
केही छिनको हिँडाइपछि हामी सुवर्णेश्वर मन्दिर परिसर पुग्यौं । यो स्थानमा म पहिले पनि केही पटक पुगेको छु । तर यसपटक स्रष्टाहरूसँग सहयात्रामा सामेल हुँदै त्यहाँ पुग्दा मलाई बेग्लै किसिमको सिर्जनशील ऊर्जा प्राप्त भएको महसुस भयो । सबै सर्जकहरू जिज्ञासु र स्थानीय परिवेश बुझ्न रुचाउने स्वभावका हुनुहुन्थ्यो । त्यस क्षेत्रका बारेमा आफूले थाहा नपाएका थुप्रै ऐतिहासिक, सांस्कृतिक, सामाजिक सन्दर्भहरूका बारेमा अवगत हुने अवसर पायौं हामीले ।
विशेष गरेर शीतल गिरी दाइमा भएका आध्यात्मिक, सांस्कृतिक, धार्मिक ज्ञानका अजस्र अनुभवबाट ठूलो लाभ मिल्यो । उहाँसँग हिँड्दा यस्ता विषयहरूसँग सम्बन्धित उहाँमा भएका विविध ज्ञानका अनेकौं रुचिवर्धक प्रसङ्गहरूबाट भरपुर लाभ लिने अवसर प्राप्त हुन्छ ।
यसअघि उहाँसँग हिँडिएका विभिन्न पदयात्राहरू पनि मेरा निम्ति निकै उपलब्धिमूलक रहेका छन् । विशेषतः नव सर्जकहरूलाई केही न केही लेखाउने उहाँको हुटहुटी र एक किसिमको ‘आदेश’ निकै प्रेरक हुने गर्दछ । यो यात्रा संस्मरण पनि उहाँकै प्रेरणाबाट मैले लेख्न सकेको हुँ । यसका लागि शीतल दाइप्रति हार्दिक आभार पनि व्यक्त गर्दछु ।
सूर्वर्णेश्वर महादेव भक्तपुरको कटुञ्जेमा अवस्थित छ । सूर्वर्णेश्वर महादेव परिसर आइपुग्दा त्यहाँ एउटा प्रवेश द्वार देखियो । मन्दिर पुग्नु अघि केही अग्लो सिँढी चढे लगत्तै त्यहाँ सर्वमान्य नेता गणेशमान सिंहको पहेंलो रङले सजिएको पूर्ण कदको सालिक स्थापना गरिएको देखियो । म पहिले त्यहाँ पुग्दा त्यो सालिक त्यहाँ बनिसकेको थिएन । हामीले लट्ठी समातेर ठिङ्ग उभिएका गणेशमानको सालिकलाई पृष्ठभूमिमा पारेर त्यहाँ सामूहिक फोटो पनि खिच्यौं; एकछिन सुस्तायौं पनि त्यहाँ । पहिले त्यहाँ पुग्दा इँटा बिच्छ्याइएका हेर्दै सुन्दर लाग्ने मनोरम सिँढीहरू देखिन्थे ।
तर अहिले भने त्यहाँको त्यो सिँढी ठाउँ ठाउँमा भत्किएर केही कुरूप जस्तो हुन पुगेको रहेछ । यस्तो देख्नुपर्दा भने मन केही खिन्न पनि भयो । यद्यपि केही मर्मत सम्भारका काम पनि त्यहाँ हुँदै थिए । आशा गरौं त्यो सिँढीको पनि पूर्ववत् अवस्थामा जीर्णोद्धार गरिनेछ । त्यसै परिसरमा अहिले १०८ शिवलिङ्ग र सप्तऋषि पनि स्थापना गरिएको रहेछ । मेरा निम्ति त्यो पनि यसअघि आउँदा नदेखिएको नव निर्मित संरचना थियो । तिनै शिवलिङ्ग परिसरमा राखिएको शिलालेख अनुसार त्यसको स्थापना सूर्यविनायक नगरपालिका वडा नं. ५ निवासी ‘बाबुकाजी कसपाल’ ले २०७९ साल मार्ग २१ गते गरेका रहेछन् । हामीले नवनिर्मित उक्त १०८ शिवलिङ्ग परिसरको परिक्रमा पनि गर्यौं । यी शिवलिङ्गहरूको परिक्रमा गर्दा केटाकेटीमा टोले साथीहरूसँग पशुपतिनाथ पुगेर त्यहाँ रहेको ६४ महादेव शिवलिङ्ग परिक्रमा गर्ने गरेको स्मरण भयो ।
