लन्डन साहित्य घोषणापत्र २०१२

भनिन्छ १२ पछि खोला पनि फर्कन्छ ।

मेरो मनमा भने १२ वर्ष पछिको खोला जस्तै बेलायती सम्झना फर्केको छ । सन् २०१२ को नोभेम्बरको दोस्रो हप्ता एक महिने बेलायत यात्रा सुखद रहेको थियो । “छिन्ताङ डजनट विलीभ्स इन टियर्स” डकुमेन्ट्री प्रदर्शन गर्नु थियो ।

धनकुटाको छिन्ताङ, आँखीसल्ला र खोकुका निहत्था जनतालाई २०३६ सालमा  विचारको आधारमा कसरी मारियो अनि दमन गरियो ? खोजमूलक डकुमेन्ट्री  निर्माण अनि निर्देशन गरेका थिए ।

सन् २०१२ मा ‘ईन्डीजीनियस फिल्म फेस्टिभल २०१२’ मा छानिएर काठमाडौंमा प्रिमियम पछि डकुमेन्ट्री हङकङमा  भव्य  प्रदर्शनी भयो ।  हङकङको प्रदर्शनी पछि बेलायतको विभिन्न ११ ठाउँमा प्रदर्शनको लागि एक महिना बेलायतमा थिएँ । त्यही सिलसिलामा महाकवि देवकोटाको १०३ औं जन्म जयन्तीको अवसरमा लन्डनमा आयोजित कार्यक्रममा सहभागी हुन जुर्‍यो । लन्डनमा भएको ‘नेपाली साहित्य विकास परिषद् युके’ र ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके’ले संयुक्त रूपमा आयोजना गरेको ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा एक विश्वस्तरीय कवि’ विषयक विचार गोष्ठीमा कवि दुर्गा पोखरेलले आफ्नो कार्यपत्र प्रस्तुत गरे । त्यसमा पोखरेलले महाकवि देवकोटा विश्वका कुनै पनि साहित्यकारसँग दाँज्न मिल्ने प्रतिभा रहेको उल्लेख गरेका थिए । स्रष्टाहरूले नेपाली साहित्यमा देवकोटाको योगदानबारे चर्चा मात्रै गरेनन् उनको शाकुन्तल महाकाव्य साहित्यमा नोबेल पुरस्कारका लागि मनोनयत गर्न लायक कृति भएको गुणगान समेत गरे ।

साहित्य विकास परिषद्का अध्यक्ष खगेन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न सो सभाले पाँच बुँदे लन्डन साहित्य घोषणापत्र २०१२ सर्वसम्मत पारित गरे । घोषणापत्रमा महाकवि देवकोटाका रचनाहरूलाई विश्वका विभिन्न भाषामा अनुवाद गरी नेपाली साहित्यलाई विश्वस्तरमा चिनाउन अविलम्ब पहल गर्ने लिखित नै गरे ।

बेलायतमै बसोबास गर्ने दिदी रङ्गकर्मी तथा साहित्यकार शशी थापा सुब्बाले टुप्लुक्क पुर्‍याउनु भएको उक्त कार्यक्रमको म पनि साक्षी किनारामा उभिएको थिएँ । सहभागी मध्ये त्यो बेला उमेर र अनुभवले म कनिष्ठ थिएँ ।

मलाई पनि बोल्ने अवसर दिइयो, मैले भनेँ,  “भर्खरै म हङकङ पुगेर आएँ । हङकङमा साना स्कुलका विद्यार्थीहरूले मुनामदन खण्डकाव्यलाई नाटकमा प्रस्तुत गरे । त्यो भाषा पुस्तान्तर भयो । भाषालाई बचाउन निसर्त बोक्ने अर्को पुस्ता तयार हुनुपर्छ । भएन भने त्यो भाषाको अन्त्य निश्चित नै छ । आजको भेलामा अर्को पुस्ता तयार भएको मैले देख्नै देखिनँ ।”

