
सेप्टेम्बरको दोस्रो साता सामुद्रिक यात्रामा जाने टिकट हातमा परेदेखि नै मेरो मनमा अनेक कौतुहलताहरूले डेरा जमाइरहेको थियो । किनकि म जीवनमै पहिलोपल्ट पानी जहाजको यात्रामा निस्कँदै थिएँ । लामो दुरीका पैदल यात्रा, बस/ट्रेन को यात्रा र हवाईजहाजको लामो पट्यारलाग्दो यात्राको अनुभव सँगाली सेकपछिको यो पहिलो सामुद्रिक यात्रा थियो । यात्राको मिति र स्थान तयारी गर्नुअगाडि आन्ध्र महासागर नक्सा मेरो हातमा थियो ।
कता र कुन दिशातिर जान ठीक होला भन्ने कुराको निर्क्योल गर्न कम्ता मुस्किल परेन । त्यसमाथि पनि लोकप्रिय र मानिसहरूले औधी मन पराएको गन्तव्य उत्तर एटलान्टिक महासागरमा पर्ने ब्रिटिस उपनिवेश बरमुडा जाने निधो भयो । जसलाई मानिसहरू पृथ्वीकै रहस्यमय ठाउँको रूपमा पनि हेर्ने गर्छन् । त्रिकोणमा जहाज गायब भएको र हजारौँ मानिसहरूको मृत्यु भइसकेकोले यो राक्षसी उपनामले नामले पनि चिनिन्छ ।
मध्यान्हको समय न्यूयोर्कको ब्रुकलिन सहरमा स्थिर रहेर बसेको आवासीय सुविधा सहितको बढे महानको क्रुजबाहिर हजारौँ सङ्ख्यामा यात्रीहरू लाइनमा बसेका थिए । एकैछिनमा सँगै चढेका यात्रुहरू क्रुजभित्र एकाएक विलीन भए । पहिलो पटक भएकाले मलाई आफ्नो रुम नम्बर १३०३१ खोज्न करिब १५ मिनेट लाग्यो । रुममा पुगेर झोला राखिसकेपछि क्रुजको माथिल्लो ड्याकमा टहलिन निस्केँ । क्रुज जति अगाडि बढ्दै गयो उति नै समुद्रले चर्को उत्तेजित आवाज निकाल्दै गयो ।
अगाडि देखिने दृश्यहरूले पनि मेरो यात्रालाई थप उत्साह जगाउँदै गए । जति पर गयो उति चिसो नुनिलो हावाले मेरो कोमल अनुहारमा हिर्काउँदै गयो । म फरर उडेर निधार र आँखा समेत छोप्ने कपाल पन्छाउँदै तरङ्गका उचाइहरू हेर्दै रमाइलो मान्दै गएँ । तटीय हिमालहरू, ह्वेल र डल्फिनको आक्कलझुक्कल दृश्यहरूले थप रोमाञ्चित बनाउँदै लग्यो ।
बिस्तारै साँझ ढल्केर रात पर्न थालेपछि बाहिर चुक घोप्टाएको जस्तो कालो महासागर देखेपछि भने कता कता डर लागेर आयो । मनमा एकाएक एटलान्टिक महासागरमा टाइटानिक जहाज डुबेको याद आयो, मनमनै हिसाब गरेर ल्याउँदा ११२ वर्ष पुगिसकेको रहेछ । मैले दोहोर्याएर हेरेको फिल्म टाइटानिकको कथावस्तु सम्झँदै निदाएछु ।
भोलीपल्ट बिहान झुल्के घाम सँगै उठेर जहाजको माथिल्लो तल्लाबाट चारै तर्फ घुमेर बाहिर हेर्दा यो विशाल समुद्र कहाँबाट उत्पत्ति भएको हो र कहाँ अन्त्य होला जस्तो लाग्यो । न त बिहानै उठेर के पकाउने र खाने भन्ने चिन्ता थियो न त घर सफा गर्ने र भाँडा माझ्ने नै । न मोबाइलमा कसैको मेसेज टुङटुङ बज्ला कि भन्ने पिर । न त ट्राफिक लाइट न त सहरको कोलाहल । मैले यी सबै कुराबाट पनि छुट्टी पाइसकेकी रहिछु ।
