झन्डै ७०० किलोमिटर । त्यो पनि पहाडी यात्रा ! चार पाङ्ग्रेका दुई वटा योजना डिसमिस भएर दुई पाङ्ग्रेमा टुङ्गो लागेको थियो । उसो त यात्री पनि दुईजना नै भयौं अन्ततः ।
सोचेर, सम्झेर र योजना बनाएर मात्र कहाँ हुन्छ र कुनै कुरा, काम । यात्रा यसै पनि भनेको समयमा भने जसरी हुँदैन । जसरी र जहिले हुनुपर्ने हो त्यति बेला र त्यसरी नै हुन्छ यथार्थमा ।
जीवनसङ्गिनी कमला अत्री (गौतम) र म भक्तपुरको गठ्ठाघरस्थित आफ्नै घरबाट २०८१ वैशाख १० गते बिहान ७ बजे निस्कियौं, एफजेड–एसमा । म ड्राइभर, उनी पेसेन्जर । पहिले पहिले ‘लङ रुट’मा बाटोको बीचमा ड्राइभर फेरिन्थे अक्सर नाइट बसमा जो राजधानी काठमाडौंदेखि पूर्व वा पश्चिमको यात्रामा हुन्थे वा पूर्व वा पश्चिमबाट राजधानी प्रवेश गर्थे ।
तर कुम्भ स्नानका लागि पूर्वी नेपाल अर्थात् कोशी प्रदेशको सुनसरीस्थित चतराधाम–वराहक्षेत्रस्थित कोशी नदी पुग्दाको यो झन्डै साढे तीन सय किलोमिटर पहाडी यात्राको ड्राइभर भने म एक्लै । जाँदा मात्र होइन, फर्कंदाको चालक पनि म नै ।
गठ्ठाघरबाट तीन किलोमिटर के हुइँकिएथ्यौं, जगातिमा जाम । जसरी जापान सरकारले अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर–सूर्यविनायक सडक खण्ड ६ लेनको बनाएको थियो, त्यसरी नै धुलिखेलसम्म सडक बिस्तारको काम भइरहेकाले सवारीसाधनको ‘फ्लो’ ‘ब्रेक’ भएको रहेछ । दुई सय मिटर उक्त बिग्रिएको सडक साँच्चै सकसपूर्ण रहेछ । त्यसपछि धुलिखेल पुगुञ्जेल यस्ता समस्याको सात-आठ ठाउँमै सामना गर्यौं । खाल्टाखुल्टीसँगै कतै धुलो कतै हिलो ।
सडक, सास्ती र सरकारी सोच
आजसम्मको इतिहासले भन्छ– नेपालमा कहीँ, कहिल्यै र कतै पनि आनन्दले राम्रो सडक हिँड्न पाइँदैन । एकातिर बन्छ, अर्कोतिर भत्किरहेकै हुन्छ । त्यो बन्छ, छेवैमा अर्कोतिर भत्काउन भ्याइसक्छ सरकार । संघीय सरकारले काम सक्छ, स्थानीय सरकार भत्काउन थाल्छ वा सडक विभागले भत्काएर महिनौं, वर्षौं लगाएर सक्छ, त्यसमा सवारी चालक र सर्वसाधारणले हरेक दिन अनेक सास्ती खेपेर बल्ल सन्तोषको सास फेर्न थालेका हुन्छन्, केही दिन, साता वा महिनामै फेरि या नेपाल टेलिकमले खन्न थाल्छ वा नेपाल विद्युत् प्राधिकरणले वा खानेपानी संस्थानले । योजनाविहीन सरकारी कार्यशैलीले सबैलाई सास्ती । भौतिकदेखि वातावरणीय समस्यासम्म । सरकारी सोच र योजना देखेर जनता यसै वाक्कदिक्क भएका होइनन् ।
गठ्ठाघर–धुलिखेल मोटरसाइकलमा ४५ मिनेटमा पार गर्थें, १० गते सोमबार दोब्बर समय लाग्यो– डेढ घण्टा । अब भने पहाडी यात्रा सुरु भयो । सडक आसपास हरियाली अनि जापान सरकारले बनाइदिएको दुई लेनको बीपी हाइवे । हाइवेमा बीएस ६ इन्जिनको एफजेड–एस हुइँकिन थाल्यो । मन पनि हरर भयो । नहोस् पनि किन ? झन्डै सय किलोमिटर अर्थात् सिन्धुलीको गढी, माढी हुँदै भिमानसम्म जङ्गलैजङ्गल, ठाउँ ठाउँमा पर्ने बजारबाहेक ।
प्लेन उड्दा मोटरसाइकल उपहार !
