केहीबेर चौतारीमा सुस्ताएर हामी फेरि अघि बढ्यौं । फलफूलको भारीमध्येको केही खाइसकिएको र बाँकी बचेका केही फलफूल सुमन जीले बोकिदिएकाले मेरो झोला पनि केही हलुङ्गो भइसकेको थियो । अब भने मलाई हिँड्न केही सहज हुन थाल्यो । तैपनि झोलामा दही, काँक्रा, मुला अनि रोटी त अझै बाँकी नै थिए ।

हामी बाटोमा गीत गाउँदै, ठट्टा मजाक गर्दै अघि बढ्दै थियौ । हाम्रो लस्करले रमाइलो गर्दै हिँडेको देखेर बाटो वरपरबाट स्थानीयहरू हामीलाई रमाइलो मानेर हेर्दथे । यत्तिकैमा त्यहाँ  एउटा मौरी फर्म देखियो । त्यहाँ तीनसय वटा घारमा व्यवस्थित रूपमा मौरी खेती गरिएको रहेछ । बाह्र सय किलोको दरले केही साथीहरूले त्यहाँ मह पनि किने । मेरा एकजना दाइले पनि सिन्धुलीमा यस्तै मह खेती गर्नुभएको छ । वहाँले त्यो मह काठमाडौंमै हजार रुपैयाँ किलोमा बेच्ने गर्नुभएको छ । सिन्धुली र भक्तपुर बाग्मती अन्तर्गतको एउटै प्रदेश भित्रको जिल्ला भएर पनि भाउमा भएको यस्तो अन्तर भने उचित लागेन । विमल सरले त्यसैबेला सहभागीहरूलाई आफूले ल्याउनुभएको छुर्पी बाँड्नुभयो ।

बाटोमा अघि बढ्दै गर्दा कतै गाई पालन, कतै कुखुरा पालन अनि कतै गहुँ खेती; कतै भरखर आलु खनेर काँक्रो रोप्न लागेको देखियो । कतै टनेलमा टमाटर फलाइँदै थिए भने कतै बन्दा कोभी, फर्सी खेती जस्ता अनेकौं कृषिकर्महरू गरेको देखियो । कृषि पेशाप्रति राजधानी नजिकैका स्थानीयको यस्तो जाँगर, लगाव र रुचि देख्दा उनीहरूलाई यसैमा प्रोत्साहित गर्ने नीति राज्यले लिएर त्यसै अनुरूपका सुविधाहरू प्रदान गर्न सके राजधानीलाई स्थानीय उत्पादन नै प्रशस्त हुने रहेछ भन्ने लाग्यो । तर राजनीतिक नेतृत्वलाई यस्ता कुरामा ध्यान दिन फुर्सद नै छैन । मुखले ठूला ठूला भाषण गर्ने व्यवहारमा भने माखो पनि नमार्ने प्रवृत्ति विद्यमान रहुञ्जेल त्यस्तो कुराको आश गर्नु बेकार हो । त्यस्ता खेती गर्नेमा अधिकांश महिलाहरू नै देखिन्थे । युवाहरूको बढ्दो विदेश पलायनलाई गम्भीरतापूर्वक मनन गरेर रोक्न नसकिए मानव श्रमको अभावमा भविष्यमा मुलुकले भयावह स्थितिको सामना गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावनाले मन चिन्तित बनायो ।

