साथीहरूले युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, दुबई, कतार, साउदी घुमेको कुरा गरेको सुन्दा आफू पनि एक चोटि विदेश गएर आफ्ना अनुभवका कुरा हात घुमाई घुमाई नसुनाई कहाँ छोडुँला र भन्ने थियो । त्यो पनि अब पूरा भएको छ ।

तीन वर्षअगाडि मेरो छोरी फ्रान्समा मास्टर तहको इन्जिनियरिङ  Ecole Nationale de l’Aviation Civile कलेजमा AEROSPACE विषयमा अध्ययनको लागि पठाउँदा कतै खुसी र कतै दुख लागेको थियो । संसारको सबैभन्दा ठूलो एयर बस र एटिआर विमान कम्पनी भएको ठाउँमा त्यही सम्बन्धीको अध्ययन गर्नु पाउनु भनेको वास्तवमा सानो कुरा थिएन ।
त्यसै बेला कोभिड १९ ले संसारका मान्छे जातिको अस्तित्व नै मेटाउला कि भन्ने डर थियो । अत्यधिक भयावह र कारुणिक अवस्थाको बेलामा मैले छोरीलाई बिदाइ गरेको थिएँ बडेमाको पहाडले थिचे जतिकै छाती भएको थियो । त्यस दिनको उडान छुटाउनु परेको भए सायद जीवनको महत्त्वपूर्ण एक अवसर गुम्ने थियो । लगत्तै भोली पल्टदेखि सम्पूर्ण अन्ताराष्ट्रिय विमानहरू लक डाउन हुनेवाला जुन थियो ।

यसरी गएको ठ्याक्कै तीन वर्षमा छोरीको अध्ययन पूरा भयो ।

छोरीले भनिन्, “बुबा आमा र दाजुले पासपोर्ट बनाइराख्नु, ग्र्याजुएसनमा सबै कुरा मिल्यो भने म घुमाउने व्यवस्था मिलाउँछु । तिनै जनाको भिसा भयो भने यात्रामा पनि सजिलो पर्छ ।”

यति भनेपछि युरोप यात्रा तयारी सुरु भयो ।  पासपोर्ट तयार बनायौं नभन्दै भिसा पनि लाग्यो ।

लगभग ३० वर्षअगाडि भिजिट भिसामा कामको खोजीमा हङकङ हुँदै कोरिया पुगेको थिएँ जुन बेला अहिले स्पोन्सर गर्ने छोरी जन्मिएकै थिएन । छोरा टुकुटुकु हिंड्दै थियो , १५ दिनको बिचमा कामको अनुकूलता नमिली फर्केको थिएँ । जसको पिडाले सधैँ घोचिरहन्थ्यो । ‘आगोले पोलेको घाउ आगोले नै सेकेमा जाती हुन्छ’ भन्ने उखानअनुसार दुईचोटी अमेरिकाको लागि एप्लाई गरें  तर मिलेन । त्यसपश्चात् भारत बाहेकको विदेश यात्रा हो यसपालि । जुनसुकै कार्यको लागि पनि युवा अवस्थामा नै रहेछ । त्यो बेलाको यात्रा गर्ने रौनक नै बेग्लै थियो ।

मेरी श्रीमती भारतको केही ठाउँ बाहेक कहीँ ननिस्केकोले विदेश यात्रामा डराउँछिन् । सामाजिक सञ्जालमा देखेको र सुनेको भन्ने गर्छिन् । कतिका छोराछोरीहरूले आफ्ना आमाबालाई घुम्न बोलाउँदा बिच बाटोमा अलपत्र परेका घटनाहरू र विदेशमा छोराछोरीको शून्य कोठामा कोचिएर बस्नु परेका कारुणिक कथाहरू सुनाउने गर्छिन् ।