पहिलो पटक प्लेनमा उडें, काठमाडौंदेखि विराटनगर– २०६२ वैशाख २३ को माइलो भाइ बालकृष्णको विवाहका लागि । सँगै अर्को विशेष धार्मिक–सांस्कृतिक कृत्य हुँदै थियो झापा गौरादह–७, हाँसखोरास्थित घरमै– हजुरबुबा पुष्पलालको ८४ । श्रीमद्भागवद् सप्ताह पुराण पनि लाग्दै थियो । अन्नपूर्ण पोस्ट दैनिकमा आबद्ध भएको वर्ष दिन पनि भएको थिएन । रिपोर्टिङ डिपार्टमेन्टमा थिएँ । चिफ रिपोर्टर उज्ज्वल झा दाइले ‘लास्ट आवर’मा बिदा दिएकाले प्लेनको यात्रा गर्नु परेको थियो । त्यसअघि धेरै पटक प्रयास गर्दा पनि हवाई–यात्रा जुरेको थिएन । मावली दाजु राजेन्द्र पराजुली जो कृषि विकास बैंक, काठमाडौंमा सुब्बा हुनुहुन्थ्यो, उहाँ पनि जाने भनेपछि उहाँले नै कस्मिक एयरमा टिकट काट्नु भो ।
एयरपोर्ट पुगेपछि थाहा भयो डेढ सय तिरेर ‘बोर्डिङ पास’ लिनुपर्ने रहेछ । टिकटदेखि बोर्डिङ पाससम्मको सबै रकम दाइले नै तिर्नुभयो काठमाडौं फर्किएपछि दिने सर्तमा । ११० सिटे त्यो ठुलो कस्मिकमा हरेक फ्लाइटमा मोटरसाइकल चिठ्ठा राखेको थियो । एक दिनअघि अफिसमा मैले ठट्टा गर्दै सहकर्मीसँग भनेको थिएँ– प्लेनमा कस्मिक यिङयाङ (मोटरसाइकल) मैलाई पर्न बेर छैन । प्लेनमा बसेपछि दाइलाई पनि भनें, सबै लगानी तपाईंको छ, मोटरसाइकल मलाई पर्छ त्यति बेला दाबी नगर्नु है । कस्मिक एयर राजधानी छोडेर विराटनगरतर्फ उड्यो ।
नभन्दै सानी नानीले चिठ्ठा तानिन् र कसैले त्यसमा अंकित ११ वटा अंक क्रमशः भन्दै गयो । भरिभराउ प्लेनका यात्रु हामी सबैलाई आफूलाई परोस् भनी कामना गरिरहेथ्यौं । अंक घट्दै जाँदा आश हराउँदै जानेको संख्या बढ्यो, बाँकीलाई आशा थपियो । अन्तिमतिर एउटा अंकले निर्णय गर्ने समय आयो, त्यहाँसम्म दाजुभाइ दुवैको सम्भावना थियो । अन्ततः कस्मिक एयरवेजको त्यो मोटरसाइकल मैले पाएको घोषणा गरियो । ९० हजार पर्ने त्यो कस्मिक यिङयाङ मोटरसाइकल काठमाडौं फर्किएपछि १५ हजार ‘ट्याक्स’ तिरेर लिएँ, दाजुले हालेको टिकटको रकम पनि तिरें ।
कस्मिक यिङयाङ, साइन, डिस्कोभर र एफजेड–एस भी–थ्री
एक दसक चढें, कस्मिक यिङयाङ । २० हजारमा बेचें र होण्डाको साइन किनें । त्यो पनि झन्डै ७ वर्ष जति कुदाएँ । अनि बजाजको डिस्कोभर । झन्डै दुई वर्ष चलाएपछि फेर्न चाहें । धनकुटा क्याम्पसमा बिएड पढ्दा मित्र हरि दंगालले भतिज भन्नुहुन्थ्यो, रुद्र दंगाललाई जो आईएड पढ्नुहुन्थ्यो त्यसबेला । जसको ललितपुर महालक्ष्मीस्थानमा मोटरसाइकल ग्यारेज छ ।
साइन दिएर डिस्कोभर लिँदा सुन दिएर चाँदी किन्नुभो भन्नुभएथ्यो जसले । उहाँकै सल्लाहले अहिले एफजेड–एस भी–थ्री लिएको थिएँ डेढ वर्षअघि । नभन्दै बल्ल ‘मोटरसाइकल’को खास स्वाद पाउँदै छु । सजिलो र गजबको बाइक भएरै यति लामो यात्रामा निस्कने सोच बनाएको थिएँ । हुन त साइन किनेपछि लमजुङ बेसीसरहसम्म पुग्यौं हामी । त्यसपछि खोटाङको हलेसी महादेव पनि पुर्यायो । डिस्कोभरले दोलखाको कालिञ्चोक दर्शन गरायो । त्यसपछि दोलखाको जिरी पनि पुर्यायो । अनि चीनको सिमाना खासाछेउको तातोपानी, बाह्रबिसे पनि पुर्यायो ।