हामी खेत र बारीका सम्म गराहरू छिचोल्दै अघि बढ्दै गयौं । केही छिनको हिँडाइपछि भने अब उकालो लाग्नुपर्ने स्थान आयो । हामीले उकालो चढ्नु अघि केही सुस्ताउने निर्णय गर्यौं र त्यहाँको एक शीतल स्थान छानी केही छिन थकाइ मार्न बस्यौं । साथीहरूका झोलाबाट बदाम, मकै, भटमास, पुष्टकारी, चकलेट, माडा जस्ता हलुका खानेकुराहरू निस्कन थाले । मैले पनि समयको उचित सदुपयोग गर्दै आफ्नो झोलालाई अझै खाली गर्ने विचार गरें र झोलामा भएका काँक्रा र मुला झिकेर सबैलाई बाँड्न भनेर अप्सरालाई दिएँ । काँक्रा, मुला घरबाटै धोइ पखाली गरेर ल्याएको थिएँ । त्यसलाई अघि फलफूललाई जस्तो पखालिरहनुपर्ने आवश्यकता थिएन । अप्सराले चक्कु ल्याएकी थिइन् । उनले काँक्रा, मुला काट्दै नून खोर्सानी मिसाउँदै सहयात्रीहरूलाई बाँड्न थालिन् ।

“‘मूला खाई बन पस अदुवा खाई सभा बस !’ भन्छन्; बन जङ्गल हिँड्दा मूला ल्याएर राम्रै गर्नुभएछ; उखान चरितार्थ भयो !” मन्दिराले भन्नुभयो ।

‘हाम्रो सिर्जनात्मक सभा त अझै बस्नै बाँकी छ नि ! तर त्यतिबेलाको सभामा खानको लागि अदुवा चाहिँ छैन है मैले ल्याएको ! त्यसैले यो उखानको सन्दर्भ अपूर्ण नै छ अहिलेसम्म ।’ मैले भनें ।

‘हैन हैन ! अहिले खानेकुरा खानेक्रममा पनि केही छिन हाम्रो सामान्य रूपको लघुसभा त बसिहाल्छ नि ! त्यतिबेला तरकारी खाँदा मसलाका रूपमा मिसाइएका अदुवा पनि हामी खान्छौं । त्यसैले यो उखानले पूर्णता पाएकै ठानियोस् भन्ने प्रस्ताव राख्दछु !’ गङ्गा सरले भन्नुभयो । हाम्रा टोली नेता शीतल दाइले ‘प्रस्ताव पारित भएको’ जानकारी गराउनुभयो ।

अब भने मेरो झोला लगभग खाली भैसकेको थियो । झोलामा अब केवल केही रोटी र अघि भरिएको पानीको बोतल र दही मात्र बाँकी थिए । हामी केही छिन सुस्ताएर त्यहाँबाट उकालो उक्लने तरखरमा लाग्यौं । यसपटक हिँड्दा भने मलाई निकै हलुङ्गो भएको अनुभव भयो । झोला निकै खाली भइसकेको रहेछ ।

केही समयको हिँडाइपछि एउटा बोर्डमा अनन्त लिङ्गेश्वर महादेव जाने बाटो देखाइएको एउटा सिँढीयुक्त गेट देखियो । यसपालिको हाम्रो गन्तव्य अनन्त लिङ्गेश्वरतिर नभै त्यो भन्दा पनि माथितिरको बाटोतिर थियो । त्यसो त यसअघिको एउटा पदयात्रामा हामी अनन्त लिङ्गेश्वर मन्दिर पनि पुगिसकेका थियौं । त्यसैले यसपालि हामीलाई त्यहाँ जानु आवश्यक थिएन । त्यसैले टाढैबाट अनन्त लिङ्गेश्वर महादेवलाई नमस्कार गर्दै हामीले त्यो बाटो नरोजी माथि पुगिने अर्कै बाटो रोज्यौं । मन्दिराले ‘यही बाटो सजिलो हुन्छ यतैबाट जाऔं’ भन्दैहुनुहन्थ्यो । तर धेरैजसो सहयात्रीहरू हामीभन्दा अघि बढ्दै निकै माथि पुगिसक्नु भएकोले पछि परेका हामीहरूलाई पनि वहाँहरूको पछि लाग्न करै लाग्यो ।

 

