नयाँ वर्ष २०८० को पहिलो बिहानी । साल शून्य भए पनि मन भने शून्य भएन । गतिशीलता नै मानव जीवनको सार्थकता ठान्ने भएर होला सदा झैँ त्यस दिनलाई पनि गतिशील बनाउन चाहेँ । बिछ्यौनामै योजना बन्यो ।

कालिकोटकै सुन्दर भूभाग चिलखायाले मेरो आँखा तानेको थियो । रहर पुगुन्जेल हेर्ने चाहना अतृप्त नै थियो । त्यसैले चिलखायादेखि रुडु, बन्चु हुँदै त्रिवेणी पुग्ने योजना बन्यो ।

फटाफट एउटा टोली तयार भयो । योजना बिनै तय गरिएको यात्रा भएकोले अन्य निकायका साथीहरूलाई सहभागी गराउन सकिएन । आफ्नै सहकर्मीहरू छ जनाको साथमा नव वर्षको दिन सवा सात बजेदेखि सुरु भयो हाम्रो दुई दिने “ग्रामीण पैदल यात्रा” ।

मान्मदेखि करिब डेढ घण्टाको “ड्राइभ” पछि पौने नौ बजे भैंसीगौंडा पुगियो । गाडी रोकिएसँगै आँखामा एउटा भग्नावशेष देखा पर्यो ।  दुःखदायी विगतले मन भक्कानियो ।

गत असोजको १९ देखि २४ सम्म आएको अविरल वर्षा र यसले सृजित विपत्तिमा भैंसेगौंडा र आसपास (बाली) मा गरी ७ जनाको अकाल मृत्यु भएको थियो । केही किलोमिटर पर (राँचुलीमा) १३ जना मलामीले समेत पहिरोमा परी ज्यान गुमाएका थिए । निकै ठुलो धनजनको क्षति पुर्याएको पहिरो र बाढीले भैंसेगौंडाको पक्की पुल बगाएसँगै तीला पारीका बासिन्दा सडक सञ्जालबाट वञ्चित थिए ।

विगतको स्मृतिले मन अमिलो भयो । अपूरणीय क्षति फर्काउन सकिँदैन थियो । भुल्नुको विकल्प थिएन । दुःखदायी विगतलाई तिला नदीमा बिसाई अगाडिको यात्रा तय गरियो ।

पक्की पुल बगाएको निकै पछि नदीको दुई किनार जोड्ने काठको पुल बनेको थियो । त्यही पुल तर्दै करिब नौ बजे चिलखायाको उकालो यात्रा सुरु भयो ।

पैदल यात्राको सुगन्ध भनेकै दृश्यावलोकन हो । सुन्दर दृश्यहरूलाई क्यामेरामा कैद गर्दै अगाडी बढ्यौँ । राता गुराँसहरूले छपक्क ढाकेका डाँडाहरूले मन आनन्दित मात्रै बनाएनन्, जन्मभूमि (नुवाकोट जिल्लाको सामरी गाउँ) को याद समेत ताजा गराए । गुराँसको फूल टिपी शिरमा लगाउँदा मातृभूमि नै शिरमा बोकेको आभास भयो ।

करिब १०:३० बजे चिलखाया गाउँ प्रवेश गरियो । गाउँ पुग्ने बित्तिकै देखिने सुन्दर फाँटहरूले आँखाको नानी फुलाउँदै लगे । मिलेको बस्ती र तीनतर्फबाट हल्का भिरालो हुँदै एकातर्फ पानीढलो भएको उक्त भुगोल ठुलो स्टेडियम जस्तो देखियो । वास्तवमा कालिकोटको प्रकृतिलाई सुख्खा पहाड मात्र मान्नेहरूलाई यसले खिसी गरेको थियो ।

उद्देश्यले आँखाको “फोकस” नै परिवर्तन गरिदिने रहेछ । सरसरती अवलोकन गर्नु र प्रकृतिलाई गहिरिएर नियाल्नुमा निकै ठुलो भिन्नता रहेछ । पहिले पनि चिलखायामा पाइला टेकेको थिएँ । तर त्यति बेलाको यात्रामा जिम्मेवारी मात्र थियो । प्रकृतिको विचरण थिएन । त्यसैले यस पटक मेरो दृष्टि फरक रह्यो ।