डेट एक्स्पायर लाइसेन्स र लङ रुटको यात्रा
धुलिखेल कटेर नमोबुद्ध अगाडि ट्राफिक प्रहरीले सबै सवारीसाधन ‘चेक’ गर्दै थियो । उपत्यकामा चाहिँ अक्सर ‘चेकिङ’हरूमा मलाई रोक्दैन थियो, त्यहाँ रोक्यो सायद लङ रुट भएर । ब्लू बुक हालै अपडेट गरेको थिएँ । ट्राफिकले लाइसेन्स हेरेपछि चिट बोक्नुभएको छ भन्यो । म अलमलिएँ । त्यति बेलासम्म मलाई लाइसेन्सको म्याद सकिएर चिटको कुरो गरेको भन्ने नै लागेन । उसले ब्लू बुक र लाइसेन्स दिँदै यत्ति भन्यो– काठमाडौं फर्किएपछि ‘रिन्यु’ गर्नुहोस् है ।
अलि पर गएर हेरेको त लाइसेन्सको म्याद त २०२३ अप्रिलमै सकिएको रहेछ । ठ्याक्कै वर्ष दिन पुगेछ । दुई दिन राजमार्गको यात्रा छ । चेकिङ ठाउँठाउँमा भइरहन्छन् । अब के भन्ने ट्राफिक प्रहरीहरूलाई ? मन ढक्क फुल्यो । जे त होला…! जसरी इच्छाशक्तिले ५० टेकेको मैले दुई दिन पहाडी यो लङ रुटमा मोटरसाइकलको यात्रा पूरा गरेर कुम्भ स्नान गर्छु-गर्छौं भनेर अघि बढें, त्यही शक्ति मनमा आयो र सम्भावित समस्या चिर्दै गियर बढाउन थालें । कार्यव्यस्तताले यस्ता विषयको निगरानी नपुर्याएकोमा म मनमनै चिन्तित भएँ अनि सचेत हुने प्रण गरें ।
पुरानो स्वरूपमा सिन्धुलीगढी
सिन्धुलीगढी लेखेको प्रवेशद्वार पुर्याएपछि अचानक त्यसतर्फ मोडें । सङ्गीलाई ‘सरप्राइज’ भयो । केही मिनेट हिँड्दा पनि सुनसान देखेपछि उनले भनिन्, ‘यो अनकन्टार जङ्गलमा कोही छैनन् । माथि त मान्छे हुन्छन् नि ?’ अन्दाजी हुन्छन् नि भनें । पहिलो पटक बीपी हाइवे सुरु हुँदा जाइकाले पत्रकारको टोलीलाई यो बाटो देखाउन भ्रमण गराउँदा सिन्धुलीगढी पुग्ने मौका पाएको थिएँ मैले । उनी त पहिलो पटक जाँदै थिइन् । गढीमा विकास निर्माण भएको समाचार अन्नपूर्ण पोस्टमा सिन्धुली संवाददाता राजन गाउँलेले लेखेको थाहा त थियो तर स्मरणबाट हराएको रहेछ । त्यहाँ पुग्दा पो थाहा भयो । ११० रुपैयाँ गोटाले दुई वटा टिकट किनिन् उनले र भित्र पस्यौं । कहाँ त्यो बेलाको गढी कहाँ अहिलेको गढी ! आकाश–जमिन फरक पाएँ ।
‘सिन्धुली नेपालको थुप्रै ऐतिहासिक सम्पदा भएको ऐतिहासिक स्थल हो । भनिन्छ, संसारकै ठूलाठूला साम्राज्यवादी नियतका लडाइँहरूमा विरलै मात्र हार खाएको बेलायती नेतृत्वको फौजले यही जिल्लाको सिन्धुलीगढीमा नराम्रोसँग पराजय भोग्नुपरेको थियो । सिन्धुलीगढी सबै नेपालीहरूको स्वाभिमानको गाथा हो, वीरताको कथा हो, राष्ट्रभक्ति र उत्सर्ग गरिएको पवित्र स्थान हो ।’ सागरकुमार ढकालले ‘सिन्धुलीगढीको त्यो असाधारण लडाइँ’ शीर्षकमा लेखेका छन्, ‘सिन्धुलीगढी भएको ठाउँ परापूर्व कालदेखि नै काठमाडौं जाने मुख्य नाकाको रूपमा थियो । यही नाका भएर यक्ष मल्ल, शिवसिं मल्ल, मकवानी सेन राजाहरूले विभिन्न लडाइँहरू लडेका थिए । गढी दरबार भव्य, दुई तले, सेतो रङको र महाभारतको अलिकति समथर भागमा रहेको कौसी र बुर्जाहरू तथा झ्यालहरूले भरिभराउ थियो । बुइँगलमा भएको सहित गणना गर्दा दरबारमा ३१ वटा कोठा थिए । स्नानघर र शौचालय छुट्टाछट्टै थिए । दरबारको वरपर पालेपहरा घरहरू पनि थिए । सिन्धुलीगढीमा राणाकालपूर्व पनि सेनाको छाउनी थियो । कप्तान किनलोकले आफ्नो दैनन्दिनीमा सिन्धुलीगढी क्षेत्रमा एउटा राम्रो बंगला थियो भनेका छन् । राणाकालमा यो गढीक्षेत्र राजनीतिक तथा आर्थिक रूपले पनि बढी महत्त्व राख्ने स्थान बनेको थियो ।’
