” यो समयको चक्र हो, यसबाट प्राचीन कालमा समयको गणना गरिन्थ्यो । महाभारत सिरियलमा पनि यो चक्का‍‍‍‍‍…” गाइडले उडिश्यास्थित कोनार्कको सूर्य मन्दिरमा त्यस   क्षेत्रको महत्त्व देखाउँदै भनेका कुराहरू कल्पनामा आधारित थिएनन् । हुन त स्कुल पढ्दा छ सात कक्षाको पुस्तकमा पाएको थिएँ कोनार्कको सूर्य मन्दिरको छाया भुइँमा पर्दैन भनेर । सोचेको थिएँ कुनै दिन जाउँला । मानिसका इच्छा र आकाङ्क्षाहरू त्यसै सेलाएर जाँदैनन् यी अवचेतन मनमा दबेका हुन्छन् ।

एउटा मन्दिरको छाया भुइँमा नपर्नु सुन्दै अचम्म लाग्ने अनि नपत्याउनु पनि कसरी- पाठ्यपुस्तकमै लेखिएको ।
लामो बिदा पाउँदा घुम्न मन लाग्छ । घरकाले जगन्नाथपुरी जाने इच्छा प्रकट गर्दा मेरो कोनार्कको सूर्य मन्दिर हेर्ने इच्छा अवचेतन मनबाट जाग्रत् भयो । गुगलमा हेरेँ भुवनेश्वर-पूरी ६०/६२ किलोमिटर अनि पूरी-कोनार्क ४०/४२ किलोमिटर । एउटा त्रिभुजका तीन कुनामा झैँ – भुवनेश्वर, पुरी र कोनार्क रहेछन् ।

जुलाईको महिना, गर्मीको बिदा तर हिजोआज जुलाइमा गर्मी भए पनि बिदा हुन्छ/हुँदैन जगजगी थियो । जे होस् भनी २०२३ सनको १७ जुलाइको टाम्बाराम जाने रेलमा टिकट काटियो असमको विश्वनाथ चारालीबाट भुवनेश्वरसम्मको । दिनको बाह्र बजे रेलको समय । अघिपछि समयमै आइपुग्ने रेल त्यस दिन अपेक्षाको दिक्कले हो कि चालीस मिनेट ढिलो पनि पट्याइलाग्दो भयो । प्लेटफर्म बाहिर पानी परिरहेको, गर्मी थिएन बाहिर भित्र दुवैतिर । आफ्नो सिट कब्जा गर्न पाएपछि स्वभावैले एक छिन सुत्न मन लाग्यो । धेरै टाढा पुग्नुपर्ने हुनाले जहातहीँ नरोक्ने राँगापाडा, रङ्गिया, कोक्राझार हुँदै रेल बङ्गालमा पुग्दछ ।

भोलिपल्ट बङ्गालको प्रकृति निहाल्दै चिया, खाना खायौँ । रेल यात्रामा चासो राख्नेले प्राकृतिक सौन्दर्यको उपभोग गर्न पाउँछन् अनि देशको अर्थनैतिक अवस्थाको यथार्थ स्वरूप । हाउडा नकटुन्जेल असमको जस्तै प्राकृतिक परिवेश नै देखियो- उहिखाले रूखपात । बिस्तारै समुद्रको बतासले प्रभाव पार्ने ठाउँहरूमा पुग्दा अलि भिन्न प्रकारका वनस्पतिको दर्शन पायौँ । आमका बगैँचा सुन्दर समुद्री हावामा हल्लिरहेका । असङ्ख्य खेजुरका बोट ।

पहिला त कसैले रोपेका होलान् झैँ लाग्यो तर जताततै उम्रिएका सयँरबिनाका बोटले यी आफैँ उम्रिएका भनी ठम्याएँ । उही ब्रह्मपुत्रको बगरमा झ्यावा उम्रिएझैँ । झ्यावा एक समयमा नदीकिनार गाउँका मानिसहरूलाई दाउरा जोहो गर्ने वनस्पति । कुनै एक पण्डितले भनेको सुनेथेँ जुन रूखले फल वा छाया दिँदैन त्यसलाई काटिदिँदा हुन्छ । यो झ्यावा सायद फल र छाया दुवै नदिने हुनाले यसलाई काट्न पनि मानिसलाई त्यति गाह्रो लाग्दैनथ्यो होला । नदीकिनारमा काटिन्छ फेरि उम्रिन्छ । यसलाई सफा गरेर खेतीकिसान गर्न पनि धेरै कष्ट हुँदैन तर ती जथाभाबी उम्रिएका खेजुर ॽ यिनमा न त फल नै देखियो न त दाउरा !अझ यिनलाई सफा गरेर खेती गर्न त लरतरो कुरै होइन । एउटा सानो बिरुवा उखेलेर फाल्न त एउटा मान्छेलाई एक बेला लाग्छ भने ठुलो रूख मास्न त ?

