गुडिरहेको छु गोङ्गबु पार्कबाट माइक्रो समातेर । गन्तव्यमा छ पोखरा हुँदै स्याङ्जाको आनन्द आश्रम ।

जेठ २२ को चर्को घाम पनि उदाउँदै छ । काकताली नै भन्छु म, हाम्रो लघुकथा पाठशालाको कार्यक्रममा पहिलोपल्ट चिनापरिचय भएकी छन्दकी बेजोड कवि विमुन्स पौडेलसँग छु माइक्रो बसमा । विमुन्स, उहाँकी छोरी र म माइक्रोमा छौँ चिनारु पोखराका लागि । माइक्रो बत्तिएको छ । पोखरामा घर मुकाम भएकी विमुन्सका लागि मात्र होइन; मलाई पनि पोखरा यात्रा कौन पुछे खेसडीका दाल भने झैँ भएको हुन्छ । सयौँपल्ट पोखरा आइजाइ गरियो होला । त्यसैले काठमाडौँदेखि पोखरासम्म देखिने प्रकृतिले आँखामा रउस भर्न सक्दैनन् । उही नदी, उही पहाड, उही बाटा तथा उही परिवेश । तर स्तरीय, पठित र जीवनदर्शनमा कुरा गर्न सक्ने तथा छन्दमा कविता बर्साउन सक्ने विमुन्ससँगको कुराकानीमा भने बाटो स्वाट्स्वाटी कटिहाल्दो रहे छ । कटिरहेको छ ।

पोखराकै अमरसिंह चौकमा विमुन्स ओर्लेपछि म एक्लिएको छु । यद्यपि त्यसको केही पल्तिर त हो पोखरा बसपार्क । पोखरा बसपार्कमा झोलाझ्याम्टा बोकेर झरेपछि ग्राहक खोजिरहेका होटेलवाला तथा एजेन्टहरू घेर्न आइपुगेका छन् । २०४३ सालदेखि २०४७ सालसम्म पोखराको पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेकाले मलाई पोखरा आफ्नै घरजस्तो लाग्छ । पोखरेली सबै आफन्ती जस्ता लाग्छन् । तर यी होटेलका भाइहरूको घेराइ भने मापाको छ । यत्तिकैमा त्यही हुलबाट एक जनाले नक्सा देखाउँदै भने, ‘लेक साइडमा छ मेरो होटेल । म होटेल मालिक हुँ हजुर । एजेन्ट होइन । म हजुरलाई सेवा गर्ने अवसर पाऊँ ।’

उनले मलाई आफ्नो मोटरसाइकलमा राखेर घुइँकाएका छन् । ट्याक्सी खर्च जोगिएकोमा म मनमनै दङ्ग परेको छु । उनले मलाई लेक साइड क्षेत्रकै सन फ्लावर होटेलमा पुर्याए । त्यो त उनको चार तले निजी घर रहेछ । माथि तीन तला होटेल । तल्लो तलामा उनको आफ्नो पारिवारिक बसाइ । घरपरिवारले होटेलमा बसेर काउन्टर रुँग्ने अनि उनी मोटर साइकल चढेर बस पार्क धाउने र आगन्तुक पाए बोकेर आउने । क्या गजब छ यार !

उनी मलाई गथेसो सुनाउँछन् — खेतपाखा सबै यसैमा खन्याइयो क्यारे सर ।

अमेरिकामा बसेकै बेला स्याङ्जा फापरथुमको आनन्द आश्रम पुग्ने हुटहुटी लागेको थियो मलाई । त्यसो त आनन्द आश्रमका स्थापनाकर्ता त्रिलोचन ढकाल मेरा पूर्व चिनारु र आफन्ती होइनन् । तथापि प्रविधिका चलायमान समयले म आनन्द आश्रमसँग सम्मोहित थिएँ । विसं २०७९ को वैशाख, जेठ असार याममा म नेपालको भ्रमणमा निस्केको थिएँ । यद्यपि मेरो नेपाल यात्रा देखाउने दाँत र खाने दाँतको प्रयोजन फरक थियो । तर आनन्द आश्रमको यो यात्रा चाहिँ खाने र देखाउने एकै दाँत हुन् । याने म शतप्रतिशत पर्यटक हुँ ।

