यस पालिको जेष्ठ बिस गतेतिर खप्तड जाने मौका मिल्यो । त्यस्तो योजना त थिएन, संयोग नै भनौँ एकाएक जाने भनियो र पुगियो । खप्तड जाने इच्छा त धेरै अघिको हो तर मेसो मिलेको थिएन । एकाएक प्रथम खप्तड आध्यात्मिक सम्मेलन हुने खबर पाइयो । त्यसैमा योगऋषि  स्वामी महाराज रामदेवजी र आयुर्वेद शिरोमणि बालकृष्ण आचार्य श्रीको उपस्थितिले झनै रौनक थप्ने उत्साहले चाँजोपाँजो नमिलेकै अवस्थामा जाने योजना बन्यो ।

डडेलधुराबाट हामीले पन्ध्र सोह्र जनाको सूचि बनाएका थियौँ तर  छत्तीस जनाको टोली तयार भयो । डडेलधुराबाट खप्तड जाने तयारीको निकै अघि देखि छलफल चलेको थियो । पतञ्जलि योगपीठ नेपालले मागेको नाम सूचि पनि पेस भएको थियो भने अन्य जाने व्यक्ति विभिन्न निकायसँग समन्वय गरिरहेका थिए ।

खप्तड यात्राकै सिलसिलामा डडेलधुरा पाल्नु भएका आचार्य बालकृष्ण जीलाई डडेलधुरामा स्वागत गर्‍यौँ । उग्रतारा, डडेलधुरा किल्ला र घटालथानको दर्शन अवलोकन पछि आचार्य श्रीको टोली डोटीका प्रस्थान गरे सँगै हामीहरूको यात्रा पनि सुरु भयो । डडेलधुराबाट जाने टोली एउटा बसमा जाने र अर्को टोलीले छुट्टै गाडी लगेर जाने भयो । कार्यक्रमका लागि सुदूरपश्चिम सरकारले आवश्यक व्यवस्थापन गरेको थियो । खप्तडमा खाने, बस्ने सँगै जानका लागि बसको समेत व्यवस्था गरिएको थियो । उक्त बुक गरिएका बसमा जाने छुट्याएर हामीहरू भूस्वर्ग खप्तडको यात्रामा निस्क्यौँ ।

खप्तड जाने विभिन्न बाटा छन् । डोटीको झिङरानाबाट, अनि बाजुराको खप्तड छेडेदह काणाबाट, बझाङको दारुगाउ मेल्लेक भएर त्यस्तै अछामबाट पनि जाने बाटो छ । हामीहरूले बझाङको बाटो रोज्यौँ । टोली निकै ठूलो थियो तर जाने क्रममा भिन्नाभिन्नै हिँडेकाले आफूसँग रहेका मात्र टोलीमा मानिए । हामी एउटा गाडीमा सात जना थियौँ ।

डडेलधुराबाट दुई बजे हिँडेको गाडी बझाङ सदरमुकाम पुग्नु अगावैको  स्थानमा साँझ सात बज्नै लाग्दा पुग्यौँ । पारीपट्टि दारुगाउ पुर्‍याउने गाडीसँग सम्पर्क थियो । हाम्रो गाडी त्यही राखेर स्थानीय गाडीको प्रयोग गरी मिल्लेक दारुगाउ होमस्टेमा पुग्यौँ । खप्तड राष्ट्रिय निकुञ्ज सँगैको मध्यवर्ती क्षेत्रमा निकुञ्जको पहलमा होमस्टे व्यवस्थापनमा रहेछन् । पर्यटकका लागि आवास, खाना, गाइड, घोडा सफारीको समेत व्यवस्था गरिने रहेछ ।

होमस्टे नं १ मा बास बस्यौँ । निकै मिजासिला घरपट्टी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष रहेछन् । आठ घरमा सञ्चालित होमस्टे त्यति सारो चल्तीमा रहेनछ । हाम्रा लागि त धेरै राम्रो स्वागत गरे । खप्तड पुग्न सजिलो हुने गरी बाटो बताए  । दोस्रो बिहानै हिँडेर खप्तड पुग्ने आँटका साथ झोला बोकेर हिँड्यौ । जति मान्छे भेट्थ्यौँ सबैलाई सोध्थ्यौँ खप्तड पुग्न कति लाग्छ । उहाँहरूको मापन छुट्टाछुट्टै हुन्थ्यो । हामी चार घण्टामा पुग्छौँ तपाईँहरूलाई सात घण्टा लाग्छ ।

