एनजेपी रेल–स्टेसन । कुम्ला–कुटुराको भारी एक कुनामा पुगेर अडिए । गुरु र मुवाँ नजिकैको विश्रामस्थलमा विश्राम गर्नुभयो । म एकछेउ लागेर सुस्ताउन थालेँ । हावामा शरद् ऋतुका पातहरू हल्लिइरहे पनि बङ्गालको भुइँ प्रचण्ड गर्मीले तताइरहेको छ । अनुहारमा पसिनाको जरुवा भुल्का छोडिरहेको छ । म रुमालले पसिना सोहोर्दै यता र उता टहलिन थालेँ । काठमाडौँमा बाक्लो सिरक ओढेर सुत्ने बेला भइसक्यो; यता यो खलखली !

‘जाडो होला’ भनेर अटाई नअटाई  सुटकेसमा कोचेको ज्याकेट काम नआउने भयो । यस्तै–यस्तै बेकामे सामान कोचेर भरेपछि घिसार्नु र बोक्नुको हैरानी त हुने नै भयो । पत्रकार भइटोपलेर पनि ठिक ठाउँमा जान्नुपर्ने विषय मेरो सुद्धिले कहिल्यै भेउ पाउँदैन । औँलाले हातेफोनको स्क्रिन थिच्नासाथ संसार हेरेर दुनियाँको हाल थाहा पाउने सुविधा आँखैका डिलमुनि छ तर म हुस्सुले लयको लगाम समाउनै सक्दिनँ ।

नयाँ ठाउँ घुम्ने–डुल्ने योजना बनाइरहँदा त्यहाँको जलवायु, मौसम र भौगोलिक परिवेशबारे हेक्का नराख्नु र जाँचबुझ नगर्नु मेरै अल्प ज्ञानको उपज थियो । यत्ति कुरो, गुगलको झ्याल खोलेर आँखाका दूरबिन तेर्स्याएको भए देखिइहाल्थ्यो । यत्रतत्र सूचना प्रविधिको रकेट उडिरहेकै छ, म भने पुरानै रूखको डालीमा बसेर अल्छी मालचरो झैँ सुदूर दृश्यको अनुमानकारिता गरिरहेको हुन्छु ।

मेरा आँखा स्टेसनको वल्लो र पल्लो छेउ दगुरिइरहेका छन् । कमिलाका ताँतीझैँ मान्छेको ओहोरदोहोर चलिरहेकै छ । थाप्लामा झिटीगुन्टा बोकेर राता कमेजेहरू गन्तव्य ताकिरहेकै छन् । कोही स्टेसनमा पल्टेका छन्, फ्याँकिएका छन् । तिनका डेरा–डण्डा र भारीतारी असरल्ल छन्; झिटीगुन्टाका धनीलाई ‘अहिले यी कुनैको परवाह छैन’ भन्ने लाग्थ्यो । एक कुनामा केही थान थोत्रा जुत्ता र जुत्ताका तलुवाको खात लाएर एउटा बङ्गाली रुँगिरहेको देखियो ।

मैले टाउकोलाई निहुरिमुन्टी ‘न’ बनाएर भुइँतिर हेरेँ । खुट्टाका जुत्ता फुस्रा–धुस्रा देखेँ । लाग्यो, यसलाई थोरै चम्काएर, टल्काएर आफूमा भलादमीको जलप लगाऊँ । अचानक म महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘भलादमी’ निबन्ध सम्झेर तर्सेँ । महाकवि भन्नुहुन्छ– छाँट मिलेको कोट पहिरेर, एक छरितो बढी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुमचुरुम आवाजमा फुर्तिलो कदम बढाऊ तब गल्लीको कुकुरले पनि तिमीलाई चिन्दछ । तिम्रो भलादमीपन स्वीकार गरेर तिमीउपर भुक्न आउँदैन ।

यहाँ मैले कोट पनि भिरिरहेको छु; जुत्ता टल्काउने ध्याउन्नमा घोरिँदा नजिकै महाकवि उभिएर मप्रति कठोर व्यङ्ग्य छेडेजस्तो लाग्यो । हुन पनि समयले त्यस्तै जिनिस उत्पादन गर्दै छ । खाटी विद्वता, ज्ञान र विवेक सुकेर ढल्न लागेको भीरको चिउरीको रूख हुँदै छ । बोक्रे ज्ञानको आयतन खरबारीको बन्सोझैँ हलहल्ती बढेर दुनियाँ ढाक्दै छ ।