२३ गते भालेको डाकमा बिउँझिएर बिहानीको हावा खाँदै मेरा पाइलाहरू पोखरा बसपार्कतिर हिँड्दै छन् । अहो यो बाटो ! कति सुन्दर ! बाटोका छेउछेउमा रुख, बिचमा सिमेन्टका ढिस्कना बनाएर रोपिएका फूलहरू । तिर्पायाँ तिर्पायाँ भू बनौट भएकाले प्रकृतिले गर्ने सुग्घर मात्र होइन; मान्छेले गर्ने सफा पनि त्यस्तै सुन्दर । प्रकृति त्यस्तै सुरम्य । होइन कति सुन्दर बन्न सकेको हो यो पोखरा ! पाँच वर्षसम्म यही पोखरामा प्राध्यापक भएर रैँदालो मार्दा पनि कस्तो धित नमरेको हो यार ! मेरो पोखरा ।

सुनौली जाने बस चढेको छु । स्याङ्जा बजारमा ओर्लनु छ आनन्द आश्रम जान । त्रिलोचन ढकालको तारन्तार फोन बाजा बजिरहेको छ । सोध्नु हुन्छ — कहाँ आइपुग्नु भयो ? स्याङ्जा बजारमा झर्नु प्रहरी कार्यालयअगाडि । त्यहाँ अटो तयार छ ।

म भने हस् हस् भन्दै गाडीमा छु । चिनेका कोही छैनन् । फगत एक्लो छु । बस गाडीले पोखरा बजारको दक्षिणीछेउ छोरेपाटन बजार पुर्याएको छ । मलाई थाहा छ यो पाताले छाँगो (डेभिड फल्स) भएको सानो सहर हो । धेरैपल्ट यहाँसम्म त यात्रा गरेको छु मैले । बिसौँपल्ट पाताले छाँगोको विचित्रताको दर्शन गरेको छु । पोखरादेखि सुनौलीसम्म सिद्धार्थ राजमार्ग हुँदै धेरै पहिला एकाधपल्ट यात्रा गरे पनि यो भूमि नौलो छ मलाई । प्रकृति प्रिय लागिरहेको छ मलाई । मनमा रोमाञ्चकता त त्यसै पनि थपिएको छ, उसै पनि थपिएको छ । मन चङ्गा भएर नै होला कठौती मे गङ्गा बगिरहेको छ ।

छोरेपाटनबाट उँधो लागेपछि कुनै दृश्य पो छुटिहाल्छ कि भनेर मेरा आँखा चनाखो भएका छन् । हेर्दाहेर्दै पोखरा भ्यु पोइन्ट आएको छ । यहाँबाट देखिने पोखरा सहर साँच्चै बेहुली देखिएको छ । रुखै रुखका बिचमा बाटाहरू, तिनका बिचमा रहेका पक्की घरहरूको लहर भएको सहर पोखरा साँच्चै स्वयंवरकै बेहुली जस्तै लागेको छ । यसपछि ठुली वेणी नामको सानो तर चर्चित गाउँले बजार देखिएको छ । आमाम्मा बाटैमा ठुलढुङ्गा नामक गाउँ छ र यो त माछापुच्छ्रे भ्युपोइन्ट याने माछापुच्छ्रे हिमालको चुच्चो देखिने ढिस्को पो रहेछ । गाडी गुडिरहेको छ । कास्की जिल्ला छाडेर स्याङ्जा प्रवेशको पहिलो बजार कुभिन्डे भन्ज्याङ् बजारमा ८/१० ओटा पसल देखिएका छन् । पर्सेको भाटी हुँदै गाडी रफ्तारमै गुडेको छ । बाटो त उही बूढो छ तर सुवानी छ ।

झ्यालबाट बाहिर हेर्छु । पारि पाखामा कुइरोका बिचमा रुखहरू हाँसिरहेका छन् । कुइरो र वनका ती रुखहरूको लुकामारी देखेर प्रेमका कविता लेखूँ लेखूँ भएको छ । तर के गर्नु कवितामा आफू भुत्लोभाङ । तथापि कल्पना गर्दै छु । प्रियतमालाई घुम्टी भित्र चक्क म्वाइँ खाँदै छ त्यो कुइरो । आफ्ना जोवनका अतृप्त प्यास बल्झाइदिएको छ त्यो धुर्सुङका बुटालाई चुमेर कुइरोले । यही बेला प्रेयसीको असाध्य याद आइरहेको छ । तर मसँग प्रेयसी हुनु र नहुनुले न त प्रकृतिलाई केही फरक परेको छ, न त गुडिरहेको गाडीलाई । न त ती कल्पनाका प्रेयसीलाई ।