यस्तै आम, खेजुर निहाल्दै उडिश्याको प्रकृतिले भुलायो ।आकाशमा बादल कुदिरहेको, कतै बर्सिरहेको कतै हावा तर घाम देखिएन ।अघि बढ्दै जाँदा बाँसघारी, सुपारी र नरियलका बोटहरू । लाइनै रोपेका नरियलले गाउँको बाटो नै शोभायमान थियो । असममा झैँ उडिश्यामा पानसँग काँचोसुपारी चवाएको त देखिएन तर नरियलको पानी त जताततै बेचिरहेका थिए ।

यस्तैमा एउटा सानो केटाले कुचोले बढार्दै रेलयात्रीले बनाएको फोहोर बाहिर निकाल्यो । डङ्गुर थियो पानीका रित्ता बोतल, प्लास्टिकका थैला र फलफूलका बोक्रा । चल्दै गरेको रेलबाट उसले बाहिर फ्याँकिदियो निर्धक्कसँगले । त्यस रेलका जम्मा सत्ताइस वटा डब्बाबाट यसैगरी दिनको दुई चोटि फ्याँकि‌ंदो रहेछ प्लास्टिक ।

रेलमार्ग हाम्रो देशको गौरव । अब बुलेट ट्रेन चल्छ रे । मलाई झट्ट मनमा आयो यसरी रित्ता बोतल अनि प्लास्टिकका खोल बुलेट ट्रेनबाट फ्याँक्नु भने कहाँसम्म पुग्लान् ? कलेज, विश्वविद्यालयदेखि तल प्राथमिक विद्यालयसम्म हानिकारक प्लास्टिकमाथि चर्चा परिचर्चाका नाममा करोडौँ रुपियाँ खर्चिन्छन् । चकलेट खाएर बाटोमा बोक्रो फ्याँक्दै हिँड्ने शिक्षित भनाउँदो प्लास्टिकका बारेमा थोरै पनि एक घण्टा सुन्दर ढङ्गले भाषण दिन सक्ने देशका नागरिक भएको देश हाम्रो ।

जालझैँ फिँजिएको रेलमार्गमा यसरी दिनौँ फ्याँकिएको प्लास्टिकले विश्वविद्यालयको राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्गोष्ठीहरूमा कार्यपत्र पढ्ने मौका कहिले पाउला त ? गत वर्ष त हो पर्यावरणमाथि जनचेतना सभा सकिएपछि पोलिथिन र रित्ता बोतल एउटा गाडीमा न अटाएका ! रेल घ्याच्च रोकियो स्टेसनमा पुलिस नै पुलिस । छेउका डब्बामा चढे । केही बेरमै एउटा मानिसलाई समातेर ल्याए । उसका झोलामा गाँजा अरे । यत्रो दिन सोचेको थिएँ यो गाँजा त  वनस्पतिबाट बनेको तर यो त प्लास्टिकभन्दा पनि अपराधी रहेछ !

बिस्तारै अँध्यारो हुँदै आयो । बाहिरका उज्याला बत्ती मात्र देखिने । मोबाइलमा हेरेँ अब दुई घण्टामा पुगिन्छ । तोकिएको समयमै उडिश्याको राजधानी शहर भुवनेश्वरमा रातको साढे दश बजे उत्रियौँ । छोराछोरीसहित हामी चारजना थियौं । छेउकै लजमा बास बस्यौं बिहान यहाँको प्रसिद्ध लिङ्गराज मन्दिर दर्शन गर्ने इच्छाले । लिङ्गराज मन्दिरको उचाइ ५५ मिटर । लिङ्गका राजा शिवजीलाई भनिन्छ त्यसैले मलाई लागेको थियो यो शिवजीको मन्दिर भनी तर भित्र हेर्दा शिवलिङ्गका बीचमा वरिपरि चाँदीको थालमा भगवान् विष्णुको प्रतिमा रहेछ ।

दसौँ/एघारौँ शताब्दीमा निर्मित यो मन्दिर भारतीय वास्तुकलाको एउटा अपूर्व नमुना थियो । साना ठुला असङ्ख्य शिवलिङ्ग, चमत्कारी निर्माणकला थोरै समयमा हेरेर रहर नमेट्ने । समयको अभाव । यात्रीलाई हतार ।