मेरो आशय भेलाले बुझेको हुनुपर्छ । विश्वस्तरीय अन्तर्राष्ट्रिय कार्यक्रममा सबै खारिएका समालोचक देखि साहित्यकार स्रष्टाहरूको भेलामा दोस्रो पुस्ता नहुनु चिन्ताको विषय हो । मैले हङकङ र बेलायतमा  यही फरक पाएँ ।

हङकङमा नेपाली भाषा नयाँ पुस्तामा सामाजिक र संस्थागत रूपमा सर्दै गैरहेको छ । तर बेलायतमा गफ मात्रै देखेँ । दोस्रो पुस्ता देखिनँ । जबकि बेलायतसँग नेपालको कूटनीतिक सम्बन्ध गोर्खाली सेना जत्तिकै पुरानो दुई सय वर्षको जो छ ।  त्यो कार्यक्रमको भएको १२ बितेछ । अहिले बेलायतमा नेपाली भाषा बोक्ने नयाँ पुस्ता तयार छ या छैन मलाई जानकारी छैन ।

० ० ० ०

ज्याक्सन हाइट विवरण पत्र २०२४

बेलायतको थेम्स नदी किनारा एक महिने सम्झना छाडेको १२ वर्ष बित्यो । एक युग पछि अहिले न्यूयोर्कको हडसन नदी किनारमा  जीवनको बाँकाटे हान्दै छु । अमेरिकाको न्यूयोर्कको क्वीन्स ज्याक्सन हाइट ७४ स्ट्रिटमाको कल्पना चावला मार्गमा व्यस्त पटेल ब्रदर्श ग्रोसरी सपिङ सेन्टर  भित्रको दाहिने कुनामा नेपाली भाषामा लेखिएको “नेपाली सामान यहाँ पाइन्छ ।”

मोहनी अक्षरको अगाडि उभिन थालेको सात वर्ष भयो । मेरो लागि क्वीन्समा डेरा बस्नुको पहिलो तरकारी दोकानभित्र लेखिएको मायालु नेपाली अक्षर नै प्रेरणाको श्रोत नै हो । किनकि नेपालीहरूको बाक्लो उपस्थिति नभै यो भारतीय स्टोरमा नेपाली भाषामा  लेख्न कसरी सक्थ्यो ? नेपालीहरूको स्वाद नबुझी ग्रोसरी स्टोरको त्यो दाहिने कुनोलाई नेपाली नाम कसरी दिन्थ्यो ? यो त नाफा अनि व्यापारीको कुरा भन्दा मेरो लागि भाषाको अमूल्य सामीप्य अनि नेपाली लोकल स्वादको   खजाना थियो ।

ज्याक्सन हाइट कै परिसरमा सात वर्षभित्र ७५ स्ट्रिट ३१ एभेन्यूमा माउण्ट एभरेष्ट मार्ग २०१९ मा क्वीन्स काउन्सिलबाट घोषणा हुनु । ७५ स्ट्रिट नै ४१ एभन्यूमा तेन्जिङ नोर्गे शेर्पा मार्ग २०२३ स्थापित हुनु ।

तीस वर्षअघि शेर्पा किदुगको स्थापना सँगै ७५ स्ट्रिट ४१ एभेन्युमा शेर्पा गुम्बा स्थापना हुनुले पनि यो ठाउँ नेपाली हुनुको गौरवले शिर उँचो हुन्छ । यी ठाउँ नेपालदेखि टाढा परदेशमा हुनुको पीडालाई मल्हम पनि भएको छ । म पनि संसारभरका मानिस जस्तै आफ्नो छोराछोरीहरुको जीवनलाई अझ राम्रो बनाउने प्रयासमा नै ज्याक्सन हाइटमा उभिएको छु । नेपालीहरूको क्वीन्स ज्याक्सन हाइटमा बाक्लो बसोबासले किन महत्त्व राख्छ ? अमेरिकन सांस्कृतिक जीवनको स्वादमा कसरी अन्तर घुलन भइरहेको यो क्षण नेपालीहरूको महत्त्वपूर्ण सांस्कृतिक स्वादको जङसन बनिरहेको छ यो ज्याक्सन हाइट ।

