पुस्तक पढ्नु र यात्रा गर्नु उस्तै उस्तै हो भन्छन् जानकारहरू । पुस्तक पढ्नु भन्दा यात्रा गर्न बढी रुचाउँछु । अजिङ्गरको आहारा दैवले पुर्याउँछ भनेझैँ मलाई पनि यात्राका अवसरहरू आइरहन्छन् । आठ-दश महिना अघि नै प्रभात साथीले भनेको थियो– मार्च महिनामा दुबई जानुपर्छ है । सेप्टेम्बरमा प्रकाशजीलाई र मार्चमा मलाई लाने भइयो । हामी दुई जना एकै पटक जाने अवसर मिलेको भए अझ कति राम्रो हुन्थ्यो होला । जे होस् अलगअलग नै भए पनि हामी दुवै जनालाई दुबई जान अवसर मिलेको थियो ।
बिहानै जहाजको समय, दिल्लीको बसाई सम्झेर अलिक अत्तालिँदै थिएँ । दिमागमा लेखक भाइ हर्कबहादुर लामगादे ‘रोहित’सम्झनामा आए । उनी मणिपुरका स्थायी बासिन्दा । हाल दिल्लीमा स-परिवार बस्दै आइरहेका छन् । मैले पहिलो पटक कविडाँडा साहित्य उत्सव, सौराहा, चितवनमा भेटेकी थिएँ रोहितलाई । म्यासेन्जरमा म्यासेज छोडें । “भाइ म दिल्ली आउँदै छु बासको व्यवस्था मिलाउन सहयोग गर्नुस् है ।”
छोटो बातचितपछि उनले भने, “म छु नि दिदी चिन्ता नगर्नुस् ! मेरो घरमै बस्नुपर्छ नि ! बुहारी, नानीहरू, बहिनी र आमा पनि हुनुहुन्छ ।”
यस्तो सहयोगी मन प्रस्तुत भएपछि अरू के चाहियो र ! ढुक्क भएँ । हर्क भाइकोमा दिल्ली जाने लेखकहरू प्राय: निस्किँदा रहेछन् । समय कति चाँडै बितेछ ।
मार्च छ आई पो हाल्यो । हजुर, मार्च सात बिहानको उडान थियो मेरो दिल्लीबाट दुबई शहरको । छ तारिक घरबाट निस्कें । निस्केँ के भन्नू प्रकाशजीले नै बागडोगरा पुर्याइदिनुभयो । केही समय ढिलो गरी जहाज उड्यो । एक बजेतिर त पुगिहाले दिल्ली । हवाई अड्डाबाट आधा घण्टाको दुरीमा रहेछ भाइको बसाई । हर्क भाइले दिएको लोकेसनमा पुगें । भाइ मलाई लिन बाटोसम्म आएका रहेछन् ।
भित्र गयौँ । खाना दिउँसो खाने चलन रहेछ । हामीले लगभग दुई बजे खाना खायौं । हर्कभाइ अफिस गएपछि म बहिनीसँग घुम्न निस्किएँ । इन्डिया गेट, जन्तरमन्तर आदि नजिकैका ठाउँहरू पैदल घुम्यौं ।
धावनमार्गमा जहाज गुड्यो । म घडीतिर ध्यान दिँदै बाहिर नजर डुलाउन थालें । छेउमा एकजना पन्जाबी भाइ थिए । अनुहार हेरेर उमेरको अड्कल काट्न सकिन्थ्यो । जहाजले धावनमार्ग छोडेकै थिएन ऊ भने घुर्न थाल्यो । १८ मिनेट पछि जहाजले जमिन छोड्यो र आकाशमार्ग समात्यो ।
जहाज आकासिँदै गयो जमिन टाढा लाग्न थाल्यो । महलहरू स – साना झुपडीझैँ देखिँदै गए, बिस्तारै घर घर झैँ लाग्न छोडे । शहर शहरझैँ लाग्न छोड्यो । शहर फगत ढुङ्गाको थुप्रोझैँ देखियो । माथि आकाशबाट हेर्दा भुइँभरी टायल्स लगाएजस्तो देखिन्थ्यो । कतै निला, काला रंगका सर्पझैँ लाग्थे नदीनाला र बाटोहरू । जहाजका परिचारकहरू यात्रुलाई सुझाव सल्लाह दिइरहेका थिए ।
