“अन्त तो तपाईंको ७४६ मेगा पिक्सेलको क्यामेराले खिचेको जस्तो त कांवड आउँछ ?” अगम भाइले आफूले बोकेको क्यामेराको सीमा जनाउँदै थियो ।

हामी हिंड्न निस्केका थियौं । घाम लागेको सप्ताहान्त श्वेबीस आल्पको जुनै डाँडा पनि रमाइलो देखिएला भन्ने थियो । सूर्यास्तमा कुनै डाँडामा पुगियो भने मज्जाले घाम डुबेको हेरेर फर्कने मन थियो । अनि एउटा आशा चाहिं पर क्षितिजमा आल्प्सहरू पनि देखिएलान् । टाढा भए पनि सूर्यास्तमा आल्प्सहरू देखिएको तस्बिर सामाजिक सञ्जालमा थुप्रै देख्दै आएको थिएँ । हिउँले ढाकिएर चढ्न नसकिने भएका आल्प्सहरू टाढैबाट भए पनि हेरौंला भन्ने लागेको थियो ।

“खै त कता हो तिमीहरू” मैले अगमलाई सोधें ।

म र मन्जिल रेलमा पसिसकेका थियौं । अगम र दिलिप रेलको पछिल्तिर बसेको जानकारी आएको थियो । हामी पुछार सम्मै जाँदा पनि दुवै भेटिएनन् । अनि अगमलाई फोन गर्दा बल्ल उनीहरू छुटेको थाहा भयो । उनीहरूको ट्रेन हिंडेको थिएन । तर त्यही ट्रेनमा हामी बसिसकेका थियौं ! यो अचम्मै भएको थियो ।

भएको के रहेछ भन्दा अगमहरू बसेको रेलले पछिल्तिरको डब्बा छोडेर अघि बढेको रहेछ । हामी त्यही अघिल्तिरको डब्बामा पस्यौं तर उनीहरू रेल गुड्ने समय कुरेर बसे । फरकफरक रेलमा भएपछि उनीहरूलाई कुर्नुपर्ने भयो । बीचमा ओर्लेर आधा घण्टा जस्तो यताउति डुलेर समय काटिसकेपछि उनीहरू चढेको ट्रेन आइपुग्यो । हामीले १२ बजे सुरु गर्न खोजेको यात्रा १३ बजे मात्र सुरु हुन पुग्यो ।

यात्रा सुरु हुने बित्तिकै दिउँसै देखाएको चन्द्रमाको तस्बिर लिन अगमलाई भनेको थिएँ । चन्द्रमा देख्दा मन अर्कै हुन्छ । त्यत्रो खाली आकाशमा तैरिने त्यो सुन्दर पिण्ड कता अडिएको होला अनि नजिकबाट अझै कस्तो होला भन्ने लगायतका कल्पनाले मन त्यसै तरङ्गित हुन्छन् । त्यही कुरा दिलिपलाई सुनाउँदै थिएँ ।

“तपाईंको चन्द्रमा बलियो या त्यस्तै केही होला ।” दिलिपले सुनायो ।

ज्योतिष विज्ञानमा चासो राख्ने अनि संस्कृतको पृष्ठभूमि भएको दिलिपसँग त्यसपछि ग्रहगोचरका कुराहरू भए । अगम र मन्जिल तस्बिरहरू लिनैमा व्यस्त भए । म ज्योतिष शास्त्र प्रतिको आफ्ना शंकाहरू पोख्न थालें । कुनै शिशुको जन्मका बेलामा ग्रहहरूको स्थानले उसको जीवनमा कसरी असर  पुर्याउन सक्छ भन्ने प्रश्नको जवाफ खोजिरहें ।