भलादमी हुने धङधङीले रिङाइरहेको छ; मैले पालिसकारसँग जुत्ता टल्काई मागेँ । उसले टाउको हल्लाउँदै ‘भारु सय’ लाग्ने भन्यो । म ‘आधामा गर्’ भनिरहेँ । सोचेँ– अघि मेची पुलमा गुरुले इङ्गित गर्नुभएको र मसँग जम्काभेट भएको पहिलो दोख यही हुनुपर्छ । मनभित्र मनचिन्ते फुरौला पकाइरहँदा कति बेला आएर गुरु छेउमै उभिइरहनु भएछ । मेरो बोली पाखा पन्छाएर उहाँ आफैँ मोलतोलमा अघि सर्नुभयो, ‘पच्चीस रुपैयाँ मे करो भाइ, नही तो छोड् दो ।’

बाबु–आमाले छोराछोरीलाई, अभिभावकले अनुजहरूलाई सानो–पुड्को देख्नु, काँचो ठान्नु र तिनको रेखदेखमा सधैँ ओत बनिरहनुका पछाडि प्रकृतिले सिर्जना गरेको पाठको नतिजा नै होला । म अठार–बिस वर्षे लोर्के हुँदा मेरा ९० वर्षे हजुरबाले भन्नुभएको सम्झिन्छु, ‘मैले तँलाई र तेरा बालाई एक्कै देख्छु ।’ अभिभावकले त्यसो भन्नु स्नेह र संरक्षकत्वको छानो दरिलो रहिरहेको सत्यता होला ।

आफू जति नै ‘जान्ने बुझ्ने भएँ’ भन्दै फुइँ लाउँदै हिँडे पनि, आफूलाई बाँसको लिङ्गो जति उचाइको कल्पे पनि अभिभावकका अगाडि ती सन्तान पुड्कै देखिन्छन् । अल्पज्ञानी नै ठहरिन्छन् । ज्ञान र अनुभवको घाम तापेर टाकुरामा पुगेको उमेर र मुजुराउँदै गरेका कलिला सिरुपाते छायामुनि हुर्किँदै गरेको बैँससँग के तुलना हुनु ! मैले ठानेँ– यहाँ मलाई पन्छाएर गुरु आफैँ पालिसकारसँग मेरा जुत्ता टल्काइको मूल्य घटाघटमा उत्रिनु, अभिभावकत्वको गर्विलो नमुना अर्को के होला ?

अन्ततः पालिसकारले गुरुको ठाडो निर्देश मान्यो । उसको सय रुपैयाँको बोली पच्चीसमा झर्नु अनौठो भयो । म जानिफकार जस्तो देखिने त यो उमेरमा, यसरी ठगकारको दुलोमा छिर्दै थिएँ । नजानेका, नबुझेका, देश र भेषको मेसो नपाएकाहरूले परदेशमा अनेक रङका ‘दोख’हरूसँग जुधाजुध गर्नुपर्ला !

गुरुसँग मन मन्थन गर्दा गर्दै पालिसकारले जुत्ता टल्काउने उद्यम सक्यो । उसको निमेकसहित ऊतिर एक अङ्खरा व्यङ्ग्य खन्याएर हामी उठ्यौँ । मैले पुलुक्क उसको अनुहार हेरेँ; ऊ निरीहजस्तै अझै मसँग केही आग्रह गरिरहेजस्तो देखिन्थ्यो । त्यो निरीहता देखेर बङ्गालको तातो हावामा उडिरहेको मेरो मनचरी छिनमै भुइँमा खस्यो । सोचेँ– ऊ मजदुर हो । मजदुरले मजदुरीको भित्तामा अलि बढी नै मूल्य टाँस्यो त के बिग्र्यो ? यसमा धेरै अचम्म पनि लागेन । जुन भूगोलको भए पनि आखिर मजदुर त मजदुरै हो । दिनभरि अरूका जुत्ता टालेर र टल्काएर उसको साँझको चुलो बल्ने होला । हामी पर पुगिसकेका हुन्छौँ, ऊ अझै हाम्रा पाइलातिर आँखा सोझ्याइरहेको थियो ।