कतार एयरलाइन्स विमानको टिकटबाट यात्रा सुरु भयो । काठमाडौँ विमान स्थल पुग्दा विमानस्थलमा खादा र माला पहिरी चाँडै फर्किने आसामा विह्वल भावमा वृद्ध बाआमा, जहान, बच्चाबच्ची, साथीभाइसँग भावुक मुद्रामा सम्झना स्वरूप फोटो खिचिरहेका दृश्यहरू देखियो । बाध्यता भनौं या परिस्थिति शैक्षिक जनशक्ति र ऊर्जावाल युवाहरूको यत्रो ठूलो लर्को देख्दा भावुक हुनु स्वाभाविक हो । यसरी इमिरगेसन पार गर्दै वेटिङमा पुगियो ।

अब भने विदेश सुरु भए जस्तो भान भयो । हामी नेपाली अनेक विदेशी भाषा बोल्ने मानिसको चहल पहलमा मिसियौं । काठमाडौँबाट उडेको साढे चार घण्टाको बीचमा दोहा विमान स्थलमा पुगी तीन घण्टाको ट्रान्जिटमा मनमोहक डिउटि फ्री सपिङ सेन्टरहरूमा मन भुलाइयो । घुमघामपश्चात् दोहा विमान स्थलबाट अर्को विमानबाट ७ घण्टाको यात्रा सुरु भयो ।

दोहाबाट फ्रान्स जाँदा भने सुनसान छायो । नेपाली कम विदेशी धेरै भए । खाली सिट धेरै थिए । एकछिनको मौनतापछि श्रीमतीलाई झ्यालबाट रमिता हेर्न झ्यालवाला सिटमा बसौँ भनी इशारा गरें । झ्यालबाट हेरिरहिन् निकै बेर । उनले आँखाभरि आँसु पार्दै भनिन्, “छोरी धेरै टाढा पुगिछे ।”

मैले भनें, “केको टाढा नि हाम्रो देशबाट ११।१२ घण्टा त हो । अब केही घण्टामा त पुगिहालिन्छ ।”

यसरी उनको मातृत्वको भावुक मुद्रालाई भङ्ग गर्ने कोशिस गरेँ । तर उनको कुराले मलाई पनि भावुक बनायो । सेता बादलमाथि कतै निला समुद्र त कतै हिमाल जस्ता देखिने पहाड, सेतै हिउँले ढाकेका टाकुराहरू भन्दा धेरै माथि अझै निकै घण्टा उड्नु थियो । यस्तै दृश्य तथा सोचहरू, बाटोमा देखे–भोगेका कुराले तनमन कमजोर भएको महसुस भयो ।

काठमाडौंबाट फ्रान्ससम्म पुग्दा छोराले बिच बाटोहरूमा यात्राको मार्ग निर्देश गरेको कतै भिडहरूमा बा आमा छुट्दै छन् कि कतै एक्लो र वितृष्णा भाव पैदा भयो कि भनी बेला बखत बोलाउने, कतै यात्रु बाहक ट्रेन तथा लिफ्टहरूमा सपोर्ट गर्ने जस्ता कुराहरूले सन्तान प्रतिको वात्सल्य प्रेम अझ गाढा हुँदै गयो । जीवन एक चक्र रहेछ – यिनै हातले डोराएर हिंडाएका छोराछोरी, आज उनीहरूको सहारामा हिंड्नु पर्दा मनमा यस्तो लाग्यो ‘अब बुढेस्काल लागेछ’ । अबको बाँकी जीवन पो यथार्थपरक जीवन रहेछ भन्ने भान भयो ।

केही घण्टापश्चात हामी फ्रान्सको ब्लानाक तुलुस एयरपोर्टमा उत्रियौं र विमान स्थलमा छोरी र ज्वाइँ लिन आउनु भएको रहेछ । छोरी ज्वाइँसँगको अङ्कमाल सँगै आमा छोरीको आँखाबाट आँसु झरेको देख्दा फेरि भावुक भएँ । आँखामा पोखिन लागेको आँसु रोक्न खोजेँ । खुशीको भेट भएको कारण स्थिति सामान्य भयो तर मन भने गह्रुँगो भैरह्यो ।

