स्वर्गद्वारी अर्थात् स्वर्ग जाने बाटो !
जीवनभर नपाइएका सुख पनि स्वर्गमा गएपछि पाइन्छ रे !
यस्तै मिथकका कारणले होला स्वर्गलोकको कल्पना मात्रले पनि प्रायः सबै मानिसको मन पुलकित हुने गर्छ । त्यसैले त युगौँ युगदेखि स्वर्गको महिमा जनजिब्रोमा लोकप्रिय बन्दै आएको छ । यस्तै अलौकिक स्वर्गको सुखभोग गर्नको निम्ति द्वापर युगमा पाण्डवहरूले स्वर्ग प्रस्थान गर्नु अघि तपस्या गरेको स्थान भनेर विश्वास गरिएको पवित्र स्थलको रूपमा परिचित छ स्वर्गद्वारी पूण्यभूमि । त्यसैले त धार्मिक पर्यटकीय स्थलहरूमध्ये प्युठान जिल्लामा अवस्थित स्वर्गद्वारी हिन्दु धर्मावलम्बीको निम्ति एकपटक जानै पर्ने धार्मिक गन्तव्यको रूपमा चर्चित हुँदै आएको छ ।
घुमफिर गर्न निकै मन पराउने र धार्मिक आस्थामा अब्बल मेरी जीवनसङ्गिनीले वर्षौं अघिदेखि स्वर्गद्वारी पुग्ने ठुलै इच्छा राख्दै आएकी थिइन् तर आजसम्म पनि मैले उनको त्यो इच्छालाई पूरा गरिदिन सकेको छैन । यो वर्ष पनि अर्धाङ्गिनीको इच्छा पूरा गर्न नसक्नु मेरो कमजोरी ठहरिन सक्छ तर उनै अर्धाङ्गिनीको आधा अङ्ग अर्थात् स्वयं आफूलाई स्वर्गद्वारीको पावन भूमिमा पुर्याउन सकेकोमा मलाई भने अपार शान्ति मिलेको छ । उसो त यसपटकको स्वर्गद्वारी यात्रा नियोजित भन्दा पनि आकस्मिक नै थियो त्यसैले एक्लै स्वर्गद्वारीको यात्रा सम्पन्न गरेकोमा अर्धाङ्गिनीको गुनासो रहने छैन भन्ने मैले विश्वास लिएको छु ।
अवकाशप्राप्त कर्मचारीहरूको सङ्गठन सुदृढीकरणका निम्ति मध्य जेठको प्रचण्ड गर्मीलाई चुनौती दिँदै हामी सुर्खेत, नेपालगन्ज हुँदै तुलसीपुर पुगेका थियौँ । त्यहाँ पुगेको केही घण्टापछि अचानक स्वर्गद्वारी जाने कार्यक्रम बन्न पुग्यो । राष्ट्रिय वाणिज्य बैङ्क पूर्व कर्मचारी सङ्घको दाङ्ग भेला समापन हुनै लाग्दा आदरणीय मित्र राजकुमार खड्काले सुस्तरी कानमा भन्नु भएको वाक्य नै स्वर्गद्वारीको बाटो खुलाउने मूलमन्त्र बन्न पुग्यो ।
“यहाँ आएपछि स्वर्गद्वारी जान नभुल्नु है सर, नजिकै छ नि”
अघिल्लो दिन नेपालगन्जमा पनि “तुलसीपुर पुगेपछि स्वर्गद्वारी जानुहोला है” भन्ने सुझाव पाएका थियौँ तर त्यति बेला हामीले साङ्गठनिक लक्षलाई बाधा पुग्ने गरी यात्रा नलम्ब्याउने सहमति गरेर यो प्रसङ्गको बिट मारिसकेका थियौँ । तुलसीपुरको कार्यक्रमपछि सोह्र गते तौलिहवा र सत्र गते भैरहवाको लागि समय निर्धारण भैसकेका कारण हामीलाई समयको निकै चापाचाप थियो । स्वर्गद्वारीको लागि हामीसँग अतिरिक्त एकदिन छँदै थिएन । थिए त केवल सोह्र जेठ मङ्गलवारका केही घण्टाहरू मात्र ।