त्यसपछि हामी त्यही भत्किएको सिँढी चढ्दै माथि उकालोतिर लाग्यौं । उकालो उक्लिएर माथि पुगेपछि त्यहाँ ‘सुवर्णेश्वर महादेव’को मन्दिर देखियो । यसलाई स्थानीय नेपाल भाषामा ‘लुँचु महादेव’ भनिने रहेछ । नेवारी भाषामा ‘लुँ’ को अर्थ सुन अनि ‘चु’ भनेको धूलो हुने रहेछ । ‘लुँचु’ अर्थात् ‘सुनको धूलो’ अनूदित हुँदै नेपालीमा यसको नाम ‘सुवर्णेश्वर महादेव’ हुन पुगेको रहेछ । अहिले पनि भक्तपुरका स्थानीय पाका समुदायले यसलाई ‘लुँचु’ महादेव भनेर नै पुज्ने रहेछन् । जसले शुद्ध मनले यस महादेवको आराधना गर्दै आफूले ल्याएको कुनै धातु यहाँ आएर छुन्छ उसले ल्याएको त्यो धातु महादेवको कृपाले सुनमा परिणत हुन्छ रे भन्ने स्थानीयको विश्वास रहेछ । यो कुरा स्थानीय एक व्यक्तिले बताइरहँदा मन्दिरा मधुश्रीले भन्नु भयो; ‘ए ! अब सुन पाउन ल्हास्सातिर होइन यतै आएर यिनै महादेवको आराधना गर्नुपर्ने रहेछ !’ यस अघि त्यहाँ स्थापित पीत रोगनको गणेशमान सिंहको पूर्णकदको सालिक सम्झँदै सुमन पुडासैनीले पनि थपे; ‘लौ दाजुहरू ! कुरो साँचो रहेछ है ! सर्वमान्य स्वयं नै त्यहाँ त्यसरी स्वर्ण वस्त्रले सजिएर उभिएको देख्दा त मलाई पनि यो कुरा हो कि हो कि जस्तो पो लाग्यो !’
उनले फेरि भने; ‘तर के गर्नु ? राजधानीकै यति नजिक यता सुवर्णेश्वरमा यसरी प्रशस्त सुन पाइँदो रहेछ; उता घरमा हाम्रा जहानहरूका भने कान बुच्चै नै छन् ! बरु अब फेरि अर्कोपटक यहाँ आउँदा हामी आफ्ना श्रीमतीहरूलाई पनि सँगै ल्याऔं र शुद्ध मनले तिनलाई आफूले साथमा ल्याएका विभिन्न धातुहरू छुन लगाऔं ! के थाहा ? महादेवको कृपा हाम्रा परिवारमा पनि परिहाल्छ कि !’ सुमन जीको ठट्टामा हामी पनि एकछिन मज्जाले हाँस्यौं ।
हज्जारौं वर्ष अघिको समाज विकासको प्रारम्भिक कालमा मानिसहरूको जीवन सरल थियो । प्रकृति र वस्तुमा घट्ने घटनाहरूलाई अहिलेको जस्तो तर्कपूर्ण विश्लेषण गर्दै त्यसै अनुरूपको धारणा बनाउने प्रचलनको विकास भैसकेको थिएन । त्यतिबेलाका मानिसहरू हरेक घटनाका पछाडि कुनै न कुनै अदृश्य शक्तिको हात रहेको हुन्छ भन्ने ठान्दथे । समय नै त्यस्तै थियो त्यो बेलाको ।
हरेक घटनाका पछाडि त्यही अदृश्य शक्तिलाई कारक ठानेर त्यस्तो शक्तिलाई ईश्वरीय शक्तिको रूप मानेर पुज्ने गरिन्थ्यो । समाजका हरेक घटना र वस्तुलाई वैज्ञानिक विश्लेषणको कसीमा जाँचेर प्रमाणित भएपछि मात्र स्वीकार गरिने आजको आधुनिक वैज्ञानिक समयमा यस्ता अप्रामाणिक मान्यता र धारणाहरू विज्ञानसम्मत नलाग्न सक्छन् । त्यतिबेलाको त्यस्तो ‘ईश्वरीय शक्ति’को सन्दर्भ वाहियात, अवैज्ञानिक र असान्दर्भिक पनि लाग्न सक्छन् अहिले । तर के