प्रायः जहाजमा परिचारिकाहरू देखेकी मैले यस पटक भने छोरा मान्छे (परिचारक)देखेकी हुँ । आकाश मार्गबाट जहाज कुन दिशातर्फ जाँदै छ ? पत्तो पाइन मैले । अनि कम्पासमा हेरें। दक्षिण तर्फ इङ्गित गर्यो । जति जति जहाज उड्दै जान्थ्यो उति उति जमिन टाढिंदै गएको थियो । तल निलाम्मे फाँटझैँ देखिन्थ्यो कतै त कतै मरुभूमिको पहाडझैँ देखिन्थ्यो । कतै भने बादलको बिस्कुन झैँ ।
जहाज जमिन नजिक हुन थालेथ्यो क्यार एकाम्य निलो फाँटमा अर्थात् समुद्रमा चलिरहेका पानी जहाजहरू आकाशमा ताराझैँ देखिन थाले । बिस्तारै बिस्तारै पानी जहाजले आफ्नो गन्तव्य लिएको स्पष्ट हुन थाल्यो र बिस्तारै सहर माथिको आकाशमा पुगेकी थिएँ म ।
दुबई पुग्दा स्थानीय समय बिहानको ११ बजेको थियो । हवाई अड्डाका प्रक्रियाहरू पूरा गरें । पर्यटकका लागि सिम पाइन्छ भन्ने सुनेकी थिएँ । हो रहेछ । मलाई एउटा सिम दिइएको थियो । म बाहिर निस्किएँ । गाडी नजिक गएर चालकलाई लोकेसन बताएँ । अल मुराकावादको पाँचतारे होटेल आसियाना ग्रान्ड । अब मेरो पाँच रातको लागि घर बन्दै थियो ।
आधा घण्टा जतिमा होटेल पुगें, हाम्रो समूहका मित्रहरू त्यहाँ उपस्थित भैरहेका थिए । प्रभात सुवेदी मेरो टिम लिडर । उहाँ लगायत अन्य लिडर र इच्छा म्याम पनि त्यहीँ हुनुहुन्थ्यो ।
छोटो बातचित पछि निर्धारित शयन कक्षतर्फ लागें । राहदानी प्रयोग गरेर ७ मार्च २०२३ मा गएको दुबई यात्रा पहिलो विदेश यात्राको अनुभव हो मेरो । विकासको स्वरूप, संस्कृति, चालव्यवहार, व्यापारका फरक रूपको अनुभूति । अलिकति मानव-निर्मित संरचनाहरूको पृथकता । आहा ! दुबई पुग्दा चरम विकासको नमुना देखियो ।
“के चैँ हुन्छ र मान्छेले बनाएको संरचनागत विकासमा ?” बाले भन्नुहुन्थ्यो, “जहाँ पुगे पनि गगनचुम्बी महलहरू, सफा र फराकिला सडकहरू, सुकिला र सुन्दर मान्छेहरू र अनेक खालका सवारीहरू, रङ्गीविरङ्गी व्यापारिक केन्द्रहरू, समुद्र वा मरुभूमिमै पनि बनाइएका संरचनाहरू, यस्तै त हुन् नि !”
आज साँच्चै बाका ती पुरानै कुराहरूले मस्तिष्क हल्लाइरह्यो । विश्वको अग्लो महल बुर्ज खलिफा हेर्ने अवसर जुरेको थियो । मन बगैंचा भएको थियो । विचारहरूका फूल फुलिरहेका थिए । मनले सोच्यो वर्षौं अघि नेपालले धान चामल सहयोग गरेको देश रैछ युएई । अहिले युएईको विकासको पक्ष कति बलियो र नेपालको कति कमजोर ! साँच्चै समय सँगसँगै विकाशको छलाङ मारेको युएईको दुबई सहरको बयान गरेर साध्य नै छैन ।
सानो कुरा नै हेरौं न, हाम्रोतिर एक घण्टा बाहिर घुम्यौं भने धुलो धुवाँले अस्तव्यस्त बनाउँछ तर दुबई सहरमा दिनभर बाहिर घुमेर रुम आएर हातमुख धुँदा अलिकति पनि धुलोमाटो भएको अनुभव नै नहुने । बाटोघाटोमा हाम्रो यतातिर जस्तो चोक, गल्ली अनि गोलाइ नै पिच्छे प्रहरी थिएनन् । प्रायः प्रहरीका काम कन्ट्रोल रुमबाट नै हुँदो रहेछ । भएसम्म प्रविधिको प्रयोग देखियो । माथि भने नि चरम विकासको अनुभव ।