हामीले गल्ती गरेछौं । अनन्त लिङ्गेश्वर जाने बाटो भनेर देखाइएकै सिँढीको बाटोबाट माथि उक्लनुपर्ने रहेछ । तर त्यो बाटो नरोजी मोटर गुड्ने कच्ची बाटो रोजेर बाटैबाटो माथि उक्लँदा सरसामान बोकेर आउने गाडीहरूले उडाएको धूलो मज्जैले खाइयो । मन्दिरा मधुश्रीले अलिक रिसाएजस्तो गर्दै भन्नुभयो; ‘मैले त भनेकै थिएँँ नि यो बाटो नजाऔं भनेर ! भन्या नमानेपछि अब त्यसको फल त भोग्नै पर्यो नि !’ सुमन जीले फेरि थपे; ‘दिदी ! हाम्रो गल्तीको फल हामीले भोग्नुपर्ने कुरा त हामीलाई स्वीकार्य छ; तर त्यसको फल तपाईंले पनि सामूहिक रूपमा भोग्नुपरिरहेको अवस्थाप्रति चाहिँ हामी सबैलाई अफसोच छ है !’ सुमन जीमा भएको वाक्पटुताको नमूना यहाँ एकपटक फेरि देख्न पाइयो ।

कच्ची बाटैबाटो माथि उक्लँदै गर्दा अलिक माथि पुगेपछि जङ्गलको बीचमा ढुङ्गा बिच्छ्याइएको सिँढीयुक्त एउटा सुन्दर बाटो फेला पर्यो । त्यो बाटो गुण्डु हुँदै रातोपाटी, अनन्त लिङ्गेश्वर मन्दिर, कैलाश डाँडा निस्कने पदमार्ग रहेछ । यो बाटोको केही भाग हामी यसअघि पनि एकपटक हिँडिसकेका थियौं भन्ने सम्झना पदमार्गको नाम लेखिएको बोर्ड पढेपछि मलाई पनि याद आयो । पहिले पनि यो बाटो हिँडेको सम्झना आएपछि भने मन्दिरा जी अघि किन त्यसरी रिसाउनुभएका रहेछ भन्ने कुरा बल्ल बुझें । उहाँले हामीहरू यसअघि पहिले पनि यो बाटो हिँडिसकेको भन्ने कुरा तल हुँदै थाहा पाइसक्नुभएको रहेछ । तल देखिनै यही बाटो हुँदै यहाँ आउन पाएको भए त्यत्रो धूलो त खानुपर्ने त थिएन भनेर पो उहाँलाई रिस उठेको रहेछ ।

हामी सिँढीयुक्त पदमार्गको बाटो उक्लँदै माथि कैलाश डाँडा पुगेपछि केही तेर्सो परेको उही पहिलेको धूले कच्ची सडक भेटियो । अब फेरि गाडीको धूलो खानुपर्ने चिन्ताले हामीलाई सताउन थाल्यो । तर सञ्जोगवश त्यहाँ फाट्टफुट्ट एकाध मोटरसाइकलहरू आए पनि धूलै उडाउने गरी गाडीहरू भने आएनन् । हामीलाई ठूलो राहत मिल्यो । यतिबेला सम्म मध्यान्ह भैसकेको र पेटमा मूसा पनि कुद्न थालिसकेकोले पानी भएको कुनै उपयुक्त स्थान खोजेर उदर पूजा गर्ने निर्णय गर्यौं हामीले र त्यसैअनुरूप सजिलो स्थान खोज्दै अघि बढ्न थाल्यौं ।

एकछिनको हिँडाइपछि कच्ची बाटो सँगैको सुनसान जङ्गलबीच एउटा सानो होटल देखियो । हामीले त्यही होटलमा खानेकुरा खाने सल्लाह गर्यौं र त्यहाँ गयौं । दुई तले कटेज जस्तो लाग्ने त्यो होटल काठ र बाँसले मोरिएर बनाइएकोले सुन्दर देखिन्थ्यो । तल्लो तलामा सरसामान राखिएकोले साहुनीले माथिल्लो तलामै गएर बस्न भनिन् । हामी माथि उक्लियौं । त्यहाँ प्लास्टिकका टेबल र कुर्सीहरू राखिएका थिए । बाँसका भित्ताहरू र झ्याल पनि बाँसकै थिए । झ्यालबाट चिसो हावा मज्जाले आइरहेको थियो ।

