ध्यान भङ्ग गराइएकामा छेपारालाई गाली गर्दै म रिउस पुगेँ । त्यहाँ ढुङ्गेधाराबाट दुई किनारमा छुटेका बाटा भेटिँदा रहेछन् । त्यहाँ वारिपारि गर्ने सानो झोलुङ्गे पुल थियो । मानिसहरू पुलमा ओहोरदोहोर गर्दै थिए ।

 

मनमा इच्छा भएर पनि कति कुरा पूरा हुँदैनन् । कतिपय अवस्थामा इच्छा नभए पनि काम सम्पन्न हुन्छन्  । नेपाल सुन्दर छ र सुन्दरता नियाल्नुपर्छ भन्ने इच्छा सायद सबै नेपालीको हुँदो हो । मलाई पनि नेपालका सुदूर उत्तरी क्षेत्रका गाउँबस्ती नियाल्ने इच्छा थियो तर परिवेश मिलेको थिएन । मौका मिल्नासाथ सोच र जाँगर दुवैले मलाई उत्साही बनायो ।

मुगुको उत्तरी भूभाग मुगुम कार्मारोङ गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माणका लागि सहजकर्ताको खोजी भइरहेका बेला मेरा पुराना मित्र गायत्रीजीले मलाई उक्त कार्यका लागि अनुरोध गर्नुभयो । भूगोल नियाल्ने र आफूले जानेका कुरा आदानप्रदान गर्ने अवसरलाई सहर्ष स्विकार्दै हामी २०८० सालको जेठ १९ गते काठमाडौँबाट त्यतातिर लाग्यौँ । जहाजबाट नेपालगन्ज र  त्यहाँ एक रातको बसाइपछि हामी  पुनः जहाजबाट मनभित्रको रारा नियाल्दै गमगढी पुग्यौँ । गमगढीबाट हाम्रो यात्रामा गुनाइटेड मिसन टु नेपालका कर्मचारी नेत्र शाही पनि मिसिनुभयो । हामी जिप चढेर २० गते दिउँसो मुगुम कार्मारोङ गाउँपालिकाको छाइल बजार पुग्यौँ ।

यहाँबाट हाम्रो गन्तव्यतिरको यात्रा पैदल हुने रहेछ । छाइलमा चिया खाएर हामी आआफ्ना झोला बोकी अगाडि बढ्यौँ । मुगु कर्णालीको किनारै किनार तिब्बतको नाक्चे नाकासम्म जाने बाटाको ट्रयाक खुल्दै रहेछ । हामी मुगु वारिपारिको रमणीय दृश्य हेर्दै भिरैभिरको बाटो बढिरह्यौँ । केही पर पुगेपछि खन्दै गरेको बाटो अन्त्य भएर गोरेटो बाटो सुरु भयो । होस नपुर्याई हिँडेमा चिप्लेर कर्णालीमा खसिएला जस्तो बाटो, खच्चडमा भारी बोकाउनुपर्ने कर्णालीको पीडा, शिरमा हिमाल हाँसिरहेको अनुपम सौन्दर्य र मेरो देशको यथार्थ सोच्दै मेरा पाइला बढिरहे ।

बाटामा ऐँसेलु पाकेका थिए । पाक्दा पहेँला, काला हुने ऐँसेलु र हिमाली चुत्रोका बोट जताततै थिए । जङ्गलमा एउटा घाइते खच्चड दुःखले घाँस चपाउँदै थियो । शरीरभरि घाउ थिए । बुझ्दा भारी बोक्न नसक्ने भएपछि मालिकले यसलाई जङ्गलमै छाडिदिएछ । मर्यो भने मरिहाल्यो, बाँच्यो भने यसलाई फेरि मालिकले भारी बोकाउँछ रे । यो देख्दा मलाई मानवताको परिभाषा फेर्न मन लाग्यो । दुःखी मनले त्यो दुःखी प्राणीको फोटो खिचेर केवल बिचरा भन्नुबाहेक मैले पनि केही गर्न सकिनँ । हामी ऐँसेलु खाँदै, पानी पिउँदै र गफ गर्दै अगाडि बढिरह्यौँ । चिसो वातावरणमा पनि शरीरमा पसिना आइरहेको थियो ।