० ० ०

स्टेसनको वल्लो र पल्लो छेउसम्म मुक्तिप्रसाद उपाध्यायको खोजी हुँदै थियो । गुरु बेलाबेला हातेफोन पनि घुमाइरहनु हुन्थ्यो । यतिकैमा, मलेवाले मलेवीलाई च्यापेर घुमेझैँ आफ्नी सङ्गी दिप्तीलाई डोर्याउँदै मुक्ति सर झुलुक्क झुल्किनुभो । केही साता अघिदेखि मैले उहाँको आवाजसँग साइनो गाँसिसकेको थिएँ । यही सइनोले मलाई एनजेपी–गुवाहाटी, गुवाहाटी–इम्फाल र इम्फाल–गुवाहाटीसम्मको भूयान र वायुयानमा आउजाउ गर्ने अनुमति दिएको थियो । यस मानेमा म उहाँप्रति कृतज्ञ रहेँ र रहिरहनेछु ।

सुरुमा गुवाहाटी र पछि सिलिगुढीमा बसेर साहित्य–साधनामा लीन मुक्तिप्रसाद जस्ता तपस्वीसँग परिचित हुनु मेरा लागि हर्ष थियो । हुन त, अबका दश–बाह्र दिन म यस्तै तपस्वीहरूका ध्यान केन्द्र र कुटीहरूमा पुग्दै छु । साहित्यका ऋषिमुनिहरूले रोपेका, उमारेका र फलाएका ऐँसेलुका टोप्राजस्ता स्वादिला ज्ञानधारा मेरो दिमागको चुच्चाले कतिको फेला पार्न सक्ला ! यद्यपि, ती वाङ्मयधारा पिएर अङ्कुराउँदै गरेको मेरो सिर्जनाको बिरुवाले मल–पानी पाउँछ भन्ने विश्वास छ । म फर्किँदा केही सिकेर फर्किन्छु वा बर्खामा पानीको झोली बोकेर डाँडाडाँडै डुलिहिँड्ने अल्लारे बादलजस्तै हुन्छु; थाहा छैन ।

रेल चढ्ने घडी नजिकिँदै थियो । उता काठमाडौँबाट गुवाहाटी जान आएको भाषाविद्हरूको टोली भर्खरै एनजेपी स्टेसन आइपुगेको हुन्छ । तिनमा मैले भाषाविद् प्रा. माधवप्रसाद पोखरेल बाहेक अरूलाई चिनिनँ । बाँकीसँग रेलका डब्बाभित्रै बोलीको लोली मिलाउँला भन्ने सोचिरहेँ । परिचयको चौतारीमा बसेर सम्बन्धको मादल बजाउने समय त्यहाँ थिएन । किनकि, स्टेसनको ढ्वाङले रेल आउने सूचना फुकिसकेको थियो । तैपनि, गुरुका स्वादिला किस्साका मट्याङ्ग्राले सबैको ओठको हाँसो थुतेर बाहिर निकालिरहेको हुन्थ्यो ।

सूचनाको ढ्वाङ एकोहोरो बजिरहेको थियो । अचम्म ! आवाजको ढ्वाङमा बजिरहने नारीकण्ठ हिन्दी, बङ्गाली, अङ्ग्रेजीसँगै नेपाली भाषामा पनि रूपान्तरित भइरहेथ्यो । त्यसले भनिरहेको थियो, ‘न्यू जलपाइगुढी, गुवाहाटी, डिब्रुगड, डिमापुरसम्म जाने राजधानी एक्सप्रेस स्टेसन नम्बर १ आइरहेछ ।’ यसमा भाषिक शुद्धता त थिएन तर म दङ्ग खाइरहेको थिएँ; पर–मुलुकमा समेत यसरी नेपाली भाषा प्रयोग हुनु, त्यो पनि सरकारी तहमा । साँच्चै, नेपाली जातिका लागि यो बडा गौरवको कुरा थियो ।

