अटाउन्न अँगालोमा, सुन्दर उस्तै अपूर्व यो,
फैलिएर हाँसेको यो गोसाइँकुण्ड भूस्वर्ग हो ।
साँच्चै नै शब्दमा अव्यक्त छ गोसाइँकुण्डको सुन्दरता । आफ्नो छातीमा अपार जलराशी बोकेर सजिएको यस कुण्डले संसारभरका प्रकृतिप्रेमीलाई आफूतिर आकर्षित गरेको छ । वरिपरि चट्टानै चट्टानका बिचमा लम्पसार परेर फैलिएको यो कुण्ड तिनै चट्टान फोरेर निस्कने जलधाराले भरिएको छ भने चट्टानकै एक छेउबाट छङछङ गर्दै भैरवकुण्डतिर बगेको छ ।
कतैकतै काई, बुकी, काँडेझारबाहेक केही नदेखिने यो क्षेत्र चट्टानै चट्टानको आधिक्यता भएर पनि भूबनोट, हिमाली काख र उचाइले सदा प्रसन्न मुद्रामा देखिन्छ । छिनछिनमा देख्न पाइने रवि र मेघनाथबिचको लुकामारी नै यसको सबैभन्दा लोभलाग्दो र रहस्यमय पक्ष हो । यिनै रहस्यमा लट्ठिन चाहने जोकोहीलाई यसले हरदम स्वागत गरिरहेको हुन्छ । त्यही रहस्य बुझ्न र त्यस भूस्वर्गको काखमा रम्न हाम्रो टोली पनि २०८० सालको असोज २७ गते घटस्थापनाका दिनमा त्यतातिर हानिएको थियो ।
‘घुम्न जाने’ भन्ने कुरा : भनाइमा सामान्य, तयारीमा हम्मे हम्मे अनि भोगाइमा सुरम्य रहेछ । अझ यात्राप्रतिको उत्सुकतालाई त हिम्मतको द्वार माने पनि हुन्छ । यात्राको थुप्रै दिन अगाडिदेखि नै टिकट बुक गर्ने अनि लट्ठी, रेनकोट, झोला, सुखा खानेकुरा, टिमुर, अदुवा, लसुन, औषधि, सामल आदिको जोहो गर्ने काम भइरहेको थियो । हामी दश जनाको टोलीमा सम्पर्क र समन्वय गर्ने काममा कल्पना पन्त, कुमार बस्नेत र कमल कार्की अनवरत रूपमा लागिरहनु भएको थियो । उहाँहरूकै योजनाअनुसार म हरिप्रसाद गौतमलगायत सीता ज्ञवाली, जितेन्द्र भट्ट, सिर्जना खड्का, इन्दिरा थापा, सुदिन शाक्य, लीलादेवी कार्कीसमेत गरी दश जनाको टोली बनेको थियो । यो टोली कहिले विद्यालय छुट्टी होला र हिँडौँला भने व्यग्र प्रतीक्षामा थियो ।
यात्राको पहिलो दिन हामी काठमाडौँको स्वयम्भूस्थित ‘हामा’ पेट्रोल पम्पमा बिहान ६ बजे भेला भयौँ । माछापोखरीबाट छुटेको बस समयमै आइपुगेको भए पनि साथीहरूले आ-आफ्ना साधन पार्किङ गर्न थाल्दा उक्त ‘टुरिस्ट बसले ट्राफिक व्यवस्थापनका कारण सबैलाई कुर्न पाएन ।
सबै साथी एउटै बसमा चढ्न नपाउँदा कतै यात्रा नै खल्लो हुने हो कि जस्तो पनि लाग्यो । तैपनि उहाँहरूमध्ये कुमारजीले पठाउ चढी धादिङ पुगेर हामीलाई भेट्नुभयो भने सुदिन र लीलाजीलाई भने अर्को बस समाती धुन्चे बजारमै भेट्ने व्यवस्था कमल सरले मिलाउनुभयो । त्यसपछि बल्ल मनमा आनन्द आएको थियो । गल्छी पुगेर हाम्रो बस उत्तरतिर लाग्यो । त्रिशूलीको तिरैतिर पहाडको फेदीमा रहेका फाँट र वरपरको हरियाली साँच्चै मनमोहक थियो ।
