माघको दोस्रो हप्तामै भवानी तावाले सङ्केत गरे- ‘सरलाई पान्थरबाट निमन्त्रणा आउँदै छ ।’ केही दिनपछि मङ्गल बेघाले फोन सम्पर्क गरे । पान्थरको फिदिममा स्थापित ‘समथिङ फउण्डेशन’का उनी अध्यक्ष रहेछन् । युवाकालमै राम गुरुङ ‘समथिङ’ पान्थरका एक विलक्षण प्रतिभा थिए । आफ्नो जीवन कालमा उनैले स्थापना गरेको ‘समथिङ फाउण्डेशन’ भन्ने साहित्य गुठीले एउटा कार्यक्रममा भाग लिने निम्तो पठायो । त्यसपछि निम्तो पाएर हामीले खुट्टा उचालेका थियौँ । किनभने दमकबाट कुनै कार्यक्रममा सहभागी बन्न कतै निस्कँदा ‘म’ एक्लै हुन्नँ ‘हामी’ हुन्छौँ ।

अघिल्लो सप्ताहान्तमा प्रेम ओझाले फोन गरे,- ‘गुरु, अर्को हप्ता पान्थरतिर आउनुहुन्छ होला मेरो उता बस्न मिलेन, यता विराटनगर झर्दै छु ।’

‘दमक निस्केको भए हुन्थ्यो प्रेम, हामी दमक आइसकेका छौँ ।’ प्रेमलाई सुनाएँ । किनभने प्रेम भनेका दशकौं पुराना र पान्थरलाई जोड्ने, जगाउने एक योजक स्रष्टा हुन् । यतिखेर उनलाई विविध व्यवहारले गाँज्दै विराटनगर तान्दै रहेछ ।

त्यसपछि उनले थपे, ‘होइन गुरु, आज त म तम्मर कोरिडोरको बाटो आएँ नि ! भर्खर इँटरी उत्रेको ।’

मैले भनेँ, ‘ए, गाडी वारपार चल्न थालेछन् नि, भाइ ?’

उनले खुसी व्यक्त गर्दै भने, ‘तम्मर कोरिडोरको बाटो ता एकदम फिलिली छ गुरु ! फिदिम-इटहरी त जम्मा पाँच घण्टा मात्र ।’

प्रेमका यी वचनले हामी उत्तेजित भयौँ अनि माघ २६ गते शनिवार ‘प्रतिभा निकेतन’ दमकको कार्यक्रम सम्पन्न गरी २८ गते बिहान दमक छोड्ने सल्लाह सकेर सुत्यौँ । यात्राका लागि सात जनाको टिम बन्यो : गोविन्द-अञ्जना, कमलराज-निर्मला, पदम ओली, नारायण फुयाँल र खेमलाल पोख्रेल ।

दमकका कुशल चालक निलम बरुवाल भाइको सुमो बिहान आठ नबजी हाम्रो घर पुग्यो । त्यहाँबाट बजार पसी यात्री भरेर इटहरीतर्फ लाग्यो । माघ अन्तिमको जाडो, बसैँ हिँड्ने कि गाउँमै बस्ने भन्ने दोधारबाट उम्किन नसकेका गाउँले जस्तै छ । तर आकाश निर्मल छ, छिप्पिसकेका पात बोकेर उभिएका वृक्षहरू छन् बाटाको जगङ्गलभरि । मङ्गलबारे, पथरीको जङ्गलबाट राजमार्ग ढुक्न आइपुगेका बाँदरका बथान नौला खेल खेलिरहेका छन्, भोकले नथामिएर होला कहिले रुख चढ्छन् त कहिले झर्छन् र आपसमा जिस्किन्छन् । ठाउँ-ठाउँमा ‘हात्तीको मार्ग’ ‘होसियार’ लेखिएका सूचना र चित्र सन्देश पढ्दै हामी गफमा रमिन्थ्यौँ । कानेपोखरी चोकमा बाटाको दक्षिणतिर एउटा चिया चमेना गृह छ ‘होटल स्पार्कल’ नामको सदाझैँ आज पनि त्यहाँ ओर्लियौँ । आज पनि लामा-खरेल बहिनीले रचेको ‘चैनपुरको पहाडे सख्खर’ हालेका चियापान गर्‍यौँ । गाउँलेको विश्वास छ,- पहाडे सख्खर खाँदा सुगरले समात्दैन । यो कुरा डाक्टरले थाहा नपाउन् भन्ने प्रार्थना छ ।

