चिसोले सिरक ओढेर सुतिसकेको थियो हिमाल । आँखाले आफन्त र पराइ ठम्याउन नसक्ने उज्यालो थियो । गोधूलि प्रहर घर्किसकेको थियो । सन्ध्या आरती सकेर समय निस्लोट अँध्यारोतिर प्रस्थान गरिरहेको थियो । चौँरी, गोठाला र चराचुरुङ्गी आफ्नै गोठ र गुँड फर्किसकेका थिए । पदयात्रीहरू पनि भारी बिसाएर, अघाउँजी सुस्ताइसकेका थिए । यति मात्र होइन भरपेट खाएर ओछ्यानमा ढल्किँदै थिए ।

सपना–संसारमा घुर्ने तरखरमा पुगिसकेको थियो समय । फेरिचेको बासमा  बास बस्नेहरू लगभग सबै खाना खाएर ओछ्यानमा ढल्किसकेका थिए । फेरिचेको बाटो एक प्रकारले सुनसान भइसकेको थियो । फाट्टफुट्ट यात्री आइरहेका थिए । घर, होटेलका कोठामा केही पाहुनाहरू कोही आगो तापिरहेका थिए । गफिएर रमाइरहेकाहरू पनि त्यहीँ थिए । आजको दिनभरि के के भयो ती सबै बयान गरिरहेकाहरू त्यहीँ थिए । प्रत्येक पाहुना घरहरू यात्रीको सेवा गर्न पर्खिबसेका पनि थिए ।

४२४० मिटर उचाइमा रहेको फेरिचेको बतास बयान गरी साध्य थिएन । हेर्दा सानो उपत्यका जस्तो भौगोलिक अवस्था । देख्दा न्यानो होला जस्तो लाग्ने बस्ती । तर कहाँ न्यानो हुनु चिसो सिरेटोले छाला काढ्ने रहेछ । यो बस्ती निकै पुरानो हो । गाउँ जस्तै सहर, सहरजस्तै गाउँ । तर पुरानो व्यापारिक केन्द्र पनि रहेछ यो ठाउँ । हेलिकप्टरले पर्यटकहरू ओसार्ने भरपर्दो स्थान यही ठाउँ रहेछ धेरै अगाडि ।

पर्यटकसँगै सरसामान ल्याउने हुँदा यहाँ व्यापार व्यवसायको राम्रो गन्तव्य पनि बन्न पुगेको रहेछ । यहाँका ३०, ४० जति घरहरू सबै होटेल छन् । सबै घरमा पाहुनाका लागि खाने र बस्ने सुविधा पाउन सकिन्छ । सफासुग्घर त्यत्तिकै । पाहुनालाई दिने सेवा र सुविधा पनि उत्तिकै । खानेकुराको मूल्य सूचीअनुसार नेपाली र विदेशीलाई एउटै दर कायम हुँदो रहेछ । अचाक्ली महँगो लागे पनि सबै सामान लुक्लादेखि बोकाएर ल्याउँदा भाडा दरले चर्को मूल्य लाग्नु स्वाभाविक हो ।

यतातिरका अधिकांश घरहरू चिटिक्क पारी सिँगारिएको छ । विदेशीका लागि लोभलाग्दो बोली र व्यवहार । विदेशीले यस्तो उचाइ स्थानमा सफा भान्छा, ताजा खानेकुरा, सुविधा सम्पन्न कोठा, व्यवस्थित शौचालय पाएपछि दङ्ग पर्नु अनौठो होइन । दिनभरिको हिँडाइसँगै देखिएका सुन्दर प्राकृतिक छटाहरूले रमाएको मन साँझको आरामदायी बासले आह्लादित पार्दाे रहेछ ।

प्याङ्बोचेदेखि उचाइ बढ्नुसँगै बोटबिरुवा छैनन् । तर घरआँगन सबैतिर गमलामै भए पनि वनस्पतिले सजाइएका छन् । फुलिरहेका अनेकथरिका फूलहरू ।  रमाइरहेका अनेक यात्रीका मनहरू । यी देख्दा लाग्छ, हप्तौँ हिँडेर बल्ल प्रकृतिको स्वर्गमा पदयात्रीले प्रथम पाइला टेकेका छन् । जहाँ थकाइ त केही होइन । त्यहाँ रुपियाँपैसा पनि केही होइन । यतिका दिन पैदलै–पैदलको उपलब्धि हिमाल र हिमाली परिवेशसँगको साक्षात्कार धेरै ठूलो कुरा लाग्थ्यो । वस्तुतः हिमाली हार्दिकतासँगको भेट र भलाकुसारी जीवनकै अर्को अनुभूतिको अध्याय हुँदो रहेछ ।