नयाँ स्वरूपमा सिन्धुलीगढी
तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए युद्ध संग्रहालयको । बनिसकेपछि सिन्धुलीगढीको नयाँ स्वरूप तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् २०७८ साउन १३ मा । यसका लागि चार करोड ५० लाख खर्च गरिएको छ । इष्ट इन्डिया कम्पनीका सेनालाई पराजित गर्न सफल भएका थिए बहादुर योद्धा गोर्खाली सेना । यसरी ऐतिहासिक झल्को दिने काम भएको रहेछ गढीमा । जुन नेपालकै पहिलो युद्ध संग्रहालय बनेको छ । नेपाल एकीकरणका समयमा आधुनिक हातहतियारसहित कब्जा गर्न आएका अंग्रेज फौजलाई घरेलु हातहतियार, गोला, तोप, बारुद आदिका साथमा बल र विवेकले परास्त गरेका थिए गोर्खाली सेनाले त्यस बेला । यो घटना १८२४ असोज १५ गतेको थियो । कम्पनीका कप्तान किनलोकको नेतृत्वमा दुई हजार चार सय अंग्रेज फौज आएकोमा बडामहाराजाधिराज पृथ्वीनारायण शाह फौजका वंशु गुरुङको नेतृत्वमा नेपाली फौजले लडेका थिए ।
सिन्धुलीगढी घुमेर हेर्दा
‘सिन्धुलीगढी नि घुमेर हेर्दा सुन्तली मै कत्तिमा राम्रो दरबार मार्यो नि मायाले मार्यो…’ कृष्णविक्रम थापाको चर्चित गीत हो यो जसले सिन्धुलीगढीको महत्त्व विशेषतः रेडियो नेपालमा बजिरहँदा आमनेपालीलाई बुझाइरहेको थियो । सिन्धुलीगढी, सिन्धुली जिल्लाको एउटा पहाडी टाकुरो जहाँ वरिपरि जङ्गल छ । तर नेपालकै इतिहास बोकेको ठाउँ हो यो । नेपाल एकीकरणको यात्रामा नेपालले २५२औं विजयोत्सव मनाएको थियो त्यस बेला । २०२० सालअघि सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीगढीमै रहेको इतिहास पाइन्छ । उक्त समयदेखि नेपाली सेना, प्रहरीले सुरक्षा दिएको भए पनि २०५२ सालमा तत्कालीन माओवादीले उक्त गढीमा रहेको प्रहरी चौकीमाथि आक्रमण ग¥यो र सशस्त्र जनयुद्धको उद्घोष गरेको थियो । दसकौंसम्म उपेक्षामा जीर्ण शरीर बोकेर घिटिक घिटिक बाँचिरहेको सिन्धुलीगढीलाई नयाँ स्वरूपमा देख्दा त सबैको मन रमाउने गरी नै भएको पायौं । लाग्यो– बल्ल पो सिन्धुलीगढी नि घुमेर हेर्दा… गाउन योग्य भएछ । त्यहाँ भएको मामा (आमाको कान्छोमामाको छोरा) नेत्र सुवेदी र माइजू गीता सिम्खडासँगको भेट अविस्मरणीय बन्यो ।
बीपीपछि मदन भण्डारी राजमार्गमा सररर
जे हुन्छ राम्रैका लागि हुन्छ भने झैं भयो, अर्को योजना विफल हुँदा । सुरुमै भनेको थिएँ, समयभन्दा अघि र भाग्यभन्दा बढी केही पाइँदैन । गढीबाट अघि बढेपछि चियाबारीमा नेपालको एउटा ज्योतिर्लिङ्ग त्रयमबकेश्वरको दर्शन गर्ने सोच थियो । स्थानीयले यहाँभन्दा ग्रीनल्याण्ड चोकबाट जाँदा सहज हुने र उक्त चोक एक किलोमिटर पर पर्ने बताए । अघि हिँडेको मान्छे पछि फर्कन मन लागेन किनकि गन्तव्य पुग्न आधा मात्र यात्रा गर्दै थियौं । सदरमुकाम सिन्धुलीमाढी हुँदै विमान कटेपछि देब्रे मोडियौं– जहाँ मदन भण्डारी राजमार्ग नयाँ स्वरूपमा हामीलाई स्वागत गर्न हतारिएको थियो ।