सेभेन ट्रेनको कर्कस आवाजमुनि दबिएको ज्याक्सन हाइट हेर्दा त्यति आकर्षक पनि छैन सफा पनि होइन ।  बुझ्दै जाँदा नेपालीहरूको लागि आवश्यकता अनि हरेक संघर्षको सहज सुरुवातको पहिलो खुड्किलो नै ज्याक्सन हाइट हो ।

बिबिसीका फिचर संवाददाता सेबास्टीयन मोडाकले लेख्छन्, “पर्यटक भएर न्यूयोर्क आउनेहरूले बिग एप्पल, हेर्नको लागि सेन्ट्रल पार्क वा स्ट्याचु अफ लिर्बर्टी भ्रमण गर्ने सम्भावना बढी हुनसक्छ, शहरको डिएनए महसुस गर्न, यो कसरी सुरु भयो र यो कहाँ जाँदै छ भनेर बुझ्न ज्याक्सन हाइट भन्दा राम्रो ठाउँ छैन ।”

न्युयोर्क सीटीको “क्वीन्स” नामै सुन्दर । त्यसमाथि क्वीन्सको “ज्याक्सन हाइटको चर्चा” ग्लोवल्ली हुनु पनि कारण छ ।

यहाँ “डाईभर्सिटी प्लाजा” जो रहेको छ जस्लाई यो जीवित म्यानहट्टन शहरको ‘डिएनए, अनुवंशिक जानकारी वाहकको रूपमा प्रस्ट देखिन्छ । विश्वबजार म्यानहट्टन आप्रवासी मानव बस्ती निर्माण गर्ने क्रमको नमुनाको रूपमा स्थापित छ ।

न्यूयोर्क सिटीभित्र चारवटा जिल्ला छन् । म्याहट्टन, ब्रोङस, ब्रोकलीन, क्वीन्स । क्वीन्समा पर्छ,  डाइभर्सीटी प्लाजा । यो प्लाजामा उभिए भने तीनसय मानिसले भरिन्छ । विविधताको प्रतीक हो जसले हामीलाई हृदयबाट नै आफ्नै हो जस्तो लाग्छ । क्वीन्स, ज्याक्सन हाइटको विशेषता नै मानव विविधताको सुन्दर आप्रवासी भाषा, संस्कार, संस्कृति अनि जातीय स्वादको भण्डार हो पृथ्वीमा अन्य ठाउँ कही पनि छैन । ज्याक्सन हाइट्समा कम्तीमा १६७ भाषाहरू बोल्ने लगभग १ लाख असी हजार मानिसहरूको सुन्दर घरको रूपमा भेटिन्छ ।

अमेरिकामा सन् २०२० मा नेपाली जनसंख्या दुईलाख बीस हजार पुगेको थियो । यो संख्या निकै बढेको छ । चार वर्षअघि हेर्दा भने न्यूयोर्क राज्यमा २३ हजार भन्दा धेरै नेपाली छन् ।  २३ हजार मध्ये न्यूयोर्कको क्वीन्समा चौधहजार तीनसयको हाराहारीमा बसोबास छ । चार वर्षपछि हाल हेर्ने हो भने यो संख्या बढेको छ ।  गणनामा नपरेका नेपालीहरू यसमा समावेश हुने हो भने क्वीन्समा २५ हजारको हाराहारीमा पुग्छ । क्वीन्सभित्र पनि एस्टोरिया, ज्याक्सन हाइट, रिजवुड, सन्नी साईड, र वुड साईडमा नेपालीहरूको सघन बसोबास छ ।

० ० ० ०

म्यानहट्टन नेभर स्लिप

भनिन्छ, सपना देख्नेहरूले सुत्नु हुन्न ।  विश्व व्यापार, वाणिज्य, संस्कृति, मनोरञ्जन माथि ग्लोबल प्रभाव रहेको यो महानगर कसरी सुत्छ  ? विश्व राजनीतिको रङ्गमञ्च संयुक्त राष्ट्रको मुख्यालय यहाँ भएको कारणले गर्दा पनि यो अन्तर्राष्ट्रिय मामिलाको प्रमुख केन्द्रको रूपमा स्थापित न्यूयोर्क सुत्ने कुरै भएन ।