खड्का सरको सुझावले उत्साहित भएपछि स्वर्गद्वारी जाने मेरो इच्छा झनै प्रबल भएर आयो । त्यसैले तुलसीपुरको साङ्गठनिक कार्यक्रम समापन हुने बित्तिकै स्वर्गद्वारीको लागि तुरुन्तै प्रस्थान गर्न सकिन्छ कि भनेर मैले स्थानीय साथीहरूसँग जिज्ञासा राखेँ । बाटोको दुरावस्था र दुरीका कारण बेलुका नजान सल्लाह दिँदै बरु भोलि बिहानै जान साथीहरूले सुझाव दिनु भयो । तुलसीपुरबाट घोराही-होलेरी हुँदै होस् वा भालुबाङ्ग भिङ्ग्री हुँदै होस् स्वर्गद्वारी सम्मको आवतजावतमा कम्तीमा दस घण्टा समय लाग्ने देखेपछि स्वर्गद्वारीको यात्रा हाम्रो लागि कठिन देखियो । केही क्षण स्वर्गद्वारीको यात्राको सम्भावना टर्दै गएको महसुस हुन थाल्यो । किनकि दस घण्टा समय खर्चनुको अर्थ पूरा दिन नै बित्न सक्थ्यो स्वर्गद्वारीको यात्रामा । यसले हाम्रो बाँकी यात्राको समय तालिका पुरै प्रभावित हुने थियो ।
तुलसीपुलबाट सल्यानको कपुरकोट हुँदै होलेरी पुग्ने बाटो अलि लामो छ भन्ने थाहा भयो । घोराही हुँदै होलेरी पुग्ने बाटो बिग्रेर थुप्रै खाल्डाखुल्डी भएको र भालुवाङ्ग भिङ्ग्री हुँदै स्वर्गद्वारी पुग्ने बाटो पनि घुमाउरो भएको जानकारी भयो । यद्यपि काठमाडौँ, चितवन वा भैरहवा तर्फबाट आउनेहरूको लागि भने भालुवाङ्ग-भिङ्ग्री हुँदै स्वर्गद्वारी पुग्ने मार्ग नै सहज भएको बुझियो । एकजना साथीले बिजौरी हुँदै होलेरी जोडिने नयाँ बाटो गएमा तीन घण्टामै स्वर्गद्वारी पुग्ने सम्भावना देखाएपछि दिनेश विक्रम थापा, शैलेन्द्र कुमार शाह, बालमुकुन्द श्रेष्ठ र म सहितको टोली सोही मार्गबाट स्वर्गद्वारी जान कस्सियौँ ।
भोलि बिहान सखारै स्वर्गद्वारी जानेमा सबैको मन मिल्यो तर कसरी जाने भन्ने अझै टुङ्गो थिएन । हाम्रो इच्छालाई मूर्तरूप दिने काम दाङ्ग भ्रमणको तारतम्य मिलाउने आदरणीय मित्र बुद्ध प्रकाश सिंह र नवराज सुबेदीले गर्नु भयो । फोन सम्पर्क मार्फत एउटा सानो गाडीको बन्दोबस्त गरिदिए पछि हामीले छोटो बाटोबाट स्वर्गद्वारीको यात्रामा निस्कने निधो गर्यौं । जेष्ठ १५ गते बिहान चारबजे सवारी चालक भाइ अजय सेन्चुरीको फोन आयो ।