पूर्व–पश्चिमको महेन्द्र राजमार्गपछि हुलाकी राजमार्ग अनि मध्यपहाडी राजमार्गले नेपाललाई पूर्व–पश्चिम जोडेका छन् । पछिल्ला दुवै राजमार्ग निर्माणको अन्तिम चरणमा छन् । चौथो राजमार्ग हो, मदन भण्डारी जुन निर्माणाधीन चरणमै छ । सडक सञ्जालका दृष्टिले पूर्व–पश्चिम जोड्ने चारवटा राजमार्ग बनाएको छ नेपालले । सम्भवतः कुनै दिन मध्य पहाडीभन्दा उत्तर हिमाली राजमार्ग बन्नेछ, आशा गरौं । र बन्नेछ– पूर्व–पश्चिम रेलमार्ग । यो त सुरु भइसकेको छ त्यसैले पक्कै चाँडै सम्पन्न हुने नै छ । अब भने भौतिक पूर्वाधारअन्तर्गत सडकले एक हदसम्म नेपालको विकासको जग खनेको छ भन्दा दुईमत नहोला ।
मदन भण्डारी राजमार्गको चतरा–विमान खण्ड २०८० को दसैंमा घर झापा गौरादहबाट मित्र सीताराम भट्टराईको चार पाङ्ग्रेमा काठमाडौं फर्किदा पहिलो यात्रा भएको थियो । जीवनसङ्गीको पनि यसअघि भारतको हरिद्वार जाँदा हाइसमा एक महिनाअघि भएको थियो । अब भने लगभग सम्म अनि नयाँ सडकमा खुला यात्रामा पुगेका थियौं हामी । बिहानको चिसो अनि अहिलेको गर्मी । त्यो पहाडी यात्रा अनि अबको भित्री मधेसको यात्रा । त्यसो त अझै पनि घुमाउरा सडक छँदै थिए । बीपी राजमार्ग हेरेर मदन भण्डारी राजमार्ग त के उकालो–ओरालो भन्नु र ! जे होस्, हाम्रो यो यात्रा दुई शीर्षस्थ नेताका नामबाट बनेका राजमार्गमा सीमित रह्यो भन्दा पनि हुन्छ ।
भी–थ्रीले डेढ वर्षको अवधिमा पहिलो पटक खुलेर हुइँकिने अवसर पाएको थियो । काठमाडौं उपत्यकाभित्र ५० कट्यो कि ट्राफिकले चिट काटिहाल्छ । तै पनि अन्नपूर्ण पोस्टबाट काम सकेर तीनकुने–गठ्ठाघरको यात्रामा राति अबेरको यात्रामा भने ७० सम्मको स्पिड त चलिहाल्छ । भण्डारी राजमार्गमा फाट्टफुट्ट माइक्रोबाहेक सवारीसाधनलाई यात्रा अनुमति छैन, त्यसैले बाटो खुला । भी–थ्रीले ७५, ८०, ८५ हुँदै ९० को स्पिड समात्थ्यो बेलाबखत । उदयपुर नपुग्दै तर सिन्धुली नसकिँदैको खण्डमा एउटा कार र मेरो बाइकबीच नजानिँदो प्रतिस्पर्धा चलेथ्यो, कहिले ऊ अघि कहिले म ।
चतरा, आरती र जगद्गुरु
उदयपुरको रामपुरमा ठुली ठुलीआमाकी माइली छोरी शारदा दिदीको बसोबास । पसलमा भेट्न पुग्यौं । पहिलेको ठाउँबाट अलि पर सारेको रहेछ, भाञ्जा भेटिए । दिदी विराटनगर जानुभएको रहेछ । फोनवार्तामा भेट नभएको भन्दै छुक्छुकाउनु भो । १५ मिनेटपछि चतरा लाग्दा झमक्कै भएथ्यो । खुर्कोट पुगेपछि कृष्ण खतिवडालाई फोन गरेको थिएँ– हामी कुम्भ स्नानलाई आउँदैछौं । नेपालमा शास्त्रीय प्रमाण जुटाएर कुम्भ मेला लगाउने जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यका लागि नेपाल सरकारले सुरक्षाकर्मीका रूपमा कृष्ण भाइलाई खटाएको थियो । सेवा निवृत्तपछि पनि उहाँ हालसम्म जगद्गुरुकै सेवामा समर्पित हुनुहुन्छ । कृष्ण भाइले बेलाबेला फोन गरेर सोध्नुहुन्थ्यो– कहाँ आइपुग्नु भयो ?
