यात्रा त्यस्तो व्यक्तिले गर्नुपर्दछ — जसले दुःखलाई पनि सुखमा बदल्न सकोस्, असह्य पीडालाई पनि सहनशीलताको कसीले भित्रभित्रै मेटाइदिन सकोस्, लडेकोलाई उठाउन सकोस्, जस्तोसुकै अप्ठ्यारोलाई सप्ठ्यारोमा परिणत गरिदिन सकोस्, सहयात्रीको क्षुधा र प्यासलाई आफैमा समीकरण गरिदिन सकोस्, अर्काको व्यथा र क्लेशमा तदनुकूल अनुभूति मिसाउन सकोस् ।
हो, वास्तवमा जति दुःख र पीडा सहेर पनि हाँस्न सक्ने, आपत् विपत्मा साथ दिन सक्ने यात्री साथमा हुने हो भने यात्राको रौनक बेग्लै हुन्छ । थकित र गलित भएको यात्री पनि जुरुक्क उठेर लम्किन थाल्छ । साँच्चै नै हामीले सामूहिक यात्राको कल्पना गर्दछौँ भने सुनौलो अनुभूति सँगाल्ने प्रयास गर्नु अन्यथा हुँदा पनि होइन ।
त्यसै भएर त तम्सिएको थिएँ म पदयात्रा गर्न ।
स्रष्टा पदयात्राका साथीहरूसँग सहयात्रा गर्ने विगत वर्षहरू देखिको प्रबल चाहना हुँदाहुँदै पनि मेरा लागि परिस्थिति अनुकूल हुन सकेको थिएन । यात्रासंयोजक शीतल गिरीले त मलाई बोलाउँदा बोलाउँदा थाकेर बोलाउनै छाडेका थिए । प्रतीक घिमिरेले नसम्झेको भए यसपाला पनि म सहभागी हुनसक्ने थिइनँ ।
यद्यपि काठमाडौँ वरिपरिका डाँडाहरू मेरा लागि नौला थिएनन् । सबै चुली म चढिसकेको थिएँ । यति मात्र होइन, भञ्ज्याङहरु छिचोल्दै म ककनी पुगेको थिएँ । भीमढुङ्गा हुँदै दहचोक उक्लेको थिएँ । दुईवटा बाटो प्रयोग गरेर त्रिशूली पुगेको थिएँ । चन्द्रागिरिबाट ओर्लेर चित्लाङ पुगेको थिएँ । चोभार काटेर कुलेखानी पुगेको थिएँ । भट्टेडाँडा नाघेर कार्कीनेटा पुगेको थिएँ । नेपालथोक पुगेर कोशीमा पौडी खेलेको थिएँ । जिरी र मेलम्ची पुगेको थिएँ । मितेरी पुल तरेर खासा पुगेको थिएँ । नाला हुँदै नगरकोट उक्लेको थिएँ । मलाई साथ दिएका थिए— कुमार दाहाल, केशव शर्मा र बालकृष्ण शर्माले । एउटा सिङ्गो कृतिको जन्म भएको थियो— ‘बाह्रसूर्य : सोह्र फन्को ।’ २०६३/०६४ सालको कुरा ।
सोह्र वर्षको अन्तरालमा कति परिवर्तन भइसक्यो होला ! घुमेका तत्तत् स्थानहरूमध्ये केही स्थानहरूको त मैले दोहोर्याएर पनि यात्रा गरिसकेको छु । कतिपय स्थानको यात्रा गर्न बाँकी छ । यसैमध्येको एउटा यात्रा थियो— भीमढुङ्गा र इन्द्रदह (दहचोक) को यात्रा । सोचेँ, यात्राको पुनरावृत्ति किन नगरूँ ? त्यसै भएर मैले— त्यसदिनका दुईवटा साहित्यिक निम्ताहरू पनि छोडिदिएँ, पाँचतारे होटेलको भोजन पनि छोडिदिएँ र बिहान ८ बजे पुगेँ सीतापाइला । २०८० साल माघ ६ को दिन ।