त्यसपछि हुइँकिँदै इटहरी बजार कटेर धरानतर्फ लाग्यौँ । त्यहाँ पुगेर ‘बाटाको खर्च’ फलफूल र के-के जाति किन्नु छ । धरानमा पुगेर त्यसै गर्‍यौँ । यहाँ धेरैबेर नबिसाउने सल्लाह गरेका थियौँ किनकि भेडेटार पुगेर चिया खानुको अर्कै मज्जा हुनेछ ।

धेरै वर्षअघि २०३८ साल फागुन ५ गते धरानबाट हिँडेका हामी त्यो साँघुरी भञ्ज्याङको डाँडो काटेर धारापानी झर्‍यौँ । त्यहाँबाट हिँडेको हिँड्यै मूलघाटको झोलुङ्गेमा कर तिरेर तम्मर तर्‍यौँ अनि पहेँली घाम ओरालिँदा धनकुटाको कचिँडे पुगेर रातभरि बिहे गर्‍यौँ । भोलिपल्ट उसै गरी हिँडेका हिँडेकै जन्ती, हामी, म र अञ्जना (बेहुला-बेहुली) धरान पुगेर दमक आउने गाडी चढेका थियौँ । ४२ वर्षपछि तिनै डाँडापाखामा पिच बाटो जाँदा-जाँदै निद्रा लाग्ला जस्तो आनन्दकर भएछ । मैले प्रथम नियुक्ति पाएको धनकुटा क्याम्पस छोडेको पनि ३२ वर्ष बितेछन् । धनकुटा आफ्नो ससुराली शून्य भएको पनि एक दशक भएछ । तर आजको गन्तव्य धनकुटा थिएन धनकुटा हेर्दै तम्मर किनारै किनारको यात्रा थियो ।

त्यसैले आज मूलघाटका पुल वरपर कतै बिसाउँला, कुनै होटलमा ताजा भान्सा बनाउन लाउँला, एक घण्टा नजिकको विश्रान्ति मन्दिर घुमेपछि खाना खाएर तम्मर कोरिडोरको बाटो पक्रौँला भन्ने लागेको थियो । माल्दाजुको यो प्रस्तावलाई सबैले स्वीकार गरेका थियौँ । मन्त्रालयका सचिव पदमा पुगेका धनकुटेली दूरदर्शी चिन्तक श्री राम नारायण श्रेष्ठ र मेरा ससुरा बा पं.कृष्णप्रसाद वस्तीको सपना त्यो विश्रान्ति मन्दिरले आज कत्रो प्रसिद्धि कमाएको छ, हाम्रा केही मित्रले देख्नुभएको छैन ।

हामीले उखुडाँडा छेउ पुगेपछि देख्यौँ – त्यहीँबाट धुलेबाटो कोरिडोर भीरको मुखतिर पस्दो रहेछ । निकै टाढाको विश्रान्ति मन्दिर हेर्ने र तातो भात खाने सपना त्यहीँ समाप्त भयो । त्यहीँबाट धुलेरोडमाथि चढेर तमोरको किनारै किनार नदीको उल्टो धारतिर बग्न थाल्यौँ । निकै फराकिलो बन्ने छाँटको बाटो कतै रोडागिटी छन् त कतै बालुवा पेलेका ठाउँ छन् । बाटाका छेउ भित्तामा सिमेन्ट पेल्ने ढ्वाङ छन्, अलिक पर्तिर पुग्दा पहराका फेदमा बिसाएर आफैले कोपरेको भित्तातिर हेरिरहेका ठुला यन्त्र छन्, कताकति दुई-चार श्रमिक सिमेन्ट मुछ्ने तयारी गरिरहेका, कताकति पानी बोकेका ट्याङ्कर घस्रिरहेका, अलि पर्तिर ढुङ्गा फुटाउनेहरू, सारा बाटो निर्माणाधीन छ ।