कुरा पनि सत्य हो भने विज्ञानलाई स्वीकार गर्ने आजको प्रत्यक्षवादी मतको विकास हुनुअघिको समाज यस्तैखाले ईश्वरवादी मतप्रति विश्वास राख्दथ्यो । यस्तै किसिमका अनेकौं मतहरू विकसित हुँदै, परिमार्जित हुँदै अहिलेको आधुनिक सामाजिक मान्यताहरू स्थापित भएका हुन् । ‘लुँचु’ महादेव’मा धातुलाई सुनमा परिणत गरिदिने शक्ति रहेको मान्यता र विश्वासलाई पनि हामीले तत्कालीन समाजमा व्याप्त त्यसै अनुरूपको ईश्वरप्रतिको विश्वासका रूपमा स्वीकार गर्नु उपयुक्त हुन्छ ।
परम्परादेखि प्रचलित यस्ता किंवदन्ती, मूल्यमान्यता, अनेकौं मिथक र अवधारणाजन्य मतहरूको विकासबाटनै सभ्यता र संस्कृतिहरू निर्माण हुँदै जाने हुन् । हज्जारौं वर्ष अघिदेखि विकसित हुँदै आएका यस्ता संस्कृति, मूल्यमान्यताहरू आजको दिनसम्म पनि जीवन्त रहिरहन सक्नुमा आजको समयले ‘अवैज्ञानिक, असान्दर्भिक र वाहियात’ ठानेर अस्वीकार गर्ने तिनै परम्परागत मतहरूको पनि ठूलो भूमिका रहेको हुन्छ । यस्ता सन्दर्भहरूलाई हामीले त्यसै अनुरूप बुझ्नु उचित हुन्छ ।
हामी केही साथीहरू त्यहाँ देखिएका विभिन्न दृश्य, घटनाहरूलाई विभिन्न तर्क, सन्दर्भ र प्रसङ्गहरूका माध्यमहरूबाट अर्थ्याउँदै आफ्ना धारणाहरू बनाउँदै थियौँ । अन्य केही साथीहरू फोटो–भिडियो खिच्दै स्थानीयहरूसँग कुराकानी गर्नमा व्यस्त हुनुहुन्थ्यो । यसैबीच विमल सर हामी भएको स्थानमा हस्याङफस्याङ गर्दै आइपुग्नु भयो । उहाँको अनुहार केही मलिन जस्तो देखिन्थ्यो । उहाँले अत्तालिंदै भन्नुभयो; ‘बर्बाद भएछ ! मेरो त लट्ठी नै कता छुटेछ कता ?’
‘लौ कता छोड्नभयो त आफ्नो त्यो लट्ठी ?’
‘खै कता छुट्यो छुट्यो ! केही यादै भएन !’
‘अघि निरौला सरको घरमा चिया खाने क्रममा त छोड्नु भएन ?’ घनश्याम सरले भन्नुभयो ।
विमल सरको लट्ठी हराएकोले हाम्रो मन पनि खिन्न भयो ।
मैले निरौला सरलाई फोन गरेर उहाँको घरमा लट्ठी छुटेको नछुटेको पक्कापक्की गर्न शीतल दाइलाई सल्लाह दिएँ । शीतल दाइले निरौला सरलाई फोन गरेर यस बारेमा जानकारी गराउनुभयो । वहाँले हेरेर एकछिन पछि फोन गर्छु भन्नुभयो । निरौला सरकै घरमा लट्ठी छुटेको भए त कुनै चिन्ता थिएन । फर्किएर गएर अथवा पछि पनि त्यो प्राप्त हुन सक्थ्यो । तर त्यहाँ नछुटेर अन्तै कतै छुटेको भए त अब भेटिने सम्भावना कम थियो ।
यत्तिकैमा निरौला सरको फोन आयो । लट्ठी उहाँको घरमा छुटेको रहेनछ ।
‘बुढा अघि लघुशङ्का गर्न झाडीतिर छिरेका थिए ! त्यतै छोडे कि क्या हो ?’ सुमन जीले पूर्ववत् ठट्टा गर्दै भने । बिचरा विमल सरले अलिक झर्किएको जस्तो गरी भन्नुभयो; ‘त्यत्रो लट्ठी पनि त्यहाँ कसैले छोड्छ ? त्यसबेला त्यो मेरो लट्ठी त प्रतीक जीले बोकिदिनुभएको थियो नि !’