‘ओहो ! यस्तो शीतल ठाउँमा यस्तो मज्जाको विश्राम स्थल रहेछ ! खाना खाएपछि कविता वाचन कार्यक्रम पनि यतै सम्पन्न गरेर जानुपर्छ कि क्या हो ?’ घनश्याम सरले भन्नुभयो ।

‘हामीलाई शीतल दाइको आवश्यकता यहाँ होइन; बाटोमा हिँड्दै गर्दा अन्तै नै पर्न सक्छ । यो स्थान त त्यसै शीतल छँदैछ नि ! भरखरै आधी बाटो मात्र हिँडिएको छ; आधी बाटो अझै हिँड्न बाँकी छ । त्यसैले यात्राको मैझारो हुने हुने बेलामा मात्र हाम्रो त्यो कार्यक्रम सम्पन्न गरौं !’ गंगा सरले प्रस्ताव राख्नुभयो । प्रस्ताव सर्वसम्मत रूपमा पारित भयो ।

हामीले आफूहरूले ल्याएका रोटी, तरकारी र अचारका विभिन्न परिकार, दही, च्यूरा आदि खानेकुरा त्यहाँ बाँडेर खायौं । आफूले ल्याएका खानेकुरा मात्र खाएर हिँड्दा साहुनी रिसाउलिन् कि भन्ने डर पनि थियो । त्यसैले होटलबाट पनि केही सागसब्जी, चाउचाउ, चिया थप बनाउन लगाएर मगायौं । सबैले सामूहिक रूपमा यसरी आआफ्ना घरबाट ल्याएका खानेकुरा बाँडेर खाँदा बडो रमाइलो हुन्छ । मन्दिरा जीले ल्याउनु भएको अचारको निकै तारिफ भयो त्यहाँ । वास्तवमा उहाँले बनाएर ल्याउने अचारको भेराइटी निकै स्वादिलो हुने गर्दछ ।

हामी खाना खाइवरी त्यो होटलबाट साहुनीसँग बिदाबारी हुँदै हिंड्ने तरखरमा थियौं । साहुनीको बारीमा केही केराका बोट देखिए । बोटमा बुङ्गो पनि लागेको थियो ।

‘केराको यो बुङ्गो त अचार खान गज्जब हुन्छ नि !’ शीतल दाइले भन्नुभयो ।

साहुनीले टिप्न सके लैजान सक्ने अनुमति दिइन् । केही अग्लो स्थानमा चढेर परिच्क्षेद जीले बुङ्गोमा झटारो हाने । पदयात्रीहरू तल बुङ्गो समात्न हात फैलाएर तयार भएर बसेका थिए । गंगा सरले भन्नुभयो; ‘यो जसले समात्छ उसैको हुन्छ है !’ झरेको बुङ्गो घनश्याम सरको हातमा पर्यो ।

‘बुङ्गो समाउन प्रयास गर्ने तर नसक्नेलाई सान्त्वना पुरस्कारको पनि व्यवस्था छ नि !’ दीपक भेटवालले भन्नुभयो । वहाँको हातमा बुङ्गो झटार्दा खसेको त्यसको रातो पत्ता परेको रहेछ ।

‘त्यो सान्त्वना पुरस्कार हामीले सर्वसम्मत रूपमा तपाईंलाई नै अर्पण गर्ने निर्णय गरेका छौं; स्विकार्नु होला !’ सुमन जीले एकपटक फेरि हँसाए ।