मैले कल्पना गरेभन्दा अधिक स्रष्टाहरू भेला भएका थिए सीतापाइला प्रवेश गर्ने चक्रपथको मुहानमा । खुसी लागेको थियो मलाई— यात्रा गर्न मन पराउने साहित्यकारहरूको जमघट देखेर । तीमध्ये अधिकतर नवागन्तुक स्रष्टाहरूको बाहुल्य थियो । मैले सररर दृष्टि दौडाएँ— तीसपैँतीसको संख्यामा रहेका स्रष्टामध्ये मेरा लागि पचास प्रतिशत अपरिचित र झन्डै पचास प्रतिशत नारी स्रष्टा । म खुसी पनि भएँ— नारी लेखकहरू पनि बढे, नारीहरूले पनि घर छाड्ने स्वतन्त्रता पाए । खुलेर बोल्न सक्ने र साहित्यको माध्यमबाट मनका भावनाहरूलाई निःसङ्कोच अभिव्यक्त गर्न सक्ने वातावरण बनाए ।
सीतापाइलाबाट भीमढुङ्गातिर अभिमुख भएको साहित्यिक टोली— जब फस्कुचोक पुग्यो, त्यहीँ अलमलियो धेरैबेर । मैले बुझेँ, आजको पदयात्रा मार्गसँग परिचित मानिस कोही पनि छैन, न त नेतृत्वकर्ता नै छ । भएको भए उसले अगुवाइ गर्थ्यो र बुझ्नुपर्ने केही कुरा भए स्थानीय व्यक्तिबाट सहयोग लिन्थ्यो । मैले शारदा पराजुलीलाई सोधेँ र बुझेँ — यसै गरी चलिरहेको रहेछ सात वर्षदेखि यात्रा, यसैगरी पुगेको रहेछ अठहत्तरौँ शृङ्खला । कुनै वेला गन्तव्य पत्ता नलागेर बीचैबाट फर्केको रेकर्ड पनि रहेछ । कुनै बेला बाटो बिराएर एक ठाउँ जानुपर्नेमा अन्तै पुगेको अभिलेख पनि रहेछ । कुनै वेला गन्तव्यमा पुग्दापुग्दै दिन ढल्केर घर पुग्दा रातको बाह्र बजेको सम्झना पनि जीवित रहेछ । कुनै बेला खाने कुरा नपाएर भोकभोकै हिँडेको स्मृति विम्ब पनि ताजै रहेछ । कुनै बेला हिँड्नै नसकेर बाटैमा ढलेको प्रतिविम्ब पनि विद्यमान रहेछ ।
हुन त योजना बनाएर हिँड्नु यात्राको स्वभाव होइन । जहाँ योजना बनाइन्छ, त्यो यात्रा कृत्रिम हुन्छ । त्यस्तो यात्रा मौलिक पनि हुँदैन र पाठकका लागि रुचिकर पनि हुँदैन । त्यसैले बिनायोजना र बिनाउद्देश्य हुनुपर्छ यात्रा भन्छु म । मेरो विचारमा यस यात्राले पूर्ण सहमति त राख्दैन तर आंशिक सहमति राख्छ भन्ने अड्कल काट्छु म । किनकि यात्राका सहजकर्ताले यात्राको रूपरेखा त बनाएका छन् तर समयसँग अनुबन्धित छैन यात्रा ।
फस्कुचोक, क्षेत्री खत्री र खनालहरूको बाहुल्य भएको क्षेत्र रहेछ । एक जना खनाल थरका मानिसले हामीलाई यसबारे जानकारी गराए र हाम्रा लागि यात्रामार्ग पनि पहिल्याए— ‘तपाईंहरू सवारीसाधन चल्ने तल्लो बाटो जानुभन्दा माथिल्लो बाटो जानुस्, भीमढुङ्गाको नर्सरी भञ्ज्याङमा मिल्नुहुन्छ ।’