अनि भनिन्छ, “म्यानहट्टन नेभर स्लिप ।” विश्व हाँक्ने सपनाहरूको छायामा परेको न्यूजर्सी, ब्रोङस, क्वीन्स , ब्रोकलीन जस्तो सहायक शहरहुन ।

तर पनि म्यानहट्टन महत्त्वाकाङ्क्षी सपनाहरूमा आप्रवासी मजदुरहरूको पसिनाले सिंचिएकोछ । जसले यो शहरको जागिरहने भोक भनौं या आवश्यकतालाई पूरा गरिदिन्छ । सबै भन्दा ठुलो आप्रवासीहरू मजदुरको भार भने यही क्वीन्सले थामेको छ ।

हो, यही क्वीन्सको ज्याक्सन हाइटमा विगत सात वर्षदेखि म्यानहट्टनको अग्लो सपनाहरूलाई भरथेग गर्न मजदुरको भूमिकामा जीवन अभ्यस्त गराई रहेको छु ।

कहिले बन्द नहुने भूमिगत रेल सेवा । सार्वजनिक बस । ट्याक्सी, उवर लिफ्ट यो हरमा बगिरहने यातायातको मानौं रक्तसञ्चार प्रणाली हो । यो शहरमा हप्ताको पाँच दिन चालीस घण्टाको  मजदुरी लागु छ । २४ घण्टाको दिनमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन अनि आठ घण्टा आरामको फर्मान छ ।

सय वर्षअघि रुसमा मजदुर नेता भ्लादमिर ईल्यीच लेनिन मजदुरहरूको  राज्यको मजदुर सिद्धान्त अनुरूप तीन सिफ्टमा शहरको काम २४ घण्टा चले पछि म्यानहट्टन कसरी सुत्नु ? महानगर म्यानहट्टनकै तालमा हडसन नदी वारि क्वीन्स ज्याक्सन हाइटको लय, सुर र गतिमा चलायमान छ । क्वीन्सको यही ज्याक्सन हाइट नै अहिले मेरो अस्थायी डेरा सन्सार छ ।

० ० ० ०

 

ज्याक्सन हाइट अर्थात् सानो नेपाल ।

नाम ज्याक्सन हाइट भए पनि म्यानहट्टन जस्तो अग्ला अग्ला नामी घरहरू छैनन् ।

म्यानहट्टन सुरुवातको तीनसय वर्षपछि म्यानहट्टन र क्वीन्स जोड्ने क्वीन्स बोरो ब्रीज ११५ वर्ष पहिले मात्र बन्यो । ज्याक्सन हाइट त्यो बेलासम्म उबढखाबड खेतबारी मात्रै थियो । ज्याक्सन हाइट निर्माण व्यवसायी जोन सी ज्याक्सनको नामबाट लिइएको हो । हन्टर पोइन्ट, न्यू टाउन फ्लसीङ टर्नपाइक कम्पनीका पूर्व अध्यक्ष जोन सी ज्याक्सन (१८०९(१८९०) बाट लिइएको हो । त्यो बेला घर अनि बस्ती विस्तार गरेर बगैंचा सहितको अपार्टमेन्टहरूको सुरुवात गरिएको हो । जहाँ गैर श्वेतहरूलाई बस्न कडाइका साथ मनाही गरिएको थियो ।

१९६० र ७० को दशकमा ज्याक्सन हाइट्सले विशेष गरी ल्याटिन अमेरिका र दक्षिण एशियाबाट आप्रवासीहरूको आगमन देख्यो । यी नयाँ बासिन्दाहरूले तिनीहरूको आफ्नै संस्कृति, भाषा, स्वाद, र  परम्पराहरू ल्याए । यसले म्यानहट्टनको छिमेकलाई जीवन्त र विविध समुदायमा रूपान्तरण गर्‍यो । ज्याक्सन हाइट पचास वर्ष जति भो आप्रवासीहरूको न्यानो थातथलोको रूपमा क्रमिक विकाशको बाटोमा अघि बढेको ।