सुन्दर चिलखायाको दृश्यावलोकन पश्चात् ठिन्के बजारमा राखिएको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लाग्यो । तिलागुफा न.पा. को ९ र १० नं. वडाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा वडावासीहरूको न्यानो स्वागतले मन प्रफुल्लित भयो ।

दिउँसो १५:०० बजे अर्को गन्तव्यको लागि हिड्यौँ। अबको गन्तव्य रुडु गाउँ थियो । यात्रामा अर्का सहयात्री थपिए, मुनबहादुर थापा । उनी वडाध्यक्ष समेत भएकाले हामी लाभान्वित भयौँ ।

मन फुरुङ्ग बनाउँदै उकालो लाग्दै गर्दा चौसिला चौर आसपासमा भेटिएका गुराँसहरूले सबैलाई बालापनमा फर्कायो । गुराँसको रुखमा पुग्न सकिने जति माथि जाने अनि गुराँससँग मितेरी लगाउँदै तस्बिर खिच्ने क्रम एक छिनसम्म चल्यो ।

प्रफुल्लित मनको उल्लासलाई निकास दिनु थियो । गीत बजाउँदै नाच्ने सल्लाह भयो । देउडा गीत बजाएर जानी नजानी नाच्यौँ । माहौल रङ्गिन बनाउँदै जङ्गलका बिच झल्याकझुलुक देखिने घाम र छायासँग लुकामारी गर्दै अगाडि बढ्दै रह्यौं ।

राताखालामा भएको स्याउको व्यावसायिक खेती हेर्न लायक थियो । लटरम्म फुलेका स्याउका फूलहरूले मन पुलकित बनाउँदै गाउँतर्फ लाग्यौँ । राताखालालाई फेरो लगाउँदै जाँदा काँध भन्ने स्थानमा एउटी बुढी आमाले घाँस भरिएको डोको बोकेर धागो कात्दै भेडा धपाउँदै आएको दृश्यले मन कुँडियो । आराम गर्ने उमेरमा समेत “मल्टिपल रेस्पोन्सिविलिटी” का साथ सक्रिय जीवन जिउने उनलाई सम्मान प्रकट गर्दै रुडु गाउँ झरियो ।

ठिन्केबाट हिँडेको करिब २ घण्टा पछि मुनबहादुरजीको घरमा पुग्यौँ । सरल स्वभावका धनी उनको आतिथ्यता आत्मीय रह्यो । भोलीपल्ट बन्चु पाटन हुँदै त्रिवेणी जानु थियो । उक्त यात्राको योजना बनाउँदै नयाँ वर्षको पहिलो रातलाई उनकै घरमा बिसाइयो ।

उत्साह र उमङ्गको भारी बोकी २ गते बिहान ७ बजे नयाँ गन्तव्यको लागि हिड्यौ । अलि पर पुगेपछि पछाडि फर्किंदा रुडु गाउँको सुन्दर दृश्य देखियो । एकैनासका घरहरू र मिलेको बस्तीले आँखा तान्यो । गाउँलाई क्यामेरा कैद गर्दै बन्चुतर्फ पाइला लम्कायौँ ।

बाटो फराकिलो र हल्का ओरालो थियो । सजिलो बाटो भएकोले सहयात्रीहरूको खुट्टा बे-लगाम थियो । कहिले हामी त कहिले भेडी गोठतर्फ जाँदै गरेका स्थानीय अगाडी हुन्थे । नजिक पर्दा उनीहरूसँग गफिँदै पनि थियौँ । बन्चुलाग्नामा पुगेपछि बाटोको किनारामा पिरामिड आकारको ठुलो ढुङ्गा देखियो ।

ढुङ्गा साँच्चै नै सुन्दर थियो । मानव निर्मित जस्तो देखिने यस ढुङ्गा आजसम्म मैले देखेका अन्य प्राकृतिक ढुङ्गाभन्दा पृथक् थियो । सबै कोणबाट यसलाई नियाल्दै धिमे गतिमा पाइला बढाएँ । केही अगाडी डाँडा नै ढाकेर फुलेका “पिङ्क कलर”का गुराँसहरूले पुनः पाइला रोके ।