अचानक म देख्छु कि फेदीखोला नामको बोर्ड सामुन्नेमा छ । २०४४/४५ तिर पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गर्दा हैरान बनाउने पञ्चायत सत्ताको आडमा गुन्डागर्दी गर्ने त्यो फेदी खोलाको मण्डले विद्यार्थीको पनि सम्झना आएको छ । कठै ती दिन ! २०/२५  हाराहारीमा पसल रहेको यो फेदी खोला बजार निकै पन्पिएको देखिएको छ । तर अचम्म फेदी खोला त स्याङ्जा जिल्लाको राजनीतिक आन्दोलनको विन्दु पो रहेछ । र, पो स्याङ्जा भन्दा मान्छे डराउने रहेछन् त । स्याङ्जामा पनि फेदीखोले भनेपछि एउटा प्रभाव त छोडेको छ भन्ने कुरा पनि मैले बुझेको छु । हाम्रो बस फेरि गुड्न थालेको छ । बाटैमा आएको छ अजङ्गको भिर । नामै भालुपहाड । अर्थात् भालु पनि खस्ने पहाड । याने चट्टानी भिर । यो चट्टानी भिर त अहिले पर्यटकको आकर्षक स्थल बनेको रहेछ । माललाई चाल पाएर प्रयोग गर्न जान्यो भने जिन्दगी नै सुन्दर बन्छ भन्ने कुराको प्रमाण बनेको छ भालुपहाड ।

नागडाँडा बजार अथवा नाउडाँडा बजार आएको छ । यहाँबाट पर्वततिर जाने सडक फाटेको ठाउँ रहेछ । ३० जति दोकान होलान् कुल मिलाएर तर प्रायः जसो खाजा पसल रहेछन् । गाडीहरूले खाना- खाजा खाने ठाउँका लागि प्रसिद्ध रहेछ यो नाउडाँडा । त्यसैले त खलासीले खाजा खाने उर्दी जारी गरेको छ । गाडीबाट झरेर यसो हेरेको छु । म देख्दै छु कि बाटैमा श्रवणकुमारले भार बोकी एकातिर आमा, अर्कोतिर बाबुलाई बोकी घुमाएको दृश्य कैद गरिएको मूर्ति स्थापित गरिएको छ । पसलका एक जनालाई मैले यो जिज्ञासा राखेको छु । उनले भनेका छन् — श्रवणकुमारले आमाबाबुलाई घुमाएको र उनी आफैँ मारिएको ठाउँ ती तल त हो नि ।

महाभारत तथा रामायणका मिथकका आधारमा यस्ता नवनिर्मित ठाउँ धेरै छन् नेपालमा । भारतमा ।

खाजापछि गाडी निरन्तर अघि बढिरहेको छ । आएको छ बाडखोला नामको ठाडो खोलाको किनारामा रहेको बाडखोला बजार । यहाँ देखिएको चौबाटोबाट पश्चिमतिर चौबिसे राज्य सतौँ हुँदै दरौँ पुगिने तथा पञ्चमुल, आरुचौर र मेरो गन्तव्य स्थल आनन्द आश्रम पुगिने बाटो छुट्टिएको छ । पूर्वतिर पौवैगौँडोतिर जाने बाटो जोडिएको छ । अगाडि बढे स्याङ्जा जिल्लाको सदरमुकाम जाने बाटो हो । यहाँ पुराना शैलीका २० वटा जति पसल अझै छन् । किनभने स्याङ्जा बजारको विकासले यो पुरानो बजारलाई ओझेल पारेको छ । म भने सतौँ दरौँ जस्ता ठाउँको नाम आउँदा इतिहासकालीन चौबिसे राज्यमा पुगेको छु । कठै कुनै बेला कत्रो रजगज थियो यिनको !