हामीले खनालको बोलीलाई सम्मान गर्यौँ ।
साँच्चिकै स्थानीयवासीका फाट्टफुट्ट चल्ने साधनबाहेक बाटो खुल्ला रहेछ— पदयात्राका लागि उपयुक्त । हामी कुनै वेला समूहमा कुनै वेला एकल भएर हिँडिरहेका छौँ । एक्लै हिँडिरहेको वेला म अभिरुचिपूर्वक दृश्यहरू हेर्छु । मेरो मनमा लाग्छ— म यसअघि नै यस ठाउँको यात्रा गरिसकेको छु । यी वृक्ष, यी मोड, यी घुम्ती, यी धारा र यी पहाडहरू मैले पहिले नै देखिसकेको छु । मेरो मन प्रफुल्लित हुन्छ, मैले नेपाल धेरै घुमिसकेछु, मैले पहाडमा उकाली ओरालीहरू धेरै हिँडिसकेछु ।
मेरा अगाडि जयन्ती गाउँ आएको छ, उमा गाउँ आएको छ र गिरी पुरी र बुढाथोकी बाहुल्य घट्टेगाउँ पनि आएको छ । हामीले आफ्नो परिचय दिएपछि श्याम ब. बुढाथोकीले त मुखै खोलेर भने— ‘यस्तो थाहा पाएको भए हामी माला लिएर उभिने थियौँ, खाजा खुवाउने थियौँ र आवश्यक परे भोजनको पनि व्यवस्था गर्ने थियौँ ।’ उनले हाम्रै समूहका एक जना साथीको फोन ठेगाना लिए र भने — ‘यहीँ माथिपट्टि पञ्चकन्या मन्दिर छ, त्यहाँ फागुनमा सप्ताह लगाउने योजना छ, त्यस वेला तपाईंलाई फोन गर्नेछु, तपाईंले पूरै यात्राटोलीलाई निम्ता पुर्याइदिनुहोला !’
वाह ! कस्तो माया प्रेम ! कस्तो आतिथ्य ! कस्तो स्वागत सत्कार गर्ने गार्हस्थ्य धर्म ! म भावातिरेक खुसी भएँ, मेरो मन पुलकित भयो । मेरो आत्मा बोल्यो— तिमीजस्ता मानिस गाउँ पाखाहरूमा भएर त ग्रामीण संस्कार मरेको छैन, मानवीय कुलधर्म जीवन्त बनेर बसेको छ ।
देउपुरी कुलभवन रहेछ त्यहीँ नजिकै, अर्थात् सन्यासीहरूको कुलभवन । शीतल गिरीले नाता जोडिहाले ‘पुरी’ थरका एक जना मानिससँग । दशनामीहरूको फरक संस्कार, फरक परम्परा । उनीहरूबीच केही विचार विमर्श भयो, गोत्रबारे फरक धारणा रह्यो शीतलको, सहमति बन्न सकेन ।
सहयात्रीहरू अगाडि बढेर सर्वेश्वर महादेव मन्दिरको प्राङ्गणमा घेरा हालेर बसेका रहेछन् । प्रथम चरणको कविता वाचन त्यहीँ गर्ने निर्णय भयो । चार चरणमा बाँडिएको रहेछ आजको कविता वाचन — चौतीस जनाको समूहलाई चार चरणमा विभाजन गर्दा प्रत्येक चरणमा आठ जनाले वाचन गर्न सक्ने सम्भावना देखियो । कविता वाचन पनि हुँदै गए, झोला झोलाबाट निस्केका परिकारहरू पनि बाँडिंदै गए । माघको घमाइलो दिनमा एउटा मन्दिरको खुल्ला प्राङ्गणमा घेराबन्दी गरी बसेर काव्य श्रवण गर्न पाउनु र सुस्वाद परिकारहरूले बुभुक्षा शान्त गर्न पाउनु पनि भाग्यकै खेल हो जस्तो लाग्यो मलाई ।