रमिता हेर्दै एयरपोर्टबाट बस्ने ठाउँतिर लाग्दा दृश्य एकातिर मन अर्को तिर गइरह्यो । संसार चहार्दै मनले विगतको पाना पल्टायो । नेपालबाट छोरीलाई बिदाइ गर्दा धेरै भावुक भएको थिएँ तर आज युरोपमा बोलाउने भैसकिन् । समयले कति छिटो फड्को मारेछ जुन बेला म जागिरबाट रिटायर्ड भएको थिइन तर आज जागिरबाट हात धोएको नै दुई वर्ष भइसकेछ ।

यस्तै यस्तै कुरामा डुब्दै–उत्रिंदै भलाकुसारी गर्दै अपार्टमेन्टको पाचौं तलाको फ्ल्याटमा पुगेको पत्तै भएन ।

मैले सोचेको थिएँ – यिनीहरू आलाकाँचा छन्, कामको लागि एउटा सिन्को नभाँचेका केटाकेटीहरू ।  घरमा सँगै बस्दा  कराइरहनु पर्ने । यिनीहरूको बसाइँ अस्तव्यस्त होला ! तर म चकित भएँ – विदेशमा फ्ल्याट लिएर नेपाली पन झल्किने गरी एक कुनामा भगवानको तस्बिर राखेर पूजा गर्ने ठाउँ र बरण्डामा केही गमलामा फुलेका फूलहरू, चटक्क कोठाहरू सजिएका छन् ।

समय र परिस्थितिले मान्छेलाई परिपक्व बनाउँदै लैजाने रहेछ भन्ने उदाहरण भयो । गर्व लाग्यो – बच्चाहरू परिपक्व भैसकेछन् ।

छोरीले “बाबामामु ! हातमुख धोएर फ्रेस हुनु,” भन्दा पो झस्किएँ । पुनः मेरो ध्यान भगवानको फोटो राखेको ठाउँमा पुग्यो । मनमनै आँखा चिम्लेर भगवानलाई नमन गरेँ । हामी यहाँसम्म आइपुग्नु पनि भगवानको कृपा हो । धन्यवाद चढाएँ ।

खास गरी छोरीको ग्र्याजुएसन सिरोमनी कार्यक्रमको अवसर मिलाई गएकोले उक्त कार्यक्रम अनुभव गर्ने मौका पाइयो । विभिन्न देशका विधार्थीहरू र उनीहरूका  अभिभावक साथै कलेजको गुरुहरु सँगको भेटघाटले जीवनको अबिस्मरनिय क्षण बन्यो ।

ग्र्याजुएसन सेरेमोनी  पश्चात् युरोप अन्तर्गतका ३।४ देशहरु घुम्ने योजना बनाएका रहेछन् छोरी–ज्वाइँले । क्रमशः घुम्न लागियो । अंग्रेजी भाषालाई ब्रिटेन बाहेक युरोपियन देशहरूमा खासै प्राथमिकतामा नराखेको भएर घुमघाम गर्न त्यहाँको भाषा नजान्नेको लागि कठिनाइ रहेछ भन्ने महसुस भयो ।

जीवन सोचे जस्तो सजिलो रहेनछ विदेशमा । पढ्न जाने या त काम गर्न जानेको लागि झनै गाह्रो रहेछ । हामी दुई दिन घुम्न जाने मान्छेको पनि एकै चोटि मथिँगलमा झट्का हान्दो रहेछ । आर्थिक लगानी मुख्य नै भैहाल्यो । त्यहाँको वस्तु स्थिति, हावापानी, सामाजिक अनि सांस्कृतिक रहनसहन, नियम कानुन जान्न एकदम जरुरी रहेछ । उपरोक्त विविध समस्याहरूको समाधान गर्न नसक्दा मानसिक उदासीनता, खानपान अव्यवस्थाले नसोचेको परिणाम भोग्नु पर्ने हुन्छ ।