रातले दिनलाई खर्लप्प निलिसकेको थियो, त्यसैले छामछाम छुमछुम गर्दै चतराको कुम्भ मेलामा पुग्यौं । कृष्ण भाइ अयोध्याबाट आउने गुरुलाई लिन विराटनगर हुँदै जोगवनी पुग्नुभएछ । उद्धव घिमिरे गुरुलाई भेट्नु भन्नुभो । त्यसअघि शम्भु निरौला गुरुसँग अचानक भेट भयो । उद्धव गुरुले आरती भेट्नुहुन्छ गइहाल्नू भनेपछि उतै लाग्यौं । हजारबढी सहभागी कौशिकी नदीतटमा भइरहेको कुम्भ–आरतीमा पुरुषोत्तम सापकोटा भेटिनुभयो । जगद्गुरुलाई भेट्न सम्भव भएन । आरतीमा रमाएर हामी भोजनतर्फ लाग्यौं । कुम्भस्नानमा आउने लाखौंलाई निःशुल्क भोजन ग्रहण गर्ने व्यवस्था रहेछ । मेरी गृहिणीलाई घरबाट हिँडेपछि जति दिन भए पनि भोजन चाहिन्न, फलफूल नै काफी । कुम्भप्रसाद लिएपछि जगद्गुरुलाई भेट्यौं ।
कुम्भमय अन्नपूर्ण र जगद्गुरुको सम्मान
मलाई सांस्कृतिक र आध्यात्मिक बनाउने काम अन्नपूर्ण पोस्ट दैनिकले गरेको भन्दा हुन्छ । २०६१ सालमा अन्नपूर्ण प्रवेश गर्दा पहिलो रिपोर्टिङ लोकगीतमा गरेको थिएँ जुन फिचर (आलेख) बनाउँदा लोकगायक कुमार बस्नेतसँग भेट्ने अवसर मिलेको थियो । त्यसपछि संस्कृति, सम्पदा आदि हुँदै विभिन्न क्षेत्रमा समाचार लेखें । खास बाटो विकास पत्रकारितामा बन्यो । साहित्य रुचिको क्षेत्र भएकाले आजसम्म पनि समाचार, आलेख र लेखमा कलम चलाइरहेकै छु ।
‘कुम्भका लागि सरकारलाई घच्घच्याउन काठमाडौं आइपुगेको छु, पत्रकारहरूले पनि सघाउनु पर्यो । आज शंखमुलस्थित मेरो (जगद्गुरु) आश्रममा भेटौं’, कुम्भअघि जगद्गुरु बालसन्तले फोन गरेर भन्नुभएथ्यो । दिउँसो प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा कुम्भका लागि पत्रकार सम्मेलन भएथ्यो, जान भ्याएको थिइनँ । शंखमूल पुग्दा देशका नाम चलेका सम्पादक तहका दर्जनको संख्यामा जगद्गुरुसँग भलाकुसारी गरिरहेको पाएँ । म पनि मिसिएको थिएँ । त्यस बेला उहाँले हामी सबै पत्रकारलाई भन्नुभएथ्यो– ‘म ता तपाईंहरूको पत्रकारिता धेरै बुझ्दिनँ तर राजनीतिका कुरा पहिलो पेजमा मेन न्युज बनाउनु हुन्छ अनि धर्म, संस्कृति र अध्यात्मका कुरा पछाडि, भित्र अनि कसैले देख्ला कि भनेर सानो बनाएर छाप्नुहुन्छ । देशको गर्व गर्ने यत्रो कुम्भ लाग्दै छ, पहिलो पृष्ठमा छाप्दा के बिग्रन्छ ? पूरै पेजमा ठुल्ठुला फोटा राखेर आम नेपालीलाई यसबारे विस्तृत जानकारी दिए के हुन्छ ?’
सोही बेलाको जगद्गुरुसँगको कुम्भबारेको सामग्री २०८१ वैशाख १ गते शनिवार अन्नपूर्ण पोस्टको साप्ताहिक परिशिष्टाङ्क ‘फुर्सद’को आवरण कथामा पूरै पृष्ठ लेखें । १० गते राति १० बजेको कुम्भ मेलामा जगद्गुरुलाई सोही पत्रिका कोसेलीस्वरूप हात पारिदिएँ किनकि त्यस बेलासम्म उहाँले पत्रिका हेर्न पाउनुभएकै थिएन । जब फुर्सदमा ‘महाकुम्भको रामकहानी’ शीर्षकमा पूरै पृष्ठ देख्नुभयो, सम्भवतः जगद्गुरुले शंखमूलमा राखेको जिज्ञासा मेटियो । सयौंको सहभागिता भइरहने कार्यक्रम स्थलमा स्टेजबाट जगद्गुरुले बोलाउनु भो र सबैलाई त्यो खुसी सुनाउँदै सम्मान गर्नुभयो । हुन त राजकुमार दिक्पाल अन्नपूर्ण पोस्टको बुधबारे परिशिष्टाङ्क ‘शैली’को संयोजक हुँदा उहाँकै योजनामुताबिक मैले शैलीको मिडपेज अर्थात् आठमध्ये बीचका दुई पृष्ठ पूरै ‘जगद्गुरुको रामकहानी’ शीर्षकमा आलेख लेखेको थिएँ । फ्लेक्समा प्रिन्ट गरेर जगद्गुरुको रामकहानी शंखमूल आश्रम र चतरा आश्रममा पनि सबैले देख्ने गरी टाँगेको रहेछ ।
कुम्भ स्नानपछि काठमाडौं फर्किएपछि प्रधान सम्पादक अखण्ड भण्डारीले भन्नुभयो– १२ वर्षे महाकुम्भको मेन न्युज बनाउनु पर्यो । त्यसअघि जिल्ला ब्यूरो प्रमुख रामकला खड्काले कुम्भको समाचार लेख्ने हैन ? भनिसक्नु भएथ्यो । वैशाख २२ गते शनिवार अन्नपूर्ण पोस्ट दैनिकको मेन न्युज बन्यो– ‘महाकुम्भ महामेला’ । अनि दोस्रो पृष्ठ पूरै कुम्भमय भयो गोपीकृष्ण ढुंगाना र सुनसरी संवाददाता रत्नप्रसाद आचार्यको बाइलाइनमा ‘महाकुम्भ महास्नान’ शीर्षकमा कुम्भ मेलाका केही दृष्यसहित । अब भने जगद्गुरुले कम्तीमा मसँग समाचारको स्थानबारे गुनासो गर्नु हुन्न कि ?