फलित ज्योतिषका किताब साना छँदा कैलाला जन पुस्तकालयमा पढेको सम्झना आयो । त्यो बेला मेरो चिनाको ग्रहको स्थानका आधारमा किताबमा “काम सुरु गर्ने तर अन्त नगर्ने” भनेर लेखिएको भेटें । अटेर स्वभाव सानैदेखि थियो । जाबो किताबलाई के टेर्थें ? अनि त पुस्तकालयमा छोएका सबै मोटा किताबहरू आद्योपान्त पढ्न थालें । यो पढ्ने लेख्ने बनाउनमा ग्रहहरूको भूमिका त छ तर सकारात्मक किसिमले होइन । अचेल हरेक काम बलपूर्वक सक्न मन लाग्ने पनि सायद त्यही बेला देखिको बानीले हुनुपर्छ । झन् असम्भव भनेर मलाई कसैले भनोस्, त्यस बेला त्यो काम सम्भव पार्नुको जस्तो मजा कहिल्यै हुँदैन । मेरो सफलता र प्राप्तिहरूमा हौसला दिनेको भन्दा “तँ सक्दैनस्” भन्नेहरूको धेरै ठूलो हात छ । त्यसैले अवरोधहरूसँग मेरो छुट्टै प्रेम छ । मेरा ऊर्जा पो हुन् त !

रेम्स नदीको छेउको सुन्दर बाटो छाडेर गफगाफ कै क्रममा हामीले जङ्गल हुँदै जाने रोडको बाटो तय गर्यौं । घाम पश्चिम दक्षीण आकाशतिर पुगिसकेको भएकोले बाटैभरि अँध्यारो होला कि भन्ने पिर थियो । अस्ताचल तिर लम्केको घामले रूखहरूका बीच प्रकाशका मुसलहरू पसाएको दृश्यले हामीलाई अनपेक्षित खुशी दियो । एकदमै सुन्दर दृश्यहरू बनेका थिए । हामी निकै बेर त्यसैमा रमायौं ।

केही उकालो लागेपछि परपरसम्म देखिने अग्लो ठाउँ आइपुग्यो । स्वेबिस आल्बहरू डाँडा त हुन् तर यी टेबल जस्ता डाँडा छन् । माथि नै पनि प्रशस्त फाँट छन् । जहाँ साना सहर र खेत पनि देख्न सकिन्छ । अनि खोँचहरूमा फेरि अरू बस्ती र सडकहरू छन् । सँगै नदीहरू पनि त्यही बहन्छन् । हामीले राखेको गन्तव्य होएन स्टाउफेन पनि त्यहाँबाट परपर देखिन थालेको थियो । पर देखिने डाँडाको धारको अन्यमा ऊँटको जुरो जस्तो चुचुरो हाम्रो त्यस दिनको गन्तव्य थियो ।

सहरमा दुर्लभ गोबरका गन्धहरू सुँघ्दै हिउँले ढाकिएका फाँटबीचका पक्की सडक हुँदै एक दरबारको भग्नावशेषमा आइपुग्यौं ।

ईसाको ११ औं शताब्दीतिरको स्टाउफर वंशका शासकहरूले बनाएको दरबार रहेछ । वरपरका अग्ला थुम्काहरूमा कतै दरबार, कतै किल्ला त कतै प्रार्थनास्थल रहेको यो क्षेत्र उनीहरूकै प्रभाव र उद्गमको लागि चिनिंदो रहेछ । हामीले जाने भनेको होएन स्टाउफेन बाटै सो परिवारको नाम स्टाउफर भएको रहेछ । १ हजार वर्ष पुराना इतिहासको साक्षी हुँदै हामी हाम्रो गन्तव्यतिर अघि बढ्यौं ।

जङ्गलको बाटो जाँदै गर्दा भुइँभरि हिउँले सेत्तै बनाएको थियो । रोटी बनाउन लाग्दा चाल्नाले पीठो चाल्दा भुइँमा पोखिएर बनेको तह जस्तो हिउँ बाटोमा भने उस्तो चिप्लिने गरी जमेको थिएन । पारिको उकालोबाट हामीले देखेको दरबार पनि देखिंदै थियो । त्यसपछिको उकालोमा बरु अलि गाह्रो भयो । हामी जसो तसो अघि बढ्दै थियौं । मन्जिल त हाँस्दै चिप्लिंदै रहेछ ! उसको जुत्ता हिउँमा हिंड्ने खालको थिएन । तलुवामा अलि पकड भएको भएपछि हिउँमा हिंड्न सजिलो हुन्छ । नत्र बासी हिउँ चिप्लो सिसा जस्तो गरी जमेको हुन्छ । त्यो एकदमै खतरनाक हुन्छ । मन्जिल चाहिं सामान्य उकालामै जुत्ताको कारण चिप्लिएको थियो ।