यो सात वर्षमा ज्याक्सन हाइटमा सानो नेपालको प्रस्ट खाका बन्दै गरेको देख्छु । नेपालमा जस्तै नेपालीहरूको जाति, भाषा, धर्म-संस्कार अनि पहिचानमा विविधता छ यहाँ क्वीन्समा सबै नै भेटिन्छ । मेचीदेखि महाकाली सम्मका मानिसहरू क्वीन्समा नै भेटिन्छन् ।

न्यूयोर्कमा सन् २०१६ देखि प्रत्येक वर्ष मे महिनामा नेपाल परेड डेको सुरुवात भएको अब आठ वर्ष पुरा भयो । मे १९ तारिक म्यानहट्टन मेडिसन एभेन्यू ३८ र २७ स्ट्रिट दश ब्लक बीचमा विभिन्न झाँकी अनि सांस्कृतिक कार्यक्रम सहित भव्य रूपमा सम्पन्न भयो । क्वीन्समा रहने नेपालीहरूको ३२५ आयोजक समितिले यही भन्छ सानो नेपालको निरन्तर विकास हुँदै छ ।

डाइभर्सिटी प्लाजा, ज्याक्सन हाइट्स-रुजवेल्ट एभिन्यू सबवे प्रवेशद्वार नजिकैको पैदल यात्रु क्षेत्र लिटिल इन्डिया, तिब्बती, नेपाली, बंगलादेशी, पाकिस्तानी दक्षिण एसियालीहरूको भेट्ने आँगन नै हो । दश मिनेट यहाँ उभिनु पर्छ प्रत्येक दुई मिनेटमा तीन जना नेपालीले यही बाटो भएर आफ्नो गन्तव्य पार गरिरहेको देखिन्छ ।

अन्य क्वीन्समा रहेका १५० भन्दा धेरै देशका मानिसहरू पनि यही बाटो भएर आफ्नो गन्तव्यमा हिंडी नै रहेका छन् । “विविधतामा एकता एकतामा बल” भनेर नैतिक शिक्षामा पढेर आएको मैले थाहा पाएँ । धेरै रङ मिलेर उज्यालो रङ बन्छ । भिन्न स्वरहरू तर गीत यौटै, भिन्न भूगोल सपना यौटै, एकजुट भएर यो ठाउँमा शान्त र धैर्यताका साथ उभिएका रहेछौं । विविध संस्कृति पृष्ठभूमि धड्कन एउटै मुटुको भएर बाँचेका  रैछौं ।

ज्याक्सन हाइटमा जुन जातीय रूपमा विविध समुदायको बसोबास छ । सन् २००० दशक देखि यता जो यही जन्मिएका छन् । न्यूयोर्क टाइम्सले यसलाई “न्यूयोर्कको सबैभन्दा सांस्कृतिक रूपमा विविध छिमेक यो ग्रहमा छैन ।” भनिएको छ ।

ज्याक्स हाइटमा सात वर्षमा नेपालीहरूको संख्यात्मक रूपमा उपस्थिति त बढेकै छ । गुणात्मक पनि बढ्दै जानेछ भन्नेमा विश्वास छ । नेपाली राजनीतिक ह्याङओभर यहाँ पनि उस्तै देखिंदा कहिलेकाहीं अमेरिकामा नै छु भन्नेमा शङ्का लाग्छ ।

विविधता भनेको हामी कसरी फरक छौं भन्ने होइन, विविधता भनेको एक अर्काको विशिष्टतालाई अँगाल्ने कुरा हो भनेर बुझ्न समय लाग्छ । नेपाली हुनु भनेको सयौँ थरी फूलबारी नै हो । बगैँचाको सौन्दर्य एउटै फूलमा सीमित हुँदैन ।

नेपाली साझा भाषालाई बचाइराख्न हाम्रा नानीहरूलाई पाठ्यक्रम सहितको स्कुल नै अनिवार्य चलाउनु पर्ने हुन्छ । त्यतातिर नेपाली भएर बाँचेका हाम्रा भनिएका तर कहिले नभका क्वीन्सका नेपाली नेतृत्वले सोच्नु पर्छ कि जात र धर्मले मानिसलाई कहिल्यै अगल गर्दैन अज्ञानताले गर्छ । विविधतामा एकता हुने हाम्रो क्षमता नै सभ्यताको सुन्दरता र  परीक्षण हुनेछ भनेर महात्मा गान्धीले भनेका छन् ।