तादीखोला र त्रिशूलीको सङ्गम देवीघाट कटेर हामी अगाडि बेत्रावती बजार पुग्यौँ । त्यसपछि त्रिशूलीलाई तलै छाडेर रसुवा जिल्लामा प्रवेश गरेको हाम्रो बसले हरेक घुम्तीबाट नुवाकोटको हरियालीलाई हात हल्लाइरहेको थियो । हामी पहिलो पटक कालिका स्थानमा खाना खान रोकिएका थियौँ । कमल कार्की सरले छुटेका साथीलाई थप सम्पर्क गरिरहनु भएको थियो भने हामी पहाडी झरना र भिरपाखामा दृश्य डुलाउँदै थियौँ । अनेक घुम्ती, उकाली अनि गाडीभित्रको भिडमा ठेलिएरै हामी नेपाली सेनाको चेकपोइन्टमा पुग्यौँ ।
त्यो निकुञ्ज प्रवेशद्वार रहेछ त्यसैले सबैका लागि प्रतिव्यक्ति रु. सय तिरेर टिकट लिनुपर्ने रहेछ । चेकिङपछि बल्लतल्ल साढे बाह्र बजे हाम्रो गाडी धुन्चे बजारमा गएर रोकियो र हामी ओर्लियौँ । त्यसपछि छुटेका साथीलाई अढाइ-तीन घण्टा पर्खन परेकाले हामी एउटा होटेलमा गएर चियाखाजा खाँदै बसिरह्यौँ ।
दिउँसोको साढे तीन बजेतिर साथीहरू आइपुगे । एकछिन सुस्ताएर हामी झोला बोकी लट्ठी टेकेर ४ बजेतिर त्रिशूली किनारै किनार हुँदै गोसाइँकुण्डका लागि बिस्तारै उकालो लाग्यौँ । पुल, खोल्सा, झाडी, झरना हेर्दै फोटो खिच्दै अगाडि बढिरहेका हामी झमक्कै साँझ परेपछि बल्ल अलि सतर्क भयौँ । ठाडो उकालाले केही साथीलाई अलि पछाडि छोडेको थियो । अगाडि पुगेका हामी ६ जना गोसाइँकुण्ड ५ मा पर्ने खेन्दीको ‘न्यु भिलेज’ होटेलको आँगनमा रोकियौँ । त्यहाँ त्यो होटेलका मालिकको स्वागत गर्ने शैलीले द्रवीभूत भएका हामीले त्यही होटेलमै आतिथ्य ग्रहण गर्यौँ । केही समयपछि साथीहरू आइपुगे । त्यहाँ खाना खाएर नाचगान पनि गरी भोलिको सपना बुन्दै आनन्दले सुत्यौँ ।
खेन्दीबाट हिँड्दा बिहानको ६ बजेको थियो । लट्ठीको भरमा चिसो बिहानीसँग जुध्न र ठाडो उकालो काट्न हम्मे परिरहे पनि इन्दिरा मेडमले दिनुभएको मकैभटमास अनि अन्य ड्राइफुड चपाउँदै देउराली पुगेर सुस्तायौँ । त्यहाँबाट देखिने लामटाङ हिमालको दृश्य साँच्चै आँखा नचिम्ली हेरिरहौँ जस्तो थियो । हामीलाई धेरै माथि जानु थियो त्यसैले त्यहाँबाट हिँडिहाल्यौँ । देउरालीबाट माथि डिम्सामा रहेको खिम्ती खाजाघरसम्मको उकालो जति ठाडो थियो, त्यति नै रमाइलो पनि थियो ।
बिहानै चर्न निस्केका वनकुखुरासँगको साक्षात्कारले मलाई एकचोटि आफ्नै जन्मठाउँ गुल्मीको ढँड्यानतिर डुल्दाको याद दिलायो । हिमालसँग जिस्किँदै र पछाडि परेका साथीहरूलाई पर्खँदै हामीले डिम्सास्थित खाजाघरसम्मको यात्रा तय गरिसकेका थियौँ । त्यहाँ चिया र त्यहीँको मिठो आलु खाएर हामी एकनास उकालो र घुम्ती बाटो हिँडेर चन्दनबारी पुग्यौँ । त्यहाँ शेर्पा होटेलमा खाना खाने योजना बनायौँ । खाना पाकुन्जेल साथीहरूले बनाएको टिकटकमा रमाएर हिमालसँग उचाइको दोस्ती लगाउँदै भरपुर आनन्द लियौँ ।