निकै गफ गर्‍यौँ । साथीहरू पनि मजाका थकान महसुस नै हुने गरी हिँड्ने र उकालो गफले काट्नु पर्छ । उकालोलाई भारी बनायो भने बोक्नै सकिँदैन हलुङ्गो पार्नु पर्छ भन्दै अगाडि बढिरह्यौँ । उकालो त हिँडेकै थियौँ । म त  सानो छँदा छ सात कक्षा पढ्दा प्रत्येक दिन उकालो काटेको थिएँ । नेपाली साहित्यमा नै चर्चामा रहेको घनघस्याको उकालो पनि काटेको  थिएँ । नाउँ मात्रै घनघस्याको लेक र उकालो तेल्याको भन्ने मान्यता छ  । त्यो तेल्याको उकालो काटेर डडेलधुरा सदरमुकाम पुगी प्रवेशिका परीक्षा दिएको थिए । ठाडीबाटको उकालो पनि निकै चर्चित उकालोमा पर्छ । त्यसलाई साँझबिहान तलमाथि गर्थ्यौं । उहिले मावलीमा घ्यु खाएको धाक लगाएर त केही हुने वाला थिएन त्यहाँ उकालो काट्नै पर्ने थियो । बाटोमा चार ठाउँ बिसौनी बनाएर लोखडा भन्ने गाउँमा पुग्यौँ ।

नेपाली सेनाको ब्यारेक थियो । त्यही चिया पसल चिया पिउन भनी बसेका दूधमा गनानो र चिनी राखेर दिए गनानो खप्तडको पहिचान सबैजसो बिरामी पनि बिसेक गर्छ भन्दै गनानो दूध पियौँ । बाटोमा मनोरम दृश्य देखिन्थे । अति नै उत्पादन हुने खेत त्यहाँ जीउला भन्दा रहेछन् । सुन्दर रमणीय पुराना किसिमका घर भएका घना बस्ती जताततै देखिन्थे ।

हरेक बस्तीमा बिजुली बत्तीको व्यवस्था, हरेक जीउला सिचाइ कुलो तर यातायातको कठिनाइ नै थियो । भौगोलिक विकटताले त्यति सहज थिएन सडक सञ्जालमा जोड्न । परम्परागत रहन-सहन बोली-भाषा रहेका बस्ती थिए । पशुपालन खेतीपाती मै निर्भर थिए । युवा जति वैदेशिक रोजगारमा आइमाई केटाकेटी बुढापाका मात्र गाउँतिर रहने अवस्था थियो । सामाजिक अवस्था व्यवस्था भन्दा पनि हामीलाई खप्तड पुग्नु थियो । नेपाली सेनाले नामनामेसी सोध्यो सबै विवरण लेख्यो हामी कति समय लाग्छ भनी सोध्दा खप्तडको दुरी पाँच किमी हो समय दुई घण्टा लाग्न सक्छ ।

खप्तडको मनोरम मनमा खेलाउँदै विभिन्न प्रकारका गफमा गफिँदै उकालो घटाउँदै गयौँ । जीवन उकाली ओराली हो, हरेक परिस्थितिको सामना गर्नु पर्ने हुन्छ । चुनौतीको सामना गर्न सके मात्र लक्षमा पुग्न सकिन्छ । खप्तड रम्ने लक्षका साथ उकालो छिचोल्दै निरन्तर अगाडि बढिरह्यौँ । घोडा सवारीहरू फटाफट जाँदै थिए । खच्चर सामग्री फाल्दै दौडँदै गरेको सयसलाई सम्हाल्न निकै सकस थियो । दुई जना सयस तीस खच्चर निकै परेसान गरिरहेका थिए ।

बर्षौं देखिको खप्तड टेक्ने हुटहुटी पूरा भयो । घोडे दाउन पाटनको छेवैमा टेक्दा अनुपम खप्तडको पाटन फाँट देखियो आँखाले हेर्न भ्याउँदा सम्म धित मर्ने गरी हेर्यौं । बसेर, पल्टेर, लडिबुडी खेलेर असीम आनन्द बटुल्यौँ । छताछुल्ल पोखिएको थियो प्रकृतिको सुन्दरता ।

त्यही पाटनमा गङ्गा दशहराको मेलाको दिन घोडा दौड प्रतियोगिता हुन्छ भनी जानकारी पायौँ । त्यतै तिर रहेको नाग ढुङ्गामा नागको दर्शन गरेर हाम्रो बासका लागि निर्धारण गरिएको छेडे पाटनतर्फ लाग्यौँ । खप्तडमस यस्ता बाइस पाटन रहेका छन् । छ बटा ताल अन्य पोखरी विभिन्न प्रकारका थुम्का रहेका छ । कोणधारी वृक्ष रहेको घना वन कहीँ देखिन्थ्यो भने अनेक प्रकारका फूलैफूलको स्वर्गको बगैँचा हेर्न पाइन्थ्यो । मात प्रकृतिले सबै सुन्दरता एकै ठाउँ बिसाएर राखेको थियो ।

