चेक इनको प्रक्रिया पूरा गरेर सुरक्षा जाँचबाट छिर्दै थिएँ । सेक्युरिटीले अर्कोतिर बोलायो । एकछिन झस्किएँ । मसँग त्यस्तो  केही नभए पनि डर त  लागी नै हाल्छ ।  हरेक घटना नसोचेको भइदिन्छ । घरमा छोराछोरिहरूसँग बसेर अस्ट्रेलिया, क्यानडा तिरको एयरपोर्ट जाँचका डकुमेन्ट्री चाख लिएर हेर्ने गरिन्थ्यो, आज आफू नि कतै त्यही पात्र हुने त  हैन भन्ने लाग्यो। हुन त यात्रा अनुभवमा पहिला नि यस्तो र्यान्डम जाँचमा परेको थिएँ  तैपनि मन न हो कहाँकहाँ सम्म उडिहाल्छ। झट्ट सम्झेँ- एरिकासँग कुरा गरिरहेको बेला कसैले मेरो झोलामा केही त हालिदिएन ।

जाँचकीले अर्को साइडमा लग्यो  मोबाइल, ल्यापटप झिक्न लगायो अनि पत्ती जस्तो के पेपरले हात, झोला सबैतिर दलेर मेसिनमा हाल्न लग्यो। मेसिनले हरियो देखायो । सबै ठिक छ जाऊ भन्यो । ढुक्क भएँ । झोला बोकेर भित्र पसेँ ।

विमानस्थल खचाखच थियो । सिसाको छेउ खोजेर बसेँ । ल्यापटप खोलेँ यो संस्मरणको पृष्ठ डिजाइन गरेँ ।  जसरी नि प्रकाशित गर्छु नत्र एरिका, अन्थोनी, डानिएल, निजासँगको क्षण विलय हुन्छ भन्ने लाग्यो। फेसबुकमा रातो नोटिफिकेसन देखेँ । फिनिस साथी सेइयाले ट्याग गरेर मेरो बारे उल्लेख गरेकी रहिछन्। किन हो सामान्यतया मलाई खासै अरुले ट्याग गरेको मज्जा लाग्दैन तर उनको यो पोस्ट धेरै  फिनिस साथीका लागि विशेष थियो । मैले उनको दाइको ५० औँ  जन्मदिनमा नेपाली दौरा सुरुवालमा “मिर्मिरेको घाम” गीत  बजाएर सबै फिनिसलाई नचाएको थिएँ आज ठ्याक्कै १६ वर्ष भएछ, स्ट्याटसभरि मेरा तारिफ गरेका थिए खुसी भएँ।

म्यासेजपट्टि हेर्नुको कारण चैँ हिजो मैले निजाको जहाज उड्नुअघि शुभ यात्रा कामना गरेको थिएँ । मलाई नि गरी कि भन्ने आशाले हो । केही नदेखे पछि लाग्यो हाम्रो मित्रताले  जसरी यात्रा सहज बनायो, दुवैको यात्रा समाप्तिसँगै मित्रताले नि बिट मार्यो । घुम्न जाँदा भेटेका साथीहरूबिच  यस्तो धेरै हुने गर्छ । म त्यसको लागि तयार थिएँ । आखिर मैले नि त भर्खर एरिकालाई स्ट्यान्डमै छोडेको थिएँ । निजा आफ्नो दैनिकीमा फर्किसकी, म नि केही घण्टामा फर्कन्छु आ-आफ्नो जिन्दगी बिताउनु छ।

जहाजसम्म हामीलाई  बसमा हालेर लग्यो, जहाज अलि कुनामै थियो। त्यो त्यही समुद्र तटछेउ थियो जहाँ हामी चुचुरो पछि पुगेका थियौँ। हरेक पल केही न केही जोडिँदै जान्थे अरू यात्री भित्र पस्दै गर्दा मैले त्यो समुद्री तटमाथि तिरको हाम्रो डाँडोलाई अझ राम्रो सँग खिच्न सकेँ।  सबै भित्र छिरिसकेका थिए मन अमिलो पार्दै म नि एउटा बक्सा जस्तो लाग्ने जहाज भित्र छिरेँ। २४० जना जति सिट क्षमताको जहाज लगभग भरिएको  थियो, टुर प्याकेज मात्रै गर्ने जहाज भएकोले भित्र प्रायः सबै परिवार र  जोडी थिए, एक्लो सायद म मात्र थिएँ होला।