चन्दनबारीबाट हल्का उकालो र तेर्सो बाटो काट्न हामीलाई खासै गाह्रो नभए पनि केही साथीहरू हिँड्न सक्नुभएको थिएन । त्यसैले पनि घाम र कुहिरासित खेल्दै बिस्तारै हिँडेर हामी साढे तीन बजेतिर चोलाङपाटी पुग्यौँ । नयाँ ठाउँप्रतिको उत्सुकता त छँदै थियो, उसैमाथि माथिबाट फर्कने हरेकसँग राखिएका हाम्रा जिज्ञासाका फरक फरक जवाफले हामीलाई त्यस रातको वासका लागि निर्णय लिन गाह्रो हुने गर्दथ्यो । तैपनि पछाडि छुटेका साथीका लागि हरेक होटेल तथा लजमा खबर छोडेर हामी आजको बास बस्ने होटेल बुक गर्न भन्दै लौरीबिनातर्फ लाग्यौँ । त्यहाँबाट लगभग दुई घण्टाको उकालो हिँडेर हामी लौरीबिना पुग्यौँ ।
गोसाइँकुण्ड पुग्नु पूर्वको अन्तिम स्थलमा तीन होटेलहरू मात्रै भएको यो ठाउँ धेरैको लागि विशेष हुँदो रहेछ । टाढा टाढासम्म देखिने खुला ठाउँ, कुहिराले हिउँको पर्दा खोल्ने र लाउने गर्दाको दृश्य साह्रै रोमाञ्चक हुने हुनाले पनि चिसो सहन सक्ने विदेशी पर्यटकहरू यहाँ वास बस्न रुचाउँदा रहेछन् । चोलाङपाटीजस्तै यहाँ पनि बिजुलीबत्ती रहेनछ । हामीले दिनभर लाउडस्पिकर बजाएर र फोटो खिचेर लुटेको मजा यहाँ पुगेपछि मोबाइलमा चार्ज गर्न नपाएपछि एकाएक खिन्नतामा बदलियो । त्यसैले यहाँ पुग्न चाहने हरेकले यो कुरा बिर्सनै नहुने विषय रहेछ ।
दिउँसो चन्दनबारीमा भात खाएको नाता लगाएर हामीले जसोतसो त्यहाँ ५ वटा कोठा बुक गर्यौँ । हामीभन्दा पछाडि आउने अन्य व्यक्तिहरूका लागि भने होटेल पाउन साह्रै गाह्रो भइरहेको थियो । जति उचाइ बढ्यो, उति महँगो र असुविधा हुने कारण जान्नेबुझ्नेहरू त्यस्ता कुराको जोहो पहिल्यै गर्दा रहेछन् । हामी सबै यस्ता कुरामा नयाँ भएकाले जे गरियो, त्यो सिक्दै गरिएको थियो । अझ सूर्यास्तमा त्यहाँबाट देखिने दृश्य साँच्चै लोभलाग्दो भए पनि मोबाइलमा चार्ज नहुँदा र धेरै चिसो सिरेटोका कारण ती दृश्यहरू कैद हुन सकेनन् । तैपनि, माया होटेलको मायाले त्यो रात विदेशी पर्यटकहरू र अन्य साथीहरूसँग गफिँदै बितायौँ ।
तेस्रो दिन सोमबार परेकाले हाम्रो समूह गोसाइँकुण्डमा नुहाउन पाइने कुराले उत्साहित थियो । त्यसैले हामी त्यहाँबाट ६ बजेतिर गोसाइँकुण्डका लागि प्रस्थान गर्यौँ । बाटैभरि सेतो तुसारो जमेकाले जताततै हिउँ परेजस्तो देखिन्थ्यो । हामीमध्ये केही साथीहरू हिजोकै चिसोले अलिकति बिरामीजस्तै भएका थियौँ । उसैमाथि बिहानको त्यो चिसोसँग उकालो बाटाले हाम्रो सास बढिरहेको थियो । लेक नलाग्ने औषधि नखाईकन माथि पुग्ने मेरो धोको हुनाले सकी नसकी म अरूको पछिपछि लाग्दै थिएँ । माथि पुग्दा यौटा बौद्धस्तुपा रहेछ, त्यसपछि अलिअलि तेर्सो लागेको बाटो हुँदै हामी अलग अलग समूह बनेर निकै परको गोसाइँकुण्ड पुगेका थियौँ ।