मोबाइलमा मैले पाएको वाइफाइको सुविधा समेत जडान गरेकी थिइनँ, किनभने म आफू आफैँसँग मात्रै समय बिताउनु थियो । चौबिसै घण्टा घडीको वरिपरि, खानाका सयौँ परिकार अगाडि लिएर मुसुक्क मुस्कुराउँदै अभिवादन गरेर जे भन्यो त्यहीँ टपक्क अगाडी ल्याइदिने क्रुजका स्टाफहरूको मीठो बोली बचन र व्यवहारले मलाई पुरै लट्ठ्याइरहेको थियो । हुन पनि न्यूयोर्कमा जीवनमा सधैँ हिउँदै हिउँद मात्रै चलिरहेका जस्ता रुखा मान्छेहरूसँग मात्रै दिन बिताएको धेरै नै भैसकेको रहेछ । ब्रेकफास्ट खाइसकेपछि म स्पामा रिल्याक्स गर्न गएँ ।
जिम हल, क्यासिनो, बार, ब्रडवे मुभी थिएटर, म्याजिक सो, स्विमिङपुल, ब्रडवाक, जाकुजी, मसाज, योगा, ब्युटिपार्लर, नाचगान लगायतका सम्पूर्ण मनोरञ्जनात्मक क्रियाकलापहरू रोजिछाडी थिए ।
पानी जहाजमा सयर गर्दा यदि बाहिर नहेर्ने हो भने कुनै पाँचतारे होटेल वा रिसोर्टमा बसेको जस्तो लाग्छ । विभिन्न देशका हजारौँ मानिसहरू घरमा वा अफिसमै बसेको जस्तो गरी आफ्नो काम कारोबार पेसा व्यवसाय पनि गरिरहेका हुन्छन् र साथ साथै मनोरञ्जन पनि । सायद मानव विलासिताको उच्चतम प्रयोग गर्ने ठाउँ मध्येको यो पनि एक होला जस्तो लाग्यो ।
नयाँ ठाउँको अवलोकन गर्न, एउटै यात्रा अवधिमा सन्सारका विभिन्न कुनाकन्दराहरू हेर्न, फाइन डाइनिङ, रेस्टुरेन्ट र बारको विविधताबारे विस्तृत जानकारी पाउन, विभिन्न देशका खानाका विशिष्ट परिकारहरूको स्वाद थाहा पाउन, विभिन्न देशका शेफहरूले तयार गरेको मीठो व्यञ्जन र सजावट क्रुजमा मात्रै सम्भव रहेछ ।
भोलिपल्ट बिहानै ओछ्यानमा नबिउँझँदै चालकदलका सदस्यहरूले पानी जहाज बरमुडा आइपुग्यो भनेर उद्घोष गरे । आँखा मिच्दै हतार हतार उठेर ब्रेकफास्ट खाएर बाहिर घुम्न निस्कँदा चारै तिरबाट समुद्रै समुद्रले घेरेको एउटा आइल्याण्डको टापु रहेछ । अति महँगो सहर भए पनि कति मिजासिला, हँसिला र सहयोगी मन भएका मान्छेहरु रहेछन् । पब्लिक बसमा हेमिल्टन सहर वरपर, बिचहरू र गुफाहरू घुमियो । छिपछिपे शान्त किनारमा रहेको सुन्दर बरमुडा भोल्कानो बाट जन्मिएको रहेछ र लामो समयदेखि ब्रिटिस कोलोनीको रूपमा परिचित छ ।
तर खुसीको कुरा दक्षिण एसियामा रहेको नेपाल जन्मैदेखि स्वतन्त्र छ । तर अहिले हिमाल भएको ठाउँ पहिले समुद्र नै थियो र भूगर्भीय हलचलका कारण माथि उठ्यो र हिमाल बन्यो भन्ने कुरा मैले भूगोल पढेर थाहा पाएकी हुँ । भू सञ्चालनमा प्रकृतिको आफ्नै नियम छ र भूगर्भीय हलचल हुन्छन्, कुनै जमिन भासिन्छ र समुद्रमा विलीन हुन्छ त कुनै माथि उठ्छन् र पहाड पर्वत बन्छन् । नयाँ जमिन जन्मेको देखेपछि कसै न कसैले शासन गर्न सुरु गरिहाल्छन् त कसैले सीमा मिच्छन्।