‘बुङ्गो प्रतियोगिता’ सम्पन्न गरी हाम्रो टोली त्यहाँबाट फेरि अघि बढ्यो । बाटो कच्ची नै भए पनि गाडीहरू नगुडेका र त्यो बाटो तेर्सो तेर्सो परेकोले हामीलाई हिँड्न सजिलै भैरहेको थियो । चारैतिर हरिया डाँडा; तल फेदीमा खेत; फाट्टफुट्ट गाउँघर र बस्तीका दृश्यहरू हेर्दै हामी रमाइला कुराकानी गर्दै अघि बढ्दै थियौं । हामीले बाटोमा ऐंसेलु फलेको पनि देख्यौं । केही ऐंसेलु टिपेर पनि खायौं । यत्तिकैमा बाटोमा स्थानीय एक व्यक्ति भेट हुनुभयो ।

उहाँको नाम भोलानाथ गौतम रहेछ । हामीले उहाँबाट स्थानीय परिवेशको बारेमा केही जानकारी पनि प्राप्त गर्यौं । त्यो ठाउँ सूर्यविनायक नगरपालिका वडा नं.४ अन्तर्गत पर्ने रहेछ । राजधानीको नजिकै भए पनि बाटोघाटोको असुविधाले गर्दा पहिले त्यहाँको जनजीवन निकै कष्टकर हुने गरेको भए पनि अहिले भने बाटोघाटो र बिजुलीको आगमनसँगै जनजीवन केही सहज भएको कुरा उहाँले बताउनुभयो । यति हुँदा हुँदै पनि अन्य स्थानमा झैं त्यहाँबाट पनि मानिसहरू पलायन हुन थालेका रहेछन् । वैदेशिक रोजगारीका कारण नेपालका अन्य स्थानबाट जनसंख्या अत्यधिक पलायन हुने गरेको भए पनि त्यहाँ भने २०७२ सालको भूकम्पले लगभग सबै घरहरू ध्वस्त पारेपछि मात्र धेरै स्थानीयहरू गाउँ छोडेर त्यहाँबाट हिँडेको कुरा उहाँले गर्नुभयो ।

अन्य स्थानमा झैं त्यस क्षेत्रका पनि धेरैजसो जग्गाहरू बाँझा देखिन्थे । त्यसको एउटा कारणको रूपमा भने उहाँका अनुसार बाहिरका धनीमानी मानिसहरूले होटल, रिसोर्टहरू खोल्ने भन्दै जग्गाहरू किन्दै ओगट्ने अनि बाँझै राख्ने गर्न थालेपछि त्यसरी त्यहाँका जग्गा बाँझा हुन थालेका रहेछन् ।

‘यस्ता जग्गा ओगटेर राख्नेहरूलाई कि त जुन प्रयोजनको लागि भनेर जग्गा लिइएको हो त्यो संरचना बनाउन लगाउने अथवा खेती गर्न बाध्य पार्नुपर्ने गरी कानून ल्याउनुपर्छ । अन्यथा त्यस्तो जग्गा सरकारले अधिग्रहण गर्ने प्रावधान पनि कानूनमा हुनुपर्छ । अनि मात्र यहाँको बाँझो जग्गाको समस्या समाधान हुन्छ ।’ उहाँले भन्नुभयो ।

बाटोमा हिँड्दै गर्दा त्यहाँ केही स्थानीय महिलाहरू पनि भेटिए । उनीहरूसँग पनि हामीले केही भलाकुसारी गर्यौं । ती मध्येकी एकजनालाई हामीले त्यहाँको स्थानीय कुनै गीत गाउन अनुरोध गर्यौं । सुरुमा त तिनी लजाइन् । तर हामीले निकै आग्रह गरेपछि भने तिनले एउटा गीत गाइन् । गीतको बोल यस्तो थियो;

‘‘चौतारीमा बर, सुमारा छेउमै छ आउ है माया घर

धेरै मलाई नसम्झ टाढाको काभ्रे जिल्ला म पिपल डाँडाको

चौतारीमा बर, सुमारा छेउमै छ आउ है माया घर

नरमाइलो माइतीघर थिएन बस्न मलाई कर्मैले दिएन

चौतारीमा बर, सुमारा छेउमै छ आउ है माया घर……!’’