समयप्रति हामी सबैलाई चिन्ता छ
हामी विलम्ब नगरेर अगाडि बढ्छौँ ।
जलेश्वर महादेवको दर्शन गर्न पाउँछौ हामीले अलिकति अगाडि । बाटोको कुनामा पाँचवटा ढुङ्गे धाराबाट पानी झरिरहेको छ । महादेवको मन्दिरसँगै जलप्रपात भइरहेको कारण महादेवको नाम जलेश्वर महादेव ।
महादेवका नाम कति कति ! व्यक्तिले मन्दिर निर्माण गर्यो— व्यक्तिसँगै जोडिए महादेव । स्थान विशेषमा मन्दिर निर्माण गरियो, स्थानसँगै जडिए महादेव ! मेरो मथिङ्गलमा बारम्बार टक्कराइरहने नाम हो ठमेलेश्वर महादेव ! ठमेलमा स्थापित महादेव— ठमेलेश्वर महादेव । चतुर्मानद्वारा स्थापित महादेव— चतुरेश्वर महादेव ! टीकारामद्वारा स्थापित महादेव— टीकेश्वर महादेव । यसरी स्थापना गरिएका महादेवहरू गणना गर्दै जाने हो भने के गनिसाध्य होला र ?
अब भने हामी भीमढुङ्गा भञ्ज्याङ निकट पुगेका छौँ । पुरानो ऐतिहासिक भञ्ज्याङ अलिकति माथिपट्टि छ । नर्सरी भञ्ज्याङले चिनिने मुख्य सडक अलिकति तलपट्टि छ । हामी जानुपर्ने तलपट्टि, तर इतिहास बिर्सनु त भएन नि ! सबैको चाहना भएन, उकालो चढ्ने जाँगर भएन वा ऐतिहासिक स्थलको ज्ञान आर्जन गर्ने रुचि भएन । धेरै साथी ओरालो लागे ।
नवराज, मुरारि, विनोद, रामकुमार र म उकालो लाग्यौँ ।
हामी त्यस भञ्ज्याङमा पुग्यौँ, जसले इतिहास बोकेको छ र पौराणिक मिथकसँग जोडिएको छ । प्राचीन समयमा भीमढुङ्गादेखि साँगासम्म फैलिएको विशाल सरोवर थियो, जुन सरोवरको पानीलाई कृष्णको चक्र वा मञ्जुश्रीको तरबारले चोभारको डाँडो काटेर बाहिर पठाइयो र काठमाडौँमा बस्ती बसाइयो । ‘ने’ नामका मुनिले विष्णुमती र वाग्मतीको दोभानमा तपस्या गरे र गोपालवंशी, भुक्तमानलाई उपत्यकाको राजा बनाए ।
तीनसय वर्षअघिको इतिहास कोट्याउने हो भने पृथ्वीनारायण शाह यही भञ्ज्याङको बाटो काठमाडौँ छिरे र उपत्यकाका तीनवटै राज्य आफ्नो कब्जामा पारे । उपत्यका विजय गर्ने क्रममा कीर्तिपुरको दोस्रो युद्धमा सहादत प्राप्त गरेका कालु पाँडेको इच्छा बमोजिम दहचोक माथिको डाँडोमा उपत्यका, नुवाकोट र गोरखा देखिने गरी उनको टाउकोको प्रतिविम्ब स्वरुप प्रस्तर निर्मित टाउको इन्द्रदहभन्दा माथि कोतडाँडामा राखियो । पछि त्यसै ठाउँमा कालु पाँडेको समाधि बनाइयो र समाधिसँगै कालु पाँडेको पूर्णकदको मूर्ति स्थापना गरियो ।
अब म पुनः वर्तमानमा फर्कन्छु ।