म चनाखो भइरहेको छु कि स्याङ्जा बजार तथा जिल्लाको सदरमुकाम बजार तथा उत्तरी स्याङ्जाको ठुलो कारोबारी बजार । मेरा दिमागमा जिल्ला प्रहरी कार्यालय अल्झिरहेको छ । टेम्पु जो भेट्नु छ । गाडीबाट ओर्लेर टेम्पुवालालाई फोन गर्दे छु । मलाई चियाको तलतलले सताएको छ । एउटा चिया दोकानमा पसेर बिना चिनीको चिया मागेको छु ।

तर चिया दोकान साहुनीले पुरानो चियाचिनी पकाएको ठाउँमा पानी दूध थपेर चिया पकाएर दिएकी रहिछन् । मुखमा हाल्ने बित्तिकै चिनीले जिब्रो बटार्यो । टेम्पुवाला आइपुगेकाले चियाको पैसो सित्तैमा तिरेर बाहिर निस्केँ । दोकानवाली भन्दै थिइन्, ‘यति जाबो चिनी पनि गुलियो भो रे, यहाँ त हालेको चियामा पनि चिनी थपेर खान्छन् ।’ म भने मेरा पितृ भइसकेका हजुरबालाई सम्झिरहेको छु । ‘चिनी कम खानू हजुरबा’ भन्यो भने उहाँ भन्नुहुन्थ्यो, ‘नाथु ! नुन पो ठिक्क खाने हो त, चिनी त चर्को खाने हो ।’ चिनीकै चर्को सर्बत खाएर ९५ वर्ष बाँच्नु भए थ्यो हजुरर्बा । उही नाति अहिले रहलपहल चिनीसँग औधी डराएको छ । कठै समय !

बाअ ८०९ को टेम्पु बाहिर मलाई पर्खिरहेको रहेछ । परिचयपश्चात् मैले टेम्पुवाला भाइलाई चियाको गथेसो सुनाएको छु । उनले भनेका छन्, ‘यो त स्याङ्जा जिल्लाकै बदनाम हुने कुरा भयो । म हजुरलाई अर्कै खासाको चिया दोकानमा पुर्याउँछु ।’ उनले धेरै बखान गरेर पुर्याएको अर्को चिया दोकानमा पनि सोही घटना दोहोरियो । मलाई लागिरहेको छ कि स्याङ्जा अझै चिनीमैत्री नै रहेछ । आफैँ पनि त बैँसमा चियामा चिनी थपेर खाँदा बहादुर ठानिएको क्षण थियो कुनै दिन । कठै आजको समय !

टेम्पुवाल भाइले स्याङ्जा बजारका बारेमा गौरवले बताउन थाले — एक कलेज, एक सामुदायिक मावि ४ संस्थागत (बोर्डिङ) मावि, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सबै जिल्ला स्तरका कार्यालयहरू, सैनिक ब्यारेक र एउटा सरकारी हस्पिटल, रेडियो र टिभी स्टेसन भएको ठाउँ हो स्याङ्जा बजार ।

मनमनै सोचेको छु, ठालु नै रहेछ यो स्याङ्जा बजार ।

त्यहाँबाट आनन्द आश्रम, फापरथुम जान अटोमा चढेको छु । टेम्पु ड्राइभर महेन्द्र आचार्य निकै फरासिला । खास भन्ने हो भने हाम्रो नेपाली मानसिकताले ‘टेम्पुवाला’ भन्न नै नसुहाउने । सुकिलामुकिला, फरासिला, जीवनजगत संसार बुझेको जस्तो पढालेखा । कठै मेरो मनभित्र रहेको नेपाली बुझाइ !

अँ त म टेम्पुमा छु । टेम्पु फेरि पुतली बजारतिर नै फर्केको छ । पुतली बजार । ७/८ पुस्ता अघि देखिको पुरानो बजार । बाडखोला, अरौदी खोला र आँधी खोलाको सङ्गममा रहेको पुतली बजार । कुनै बेला स्याङ्जाको सदरमुकाम भनेर पढेको पुतली बजार । साँच्चै बूढो पुतलीजस्तै लागेको छ । लगभग जोडिएको स्याङ्जा बजारको ताउरमाउरले गर्दा बुढिएको जस्तो देखिन्छ पुतली बजार । हेर्दाहेर्दै आँधी खोलामा पुल तरेर पारिपट्टि पुगेको छु । ‘स्याङ्जामा धेरै खोलाहरू छन्, तर आँधी खोला स्याङ्जाको सबैभन्दा ठुलो खोला हो । डहरेको लेकबाट उत्पत्ति हुन्छ र कालीगण्डकीमा गएर समाहित हुन्छ’ भन्दै छन् महेन्द्र भाइ । बिचबिचका बस्ती पहाड, लेक, बेँसी तथा ठाउँको नाम बताउँदै छन् भाइ ।

टेम्पु तथा गाडी चल्ने पिच बाटोसँग जोडिएर एउटा पाखोमा धेरै पाखा खेतबारी बाँझो देखेको छु मैले । अनि सोधेको छु, ‘भाइ ! यो पाखो त बेस्सरी बाँझो छ नि ?’