तिनले गीतमा काभ्रे जिल्लाको नाम लिंदा हामीले तिनको घर काभ्रे जिल्ला नै रहेछ कि भन्ने अनुमान गर्यौं । हाम्रो अनुमान सही रहेछ । तिनी स्थानीय गौतम परिवारकी छोरी भए पनि अहिले काभ्रे, नालाको बजगाईं थरको घरकी बुहारी भएकी रहिछन् । नयाँ वर्षको छेको पारेर अहिले माइतीघर आएकी रहिछन् तिनी । ‘नरमाइलो माइतीघर थिएन बस्न मलाई कर्मैले दिएन’ भनेर गाएपछि अप्सराले थपिन्; ‘घर जहाँ भए पनि आफ्नो जन्मघर माइतीको साह्रै माया लाग्छ हगि बहिनी ?’ बहिनी केही लजाएर मुसुक्क हाँसिन् । तिनलाई मन्दिरा र अप्सराले पनि गाएर साथ दिएका थिए ।

हामी त्यहाँबाट फेरि अघि बढ्यौं । अघि बढ्दै जाँदा साथीहरू कोही अघि कोही पछि हुने क्रम चलिरहन्थ्यो । अगाडि भएका साथीहरू पर पुगेर केही समय हिँड्न रोकिएर पछाडि आउने साथीहरूलाई कुर्दै सुस्ताउनुहुन्थ्यो र वहाँहरू आएपछि फेरि अघि बढ्नुहुन्थ्यो । सबैजसो गाउँघरमा पहिले पहिले हिँड्ने गरेका पुराना गोरेटा बाटाहरू अहिले गाडी गुड्ने नयाँ बाटो बन्न थालेपछि विस्थापित झैं हुन पुगेका छन् । त्यसको उचित मर्मत सम्भार हुने गरेको छैन । गाडी गुड्ने बाटो भन्दा त्यस्ता गोरेटो बाटो तुलनात्मक रूपमा छोटा हुन्छन् ।

तर मानिस हिँड्ने त्यस्ता पहिलेका बाटो अहिले मानिस हिँड्न छोडेपछि बिग्रिएका, हराएका, झाडी पलाएकाले त्यस्ता बाटाहरू हिँड्न चाहनेहरूले हिँड्न खोज्दा पनि हिँड्न नसकिने अवस्थामा छन् । धूलो उड्ने गाडीको बाटो छोडेर अन्दाजको भरमा पुराना गोरेटा बाटा हिंड्न खोज्दा बाटो भुलेर कहिलेकाहीँ अझै बढी हिँड्नपर्ने अवस्था पनि आइपर्छ । एक ठाउँमा हामीलाई पनि यस्तै समस्या आइपर्यो । हामीले बाटोको यकिन गर्न नसक्दा हाम्रो हिँडाइ केही लामो हुन पुगेछ । एक ठाउँमा केही साथीहरू अघिअघि माथितिर हिँड्दै गर्दा केही साथीहरू भने तल धेरै पछि देखिनुभयो । हामीले अलिक चर्को स्वरमा कराएर पुरानो ठाडो गोरेटो बाटोबाट आउन वहाँहरूलाई इशारा गर्यौं । उहाँहरूले पनि हाम्रो सल्लाह बमोजिमको ठाडो बाटो नै रोज्नुभयो । उहाँहरू हुनुहुन्थ्यो–मन्दिरा, शीतल दाइ, अप्सरा र दीपक भेटवाल ।