हामी छेडे पाटन पुग्नै लाग्दा हेलिकप्टरबाट सुदूरपश्चिम का मुख्यमन्त्री, मन्त्रीहरू, आयुर्वेद शिरोमणि आचार्य श्री  पनि पुग्नु भयो । बस्ने वासस्थानमा झोला बिसाएर उहाँहरू सँगै हिँड्यौँ । सचिदानन्द सरस्वती खप्तड बाबाका नाउँले चिनिएका स्वामीजीको आश्रमतिर गयौँ । वातावरण त मनमोहक थियो नै त्यसैमा आचार्य सँगको सङ्गतले नयाँ आयाम थपेको थियो । विभिन्न प्रजातिका वनस्पति, जडीबुटीका विषयमा छलफल भयो । आयुर्वेद विज्ञानमा अष्टवर्ग भनिने सबै प्रकारका जडीबुटी त्यहाँ रहेका थिए ।

विविधताको फूलबारी खप्तड सयौँ प्रजातिका चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटीले भरिपूर्ण छ । समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ । रातीको आनन्द झन् मजाको टहटह जुन लागेको हामी देखेको भन्दा चन्द्रमा आकार अलि ठूलो जस्तो । हुन त हामी निकै उचाइमा थियौँ । तारा मण्डलको ताँती र बान्की पनि प्रस्ट देखिने प्रकारका उज्यालो खप्तड समुद्र जस्तो एक नासको देखिन्थ्यो ।

बझाङ, बाजुरा, डोटी, अछाम चार जिल्लाको केन्द्र थियो । घोडेपाटन नागढुङ्गा बझाङमा, खापरदह, छेडे पाटन बाजुरामा त्यही पर्यटन कार्यालय, राष्ट्रिय निकुञ्जको कार्यालय सेनाको ब्यारेक पनि रहेको थियो । त्रिवेणी क्षेत्र डोटीमा पर्ने रहेछ, त्यस्तै सहस्रलिङ्ग थान अछाम मा पर्ने रहेछ । खप्तड बसाइका क्रममा बढी भन्दा बढी ठाउँ घुम्ने योजना थियो । सबै थकानलाई थाती राखी बिहानको सूर्योदय पूर्व त्रिवेणी पुगिसकेका थियौँ । तीर्थोचित कार्य गरी खापर दह तर्फ लाग्यौँ ।

डोटीको परम्परामा सोल शिवालय सँगै दानवहरूको पूजा गर्ने पद्धति रहेको छ । देवता भक्त रूपमा रहेका दानौ पूजनीय रहेका छन् । केदार र खपरेका बिच निकै ठुलो द्वन्द्व रहेको थियो । खपरेको बास रहेको ठाउँमा नै गएर अन्य दानौ र केदार देवताले खपरेलाई त्यहाँबाट विस्थापित गरेका थिए । त्यही युद्ध बाट केदार र मस्टो संस्कृतिको विकास भएको देखिन्छ ।खापर दहमा केदार र मस्टो, खपेको पूजा हुने गर्छ । त्यही खापरदह बाट खप्तड बनेको मान्यता छ । ठाउँ ठाउँमा केदारका थान रहेका छन् । दिनभर घुम्ने इच्छा थियो । थकान त्यसैमा औपचारिक कार्यक्रम भएकाले मुख्यमुख्य ठाउँ हेरि कार्यक्रम स्थलतिर लाग्यौ ।

खप्तडमा आयोजित प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको विशेष समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहालले खप्तडको त्रिवेणी केदार पाटनमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियो । सम्मेलनको औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, योग गुरु स्वामी रामदेव,आयुर्वेद शिरोमणि बालकृष्ण आचार्य पूर्व प्रधानमन्त्री झलनाथ खनाल, परराष्ट्र मन्त्री एन पी साउद, लगायतले मन्तव्य राख्नु भएको थियो । सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सभापतित्वमा सञ्चालित सम्मेलनमा प्रदेश सरकारका पर्यटन मन्त्री रमेश धामीले स्वागत गर्नु भएको थियो ।

औपचारिक कार्यक्रममा गीत, डेउढा, छलिया, हुडकेली नृत्य सँगै स्वागत नृत्यबाट अतिथिको स्वागत गरिएको थियो । खप्तड विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले खप्तडको महत्व दर्साउँदै स्वागत सम्मान गर्नु भएको थियो । सम्मेलनका मुख्य वक्ता तथा आकर्षक योग गुरु स्वामी रामदेव जीले सरकारले दिएको योजना अनुसार पतञ्जलिले सेवामूलक कार्य अगाडि बढाउने प्रतिबद्धता प्रकट गर्नु भयो । भू स्वर्ग खप्तडको प्रचारप्रसार आफू निरन्तर लागि पर्ने समेत प्रतिबद्धता प्रकट गर्नु भएको थियो । अलौकिक ठाउँको संरक्षण संवर्द्धनमा र कुनै न कुनै महत्त्वपूर्ण कार्यको थालनी गर्ने आचार्य बालकृष्णले पनि प्रतिबद्धता दोहर्‍याउनु भयो ।