मैले भञ्ज्याङको रुपाकृति हेर्छु, नौलो नौलो लाग्छ । सोह्र वर्षअगाडिको भञ्ज्याङ मेरो नजरमा पर्दैन । सम्झना भएसम्म त्यति वेलाको विशालकाय वृक्ष (लाँकुरी) र शीतल ताप्ने चौतारो, यात्री विश्रामगृह (पाटी) केही पनि देख्दिनँ । बरु देख्छु, गायत्री चेतना केन्द्रको भवन, दुर्गामन्दिर र निर्माणाधीन भीमसेन स्थान । त्यसै वेला धादिङे साहित्यकार नवराज रिजालले धादिङतर्फका सुदूर पहाडहरूको पुनरावृत्ति गराउँछन् — ‘त्यो माथिको रानीवन, तलपट्टिको छत्रेदेउराली र पल्लो डाँडो जीवनपुर, अनि सुदूरपश्चिम देखिने भञ्ज्याङ नुवाकोट प्रवेशद्वार ।’
म पच्चीसतीस वर्षअघि सरकारले अगाडि सारेको योजना सम्झन्छु— ‘नागढुङ्गाको जाम नियन्त्रण गर्नका लागि सरकारले वैकल्पिक मार्गको रूपमा भीमढुङ्गाको बाटो प्रयोग गर्नेछ र भीमढुङ्गा-धार्के सुरुङ मार्गको डीपीआर पनि तयार गर्नेछ ।’
यी उडन्ते कुराहरू अहिले सुनिन पनि छाडे ।
द्वापरयुग सम्बद्ध अर्को प्रश्नको पनि स्पष्ट उत्तर पाउन सक्तिनँ म । ‘भीमले खेलाउने गरेको भीमढुङ्गा (विशालकाय ढुङ्गा) कहाँ छ त ?’ स्थानीय व्यक्तिको जवाफ आउँछ— ‘भञ्ज्याङदेखि तलपट्टि ।’ जहाँ भए पनि त्यस ढुङ्गाको महत्त्व उजागर गर्नुपर्ने होइन र ? कि भीमढुङ्गाबाट साँगा भञ्ज्याङ चल्ने भीमकाय डुङ्गाको नामबाट ‘भीमडुङ्गा’ रहेको हो ? त्यही नाम अपभ्रंश भएर पछि ‘भीमढुङ्गा’ भयो ? यो मेरो आशङ्का ।
हामी पाँचभाइ नर्सरी भञ्ज्याङको निर्माणाधीन शिवालयको प्राङ्गणमा पुग्दा अन्य सहयात्रीहरू दिवाभोजमा संलग्न भएका देखिन्थे । कसैको झोलाबाट खिचडी, कसैको झोलाबाट खीर, कसैको झोलाबाट रोटी, कसैको झोलाबाट पुरी-तरकारी, कसैको झोलाबाट अचार, कसैको झोलाबाट दही, कसैको झोलाबाट पापड, निस्किरहेका थिए । परिवारको वैविध्य थियो, बाँड्नेमा खुसी थियो, खानेमा सन्तुष्टि थियो । जीवनको दौडाइमा सायद मलाई प्रथम पटक यस प्रकारको नवीन आनन्दानुभूति भइरहेको थियो ।
तत्काल दोस्रो चरणको कविता वाचन शुरु भयो । वाचनकै क्रममा हङकङको ‘शृङ्खला समूह’सँग सम्बद्ध राजकुमार राई उभिए । प्रतीक घिमिरेको आमन्त्रणमा सहभागी भएका उनी यात्रासमूहका नै नौला व्यक्ति थिए । ब्रिटिश आर्मीका पेन्सनर ती राईलाई के नशाले छोएछ कुन्नि ! दुर्गम जिल्लाका पुस्तकालयहरूका लागि पुस्तक उपलब्ध गराउँदै आएका रहेछन् । पच्चीस-तीस लाख जतिका पुस्तक त उनले बाँडिसके रे ! एक करोडसम्मका किताब बाँड्ने उनको लक्ष्य ।