नेपाली भाषा सजिलै त्यताको धुरीसम्म पुग्यो होला र ? आफ्नो भाषालाई यहाँसम्म पुर्याउन त्यताका नेपालीहरूले कति हण्डर खानुपर्यो होला ! कति लाठी–मुङ्ग्री, लात, जात र भातको दलनमा पिसिनुपर्यो होला । यसैको उपलब्धि होला; यहाँ एनजेपी रेल–स्टेसनमा मात्र नभई माथि घुमपहाड, खर्साङ, दार्जिलिङ, कालिम्पोङ, टिस्टापारि सिक्किम, असम, देहरादुन, मणिपुरका सुन्तोलाबारी र कालापहाडका डाँडै डाँडा घुमिरहने बतासमा समेत नेपाली राग मिसिएको ।

नेपालीहरूले आफ्नो भाषा शिखरमा चढाउने अभियानमा कसरी विजय पाए होलान् ? यसबारे निकै घोत्लिएँ । गुगलको भ्यु टावरको सिँढी उक्लेर टुप्पामा पुगेँ अनि दिमागको दूरबिन तेर्स्याएँ । चित्त बुझ्दो चुरोको कुरो भेटिएन । निकै बेरसम्म ‘लारी पेज’ र ‘सेर्गे ब्रिन’को घरआँगनतिर दूरबिन घुमाइरहेँ । यही क्रममा मणिपुर कालापहाडका मुक्ति गौतमको भारतको संविधानमा नेपाली भाषाले पाएको आधिकारिक मान्यता शीर्षकको आलेख फेला पर्यो ।

सन् १९९२, अगस्ट २० मा भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले प्रवेश पाएको रहेछ । भाषा आन्दोलनको थालनी देहरादुनबाट प्रकाशित हुने जाग्रत् गोर्खाका सम्पादक आनन्दसिंह थापाबाट भएको पाइयो; उनले सन् १९५६ बाट यो आन्दोलनको बीउ रोपेका रहेछन् । थापाले भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादलाई नेपाली भाषाका विषयमा एउटा स्मरण–पत्र चढाएको लेखोटसमेत फेला पर्यो । यसरी, आन्दोलनको खाँडो जगाएको ३६ वर्षपछि मात्र भारतीय शासकले नेपाली भाषालाई मान्यता दिएछन् ।

नेपालीहरूले भाषा आन्दोलनमा विजय पाउन पहिलो र दोस्रो विश्व युद्धमा जस्तो लडाइँ लडेनन् भनेर कसरी भन्न सकिएला र ? जसरी हिजो गोर्खाली फौजले बासरा (मेसोपोटामिया), फ्लान्डर्स (बेल्जियम), टिग्रिस र युफ्रेटस नदीको वारिपारि, इजिप्ट, मलाय र बर्माका जङ्गलमा ज्यानको बाजी लगाएर लड्दै जर्मनविरुद्ध विजय प्राप्त गरे त्यसरी नै भाषा–युद्धको लडाइँ जिते होलान्; मात्र युद्धको प्रकृति र शैली फरक थियो होला ।

भाषाले मान्यता पाएको दिनलाई नै सम्झिने हो भने भारतमा नेपाली भाषा लक्का जवान भइसक्यो । लक्का जवान मात्र होइन, बैँसको उत्तरार्द्धतिर पुगेका २८–३० वर्षे परिपक्व तरुनी-तन्देरी जस्तै । तर, अझै नेपाली जातिहरू हेपिने, चेपिने, थिचिने, मिचिने र चिथोरिने उद्यममा कमी आएको पाइँदैन । संविधानको सिँढी उक्लिसक्दा पनि नेपाली भाषालाई होचो र अर्घेलो बनाउने कृत्य भई नै रहेको स्रष्टाहरूले सुनाइरहेका हुन्छन् ।