जहाजमा सबै आ आफ्नै तालमा छन् – कसैले ग्वाम्म कानमा लगाएर सङ्गीत सुनिरहेका, कोही फोन, ट्याब्लेटमा भिडियो हेर्दै। कोही कोठेपद भर्दै थिए त कोही किताब पढ्दै। जोडी हुनेहरू नि आ आफ्नै मन पसन्दका गतिविधि गरिरहेका थिए।  अरू देश तिर जाँदा सिट छेउकासँग कुराकानी हुन्छ तर फिनल्यान्ड जाने जहाजमा त्यो बिरलै हुने गर्छ। फिनिसहरू त्यति खुल्दैनन् , बानी नै त्यस्तै छ। केही सोध्यो भने यसो जवाफ दिने अनि आफ्नै सुरमा रहन रुचाउँछन्। उनीहरूको बानीसँग म भिजेको छु त्यसैले खासै वास्ता गर्दिन।

बुढाबुढीहरू नि टन्नै थिए,  कसैकसैले त घुरेर नि हेर्थे। फिनल्यान्ड विदेशी प्रतिको दृष्टिकोण अझै साँघुरो छ । हामी ८ वर्षदेखि बसिरहेको अपार्टमेन्टको सामुन्नेमा बस्ने फ्ल्याटका मान्छेसँग अहिलेसम्म चिनजान भएको छैन, कहिलेकाहीँ आमने सामने हुँदा मुस्कुराइन्छ कहिले त मुन्टो लुकाएर नि  हिँडिन्छ  । उनीहरू नि त्यसै गर्छन्।  चलेकै छ – के मतलब।

जहाज आफ्नो उचाइमा पुगेपछि हिँडेको महसुस हुँदैन । स्थिर रहेको जस्तो लाग्छ तर हजारौँ किलोमिटर पार गरिसकेछ। जहाजमा चढ्दा म फिल्म हेरेर समय बिताउन सक्दिन वरिपरिका मान्छे पढ्न मन लाग्छ। हरेक आकृतिमा केही न केही झल्किरहेको भेट्टाउँछु। केटाकेटीहरू कोही चित्र कोरिरहेका थिए त कोही मोबाइलमा टिकटक जस्तो गर्दै रमाउँदै थिए।

मेरो अर्को साइडको अलि अगाडि  बस्नेले ठुलो स्क्रिनको ल्यापटपमा फिल्म हेर्दै थियो । बिच बिचमा अलि कामुक दृश्यहरू  देखिन्थे , यिनीहरूका फिल्ममा यो सामान्य हुन्छ । सन २००६ मा कलेजले हामीलाई एउटा कोर्स गर्न अनि उत्तरी ध्रुवको अवलोकन गराउन आर्टिक सर्कल लगेको थियो। हामी विकास र अन्तर्राष्ट्रिय सम्बन्धी अध्ययन गर्थ्यौँ । बसमा प्रोफेसरहरू सहित हामी धरै विदेशी विद्यार्थी थियौँ। त्यतिखेर अहिलेजस्तो समय बिताउन मोबाइल प्रयोग हुँदैनथ्यो अनि नेपालको जस्तै गरी बसमा फिल्म देखाइयो। फिल्ममा यति उत्तेजक दृश्यहरू आउन थाले कि अपाच्य नै भएर नाइजेरियाकी “यमिसी”ले फिल्म बन्दै गर्न लगाएकी थिइन्।