भिरपाखाको बाटो हुनाले फलामे बार लगाइएको रहेछ । त्यहाँ हिँड्न नसक्नेहरू घोडामा पनि जाँदा रहेछन् । घामको झुल्कोसँगै हिँडेका हामीले तेर्सो बाटो लागेपछि डाँडापाखा, पहरा, छहरा, छाँगा तथा कुण्डहरू हेरेर बाटो काटिरह्यौँ । त्यहाँ पुगेपछि करिब नौ बजेतिरको रापिलो घामले नुहाउन सकिने अवस्था सिर्जना भयो । कल्पना म्याम, लिला म्याम, सीता म्याम, इन्दिरा म्याम र सुदिन सर कुण्डमा पसेर नुहाउन सफल हुनुभयो । मैले पनि बल्लतल्ल जल सेचन मात्रै गरेँ ।
एक चरण त्रिशूलधारा जाने समूह उता गएपछि कमल सरले पनि कुण्डको जल ल्याएर मन्दिरमा चढाउनुभयो । हामीहरू धेरैलाई खै कुन्नि किन हो, यत्तिकै झुम्म पारेकोजस्तो भएको थियो तर के भएको थियो भन्ने अनुभूतिलाई शब्दमा व्यक्त गर्न भने सकिएको थिएन । त्यसैले स्वास्थ्य थप नबिग्रोस् भनेर डराएकी मेरी सङ्गिनीले पूजाआजा सकेपछि हामी अब फर्कनुपर्छ भनेर सुझाव दिएकी थिइन् ।
सूर्यकुण्ड पुग्ने आशालाई दबाएर हामी बिस्तारै ओरालो लाग्यौँ । तर, म्यामहरू तीन जना त्यहीँको होटेलमा झोला छोडेर माथि सूर्य कुण्डतिर उकालो लाग्नुभयो । पछि होटेलवालाले मोबाइल राख्न नमानेपछि उहाँहरूका मोबाइल हाम्रा साथमा रहे । हामी सबै उहाँहरूसँग सम्पर्कविहीन भयौँ । एकातिर चार्ज सिद्धिएका मोबाइल, अर्कातिर नो नेटवर्क अनि उसैमाथि फोन जति हामीसँग हुनाले हामी अलग अलग धारमा बाँडिन पुग्यौँ ।
गोसाइँकुण्डको सुन्दरता, मौसमको फेरबदली, बाटोको विकटता, झरना, गोरेटा र चट्टानै चट्टानका पहाडको उपस्थितिले मन रोमाञ्चित भए पनि प्रतिकूल स्वास्थ्य, थकान र फरक फरक समूहमा बाँडिएका साथीको चिन्ताले भने मन पिरोलिएको थियो । तैपनि कमल सरको सक्रियता, जितेन्द्र सरको साथ, सीता मेडमको ढाडसले सिर्जना मेडमको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको थियो ।
हामी बल्लतल्ल लौरीबनाको माया होटेलमा आएर त्यहाँ राखिएका हाम्रा आआफ्ना झोला टिपी पछाडि आउने साथीलाई खबर छाडेर चोलाङपाटीतिर लाग्यौँ । हामीभन्दा पछाडि रहेका कुमार सर र इन्दिरा मेडमलाई सम्पर्क गर्ने हाम्रो प्रयास असफल भए पनि उहाँहरू कहाँसम्म आउनुभयो भन्ने खबरचाहिँ हामीले अन्य यात्रीको वर्णनबाट थाहा पाइरहेका थियौँ । त्यसैले चोलाङपाटीमा खाजा खाएर हामी चन्दनबारी पुगेर होटेल बुक गरी बस्ने तरखरमा लाग्यौँ ।