अस्ति भख्खर केन्द्रको तालुक अदालतले सिक्किमेली नेपालीलाई ‘विदेशी’ भन्यो । जब उनीहरूले सडकमा विरोधको धूवाँ निकाले, आगो बालेर ज्वाला दन्काए र लाल दरबारलाई ललकारे तब न्यायालयले बोली सच्यायो । त्यो आक्रोशको राप थिग्रिन नपाउँदै सिक्किमेली कवि नीलम गुरुङ काठमाडौँ उक्लिन् । शिशिरको चिसो कटेर वसन्तका हाँगामा पालुवा पलाउने बेला बैजनी रङका ज्याकरन्डा फुलेर काठमाडौँ सहर ढकमक्क हुन्छ । यो सुन्दरता कल्पिँदै ‘पोइट आइडल’को मञ्चमा उभिएर कवि नीलमले कोखीको घाउ कोट्याएकी थिइन्–

ओ काठमाडाैँ …

कसरी लेखूँ तिम्रो शहरको कविता

म त आफ्नै देशमा विदेशी छु ।

० ० ०

यता, राजधानी एक्सप्रेसले अघिदेखि शङ्ख फुकिरहेको हुन्छ । १२.५० बजे एनजेपी आइपुग्नुपर्ने यो भूयान १५ मिनेट ढिलो गरी ‘प्लेटफार्म’ एक ‘ए’ मा आएर लामो सास फेर्यो । दिल्लीदेखि हिँडेको यो लामो बाटो हिँडेर आएकोले एकैछिन थकाई मार्दै थियो । गुवाहाटी यात्रा–टोली चढ्ने डब्बा फरक–फरक परेछन् । मुवाँको अर्कै, म र गुरु एउटा डब्बामा परेछौँ । रेलको खुड्किलो चढेर हामी आ–आफ्ना निर्देशित बाकसतिर सोझियौँ ।

अघि पनि रेल यात्रा गरिसकेको हुँदा म यहाँ त्यति धेरै ट्वाँ पर्नु परेन । म सिट नम्बर बि¬–२ ३५ नम्बरमा पुगेर रोकिएँ, जुन मेरै नाममा लेखिएको छ । सबै सिट भरिभराउ, खचाखच मान्छेको भीड । वरिपरि सिटमा बसेका ठिटाहरू धेरैजसो छुट्टी सकेर पल्टन फर्केका सिपाही जस्ता देखिन्थे; यिनीहरू त्यस्तै १८–२० देखि २५ वर्ष हाराहारीका लाग्थे । कतिका ओठ दुधिला मकैजस्तै देखिन्थे ।

अधिकांशको दुधिला ओठमाथि छिप्पिँदै गरेका जुँगाका रेखीले उनीहरूमा परिपक्वताको झलक देखाउँथ्यो । सायद, जुँगा शान र हिम्मतको प्रतीक हो कि ! अचेल त सेना–पुलिसमा केटाकेटी सरावरी जस्तै हुन्छन् । जुँगा केटाहरूको शान हो भने केटीहरूको के हो त ? कतिपय ठाउँमा केटीहरू केटाभन्दा फुर्तिला, हिम्मतिला र साहसी प्रमाणित भएका छन् । यो लैङ्गिकताको जालो र जुँगाको समाजशास्त्र के हो ? यतातिर नजानु नै उचित होला ।

यति बेला म आफ्नो सिटमा बसेर वरिपरिको रामरमिता हेर्दै छु । रेलको सुइइइ र छुकछुकसँगै मनका तरङ्ग झ्यालबाट बाहिर फुत्किन उछार खेलिरहेका छन् । ४० नम्बर सिटमा एक दम्पती खासखुस गर्दै छन् । आमा भइसकेकी त्यो स्त्रीलाई महिला भन्दा बढी केटी भन्नु सुहाउँदो लाग्छ । किनकि, उसको अनुहारबाट किशोर कालका घाम भर्खरै अस्ताएजस्तै लाग्थे । केटीको काखमा दूधे बालक छ । मैले उसको लोग्नेलाई सोधेँ, ‘आप फौजी हैँ ।’ उसले ‘हो’ भन्ने जवाफ फर्कायो ।

मैले यी हिन्दी सेनाका जवानहरूमा नेपाली लाहुरेहरूका प्रतिचित्रहरू देखेँ । हिजो मात्र होइन, आज पनि हिमाली पठारबाट ओरालो झर्ने हिमनदी जस्तै नेपालका पहाडी पाखा–पखेराबाट बगेर कुनाघाट र गोरखपुर छाउनीमा मिसिन पुगेका छन्; नेपाली लाहुरेहरू । यिनै लाहुरे र रेल यात्रालाई फूलको मालाजस्तै गाँसेर जीवन्त लोकलयहरू सिर्जना गरिएका छन् । आज मात्र होइन, उहिल्यैदेखि रेल र लाहुरेहरूबिच अनौठो प्रीति छ । छुट्ट्याएर छुट्टिन नसक्ने, सभ्यताको तानमा बुनिँदै आएको घरबुनाको पछ्यौरी जस्तो ।