सोझै फेरि रेलस्टेसन हुँदै पुरी यात्रा । साठी किलोमिटर बाटो रेलमा झन्नै दुई घण्टा लाग्यो । बेलुका तीनबजे पुरीमा ओर्लिंदा आकाश बादलले ढाकेको अनि समुद्रको हावा पनि सरर्र चलेको । “जुलाइ महिनामा पुरी यात्रा गर्मीले कष्टदायक” भन्नेहरूलाई लोप्पा खुवाउने खालको मौसम । आफ्नो परिवार मात्रै यात्रा गर्दा एउटा सजिलो के भने कुनै पनि सिद्धान्त लिन लामो बहस गर्नुपर्दैन । सबैले रात बस्ने चैँ समुद्रतट नै रुचाए ।

समुद्र नदेखेका, किताबमै पढेका हाम्रा छोराछोरीले  त्यसै दिन धोको पुर्याएर डुबुल्की मारे । उनीहरूलाई थाहा नै थिएन समुद्रमा नुहाइसकेर फेरी अर्को पानीले नुहाउनुपर्छ भनी । सूर्यलाई बादलले ढाकेको तर हावा वेगमा चलेको । नुहाइसकेर लामो यात्राको थकाइ मार्यौं । तिर्थालुहरूलाई ध्यानमा राखेर लसुन प्याज नहालेको खाना पैसा तिरेर ठाउँ-ठाउँमै पाइँदो रहेछ । उत्तिकै भीड तिर्थालुहरूको । जसैतसै बस्ने सिट पाइन्छ, हतार-हतार खानुपर्ने ।अन्य ठाउँको हेरि समुद्रको छेउमा बस्ने-खानेको मोल धेरै । एक ठाउँमा माछामासुको परिकार पाइन्छ भनी लेखिएको रहेछ तर त्यस होटेलमा ग्राहक देखिएन । छक्क परेँ पुरी शहरको एउटा ठुलो अंश नै माछामासु वर्जित देखेर ।

भोलिपल्ट बिहानै नुहाइ धुवाइ गरी जगन्नाथजीको दर्शन गर्न गयौँ । बास बसेको लजमै एकजना पण्डा आए दर्शन गराउन । पैसा कति लिन्छौ ॽ सोधेँ । मलाई छक्क पार्दै भने “तिम्रो इच्छा, एघार दिए पनि, एघारसय दिए पनि फरक पर्दैन” । गयौँ उनैसँग । झम्झमी बिहानैदेखि आकाशबाट बर्सिएको छ । ट्याम्पोबाट झरेपछि उनले टाउको छोप्न हामीलाई एक-एक वटा पोलिथिन दिए । टाउको जोगाउँदै गयौँ जगन्नाथजीको दर्शन गर्न। अलि परै जुत्ता, चप्पल, मोबाइल राख्नुपर्यो । मन्दिर पुग्दा ढोका बन्द रहेछ । अलि पछि खुल्छ रे ।

प्रभु जगन्नाथको पाकशाला प्रख्यात छ भनी सुनेको हुनाले हेर्ने इच्छा राखेँ पण्डासँग । उनले पानीमा भिजाउँदै सबैतिर देखाए । सानो आँखीझ्यालबाट चियाएर भित्र हेर्यौं माटाका भाँडा, एकमाथि अर्को गरी निकै वटा खप्टिएर बसाएका । तर ती भाँडामध्ये पहिला पाक्ने त माथिकै अरे । बाहिर पनि सामान तैयार गर्दै गरेका । कतै नरियल कोर्ने कतै तरकारी काट्ने कतै दाल चामल केलाउने । भान्सा बनाउने धेरैजना अनि सघाउने झन् दोब्बर । त्यो पाकशालाको क्षेत्र ठुलो रहेछ । घुम्न धेरै बेर लाग्ने । एक फन्को मारेर आउँदा मूल मन्दिरको ढोका खुलेको रहेछ । अत्यन्त भीड । गुवाहाटि कामाख्या मन्दिरमा झैँ लाइन लाग्ने व्यवस्था रहेनछ । जसको शक्ति उसको भक्ति । ठेलिंदै, हेलिंदै गयौँ । जगन्नाथ प्रभुको दर्शन पाउने बेलामा त्यहाँ बसेको एक पण्डाले मेरा घाँटीमा एक कपडा लगाइदिए र पैसा मागे । त्यस बेला मसँग पैसा थिएन । छैन भनेँ । उनले त्यो कपडा मेरा घाँटीबाट फुत्त झिके अनि मलाई कराए । छक्क पर्नु ! मेरो दोषै नभई तिनको गाली सुन्नुपर्दा मलाई असजिलो लाग्यो । त्यस दिन जगन्नाथजीको दर्शन राम्ररी भएन ।