हामी लगभग तयार नै थियौँ तर हामी बसेको होटेलको मूलढोका अझै खुलेको थिएन र होटेल व्यवस्थापनका कोही व्यक्ति नउठेका कारण होटेलको बिल भुक्तान गर्नको लागि हामी आधा घन्टा अलमलियाैँ । बिल तिरेर हिँड्दा साढे चार बज्यो । बेलुकै होटेल साहुलाई हामी बिहानै जान्छौँ हाम्रो बिल अहिल्यै पठाइदिनुस् है भनेका थियौँ तर ११ बजे सम्म कोठामा बिल नआएपछि हामी निदाएका थियौँ । बल्लतल्ल होटेलका कामदार सुतेको ठाउँ पत्ता लाएर उठायौँ र होटेल चार्ज तिरेर हामी निस्कियौँ । दिउँसो बुद्धजीले “किन होटेलको बिल तिर्नु भयो ?” भनेर गुनासो गर्दै फोन गरेपछि पो थाहा भयो बिलको रकम पाहुनासँग नलिनु म दिउँला भनेर बुद्ध सरले भन्नु भएको रहेछ । त्यसैले पो बिल नपाएका रहेछौँ हामीले ।
तुलसीपुरबाट बिहान साढे चार बजे सुरु भएको स्वर्गद्वारीको यात्रा सवा पाँचबजे दाङ्ग र रोल्पाको सिमानामा पुग्यो । खाद्रे मनहरी हुँदै ग्वारखोलाको किनारै किनार खोलिएको नयाँ ट्र्याक ठुलो गाडीको लागि त्यति उपयुक्त थिएन तर सानो गाडीको लागि भने ठिकै लाग्यो । चालक भाइले पालेको लामो दारीको रहस्य केही छ कि भनेर मैले उनको बोली र व्यवहार बुझ्ने कोसिस गरेँ । उनले हाँस्दै “केही रहस्य छैन सोखले पालेको हो” भनेर जवाफ फर्काए । मैले नाम, ठेगाना सोधेपछि उनले खुलेर कुरा गर्न थाले । चालकको मिजासिलो व्यवहारले हामी सुरक्षित यात्रामा छौँ भन्ने अनुभूत गरायो ।
सुर्खेत घर भएका उनले दाङ्गकी केटी बिहे गरेका रहेछन् । सानी छोरी हुर्काउँदै श्रीमतीलाई स्नातक पढाइरहेका सेन्चुरी भाइ एउटा परिपक्व युवा भएको महसुस भयो । राजनीतिक अवस्था मात्र राम्रो हुने हो भने पनि यस्ता कर्मवीर युवाको कमी छैन यो देशमा । तर अपसोच जताततै मन्दीको मारमा परेका युवाहरूमा चरम निराशा पनि देखियो । आम्दानी प्रायः अनिश्चित हुने र वर्षा याममा यात्रु अभावका कारण रिजर्भ नहुने भएकोले खर्च धान्न धौ धौ रहेछ त्यसैले उनी विदेश जानै पर्ने बाध्यतामा रहेछन् । यही वर्ष बिदेसिने विचार गरेको सुनेर हामी केही छिन खिन्न भयौँ ।
चालक भाइको प्रसङ्ग टुङ्गिए पछि कवि मुक्तककार शैलेन्द्र कुमार साहले केही ठट्यौली झिक्नु भयो । हामीले हाँस्दा हाँस्दै रोल्पाका ग्रामीण इलाका चिन्निखर्क, झेनाम काट्यौँ । त्यसपछि टोली नेता तथा कवि दिनेश विक्रम थापाले रोल्पाली वामपन्थी साथीको गाउँमा पुगेर युद्धकालीन रणनीति र स्थानीय श्रोत साधनहरू बारे बुझ्ने मौका पाएको रोचक अनुभव सुनाउनु भयो । वहाँले लेखेको कमरेड अमर बुढामगर शीर्षकको एउटा सशक्त कविता पहिले सुनेको थिएँ तर आज प्रसङ्गवश मलाई थाहा भयो वहाँको त्यो कविता त सत्यतामा आधारित अभिव्यक्ति पो रहेछ ।