मलाई लाग्छ; लाहुरे गीत–सङ्गीतको पहिलो भाका मास्टर मित्रसेन थापाले हाले हुनन् । विशाल नेपाल हुँदा बागलुङ जिल्लाबाट बडाकाजी अमरसिंह थापाको साथ लागेर भाक्सु पुगेका मित्रसेनका पिताले उतै जीवन बिताएको इतिहास भेटिन्छ । उनै मित्रसेन ब्रिटिस फौजमा भर्ती भएर पहिलो विश्वयुद्ध लड्न बेल्जियमको छाउनीमा पुगेको बेला सिर्जना गरेका रहेछन्, यो लाहुरे गीत:

लाहुरेको रेलिमाई फेसनै राम्रो

रातो रुमाल रेलिमाई खुकुरी भिरेको !

यही सभ्यतालाई निरन्तरता दिन माया–पिरतीको व्यञ्जना मिसाउँदै धेरैपछि राम थापा र सुनिता सुब्बाले यसरी गाएको हुनुपर्छ:

केटी : रेलै घुमेर, गयो दाजुको आधी उमेर

केटा : रेलै घुमेर, गयो बहिनीको आधी उमेर

हिजोको कुनै जमानामा प्रेमी–प्रेमिकाले एक अर्कालाई दाजु–बहिनी भनेर सम्बोधन गर्थे होलान् । दाजु र बहिनीको सम्बोधनबाट गाइए पनि त्यहाँ प्रेमी र प्रेमिकाको प्रेम, पीडा र मर्म छचल्किएको पाइन्छ । केटीले रेलमा घुमेरै दाजुको आधी उमेर गयो भन्नुको पछाडि ‘मायाको खोपीमा बसेको प्रिय मान्छे छाउनीमा भर्ती भएर गयो । आधा जीवन रेलको यात्रा र लाहुरमै बित्यो । पाखाभरि फुल्ने लालुपाते र लाहुरे फुल टिपेर चुल्ठोमा सिउरिने, रोदी बस्ने, हाकपारे र धाननाच नाच्दै हाँसखेल गरेर बैँसको डाली नुगाउने उमेर बितेर गयो’ भनेर दुखेसो गरेको बुझिन्छ ।

केटाले बहिनीको आधा उमेर गयो भन्नु, छाउनीमा भर्ती भएर जाँदा जीवनसाथीलाई सँगै लिएर गएको भाव झल्किन्छ । आफ्नी मायालुलाई सँगै लिएर रेलमा चढेर पल्टन सरिरहँदा ‘तिम्रो पनि आधा उमेर गयो वा जाने भयो । घरजम गरेर सुबिस्ताको जीवन जिउन यतिकै हुने भयो’ भन्ने होला । यस्तै अर्को मार्मिक भाकामा कृष्णबहादुर गन्धर्वको सारङ्गी विरहको रन्को छुटाएर रोएको छ– रेलको ढोका बन, नसम्झे मायाले सम्झे रुन्छ मन ।

छुट्टी सकिनु अघिल्लो रातभरि रोदीको झ्याउरेमा नाचेर गाएर बिहान भाले नबास्दै पल्टन फर्केको लाहुरे आफ्नी मयालु सम्झिँदै ओरालो झर्छ । जति पर गयो, उति झझल्कोले छोप्दै ल्याउँछ र भावना पगालेर भक्कानो छोड्दै हिँडिरहन्छ, विदेशी छाउनीको गन्तव्य ताकेर । पछिल्ला दशकहरूमा पनि यसरी नै रेल र लाहुरेलाई पर्यायवाची बनाएर अनेक भाकाहरू सिर्जना भएका छन्/भइरहनेछन् । यो शृङ्खला धर्तीमा दिन र रात हुँदासम्म अनवरत चलिरहला ।