बाहिर निस्केर ती पण्डामाथि मन्दिर कमिटीसँग उजुर गर्ने बिचार राखेँ, श्रीमतीले रोकिन् । भित्रभित्रै ग्लानिले पिरोलिएँ । सोचेँ- भगवानको मूर्तिको अगाडि बसेर दाममा सौदा गर्ने यी दिन डाँकाहरूको मति कहिले सुध्रेला ! यिनीहरूले नै भगवानलाई अशुद्ध तुल्याएका छन् । प्रभु त निश्चल, निर्विकार भएर यस्तै खाले डाँकाहरूको लीलाखेला हेर्दै भक्तहरूको धैर्यको परीक्षा लिइरहेका होलान् । यस्तै सोचेर हामीसँग गएका पण्डालाई त्यहीँबाट बिदा दिई डेरातर्फ लाग्यौँ ।

लुगा भिजेर निथ्रुक्कै, फेरफार गरी खाना खाएपछि होटेल मालिकले भोलिपल्ट घुम्न जाने ठाउँबारे बताए । तीन सय पचास जनाङ्गी दिँदा बसमा कोनार्कको सूर्यमन्दिर, लिङ्गराज मन्दिर, नन्दन कानन चिडियाखाना आदि ठाउँ घुमाउने सुविधा छ । मैले “हुन्छ” भनेँ । भोलिपल्ट बिहान सातबजे पुरीबाट यात्रा गर्यौं कोनार्कतर्फ ।

झन्नै तीस किलोमिटर टाढाको गोल्डेन बिच्छ (समुद्रितट) पुग्यौं । त्यहाँ तल पानीसम्म जान मनाही रहेछ किनकि त्यस ठाउँमा समुद्र अत्यन्त अशान्त अनि त्यहाँको बालुवामा मान्छे सजिलै भासिन्छन् रे । छेउमै चन्द्रभागा नदी आएर समुद्रमा मिलेको । नदी समुद्रमा मिल्न आउँदा समुद्रका छालहरूले मिल्न नदिने अनि नदी मिसिएर विलीन हुन खोज्ने । मानौँ समुद्रका पत्नीस्वरूप छालहरूले अर्की सौतालाई पस्न नदिने तर नदी पसेरै छोड्ने ।

कुदिरहेको गाडीमा माइक लगाएर गाइडले भन्दैथे- भगवान् जगन्नाथको मूर्ति द्वारिका पुरीदेखि समुद्र हुँदै बग्दै आएर यिनै चन्द्रभागा नदीमा  भेटिएको थियो । हरेक बाह्र वर्षमा जगन्नाथ (कृष्ण), बलराम र सुभद्रा गरी तीन भगवानको प्रतिमा फेरिन्छ । नीमको काठले बनिएका यी प्रतिमाहरूलाई समय पुगेपछि विधिवत दाहसंस्कार गर्ने परम्परा चलिआएको छ । त्यहाँबाट कोनार्क झन्नै दश किलोमिटर । बाटोका दुवैतिर काजुका बोटहरू असङ्ख्य । यस्तै बाह्र/ पन्ध्र किलोमिटर जस्तो । कोनार्कमा काजुको मूल्य  तीन सय पचास रुपियाँ रहेछ । बिहान दश बजे पुग्यौं । परैबाट भीड देखियो ।

१२/१३ वर्ष उमेर देखिको धोको अब पुग्ने भयो । कहिले पुगिन्छ भन्ने आतेसमै टाढैबाट टल्कियो मन्दिरको टुप्पो । होटेलमा खाना खाने पैसा पहिलै दिनुपर्ने । गाडीवालाले बताएअनुसार तिर्यौं र मन्दिरतर्फ लाग्यौं । हामीजस्ता कैयौं दर्शनार्थी । सूर्यदेवको नाममा बनिएको यो मन्दिर १३ औं शताब्दीमा उडिश्याका राजा नरसिंहदेवले निर्माण गराएका । यो मन्दिरलाई लिएर धेरै कथाहरू रहेछन् ।अगाडि र पछाडि गरी सँगसँगै टाँसिएका दुइटा मन्दिरमध्ये त्यस बेला पछाडि पट्टिको भाग (ठुलोचैं) भाँचिएको थियो ।