तल्तिर निलो तम्मर छ, शान्त मुद्रामा बेला-बेला उफ्रेर हाँस्दै सेता बगरभरि, फेरि बेला-बेला साँघुरिएर ठाडे पर्वतबीच फड्किँदै बग्ने नदी । धनकुटा र पान्थरका भू-भागमा रसाउँदै, रमाउँदै, बेला-बेला भँगालिँदै, खुम्चिँदै डरलाग्दा भीर र पहराको फेदै फेद ।

उखुडाँडाबाट छुटेका हामी गाडी कतै नरोकी बिसाउने, खाना खाने ठाउँ खोज्दै बाह्र बज्यो, एक दुई गर्दै तीन पनि बज्यो तर कहीँ बिसाऊँ लागेन । कतै-कतै भेटिने च्यादर छाने दोकान घरहरू आउँछन् तर छानाको रङ्ग नै धुलाको भारी बोकेका । कुर्सी, टेबल, रुखपात, बारी, बिरुवा सारा सेतो-फुस्रो, धुले रङका हेरी नसक्ना । त्यसमाथि बेला-बेला कुद्ने पाङ्ग्राले जगत् कुहिरीमण्डल पार्छ ।

सिधै माथि हेर्छौं, मेसिनले नङ्ग्र्याएका आला घाउहरू बोकेका पहरा र भित्ता थामिन नसकेका, पहिरा अनि फुस्रै फुस्रो सारा खर सिरु समेतका वनस्पति सुकेर फुस्रोपना मात्रै बाँकी रहेका । वारिपारि तलका विशाल नदीले विभाजित छन् तर सृष्टिको आरम्भदेखि हेराहेर गरेर बसेका, कहिल्यै भेट नहुने भीरहरू । कताकति दुर्लभ खोल्साहरू मिसिएका छन् । ठाउँ-ठाउँमा कठोर चट्टान सुसाउँछन् जहाँ हजारौं वर्षदेखि झार पनि उम्रिन नसकेका डरलाग्दा पाषाण भीर उभिन्छन् ।

गाउँबस्ती कतै आउँदैनन्, दृष्टिमा – न वारि छन्, न पारि । बिसाउने ठाउँ आउला र बिहानको खाना खाउँला भन्छौँ तर त्यो कतै छैन । पारिपट्टि देखिने बारीका डिल र कान्ला मात्र छन् । घरहरू कहिले कहिलेदेखि छोडिएका कतै आधि गारो कतै जग मात्रै । वारि त्यस्तै बेला बेला आउने पुराना घरहरू सबै खाली भत्किएका भाँच्चिएका रित्ता कतै छानो बेगर कतै आधा पर्खाल अनि खेत बारीहरू निर्जन जङ्गल बुट्यान बनिसकेका परित्यक्त बञ्जर भूमि जताततै ।

धेरै अघि २०२८ सालको हिउँदमा आफ्ना काकासित लागेर म पहाड घुम्न गएको थिएँ । ताप्लेजुङ, पान्थर सक्यौँ तर काकाको व्यवहार सकिएन अनि म बडाबासित मधेस फर्किने भएँ । ताप्लेजुङबाट झरेर तम्मर दोभान तर्‍यौँ अनि आठराई सङ्क्रान्ति चढ्यौँ । फेरि ओल्लोपाटो तल-तल झर्दै दोस्रो पल्ट हाङ्ठुवा दोभान तरेर वारि आयौँ । त्यहाँबाट बदामटार, भैंसेटार, सदामटार, कुशेटार जस्ता अनेक नामका टारहरूका बीचैबीच चल्ने पैदल बाटो नाघेर कति दिन पछि मूलघाट पुग्यौँ । हिँड्दै लेवती किनार सकिएपछि फेदीबाट डाँडैडाँडा धारापानीको उकालो काट्दै साँघुरी भञ्ज्याङ पुगेर बिसाउनेहरू सयौं हुन्थे । भरियाका काँधमा बसेको रेडियोमा कहिलेकाहीँ बज्थ्यो:

       साँघुरी वारि नि हौ त्यो धारापानी

                 गडतिरको हौ हजुर बालुवा,

       खरो र सुर्तीले नि बाडुली लाग्यो

                 लिनुहोस् हौ हजुर मलुवा ॥

पुण्यप्रसाद सुवेदीका शब्दमा तारादेवीको स्वरले सजिएको गायनले कति दिनसम्म गडतिरको बालुवा टेक्दै धरान …. ताप्लेजुङ, पान्थर, तेह्रथुम हिँड्नेको जीवन संस्कृति सम्झाउँछ ।

बडाबासँगको यात्रामा बाबु-छोरा दुवैले गच्छे अन्सारका कुम्ला बोकेर हिँडेका छौँ । तिनमा ओढ्ने-ओछ्याउने, पकाउने-पस्किने, नुन-भुटुन, गुन्द्रुक, चामल, चिउरा, कुराउनी  सबै हुन्थे । केही मेहेलका चाना, लप्सीका दाना, बेसार, पाखनबेत आदि कोसेली पनि थिए । माघको जाडामा म दाउरा पानी भाँडा ठिक पार्थेँ । कछाड बेरेर बडाबा चम्कामाथि ताउलो बसाउनु हुन्थ्यो ।

तिहुनमा नून चर्को हुँदा बा भन्नुहुन्थ्यो- अलि चर्को भएछ  नानी, एल्ले राम्ररी पानी काट्छ । बिलिनु हुँदा भन्नुहुन्थ्यो- ठिक छ नानी, एल्ले तिर्खा लाग्दैन । एउटा परम् सन्तसित लागेर छ दिन, छ रात हिँडियो, बसियो, सुतियो । माथि-माथि गोला, तिब्बत भोटदेखिका यात्रीका लस्कर हुन्थे, यो बगरभरि ।

छ दिन लगाएर हिँडेको यो बाटो आज छ घण्टामै तुरिने भयो । नदीभन्दा दुई-तीन सय मिटर माथिबाट भीरको काखैकाख बाटो कुदेको छ धुलो उडाउँदै । वारि हेरौँ कुनै गाउँवस्ती छैन, पारि हेरौँ सबै-सबै रित्ता पाखा र भीरहरू तम्मरमा चोबिएका, तम्मर एक्लै सुसाउने स्वर कानमा थाप्दै बसेका छन् ।

अतीतमा हिँड्दा खोला किनारका बेला-बेला आउने टारहरू टेक्दै अरू बगरको बाटो ‘गड्तिरको बालुवा’ टेक्दै हिँड्ने थिए । घाम लागेका बेला मधेसभन्दा तातो, त्यो गहिरो खोच । यसपालि माथि-माथिको बाटादेखि बेला-बेला देख्थ्यौँ,- ती टार ता रमाइला र मलिला छन्, मानव श्रमले हरिया पनि । ती टारमा मकै बाली भर्खर छ, कतै धान रोप्तै गरेका तर नयाँ बाटो कतै नजिकै छुन्छ, कतै माथिको भीरमा चढ्छ ।

माथि-माथि डाँडामाथि मौवा, यासोक, रानीगाउँ, कति घना बस्ती र विस्तृत पाटाहरू छन्, भन्छन् । यति तल वरिपरि कुनै घर, बस्ती, गाउँ नदेखिने ठाउँबाट यो राजमार्ग खन्ने आग्रह कसको होला ? यहाँ गाउँबाट एक डोको नास्पाती, साग या इस्कुस बोकेर यस बाटामा झर्न कोही सक्दैन । यी भीर पारिका, डाँडाका, गाउँका लागि कसैले एक पोका औषधी, मल, बीउ वा आवश्यक वस्तु यहाँ झार्न सक्तैन … यस्तो कुरा गर्‍यौ- हे, योजनाकार ! कुन स्वार्थले यो अटल पहरा फोर्‍यौ नि ? प्रकृति माताको मुटु थर्काउँदै ।