उनले अर्थ्याएका छन्, ‘हो नि, त्यही पाखोको टाउकाबाट पानी बग्छ । तर खेती गर्ने कसले ? युवा जति खाडी मुलुक भासिएका छन् । यहीँ बस्ने पनि यो खेतीपाती गरेर कहाँ बस्छन् र ? सम्मका खेत त मान्छे नपाएर बाँझो राख्नु पर्छ भने यो त भिरपाखो ।’

सम्झेँ — कठै मेरो कृषिप्रधान देश !

म विकासको मोडेललाई सम्झिँदै छु यति बेला । आखिर पिचै सडक पुर्याउनु पनि त विकास होइन रहेछ नि !

उनी भन्दै छन्, ‘आँधीखोलाको यो पुल तरेर त्यही बाटो टिकाजा हुँदै पुग्छौँ हामी आनन्द आश्रम । सन्चविसन्च, परिवार, बाबुआमा, छोराछोरी, आम्दानी, रोजगारी आदिका विषयमा कुरा गर्दै छौँ । मैले राजनीतिक विषय के उठाएको थिएँ, उनले भनिहाले — ‘हेरिरहनु होला, नेता यिनै भन्न परेन, पार्टी यही भन्न परेन, तर यिनै नेताको भ्रष्टाचारी नीतिले गर्दा एक दिन नेपाल असफल राष्ट्र बनेको हाम्रै आँखाले देख्नु पर्ने छ ।

नेपालमा व्याप्त राजनीतिक वितृष्णाको चुरो कुरो बताए भाइले ।

आनन्द आश्रममा पुगिएको छ । बाटैमा उभिनुभएको छ त्रिलोचन ढकाल । सरदर अग्लाई, गोरो तथा हँसिलो अनुहार ।

म वरिपरि हेर्दै छु । बाटाको पारिपट्टि आनन्द आश्रम प्रतीक्षालय बनेको छ । सामान्य छ तर महत्त्वको छ । वारिपट्टि थुम्को जस्तो ठाउँमा त्रिलोचन ढकालको घर छ । बाटैमा गेट बनेको छ रातो रङको । ‘आनन्द आश्रम स्वागतम’ लेखिएको छ । गेटबाट भित्र पस्ने बित्तिकै चारपाटे स्तम्भमा आनन्द गुरुदेवको बसेको अग्लो सालिक बनेको छ । त्यसका वरिपरि फूलहरू रोपिएको छ । मैले हेर्न खोजेँ । तर उहाँले भन्नु भयो, ‘पहिले भोजन गरौँ सर, त्यसपछि आरामले हेरौँला ।’

निजी आश्रमघरको आँगनमा प्रवेश गरेको छु । हावा सरर चलिरहेको छ । अर्ग्यानिक बोडी बारमा तन्द्रयाङ तुन्द्रुङ झुन्डिएका छन् । आश्रमघर सानो, चिटिक्क, आधुनिक तथा रातो रङले रँगाइएको छ । स्निग्ध, शान्त, सफा र सुन्दर छ परिवेश ।

आश्रमघरभित्र पसेको छु । सानो भान्सा, त्यसैको आडमा बेड, बेडकै आडमा सानो टेबुलकुर्सी, जोडिएकै आधुनिक स्नानगृह सहितको चर्पीखाना, स्नानगृहभित्र वासिङ मेसिन रहेको छ । सरदर आधुनिक सुविधासहितको । सोचेँ, ‘पहाडी गाउँको शीतोष्ण जलवायु, सरर चल्ने प्राकृतिक हावा, सुन्दर र चिटिक्क परेको आधुनिक सुविधाले सुसज्जित सानो आधुनिक घरआश्रम, अर्ग्यानिक खाना सायद जीवनकै सार यही हो ।’