भन्दा रहेछन्, “गम्बुजमा जडित बाउन्न टनको चुम्बकको भार थाम्न नसकेर मन्दिर टुट्यो ।” यस मन्दिरभित्र पस्न पाइँदो रहेनछ । यसै पनि यहाँ कुनै प्रतिमा स्थापन गरिएको नहुनाले दर्शन गर्ने परम्परा पनि थिएन । चारैतिर हेर्दै जाँदा एकातर्फ गाडाको चक्का जस्तै मन्दिरका भित्तामा देख्यौँ ।

गाइडले भने, “प्राचीन कालमा समय निर्धारण गर्ने साधन ।”

उनले प्रमाणसह समयको गणना गरी हामीलाई देखाए । त्यस चक्कामा भएका आठवटा गजबाट अष्ट प्रहरको सङ्केत गर्दो रहेछ । मलाई लाग्यो त्यसबाट समय पाउनु भनेको घामको ज्योति हुन्जेल मात्र ।

अलि परतिर एउटा रूखमा कलिला आम लागिरहेका । वर्षमा दुई चोटि फल्ने जातको रहेछ । मलाई थाहा थिएन । पछि थाहा पाएँ बङ्गालमा यस खाले बाह्रमासा आम पाइँदा रहेछन् । यस मन्दिरको छाया खोजिरहेको थिएँ । ठिक्क त्यहीबेला घाम चर्किए चरक्क भएर अनि मन्दिरको छाया भुइँमा झर्यो टलक्क भएर ।

मनको खुल्दुली उगेल्दा गाइडले भने, “भाँचिएको मन्दिरमाथि भएको चुम्बकले छाया बनिन दिँदैनथ्यो । खै आफ्ना आँखाले देखिएन ?”

गाइडले हतार गरे, भात खान गयौँ । भातको पैसा पहिलै लिएकोमा शङ्का त लागेको थियो – त्यहाँ बस्ने ठाउँ जति जनाको थियो त्यसका तीन गुणा ग्राहक थिए । बस्ने ठाउँ त परै जाओस् उभिन पनि नपाउने । भीख मागेर खाएझैँ भयो ।
भुवनेश्वरको लिङ्गराज मन्दिर पुग्दा झन्नै बाह्र बजेको थियो । दुई दिनअघि  दर्शन गरेको हुनाले हामीले बाहिरकै दृश्य हेर्यौं ।

प्रायः चालीस मिनेटपछि पुन खण्डगिरी र उदयगिरीको बाटो लाग्यौं । पहाडमाथि ढुङ्गा काटेर बनाइएका गुफा रहेछन् । उदयगिरी पहाडका बीचबाट बाटो बनाइएकाले यो दुई भाग भएको रहेछ । फेरि पानी दर्कियो । एउटा गुफामा ओत लाग्यौँ । ढुङ्गा काटेर बनाइएका प्राय ३३ वटा साना-ठूला गुफा देख्दा प्राचीन कालमा महर्षिहरूले तपस्या गर्ने ठाउँजस्तो लाग्यो । यी गुफाहरूमा जैन धर्मका सन्न्यासीहरू आफ्नो निर्वाणका लागि बस्ने गर्दथे रे । कुनै प्राकृतिक र कुनै गुफाहरू कृत्रिम तरिकाले बनिएका रहेछन् । अति मनोरम ठाउँ, यात्रुहरूले दिएको बिस्कुट, फलफूल खाएर बाँदरहरू पनि टन्न अघाएका । पहाड माथिबाट भुवनेश्वर शहर छर्लङ्ग देखिने । अझै बस्ने मन हुँदाहुँदै गाडीवालाको हतारले हिड्यौँ ।

अब नन्दन-काननको यात्रा । भारतको प्रख्यात चिडियाघर । प्लास्टिक वर्जित क्षेत्र । वन्यजन्तुलाई प्राकृतिक तवरले राखिएको । एकदिनमा हिँडेर नसकिनेजस्तो तर दुई-तीन बिघा जमिनमा दुइटा बाघ प्राकृतिक तवरले अटाइएको । सोचें जसरी राखे पनि थुनामा त परेकै हुन् ती जनावर । उही अपराधी प्रमाणित भएपछि झ्यालखानामा राखेको मन्त्रीजस्तो । पानीको बाेतलसम्म भित्र लान नपाइने बाहिरै फ्याँक, कति फ्याँक्छौ । उही कुदिरहेको रेलबाट फ्याँकिएको सम्झिएँ । रेलबाट चैं फ्याँक्न मिल्ने तर बसबाट नमिल्ने ।