नेपाली खाना, नाना र नेपाली श्रम बजारको कमी हुने छैन, ज्याक्सन हाइटमा बाँच्ने नै छ । किनभने नेपालीहरूको भाषा संस्कार र संस्कृति पहिलो पुस्ता जीवित छन् ।  आत्माको रङ्गसँग रङ्गिएको भाषा अभिव्यक्तिको सुन्दर ‌संसार हो त्यो बाँच्न दोस्रो पुस्ता आफसे आफ तयार हुँदैनन् प्रवासमा ।

अहिले नै नेपाली बोल्न नसक्ने नेपाली टिनेजहरूको भीडले नेपाली भाषाको दोस्रो लहरले थाम्छ भन्ने लाग्दै लाग्दैन । भाषाको विकाशमा क्वीन्सका नेपालीहरूले गम्भीर रूपमा लिएका  पनि छैनन् । यो कुरा सजिलै महसुस गर्न सकिन्छ  ।

आठौं नेपाल परेड डे, मे १९ का दिन झन्डै दुई हजार नेपालीहरूको बीचमा सीनेट चार्ल्स ईलिस स्कुमरले भने “नेपाली मानिस इमानदार अनि मेहनती हुन्छन् । अग्रजहरूको सम्मान गर्छन् । नेपालीहरू आफ्ना नानीहरूको सुन्दर भविष्य चाहन्छन् ।  त्यो भन्दा राम्रो कम्युनिटी अरू के हुन सक्छ ? मैले दयालु, इमानदार, परिश्रमी अनि हँसमुख नेपाली भन्दा अरू भेटेको छैन ।”

अनि उनले अन्यमा नेपालीमा भने  “फलोस् फुलोस्” । यो गज्जब थियो । क्वीन्सको आँगनमा नेपालीहरू फल्न र फुल्नको लागि स्वाद अनि सुगन्ध पनि उस्तै हुनुपर्छ  । परदेशमा फुल्न भाषा संस्कार र संस्कृति पनि चाहिन्छ । पहिलो पुस्ताले जानेको सबै जान्न कम्युनिटीलाई राज्यले उत्प्रेरित गर्न पर्छ तर त्यसो गर्न र गराउन नेपाली कम्युनिटी लिडर देख्न पाएको भने छैन ।

यहाँ ठिक उल्टो छ, जसको नानी अंग्रेजी राम्रो बोल्छ अभिभावक मख्ख पर्छन्, गौरव पनि गर्छन् । नेपाली भाषा यहाँका नानीहरूले नबोल्दाको छटपटी बेचैनी लागिरहने नभएका पनि होइनन् ।  सामूहिक पहल र विविधतामा एकताको बलले नै यसलाई सम्भव गराउँछ । अब यही जन्मने नेपालीले नेपाली भाषालाई नयाँ पुस्ता हस्तान्तरण गर्न सजिलो भने छैन । भाषा चलायमान भएन भने मर्छ भन्नेमा दुई मत छैन ।

१२ वर्ष अघि बेलायतमा साक्षी बनेको “देवकोटा जयन्तीको”  सेरोफेरोमा फर्कंदा भाषाको लागि उनीहरूले अमूल्य समय निकाले अनि  कमसेकम बहस त गरेँ । घोषण पूरा होस् या नहोस् । भाषा भनेको सांस्कृतिक बाटोको गुगल म्याप हो यसले मानिसहरू कहाँबाट आए र तिनीहरू कहाँ जाँदै छन् भनेर प्रस्ट देखाउँछ  ।  किनभने  अमेरिकाले विविधतालाई स्वीकार गर्छ । ज्याक्सन हाइटस सांस्कृतिक र जातीय विविधताको यो ग्रहको सुन्दर शहर हो । जहाँ नेपाली भाषा संस्कार र संस्कृति पहिचानको रूपमा बाँची रहनुपर्छ ।

न्यूयोर्क