खानापछि आडैमा रहेको आनन्दमणि गुरुको नवनिर्मित सालिक हेर्न पुगेका छौँ । गुरुको सालिक चार पाटे सिमेन्टेड स्तम्भका टाउकामा बसेको छ । सालिक स्तम्भको एक पाटोमा ‘पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठान’ का अध्यक्ष डा. महेश्वर महेश्वर शर्माको हातबाट २०७८ साल मङ्सिर १७ गते शिलान्यास भएको’ तथा सो निर्माण गर्ने सहयोगी हातहरू तथा निर्माता त्रिलोचन ढकाल (छोरा) र कुन्ती कुमारी ढकाल (बुहारी) को नाम अङ्कित छ ।

अर्कोपट्टि प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा २०७८ साल माघ २९ गते अनावरण भएको ब्यहोरा जानकारी गराइएको छ । तेस्रो पाटोमा नेपाली भाषामा आनन्द मणि गुरुको देनको चर्चा छ । यसै गरी अन्तिम पाटोमा अङ्ग्रेजी भाषामा आनन्द मणि गुरुदेवको देनको चर्चा गरिएको छ । पण्डित आनन्दमणि ढकाल (विसं १९५० माघ २१—२०३८ माघ १४) दुई पत्नी टुल्की देवी (विसं १९६८—२००३), नन्दकला देवी (विसं १९७४ —४३) ले व्यक्तित्व विकासमा भूमिका निर्वाह गरेबापत यो सालिकको निर्माण भएको अभिध्येय छ ।

शिलालेखमा पण्डित गुरु आनन्दमणिका विशेषता तथा योगदानलाई सूक्ष्म तरिकाले लेखिएको छ । ज्योतिष शास्त्र, धर्मशास्त्र, पूर्वीय दर्शनमा गहिरो ज्ञान भएका, महादानी, लेखक, आत्मविश्वासी, संस्कृत विद्, समाजसेवी र श्रमको सम्मान कर्ता, इमानदारिता, उच्च नैतिकता, सच्चरित्रता जस्ता गुणहरूलाई चित्रित गरिएको छ । किनभने गुरुले अशिक्षाले अल्झिएको त्यो बेलाको समाजमा आफ्नै घर, धनसार, बारीका पाटामा कुटी बनाएर लगभग ५० वर्ष जति २०१७ सालसम्म निःशुल्क गुरुकुल चलाएको र स्याङ्जा, पर्वत, कास्की, तनहुँ, पाल्पा, गुल्मी, बागलुङ लगायत धेरै जिल्लाका दसौँ हजार विद्यार्थीलाई शिक्षित र दीक्षित बनाएको संस्मरण गरिएको छ ।

‘अब गुरुदेव मन्दिर जाऔँ’ एकाएक त्रिलोचन सरले भन्नुभएको छ । आश्रमदेखि भित्तैमा ठडिएको अग्लो डाँडातिर उकाल्न थाल्नु भएको छ । माथिदेखि तलसम्म फैलिएको डाँडोमा प्रशस्त र राम्रा पाखाबारी देखिन्छन् । तर ती पाखाबारी वर्षाैंदेखि परित्यक्त छन् । घाँस, खर, काँस, कुशलगायत अनेकन् झारका घारी भएको छ ढकाल थरलाई सम्भ्रान्त बनाउने पाखाबारी । उकालो देखेपछि मेरा नौनाडी गलिहाल्छन् । तथापि म उक्लिँदै छु ।

स्वाँस्वाँ गर्दै पनि म डाँडाको टुप्पोमा पुगेको छु । सानो झुपडीमा पुगेको छु । यो झुपडी २०१७ सालमा बनाएको गुरुदेवको अध्ययन तथा प्रवचन कक्ष थियो रे । यसलाई २०७८ सालमा जीर्णोद्धार गरेको र अहिले टिनको घर बनाएर इतिहासलाई जोगाइएको छ । यसभित्र पूजा कक्ष, भान्सा कक्ष, शयनकक्ष रहेका छन् । गुरुजीले नुहाउने ठाउँ पनि जस्ताको तस्तै संरक्षण गरिएको छ ।