स्थानीय समय २ बजेतिर प्रकाश सर लगायत हामी केही साथीहरू मिलेर मरुभूमिको यात्रामा निस्कियौं । गाडीमा जम्मा सात जनाको मात्र सिट र हामी सात जना । गाडी हुइँकियो । प्रति व्यक्ति एक सय दिराममा हामीलाई खाना, ऊँट सफारी र कार राइडिङ गराउँदा रहेछन् । झन्डै एक घण्टा पछि एउटा मरुभूमिमा गाडी रोकियो । बाहिर स-साना स्टलहरू देखिए ।
पर्खालभित्र यसो हेरेको बिशाल मरुभूमि रहेछ । त्यहाँ बालुवामा बाइक चलाएर आनन्द लिने ठाउँ रहेछ । हाम्रो समूहबाट तीन जना बाइक राइडिङमा जानुभयो । हामी बाहिर नै बस्यौं । त्यहाँका फुड स्टलबाट जुस आदि कुरा खायौं । हामीलाई त्यहाँको खानपान अत्यन्तै महँगो लाग्यो । हुन त स्थानीयलाई त्यो महँगो नहुन सक्छ । हामी भारतीय रुपियाँबाट दिराम बनाउनेलाई भने निकै भारी पर्ने ।
बेलुका खाना खाने ठाउँमा दुबईको संस्कृति विशेष नाचगान पनि हेर्ने अवसर जुर्यो । हातमा आगो लिएर गरिने नृत्य, बेली डान्स साथै नेपालको सुदूरपश्चिमतिरको छलिया नृत्य जस्तै लाग्ने नृत्य पनि त्यहाँ प्रस्तुत गरिएको थियो । त्यस बेला मलाई नेपालको सुदूरपश्चिमको सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढीको प्राङ्गणमा हेरेको छलिया नृत्यको याद आइरह्यो । ठ्याक्कै मिल्दोजुल्दो थियो त्यो नृत्य । लगभग नौ बजे हामी होटेल आइपुग्यौं । हामीले भोलिको लागि पहिरन लिनु थियो । लिएँ । एउटा झोलामा ब्याच, टि-शर्ट, सिसाकलम र एउटा डायरी थियो ।
भोलिपल्ट हामीले कम्पनीको नियमअनुसार कम्पनीले दिएकै पोशाकमा जानु पर्ने हुन्थ्यो । म आफ्नो शयन कोठामा गएँ । एउटा सिङ्गो तलो जस्तो रुम थियो । रुम, किचन, वासरुम, ड्रेसिङ रुम । हुन पनि पाँच तारे होटेलमा थिएँ । पाँच तारे होटेलको सेवा सुविधा भरपुर थियो । म एक्लै त्यो विशाल अनि अत्याधुनिक रुममा हराइरहेकी थिएँ । मेरो साथमा रहने साथी भने आइपुगेकै थिइनन् । उनी अमेरिकाबाट थिइन् । म निधाइसकेकी रहेछु । डोर बेल बज्यो । उठें ।
बाहिर सबिता माझी, उनै अमेरिकी साथी लिएर आएका रिसिप्सनिस्ट दाइ रहेछन् । अब हामी पाँच रात छ दिनका लागि सहयात्री थियौं र साथी पनि । भारतीय मूलकी अमेरिकन नेपाली रहिछन् उनी । फराकिलो स्वभावकी । एकैछिनको भेट पनि वर्षौं पुरानोझैं भयो मलाई त ! छोटो परिचय पछि सुत्यौं ।
८ तारिक बिहान हामीलाई लिन गाडी आइसकेको थियो । हामी कार्यक्रम स्थलतर्फ लाग्यौं । एक्स्पो चलिरहेको थियो । विभिन्न देशका विभिन्न कम्पनीले आफ्नो आफ्नो स्टल राखेका थिए । आ-आफ्नो कम्पनीको मार्केटिङ गरिरहेका थिए । केही समय बिताएपछि हामी केही साथी मिलेर घुम्न निस्कियौं, कम्पनीकै टिसर्ट लगाएर । विश्वको सबै भन्दा अग्लो बिल्डिङ बुर्ज खलिफा र दुबई मल सँगै रहेछ । हेर्यौं । आनन्दित भयौं । बुर्ज खलिफाको छवि लियौं । विकासको फरक अनुभव गरें मैले । बुर्ज खलिफा सँगै आमनेसामनेमा थियो दुबई मल । मलको बारेमा के नै भन्नु र ! अत्यन्त विशाल ।