सिस्टमले चलेको देश भन्थे ! वास्तवमा हो रहेछ । बाटो हिंड्ने (बजार एरिया र पार्क एरिया जहाँ पैदल हिडिन्छ) मान्छेमा न त कहीँ ठूलो स्वरमा बोल्ने, न त खोक्ने–थुक्ने, न त कागजको टुक्रा न हिलो धूलो, सफा देखिन्थ्यो । मैले लगाएको जुत्ता, लुगा महिनौं दिनसम्म पनि मैलो नभएको देख्दा आफै दङ्ग परेँ । शिष्टतामा ‘बन्ज्व, बन्स्व’ (नेपालीमा नमस्कार) बाटोको जम्काभेट, कार्यालय सार्वजनिक स्थान, व्यापारिक स्थलमा ग्राहकसँग भन्ने गरिन्छ ताकि नेपालमा ठक्कर दिएर हिंड्दा पनि ठक्कर दिनेले खाउँला झैँ गरी आँखा तर्ने गरिन्छ । ठाउँठाउँ थकाइ मार्ने स्थलको व्यवस्था । तर हामी जस्ता टुरिस्ट बन्न निकै गाह्रो रहेछ, हामीलाई लाग्थ्यो कि टाटाटुटु अंग्रेजी जानेमा घुम्न सकिन्छ तर होइन रहेछ । बजार होस् या सामान, लिफ्ट होस् या साइन जस्तोसुकै जहाँ पनि उनीहरूको आफ्नै भाषा ।

फ्रान्सको पेरिस तुलुस स्पेनको बार्सिलोना र अन्दोराको एनदोरा ला भिल्ला घुम्दाका नढाँटी भन्नुपर्दा सपनाका सहरहरू जस्ता लाग्ने । हाम्रो पनि मुलुक प्रकृतिले साथ नदिएको पक्कै होइन । जस्तै सारा संसारका देशमा प्राकृतिक सुन्दरता पाइन्छ नै त्यसलाई त्यहाँका मानिसले व्यवस्थित बनाउनु चाहिँ ठूलो कुरा हो । तर हामी सुनको कचौरा बोक्ने भिखारी जस्ता रहेछौं । विदेशबाट नेपालमा पर्यटक आउनु भनेको नेपालीको बिजोग हेर्न आए जस्तो लाग्छ । हामीलाई कुनै चासो छैन, फूलमालाको स्वागतमा मञ्चमा ठाँटिएर बस्नु बाहेक ।

फ्रान्सको राजधानी पेरिस ऐतिहासिक दृष्टिकोणले सम्पन्न र महत्त्वपूर्ण शहर हो । विश्व युद्धमा समेत बचेका सम्पदाहरूको जगेर्नाको लागि सरकारले पेरिस लगायत मुख्य शहरहरूमा नयाँ बनावटका घरहरू निर्माण गर्न दिएको रहेनछ । पेरिस आधुनिक सभ्यताको धरोहर शहर, अनि वैज्ञानिक, कला, राजनीति, मानवताको पुनर्जागरण, सुन्दरता पारखी, इन्जिनियरिङ खोज अनुसन्धान र ज्ञानको भण्डार भनिंदो रहेछ ।

पेरिसको माथि टाकुरामा अवस्थित अद्भुत चर्च भवन जुन चर्चबाट अधिकांश पेरिस देखिन्छ । चर्च हलमा छिर्दा यति शान्त थियो जहाँ सियो सम्म झरेको आवाज सुन्न सकिन्न । त्यहाँ मौन प्रार्थना गरिने रहेछ । त्यसै गरी आइफल फलामै फलामले बनेको टावरको धुरीबाट हेरिने रमिता । फेसन र ग्लेमरको सहर पेरिसका सडक र गल्लीहरू महँगा परफ्युमले मगमगा रहेको । मोनालिसाको चित्र भित्तामा टाँगिएको जहाँ बुलेट प्रुफ सिसा भएको, विशेष फ्रेमभित्र सुरक्षित राखिएको । यस्तै मजा र आनन्द लिनको लागि संसारका लाखौं लाख मानिसको भिड देखिने रहेछ ।