लगभग डेढ घण्टा जति हिँडेपछि गरागरा भएको ठुलो फाँट देखियो । यो माग्री फाँट हो सर । यहाँ मुगुकै सबैभन्दा राम्रो उत्पादन हुन्छ । यहाँ मरेका मानिसको सम्झनामा चितिम बनाउने चलन छ । यसलाई दाहिने पारेर हिँड्नुपर्छ । नेत्रजी हामीलाई स्थल परिचय गराउँदै हुनुहुन्थ्यो । गमगढीदेखि हामीसँगै यात्रामा रहेका करानी सामुदायिक विकास केन्द्रका संस्थापक अध्यक्ष र उनकी श्रीमतीले पनि हामीलाई नयाँ ठाउँको जानकारी दिँदै थिए । फाँटमा ढुङ्गाका गरागरा बनाएर खेती गरिएको थियो । बारीमा कागुनु, कोदो र सिमी लगाइएको थियो । आफैँ उम्रेको लट्टेको साग हरियो भइसकेको थियो । विदेशतिर किनुवाका रूपमा रुचाइएको पात र फल दुवै खान मिल्ने मार्सेको यहाँ राम्रो उत्पादन हुँदो रहेछ तर यसको ढिँडो मात्र खाने चलन रहेछ ।

फाँट कट्नासाथ दुइटा गुम्बा, स्कुल र  स्वास्थ्य चौकी देखिए । ढुङ्गाको गारो लगाएका र जस्ताले छाएका लगभग एक सय सत्तरी  घर अनि केही पक्की घर पनि रहेछन् । यो सुन्दर बजारमा सामुदायिक होमस्टे पनि रहेछन् । गाउँमा बिजुली बत्ती बलेको पन्ध्र दिन मात्र भएको रहेछ । घरहरू झलमल्ल थिए । हामी साँझ पर्न लाग्दा सोनाम लामाको होमस्टेमा पस्यौँ । धेरै समय भारतमा बसेर नेपाल फर्की होमस्टे चलाएका लामाजीका जोडीले चलाएको होमस्टे सफा र लोभलाग्दो रहेछ । हामीले पहिले खबर नगरेकाले खाना खान केही ढिलो भयो तर त्यहाँको छाच्या (भोटे चिया), टिमुरको अचार, रायाको साग, आलुको तरकारी र मार्सी चामल मिसाइएको भात स्वादिष्ट थियो ।

विदेशको मोहमा लोभिएका हाम्रा नवपुस्तालाई यसले गाउँ फर्क भनिरहेको थियो । सोनाम होमस्टेका बारेमा भन्दै थिए : यसले मलाई आय, सम्मान, सेवा र सन्तुष्टि एकसाथ दिएको छ । बिच बिचमा उनकी पत्नी पनि आफ्नो व्यवसायका बारेमा थप्दै थिइन् । धेरै बेर तातो पानी पिउँदै उनका देशभक्तिका गफ सुनिसकेपछि  हामी आआफ्नो ओच्छ्यानमा सुत्यौँ ।

चिसो रात र मिठो निद्रालाई भालेकै डाकमा भुलेर हामीले भोलि पल्ट बिहान छ बजे यात्रा सुरु ग¥यौँ । अबको बाटो अलिक कठिन थियो । कता कता आफ्नै साथमा मृत्युले पनि यात्रा गरिरहेजस्तै लाग्थ्यो ।  ओराले, उकालो, तेर्सो, तल छङछङ कर्णाली र माथिबाट ढुङ्गा खस्ने त्रासभित्रको खुसियाली यात्रा पनि रमाइलै हुँदो रहेछ । सायद कठिन अनुभूति नहुँदो हो त मानिसमा पूर्णता हुने थिएन । गफ गर्दै, पसिना पुछ्दै र फोटो खिच्दै अघि बढेको पत्तै भएनछ ।