सोचेँ रेलमार्ग त सकेसम्म भिडभाड तर्काएरै बनाएको हुन्छ र त्यहाँ त प्रायः गरीबहरूकै बसोबास देखिन्छ । ठुला-ठुला महल त सडक मार्गकै नजिक हुन्छन्, त्यसैले होला ! यो नसड्ने प्लास्टिक पानीमा त झनै बलियो हुने । हामी घुमेका पुरी, कोनार्क र भुवनेश्वर यी तीनवटै पर्यटनस्थली । भारत बाहेक पनि अन्य देशबाट पर्यटकहरू आउने जाने गर्छन् तर  त्यहाँको प्रशासन सरसफाइमा त्यति सचेत देखिएन । स्थानीय प्रशासनले चाहेमा कमभन्दा कम खर्चमा शहर सफा राख्न सक्तो रहेछ भन्ने मैले नेपालको धनगढी शहरमा देखेँ । भारतका तुलनामा थोरै आमदानी भएको देश नेपाल तर त्यहाँका बाटाहरू निकै चौडाइ भएका अनि मानिसहरू पनि फोहोर सरसफाइप्रति सचेतन । एक निर्वाचित मेयरले मात्रै पनि सदिच्छा राखे भने शहरको नक्सा नै परिवर्तन गर्न सक्ता रहेछन् । त्यहाँको बाटोघाटो र सरसफाइ देख्दा देश, जाति र समाज विकसित हुन पैसाले मात्रै होला त भनी सोच्नुपर्ने भयो ।

एकदिन एउटा सरकारी अनुष्ठानमा एकजना विद्वानले बताएअनुसार घामले प्लास्टिकलाई कमजोर बनाउँछ र बिस्तारै यो आँखाले नदेख्ने आकारको (माइक्रो प्लास्टिक) हुन्छ । यस्ता करोडौँ कणहरू हावामा सजिलै उड्छन् र जताततै पुग्छन् । हामीले श्वास लिँदा असङ्ख्य यी कण हाम्रा नाक र मुखबाट शरीरमा पस्दछन् । यसरी हाम्रा शरीरभित्र जम्मा भएका प्लास्टिक कणले एउटा स्वास्थ्य शरीरमा जेसुकै पनि बिकार गराउन सक्छ । यस्तै चालले हो भने एकदिन प्राणीको प्रजनन शक्ति, स्मृतिशक्ति सम्म हराउन सक्छ र यो सुन्दर पृथ्वी प्राणीहीन हुन सक्छ । मान्छे त आफैँ बिगार गर्ने हुनाले सजाए पायो रे तर यी पशुपक्षी ? सोचेँ -यो रेलबाट फ्याँकिएको प्लास्टिक अणु बनेर सडक मार्गमा पुग्दैन होला ! यो प्लास्टिक बनाउन दिने, बनाउनेहरूको नाकमा पस्तैन होला ! उही एक विद्वानले एक-डेड घण्टा प्रदूषणबारे सुन्दर भाषण छाँटेर आउँदा बाटोमा पानी खाइसकेर रित्तो बोतल फ्याँकेजस्तै त होला नि ।

दुई घण्टा जसो घुम्यौँ । लगभग चार सय हेक्टर जग्गामा झन्डै एकसय छब्बीस वटा जीवजन्तु रहेछन् । पानीमा बस्नेलाई पानीमै, डाँडो, रूखपात, घाँस, बालुवा प्राणी अनुसारको परिवेश मिलाएको । सीमित ठाउँमा फलामे तारले घेरेर राखेको हुनाले जेलभित्रको पाँचतारे होटेलका प्राणी झैँ लाग्यो । थोरै समयमा यति विशाल ठाउँ घुम्ने सम्भव थिएन अनि ती बन्दी अवस्थाका प्राणी हेर्ने रहर पनि त्यति थिएन । गाडीवालाले फोन गर्नेसाथै पहिलै गएर चढ्यौँ गाडीमा । धेरै बेर रुँगेपछि सबै भेला भयौं । गाडी हिँडायो पुरीतर्फ । बेलुकीको झन्नै सात बज्न लागेको थियो । गाडीवालाहरू भोलिपल्टका यात्रीको तलासमा थिए । पुरी पुग्दा साढेआठ बजेको थियो ।

