पाहुना, पर्यटक कुरी बसेका अनुहार ।
मन्जु, मन्जो, मोन्जो लेखिएका पाटी पढ्छु । बाटोमा सानो माने थियो । त्यसलाई फन्का मारेर पूर्व गयौँ । अलिक सिँढी परेको ठाउँमा घरका ताँती त्यत्तिकै थिए ।
बाटोमा हिँडिरहँदा मनमा कुरा खेले ।
मैले स्कुल पढ्दा मन्जु कार्की, कलेज पढ्दा मन्जु सापकोटा, मैले डेरा बस्दाकी मन्जु अधिकारी, लेखनकुन्जमा मैले ज्ञान बाँडेकी मन्जु केसी कार्कीलाई यतिखेर सम्झिरहेको छु । ती सबै मन्जु थिए । तर मन्जो, मन्जु, मोन्जो अनेक नामले डाकिए पनि यतिखेर स्कुल, कलेज, डेरा, लेखनकुन्ज सबैमा भेटिएका मञ्जुहरू एक–एक गरी हृदयमा आइरहेथे ।
पाइला सार्दै–सार्दै तल खोलाको डिलसम्म पुग्यौँ हामी । हिमाली छङछङ खोला दूधकोशीमा मिसिएथ्यो । ढुङ्गा नै बगाउँला झैं गरी हुर्हुराएका सेता छाल हेरिरहँदा मनको मैले बगेको लाग्थ्यो ।
‘यस्ता धेरै ढुङ्गा जस्ता विपत्ति र आपत्ति खेप्दै आएकै हुँ क्यारे !’
मनले गनगन गर्न थाल्यो ।
मैले आफैँलाई फकाएँ– ‘खोलाको गीत सुन केटा, गुनासो सुनाउने कुरा छोड्दे ।’
त्यसपछि हामी उही अघिकै बाटो फर्क्यौं ।
०००
होटल पस्ने बेलामा किपा शेर्पा भेटिए । उनी ५–६ वटा जोप्क्यो धपाएर आइरहेथे । तीन वटा त जिङ्ग्रिङ्ग परेका बाच्छा पनि थिए ।
‘थामे जाने बाटो यतै छ भन्ने सुनेथेँ मैले ।’
किपासँग चिनाजानी गर्दै सोधेँ ।
उनी जोप्क्यो धपाउँदै अघि–अघि गए । अनि भने– ‘आउनु म देखाइदिन्छु ।’
अलिक वर आएपछि थामे जाने सानो गोरेटो उत्तरतिर उकालियो । पातलो चाँदी रङ्गे हिमालका टुप्पामा सुन पोतिन खोज्दै थियो । आँखा उत्ताउलिएर हिमालतिर तानिएँ म ।
‘ऊ त्यै हिमाल उता पर्छ थामे ।’
अहिले धेरै घुमन्तेले थामे गाउँ, थामे गुम्बा जाने मैले सुनेको छु । थामेमै हुर्केका हुन् तेन्जिङ नोर्गे । मामाघर तिब्बतमै जन्मिएका तेन्जिङको घर पनि थामेमै छ । सगरमाथा चढ्ने पहिलो नेपाली तेन्जिङको घर जाने बाटो देखेर मेरो छाती भयो ढक्क ।
‘कति दिन लाग्छ ?’