घाम ढल्नै लागेको थियो । फोटो खिच्दै हिंड्दा अलि ढिलै भएछ । अस्ताउन लागेको घाम छोप्न हामी केही चाँडो हिंड्न थाल्यौं । उचाइ पनि बढ्दै गयो । हिउँको मात्रै पनि बढी हुँदै गयो । डाँडाको टाकुरा अघिको बाटो मन्जिलका लागि झन् असहज भयो । म र दिलिप त घाम छोप्न कुदिहाल्यौं । मन्जिलका लागि अगम मात्रै पछि बाँकी रहेछ । हामी माथि पुगेर रुखहरूका बीचबाट पसेर हामीलाई किरणले नुहाइदिने डुब्दो घाम हेर्दै गर्दा अगम एक्लै मन्जिललाई माथि ल्याउँदै रहेछ । पछि उसले भनेपछि थाहा भयो ।

निकै धेरै तस्बिर लियौं अनि घाम क्षितिजमा डुब्दा सम्म पर्खेर बस्यौं । अग्लो ठाउँ भएर होला हावाले निकै हिर्काइरहेको थियो । अगमले समय अन्तराल हुने गरी अस्ताउँदो सूर्य खिचिरहेको थियो । क्यामेराको टेकोमा भएको झोलामा मन्जिलको ज्याकेट थियो । हामी त उकालाको पसिना चिसिन थालेपछि जाडाले ठिहिरिंदै ज्याकेटमा पस्यौं तर उसको ज्याकेट झोलामै अडियो । यो जाडा त बाख्राले खान्छ भन्दै हामीलाई बुढ्यौली सम्झाउँदै ऊ जाडासँग केही बेर जुझिरह्यो ।

अँध्यारो छिप्पिन थालेपछि तल झर्यौं । अब घाम छोप्नु थिएन । मन्जिलसंगै तल झर्यौं । बाटो हिउँले ढाकिए पनि उस्तो चिप्लो थिएन । ताजा हिउँ भएर पनि होला । सुस्तसुस्त तल झरेपछि केही छिनमा हिउँ भएको बाटो आयो । बसबाट पनि जान सकिन्थ्यो । हिंड्नलाई ५ किमी जति बाँकी थियो । समय पनि भरखर साढे ५ हुँदै थियो । हरेक मौसमको आफ्नै फाइदा भए जस्तै जाडाको फाइदा भनेको सूर्यास्त हेर्न निकै बेर कुर्न पर्दैन थियो । त्यसैले सूर्यास्तपछि पनि पर्याप्त समय हामीसँग थियो ।

एकछिनको अलमलपछि सबै हिंड्ने भए । अँध्यारोले गर्दा बेकार नै पो हिंडिदैछ कि पनि भएको थियो । त्यसमाथि हिउँले बाटो असहज बनाएको थियो । पूरै होइन ठाउँठाउँमा हिउँ जमेर चिप्लो बरफ भएको थियो । बाटो हेर्नको लागि मोबाइल हेर्दै हिंडेको त चिप्ली त हालियो ! एक छिन त सबै डराए । टेकेको हत्केला रात्तै भए पनि सामान्य कोरिएको थियो । मोबाइल बजारिए पनि खोलले जोगाएको थियो । त्यसपछि भने हिंड्ने निर्णय गलत लाग्न थाल्यो ।

म एक पटक लडिसकेकोले अगम अलि नजिकै हिंड्न थाल्यो । बेला बेला उसलाई हेर्दा उसका आँखामा त्यो चिन्ता र चासो प्रस्टै देखिन्थ्यो । कसैको आँखामा आफ्ना प्रतिको “म छु नि” भन्ने भावना देखिंदाको क्षण बडो मन भारी बनाउने खालको हुन्छ । त्यसले मलाई पारिजातको बैँसको मान्छेको एक हरफ सम्झाउँछः