प्रायः दिनेश विक्रम थापाका कवितामा आउने परिघटना र पात्र यसरी नै जीवन्त हुने गर्छन् । त्यसैले त वहाँले सुनाउनु भएको रोचक प्रसङ्ग ध्यान दिएर सुन्दासुन्दै हामीले बाटो काटेको पत्तै पाएनौँ । दाङबाट हिँडेको पौने दुई घण्टामै हामीले रोल्पाको होलेरी बजार टेक्यौँ । सुरुमा बाटो केही अप्ठ्यारो भएता पनि पछि भने स्तरोन्नति भएको फराकिलो सडक रहेछ त्यसैले अनुमान गरेभन्दा छिटो हामी युद्धकालको चर्चित होलेरी बजार पुग्न सफल भयौँ । जुनसुकै स्थानमा पुगे पनि सबैभन्दा पहिलो जिज्ञासा भनेको मातृ संस्था राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कहाँ होला ? कस्तो होला ? भन्ने हुँदो रहेछ त्यसैले हामी सोध्दै खोज्दै बैङ्कको शाखा कार्यालय होलेरी भित्र छिर्यौं । अलि बिहानै भएकोले प्रबन्धक सुतिरहेको थाहा पाएपछि हामीले उठाउन चाहेनौं । सुरक्षा गार्डसँग केही बेर बातचित गरेर हामी त्यहाँबाट हिँड्यौँ ।
होलेरीबाट घोराही अठ्ठाइस किलोमिटर, स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुण्टी गाउँ सोह्र किलोमिटर, स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको स्थान गढीलेक अढाई किलोमिटर र स्वर्गद्वारी पूण्यभूमी छब्बिस किलोमिटरको दुरीमा रहेछन् । यहाँको मुरुल्ले लेकबाट रातीको समयमा भारतमा बलेको बत्ती समेत देखिँदो रहेछ ।
यिनै जानकारी समेट्दै हामीले स्थानीय होटेलमा कालो चिया पिएर होलेरीमा केही समय बितायौँ । वरपरका स्थलमा केही थान फोटो खिचेर पुनः यात्रामा अघि बढ्यौँ । सुख्खा मौसम भएर होला सामान्य ग्रामीण सडकको यात्रामा खासै समस्या भोग्नु परेन । एक घन्टाको यात्रा पछि रोल्पा र प्युठानको सिमाना काटिँदो रहेछ । एउटा फराकिलो ठाउँ रोजेर चालक भाइले गाडी रोके । हामी सबै लघुशङ्काको लागि गाडीबाट ओर्लियौँ । गाडी चढ्न लाग्दा साथी बालमुकुन्दले गाडीको पछिल्लो टायरमा हावा कम भएको जानकारी चालकलाई दिए । चालकले हेर्ने बित्तिकै टायर पञ्चर भएकोले फेर्नु पर्छ भन्दै जगेडा टायर निकाले । हामी भने प्युठान जिल्लाको सुन्दर भूबनोटको अवलोकन गर्दै वरपरका दृश्य क्यामेरामा कैद गर्न थाल्यौँ । १५-२० मिनेटमा टायर फेर्ने काम सकिएपछि हामीले पुनः त्यहाँबाट प्रस्थान गर्यौँ ।
तुलसीपुरबाट बिहान साढे चारमा गुडेको हाम्रो गाडी साढे आठ बजे बिहान रुन्टिगढी नगरपालिका अन्तर्गतको स्वर्गद्वारी बजारको बसपार्क रहेको स्थान धरमपानीमा गएर रोकियो । चार घण्टाको यात्रामै गन्तव्यमा पुगेकोमा खुसी हुँदै हामी गाडी बाट ओर्लिएर स्वर्गद्वारी आश्रमतर्फको उकालो बाटो पैदल चढ्न थाल्यौँ ।