‘हो, हो ! झाडीमा त छुटेको छैन । मैले नै समाइदिएको थिएँ त्यो त्यतिबेला !’ मैले भनें ।
‘कि अघि तल गणेशमानको सालिक भएको स्थलमा तस्वीर खिच्ने क्रममा त छोड्नुभएन ?’ घनश्याम सरले भन्नुभयो ।
‘हो कि क्या हो ? अघि हाम्रो सामूहिक फोटो खिच्दै थकाइ मार्दै गरेको बेला पो छोडियो कि क्या हो त्यहाँ ? एकफेर फर्केर गएर हेरेर आउनुपर्यो !’ यसो भन्दै विमल सर हतारहतार सिँढीतिर लम्कन थाल्नुभयो ।
‘पख्नोस् पख्नोस् ! एक त लट्ठी हराएको रनाहा; त्यसमाथि यत्रो लामो यात्रा हिँड्न अझै बाँकी छ । यस्तो बेलामा बुढालाई अहिल्यैदेखि धेरै उकाली ओराली के गराइरहनु ? फेरि अहिलेसम्म केही खाएका पनि छैनन् बुढाले ! बुढा त्यसै त सुगरका रोगी ! सुगरले ढले भने फेरि अर्को आपत् आइपर्ला ! अरू बेला काम नलागे पनि बुढाहरूलाई यस्तो बेलामा हामी नै काम लाग्छौं क्या ! तपाईँ जानु पर्दैन म नै गएर लट्ठी खोजेर आउँछु ।’ यसो भन्दै सुमन जी सिँढी ओर्लन थाले ।
हामी विमल सरको लट्ठी भेटिने हो कि होइन भन्ने चिन्तामा सुमन जीको प्रतीक्षा गर्न थाल्यौंं । यत्तिकैमा केहीछिन पछि सुमन जी केही पर सिँढीको उकालोमा हातमा लट्ठी हल्लाउँदै उक्लिरहेका जस्ता देखिए । उनी हामी भए नजीकै आइपुगे र भन्न थाले; ‘लौ बुढा ! लट्ठी भेटियो ! त्यही गणेशमानको सालिकनेरै तपाईंले छोड्नुभएको रहेछ ! धन्न त्यहाँ कोही आई नसकेकाले कसैले टिप्न भ्याएका रहेनछन् र भेटियो । अब चाहिँ नछोड्नोस् है ! हाम्रो समूहमा तपाईँ मात्र होइन अरू बुढाहरू पनि छन् यहाँ ! उहाँहरूलाई पनि यस्तै अर्को कुनै आपत् आइपर्यो भने हामीले नै दुःख पाउनुपर्छ फेरि !’
अप्सराले भनिन्; ‘तपाईँको हराएको लट्ठी भेटिनुमा सुवर्णेश्वर महादेवकै कृपा रहेको ठान्नुस् है दाजु !’