साँझ रुम पुग्यौं । खानाका विभिन्न परिकार राखिएको थियो । आफूले कहिले नदेखेका र खाएर अनुभवसम्म नगरेका । म प्रायः बेकरी र फ्रुट मात्र खान्थें । मलाई त्यहाँको खानामा भात र अन्य मासुजन्य खानेकुरामा पटक्कै रुचि भएन । स्वाद पनि भिन्न लाग्यो । सविता भने ठीक विपरीत थिइन् । उनी बेकरी आदि खाना मन पराउँदिन थिइन् ।
सविता र म प्रायः छुट्दैनथ्यौं । दिउँसो कार्यक्रम, बेलुका कार्यक्रम । कार्यक्रम चलिरहन्थे । म बेलुकाको कार्यक्रम छोडेर बर दुबई जाने सोचमा थिएँ । मलाई लिन साहित्यकार भाइ जे.सागर आइसकेका थिए । उनी सफल व्यवसायी पनि हुन् । वर दुबईमा घान्तुत नेपाली क्याफेका सञ्चालक हुन् जे.सागर । साँझमा एक्लै के निस्किनु भनेर मैले श्याम पाठक दाइलाई पनि साथमा लिएर गएँ ।
जे.सागर भाइले लगभग आधा घण्टाको ड्राइभमा बर दुबई पुर्याए । उनको रेस्टुरेन्टमा साहित्यकारहरू श्रीभवानी नेपाल, बिष्णु प्याकुरेल आइसकेका रहेछन् । मीठो भलाकुसारी भयो । केही क्षणको बसाइपछि हामी निस्कियौं । यो मीठो आतिथ्य त्यही पनि विदेशी भूमिमा । मन बगैंचा भएको थियो । अक्षरको यो सम्बन्ध कति नजिक हुने रहेछ ।
रात निकै गाढा भैसकेको थियो । हामी पैदल आयौं समुद्र तटसम्म । डुङ्गाबाट तर्नुपर्ने रहेछ । जाँदा त जे.सागर भाइले गाडीमा लगेकोले याद नै भएन । तर समुद्रबाट फिँजिएर बनेको सानो समुद्र रहेछ त्यहाँ । एक दिराम तिरेर डुङ्गामा बस्यौं एउटा बेग्लै अनुभव नि ! एक दिराममा तार्ने त एउटा सानो खोल्सो होला भन्ठानेको त हैन रहेछ । निकै लामो रहेछ ।
डुङ्गाबाट ओर्लिएपछि हामी रमिता हेर्दै पैदल नै गयौं । राति पनि राति जस्तो थिएन । पसलहरू खुल्लै थिए । बत्तीको उज्यालोले शहर दिनझैं थियो । उता कार्यक्रम सकिनै लागेको रहेछ । नाचगान चलिरहेको थियो । दोहोरीमा झुमिरहेका थिए साथीहरू । हामी पनि सामेल भयौं । नाच्यौं । रमायौं । खानपिन सकिँदा रातको बाह्र नाघिसकेको थियो । प्रोग्राम घुमफिर, पुनः प्रोग्राम घुमफिर यस्तै रितले दिन बित्दै थिए ।
अर्को दिन हामी होटेलबाहिर निस्कियौं । त्यहाँ काम गर्ने प्रायः नेपाली भाइ बहिनीहरू देखिन्थे । कोही नेपाली अनुहार देखेर हामीसँग बोल्न रुचाउँथे भने कोही चाहिँ नेपाली पो रैछन् भनेर भाग्थे । रासन दोकानदेखि मल सम्म प्रायः नेपाली कामदारका रूपमा भेटिँदा रहेछन् । केन्या, पाकिस्तान र भारतका पनि कामदारका रूपमा जाने मान्छे नभेटिएका हैनन् तर भाषा मिलेर होला मलाई नेपाली धेरै भएझैँ लाग्यो ।
एकजना भाइ ट्याटु आर्टिस्ट रहेछन् । हामी चिया पिउन चिया पसल खोज्ने क्रममा भेटिए । चिया पसलसम्म लगेर सहयोग गरे । सबिताले उनै भाइ निर्मल श्रेष्ठसँग ट्याटु बनाइन् । म भने यो समयमा बुटवलका व्यवसायी राजकुमार थापालाई साथ लिएर मक्तुमको डे टु डे मार्केट गएँ । अल मरिगा रोड छोडेर अगाडि रहेको अल मुरक्काबाद रोडबाट मक्तुमका लागि गाडी चढ्यौं । नानीहरूलाई केही कोसेली ल्याइदिनु थियो । आमा दुबई घुम्न गएकी, केही ल्याउँछिन् भन्ने आशमा हुन्छन् नानीबाबुहरू घरमा । केही लुगाफाटो अनि चारपाँच किलो चकलेट लिएर रुम आइपुगेँ । साथी पनि ट्याटु बनाएर आइसकिछन् ।