जहाजले दुरी घटाउँदै थियो ।  केटाकेटीसँगै  भए पनि अभिभावक आफ्नै सुरमा मस्त थिए । एउटा डेढ वर्ष जतिको बालकले मतिर निकै हेर्न थाल्यो। मैले नि यसो अनुहारको हाउभाउले उसलाई सम्बोधन गर्दिएँ। ऊ भर्खर हिँड्न सक्ने भएको थियो । त्यो जहाजको बिचमा वल्लो छेउ पल्लो छेउ गर्न रमाउँथ्यो अनि मेरो छेउमा आएर टक्क अडिन्थ्यो । केही बोल्न खोजे  जस्तो गर्थ्यो अनि फेरि खितिक्क हाँस्दै कुद्थ्यो। उनकी आमाले समातेर लगेर राख्थी तैपनि मै तिर हेर्थ्यो, भाग्न खोजिहाल्थ्यो।

बालबालिकाहरू कति चलाख- त्यत्रो जहाजमा खचाखच भरिएका यात्रुमध्ये मलाई नै रोज्यो । सायद अरू सबैका साथी भएर आफैँ रमाएका थिए म एक्लो थिएँ  । त्यसैले उसले त्यो कुराको भेउ पाएर नै  मलाई रोजेको हुनुपर्छ। म एउटा सिटमा खुम्चिएको थिएँ । ऊ  मलाई चुनौती दिँदै  आफूलाई चलायमान बनाइरहेको थियो। मैले उसलाई एकचोटि बोकेरै छोडेँ आमाको अनुमति लिएर। उसले मलाई सिकाउन खोज्थ्यो कि देखिस् साथी कसरी बन्न सकिन्छ भनेर। आमा मार्फत नाम सोधेँ  “मिका” रेछ। मलाई साना केटाकेटीहरू औधी  मन पर्छ।  मेरो यत्रो यात्रा अवधिमा सबै खाले साथी भेट्टाएको थिएँ, खड्किएको पनि त्यही थियो बस “मिका”ले त्यो नि पुरा गरिदियो।

परिचारिकाले खाना ल्याइन्, यो पाली चैँ ढुक्क थिएँ।  जाँदाखेरिको अनुभवले पहिलो काम नै फर्कने जहाजका लागि शाकाहारी खानाको सुनिश्चितता गरेको थिए। मज्जाले खाइसकेर कोही निदाए । म चैँ मेरो नयाँ साथी मिकामा केन्द्रित भएँ । उससँगको भेट पछि लाग्यो कि मानिसहरू किन आफूलाई एक्लो महसुस गर्छन् होला। मिका छेउकी हुर्केकी दिदी अनि आफूलाई बोकेकी आमा छोडेर मसँग रमाइरहेको छ । मान्छे स्वार्थी, सीमित हुँदै जाने त पढेपछि, हुर्केपछि र बुझ्न थालेपछि पो रे छ जस्तो महसुस भयो।  उसलाई एक टक हेरेर गम्न थालेँ अबको संसार मिकाहरूकै हो । यस्तो निस्वार्थ, निष्कलङ्क  मनस्थितिमा हामीले सामाजिक, धार्मिक, जातीय दायरा थोपरिदिएर उसको संसार खुम्च्याउनु हुन्न भन्ने लाग्यो।  यिनीहरू यसै गरी प्रफुल्लित रहिरहन हाम्रो पुस्ताले धेरै सम्झौता गर्नुपर्छ।

सँगै यात्रा गर्ने अरूहरू आफ्नै २-३  जनाको घेरामा सीमित थिए तर एक्लै रहेको  मैले भने असीमित साथ  पाएको थिएँ। भौतिक रूपमा कोही नभेट्टाए, आँखा चिम्लिएर श्वासको गति सँगै शरीरका हरेक अङ्गसँग मित्रता बढाउने तरिका नि जानेको छु। एरिका, मिका, डानिएल प्रति त त्यस्तो माया पलाउन सक्छ  तर हामीले हाम्रा अङ्गहरूलाई भने बेवास्ता गरिरहेका हुन्छौँ। एक्लो महसुस हुँदा  तिनीहरूलाई  माया गर्न सिक्नु पर्छ त्यो भनेको आफैँले आफैँप्रति माया जगाउनु हो। यो ब्रह्माण्ड आफ्नो अस्तित्वको महत्त्व देख्नु हो।