समुद्रको लेउ / झ्याउ, झारपात, झाडी, वनजङ्गल र वनस्पति समेतमा पनि मान्छेले राज चलाउँछन् । नेपालमा सीमा मिचिए पनि शासन कसैले गरेन । म त्यहीँ स्वतन्त्र नेपालको कञ्चनजङ्घा हिमालको काखमा जन्मेकी हुँ । मैले आँखा खोल्दा अगाडी त्यहीँ कञ्चनजङ्घा थियो र बचपनमा मलाई लाग्थ्यो यो मात्रै प्रकृतिले दिएको जीवन योग्य काख हो । सगरमाथा, अन्नपूर्ण, धवलागिरि, गणेश, लाङ्गटाङ्ग, मनास्लु, गौरीशंकर जस्ता हिमालै हिमाल ठडिएको देशमा जन्मेकी मलाई हिमाल चढ्ने जिजीविषा भने कहिल्यै पनि जागेन ।
मान्छेको जीवनको इतिहास जस्तै पृथ्वीको इतिहासमा पनि अनेक भूगर्भीय हलचलहरू आएका रहेछन् । पर हेर्दा ससाना पातजस्ता, झाडी र बुट्यानजस्ता लागे पनि पनि बहुकोषीय जीव नै हुँदा रहेछन् । पानीभित्र कति त आकारै विहीन पनि जीवात्मा हुने रहेछन् र तीनले समुद्रको छालमा तैरँदै आफ्ना लागि खाना फेला पार्दा रहेछन् । सायद यिनको पनि पुर्खासँगको साइनो होला । कैयौँ डार्बिनको सिद्धान्तअनुसार बाँच्नका लागि सङ्घर्ष गर्न नसकेर मरे होलान् ।
किरा फट्याङ्ग्राप्रति बढी रुचि राख्ने डार्बिनले जीवको विकासक्रमको बृहत् वैज्ञानिक व्याख्या नगरिदिएको भए, म पनि ईश्वर वा परमात्माले नै जगतको सृष्टि गरे भन्ने तथ्यलाई मात्रै पत्याएर बस्थे होला । वैज्ञानिक र धार्मिक दुवै कोणबाट हेर्ने र मिलाएर आफ्नै तरिकाले तथ्य बुझेर बस्ने मौका पाएँ ।
मलाई कहिलेकाहीँ अमेरिका पनि एउटा महासागर जस्तै लाग्छ । समुद्रमा जसरी ज्वारभाटा चल्छ त्यसरी जीवनमा पनि उतारचढाव आइरहन्छ ।
मान्छेले जस्तै जीवले पनि जलवायु तथा वातावरण परिवर्तनमा सङ्घर्ष गर्नु परेको छ । आहाराका लागि टाढा टाढा जानुपरेको छ । हामी पनि समुद्रका जीव जस्तै एकपछि अर्को गर्दै आफ्नो राम्रो आहाराको खोजीका लागि आफ्नो घर गाउँ छोडेर यति टाढा आएका छौँ । सधैँ भागदौड गर्छौं । औँठा छाप र डिएनए गरेर हरेक व्यक्तिको पहिचान गर्छौं ।फरक यति हो, मानिसहरूमा प्रजननलाई नियन्त्रण गर्ने साधन छ र जीवहरूमा छैन ।
हुन त मैले जीवनमा जति पटक जहाँ जहाँ यात्रा गरेँ सबैले फरक फरक अनुभव दिएका छन् । कुनै यात्राले खुसी र रोमाञ्चकता त कुनैले दुःख पनि । तर सामुद्रिक यात्राले भने छुट्टै किसिमको आनन्द दिने रहेछ । क्रुजको यात्रा सजिलो र सरल हुने रहेछ ।
जहाज र जमिनको जीवनमा पुरै भिन्नता लाग्यो । यात्रा गर्दै जाँदा मिति र समयको पनि पत्तो नहुने रहेछ । कोठा एउटै हुने तर सहर अर्कै हुने । हवाईजहाजमा लामो ट्रान्जिट, गन्तव्यमा पुगेपछि पनि ट्याक्सी, बस्ने होटेलको चिन्ता, लगेज खोल्ने र बन्द गर्ने चिन्ता, फेरि खाने रेस्टुरेन्टकाे चिन्ता । जताततै ठगिने पिर । तर क्रुजमा केहीको चिन्ता नहुने रहेछ । छुट्टी मनाउन खर्च चाहिन्छ र घरबाहिर निस्केपछि हरेक कुरामा पैसो तिर्नु पर्छ । तर क्रुजमा भने आफूले तिरेको मूल्यको सेवा उनीहरूले दिने रहेछन् ।