उत्तम भाइ एउटा समूहको टिम लिडर । हामी अर्कै समूहबाट थियौँ । तर पनि हामी उत्तम भाइको साथ घुम्न निस्कियौं । हामी मिराकल गार्डनको लागि अल मरिगाबादबाट मेट्रो ट्रेन चढ्यौं । मल अफ द अमिरेट्स मेट्रो स्टेसनमा ओर्लिएर मिराकल गार्डनतर्फ लाग्यौं । प्रवेश शुल्क चालीस दिराम प्रतिव्यक्ति तिरेर हामी भित्र प्रवेश गर्यौं । फूलका बिरुवाद्वारा बनाइएका हात्ती घोडा, बार्वीडल आदि मनै लोभ्याउने दृश्य थिए । पार्कभित्र दुई घण्टा बितेको पत्तै भएनछ । हामीले फोटो भिडियो बनायौं । मरुभूमिको देश युएई । यस्तो ठाउँमा यति सुन्दर बगैंचा साँच्चै जादु झैं लाग्ने । त्यो मिराइकल गार्डेन वर्षको छ महिना बन्द हुँदो रहेछ । गर्मी अत्यधिक बढेपछि फूलका बिरुवा ओइलाउने भएकोले छ महिना बन्द गर्न बाध्य हुँदा रहेछन् ।
देशले गर्न चाहे के चाहिँ नहुँदो रहेछ र ! एउटा ज्वलन्त उदाहरण थियो त्यो बगैंचा । अर्को मुलुकबाट माटो लगेर त्यहाँ वृक्ष रोपिन्छ भन्ने सुनिन्छ । बाटोभरि पनि बेगमबेलीलाई कटिङ गरेर एकैनासका पोथ्रा बनाइएको रहेछ । यो बेगमबेलीले शहरको, बाटोको सौन्दर्य बढाएको देखियो ।
दस तारिक हामीलाई कम्पनीले क्रुज लैजाने भनेकोले हामी तयार भयौं । मम्जरबिच लैजान चार वटा गाडी नेपाली समूहका लागि तय गरिएको थियो । भारतीय समूहमा नेपाली भाषी कोही नभएकोले र मेरो टिम लिडर नेपाली भएकोले म पनि नेपाली समूहमा परेकी थिएँ । क्रुज पनि नेपाली र भारतीय समूहलाई फरक फरक रहेछ ।
हामी नेपाली समूहमा लगभग दुई सय पचास जना थियौं । समुद्र किनारबाट तीन तले क्रुजमा हामी पस्यौं । बिस्तारै पानी जहाज विशाल समुद्रको छातीमा सयर गर्न थाल्यो । नाचगान अनि खानपिन साथमा चलिरहेको थियो । मदिरामा रमाउनेहरूको पनि कमी थिएन । गीत बजिरहेको थियो । रम, बियर, विस्की, वाइन आदि आफ्नो आफ्नो मन पसन्द पेयको सुरुप लिँदै नाचिरहेका, रमाइरहेका देखिन्थे प्रायः । म भने स्नाक्स (सितन) मात्र लिनेमा परें । फोटो भनेपछि जँड्याहालाई जाँडको नशाझैँ हुन्थ्यो मलाई । म फोटो खिच्न र समुद्रको लहरमा रमाउन लागें ।
जहाजमाथि अर्थात् हाम्रो टाउको माथि कागहरूको हुल देखिन्थ्यो । हामी नजिकै आइपुग्थे ती कागहरू । सुरुमा त किन काग घुमेका होलान् ? भन्ने प्रश्न मनमनै उठ्यो । पछि थाहा भयो यात्रीहरूले हड्डी दिने गरेकोले काग यसरी आउँदा रहेछन् । यति बेला मलाई टिस्टा किनारमा बाटो कुरेर बसेका बाँदरको सम्झना भयो । उनीहरू पनि यात्रीबाट केही पाइन्छ कि भनेर नै कुरेर बसेका हुन्छन् नि !