हामी असमकाहरू समुद्र हेरेर कहिल्यै नअघाउने । मलाई त पुरीको समुद्रतटमा उभिएर सूर्योदय हेर्ने रहर थियो । भोलिपल्ट गयौं बिहानै, त्यसदिन बादलले सूर्यलाई ढाकेको थियो । मेरो इच्छा पूर्ण हुन पाएन । चेन्नाइको मेरिना तटमा बिहानै हेर्न पाइएको थियो समुद्रको जलराशिबाट फुत्त निस्किएको सूर्य र यसका रङ्गीबिरङ्गी किरणहरूले एकक्षणका लागि दर्साएको अपूर्व सौन्दर्य । दार्जिलिङको टइगरहिलबाट देखिएको सूर्योदयको दृश्य र समुद्रको बीचबाट देखिएको सूर्योदयको दृश्य बेग्लाबेग्लै आनन्दका थिए ।

अनुभव मात्रै गर्न सकेँ । यसको वर्णन गर्ने सामर्थ्य म मा छैन नै भन्नुपर्छ । हिमालको चुचुरालाई सुनैसुनको मजेत्रोले ढाकेजस्तो, चारैतिर अन्धकार केवल सुनको मजेत्रो ओढेकी आमै पर्वतको टुप्पोमा । एकछिन पछि त्यो बर्को फ्याँकेर चाँदीकै लुगाले सजिएकी । आहा ! के अपूर्व दृश्य थियो ! बद्रीनाथको दृश्य सम्झिएरै चित्त बुझाएँ र समुद्रमा डुबुल्की मारेँ ।
दिउँसोको खाना खाएर केही बेर होटेलका मेनेजरसँग कुरा गरेँ । मनिष नामका यी युवा वाणिज्यका स्नातक, उनी खुबै गफाडी स्वभावका रहेछन् । साई बाबा भक्त, बिहानै नुहाइ-धुवाइ गरी धुपधुना लगाउने, सरल स्वभावका ।

ट्याम्पोवालाहरू ग्राहक ल्याउने गरिरहेका थिए । होटेलका सिटबारे सोधिखोजी गर्दथे । कुरैकुरामा उनले भने, “यिनीहरू ग्राहकबाट भाडा नाम मात्र लिन्छन् तर हामीबाट धेरै कमिसन पाउँछन्, पुरै आधि रुपियाँ दिनुपर्छ नभए ग्राहक ल्याउँदैनन्, हाम्रो होटेलै बन्द हुन्छ । तामिलहरू धेरै बाठा । सरकारले दिएको मुफतको सुविधा लिएर उडियाहरू निस्कर्मी भए तर तामिनाडुबाट आएर यिनीहरूले यहाँ धेरै पैसा कमाए, कमिसन खाने भए तर के गर्नु दुई/तीन वटी स्वास्नी राखेर घरमा सधैँको कलह हुन्छ । पैसा छन् तर यिनीहरूले घरमा शान्ति पाउँदैनन् !” सरल स्वभावका भए पनि उनमा अन्तर्निहित जातीय प्रेम उग्र रहेको आभास पाएँ ।

त्यही दिन बेलुका पुन:मन्दिर गयौं । ६५ मिटर अग्लो जगन्नाथ मन्दिर प्रायः चार लाख बर्गफुट जमिनमा रहेछ । माथि अष्टधातुको सुदर्शन चक्र शोभायमान । युट्युबमा जगन्नाथ मन्दिरबारे धेरै रोचक तथ्यहरूमध्ये केही यस खाले थिए :

-मन्दिरको छाया जमिनमा कहिल्यै पर्दैन ।

-मन्दिरमा ध्वजा लगाउने मान्छे उल्टो फर्किएर माथि चढ्छन् ।

-मन्दिरको ध्वजा हावा जताबाट आयो उतैतिर हल्लिन्छ ।

मलाई थियो यी तीनवटै दृश्य हेर्ने रहर । जगन्नाथजीको ध्वजा सधैँ बेलुका घाम अस्ताउने अघि-अघि फेरिँदो रहेछ । बेलुकाको चार बजेको थियो । त्यसदिन आकाशमा बादल भए पनि घाम देखिएका थिए । पाँचबजे झण्डा लगाउने । मन्दिरको छाया हेरेँ । बिहान र बेलुका पूर्व र पश्चिमतिर छाया लामो हुन्छ तर यी दुवै दिसामा मन्दिरसँग जोडिएका घरैघरले गर्दा छाया भुइँमा पर्न नपाउनु स्वाभाविक थियो । पक्काले बनाएको अलि अग्लो ठाउँमा ध्वजा उठाएको दृश्य हेर्न बस्यौं । हाम्रै नजिकमा एकजना पच्चीस छब्बीस वर्षका हृष्टपुष्ट जवान अगाडिपट्टि चार/ पाँच किलो र पछाडि पनि उति नै भारी मिलाएर घाँटीबाट छिराएर चढ्न तैयार भए ।