३ जना बस्ने सिटमा म र  मेरो छेउमा  एक  जोडी थिए । कुरा सुन्दा उनीहरू विवाहित जोडी नै लाग्थ्यो। उनीहरूले खानाको अलावा छुट्टै अर्डर गरेर टन्न पिएका थिए साथै अन्य स्न्याक्स, ट्याक्स फ्री का सामान नि किनेका थिए। अब जहाज अवतरणको तयारी हुन थाल्यो । केटीले मैले कति दिनु पर्‍यो भनेर सोधी । केटोले मोबाइलमा जोड्यो र ३७ युरो भन्यो। केटीले दुइटा २० को नोट दिई, केटोले ३ युरो फिर्ता गर्यो ।

मलाई विदेशमा मन पर्ने अर्को यो कुरा नि हो – आफूले छानेर खाने आफैँले तिर्ने खेल खत्तम। हाम्रो तिर चैँ खाने कुराको स्वाद, त्यो क्षणको आनन्द लिनुको सट्टा कसले तिर्ला, कसलाई फसाउने होला भन्ने तिर बढी  ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। आफूसँग नहुँदा त ठिकै हो तर खाताभरि, खल्तीभरि हुनेहरू नि सकेसम्म अरूकै खान रमाउँछन् – ठाउँ अनुसारको  बानी । परिचारिकालाई अनुरोध गरेर नाकमा हाल्ने ओखती लिएँ । मलाई जहाजको उचाइ घटाउँदा कानमा असाध्यै गाह्रो हुन्छ अरू बेला यात्रा गर्दा श्रीमतीले सम्झाइ दिएर तयारी गरिन्थ्यो, यो पाली त त्यस्ता कुरा उही के भने जस्तो भा थ्यो ।

जहाजले भुइँ  छुनै लाग्दा बाहिर हेरेको ठ्याक्कै सिरकले छोपेका खाट झल्काउने थियो- सेता हिउँका थुप्राहरू । अब मिका, एरिका मानस पटलबाट हराउँदै गए,  मोबाइल चलाउन पाउने बेला भो। छोरीले पुग्नासाथ खबर गर्नु लेखेकी रहिछ । मैले घरको चार जनाको ग्रुपमा “सुरक्षित अवतरण” लेखेँ ।  श्रीमती आमासँग गाउँमा थिइन्  खासै मोबाइलमा त्यति बस्दिनन् । उसै पनि नेपालमा मध्यरात भैसकेको थियो।  ७ घण्टा बन्द रहेको मोबाइलमा अरू नि म्यासेज थिए ।

डानिएलले मेरो उडान समय याद गरेको रैछ । लामै स्ट्याटस लेखेर यात्राको शुभकामना पठाएको थियो।  त्यो तहमा पुगिसकेका विद्वत वर्ग त्यहाँमाथि अझ जर्मनी नागरिकबाट त्यस्तो अपेक्षा गरेको थिइनँ।  सन्देश देखेर खुसी लाग्यो, आफ्नो यात्रामा कमाएका माया प्रति गद्गद भएँ।

निजाले नि त्यसै गरी सुरक्षित यात्राको कामना गरेकी रहिछ । (समय चैँ मोबाइल फ्लाइट मोडमा राखेपछि परेको रहेछ) । अब ढुक्क ।  मैले एरिकालाई भेटेकै ठाउँमा छोडेझैँ उनले मलाई छोडिनछन् अब कुनै दिन निजा र उनको चार दिन सुन्न र लेख्न पाउने आशा पलायो।

म उत्रेको थाहा पाएपछि छोराले लेख्यो दाल र भात बनाएको छु है। एक हप्ता नेपाली खाना नपाएकोलाई यो भन्दा के चाहियो । अनि फेरि लेख्यो “साँँच्ची, बरफले गर्दा गाडीको ढोका खुलेन”, माइनस तापक्रममा बेलाबेला स्टार्ट नगरे इन्जिन जाम हुनसक्छ । त्यसैले मैले उसलाई पार्किङमा गाडी स्टार्ट गर्नु है भनेको थिएँ, सकेनछ।

झल्याँस्स भएँ ! अबको दिन चर्या सम्झेँ ।  सात दिनसम्म झोलामा बोकेको तीन पत्रे लुगा लगाएँ । ट्रेन चढेँ।