एक घण्टाको यात्रा पूरा हुँदा हामी ढुङ्गेधारा नामको सानो बजार पुग्यौँ । त्यहाँ पाँचसात घर थिए । त्यहाँबाट मह गाउँ र पुलु जाने बाटो छुट्टिँदो रहेछ । दूधजस्तै सेतो कर्णालीको कलकल र साङ्गीतिक सुस्केरा आनन्ददायक थियो । घाँटीमा ठुला घण्टी झुन्ड्याइएका खच्चडका पिठ्युँमा खाद्यान्न, सिमेन्ट आदिका भारी टन्न थिए । हाम्रा झोला बोक्न नेत्रजीले व्यवस्था गरिदिएकी एक जना सहयोगी हामीसँगै थिइन् । उनी हामीले बोलेको त्यति बुझ्दिन थिन्, कार्मारोङ वा कार्कात भाषा बोल्दिरहिछन् ।

यहाँ पनि  मैले चुत्राको बोट देखेर टिप्न थालेँ । एउटै बोटमा निला, राता र हरिया दाना थिए र तिनका स्वाद पनि भिन्नभिन्न थिए । मैले अलिक बढी नै खाएछु क्यारे, सहयोगीले भनिन्, “केर्बा स्या म्हान, स्याल्ज्या हिन ।” मैले नबुझेर चुत्रो टिप्दै मुखमा हाल्दै गरेँ । पछि थाहा भयो चुत्रो खानुहुन्न सर, पखाला लाग्छ भनेर उनले मलाई सचेत गराएकी पो रहिछन् । मेरो स्वास्थ्यको ख्याल गरिदिने ती महिलालाई म अहिले पनि नमन गर्छु ।

ढुङ्गेधारा पुगेपछि पुलुतिर जाने दुई बाटा रहेछन् । पुल तरेर पारिबाट जाने बाटो लामो तथा सजिलो थियो । वारिबाटै जाने बाटो छोटो र अप्ठ्यारो थियो । हामीले सजिलो बाटो रोज्यौँ र मुगु कर्णालीको बायाँ किनारै किनार उत्तर कुर्तातिर लाग्यौँ । ढुङ्ग्यान बाटो, केही ठुला सल्लाका रुख, साना बुट्यान, केही फुलेका फूल हेर्दै  हामी कुर्ता पुग्यौँ ।

त्यहाँ सानो खोलो थियो र खोलाका छेउमा साना घर थिए । जेठ बितिसक्न लाग्दा पनि विद्यालयमा शिक्षक नआएकाले त्यहाँ दुई तीन जना विद्यार्थी घरको आँगनमा खेल्दै थिए । केही चाहिँ स्थानीय समुदायमा किरा भनिने यार्सा गुम्बु टिप्न गएका रहेछन् । घरका छेउमा आलु, लसुन र रायाको साग लगाएको देखियो ।  खेती त राम्रै रहेछ नि  यहाँ पनि  भन्ने जिज्ञासामा नेत्रजीको गरे हुने नि सर, कोही गर्दैनन्, पैसा हुने यहाँ बस्दैनन् भन्ने उत्तरले मलाई चस्स घोच्यो । धाराको चिसो पानी  पिएर हामी सिमखोलातिर लाग्यौँ । सिमखोला रसिलो ठाउँ रहेछ । यहाँ सानो खोलो छ । स्थानअनुसारको अन्नपात उत्पादन पनि हुन्छ । यो रमाइलो ठाउँमा एकछिन रमाएर वरिपरिका डाँडाकाँडा हेर्दै हामी  कर्णाली किनारतिरै लाग्यौँ । हिमाली बाटो, उबडखाबड  थियो ।

म तपाईँ लड्नुहोला है भन्दै थिएँ, हाँसिरहेकी गायत्रीजीको खुट्टा चिप्लेर फर्कियो ।  सामान्य थिचथाच गरेर रुमालले खुट्टा बाँधी साथ दिएर हिँडाउँदै हामीले यात्रा बढायौँ ।  घाम लागिरहेको थियो । मलाई अलिक छिटो हिँड्न मन लाग्यो र साथीहरूलाई छोडेर अलिक अघि बढेँ ।