मैले उनलाई खुसुक्क सोधेँ र उच्चारण गरेँ— दायित्व पुस्तकालयको नाम । तर उनले प्रथम चरणमा सो कार्यक्रम नभएको र दोस्रो चरणमा नकार्न नसकिने जानकारी गराए ।
कविता वाचनको कार्यक्रम सकिएपछि हामी इन्द्रदह पदमार्गमा पाइला चाल्न थाल्यौँ । बाटो साँघुरो छ, पिच गरेको छ, जङ्गलको बाटो छ र डाँडा-खोल्सा हुँदै उकालिएको छ । रुखहरू थरीथरीका मिश्रित देखिँदै छन् । सिसौ, सेतीकाठ, मौवा, खस्रु, मयल, लप्सी, कनिके, चिलाउनी खाटेसल्ला, गोब्रेसल्ला र पैयुँका वृक्ष-वनस्पतिसँग पहिचान हुन्छ मेरो । काफलका रूखमा फल लागेकै देखिन्छ । फक्रिने तरखरमा रहेको गुराँसले अलिकति चाँडो आइस् भन्दै छ ।
म सोह्र वर्षअघिको दृश्य केलाउन थाल्छु— त्यहीँ कतै एक जना मस्ताराम बाबाको आश्रम थियो । उनले सुन्दरीहरू दायाँबायाँ राखेर बस्थे रे ! तर त्यस बेला हामीले उनलाई भेट्न पाएनौँ । उनी त्यस दिन रमणीहरुसहित काठमाडौँ शहर गएका रहेछन् । बरु अहिले मैले त पं. नारायण पोखरेलधाम पो देख्दै छु । त्यसै धाम परिसरभित्र बन्दै गरेको देख्छु— विशाल काय मन्दिर । मलाई शङ्का लाग्दै छ, ती नटवरलाल मस्ताराम बाबा त्यहाँबाट भगाइएका होलान् र त्यसै ठाउँमा यस धामको प्रादुर्भाव भयो होला !
‘चापाको’ रहेछ त्यस ठाउँको नाम । तर म यस नामसँग सहमत हुन सक्तिनँ । विशालकाय चाँपको बोट भएकै कारण नाम राखिएको हो भने ‘चापाबोट’ हुनुपर्थ्यो अथवा ‘कोट’को अर्थमा राखिएको भए ‘चापाकोट’ हुनुपर्थ्यो । मेरो मनगढन्ते तर्क ।
हामीलाई नामसँग लिनुदिनु थिएन । हामीले चाँपको चौतारोमा बसेर तेस्रो चरणको कविता वाचन गर्यौँ र ढल्कँदै गएका सूर्यरश्मिमा सेकिएर सुन्तला खायौँ । सुन्तलाले मात्र सन्तुष्ट भएनन् साथीहरू । उनीहरूको झोलाबाट पकौडा निस्किए, आलुचिप्सहरू निस्किए र चकलेटहरू पनि वितरण गरिए ।
उकालो निख्रिएको छैन । पुरुषहरूमा ज्येष्ठातिज्येष्ठ म नै अगाडि लागेपछि अनुजहरू लाजै होला भनेर पनि पछिपछि लागे । महिलाहरूमा साठी काटेको कोही थिएन क्यारे ! हामी इन्द्रदहको फेदीमा पुग्यौँ । इन्द्रदह जाने र त्यहाँभन्दा माथिको कालु पाँडेको समाधि अवलोकन गर्ने शक्ति क्षीण भएको सङ्केत देखियो अधिकांशमा ।
त्यहाँ पुगेको भए नदेखेकाले देख्न पाउने थिए— काठमाडौँमा इन्द्रजात्रा सकिएपछि गएर नुहाउने इन्द्रदह (पोखरी) पानी परेन भने खीर बनाई इन्द्रलाई चढाइने गरेको बगैँचा मनकामना मन्दिर भीमसेन स्थान, पोखराबाट आएको नेकोन एयरको विमान टेलिफोन टावरमा ठोक्किँदा ज्यान गुमाएका २२ जनाको सालिक, नवनिर्मित टावर र कालु पाँडेको समाधि ।