दोस्रो दिन बुधवार खप्तडको विकास र सम्भाव्यता बारे महत्त्वपूर्ण छलफल तथा कार्यपत्र प्रस्तुत भएका छन् । बुधवार पूर्व उपप्रधानमन्त्री डा.भीम रावलको अध्यक्षतामा भएको विशेष सत्रमा इतिहासकार प्रा.डा.राजाराम सुबेदीले खप्तडको ऐतिहासिकता र सम्भाव्यताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जगद्गुरु बाल सन्त मोहन शरण देवाचार्य, ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयकी सञ्चालिका हिरा दिदी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, पर्यटन बोर्डका प्रबन्धक खडकविक्रम शाह, खप्तड विकास बोर्डका अध्यक्ष हर्कबहादुर सिंह, पूर्व मन्त्री कर्ण थापा, पूर्व मन्त्री खगराज भट्ट, प्रदेश सभा सदस्य शिवसिंह ओली, गोविन्द बहादुर शाह, काठमाडौँ विश्वविद्यालयका योग विभाग प्रमुख प्रा.अनन्त रिसाल लगायतले खप्तडको विकासका लागि सामूहिक प्रतिबद्धता जनाउँदै गुरु-योजनाअनुसार अगाडि बढ्नु पर्ने कुरामा जोड दिए ।

निकै ठुलो उपस्थिति थियो आयोजक अपेक्षा भन्दा दुगुना उपस्थिति थियो । विभिन्न सङ्घसंस्था, जन प्रतिनिधि, पत्रकार, कलाकारहरूको उल्लेख्य उपस्थिति थियो । कलाकारको सुदूर पश्चिमको मौलिक संस्कृतिको अनुपम प्रस्तुति गरेका थिए ।

खप्तड आफैमा मनोरम छ । प्रकृतिको अनुपम छटा छन्नता बोकेको छ । स्वर्ग त पाइन्छ, पाइँदैन, हुन्छ, हुँदैन, रमणीय, आनन्दित र अनुपमलाई स्वर्ग भन्ने हो भने धर्तीमै स्वर्ग पाइने हेर्नु छ भने खप्तड पुग्दा हुन्छ ।स्वर्ग, माथि आकाशतिर छ भन्छन् । स्वर्गमा देवता बास गर्छन् । आकाशलाई खेचर पनि भनिन्छ । खेचरबाट खप्तड भएको हो  । आकाश जुन स्वर्ग हो, जहाँ देवता छन् र धर्तीको स्वर्ग नै हो खप्तड ।

जहाँ बाइस पाटनहरू जहाँ छ ताल छन्, नद नदी पनि त्यत्तिकै छन् । तीन नदीको सङ्गम नै छ त्रिवेणी सहस्र लिङ्ग शिवजी लगायत देवता निवास गर्दछन्  । स्वर्गको बगैँचामा हजारौँ फूल फुलेका छन् । कोणधारी वृक्ष भरिएको घना जङ्गल पनि छन् मान्छे हराउन सक्ने घोडा दौड हुन सक्ने ठुला ठुला पाटन पनि छन्  । कति सिँगारेकी छन् माता प्रकृतिले । खप्तड आफैँमा प्राकृतिक अनुपम त थियो नै ।

त्यसैमा गीत, कथा, कविता थियो । टुक्राटाकी जोडी सङ्ग्रह पारेको होइन महाकाव्य नै थियो । समग्र र सत्य थियो ।
स्वर्ग माथि छ भन्छन्, स्वर्गमा देवताहरू बस्छन् भन्छन्, पृथ्वीको सबैभन्दा माथि, माथि चराचर जगतभन्दा माथि
खेचरहरूको निवास रहेको भू स्वर्ग हो खप्तड, आफैँ हिमाल हो र हिउँ त देखिन्छ नै । जहाँबाट चन्द्रमा तारा पनि ठुला देखिन्छन् । स्वर्गानुभूति हुन्छ, स्वर्गीय आनन्द पाइन्छ ।

कसले देखेको छ र स्वर्ग स्वर्ग अलौकिक हो, लौकिक स्वर्ग यही हो, यस्तै हुन्छ खप्तडजस्तै  ।

परशुराम १२, डडेल्धुरा