युरोपमा आकर्षित पार्ने स्थलहरू धेरै रहेछन् तैपनि आफ्नो सुझबुझले भ्याए अनुसारको घुमाइका अनुभवको सार संक्षेपमा प्रस्तुत गर्न खोजेको छु । यसै गरी स्पेनको बार्सिलोनामा  la Sagrada Familia  समुद्र टट, मिउजियम, स्टेडियम, las Ramblas र यसै गरी वास्तुकला, बियर, वाइन र चकलेटमा प्रसिद्ध रहेछ । बार्सिलोना केफेमा बियर, वाइनको बेग्लै मजा हुने रहेछ किनभने पिउने पानी भन्दा सस्तो ।

बियर क्याफेमा बसेर ताजा बियर पिउन बेग्लै मजा आउने । भेटिन्छ क्याफेभरि बियर पारखीहरू, उमेर ढल्केका आइमाई तथा लोग्ने मान्छेहरू, कोही जोडाजोडी र कोही आफ्ना हितैषी साथीभाइ । कति आफ्नै श्रीमतीसँगका बात र यादगारी मिठा कुरामा भलाकुसारी गर्दै बियर वाइनमा भलिएका छन् । त्यहाँ नशा वा मादकता भन्दा ताजापन महसुस हुने । हामी नेपाली भए कति खुट्टा लरबराउने देखि लिएर बाझाबाझ र कुटाकुट हुने थियो होला तर त्यहाँ झन् मित्रता बढेको अनुभव भयो ।

यसरी नै लाग्यौं आर्को  राष्ट्र अन्दोरातिर । अन्दोरा ला भिल्ला युरोपको सबैभन्दा अग्लो स्थानको देश रहेछ । ड्युटी फ्रीमा माल सामानहरू पाउने ठाउँ । संसारभरिको पर्यटकलाई आकर्षित गर्ने थुम्काथुम्की, अग्ला होचा पहाडहरूमा सेतै हिउँ जमेको र हिउँमा खेल्नेहरूको भिड लाग्दो रहेछ । पहाड, भीर कन्दरा, गिद्धे पहरा जस्ता पहाड बिचबाट झरेको निर्मल खोला शहरको बिचबाट बगेको छ । जहाँ असला जातका जस्ता देखिने माछाहरू पौडँदा घामको प्रकाशमा रंगिबिरंगी देखिन्छन् । त्यही खोलाहरू सङ्कलन गरी ठाउँठाउँमा हाइड्रोपावर  निकालिएको छ ।

यसै बेला मलाई आफ्नो देशको सम्झनाले सताउँछ । तेत्तिस कोटि देवताले बास गरेको हाम्रो देशमा पाइला पाइलामा भए भरको भगवानको प्रतिरूपका मूर्तिहरू छन्, हजारौं खोलाखोल्सी, नदीनाला छन् जसमध्ये काठमाडौंक बागमती, बिष्णुमती, लगायत खोलाबाट शहरलाई नै दूषित बनाउने आर्कै गन्ध चल्ने गर्छ । हाम्रो नदी खोलाहरू कहिले पवित्र बन्न सक्लान् ?

सम्झिँदा पनि, किलो किलोको माला पहिरी रिबन काट्दै मञ्चमा ठूला र चिल्ला शब्द डकार्ने अनि मै हु भनेर उनैको लागि जन्मिए झैँ गरी उसैले गराएको उठ बसमा रमाएर उनकै सामु भन्किनु पर्दा आफैलाई धिक्कार्नु मन लाग्छ । कृषि शिक्षाको लागि कृषि प्रधान देशका विद्यार्थीहरू विदेशको गोला बारुद बङ्करहरूमा पढ्न पठाइन्छ । आफ्नो देशको खेतबारीहरू अहिले सबै जसो बाझिएको छ । अब कसलाई के भन्ने ? यसरी विदेश घुम्दा पनि मन भुल्दैन ।  म जस्तो भुसुनालाई देशको पिर लाग्छ भने रात दिनको भाषणमा सङ्कल्प गर्ने नेताहरू सयौँ चोटि सरकारी खजानामा देश विदेश ओहोरदोहोर गर्छन् । खै के देख्छन् ? अनि के सोचेका होलान् ? पदकै होडबाजीमा रातदिन बसेका छन् ।