अर्को ठुलो बाटोबाट फिरेका छौँ आश्रम । घरैको आडमा पुस्तकालय छ जहाँ आख्यान तथा धार्मिक ग्रन्थहरूको सङ्ग्रह गरिएको छ । त्यसमा मैले लेखेका जेतेमेते पुस्तक पनि हस्तान्तरण गरेको छु । पुस्तकालयकै अगाडिको बैठक कक्षमा बसेर त्रिलोचन ढकालसँग गफिँदै छु ।

२००६ सालमा जन्मेका त्रिलोचन ढकाल त पृथ्वीनारायण शाहका राजगुरु तथा राज ज्योतिषी प्रसिद्ध कुलानन्द ढकालका वंशज पो रहेछन् । अछामको ढाकुमाली अर्थात् ढकाल थरको उत्पत्ति भएको गाउँबाट हिरामणिलाई सतौँकोटे राजाले राज गुरु बनाएर सताैँ राज्यमा ल्याएका प्रसङ्गसँग जोडिँदो रहेछ त्रिलोचनको वंश प्रसङ्ग । यही वंशको सातौँ पुस्तामा कुलानन्द ढकाल तथा सोह्रौँ पुस्तमा त्रिलोचनको वंशवृक्ष रहेछ । कीर्तिपुरको पहिलो युद्धका बेला कुलानन्द ढकालले साइत छैन भनेकाले बालकृष्ण जैसीलाई साइत हेर्न लगाई पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आक्रमण गरेका थिए । युद्धमा नराम्ररी हार भयो । कालु पाण्डेले वीरगति प्राप्त गरे ।

यही कुलका १५औँ पुस्ताका आनन्दमणि ढकाल नै आनन्द आश्रममा सालिकमा रहेका गुरुदेव हुन् । आफ्ना पिताको यश तथा कीर्तिलाई उजिल्याउन तथा इतिहासलाई संरक्षण गर्नका लागि पुत्र त्रिलोचन ढकालले गरेको यो कृत्य स्तुत्य छ ।

मलाई सबैभन्दा अचम्म त के लागेको छ भने यो मान्छे भन्ने प्राणीभित्रको ज्योति कति बलशाली छ । म त्रिलोचनकै जीवनयात्रालाई दिमागका केन्द्रमा घुमाएर हेर्दै छु । गुरु कुलीय घरमा जन्मिएर घरमै संस्कृत, ज्योतिष तथा कर्मकाण्डको अध्ययनपछि सोही पेसा अपनाएको एउटा मान्छेले कर्मकाण्डका विभेदयुक्त कुरा, पूर्वजन्म-पुनर्जन्म, स्वर्ग-नर्क, भाग्यवाद र ईश्वरका तिलस्मी कथा, फलित ज्योतिषको ठग र गफाडी कुरा, सामाजिक विभेद, अन्धविश्वास, अव्यवहारिक विषयको भारी कसरी देख्न सक्छ ? र अङ्ग्रेजी, विज्ञान र गणित पढ्न भनेर अङ्ग्रेजी स्कुलमा भर्ना हुन्छ ।

सामाजिक विभेद देखेर २०२५ सालमा नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गर्छ, र बिरक्तिन्छ । २०२७ सालमा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्छ । शिक्षक बन्छ । कम्युनिस्ट भएको आरोपमा दण्ड दिन जिल्लाका दुर्गम माविहरूमा सरुवा हुन्छ । समाज परिवर्तन गर्ने सपना देखेर अनवरत लागिरहन्छ । जेल जीवन र भूमिगत जीवन भोग्छ । प्रतिनिधिसभाको सदस्य तथा मन्त्री बन्छ । राजनीतिक उतारचढाव तथा फुटविभाजनले गर्दा सामाजिक क्षेत्रतिर आकर्षित हुन्छ । र, साहित्य रोज्छ । पुस्तकहरू प्रकाशन गर्छ । पितामाताका नाममा, सम्मानमा, सम्झनामा पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानको स्थापना गर्छ । विविध स्कुलहरूमा पण्डित आनन्दमणि-नन्दकला ढकाल अक्षय कोष स्थापना गर्छ ।

आश्रमको माथिल्लो तल्लामा एक सुत्ने कोठा र एक अध्ययन कक्ष छन् । विविध खाले पुस्तक त्यसमा पनि खास गरेर विविध दर्शनका पुस्तक टेबुलभरि दराजभरि देखिएको छ ।