छ जना सहयात्रीको साथमा निस्किएको मलाई एकाएक एक्लोपनको महसुस भयो । विरलै भेटिने यस्ता गुराँसले जीवन सङ्गिनीको याद ताजा गरायो । उनको फूल मोह र त्यससँगै जोडिएको खुसीलाई अनुभूत गरेँ । यो यात्रामा उनी पनि साथमा भएको उनको खुसी मैले के बाट मापन गर्थें होला भन्ने सोच्दै गर्दा आफैँ टोलाउन पुगेछु । सहयात्री साथीहरू निकै पर पुगिसकेछन् । उनीहरूलाई भेट्ने कोसिस गर्दै पाइला लम्काएँ ।

आँखालाई यताउता नचाउँदै तस्बिर खिच्दै बिस्तारै हिँड्दै थियौँ । करिब डेढ घण्टापछि हाम्रो पदमार्ग सिनौला भन्ने स्थानमा अर्को बाटोसँग “मिट” भयो । त्यो अर्को बाटो कर्णाली राजमार्ग नबन्दा दैलेखबाट जुम्ला जाने पैदल मार्ग रहेछ ।

केही मिनेटको यात्रामा पाती हाल्नामा रहेको भेडीगोड पुगियो । ठुलो सङ्ख्यामा गोठमा रहेका भेडाहरू ग्वालाको पर्खाइमा थिए । उनीहरूको देखभाल गरिरहेका “भोटे कुकुरहरू” हामीसँग अपरिचित थिए । भेडिगोठ नजिक पुग्दा कानै दुख्ने गरी भुक्ने उनीहरूले हाम्रा पाइला नियन्त्रित गरेका थिए ।

अगाडि बढ्दै गर्दा ठुलो पाटन क्षेत्र देखियो । चिमारीमा रहेको यस पाटन क्षेत्र भेडा बाख्राहरूको चरन क्षेत्र रहेछ । केही ग्वालाहरूका साथमा भेडा, घोडा तथा बाख्राहरू चर्दै गरेको देखियो ।

भेडी चौरबाट बाह्र बाउसे हुँदै करिब बिस मिनेट अगाडी बढेपछि प्राकृतिक सुन्दरताको अर्को अनौठो दृश्य देखियो । वरिपरि बन्चु खोला, बिचमा एउटा सानो थुम्को । पाथीभरा नामको यस थुम्कोलाई बन्चु खोलाले एकसरो बेरेको देखियो । झट्ट हेर्दा नागले महादेवको घाँटी बेरे जसरी । प्रकृतिको यो दृश्य अद्भुत लाग्यो । रहर पुगुन्जेल फोटो खिच्दै पुनः अगाडी बढ्यौँ ।

पाथीभरादेखि अगाडी पुरै पाटन क्षेत्र रहेछ । पाटनमा हरियाली सुरु हुन थालिसकेको थियो । कतै कोपिला त कतै टुसाउँदै गरेका पहेँला फूलहरूले पर्यटकलाई निम्तो दिँदै थिए । जवानीका सबै रङ्गहरु भरिई नसकेकोले होला बैँसालु भने देखिएको थिएन ।

पाटनक्षेत्र प्रवेश गरेको करिब आधा घण्टापछि दोभानमा पुग्यौँ । तीनचाङ्गे खोला र कैलाश खोला मिसिएर बनेको बन्चु दोभान क्षेत्र शान्त थियो । सयौँ आत्माहरूलाई आफूमा समाहित गरेको बन्चु परिपक्व बनिसकेको रहेछ । वरिपरिका जमिनमा समेत उसको उत्तेजना देखिएन ।

कैलाश खोलाको वारिपारि बुट्टा कुँदिएका पोलहरू र बिचमा बडेमानको काठ तेर्स्याएर बनाइएको वर्षौं पुरानो काठको पुल रहेछ । एकछिनको आराम पछि बन्चुको जलले सिञ्चन गरी कैलाश महादेवको मन्दिर दर्शन गर्यौं ।

खोल्सा खोल्सीमा भेटिएका मूलका पानीले प्यास मेटाउँदै हिँडेका हामीलाई दोभान पुग्दा भोक लागिसकेको थियो । मुनबहादुरजीले घरमा पकाएर पठाइदिनुभएको रोटी र खुर्सानीको अचार थियो । साथमा लिएर गएको “ड्राई फुड” र “कोल्ड ड्रिङ्क्स” पनि थियो । यी नै खानेकुराले भोक र प्यास मेटाउँदै एकछिन गफियौँ ।