“तिम्रो हाँसोले मेरो छाला सकसकाउँंछ साथी । ममा त्यसको प्रतिदान नखोज ।” गान्टे मुलाको झोलसंग बैंस साटेको पियन साथीलाई यस्तै केही भनिएको  थियो । बरु घृणा या चुनौती सामना गर्न सहज हुन्छ । बदलामा के दिने प्रस्ट हुन्छ । माया र स्नेहको बहिखाता मिलाउन अलि गाह्रै हुन्छ । अगमसँगको बहिखाता पनि त्यस्तै हो ।

बाटो जङ्गलको बीच पस्यो । तुलनात्मक रूपमा कम अप्ठेरो भयो । चन्द्रमा सूर्यको अनुपस्थितिमा आकाशमा हैकम जमाउन थाल्यो । ताराहरू टिलपिल देखिए । हुनलाई चन्द्र पनि ताराकै किरण प्रतिविम्बित गर्ने हो । तर आकाशमा चन्द्र सूर्यका भाइ ताराहरू भन्दा चम्किलो हुन्छ । चाहे त्यो प्रकाश होस् या आत्मीयताको कुरामा होस्,  दुरीले कति प्रभाव पार्छ है !

जङ्गलको बाटो सकेर खुलामा पुगेपछि हिंड्नुको सार्थकता भेटियो । हुन त यो सार्थकताको अपेक्षा नै निरर्थक छ । तर पनि यो अपेक्षित नै हुँदो रहेछ । खुला फाँट बाट तलको सहर पनि देखिएको थियो। अनि हामी आए तिरको डाँडो र लगत्तै माथि देखिने आकाशमा सप्तऋषि लगायतका तारापुञ्जहरू देकिंदै थिए । अगमका लागि रात्रिकालीन फोटो लिने सुनौलो मौका । फोनमा उस्तो राम्रो देखिएको थिएन ।  तर ७४६ मेगा पिक्सेलको क्यामेरामा गज्जबको देखिन्थ्यो ।

केही बेर तस्बिरहरू लियौं । केही बेर थकाइ पनि मार्यौं ।  अनि २ किमी जति तल ओर्लेर ट्रेन समायौं । दिन सकी त गयो ।  घरमा पुग्दा बिहानको अस्पतालको ड्युटी सकेर फर्केकी सविता खाना बनाई वरी हामीलाई पर्खेर बसेकी थिई । एक छिन गाना बजाना र खाना सँगै दिन त्यसै सकियो ।

अँ साँच्ची ७४६ मेगा पिक्सेलको क्यामेराका बारेमा त लेख्नै भुलेछु । यो पैसा तिर्नै नपर्ने तर अनमोल क्यामेरा हामी प्रायसँग छ । यो भनेका हाम्रा आँखालाई भनेको हो । खासमा गुगलेश्वरले  मानव आँखा ५७६ मेगा पिक्सेलको भन्छ । आइफोन १५को प्रमुख क्यामेरा ४८ मेगा पिक्सेलको छ । आँखा भनेको आइफोन १५ भन्दा १२ गुणा बढी क्षमताको छ । त्यसैले पनि फोनको संसारमा सीमित हुनुभन्दा आँखाले संसार हेर्नु धेरै नै बुद्धिमानी हुन्छ ।

हुन त मैले लेखेका शब्द या खिचेका तस्बिर पनि सुन्दर होलान् । तर तपाईंको आँखाले खिच्ने जस्तो सुन्दर पक्कै होइन । अनि हामी हरेकका आँखामा भएका नानीको रंगसँगै हामीले देख्ने रंग नै पनि फरक हुन्छ होला । अझ हाम्रा भोगाइले हामीले देख्ने हरेक दृश्यमा पनि आफ्नै मौलिकता ल्याउँछ होला । त्यसैले हामी हिंडौं, हेरौं अनि यो संसारमा हाम्रो क्षणिक उपस्थितिलाई सुन्दर भन्दा सुन्दर यादहरूले सजाऔं । त्यसका लागि टाढा जानु पर्दैन । यो यात्रा पनि घर नजिकैको विना खर्चको यात्रा थियो । यात्रा खर्चिलै हुनपर्छ भन्ने छैन । घर आसपासकै खोला नाला र पहरा जता जाँदा पनि चार भित्रा भित्र भन्दा फरक संसार भेटिन्छ । त्यसैले यात्रा गरौं ।