यसरी हाम्रो यात्रा करिब एक महिना बिते । अब त ज्वाइँ छोरीको बिदाको अवधि सिद्ध्याएर काममा फर्कने बेला भयो । जे जस्तो भए पनि आफ्नै देशै प्यारो लाग्ने । हाम्रो पनि फर्किने चाँजोपाँजो मिलाउने तरखरमा लाग्नु पर्ने भयो । फर्किने टिकटहरू चेक गर्नु पर्ने भयो । सँगै आएको छोरा कार्य व्यस्तताले एक हप्ता अगाडि नै नेपाल फर्किसकेको थियो । ऐले हामी दुई जना मात्र ।

मुख्य कुरा त के भने दोहाबाट काठमडौंको ट्रान्जिट मात्र एक घण्टाको रहेछ जुन समय विदेश पानी पँधेरो गर्नेलाई पनि भ्याउनलाई हम्मे पर्ने । त्यसमाथि हामी त सोध्दै खोज्दै प्लेनको गेट नम्बर पुग्नु पर्ने चिन्ताले सताउन थाल्यो । यदि केही गरी प्लेन छुट्यो भने ? आ–जे पर्ला परेपछि बेहरौला भन्ने उखान सम्झिएँ । यता छोरीज्वाइँ उता छोरालाई र हामी गरी त्रिकोणात्मक टेन्सनको बात बनायो । यस्तै पिर बोकी हामी निर्धारित समयमा फ्रान्सबाट उड्यौँ ।

उडान पश्चात् एकछिनमा खाने तथा पिउने कुराहरू बाँड्न थाले । के गर्ने आफू त एकातिरको चास एकातिरको बास भइएला भन्ने डर थियो ।  ढुक्कले अघाउन सकिएन । यसरी हामी दोहा एयरपोर्ट नजिक आइपुग्दा मौसमको खराबीले निर्धारित समयमा अवतरण गर्न सकेन ।अब त झन् फसाद निश्चित भयो । जसोतसो लगभग आधा घण्टा बिचमा प्लेन ल्यान्ड भयो । हेन्डक्यारी प्लेनको र्याकबाट झिकेँ । पेसेन्जरहर सिटबाट बल्ल उठ्न थाले ।

तब श्रीमतीलाई उठ जाऔं भनी ढोकातर्फ लाग्यौं । वरपरका यात्रीहरूले सायद कस्तो असभ्य मान्छे भने होलान् । जे होस मतलब भएन ।

निस्किने ढोकामा पुगियो तर बेजिनिस टिकटमा सयर गर्नेहरूको सयल बेग्लै रहेछ । शरीर चिलाए पनि कनाई दिनु पर्ने झैँ अलक ढलक गर्दा रहेछन् । लाग्यो संसारमा पैसाको कत्रो सान । आफू चाहिँ नेपाल जाने प्लेन छुट्ला भन्ने कत्रो त्रास ।

उनीहरूको सवारीपछि मात्र हाम्रो पालो आउने । रिस उठ्यो, उठेर गर्ने के ? जे होस बिस्तारै पालो आयो । ओर्लिएर हतारले बसमा पुगियो । बसमा पुगेर गर्ने के, नभरिएसम्म बसले पाइला नचाल्ने, बल्ल बस भरियो अनि टर्मिनल भवनमा पुग्यौं । त्यहाँ पनि चेकजाँच अनि डिस्प्ले बोर्डमा पावरवाला चस्मा लगाएर गेट नम्बर हेर्नु पर्ने ।

अनि मिनी ट्रेन चढ । त्यस पछि आँखा तिखो पारेर एरो पछ्याउँदै हतार हतारमा लिफ्ट चढ्दै आफ्नो गेटमा पुग्यौं । र एयरलाइन्स र फ्लाइट नम्बर सोध्दा दुई घण्टा डिले भयो भने पछि मात्र ढुक्कले लामो सास फेरियो । यस्तै रहेछ यात्रामा आफ्नै कथा व्यथाले नछोड्ने रहेछ । यसरी युरोपको यात्रा सफलतापूर्वक विसर्जन गरियो ।

भोजपुर