‘२–३ दिन लाग्छ थामे पुग्न । ३८०० मिटर उचाइमा खैरे झ्वाट्ट पुग्न मन गर्दैनन् । नेपाली हामी त पुग्छ, गोर्खाली पारामा ।’
मैले नदेखेको थामेसम्मै मन पुर्याएँ, आँखा हुत्त्याएँ, चेतना हुत्त्याएँ ।
‘आँटेस्, एक दिन पुग्लास् केटा ।’
मनलाई थामथुम पारेँ ।
हामी फेरि होटलतिरै फर्क्यौं । घाम पातलो लागे पनि सिरेटो चलिरहेथ्यो । कुइरो केही फाटेथ्यो । हावाको रूप चैँ बाक्लिएको थियो ।
मैले एक पटक मन्जोलाई हेरेर भनेँ– ‘लुक्लादेखि हिँड्यो भने एक दिन घुम्न र थकान मेट्न गजबको ठाउँ रै’छ यो ।’
खाना खान तल झरेँ ।
त्यहीँ भेट भयो– सोनाम ग्याल्जेनसँग । अचेल स्याउ रोप्ने उनको सपना रहेछ । दक्षिणपट्टिका गरातिर हरिया बुट्यान देखिए । मैले त कुट्मिरा सप्लाएको ठानेथेँ ।
‘५० बुटा रोपेको छु ।’
अलिक अग्लो पाखोमा ती बुटा सप्लाएका थिए । हाँगा छिरलबिरल धेरै भएका म देखिरहेथेँ । छाँट्न नभ्याएको वा त्यत्तिकै छोडेको मलाई लागेको थियो ।
‘५० नाघेँ । सबै कुरा बुढो भयो अब । ट्रेकिङ जान्थ्यो । खैरे पनि घटे, ज्यानको शक्ति पनि घटो ।’
ग्याल्जेनले भने ।
‘अनि स्याउ रोपेर शरीरको रोग भगाउँदैछु ।’
उनले भनेको सुनिरहेँ ।
आजभोलि मन्जोमा धेरैले स्याउ रोपेका रहेछन् । आलो बेच्न नभ्याए रक्सी, सुकुटी बनाएर बेच्ने परिवार नि निकै छन् रे यता ।
म निकैबेर गफ्फिएछु ।
०००
हिँड्ने बेलामा एक बिटो रायोको साग ल्हाक्पा बूढाले झोलामा कोचे । मलाई पनि लैजा भनेथे– आँट गरिनँ मैले ।
‘होस्, होस् ।’
सागबारे अनिच्छा जनाएँ ।
मैले च्याऊ र च्याउको सुकुटी नै झोलामा कोचेको थिएँ । जे भए नि यताको कोसेली त्यै भए पछि यो अरू सागको मुठो के कोच्नु !
अलिक घाम उज्यालिएपछि हिँड्ने कुरा भयो ।
‘भातभान्सा गरी हिँड्न पाए हुने ।’
मैले भनेको थिएँ ।
तर साथीहरूले मानेनछन् । भातलाई ठाउँ बाँकी राखेर हिँडेको भुँडीले छिटो कुदाउँछ रे ।
उनीहरूका कुरा मैले मान्नै पर्ने भयो । किनभने उनीहरू धेरै हिँड्ने र म कम हिँड्ने । धेरै लम्किनेका कुरा नमानी भएन मैले ।
किनभने काट्ने बाटो र पुग्ने ठाउँ अझै धेरै थियो । त्यै भएर पनि मैले बीरु, ल्हाक्पा बूढाका कुरालाई सरक्क मानेँ ।
शेर्पाहरूले छोड्दै–छोड्दै गएर राईहरूले भरिँदै–भरिँदै गरेको गाउँ रहेछ मन्जो पनि ।
‘हेर्नु न, याँ त शेर्पाले छोडेर हो कि गर्मी पनि पो बढिरा’छ ।’
बिहान बाटोमा भेटिएका फु दोर्जीले भनेको म सम्झिरहेको थिएँ । किनभने नाम्चेभन्दा अलिक थोरै लुगा खापेथेँ मैले । मूल कुरा गलबन्दीले घाँटीबाट आजदेखि बिदा पाउने छनक पाइरहेथेँ ।
बाटोसँगै जोडिएका पाइलामा गर्मी थपिन्थ्यो । अझ पसिनाले गलाउँथ्यो र थकाउँथ्यो ।
मन्जो छोड्दा चरक्क चर्कियो घाम ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।