दुईचार घण्टा केही सार्थक कुरा गरेर सायद सकियो अब । अब फिर्नु छ । समय न हो । यद्यपि आज बसेर नै भलाकुसारी गर्ने आग्रहले पनि समयलाई रोक्न सकेन । त्यसैले आनन्द आश्रमबाट फर्केको छु । फापरथुमबाट फर्केको छु । ७० वर्षभन्दा पुरानो सेतीदोभान बजार पुगेर हिँडेरै नाउडाँडा पुग्ने आँटका साथ बाटो लागेको छु । ओह्रालो ओह्रालो, तिर्पायाँ तिर्पायाँ मोटर बाटो हुँदै तरतिर झर्दै छु । मलाई अलि परसम्म बाटो देखाउन त्रिलोचन सर आफैँ हुनुहुन्छ । केही तल पुगेपछि सेती दोभान बजार देखिएको छ । त्रिलोचन सर फर्केपछि म एक्लो भएको छु । पाइला बेँसीतिर उन्मुख हुँदा गर्मी उधुम थपिएको छ । बाटोकै आडमा वरपीपल रहेछन् । तिनमा चौतारो पनि चिनेको रहेछ । एकछिन सुस्ताउन खोजेको छु । त्यहाँ केही बिसमुनिका केटाहरू पनि सियाँल तापिरहेका छन् । तीमध्ये एक मेरो नजिकै आयो र मेरो हुलियालाई हेर्यो ।

फुलेका कपाललाई लामो पालेर चुल्ठो बनाएको देखेर होला सायद भन्यो, “मैले हजुरलाई चिनेजस्तो लाग्यो ।”

अनि मैले भनेको छु, “म अलि टाढाबाट नै आएको हुँ बाबु । कसरी पो चिन्नु भयो होला ?”

ऊ एकछिन् अनकनायो र भन्यो,  “मैले फेसबुकमा हजुरलाई देखेको । हजुरले लेखेको कथा पढेको छु । हो कि होइन होला ?”

आफ्नै झोलाबाट निकालेर मेरो ‘ईश्वरको मृत्यु’ नामक लघुकथा सङ्ग्रह दिएको छु । ऊ खुसीमारे उफ्रेको छ । सेल्फी खिचेर बोकेको छ  ।

अन्ततः साँघुरो झोलुङ्गे पुल तर्दै सेतीखोला दोभान पुगेको छु । कार्कीनेटाबाट गाडी आएको छ । म पोखरातिर हुइँकिएको छु ।

तर दिमागमा भने दुई कुरा आइरहेका छन् । पहिलो कुरा त्रिलोचन ढकालले स्याङ्जा फापरथुममा रहेको आफ्नो सबै सम्पत्ति बेचेर बुटवल झर्छन् । बुटवल बेचेर काठमाडौँ सर्छन् । र, फेरि काठमाडौँ बेचेर आफैँले बेचेको स्याङ्जा फापरथुमको आफू जन्मेकै घर र घडेरी किनेर पिताका नाममा आनन्द आश्रम खोल्छन् र जीवन बिताउन थाल्छन् । जम्मा तीस वर्षपछि उनी जीवनानन्द खोज्दै फापरथुम फर्केका छन् । मान्छेमा यति छिटो छिटो कसरी परिवर्तन आउन सक्छ ? अचम्म लागेको छ । आखिर के रहेछ र जीवनको सार ? के हो जीवनको आनन्द ??

त्रिलोचन सरकी अर्धाङ्गिनीले भनेको कुरा पनि मेरा दिमागमा झन् धेरे घुमिरहेको छ — बुटवल धागो कारखानाले हातका औँला छिनाइहाल्यो सर । म पकाइ खान पनि सक्तिनँ । यो सबै उहाँकै सिर्जना हो । म त मुखबोलाइ साथी मात्र हुँ । केही भन्यो भने चलुन्जेल चलाऊँ भन्नु हुन्छ । छोराबुहारी, नातिनातिना पोखरामा छन् । यसरी पनि जिन्दगी चल्छ होला र ?

यति बेला मेरा जीवनमा जीवन नै आएर तेर्सिएको छ । म जीवनमा जीवनानन्द खोज्दै छु । तर कुहिरोको काग भएको छु । के हो त्यो जीवनानन्द ?