हामी उकालो नलागेर तेर्सो बाटो मोडियौँ स्वीजरलैन्ड पार्कतिर । अचम्म लाग्यो स्विजरल्यान्ड पार्कको नाम सुनेर । म सोह्र वर्षअघि जाँदा नामोनिसान थिएन स्विजरल्यान्ड पार्कको । कहिलेदेखि विकसित भयो स्विजरल्यान्ड पार्क ? स्विजरल्यान्ड पार्क नामकरण हुनुको तात्पर्य के हो ? स्विजरल्यान्डसँग नाम जोडिनुपर्ने कारण केही छ कि चर्चाकै लागि स्विजरल्यान्ड पार्क भनियो ? यी प्रश्नहरू छन् मसँग तर उत्तर आउँदैन कसैबाट पनि ।
हामी तनक्क तन्किएको डाँडोको ढाडमा टेक्दै परसम्म पुग्छौँ । मैले त्यहीँ पुगेर बुझ्छु— चौथो चरणको काव्य वाचनस्थल त्यही रहेछ । तर खाली ठाउँ छैन कतै पनि । नाम मात्रको पार्क । बाटोमाथि दुईतीनवटा टहरा छन् । बाजा घन्किएका छन्, नाच नाचिएका छन् । पिकनिक खानेहरूको तँछाड मछाड छ । कसले स्पिकरको आवाज ठूलो गर्ने र क्याव्रेडान्स गर्ने ! प्रतिस्पर्धा छ समूह समूहमा । बाटोछेउमा लाम लागेका बसहरू गन्छु— पन्ध्रसोह्रबाट पनि उकालो लाग्छन् । सोच्छु, कम्तीमा पनि पन्ध्रसोह्र समूह त होला नि पिकनिक खानेको ?
हामी त्यो स्पटलाई नाघेर अझ पर पुग्छौँ र उकालो लाग्छौँ— विन्ध्यवासिनी मन्दिरतिर । घना जङ्गलको टुप्पोमा नवनिर्मित मन्दिर रहेछ । भित्र उभिएकी रहिछन् विशालकाय भगवती । हामीले त्यसै मन्दिरको फेरोलाई मञ्च बनाउँछौँ र कविता वाचन गर्छौं ।
स्रष्टा पदयात्रा परिषद्को कार्यसमिति चयन गर्ने अतिरिक्त कार्यक्रम पनि त्यहीँ राखिएको रहेछ । संस्थापक पाँच जनामा अरू छ जना थपेर शीतल गिरीको संयोजकत्वमा एघार सदस्यीय समितिको घोषणा हुन्छ । २०७३ सालदेखि शुरु भएको स्रष्टा पदयात्राको विधिवत् दर्ता हालसालै कम्पनी ऐन अन्तर्गत भएको रहेछ ।
‘यस्तो अवसरमा रामप्रसाद पन्तजस्तो यात्रा टोलीकै ज्येष्ठ एवं विशिष्ट साहित्यकारको उपस्थितिमा तदर्थ समिति गठन गर्न पाएकोमा हामी अत्यन्त खुसी छौँ ।’ भन्ने खालका शब्दहरू प्रयोग गरेर मलाई सम्मान दिए शीतलजीले । तर कविता पाठमा पनि सहभागिता नजनाएको मानिसलाई कमसेकम शुभकामनाका केही शब्द बोल्न दिनुपर्छ भन्ने हेक्का राखेनन् । यसलाई मैलेभन्दा पनि बुझक्कड साथीहरूले कमजोरीको रूपमा लिए । मेरो अभिव्यक्तिले चिनजानका सिनियर साहित्यकारलाई त के फरक पर्थ्यो होला र ! मलाई बुझ्न नपाएका नवोदित साहित्यकारका लागि पक्कै विशेष अर्थ राख्थ्यो होला !