समुद्रमा अठार तले, बाइस तले विशाल पानीजहाजहरू पनि चलिरहेका देखिन्थे । टिस्टा, ब्रह्मपुत्र, सप्तकोसी अनि गंगा नदी जस्ता केही नदी मात्र देखेकी मलाई यो समुद्र देख्दा संसार देखेको भान भैरहेको थियो । यो आनन्द अनुभव मेरा मित्र प्रभात सुवेदी भएकै कारण प्राप्त भएको थियो । उनलाई सम्झिरहनेछु ।
दुबई शहरको बसाई कति चाँडै सकिँदै थियो । भोलिपल्ट अर्थात् बाह्र तारिक त मेरो फ्लाइट छ । फर्किनुछ भारत । एघार तारिक हामी फेरि वर दुबई गयौं । जे.सागर भाइको रेस्टुरेन्टमा चिया नास्ता पछि वर दुबईको नेपाली बजार निस्कियौं । साथीहरूले सुन किन्नु भयो । दुबईमा सुन राम्रो अनि सस्तो हुँदो रहेछ । मैले पनि एउटा औँठी किनें । वर दुबई पुग्दा मलाई नेपाल/भारतको कुनै बजार पुगेझैं अथवा सिक्किम दार्जिलिङको कुनै पाटोझैं लाग्यो । दोकान नेपालीका, भाषा नेपाली । आहा ! म त सिक्किममै पो छु कि जस्तो नि ! कवि भाइहरू हामीसँग बजार निस्किए र सपिङमा सहयोग गरे । यो साथ सहयोगका लागि आभारी छु । श्री भवानी भाइ, बिष्णु र जे.शागर भाइप्रति ।
भोलिपल्ट अर्थात् बाह्र तारिक बिहान स्थानीय समय एघार बजेको उडान थियो मेरो । राति अबेरसम्म बसाइ भयो । बाह्र तारिक बिहान छोरो प्रवीण मलाई भेट्न सारजाहबाट आइपुग्यो । समय अभावले बल्ल थोरै फुर्सद निकालेर आएको कुरा गर्यो । सानिमा छोरोको छोटो भेटघाटमा एक अँगालो माया बाहेक के नै लिन दिन सकियो र ! एक कप कफी पिएर ऊ फर्कियो । म चाँडै तयार भएँ र आठ बजे नै होटेलबाट बाहिरिएँ ।
जहाज समयमा नै उड्यो । चार घण्टाको उडनपछि म दिल्ली आइपुगें । मसँग फोन सम्पर्कमा नै थिए रोहित भाइ । अस्ति जाँदा आफू ठगिएकोले हर्कबहादुर लामगादे रोहित भाइलाई ओला मार्फत ट्याक्सी बुक गर्न भनेकी थिएँ । उनले ट्याक्सी पठाइदिएर यात्रा सहज गराइदिए । साँझ पाँच बजे उनकै निवासमा पुगें । उनको आतिथ्य, सद्भाव बिर्सेर पनि बिर्सिनै सकिँदैन । बुहारी र छोराछोरी अनि बहिनी सबै प्यारा लागे ।
बेलुका आफ्नो “रेडियोरिता” नामक कृति मलाई दिए । मैले पनि मेरो “भोकको भाइरस” नामक कवितासंग्रह उनलाई दिएँ । भनौं हामीले आ-आफ्ना साहित्यिक कृति साटासाट गर्यौं । भोलिपल्ट बिहान छ बजेको उडान थियो मेरो । हर्कभाइले पुनः हवाई अड्डासम्म जानलाई सहजीकरण गरे । जहाज समयमै उड्यो ।
एकघण्टा चालीस मिनेटको उडानपछि बागडोगरा हवाई अड्डा आइपुगें । बाहिर नेपाल-पानीटंकी… गान्तोक- सिक्किम … भन्ने गाडी चालकहरूको बाक्लो भीड थियो । कहाँ जाने ? कहाँ जाने ? भन्नेहरू पनि कम थिएनन् ।
मैले एउटा अटो लिएँ र सिलगढी जक्सन आएँ । अनि गान्तोकको गाडी चढें । साँझ घर आइपुग्दा सासू आमा र छोराछोरी मलाई पर्खिरहेका थिए । उत्साहित थिए नानीहरू, नयाँ ठाउँका नयाँ सरसामान हेर्न । अझ भनौं मिठाई खान ।
गान्तोक, सिक्किम
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।