‘आफ्नो लट्ठी हराएको कुरा विमल सरले धन्न यति छिटै सम्झनुभएछ ! नत्र गणेशमानजीलाई एक हातले आफ्नो र अर्को हातले तपाईँले छोड्नभएको यो लट्ठी समेत समातेर ठिङ्ग उभिइरहनुपर्दा कम्ता गाहारो पर्थ्यो ?’ गंगा सरको यो कुरामा हामीले हाँसो थाम्न सकेनौं ।
कटुञ्जेको केही अग्लो स्थानमा रहेको सुवर्णेश्वर महादेव मन्दिरबाट उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थलहरूको मनोरम दृश्यहरू देख्न सकिन्थ्यो । मन्दिर केही अग्लो स्थानमा रहेको र केही ठाडो उकालो भएको सिँढी उक्लेर त्यहाँ पुग्नुपर्ने भएकोले वृद्धवृद्धा र असक्तहरूलाई भने सुवर्णेश्वर मन्दिर पुगी महादेवको दर्शन गर्न सकस नै पर्ने रहेछ । केही असक्त श्रद्धालुहरू महादेवसँग ‘स्वर्ण कामना’ गर्न सकिनसकी आफ्नो मुटुको धड्कन बढाउँदै स्वाँ स्वाँ गर्दै उकालो चढ्दै गरेका पनि देखिन्थे । शहरमा बस्ने उकालो चढ्न नसक्ने यस्ता असक्त भक्तहरूका लागि भनेर भक्तपुरका राजा भूपतीन्द्र मल्लले भक्तपुरको याछें टोलमा यसै मन्दिरको एउटा प्रतिमा पनि स्थापना गरिदिएका छन् रे भन्ने कुरा पनि दर्शन गर्न त्यहाँ आएका एक स्थानीयबाट अवगत भयो ।
हामीले सूवर्णेश्वर महादेवको दर्शन गर्यौं । लगभग तीन फिटको रहेछ यो शिवलिङ्ग । यसको स्थापना नेपाल सम्बत ७०८ मा भएको कुरा दर्शन गर्न त्यहाँ आएका ती स्थानीयबाट थाहा पायौं । त्यहाँ एउटा शिलालेख पनि स्थापित थियो । शिलालेखको तल्लो केही भाग सिमेन्टले लतपतिएकाले केही अक्षरहरू पढ्न नसकिए पनि तत्कालीन कटुञ्जे गाविसका अध्यक्ष रामेश्वर प्रसाद ढुङ्गेलको कार्यकालमा स्थापना गरिएको रहेछ त्यो भन्ने कुरा चाहिँ प्रस्टै पढ्न सकिन्थ्यो । जसमा यो मन्दिर संवत् ८९७ मा निर्माण भएको उल्लेख छ । ‘मन्दिरमा नित्य पूजा आदि कामको लागि यसै गाउँवासी अभि कार्कीले श्री ५ रणबहादुर शाहको शासनकाल वि.सं.१८४६ भाद्र १२ देखि गुठी राखी चल्दै आएको’ भन्ने पनि त्यहाँ उल्लेख छ । मन्दिर परिसरमा सत्तल पनि रहेछन् । त्यहाँ केही अन्य देवीदेवताका मूर्तिहरू पनि स्थापित छन् । सिँढी उक्लेर माथि पुग्दा श्रद्धालुहरूलाई थकाइ पनि लाग्ने हुनाले केही दानवीरहरूले त्यहाँ विश्रामस्थल पनि बनाइदिएका रहेछन् ।
मन्दिरको प्राङ्गणमा एकजना साधु पनि थिए । फर्पिङतिर घर भएका उनीसँग भलाकुसारी गर्दा उनी नेपाली सेनाका अवकाश प्राप्त सैनिक रहेछन् र हाल घरबार त्यागेर यसै मन्दिर परिसरमा आएर बसेका रहेछन् भन्ने थाहा पायौं ।
यो क्षेत्रको नाम कटुञ्जे कसरी रहन गयो भन्ने सन्दर्भको एउटा किंवदन्ती ती साधुले हामीलाई सुनाए । उनका अनुसार कर्कट नागले यसै सुवर्णेश्वर महादेवलाई आराधना गरेर तपस्या गरेको र यो क्षेत्र कर्कट नागको शिलामा अडिएको हुनाले यस क्षेत्रको नाम कटुञ्जे रहन गएको रे ! कर्कट नागको शिलामा यो क्षेत्र अडिएर रहेको हुनाले अन्यत्रको तुलनामा यस क्षेत्रमा भूकम्प पनि त्यति आउँदैन रे भनेर पनि तिनले बताए । तर त्यहाँ स्थापित शिलालेखमा भने ‘वि.सं.१९९० को महाभूकम्पले मन्दिरको केही भाग क्षति भै स्थानीय सहयोगमा जीर्णोद्धार भएको थियो….’ भन्ने उल्लेख छ ।