वराहक्षेत्र र कुम्भस्नान
पहिलो पटक वराहक्षेत्र एसएलसी दिनुअघि सम्भवतः कक्षा १० पढ्दा हुनुपर्छ २०४६ सालतिर पुगेको थिएँ । छिमेकी बडाबा गौरी तिम्सिनाको नेतृत्वमा हामी केही त्यहाँ पुगेथ्यौं । उहाँकी छोरी गीता र छोरा राजेन्द्र मेरा स्कुले साथी । गीता पनि थिइन् त्यो यात्रामा, बाँकी आफूभन्दा ठूला मान्ने गन्ने भएकाले कुरा गर्न अप्ठेरो उहाँहरूसँग । मध्यरातमा वराहक्षेत्रको एउटा होटलमा आगलागी भयो रे ! भन्ने हल्ला आयो । होटलबाट सबै हत्तपत्त बाहिर निस्केथ्यौं अन्धकारमा । बिजुली पुगेकै थिएन सायद । नयाँ ठाउँ भएकाले पनि सबै अतालिएका थियौं । सबै मिलेर तल कोशीको पानीले निभाएछन् । बल्ल ढुक्कले सुतेका थियौं ।
के थाहा ? त्यही वराह क्षेत्र र कोशी (कौशिकी) नदी नेपालका हजारौं ठाउँमध्ये कुम्भका लागि योग्य ठाउँ हो भनेर ! जगद्गुरुले शास्त्रीय प्रमाण जुटाएर २०५९ सालदेखि यही क्षेत्रमा ६-६ वर्षमा अर्धकुम्भ र १२-१२ वर्षमा पूर्णकुम्भ अर्थात् महाकुम्भ लगाउन थाल्नुभयो । २०८०–८१ को यो पूर्णकुम्भ हो । यसअघि सारा नेपाली भारतका प्रयाग, हरिद्वार, उज्जैन र नासिक पुग्थे । उता अमृतका थोपा खसेका थिए भने यता नेपालमा अमृतको डल्लो नै खसेको शास्त्रीय प्रमाण जगद्गुरु बालसन्तले दिएपछि नेपालमा कुम्भ सुरु भएको थियो । जगद्गुरु बालसन्तले मलाई भारतको प्रयागमा भएको कुम्भ लैजानु भएथ्यो । त्यसबेला थाहा पाएको थिएँ– भारत सरकारले गंगा, जमुना र सरस्वती नदी किनारमा भएको त्यस कुम्भमा २२ सय करोड भारतीय रुपैयाँ खर्च गरेको समाचार सार्वजनिक भएथ्यो ।
प्रयाग पुग्दा जगद्गुरुलाई गरेको सम्मान देखेर म छक्क परेको थिएँ । नेपालमा भारतीय यस्ता गुरुहरू आउँदा त्यस्तो सम्मान गर्न नपाउँदा-नसक्दा जगद्गुरु खिन्न हुनुहुन्छ मनमनै, त्यो भाषा म महसुस गर्छु बेलाबखत । यो कुम्भमा वैशाख १० गते अयोध्याका गुरु आउँदा पनि भनेजस्तो सम्मान दिन सम्भव भएको थिएन, मैले बुझें । लगभग एक्लो प्रयासले कुम्भ सञ्चालन गर्नुपर्दाको पीडालाई पनि मैले यसपटक पनि अनुभूति गरें । सरकारले जगद्गुरुको मान्यता स्विकारिसकेको र देशको गर्वको विषय कुम्भको विषयमा सरकारी योजना र प्रयास कमजोर भएको हो कि ?