अस्ति आउँदा यहाँको बतासबाट बच्न दिङ्बोचेमा बास बस्न पुगेको थिएँ । ४४१० मिटर उचाइमा भए पनि दिङ्बोचेमा हावाले चिस्याउँदैन रहेछ । अर्थात् त्यहाँ हावाको वेग कमै हुने हुँदा यात्रीहरू फेरिचेको ओल्लो पाटोमा अवस्थित दिङ्बोचेमा बास बस्न ओइरिँदा रहेछन् ।

गोरकसेपबाट फर्किंदा थोक्ला भन्ज्याङको ओरालो लागेपछि अलिअलि बतासले चुम्न आयो । प्रथम चुम्बन त्यो पनि दिउँसोको घाममा शीतल महसुस भयो । गर्मीको आभास भइरहेको बेला यस्तो शीतल हावा उत्साह उमार्ने थियो । लाग्यो, यो हावाको म्वाइँ मायाकै विम्ब होला । शरीरका पसिना सुकाएर हिँड्नलाई फुर्ती दिने होला । मैले ठाने जस्तो तर होइन रहेछ यस्तो ।

यो त हावाको झोक्का मात्र होइन ख्यालख्यालैमा झापट पो रहेछ । दिनदहाडै गाला रातो हुने गरी चिसो सिरेटोको निर्दयी झापड । यस्तो कठोर झापड खाएपछि हतारले हिँड्नुबाहेक अर्को विकल्प नहुँदो रहेछ यहाँ ।

‘हावाको झापट खाएर अररिनुभन्दा जति थाके पनि छिटो हिँड्नु नै बुद्धिमानी हुन्छ ।’ भारी बिसौनीमा पनि नबिसाई हिँडेका भरियाहरू मलाई पनि यसो भन्थे । साठी, सत्तरी किलोको भारी बोकेर पनि उनीहरू गुडुङडुङ ओरालोमा हाम फालिरहेका हुन्थे । उकालोमा पनि छिटो पाइला लम्काइरहेका भेटिन्थे । पर्यटक पाहुनाहरू पनि यसरी नै हिँडिरहेका थिए ।

साँच्चै हावासँग सबैलाई कति धेरै डर लाग्दो रहेछ । हुन पनि हावाको वेग मान्छे उडाउने थियो । म जस्तो पातलो ज्यानलाई त ख्यालख्यालमै यस्तो जोडले चल्ने हावाले नउडाउला भन्न सकिन्नथ्यो । नदेखिने हावा बलवान नै हुँदो हो । किनभने मान्छे लडाउने शक्तिशाली थियो हावा । फेरिचेको हावा वेगवान् छँदै थियो । हावाको चिसोले समातेपछि थला परिन्छ भन्ने डर पनि उत्तिकै हुने रहेछ ।

‘हावाको चिसो स्याँठले समात्यो भने केही गर्न सकिँदैन । यो ठाउँमा थला परियो भने आपतै पर्छ ।’ भरियाहरू भनिरहेका हुन्थे । मेरा लागि यो कुरा दिव्य ज्ञान थियो । अनि कहाँ थकाइ मार्नु भयो र ! सकेसम्म पाइला दौडाएर बास बस्ने गन्तव्यमै बिसाउन पुग्नु उत्तम हुन्थ्यो । तर हेर्नुपर्ने दृश्यहरूले कहाँ हिँडाइहाल्न दिन्थ्यो र ?