धरमपानीबाट स्वर्गद्वारी पूण्यभूमी तर्फ जाने बाटो सुरु देखि नै व्यवस्थित ढङ्गले बनाइएको रहेछ । ढुङ्गा छापिएर चिटिक्क पारिएको उकालो बाटोको छेउछाउ र बिचमा फलामे पोल र रेलिङ्गले अशक्तहरूलाई समेत हिँड्न सजिलो थियो । १५-२० मिटरको दुरीमै प्रशस्त मात्रामा विश्रामस्थल बनाइएका कारण हिउँद-वर्षा, घाम-पानी जुनसुकै बेलामा यात्रा गर्न निकै सजिलो रहेछ । स्वर्गद्वारी दर्शन गरेर फर्किएका भक्तजनहरूको भजन कीर्तन र भ्रमण अनुभव सुन्दै हामी उकालो हिँड्दै थियौँ । उकालाहरूमा साथी बालमुकुन्दलाई अलि गाह्रो हुँदा हामी आवतजावत गर्ने पैदल यात्रीहरूसँग कुराकानी सुन्दै पर्खँदै गयौँ । यसै क्रममा हामीले धरान, काठमाडौँ, झापा र वीरगन्जका तिर्खालुहरूसँग छोटो वार्तालाप गर्यौ ।
स्थानीय किशोरहरूबाट थाहा पायौं उकालो उक्लन नसक्नेहरूले ५-६ सय तिरेर घोडा चढ्न पनि पाइने रहेछ । साथी बालमुकुन्दलाई घोडा चाहिन्छ कि भनेर सोध्यौँ तर जस्तो भएता पनि हिँडेरै पुग्ने साथीको अठोटले गर्दा हामी बिस्तारै बिस्तारै उकालो उक्लियौँ र अन्ततः बिहान नौ बजे स्वर्गद्वारी आश्रमको गेटबाट पूण्यभूमिमा पाइला टेक्न सफल भयौँ । साँच्चै नै त्यहाँ पुग्दा आश्रम वरपरको मनोरम दृश्य र शान्त वातावरणले गर्दा स्वर्गीय आनन्दको अनुभूति चाहिँ हुने नै रहेछ ।
स्वर्गद्वारी आश्रम भनेको स्वर्गद्वारी महाप्रभुको समाधिस्थल हो । अहिले यहाँको मूल मन्दिरमा भगवान शिवको शिव लिङ्ग स्थापित भएको रहेछ । खासमा यो गौतम कुलका एक महान् तपस्वी नारायण खत्री (स्वामी हंसानन्द) को तपोभूमी, यज्ञशाला र गौशाला हो जहाँ सयौँको सङ्ख्यामा गाई पालन गरी गौमाताको संरक्षण गरी राखिएको छ । महाप्रभुले यो भूमि खरिद गरी यज्ञ गर्नु भएको रहेछ ।
यही यज्ञशालामा अखण्ड हवन चलाउन र गौशाला सञ्चालनको निम्ति दाङ्ग देउखुरी क्षेत्रमा हजारौँ बिगाहा जग्गा खरिद गरी त्यसैको आम्दानीले आश्रम सञ्चालन हुँदै आएको रहेछ । तर द्वन्द्वकालमा आश्रममा तोडफोड र लुटपाट भएको अनि अखण्ड महायज्ञमा गरिने हवन रोकिएको सुन्दा दुःख लाग्यो । अझ स्वर्गद्वारी गुठीको जग्गा विभिन्न अधर्मीहरूबाट अतिक्रमण भइरहेको भन्ने सुन्दा त यो मुलुक कता जाँदै छ ? भन्ने चिन्ताले सताउने रहेछ ।
करिब डेढ शताब्दीअघि देखि यहाँ अखण्ड महायज्ञ चलिरहेको रहेछ । द्वन्द्वकालमा केही वर्ष यज्ञ रोकिए पनि अहिले भने पुनः सुचारु भएको रहेछ । यहाँ वैदिक विधिले दैनिक चार पदटक हवन हुँदो रहेछ । अखण्ड हवन हुने यज्ञशालाको निम्ति अहिले यहाँ अष्टकोणयुक्त आकर्षक भवन बनाइएकाे रहेछ । यहाँको यज्ञकुण्डमा हरपल अग्नि प्रज्वलित भइरहने हुनाले धुवाँ उडिरहेको देख्न सकिन्छ । हामीले यज्ञशालाको खरानी अर्थात् विभूत र फूल प्रसाद पुजारीबाट लियौँ र श्रद्धापूर्वक ढोग गरेर बाहिरियौँ ।