जगद्गुरुको सम्मान ग्रहण र अयोध्याका गुरुलाई स्वागत गरेपछि मध्यरातमा आराम गर्न पायौं । चार घण्टापछि चार बजे उठेर झन्डै ९ किलोमिटर उबडखाबड बाटो पार गर्दै पाँच बजे वराहक्षेत्र पुग्यौं । महास्नानको दिन परेकाले भिडभाड थियो नै । स्नानपछि मठमन्दिरको दर्शन र पूजाआजा सक्यौं । २०४५ सालको पुरानो तर अविस्मरणीय घटना सम्झँदै वराह क्षेत्र बजार घुम्यौं । तर अहिले त होटल पनि धेरै राम्रा । बजार पनि विकसित । ७ बजे पुनः चतराधाम आएका हामी पुनः राजधानीका लागि बाटो लाग्यौं ।
त्रयमबकेश्वर ज्योतिर्लिङ्गको दर्शन
पुनः उही मदन भण्डारी र बीपी राजमार्ग हुँदै राजधानी फर्कन थाल्यौं । हिजो सोचेको यात्रा सम्झियौं । कृष्ण खतिवडाले भनेबमोजिम त्रयमबकेश्वर ज्योतिर्लिङ्ग मन्दिर व्यवस्थापन समिति अध्यक्ष शंकर मगरलाई सिन्धुली आएपछि चियाबारीमा भेट्यौं । पहाडी बाटो अन्तै पुगेछौं, घनाजंगलको बीच पुग्यौं । बाटोमा कोही भेटिएनन्, बाटो झुक्किनु स्वाभाविक नै हो । सोधखोज गर्दै मन्दिर पुग्यौं । ज्योतिर्लिङ्ग जाने बाटो लेखेका साइनबोर्ड ठाउँठाउँमा राख्न सुझाव दियौं शंकरजीलाई । त्यहाँ पुग्ने बाटो खन्दै रहेछन् स्थानीय । सबैलाई धन्यवाद दिँदै कुम्भको प्रसाद बाँड्दै कुम्भ स्नानको निम्तो गर्यौं ।
मन्दिरमा पूजाआजा गरेपछि पुजारी अर्जुन थापामगर आइपुग्नुभयो । उहाँले आठ वर्षअघि ५० हजार पर्ने पाँच धुर जग्गा त्रयमबकेश्वरका नाममा अर्पण गर्नुभएको रहेछ । जगद्गुरुले करिब एक कट्ठा जग्गा अर्जुनसँगै खरिद गर्नुभएको रहेछ । अध्यक्ष शंकरका अनुसार आसपासको पाँच कट्ठा जग्गा मन्दिरको नाममा खरिद गर्ने प्रक्रिया चलिरहेको छ । महाकाली नदीतटमा ७५ जिल्ला समेट्दै (पछि ७७ जिल्ला) ७५ फिट अग्लो अष्ट धातुको नेपाल आमाको पूर्ण कदको मूर्ति बनाउने क्रममा जगद्गुरु बालसन्तले २०७२ सालतिर यो ज्योतिर्लिङ्ग पत्ता लगाउनु भएको थियो । यो दसौं ज्योतिर्लिङ्ग हो ।
यसअघि ज्योतिर्लिङ्गको दर्शन र पूजाका लागि नेपाली भारतका विभिन्न ठाउँ जाने गरेका थिए । मेची–महाकाली पैदल यात्राका क्रममा जगद्गुरुले सबै १२ ज्योतिर्लिङ्ग नेपालमै रहेको तथ्य फेला पारेपछि निरन्तर नित्यपूजा चलिरहेको छ । तर सरकारले यी स्थानका लागि भौतिक पूर्वाधारमा खर्च गरेको छैन । ‘माल पाएर चाल नपाएको’ अवस्था छ, ज्योतिर्लिंगहरूको सन्दर्भमा । हुनतः नेपालमै १२ ज्योतिर्लिङ्ग शीर्षकमा मैले अन्नपूर्ण पोस्ट दैनिकमा पहिलो पृष्ठमै ‘एंकर न्युज’ लेखेको थिएँ । सरकारले थाहा त पक्कै पायो नै तर कानमा तेल हालेर सुत्नेलाई के भन्नू ? के गर्नू ? समाचार लेखेपछि पुगेको यो ज्योतिर्लिङ्गअघि महाकालीको दार्चुलामा पर्ने मल्लिकार्जुन ज्योतिर्लिङ्ग पनि पुगेको थिएँ– दार्चुलामा अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका लागि हाल अमेरिका न्यूयोर्क बस्ने दार्चुलाका किसनसिंह धामीले पुर्याउँदा ।
कुम्भस्नान र ज्योतिर्लिङ्गको दर्शन दुवै पाएपछि हामी काठमाडौंतिर हुइँकियौं पुनः एफजेड एस भी–थ्रीमा । पत्रकारिताको भाषामा जहाँबाट समाचार लेखिन्छ जुन मितिमा त्यसलाई डेडलाइन भनिन्छ । यो संस्मरण पत्रकारिताको भाषामा भन्नुपर्दा महाकुम्भ स्नानको सन्दर्भमा डेडलाइन वराहक्षेत्र हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।