गन्तव्य त्रिवेणीसम्मको थियो । बुवाँसी, झांग्रा र कलदह खोलाको सङ्गमबाट बनेको त्रिवेणी सुन्दर रहेको जानकारी थियो । नजिकैको पाटनबाट झरेको सुन्दर धारा “बासुधारा”ले यसको सौन्दर्य झनै बढाएको सुनेका थियौँ । यार्यागुम्बा लगायतका जडीबुटीहरू पाउने फूलबारी पाटनमा पुगी अवलोकन गर्ने चाहना समेत थियो ।

दोभानबाट त्रिवेणी पुग्न करिब दुई घण्टा हिँड्नुपर्थ्यो । साँझ नै मान्म फर्किनुपर्ने बाध्यता थियो । समय घर्किसकेको थियो । त्रिवेणी पुगेमा त्यस दिन रुडुमै बास बस्नुपर्ने भएकोले यो यात्रालाई दोभानमै बिट मार्ने निर्णय गरियो ।

रुडु फर्किने क्रममा जडीबुटी टिप्न जाँदै गरेका आधा दर्जन महिलाको समूहसँग जम्काभेट भयो । उनीहरूका अनुसार दोभानदेखि त्रिवेणीसम्मको भूभागमा गुची च्याउ (स्थानीय मूल्य प्रति के.जी. १५/१६ हजार), रातो च्याउ, समाया, सतुवा, अत्तिसी, पाँचऔंले लगायतका जडीबुटीहरू पाइने रहेछ । यस पटकको यात्रामा समय व्यवस्थापन गर्न नसकिएकोमा दुखी हुँदै मान्मतर्फ पाइला बढायौँ ।

मान्म आउनका लागि रुडुबाट दुई वटा बाटा थिए । कामखेत हुँदै गाल्जे झरेर आउने या पुनः चिलखाया हुँदै भैंसीगौंडा झरेर आउने । मुनबहादुरजीले कामखेतको बाटो जान सुझाउनु भयो । साथ, सहयोग र जानकारीका लागि उनलाई हृदयदेखि नै धन्यवाद दिई कामखेततर्फको ओरालो बाटो झर्यौं ।

रुडुबाट तल झरेपछि खारा राख्ने भन्ने स्थानमा पुगियो । बाटो जङ्गलको बिचमा पस्यो । झाडीले घेरिएको उक्त बाटोबाट मानिसहरू नियमित हिँडडुल गर्छन् र ? भन्ने आशङ्काका बिच ओरालो झरियो । मुनबहादुरजीले बेला बेलामा फोन गर्दै हाम्रो बाटो सही भए नभएको यकिन गर्दै हुनुहुन्थ्यो । यो चासोले उनको सहयोगी भावना र हामीप्रतिको माया छताछुल्ल पोखिएको अनुभूत गर्यौं ।

बाटो सानो थियो अनि ठाउँ-ठाउँमा निकै कठिन गौँडाहरू थिए । रित्तो ज्यान समेत जसोतसो थाम्दै ओरालो झरेका हामीलाई भारी बोकेर उकालो चढेका स्थानीयहरूले गिज्याइरहेको अनुभूति भयो ।

कालीकोटमा समस्या मात्रै रहेनछन् । विकास र समृद्धिका सम्भावना पनि रहेछन् । खनिज उत्खनन र बिक्री वितरण (काइनेट खानी, किसिम किसिमका ढुङ्गा), जडीबुटीको व्यवस्थित सङ्कलन र बजारीकरण ले यहाँका जनताको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिन्छ । यसका साथै नेपालकै अग्लो झरना “पचाल झरना” समेत यहीँ भएकोले पर्यटन प्रवर्द्धन गर्न सकेमा आय आर्जनको अर्को स्रोत थपिने निश्चित छ । त्यसै गरी यहाँको जमिनमा ओखर र स्याउको खेती फस्टाउने भएकोले सो को व्यवस्थित एवम् वैज्ञानिक खेती गर्न सकेमा अर्थोपार्जनमा यसले थप टेवा दिनेछ । मनमा यिनै कुराहरू खेलाउँदै, गन्थन मन्थन गर्दै मान्मबाट सुरु भएको हाम्रो दुई दिने यात्रा मान्म मै आएर टुङ्ग्याइयो ।