उमेरले पनि सन्यासाश्रमी भैसकेका ती साधु गेरु वस्त्रमै थिए र आफ्नो वर्तमान जीवनप्रति सन्तुष्ट नै देखिन्थे । ती साधु र शीतल दाइबीच एकछिन सन्यासी मत, नाथ सम्प्रदाय आदि प्रसङ्गमा रमाइला शास्त्रार्थ पनि चले । तर जन्म नै ‘सन्यासी’ कूलमा भएका अनि त्यसमाथि आफ्नो कर्मलाई तार्किक चिन्तनयुक्त गम्भीर अध्ययनले तिखारेका शीतल गिरी दाइसँग सरकारी पेन्सनधारी ती पूर्वसैनिक ‘नयाँ जोगी’को केही जोर चलेन ।
सुवर्णेश्वर महादेवको दर्शन पछि हामी मन्दिर परिसरबाट तलतिर झर्दै गुण्डु क्षेत्रको बाटोतिर लाग्यौं । बाटो सफा अनि पिच गरिएको थियो । ठाउँ ठाउँमा रंगरोगन गरिएका विभिन्न मन्दिर, पाटी, चौतारा आदि पनि देखिए । स्थानीय सरकार सहितको नयाँ संरचनामा देशको राजनीतिक व्यवस्था अघि बढेपछि अहिले स्थानीय निकायले पनि विकेन्द्रीकरणको सिद्धान्त बमोजिम विभिन्न अधिकारहरू प्राप्त गर्ने अवसर पाएका छन् । सो क्षेत्रमा रहेका कतिपय पुराना सम्पदाहरू सुन्दर किसिमले जीर्णोद्धार गरिएको देख्दा यस क्षेत्रको स्थानीय निकायले राज्यबाट प्राप्त गरेको त्यस्तो विकेन्द्रित अधिकारलाई सकारात्मक रूपमा उपयोग गर्न खोजेको जस्तो लाग्यो ।
हामी हिँड्ने क्रममै थियौं । पिच गरिएको बाटो त्यसमाथि घाम पनि माथिमाथि आउँदै गर्दा गर्मीलाई छल्न आफूले बोकेको पानी पिउँदै अघि बढ्दै थियौं हामी । मैले बोकेका पानीका दुवै बोतल रित्तिए । अब पानी किन्नुपर्ला भन्दै म बाटोमा पसल खोज्दै अलिक बिस्तारै अघि बढ्दै थिएँ । अन्य पदयात्रीहरू अगाडि पुगिसक्नुभएको थियो । म पछि परेको देखेर सुमन जी मलाई कुरिरहनुभएको रहेछ ।
‘दाजु थाक्नुभयो कि क्या हो ?’
‘अँ ! अलिक थाकिएजस्तो पनि भयो; तिर्खा पनि लाग्यो । झोलामा बोकेको पानी पनि सकियो । फेरि अहिलेसम्म फलफूलले भरिएको मेरो झोला खाली पनि भैसकेको छैन । त्यसैले अब फलफूल झिक्दै खाँदै हिँड्दै गर्ने हो कि ?’ मैले भनें ।
‘ए दाजु ! यो भाइ के कामको लागि त ? ल्याउनोस् त्यो फलफूलको भारी त म नै बोकिदिइहाल्छु नि ! मेरो झोला खासै भारी पनि छैन; झिक्नोस् त्यो फलफूलको झोला !’
‘अहिले त्यस्तो गाहारो भैसकेको छैन; पछि अप्ठ्यारो नै प¥यो भने दिउँला नि !’ मैले भनें ।
‘ल दाजु पनि ! अरू कुरा भए त कहाँ बोकिदिन्थें र ? फलफूल भएर पो बोकिदिन खोजेको त मैले ! ताल परे यसो अरूको आँखा छल्दै आफैंले एक्लै चपाउँदै मुख रसिलो पार्दै हिँड्न पनि पाइने भनेर पो बोकिदिन खोजेको त; खै ल्याउनोस् !’ सुमन जीले फेरि ठट्टा गरे । यात्राका क्रममा सबैको ख्याल राख्ने मनकारी हृदय; सहयोगी भावना अनि मनोविनोदी स्वभाव तारिफ गर्न लायकको थियो उनको । सुमन जीले करै गरेर आफूलाई फलफूलको झोला दिन बाध्य पार्नुभयो मलाई । मुखबाट केही बोल्न नसके पनि मनले भने भने हार्दिक आभार व्यक्त गर्दै खिसिक्क हाँसें मात्र । मैले उहाँलाई फलफूलले भरिएको झोला दिंदै भनें; ‘यो फलफूल चाहिँ अघि घरबाट निस्केर बाटोमा किनेर ल्याएकोले पखालेको छैन । त्यसैले यसलाई नपखाली चाहिँ खान मिल्दैन है !’