प्रकृतिप्रेमी आँखा प्रकृतिमै विलीन हुन चाहन्थ्यो । त्यसैले यस्ता बिछट्टकै बान्कीका हिमशैल देख्न पाएपछि खुसीले रसाउने रहेछ आँखा । न रमाउनु पनि किन र जता हेरे पनि नौला दृश्य–सौन्दर्यको स्वरूपहरूले आँखालाई चुम्न आइहाल्ने । मनलाई लोभ्याउन थालिहाल्ने । एकछिन भए पनि आँखा त्यतै अलमलिन्थ्यो ।

४६२० मिटरको थोक्लामा झरेर ३५० रुपियाँको दूधचिया पिएपछि जीउ केही तात्तिएको आभास भयो । किनभने मूल्य परेअनुसार चियाको स्वाद पनि धित मार्ने किसिमकै हो । त्यसपछि फेरिचेको बाटो झर्न थालेपछि सुरु भयो लगातार वेगबतासको प्रवाह । पारिपट्टि हिमाली लस्करले स्वागत गरिरहेकै थिए । तिनलाई हेर्दै झन् नजिक पुग्न पाइला बुर्कुसी मार्न उद्धत रहन्थ्यो ।

हिँड्दा–हिँड्दैका मान्छे उडाउने, ढुङ्गालाई नै पल्टाउने गरी बलजफतीका हावा चल्ने । एकछिन, एक ठाउँमा मात्र होइन हावाको भेलबाढी आषाढको मुसलधारे वर्षा जस्तै लगातार आवाजको जोडमा बहने । देखिँदैन हेर्दा तर कपाल भुत्ल्याउँदै, जिउ अर्रर्याउँदै हिँडिरहेको पाइलालाई नै रोक्न खोज्दै चलिरहने हावा । हावाको अनौठो आवाजले पनि तर्साउने । लगातार हुइँयाँ, हुरुरुरु चलिरहने हावाको आवाज पनि कर्कश र कष्टकर लाग्थ्यो ।

अगाडि आमादब्लम हिमालको अर्कै सुन्दर रूप दृष्टिगोचर हुन्थ्यो । मनै छुने रङका किरणहरूले बेग्लै आनन्द महसुस गराउँथ्यो । जति हेरे पनि धित नमर्ने ती दृश्यहरू पहिले कहीँ नदेखिएको जस्तो लाग्ने । वरिपरि नाम थाहा नभएका धेरै हिमशिखरहरू मुस्कान भरेर उभिएका । आगन्तुकलाई भने जति प्रकृतिको स्वाद चखाउनु तिनको कर्म नै हो ।

स्वच्छ वातावरण र प्रकृतिको मौलिक संरचना यात्रीका लागि अमृतसमान दृश्यपानका भण्डार । एक प्रकारले यस्तो अलौकिक अवस्थितिको अवलोकन भ्रमण गर्न पाउनु प्रत्येक यात्रीका लागि अहोभाग्यकै कुरा हुने रहेछ । हिमालको छत्रछायाले दिने हर्षोल्लासका सौगात ।

तिनै हिमालबाट सुस्तरी बग्दै झरेका स–साना हिमनदीहरू । कतै पहिरोले बनाएका अलि विरूप स्वरूप । चट्टानी पर्वतमालाका चुलीचुचुराहरू । अहिले त धेरै हिउँ थिएन । हिमपात हुन थालेपछि यहाँका यी चुली सेताम्मे हिउँले भरिभराउ हुन्छ । अरू रूखा पाखापखेरासमेत हिउँका उरूङखात जमेर हिमालै बन्छ ।

मध्य दिनपछिको घामका किरणहरू हिमाली पखेरामा प्रवेश हुँदा हिमालको रङ अर्कै हुने रहेछ । हिमाललाई अनौठो रङमा रूपान्तरित गरी सजिसजाउ पारिदिँदो रहेछ । त्यो रङ साँच्चै सुन्दर र शान्त थियो ।

घामको प्रकाशमा सौन्दर्य–तरङ्गहरू तैरिँदै–तैरिँदै त्यहाँ जीवनको रङ निर्माण भइरहेको भान हुन्थ्यो । घाम र छायाको लुकामारी निकै रोचक र रहस्यमय पनि लाग्थ्यो । जीवन र प्रकृतिको यो प्रेमालाप एक प्रकारले आकर्षणको अर्को गन्तव्य थियो । जहाँ खुसीका मुस्कानहरू प्रस्फुटित भइरहेका देखिन्थे । जहाँ सौन्दर्यका व्यञ्जनहरू पाहुनालाई चखाउन आतुर थिए । जहाँका समग्र प्रकृति र परिवेश नै पाहुनाको स्वागत गर्न प्रतीक्षारत थिए । मान्छे उडाउने हावालाई पराजित गरी पाहुनाहरू रमाएर आइरहेकै थिए ।