ठुला मार्ग बारेको राजनीति वा यसको जीवन पद्धतिसँगको सम्बन्ध बारेमा आफू अनभिज्ञ रहेकाले साह्रै जोड गर्न पनि सकिएन । तर बिहारदेखि गोला पुग्ने बाटो एउटा कारणले धेरै उपयोगी छ ।  चीन र भारतका गुप्तचर र अवैध तस्करहरूलाई यो स्वर्ग आइजाइको  मार्ग हुनेछ । नेपाललाई छ्यान्द्रो पार्ने सबभन्दा शक्तिशाली झम्पल यही बाटो हुनेछ । यो गराउनेले राष्ट्रका प्राकृतिक स्रोत र साधन सौन्दर्य र यसको कौमार्यलाई आजै बिक्री गरिसकेको हुनुपर्छ । नत्र जुन देशमा एउटा सियोसम्म उत्पादन हुँदैन उसको आँगन चिरेर तस्कर डान्स गर्ने राजमार्गले अरूका सिमाना ‘फास्ट ट्र्याक’ जोड्नुको के स्वार्थ ? ती  निर्जन भीरपाखाको निर्जनता समाप्त भएको देख्ता मनमा अपराध बोध हुन्छ, रमाउने कुरा कहाँ छ, केमा छ ?

जाँदा-जाँदा यात्रीका बोली रोकिन थाले । पाँच घण्टा बिते । कतै बिसाउने, खाने, ठाउँ छैन । धेरै अघिदेखि चालक भाइ निलम फोन गर्दै थिए,- ‘हामी आठ जनालाई दालभात बनाइदिनोस् न है हामी भोकै छौँ ।’ मुस्किलले फोन लाग्यो अनि के सल्लाह गरे ।

बल्ल साढे तीन हानेपछि भुल्के भन्ने ठाउँमा गाडी बिसाए । बाटा छेउको एक थापाको घर रहेछ । त्यहीँ बिसायौँ र निस्कियौँ । धुलाम्मे बाटोमा बेला-बेला भुमरी परेर कुहिरीमण्डल हुन्थ्यो । राक्षसी मेसिनहरू नजिकको पहरालाई नङ्ग्र्याउने कोसिस गरिरहेका हुन्थे ।

बरुवाल भाइका ती आफन्त रहेछन् । टाँडको छेउको कोठामा बहिनीले भान्सा बसालिन् । थापा भाइले भित्र-बाहिर मिलाए । घर पछाडिको काठे बरन्डामा लहरै बसेर तलको बेँसी, त्यस पर्तिर तम्मर, त्यस पारिका भीर र तेह्रथुमका सुम्नाम टार, लम्चु, भदौरे, सोल्मा, ओख्रे आदि ठाउँहरू र फाक्चामारा यताका अनेक भीर, गाउँ र खोलाहरूको दृश्य हेर्न बस्यौँ ।  तर हेर्न बाँकी केही थिएन, खोरुङ्गा खोला तरेपछि आउने भीर, पाखा, जङ्गल, सबैलाई खाने डढेलो चटटट गर्दै खरबारी सल्केको छ ।

आकाश कुइरीमण्डल छ, झन् पर झन् पर, सर्दै तीन-चार डाँडाका फेद-फेदबाट माथि-माथि सर्दै-सर्दै गाउँ-गाउँका नजिक पुगेको छ । माथि-माथि आगाका लप्काहरू आकाश छुने गरी उफ्रिन्छन्, चराचुरुङ्गीहरू धुवाँको बादलभित्र कुँडुलो पारेर उडेका छन् । वारिबाट ती ठाउँ टाढा भएकाले वन्यजन्तु दौडेका भने देख्न सकिएन तर कति जीवहरू त्यहीँ खरानी भए हुन् । तल डाँडाको फेदमा एउटा मान्छे राँको बोकेर सुकेको खरमा झोस्दै पर-पर कुद्थ्यो ।