शरीरमा थकाइ र भोक भए पनि साथीको चिन्ताले भोक मर्दै गएको थियो । उसैमाथि पानी पर्न थाल्यो । पछाडि छुटेका साथीहरूसँग न फोन थियो न टर्च थियो न कहाँ गएर बस्ने भन्ने टुङ्गो नै । यस्तै अन्योलका बिचमा मसँग रहेका साथीहरूलाई होटेलमै छाडी भिजेरै भए पनि म बाटोमा बसिरहेँ । त्यहाँ आउने हरेक जनासँग हुलियासहित साथीका बारेमा सोध्न थालेँ । रात झमक्क परेपछि होटेलअगाडिको वनको बाटामा उभिँदा डर बढ्न थालेको थियो । थुप्रै मान्छे आइसक्दा पनि उहाँहरू नआएपछि मेरो मनले के के चिताउन थाल्यो । झन् पिर बढ्दै गयो । यसैबिच निकै समयपश्चात् जङ्गलका बिचमा पिलपिल गर्ने उज्यालो देखियो । अलिकति आशा बढ्यो । साँच्चिकै हाम्रा साथीहरू नै रहेछन् । यसरी भिज्दै र अन्य बटुवाको साथ लागेर आइपुगेका साथीहरूसँग भेट हुँदा निकै खुसी लाग्यो ।
भात खाएर सुते पनि मन शान्त हुन सकेको थिएन । रात छिप्पिँदै थियो, पानी परिरहेको थियो, भोलिको बाटो चिप्लो हुने चिन्ता बढ्न थाल्यो । गोसाइँकुण्डनेर लडेर घाइते भएकी ६७ वर्षकी विदेशी महिलालाई प्रतिकूल मौसमका कारण हेलिकप्टरले उद्धार गर्न नसकेपछि भरियालाई भारी बोकाएर उनी पनि बास बस्न त्यही होटेलमा आएकी रहिछन् । हाम्रो भन्दा पनि मलाई उनको धेरै चिन्ता लागेको थियो तर उपाय केही थिएन । त्यसैले येनकेन रात कटाउने प्रयास भने गरिरह्यौँ ।
बिहान तीन बजे नै आँखा खुले । झमझम परिरहेको पानीले चिन्ता बढाइरहेको थियो । साथीहरू मस्त निद्रामा थिए । केहीबेर निदाउने प्रयास गर्दागर्दै उज्यालो भइहाल्यो । उज्यालो हुनासाथ नित्यकर्म सिद्ध्याएर हामी त्यहाँबाट देखिने दृश्य कैद गर्नतिर लाग्यौँ । अघिल्लो रात बास बसेको लौरीबिनाको होटेल आज हिउँले घेरिएको थियो तैपनि चन्दनबारीबाट देख्न सकिने दृश्य भने हामीले कैद गर्यौँ । त्यसपछि नजिकैके फ्याक्ट्रीबाट चिज किनेर ओरालो लाग्यौँ । बाटो ओरालो भएपनि सोचेजस्तै चिप्लो थिएन तसर्थ सजिलैसँग हामी डिम्सास्थित होटेलमा पुगी चिया खायौँ र एकछिन सुस्तायौँ ।
डिम्सामुनिको ठाडो ओरालो हिँडेर हामी देउरालीमा पुगी बचेखुचेको ड्राइफुड बाँडेर खान थाल्यौँ । फोटोमा एकछिन अलमलिएपछि हामी हल्लीखल्ली गर्दै खेन्दीको उही हामी अस्ति बसेको न्यु भिलेज होटेलमा पुगी खाना बनाउन भन्यौँ । लोकल कुखुरो, फर्सीका मुन्टा, सिस्नु र अण्डाको स्वाद बटुलेर हामी एकछिन सुस्ताएपछि बिस्तारै ओरालो लाग्यौँ । तल पुगेर झरनाको फोटो खिची अगाडि गएका साथीलाई भेटाउन भन्दै हामी धुन्चेबजार पुगी गाडी बुक गर्नतिर लाग्यौँ ।