हामीले सफा सुग्घर मन्दिर परिसरमा केही समय बिताएपछि गौशाला र स्वर्गद्वारी गुफा पनि हेर्ने विचार गर्यौँ । मन्दिर परिसर नजिकै रहेको गौशालाको अवलोकन गरे पछि हामी केही पर डाँडाको टुप्पामा अवस्थित स्वर्गद्वारी गुफा तर्फ लाग्यौँ । सशस्त्र प्रहरीको सुरक्षा घेरासँगै रहेको स्वर्गद्वारी गुफा डाँडाको पाखामा रहेको सानो प्राकृतिक गुफा रहेछ । एकैछिनको गुफा अवलोकन पछि हामी अघि आएको बाटो नफर्की दाहिने तर्फबाट जङ्गलको बाटो ओरालो लागेर बसपार्क पुग्न सक्छौँ कि भन्ने अनुमान गर्दै तलतिर बढ्यौँ ।
केही तल पुगेपछि बोरामा नाम्लो लाएर गिट्टी ओसार्दै गरेका एकजना किशोरसँग हाम्रो भेट भयो । हामीले “यो बाटोबाट बसपार्क पुग्न सकिन्छ कि सकिँदैन भाइ ?” भनेर सोध्दा उनले त्यो बाटो नजान सुझाए । हामी उनी सँगसँगै अर्कै बाटो आश्रम तर्फ फर्कियौँ । आश्रमबाट गुफा आउँदा भन्दा यताबाट फर्कँदा समय कम लाग्यो ।
उकालोमा भारी बिसाएको बेलामा हामीले किशोरको नाम र ठेगाना सोध्यौँ । उनी स्थानीय गाउँका प्रकाश सुनार रहेछन् । उनका बुवा केही वर्ष अघि नै बितिसकेको र आमा निकै बिरामी भएकोले परिवार पाल्न उनले दिदीसँग मिलेर साहुको गिट्टी बोक्ने काम गर्दा रहेछन् । जङ्गलमा कुटिएको गिट्टी उकालो बाटो भाइले र तेर्सो जति दिदीले बोक्दिरहिछन् ।
भाइले कक्षा ७ पढेर यसै वर्ष स्कुल जान छोडेको थाहा भयो । “किन स्कुल छोड्यौ त ?” यो प्रश्नमा परिवारको जिम्मेवारी भन्ने जवाफ पाइयो । जुन जवाफ सुनेर हामी भावुक भयौँ । दिनेश सर र मैले ५०-५० रुपैयाँ हातमा दिँदै भाइलाई “पढाइ जारी राख है बाबू पढेर मात्रै ठुलो मान्छे बन्न सकिन्छ नि ।” भन्यौँ तर भाइले कुनै खुसी व्यक्त गरेनन् न त प्रतिक्रिया नै जनाए । सायद हाम्रो सुझाव मान्न असमर्थ थिए उनी ।
किनकि कलिलो उमेरमै जिम्मेवारीको भारी बोक्नु पर्ने बाध्यताले थिचिए जस्ता देखिन्थे उनी । पढाइको लागि समय र श्रोतको अभाव थियो उनलाई । धेरै कुरा कोट्याएर घाउ बल्झाउन उपयुक्त लागेन त्यसैले हामीले भाइसँग एउटा फोटो खिच्न आग्रह गर्यौँ । उनले अनिच्छापूर्वक फोटो खिच्न सहमति जनाउँदै फोटो खिचे पनि फेसबुकमा नराख्न अनुरोध गरे । अरूले चेभ्रो पारेको र खिस्सी गरेको मन पर्दो रहेनछ उनलाई । स्वाभिमानी ती भाइको इच्छालाई हामीले सम्मान गर्यौँ र फोटो आफैँमा सीमित गर्यौँ । प्रकाश भाइको मुहारमा बालसुलभ चञ्चलता भन्दा पनि गम्भीरता व्याप्त थियो । हामीले प्रकाश सुनार भाइ पनि प्रकाश सपूत जस्तै सफल कलाकार भएर निस्किए हुन्थ्यो भन्ने कामना गर्दै स्वर्गद्वारी तपोभूमिको संक्षिप्त यात्रा टुङ्ग्याउँदै ओरालो लाग्यौँ ।