करिब एक किलोमिटर जति हिँडेपछि नदी किनारमा एउटा सुन्दर चेप्टो ढुङ्गा देखियो । साथीहरू आई नपुगेकाले मैले पर्खनुपर्ने भयो । म त्यही पठारी ढुङ्गामा ध्यान मुद्रामा बसेँ । छङछङ बगिरहेको पवित्र कर्णाली, हिमाली स्वच्छता बोकेको चिसो हावा, ऊर्जा र पोषण प्रवाह गर्ने सूर्यका किरण अनि अलिअलि  थाकेको शरीरमा ध्यान बस्दा म भावातीत बनेछु । बाटामा जङ्गली आरु, ढठेलो र चुत्रो देखेको थिएँ । पाषाण भेद र जिम्बु देखेको थिएँ । सल्लाका अग्ला रुख र  बाबियाका बुच्का देखेको थिएँ । मेरो ध्यान त्यतै केन्द्रित भएछ । मैले देखेँ रिउसनजिकै जुसका कारखाना र जडीबुटी प्रशोधन कारखाना बनेछन् । चिल्ला सडकमा गाडी गुड्न थालेछन् । केबुलकार चढेर माथि डाँडामा पुग्न सकिने रहेछ ।

रिउसमा ठुलो जलविद्युत् आयोजना बनिसकेछ । नजिकै कृषि र पशुपालन फर्म  बन्दै छ रे  । साना साना घर भएका सुन्दर बजारमा तिब्बती व्यापारीको घुइँचो रहेछ । यहाँ हेलिकोप्टर चढेर पर्यटक पनि आउँदा रहेछन् । म डुबिरहेकै थिएँ एउटा खैरो छेपाराले ध्यान भङ्ग गरायो । अलिक अघि मैले कालो छेपारो देखेको थिएँ । छेपाराले आफूलाई बचाउन रङ फेर्छ रे । मानिसले  आफूलाई बनाउन  रङ  फेर्छ रे । मानिसले रङ फेर्यो भने नेता बन्छ । नेता बनेपछि उसले वरको हैन परको मात्र देख्छ । सायद रङ फेरेकै कारण कर्णाली रोइरहेछ । यहाँका पर्यटक लोभ्याउने भिर, नदी, शिलाजित, यार्सा, चुत्रो र झोवा रोइरहेछन् । ममता र पीडाको बोध थाम्न नसकी म रोइरहेछु ।

ध्यान भङ्ग गराइएकामा छेपारालाई गाली गर्दै म रिउस पुगेँ । त्यहाँ ढुङ्गेधाराबाट दुई किनारमा छुटेका बाटा भेटिँदा रहेछन् । त्यहाँ वारिपारि गर्ने सानो झोलुङ्गे पुल थियो । मानिसहरू पुलमा ओहोरदोहोर गर्दै थिए ।  म चाहिँ मुगुको किनारमा एउटा ढुङ्गामा  पल्टेर नदीको आवाज सुन्न थालेँ । एकै छिनमा मुगु कर्णालीले शान्ति गीत गाउन थाल्यो । अर्को कानमा त्यही कर्णालीले कोलाहल क्रन्दन सुनायो । म पानी र ध्वनिको प्राकृतिक थेरापीमा केही बेर घोलिएँ । चेतनमा म दोधारमा थिएँ नदीले शान्ति र क्रान्तिलाई कसरी समन्वय गर्छ ? के म शान्ति र क्रान्तिको समन्वयमा जीवन यात्रा पूरा गर्न सक्छु ?

साथीहरू आइपुगेपछि हामी अघि बढ्यौँ । खच्चडका एक हुल दक्षिणतिर लागे । मेरो अघिको कल्पना शून्यमा बिलायो । एक्कासि मनमा नैराश्य आयो र खुट्टा गलेर आए । माथि चम्किलो छायानाथ हिमाल हाँसिरहेको थियो ।  ऊ भित्रको पवित्रता र पुरा कथा मानिसहरूले पढिरहेकै थिए । नेपालको इतिहास बोकेको सुनभरा झकाइरहेकै थियो । हामी मनमा बेचैनी, शरीरमा थकान र भावनामा उत्साह बोकेर बिहान साढे दश बजे मुगुम कार्मारोङ  गाउँपालिकाको मुकाम पुलु पुग्यौँ । मुगु कर्णाली आवाज निकालेर सुस्ताइरहेकै थियो ।