निलमले देखाए, ‘यस्तै आगोले परार साल उः त्यो सुम्नाम टार गाउँका बीस घर खरानी भए । अहिले त्यहाँ कोही छैन । त्यहाँ हाम्रो पनि डढ्यो । त्यसका साथै २०७५ सालमा खोरुङ्गा खोलाले हाम्रो बुबालाई पनि बगायो र त्यो ठाउँ छोडेर मधेस गयौँ ।’

एक घण्टा त्यहाँ बसेर त्यो हृदयविदारक घटनाका दृश्यको साक्षी मात्र भयौँ । त्यो निर्जन भूमिमा कोही थिएन । आज ती डाँडामाथिका एक्ला घरहरू पनि सल्किछन् होला । त्यता टाढाका डाँडा पारि डढेको गन्ध वारि हामीसम्म आइपुगेको थियो । यत्रो डढेलो मैले पहिले कहिल्यै नदेखेको ।

हामी सबै भोकले गलेका थियौँ । भरे थाहा भयो हाम्रा चालक भाइको त वाक्य बसेको रहेछ । धन्य त्यहाँका अर्ग्यानिक पदार्थहरूको भोजन ग्रहण गरेपछि बल्ल आँखा तिखा भएर खुले । यतिबेला चार बजेको थियो ।

त्यसबेला फिदिम बजारदेखि फोन आयो, ‘तपाईंहरू कहाँ आइपुग्नु भयो सर ?’

‘हामी भुल्के भन्ने ठाउँमा आइपुगेर खाना खायौँ भतिज ।’

‘उसो भए अब एक घण्टा रह्यो काका ।’

‘हुन्छ भतिज, हामी आठ जनाका लागि दुई-तीन ओटा इलामे अम्लिसाका कुचा, खरेटा र लाठेहरू ठिक्क राख्नु होला । हामीलाई बढार-कुँडार गरेर मात्रै चिन्न सक्नुहुन्छ ।’

‘हवस् काका ।’

तर भुल्केबाट एक घण्टामा त्यहाँ पुगिएन, झन्डै अढाई घण्टा लाग्यो । तम्मरलाई तलै छाडेर हामी कहाँ-कहाँ पुग्यौँ,- धेरै माथि, धेरै तल, अर्कै भूगोलहरू । बल्ल केही मानव बस्ती पनि आउन थाले । अलिक हरियाली आउन थाल्यो । दिनभरिका उजाड भीर छेलिए ।

नावा खोलादेखि अलिक भिन्न जगत् आयो । एक छिनमा पिच बाटो टेक्यौँ । उँभै-उँभै  चढेर ऐतिहासिक फिदिमको जोरसाल पुगियो जहाँ अर्को पिच बाटो ओरालिन्छ । सल्लाका अग्ला वृक्षहरू सुसाउँछन् । पुलिस, आर्मी, ट्राफिक भेला भएर चेकजाँच खै के-के गर्छन् ।

त्यहाँदेखि अब पुगियो भन्ने भावले ठुलो सास फेर्‍यौँ । नभन्दै एकछिनमा गुरुजीले हामीलाई फिदिम बजार बीचको होटल अजिमामा उतारे । त्यहाँ ‘समथिङ फाउन्डेशन’का अध्यक्ष मङ्गल बेघा (भतिज), सचिव भोजराज काफ्ले, भवानी तावा र अन्य सदस्यहरूले हाम्रो हार्दिक स्वागत गरे ।

हाम्रा गुरुजीले सामान, ब्यागहरू निकालेर आँगनमा राखे । ती वास्तविक रङका नभएर खैरा, ध्वाँसे, फुस्रा माटाका पोका र ढुङ्गा थिए । त्यसपछि गुरुजी गाडी लिएर कारवासतिर उडे भने भाइ बैनीले हाम्रा जिउमा कुचाले बढार्ने र खरेटाले पिट्ने काम सुरु गरे ।

यतिबेला मैले प्रेम भाइले भनेको वाक्य सम्झिरहेको छु, ‘तम्मर कोरिडोरको बाटो ता फिलिली छ, गुरु !’