स्वर्गद्वारी आश्रमबाट पन्ध्र मिनेटको पैदल ओरालो र पन्ध्र मिनेटकै गाडीको ओरालो यात्रा पछि हामीले भिङ्ग्री बजार पुगेर खाना खाने विचार गर्यौँ । धरमपानी देखि भिङ्ग्री सम्मको पन्ध्र किलोमिटर सडक साँघुरो भए पनि राम्रै पिच रहेछ । ओरालो बाटो भएकाले हाम्रो गाडीको गति सीमित थियो । ओरालो भएको कारणले जोखिम त थियो तर गति सुस्त हुँदा त्यति डरलाग्दो लागेन यो भन्दा भिरालो र घुम्तीहरू त धेरै ठाउँमा छन् । स्वर्गद्वारी यात्राको सबैभन्दा जोखिमपूर्ण सडक यसैलाई मानिँदो रहेछ । सायद सडक पिच नहुँदा धेरै दुर्घटना भएका थिए होलान् । तर गाडीको गति सुस्त हुँदा त्यस्तो डरलाग्दो सडक कतै देखेनौँ हामीले । तीव्र गति र चालकको लापरबाहीमा बाहेक डराउने अवस्था कतै छैन । हुने हुनामी टर्दैन भन्छन् हामी फर्किएको दुईचार दिन पछि नै एउटा स्कोरपियो गाडी दुर्घटनाको खबर सुनियो । जसमा आठ जनाको ज्यान गयो । मलाई अचम्म लागिरहेको छ त्यो गाडी कहाँनेर कसरी दुर्घटना भयो होला ?
एघार बजे भिङ्ग्रीमा खाना खायौँ । चालकले टायर मर्मत गरे । सवा बाह्र बजे भिङ्ग्रीबाट हिँड्यौ । चार बजे तौलिहवा पुग्ने हाम्रो लक्ष्य थियो नभन्दै सवा एक बजे भालुवाङ्ग पुग्यौँ । बुटवल जाने बस चढ्नु अघि हामीलाई स्वर्गद्वारीको सकुशल यात्रा गराउने चालक अजय सेन्चुरी भाइलाई सहस्र धन्यवाद दियौँ, सम्झना स्वरूप पाँच जनाको एउटा संयुक्त फोटो खिच्यौँ र एक अर्कालाई शुभ यात्रा भन्दै छुट्टियौँ । सेन्चुरी भाइकै सहयोगमा हामीले कार्य तालिका परिवर्तन नगरी स्वर्गद्वारीको यात्रा सम्पन्न गर्न सफल हुँदै तौलिहवाका साथीहरू भेट्न अपराह्न चार बजे रा. वा. बैङ्क तौलिहवा शाखा पुग्दा हाम्रो शरीर प्रचण्ड गर्मीले तातिएको थियो तर मन भने निकै शीतल थियो । कारण विशेष थियो । जीवनमा एकपटक पुग्नै पर्ने धार्मिक गन्तव्यमा पुगेर आज हामी आफ्नो भ्रमणको कार्य तालिकामा पुनः जोडिएका थियौँ ।
“तँ चिता म पुर्याउँछु” भनेझैँ ईश्वरको कृपा र समयको उचित व्यवस्थापन हुँदा हामीले स्वर्गद्वारीको यात्रा सफलतापूर्वक सम्पन्न गर्यौँ र जीवनको एउटा घिडघिडो मेटायौँ । स्वर्गद्वारीको सफल यात्रा गरेर भ्रमण सार्थक बनायौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।