स्विजरल्यान्ड पार्क प्रवेशसँगै हाम्रो यात्राले पछाडि नफर्कने गरी अर्कै मोड लिइसकेको रहेछ, अर्थात् अब हामी आएकै बाटो फर्केर सीतापाइला नजाने रहेछौँ । त्यसै भएर हामी विन्ध्यवासिनी मन्दिर चढेको सिँढीबाट नओर्लिएर बढ्यौँ अघिल्तिर ।
घना छ जङ्गल, ओरालो छ बाटो । हामी उपत्यकाको कुन ठाउँमा ओर्लिन्छौँ, यकिन छैन । कहिले को अगाडि कहिले को । मेरा सहयात्री बन्छन् कहिले को, कहिले को ! मलाई दिनभरको पदयात्रामा पालैपालो साथ दिए— मुरारि, विनोद, रञ्जु, देवराज, प्रोल्लास, प्रभा, मन्दिरा, रामकुमार, नवराज, शारदा, परशुराम, जयराम, डिल्लीराम, अनिता र लीलाराज जस्ता चिरपरिचित साथीहरूले । एउटा ठूलै बौद्ध गुम्बा भेटियो बाटैमुनि । टावर भेटिए ठाउँठाउँमा । ‘डाँडाहरूमा टावर बनाउनु भनेको कमाउधन्दा हो, राष्ट्रभन्दा पनि व्यक्ति धनी हुन्छन्, यी टावरहरूले ।’ यस्तै तर्क पेश गरे नवराजले । इन्द्रदहदेखि बलम्बुसम्म एउटै डाँडामा तीनवटा टावर देख्दा नकार्न मन लागेन मलाई पनि ।
बलम्बुको मुखिया चोकमा ओर्लिंदासम्म स्रष्टा पदयात्रीहरू अघिपछि देखिँदै थिए । प्रतीक, राजकुमार र मैले वेग हानेपछि हामीलाई भेट्ने कोही भएन । ओर्लिने बाटाहरू धेरै थिए । मार्गदर्शक कोही थिएन । त्यस्तो भएपछि कुनै समूह कता ओर्लियो होला, कुनै समूह कता । हामी सकेसम्म चक्रपथमा जोडिने निशाना बनाएर अघि बढेका छौँ । ओरालोमा खर्लाङखुटी भएका छन् मेरा खुट्टा । सत्तरी काटेको अनुभव भएको छ बल्ल मलाई । खुट्टाको यति साह्रो दुखाइ ताप्लेजुङको पाथीभराबाट ओर्लिंदा पनि भएको थिएन, तथापि प्रतीक र ब्रिटिश लाहुरे (राजकुमार)का पाइलाभन्दा पछि परेका छैनन् मेरा पाइला ।
हामी सिरुटार ओर्लिन्छौँ र तीनवटा सवारीसाधन प्रयोग गरेर तीनतिर लाग्छौँ । चाबहिलतिरको बसयात्रा गर्दैगर्दा म गम्भीर हुनपुग्छु — यस प्रकारको यात्राले साहित्यकारलाई कति फाइदा पुगेको होला ! लेख्नका लागि कति ऊर्जा मिलेको होला ! यात्रालाई व्यवस्थित बनाएर, तत्तत् स्थानका विज्ञलाई अगाडि लगाएर जनजीवन र संस्कृतिहरू बुझ्दै, भूगोल र इतिहासहरू पढ्दै र केलाउँदै हिँड्न पाए स्रष्टा पदयात्रा अझ सार्थक बन्थ्यो कि ?
म बिहान जति बजे घरबाट हिँडेको थिएँ, बेलुका पनि त्यति नै बजे घर पुगेँ— सात बजे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।