मलाई लागेको थियो उनी भगवानको छेउमा जान्छन् र केही विधान गर्छन् । तर उनी सोझै मन्दिरमाथि चढे । मूल मन्दिरमा पुगेपछि उनले मन्दिरतिर पिठ्युँ र हामीतिर अनुहार पार्दै माथि चढे । सबै छक्क पर्दै ताली बजाउँदै “जय जय” पुकारे । मन्दिरको टुप्पोमा चढ्न एउटा सिक्ली थियो दस/बाह्रहात लामो । त्यसमा उनी मन्दिरतिरै मुख गरेर चढे ।
सिक्लीमा चढेको देखेपछि सोचेँ – यो कुनै अनौठो होइन, मन्दिरको आकार प्रकार र त्यहाँको बनावटले मन्दिरतिर मुख पारेर चढ्न असुविधा हुने रहेछ । त्यहाँ काटेर बनाइएका ढुङ्गाले सिँढीको काम गर्दछ । कुनैपनि सिँढीको ठाडो उकालो चढ्दा समाउने ठाउँ नभाको खण्डमा उल्टो भएरै चढ्नु निरापद् रहेछ । मन्दिरतिर पिठ्युँ पार्नु पनि त अशोभनीय हुन्थ्यो होला ? जे होस् उनी चढे, पुगे टुप्पैमा र ध्वजा फहराए ।

मन्दिरको टुप्पोमा त मूल ध्वजा र एक/दुई कपडा मात्रै थिए यत्राऔधी कपडा बोक्नुको कारण के होला ? ती जवान ओर्लिएर सोझै ती ल्याएका कपडाको पसल थाप्न बसे, एउटा टुकुराको सय रुपियाँ गरी । तलै काटेर ठिक्क ठिक्कका पारी

लगेका रहेछन् । लिनेहरूको घुइँचो । भगवानको नाममा अर्को एक व्यापार । एउटी महिलाले पचास रुपियाँमा किन्न खोजिन् तर दिएनन् । सोचेँ भगवान् यस खाले दृश्य देखेर मन्द मुस्कुराउँदा हुन् । ती युवाले लगाएको ध्वजा हेरेँ उडिरहेको तर त्यहाँ चार दिशाको जानकारी नहुनाले म अलमल्ल परेँ । प्रभु जगन्नाथजीलाई हात जोडेर बिन्ती गरेँ । आँखा खोलेर हेर्दा सम्झिएँ- अस्ताउने बेलाका घाम पश्चिमतिर हुन्छन् अनि देखियो आकाशमा बादल घाम भएतिरै उडिरहेछ साथै मन्दिरको ध्वजा पनि उतैतिर । प्रभुले मलाई यथार्थ देखाउनुभो । उडन्ते खबरबाट जोगाउनुभो । प्रभुलाई फेरि पनि प्रणाम गरेँ ।

भगवानको नाम लिएर मान्छेले यस खाले अ-प्राकृतिक कुरा किन रचेका होलान् ? भगवानको महिमा त हामी आफ्नै घरमा देखिरहेछौँ । महाकवि देवकोटाकै भनाइमा- रूखमा दाना छ र दानामा रूख । एउटा बिरुवा भुइँमा झरेर रूख बन्छ अनि रूखबाट पुनः बिरुवा । ईश्वरले प्रकृतिलाई काम गर्न अह्राएका छन्  । मलाई लाग्छ भगवान् प्रकृतिको विरुद्ध कहिल्यै काम गर्दैनन् । त्यसैले सर्वशक्तिमान् ईश्वरले आफ्नो मन्दिरको ध्वजलाई पनि प्राकृतिक तवरमै उडाएका छन्, मान्छेले जेसुकै प्रचार गरोस् ।

एक्काइस जुलाइको फिर्ता टिकट थियो राती दशबजे पुरीबाट गुवाहाटी जाने रेलमा । समयमै आफ्नो सिट खोजेर बस्यौँ । पुरी दर्शन गरेर फर्केका प्रायः सबै थिए असमका यात्रु । श्रद्धा, भक्ति र प्रेमले गद्गद् भएका । सबै सबैलाई सहाय गर्न तत्पर । हाँसी-आनन्दमै भोलिपल्ट बेलुका गुवाहाटी आइपुग्यौँ ।

विश्वनाथ,असम,भारत