० ० ०

अहिले ४० नम्बर सिटकी केटीको लोग्ने थिएन । उसले घरीघरी आँखा करालो पारेर मलाई हेर्थी । उसको काखमा लुटपुटिएको दूधे बालक रुन थाल्यो; त्यसलाई उठाएर ठाडो पारी र छातीमा टाँसी । अनि, कुनापट्टि फर्केर अमृतधारा चुसाउन थाली । त्यसको अर्को छोरो ३७ नम्बर सिटमा रहेछ । ऊ निरन्तर हातेफोनको अनुहारमा एकोहोरिएर कार्टुन हेर्दै थियो । अचेलका बच्चालाई मोबाइल दूर्व्यसन भएको छ । यहाँ मात्र होइन, उहाँ पनि हालत उही छ । खाँदा, ख्वाउँदा, पढ्दा, लेख्दा जे गर्दा पनि त्यही खप्पर अगाडि उभिनुपर्छ; घर–घरकी कहानियाँ जस्तै । यसले बालबालिकाको सिर्जनशीलता मास्दै छ, वनमाराले वन खासैजस्तै । यो एउटा दीर्घ बालरोग भएर भित्रिएको छ । बालरोग मात्र होइन, किशोर, वयस्क, अधबैँसमा समेत सरिसकेको छ ।

दूधे बालक काखको कोर्कामा हल्लाउँदै त्यो केटीले मलाई हेरिरहेकी छ; घरीघरी मुसुमुसु हाँस्छे पनि । उसको गहुँगोरो वर्ण सुन्दर देखिन्थ्यो । उसलाई म कुनै चिनेजानेको पो लाग्थेँ कि ! बच्चो फेरि रोयो । उसले काखमा राखी र झ्यालपट्टि फर्केर दूध चुसाई । बच्चोको टाउको खुल्ला थियो । मैले सोधेँ, ‘टोपी नही है ? है तो माथे पर रख दो । ठण्डी लग जाएगी ।’ अनि, उसले झल्लरसहितको काने टोपी झिकेर लगाइदिई ।

रेल गतिमान छ । बाहिर विशाल खेतीयोग्य फाँट देखिएको छ । हेरेर खाम्न नसकिने फाँटिला खेतहरू देख्दा आँखा रमाइरहे । त्यहाँ कुनै न कुनै फसल उम्रिँदै, हुर्किँदै थिए, पाक्दै थिए । यी मलिला फाँटहरू देख्दा रित्तिँदै गएका हाम्रा बेसीँहरू सम्झेर म केही बेर कुँडिएँ । यी फाँटहरू झन्झन् उर्वर हुँदै छन् । हाम्रा पहाड र बेसीँहरू जर्जर बन्दै छन् । तराई र फराकिला फाँटहरू पनि सहरीकरणको बाढीले बगाउँदै छ ।

रेलले लघु समुद्र जस्तै देखिने नदीमाथिको लामो पुल तर्यो । गुरुले भन्नुभयो, ‘भाइ टिस्टा कटियो ।’

म फर्किएँ स्मृतिको वायुपङ्खी घोडा चढेर र पुगेँ; उही आफूले पढेको कुसुमभञ्ज्याङको जीवनज्योति माविको एउटा कक्षाकोठाभित्र । जहाँ, राम, मधु, लेखु, चक्रे, केशा, तिलसरी, गितु र कुलदेवीहरू मिलेर एकै स्वरमा ‘गाउँछ गीत नेपाली’ गाउँथ्यौँ:

… पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ

कुन शक्तिको सामुमा कहिले हामी चुकेथ्यौँ, …

पुर्खाले आर्जेको हाम्रो भूमि आज हामीसँग छैन । यी विशाल खेतीयोग्य फाँटहरू आज हाम्रा भइदिएको भए ? त्यो टिस्टा नदी पनि हाम्रोबाट बसाइँ गयो । किन–किन इतिहास कल्पेर मन द्रवीभूत भयो । गुरुसँग केही सोध्न चाहेर पनि सकिनँ । कुन्नि के–के डल्लो वस्तु जस्तो घाँटीमा आएर अड्कियो र गला अवरुद्ध भयो ।