ए, हस् ! अहिले कतै धारो भेटिए त्यतै पखालौंला !’
नभन्दै एकछिन हिँडेपछि बाटोमा एउटा कलधारो भेटियो । त्यहाँ पानी आइरहेको थियो । एउटी नानी त्यहाँ लुगा धोइरहेकी थिइन् । हामी त्यो धारो नजिक पुग्यौं ।
‘नानी ! यो पानी खान हुन्छ ?’
‘हुन्छ अङ्कल !’
‘ल दाइ ! यो फलफूललाई यहीँ धोइपखाली गरौं ! पानी पनि पिउन मिल्ने नै रहेछ; खाली भएका बोतल पनि यहीँ भरौं !’ सुमन जीले भने ।
हामीले त्यो धारोमा फलफूल धोइपखाली गर्यौं । खाली बोतलमा पानी पनि भरेर त्यहाँबाट अघि बढ्यौं । साथीहरू निकै पर पुगिसकेका रहेछन् । निकैबेर हिँड्दा पनि उहाँहरूलाई फेला पार्न सकिएन ।
‘लौ बर्बाद; बुढाहरूबाट हामीलाई यत्रो चुनौति ! निकै पर पो पुगिसकेछन्; भेटिइँदैनन् त ! अलिक छिटो हिँडौं दाइ ! नत्र धेरै कुर्नुपर्यो भनेर बुढाहरू आगो होलान् फेरि !’ सुमन जीले भने ।
धारोमा फलफूल धुने; पानी भर्ने गर्दागर्दै हामी त निकै पछि पो परेछौं ! निकै बेर हिँड्दा पनि साथीहरूलाई भेट्टाउन सकिएन । केही पर हिँडेपछि त्यहाँ दुईवटा बाटो आइपुग्यो । अब कुन बाटो जानुपर्ने हो भनेर हामी अलमलमा पर्यौं ।
‘सुमन जी; अब के गर्ने ? निकै पछि पो परिएछ त ! साथीहरू त हामीहरूलाई छोडेर कुलेलम ठोके कि क्या हो ? बाटो पनि दुईवटा देखिए; अब कुन बाटो लाग्ने ?’ मैले भनें ।
‘अब कसैलाई फोन गरौं दाइ ! नत्र त अलमलमा परिने सम्भावना भो !’ उनले भने ।
मैले मोबाइल झिकेर अप्सरालाई फोन लगाएँ । उनीहरू अगाडिको दुईवटा बाटो जोडिएको स्थानकै केही पर हामी झुक्किएलाऔ भनेर हामीलाई नै कुरेरै बसिरहेका रहेछन् ।
‘किन ढिलो गरेको ? हामी त बाघले खायो कि क्या हो भनेर आत्तिरहेका थियौं ! शीतल दाइले भन्नुभयो ।
‘बाघले हामीजस्तालाई खाइहाल्ने आँट चाहिँ गरिहाल्न सक्दैन है दाइ ! बरु हामी त हामीसँग हिँड्ने तपाईँहरूजस्ता बुढा बाघहरूलाई यस्तो तातो घाममा आवश्यक पर्ने रसिलो खुराकको व्यवस्थापन गर्न व्यस्त भएर मात्र ढिला भएका हौं !’ सुमन जीले फेरि ठट्टा गरे । हामी केहीबेर हिँडेपछि बाटोमा एउटा चौतारी आइपुग्यो । एकछिन त्यही चौतारीमा बसेर सुस्ताउने अनि फलफूल पनि खाएर मुख रसिलो बनाउने निर्णय भयो । हामीले चौतारीमा बसेर केही फलफूल खायौं ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