शीतलदाइलाई त्यो ठाडो उकालो चढ्नुपर्दा अलिक बढी नै सकस पर्यो । बाटो केही अप्ठ्यारो र भिरालो पनि थियो । उहाँलाई मन्दिराले हात दिंदै माथि उक्लन सहयोग गर्नुभयो । अप्सरालाई पनि त्यस्तै समस्या पर्यो । उनलाई दीपक जीले साथ दिनुभयो । पदयात्रामा हिंड्दा बेला बेला यस्ता कठिन बाटाहरूको पनि सामना गर्नुपर्ने अवस्था आउँछ । वहाँहरूलाई उक्लन गाहारो भएको देखेर सुमन जीले फेरि आफ्नो पूर्ववत् शैलीमा बोलीको झटारो हाने; ‘त्यहाँ सिस्नु भए सिस्नु समात्दै आउनुस् है ! पोलेर आत्तिएर उक्लँदा अझै छिटो उक्लन सकिन्छ; नत्र भरे घर पुग्दा ढिलो होला फेरि !’

यसरी सुमन जीले बेलाबेलामा ठट्टा गर्दै वातावरणलाई रमाइलो पनि पार्नुहुन्थ्यो । परेको बेलामा सहयात्रीहरूप्रति सम्मान सहित सहयोग गर्न पनि उहाँ पछि हट्नुहुन्नथ्यो ।

शीतल दाइहरू छोटो बाटोबाट माथि उक्लिएपछि हामी पुनः एकछिन सामूहिक भएर हिँड्न थाल्यौं । तर पछि फेरि को कता को कता परिएछ । हामी निकै माथि पुगेपछि सम्म परेको एउटा भिरालो परेको हावा चलिरहेको शीतल ठाउँमा पुग्यौं । अघिपछि भएका सबै साथीहरू बिस्तारै त्यहाँ आइपुग्नुभयो । तर अप्सरा, सुमन, परिच्क्षेदहरू भने आइपुगेका थिएनन् । निकैबेरसम्म पनि उनीहरू नआएपछि मैले अप्सरालाई फोन लगाएँ । उनलाई उकालो चढ्न निकै सकस परेको रहेछ । उनलाई साथ दिंदै सुमन र परिच्क्षेदपनि सँगै आइरहेका रहेछन् । मैले गाहारो भए नआत्तीकन बरु अलिक लामै परेपनि गाडीकै बाटो आउन भनें । केही समयपछि उनीहरू पनि त्यहाँ आइपुगे ।

हामी सबै त्यो स्थलमा भेला भएपछि थकाइ मार्न भनेर एकछिन सुस्तायौं । थकाइ निकै लागेकोले त्यहाँ हामी निकैबेर बस्यौं । आफूहरूसँग बचेका पानी र केही खानेकुरा पनि झिकेर बाँडेर खायौं । त्यहाँ एकजना नौला मान्छे पहिलेदेखि नै बसिरहेका थिए । अनकन्टार त्यो जङ्गलमा उनी एक्लै थिए । कुरा गर्दै जाँदा उनी गंगा सरकै घर कीर्तिपुर तिरका रहेछन् । गंगा सरले चिनेका गाउँका स्थानीय केही मान्छेहरू तिनले पनि चिन्दा रहेछन् । तर तिनले आफ्नो पूर्ण परिचय भने खुलाएनन् । हामीले त्यहाँ फोटो, भिडियो खिच्दा तिनले आफ्नो फोटो भिडियो खिच्न भने हामीलाई दिएनन् । हामी उनीबाट बिदा भएर त्यहाँबाट हिँड्यौं । दीपक भेटवालले भन्नुभयो; ‘चालढाल देख्दा मलाई यो मान्छे निकै शङ्कास्पद लाग्यो !’ तिनको कुराकानी र हाउभाउ हेर्दा तिनी त्यस्तै देखिन्थे पनि । आफ्नो घर कहिले तराई भन्थे अनि फेरि कहिले कीर्तिपुर । हामी तिनीलाई त्यहीँ छोडेर त्यहाँबाट अघि बढ्यौं ।