ब्रेकफास्ट, लन्च, डिनर, पेय पदार्थ, मनोरञ्जन लगायत क्रुजमा उपलब्ध गतिविधिहरू सबै एउटै प्याकेजमा आउने हुनाले मलाई व्यक्तिगत रूपमा चाहिँ क्रुज खासै महँगो पनि लागेन । यति भइसकेपछि सिर्फ आफ्नो मनोरञ्जन र आफ्नै बारेमा सोच्ने पुरै समय निस्कने रहेछ । जुनसुकै उमेरका, बिरामी, शारीरिक तौल धेरै भएका, अल्छी, सानोतिनो दुर्घटनामा परेर निको नहुन्जेल घरमै बसिरहनु परिरहेको पट्यारलाग्दो अवस्था लगायत सबैलाई महिनौँ घर छोडेर घुम्न निस्कने उत्तम उपाय रहेछ क्रुज ।
यति मात्रै नभएर समुद्र यस्तो ठाउँ रहेछ, जसले मान्छेलाई आफ्नै मनको गहिराइसम्म पुग्न मद्दत गर्दो रहेछ । यसको विशाल स्वरूप, यसको सौन्दर्यता, रङ, स्वच्छ, शान्त स्वभाव र बहावले जो कोहीलाई पनि त्यसै आकर्षित गर्छ । यो अरू कुनै दुनियाँमा पाउन मुस्किल छ ।
क्रुजमा फाइदै फाइदा मात्रै नभएर केही बेफाइदा पनि छन्, यदि आफू अस्थिर स्वभावको छ र आफैँमा दिगोपनको कमी छ भने त्यस्ता व्यक्तिलाई पानी जहाज एक किसिमको जेल जस्तै हो । क्रुजमा एक पटक चढेपछि उत्रन मिल्दैन । मन लागे/ नलागे पनि गन्तव्यमा पुग्नुको विकल्प नै हुन्न । अनि लाज मान्ने वा अन्तरमुखी स्वभावका मानिसलाई पनि उपयुक्त हुन्न । किनकि क्रुज भनेको एउटा सिङ्गो सहर हो र अनेक प्रकारका मानिसहरू सबै प्राय: मनोरञ्जन नै गरिरहेका हुन्छन् ।
क्रुजको कप्तानसँग रात्रीभोज गर्नु भनेको ठूलो विषय हो र राम्रो लुगा लगाएर डिनर कक्षमा जानुपर्छ । यात्रा समय तालिका एकदमै छोटो हुनाले छिटो छिटो घुमघाम सक्नु पर्ने हुन्छ । आँखाअगाडि खाऊँ खाऊँ लाग्ने खानाका परिकार देखेपछि खाइराख्न मन लाग्ने हुनाले तौल बढ्ने लगायतका समस्या हुन सक्छन् ।
अरू क्षेत्रमा जस्तै क्रुजमा पनि अत्यधिक रूपमा धनी र गरिबको वर्ग विभाजन हुने रहेछ । पैसावालाहरू क्रुज चढ्ने र उत्रने बेलामा वा अध्यागमन पार गर्दा लाइनमा आक्कलझुक्कल मात्रै देखिन्छन् । उनीहरू अर्को वर्गका मानिसहरूसँग आँखा जुधाउन समेत चाहँदैनन् । उनीहरूको चढ्ने लिफ्ट, बाहिर-भित्र गर्ने ढोका र बस्ने कोठाहरू, मनोरञ्जन गर्ने इलाकामा अरूको प्रवेश हुन्न ।
र अन्त्यमा , कुरो जे सुकै होस्, अथवा बरमुडा त्रिकोणमा राक्षसले जहाज नै खप्लक्कै किन ननिलोस्, म चाहिँ जीवनमा स्वास्थ्य, पैसा र समयले साथ दिएसम्म पटक पटक समुद्रकै लामो यात्रामा निस्कने अठोट गरेकी छु ।
यो मेरो निजी बिचार हो । सबैको जय होस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