होटेलमा पाएको नम्बरका आधारमा एक जना स्कर्पियोवाला सन्तोष भाइ हामीलाई काठमाडौँ लैजान राजी भए । उनले हामीलाई करिब छ घण्टामा काठमाडौँ पुर्याउँछु भन्दै थिए । हामी करिब दुई बजे त्यहाँबाट हिँड्यौँ । अनेक घुम्ती काटेर तल बेँसी झरेपछि हामी त्रिशूली बजारमा एकछिन चियानास्ता गरेपछि गँगटेबाट बायाँ मोडिएर टोखा जाने बाटोतिर लाग्यौँ । मजाले हुइँकिएको हाम्रो गाडी नुवाकोटका फाँट, डाँडा, खोँच, पाखा आदि हुँदै टोखा नगरपालिका प्रवेश गर्यो ।
यस्तैमा हाम्रो गाडी ओरालो बाटोको आफ्नै रफ्तारमा थियो । अचानक उता रोकिएको गाडीपछाडिबाट आउँदै गरेको मोटरसाइकलको लेग-गार्ड हाम्रो गाडीको पाङ्ग्रामा प्वाल पार्ने गरी ठोक्कियो । बम पड्के जत्तिकै ठुलो आवाज आयो । सारा मान्छेहरू जम्मा भए ।
एकैछिन झमेला भयो तैपनि प्रहरी र बाँकी सबैको सहमतिमा हाम्रो गाडीले नयाँ टायर फेरेर यात्रुलाई गन्तव्यमा पुर्याउने अनुमति पायो । त्यतिबेला मलाई कमल सरकी आमाको भनाइको सम्झना आयो । उहाँले शनिवार र औँसी परेको हुँदा अर्को दिन मात्रै हिँड्न सुझाउनुभएको थियो । टिकट भइसकेकाले बदल्न मिलेन ।
उसैमाथि समाजमा चलेको “शनिवारको बिछोड, मङ्गलबारको भेट, कि आउँछ ज्वरो कि दुख्छ पेट” भन्ने भनाइले पनि यात्रामा सावधानी अपनाउनुपर्ने कुरालाई यो मनले नकारिरहेको थिएन । धन्न कसैलाई केही भएन । ईश्वरलाई धन्यवाद दियौँ । त्यसपछि हामी ओरालो बाटो हुँदै धापासी पुग्यौँ । त्यहाँ लीला म्याम ओर्लनुभएपछि हामी सबै दश बजेतिर स्वयम्भू पुगेर रोकियौँ । पाटन पुग्नुपर्ने सुदिन सरलाई कमल सर र जितेन्द्र सरले पठाउमार्फत पठाउनुभयो । कुमार सर र म्याडम मकहाँ राखिएको बाइकमा दुवाकोट जानुभयो भने कल्पना म्यामलाई गाडीले घरसम्म पुर्यायो ।
दशैँको माहौलले नेपाली धर्ती तातिसकेको थियो । हामीलाई गाउँ पुग्नका लागि टिकट लिने काम बाँकी नै थियो । तैपनि गोसाइँकुण्डको यात्राका रमाइला क्षण र त्यहाँका अनुभूति साट्दै हामी अर्को दिन जन्मस्थल गुल्मी पुग्यौँ । गोसाइँकुण्डको यस यात्राबाट हामीमा हाम्रो देश साँच्चीकै भूस्वर्ग नै रहेछ भन्ने छाप परेको छ । सैनिकद्वारा संरक्षणमा रहेको क्षेत्र भएर पनि होला, यहाँ यति धेरै पर्यटक भित्रिने भएर पनि कुनै खालको प्रदूषण कतै पनि देखिँदैनथ्यो । यो ठाउँ साँच्चै मनमोहक रहेछ । त्यसैले हाम्रो यो यात्रा-वर्णन त्यहाँसम्म पुग्न चाहने नेपाली तथा विदेशी पर्यटकहरू सबैका लागि जानकारी र उत्प्रेरणा दुवै बनोस् भन्ने हाम्रो कामना छ । साथै धार्मिक तथा प्राकृतिक रूपले निकै आकर्षक यो स्थलको विकास र संरक्षणमा सबैले आआफ्नो तर्फबाट सोच्नुचाहिँ निकै जरुरी देखिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