केही छिनको हिँडाइपछि अब भने बल्ल हाम्रो आजको मुख्य गन्तव्य स्थल लाँकुरी भञ्ज्याङ आइपुग्यो । यो ठाउँलाई तीन जिल्ला ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकले छोएको छ । १९७७ मिटर उचाइमा रहेको यो स्थानमा मूलतः तामाङ जातिको बसोबास छ । यो ठाउँमा यसअघि म गोदावरीतिरबाट आउँदा मानवबस्ती विहीन बाक्ला जङ्गल हुँदै आएको थिएँ । तर अहिले हामी हिँड्दै आएको क्षेत्रतिर भने उताबाट आउँदाको जस्तो घना बाक्ला जङ्गल देखिएनन् । यहाँबाट काठमाडौं उपत्यका सहित विभिन्न हिमशृङ्खलाहरूको सुन्दर दृश्यावलोकन पनि गर्न सकिन्छ । तर त्यो दिन त्यहाँ पुग्दा मौसम त्यति नखुलेकोले हिमशृङ्खलाहरू भने देख्न पाइएन । त्यहाँको एउटा खुला चउरमा केही समूह पिकनिक मनाइरहेका थिए । पदयात्रा, साइक्लिङ र पिकनिकका निमित्त चर्चित पनि छ यो क्षेत्र । हामी त्यो चउरमा पुगेर एकछिन फेरि सुस्तायौं र सामूहिक फोटो पनि खिच्यौं । फोटो खिच्न हामीलाई पिकनिक मनाउन त्यहाँ आउने एकजनाले सघाएका थिए ।

लाँकुरी भञ्ज्याङ पुगेर अब हामी रचना वाचन कार्यक्रम गर्नका लागि उपयुक्त ठाउँको खोजी गर्दै हिँड्न थाल्यौं । केही अघि बढेपछि एउटा होटललाई हामीले आफ्नो गन्तव्यका रूपमा रोज्यौं र त्यस होटलको पछिल्लो भागमा रहेको खुल्ला चौरमा बसेर आफ्नो कार्यक्रम सम्पन्न गर्ने निर्णय गर्यौं । त्यहाँ हामीले चिया मगायौं । चिया पाकेर आयो । हामीले चिया खाँदै आआफ्ना रचना वाचन गर्यौं । यस यात्राको एउटा उपलब्धि के पनि भयो भने कविता त्यति धेरै नलेख्ने दर्शन र संस्कृतिमा रुचि राख्ने शीतल दाइले ‘कसको के लाग्छ ?’ शीर्षकको एउटा दर्शनसँग सम्बन्धित कविता त्यहाँ सुनाउनु भयो । कार्यक्रमको उद्घोषण सुमन जीले र सभापतित्व शीतल दाइले गर्नुभएको थियो ।

थकाइलाई चियाको चुस्की अनि कविता सुन्ने र सुनाउने सन्दर्भले भुलाउँदै गर्दा हामीलाई समय बितेको पत्तै भएन । घाम पनि डुब्न आँटिसकेको थियो । त्यसैले हामीले यो ठाउँबाट लगभग एक किलोमिटर जति परको यहाँ आएर हेर्नै पर्ने श्रीङ्गी गुफा भने हेर्न पाएनौं । हामीलाई त्यो गुफा पनि हेरेर जाने रहर त थियो । तर समय घर्किसकेको र ढिलो गरे काठमाडौं जाने गाडी भेटिनै समस्या पर्न सक्थ्यो । त्यसैले हामी त्यो गुफा अर्को पटकको पदयात्रामा आउँदा हेर्ने सल्लाह गर्दै त्यहाँबाट लामाटार पुगिने बाटोतिर झर्न थाल्यौं । लामाटारबाट साझा बस समातेर आआफ्नो पायक पर्ने स्थानमा ओर्लंदै साथीहरू आआफ्नो घरतिर लाग्नुभयो । म पनि घर पुग्दा बेलुकीको आठ बजिसकेको थियो ।